निर्णय नं. ५०७३ - अंश

निर्णय नं.५०७३ ने.का.प.२०५२ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५० सालको दे.पु.नं.१३२९
आदेश मिति:२०५२।२।२
मुद्दा : अंश ।
पुनरावेदक/वादी:जिल्ला रुपन्देही सिदार्थनगर न.पा.वडा नं.८ को हाल ऐ.न.पं.वडा नं.५ डेरा गरी बस्ने रितादेवी खाती क्षेत्री ।
विरुद्ध
विपक्षी/प्रतिवादी:ऐ. जिल्ला बुटवल न.पा. वडा नं. ५ बस्ने दम बहादुर खांती ।
ऐ.ऐ बस्ने चेत कुमारी खाती ।
ऐ.ऐ बस्ने भूपाल भन्ने भुपेन्द्र बहादुर खाती ।
ऐ.ऐ बस्ने राम बहादुर खाती ।
ऐ.ऐ बस्ने कृष्ण बहादुर खाती ।
ऐ.ऐ सिदार्थनगर न.पा.वडा नं.७ बस्ने सुधा देवी खाती ।
ऐ.ऐ बस्ने गजेन्द्र बहादुर खाती ।
ऐ.ऐ बस्ने अमृत बहादुर खाती ।
बण्डापत्र पास गरी छुट्टिई बसेकाले छुट्टिई अलग भई बसेपछि स्वास्नी विवाह गरी ल्याएमा त्यस्तो स्वास्नी र छोराले आफ्नो बाबुको अंश भागमा परेको सम्पत्तिमा मात्र बण्डा पाउने ।
(प्रकरण नं. १८)
बण्डापत्रको सम्पत्तिबाट समेत वादीहरुले अंश पाउने हुँदा वादीहरुका हकमा फिराद परेको मिति मानु छुट्टिएको मिति कायम हुने ।
(प्रकरण नं. १९)
पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र अधिवक्ता श्री मो. शेष अव्वास
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र श्री जुक्तिजंग लामिछाने
अवलम्बित नजीरःX
आदेश
न्या.केशव प्रसाद उपाध्यायः तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) देहाय (ख) बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्न अनुमति प्रदान भई पुनरावेदनको लागतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. अन्यायवाला मध्ये दमबहादुर ससुरा र बज्यै चेतकुमारी कान्छी सासु बज्यै र कृष्णबहादुर, भुपेन्द्रबहादुर देवर कान्छा बाबु हुन । रामबहादुर क्षेत्री पति र बाबु सुधा सौतेनी आमा र सौता, गजेन्द्रबहादुर, अमृत बहादुर सौतेनी छोरा र दाजुभाइ हुन, म रितादेवीसंग लोग्ने रामबहादुरको ०१६ सालमा जातीय रीतपूर्वक विवाह भै छोरा म राजेन्द्र बहादुरको जन्म र ४ छोरा जन्म भएको र सौतातर्फ अमृतबहादुर छोरा १ र उन्नती भन्ने १ छोरीको जन्म भएको र हामी तर्फ १ छोरीको जन्म भएको र हामीतर्फ १ छोरी सविताको विवाह भएको र बहिनी उन्नती, पवित्रा, बबिता र गुड्डु १ को र राजेन्द्रबहादुरको विवाह भएको छैन । हामीहरु संगोलमा बसी पाल्पा तानसेन र भैरहवा दुवै ठाउँमा घरवास गरी आएकोमा ०१९ साल देखि हामी आमा छोरीलाई खान लाउन नदिई घरबाट निकाला गरेकोले फिराद गर्न आएका छौं । विपक्षीहरुबाट तायदाती फाँटवारी लिई ५ भाग गरी सो ५ भागको १ भाग मध्ये ६ भागको एक भाग अंश छुट्याई पाउँ भन्ने समेत फिराद दावी।
३. मधेशको जग्गाको सम्बन्धमा २०१५।१२।२०।५ मा र रुपन्देही जिल्लाको भैरहवामा घर खेत बुटवलको जग्गा तथा बयर कट्टीको जग्गा समेत र पाल्पाको घर जग्गा २०१९।७।५ मा अंश बण्डापत्र पारित गरी लिई दिई अलग अलग बसी आएका छौं । वादीहरुलाई अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको दमबहादुर खाती भूपाल भन्न भुपेन्द्रबहादुर खांती, चेतकुमारी खातीको संयुक्त प्रतिउत्तर जिकिर ।
४. प्र.मध्येका दमबहादुर समेतसंग २०१५।१२।२० मा मधेश तराइको जग्गा बण्डा गरी बण्डापत्र गरी अलग बसेको र अंशबण्डाको बाँकी जग्गाको मिति २०१९।७।५ मा बण्डापत्र पारित गरी अंश लिनुदिनु गरेको हो वादीलाई अंश दिनु पर्ने होइन झुठ्ठा दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्र.कृष्णबहादुरको प्रतिउत्तर जिकिर ।
५. भूमिसम्बन्धी ऐन लागू हुँदा जग्गा पचाउने अभिप्रायले बण्डापत्र खडा गरी पास गरेको हो बण्डा गरेको होइन । वादीले दावी अनुसार अंश पाउने हुन भन्ने समेत प्र.रामबहादुरको प्रतिउत्तर जिकिर ।
६. विपक्षी रीता रामबहादुरकी विवाहिता स्वास्नी होइनन् । २०१६ सालमा विवाह भएको भन्ने भाई झुठ्ठा हो । रामबहादुर काठमाडौं पढ्न गएको बखत २०१९ सालमा अर्को स्वास्नी राखेको भनी हल्ला सुनि सोद्धा निजबाट कुनै सन्तोषजनक जवाफ नपाएकोले शंका लागि हामी दुवै आमा छोरा आफ्नो अंश लिई २०१९।८।८ मा अंश बुझी छुट्टी भिन्न भएको र हामी छुटि भिन्न भएपछि अर्को स्वास्नी रिता ल्याएको हुँदा हामीबाट वादीहरुले अंश पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको सुधादेवी, गजेन्द्र बहादुर र अमृतबहादुरको संयुक्त प्रतिउत्तर जिकिर ।
७. बण्डापत्र र सट्टा पट्टाको कागज समेत देखे सो कागजको सम्बन्धमा मलाई केही थाहा छैन । मैले अंश पाएको छैन भन्ने समेत व्यहोराको रिता देवी खांतीको बयान ।
८. मिसिल संलग्न बण्डापत्र समेतबाट वादीहरु प्र. रामबहादुर खातीसँग माग संगोलमा रहेको देखिई वादीहरुले रामबहादुरबाट मात्र अंश पाउने देखिन्छ । तसर्थ हाल वादीले तारेख गुजारी तायदाती फाँटवारी समेत दाखिल गर्न सकेको नदेखिँदा पछि तायदाती फाँटवारी दाखेल गरेका बखत उक्त बमोजिम अंश छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०४५।५।९ को फैसला ।
९. प्र.रामबहादुर र अन्य प्रतिवादीहरु बीच बण्डा भै सकेको भन्ने समेत व्यहोराको शुरुको इन्साफमा चित्त नबुझेको हुँदा शुरुको सो निर्णय बदर गरी हाम्रो वादी दावी बमोजिम अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन ।
१०. प्रत्यर्थी प्रतिवादी रामबहादुरबाट अंश पाउने अधिकार सुरक्षित हुँदा यसमा लिखत प्रमाणबाट २०१५ साल एवं २०१९ सालमा रीत पूर्वकको रजिष्ट्रेशन गरी छुटि बसेका प्रत्यर्थी प्रतिवादी दमबहादुर, सुधा देवी समेतबाट अंश पाउन नसक्ने ठहर्याएको शुरुको इन्साफ बेमनासिब भन्न सकिएन । अतः पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसला शुरुको मनासिब ठहर्छ भन्ने लुम्बिनी अञ्चल अदालतको मिति २०४६।७।६।१ को फैसला ।
११. लुम्बिनी अञ्चल अदालतको फैसलामा कानून व्याख्या सम्बन्धि त्रुटि र पालना गर्नु पर्ने कार्यविधि समेतको उल्लंघन गरी निर्णय गरेको हुनाले सो निर्णय बदर गरी न्याय प्रशासन सुधार ऐन, २०३१ (चौथो संशोधन सहित) को १३ (४) (ख) (ग) (घ) (ङ) नं. अन्तर्गत पुनरावेदन गर्ने अनुमति प्रदान गरी न्याय पाउँ भन्ने समेत वादी रीतादेवी खांती र राजेन्द्रबहादुर खातीको तत्कालीन प.क्षे.अ.मा परेको संयुक्त निवेदन ।
१२. अंशबण्डाको १ नं. तथा २ नं. बमोजिम अंशबण्डा हुनुपर्ने सो को विपरीत भएको अंशबण्डालाई समर्थन गरी प्र.रामबहादुर खांतीसँग मात्र अंश पाउने ठहर्याएको शुरुको इन्साफ सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसलामा न्याय प्रशासन सुधार (संशोधन सहित) ऐन, २०३१ को दफा १३(४)(ख) अन्तर्गत कानुनको व्याख्या सम्बन्धी त्रुटि विद्यमान रहेको पाइएकोले पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ भन्ने प.क्षे.अ. एक न्यायाधीशको इजलासको मिति २०४७।२।२४।५ को आदेश ।
१३. रीत पूर्वकको अंश बुझी घर व्यवहार गरी आएकी सुधा देवी उपर २४ वर्ष पछि परेको यो नालिशको भनाई मात्रको आधारमा सुधा देवी समेतले पाएको सम्पत्तिबाट वादीलाई अंश दिनु पर्छ भनी ठहर गर्नु न्याय संगत र कानुन संगत समेत नहुँदा वादीहरुले पति, पिता रामबहादुरबाट मात्र अंश पाउने प्र.दमबहादुर प्र.सुधा देवीबाट अंश पाउने नसक्ने शुरु रुपन्देही जिल्ला अदालतको फैसलालाई सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसला मुनासिब ठहर्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१४. उक्त क्षेत्रीय अदालतको फैसलामा अ.बं. १८४ (क) १८५ र प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको प्रत्यक्ष कानुनी त्रुटि हुँदा उक्त निर्णय ब दर गरी पुनरावेदनको अनुमति पाउँ भनी वादी रीतादेवी खांती समेतको यस अदालतमा परेको निवेदन ।
१५. निवेदक वादी अंशियारा भएको कुरामा र यी वादी रिता देवी र प्रतिवादी सुधादेवी बराबरी अंशका हकदार भएको कुरामा समेत विवाद छैन । २०१९।७।५ तथा २०१९।७।८ मा बण्डा भएको भनिएको उक्त बण्डापत्रमा यी वादी साक्षी रहेबसेको देखिँदैन । २०१५ सालमा भएको बण्डापत्रबाट यी वादी प्रतिवादी बीच बण्डापत्र भएको भन्ने स्थिति छैन । वादी राजेन्द्रबहादुर खांती २०१८ सालमा जन्मेको कुरा मिशिलबाट देखिन्छ । सुधादेवी सँग अंश बढी रहेको भन्ने कुरा तर्फ समेत प.क्षे.अ. ले कुनै विवेचना गरेको पाइँदैन । यस्तो अवस्थामा मु.ऐन अंशबण्डाको १,२,४ नं. समेतको प्रतिकूल हुने गरी प्रतिवादी रामबहादुर सँगबाट मात्र अंश पाउन सक्ने ठहर गरी प्रतिवादी सुधादेवीबाट अंश पाउन नसक्ने गरेको शुरु रुपन्देही जिल्ला अ दालतको फैसलालाई सदर गरेको लु.अं.अ. को इन्साफ मनासिब ठहर गरेको प .क्षे.अ. को इन्साफमा मु.ऐन अंशबण्डाको महलको १, २, ४ तथा अ.बं. १८४ (क) १८५ नं. समेतको कानुनी त्रुटि देखिँदा तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) को देहाय (ख) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५०।३।२३ को आदेश ।
१६. नियमानुसार पेशी सूचीमा चढी हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट रहनु भएका वरिष्ठ विद्वान अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र अधिवक्ता श्री मो. शेष अव्वासले सुधादेवी र रितादेवी बराबरी अंशका हकदार हुन प्र. सुधादेवीसँग अंश भाग लाग्ने सम्पत्ति बढीरहेको छ । त्यो सम्पत्ति समेत बराबरी हुने गरी वादी दावी बमोजिम मेरो पक्षले अंश पाउनु पर्दछ । प.क्षे.अ. को इन्साफ मिलेको छैन बदर हुनु पर्दछ भन्ने र विपक्षी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहाल र श्री जुक्ति लामिछानेले २०१५ सालको बण्डापत्रलाई वादी पक्षले अन्यथा भन्न नसकेको अवस्थामा बण्डापत्र पश्चात वैवाहिक सम्बन्ध भई पति रामबहादुरको साथमा बसेकी रितादेवीले प्र.सुधादेवी समेतबाट अंश पाउन सक्ने अवस्था नहुँदा शुरु र अञ्चल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको फैसला मिलेकै हुँदा सदर हुनुपर्दछ भन्ने समेतको बहस गर्नु भयो ।
१७. यसमा वादीको दावीमा रामबहादुरसँग २०१६ सालमा जातीय रीतपूर्वक विवाह भएको र हामी सगोलमा बसी आएकोमा २०१९ साल देखि खान लाउन नदिई घरबाट निकाला गर ेकीले विपक्षीहरुबाट तायदाती लिई अंश छुट्याई पाउँ भन्ने वादी भएकोमा वादीका पति, पिता रामबहादुर खांतीले बाबु दमबहादुर खांती र भाइ कृष्णबहादुर खांती समेत बसी, २०१५,१२।२० मा एउटा मौजाको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति बण्डापत्र, पारित गरी लिएको पाइन्छ । सो बण्डापत्र व्यवहार मिलाउन मात्र भएको हो छुट्टिई भिन्न हुने तात्पर्यको निमित्त होइन सगोलमा नै रहे बसेका छौं भन्ने जि किर लिएको भएपनि कानुन बमोजिम पारित बण्डापत्रबाट दमबहादुर, रामबहादुर र कृष्णबहादुर छुट्टिएको स्थितिमा सो बण्डापत्रलाई व्यवहार मिलाउनसम्म भएको भनी मान्न मिल्ने देखिँदैन । सोही २०१५।१२।२० को बण्डापत्रलाई आधार मानी वादीका लोग्ने पिता रामबहादुरले आफ्नो जेठी पत्नी सुधा देवी समेतलाई अंश दिएको २०१९।७।५ को बण्डापत्रबाट देखि न आएको छ । यस प्रकार दमबहादुर खांती बहादुर खांती, रामबहादुर खांती र कृष्णबहादुर खांती बिच २०१५।१२।२० मा अंश बण्डा पारित भई वादीका लोग्ने पिता रामबहादुर खांती आफ्ना बाबु भाइ सँग २०१५ सालमा नै अंश लिई छुट्टि भिन्न भएको २०१५।१२।२० को पारित बण्डापत्रको प्रमाणले गम्भीर देखिन आयो ।
१८. वादीका फिराद लेखबाट नै वादी रीतादेवी खांती क्षेत्रीको रामबहादुर खांती क्षेत्रीसँग २०१६ साल मा विवाह सम्पन्न भएको र सो पश्चात राजेन्द्रबहादुर खांती क्षेत्रीको जायजन्म भएकोमा वादीहरु अ ाफ्नो फिराद लेखमा सावित रहेको पाइन्छ । २०१५ सालमा नै वादीका लोग्ने पिता आफ्ना बाबु दमबहादु र भाइ कृष्णबहादुरसँग अंशबण्डा पारित गरी छुट्टिई अलग भई रहेको र २०१९।७।५ को बण्डाबाट बाँकी रहेको सम्पत्ति बण्डा गरेको तथ्य प्रमाणित भइरहेको स्थितिमा दमबहादुर र कृष्णबहादुरबाट सगोलमा बसेको लिखत प्रमाणको अभावमा अंश पाउँछ भन्न मिल्दैन । बाबु भाइसँग बण्डापत्र पास गरी छुट्टिई बसेकाले छुट्टिई अलग भई बसेपछि स्वास्नी विवाह गरी ल्याएमा त्यस्तो स्वास्नी र छोराले आफ्नो बाबुको अंश भागमा परेको सम्पत्तिमा मात्र बण्डा पाउने हुन्छ । त्यसकारण वादीको ससुरा बाजे दमबहादुर र देवर र काका कृष्ण बहादुरबाट अंश पाउं भन्ने वादी दावी पुग्न सक्ने देखिएन ।
१९. अब वादीका पति पिता रामबहादुरले आफ्नी पत्नी सुधा देवीलाई २०१९।७।५ मा पारित बण्डापत्रबाट छुट्याई दिएको सम्पत्तिबाट वादीहरुले अंश पाउने नपाउने के हो ? त्यसतर्फ विचार गर्दा वादीहरु रामबहादुरका पत्नी छोरा हुन भन्नेमा विवाद रहेन । निज वादी रीतादेवीसँग २०१६ सालमा पति पत्नीको सम्बन्ध कायम भई छोरा राजेन्द्रको जायजन्म समेत भएकोमा विवाद देखिएन । रामबहादुरले सुधा देवीलाई अंश दिई छुट्याई दिँदाको अवस्थामा वादी रीतादेवी र राजेन्द्र, रामबहादुरका पत्नी, छोरा अंशियार कायम भइसकेको देखिन्छ । सुधा देवीलाई २०१९ ।७।५ मा अंश छुट्याइएको पारित बण्डापत्रमा वादी रीतादेवीको मञ्जुरी रहेको भन्ने कतैबाट देखिन आएन । यस स्थितिमा सो बण्डापत्रले रामबहादुरले आफ्ना पिताबाट पाएको सम्पत्तिमा रीतादेवीले अंश पाउदैन भन्ने कानुनले मिल्ने देखिएन । रीतादेवी र राजेन्द्रको हकमा अंश पाउने कुरामा २०१९।७।५ को रामबहादुरले सुधा देवीलाई गरी दिएको बण्डापत्रले असर पुग्न नसक्ने हुँदा सो बण्डापत्रको सम्पत्तिबाट समेत वादीहरुले अंश पाउने हुँदा वादीहरुका हकमा फिराद परेको मिति मानु छुट्टिएको मिति कायम हुन्छ । सो को अघिल्ला दिन सम्मको २०१५ सालमा छुट्टि भिन्न भइसकेका प्रतिवादीहरु बाहेक वादीको लोग्ने बाबु सौता छोरा अन्य अंशियार प्रतिवादीहरु र वादी समेतबाट अंशको तायदाती दाखिल हुन आए लिई ६ खण्डको २ खण्ड बण्डा छुट्याई दिनु भनी रुपन्देही जिल्ला अदालतमा लेखी पठाई दिने समेत ठहर्छ । पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला केही उल्टी हुन्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.इन्द्रराज पाण्डे
इतिसम्वत् २०५२ साल जेष्ठ २ गते रोज ३ शुभम् ।