शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३०५ - निषेधाज्ञा

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३०५    ने.का.प. २०४२      अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको दे.फु.नं. ६०१

मुद्दा : निषेधाज्ञा ।

 

पुनरावेदक/प्रतिवादी :कोशी अंचल मोरङ जिल्ला विराटनगर नगर पंचायत वडा नं.३ स्थित धनावत बिँडी फैक्टरीका मालिक रतनलाल धनावत ।

विरूद्ध

विपक्षी/वादी:कोशि अंचल मोरङ जिल्ला विराटनगर नगर पंचायत वडा नं. ३ स्थित  शिव बिँडी फैक्टरी विराटनगरका स्वामिनन्द किशोर बोहरा ।

फैसला भएको मिति: २०४२।३।२४।२ मा

     अन्तिम फैसला समेतबाट वादीको हक भइराखेको कुरामा तेरो मेरोको प्रश्न उठी श्री ५ को सरकारमा विचाराधीन रहेको भन्न मिल्ने अवस्था रहँदैन ।

(प्रकरण नं.११)

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अन्तर्गत पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।

२.    विपक्षी रतनलालले धनावत बिँडी उद्योगका तर्फबाट ०१४।५।६ मा २१२ गणेश बिँडी ट्रेडमार्क रजिष्ट्रर गराएको र सो अगावै राजा बिँडी उद्योगले ०१४।१।२० मा नं. १९७ को ट्रेडमार्क रजिष्ट्रर्ड गराई लिएकोमा नं.२१२ को गणेशबिँडी धनावतबिँडी उद्योगले ०१९।४।३० मा खरिद गरी आफ्नोनाममा कायम राखी नामसारी गराएको थियो । शिव बिँडी उद्योगले ट्रेडमार्क रजिष्ट्रर्ड ०१८।६।१९ मा नं. ६२४ मा रजिष्टर्ड गराई लिएको असली गणेश बिँडीको विरूद्धमा विपक्षले दोहरा पर्ने गरी ट्रेडमार्क रजिष्ट्रर्ड भएकोले सो बदर गरिपाउँ भनी उजूर पर्दा अन्तिम तवरमा मध्यमान्चल क्षेत्रीय अदालतबाट उद्योग विभागले ०२०।२।९ मा नालेश गरी हक कायम गरी सकेको र धनावत बिँडी उद्योगले ०१९।४।३० मा नं. ६९७ मा ट्रेडमार्क दर्ता गराएकाले सो दर्ता भएको र हक प्राप्त भएको मितिबाट असली गणेश  बिँडीको ट्रेडमार्क पारख बिँडीले ०१८।६।१९ मा नं. ६२४ मा दर्ता भएको देखिँदा धनावत भन्दा उक्त असली गणेश बिँडीको ट्रेडमार्क पुरानो र अघिको देखिनाले सो नै कायम गर्ने गरी बा.अं.अ.बाट ०३०।३।२७ मा भएको फैसलालाई ०३२।६।१९ मा वादीको उजूरी दावी पुग्न नसक्ने गरी अं.अ.को इन्साफ मनासिव ठहरी मध्यमान्चल क्षेत्रीय अदालतबाट निर्णय भयो । उक्त निर्णयबाट हक प्राप्त व्यक्ति बिजयकुमार पारखले ०३३ सालमा बिक्री गरेको आधारबाट असली गणेश छाप संचालन गर्न पाउने हक निवेदकको भएकोले धनावत बिँडीका मालिक विपक्ष रतनलाल धनावतले श्री ५ को सरकारमा उजूरी निवेदन गरी उ.वा.मन्त्रालयबाट कारवाई चल्दैछ भन्ने कुरा विपक्ष धनावत उद्योगका कामदारबाट थाहा पाएँ । हाम्रो उद्योगमा आघात पुर्‍याउन विपक्ष मन्त्रालयले मेरो कानुनी अधिकारयुक्त ट्रेडमार्क र अदालतको अन्तिम फैसला लाईसमेत असर पर्ने गरी निवेदन लिन र कारवाई गर्न नपाउने हुँदा नागरिक अधिकार ऐन, २०१२ को दफा १७ बमोजिम निषेधाज्ञा जारी गरी क्षतिपूर्ती समेत दिलाई भराई पाउँ भन्ने समेत नन्दकिशोर बोहराको निवेदन ।

३.    ०३१ साल पछि नवीकरण नभएकोले फर्म बाहाल नरहेको नेमचन्द्र पारखको नाममा दर्ता भएको पारख बिँडी उद्योगका नाममा असली गणेश बिँडी नामको ट्रेडमार्क मास भइरहेको स्वयं निस्कृय भइसकेकोलाई ०३३ सालसम्म निज नेमचन्द्रको हकवाला छोरा धुरचन्द्रले नामसारी दर्ता गराई नवीकरण समेत नगराएकोबाट बाबुकै हक नपुगेकोमा छोरा बिजयकुमारले आफ्नो नाममा नामसारी दर्ता नगराई सो बेगर शिव बिँडी उद्योगले झुठ्ठा व्यहोरा मेरा नाममा उद्योग वाणिज्य मन्त्रालयबाट ट्रेडमार्क रजिष्ट्रेशनको प्रमाणपत्र लिई मेरो हक चलनमा रहेको पारख बिँडी उद्योगलाई ट्रेडमार्कमा राख्न पाउने गरी नेपाल पेटेन्ट डिजाइनको असली गणेश बिँडी ट्रेडमार्क छोडपत्र गरेको भनी रजिष्ट्रेशन पास गरिदिएकोबाट सो ट्रेडमार्कमा शिव बिँडीले हक प्राप्त गरेको भन्ने निजको जिकिर हुँदा गैरकानुनी श्रोतबाट मिश्रित हक कानुनी मान्य नहुने फुल बेञ्चको प्रतिपादित सिद्धान्तबाट प्रष्ट छ । नेमचन्द्रका नाममा दर्ता भएको पारख बिँडी उद्योग खारेज भइसकेको हुनाले द्रव्यबहादुर शाक्यले सोही पारख बिँडी उद्योग नामको फर्म प्रा.फ.नं. २०६३।३५८।०३५ मिति ०३५।३।१८ मा दर्ता गरेकोबाट नेमचन्द्र पारखका नामको पारख बिँडी उद्योग फर्म खारेज भइसकेको प्रष्ट छ । हकदैया नपुग्ने नन्दकिशोर बोहराको हक नभएको हुँदा खारेज हुने प्रष्ट छ भन्ने समेत रतनलाल धनावतको लिखित जवाफ ।

४.    उद्योग विभाग ट्रेडमार्क जारी गर्ने, खारेज गर्ने अर्धन्यायिक निकाय हो । सम्बन्धित पक्षसँग सोधपुछ स्पष्टीकरण दिने मौका दिने गरेर मात्र निश्चित निर्णयमा पुग्ने प्रक्रिया हुँदा सो अगावै विपक्षको हकलाई आघात पुग्ने कुरा धेरैटाढा हुँदा यस्तो स्थितिमा निषेधाज्ञा जारी हुनु नपर्ने भन्नेसमेत उ.तथा वाणिज्य मन्त्रालयको लिखित जवाफ ।

५.    ०३२।६।१९ मा भएको निर्णयमा असर पर्ने गरी कुनै काम कारवाही नगर्नु भनी विपक्षीहरूका नाममा निषेधाज्ञाको आदेश जारी हुने ठहर्छ भन्ने समेत बागमती अं.अ.को ०३८।६।११ को फैसला ।

६.    सो फैसलामा चित्त बुझेन सो फैसला बदर गरिपाउँ भन्ने समेत रतनलाल धनावतको पुनरावेदन पत्र ।

७.    निषेधाज्ञाको आदेश जारी गर्ने गरेको बा.अं.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको २०४०।९।७ को फैसला ।

८.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमतिपाउँ भन्ने निवेदनमा तेरो मेरो सम्बन्धमा विवाद भई रहेको र श्री ५ को सरकारको विचाराधीन रहेको कुरामा ध्यान दृष्टि नदिई गरेको निर्णय त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएकोछ भन्नेसमेत स.  अदालत डिभिजन बेञ्चको आदेश ।

९.    पुनरावेदकतर्फबाट रहनुभएका विद्वान व.अ. श्री कुञ्जबिहारीप्रसाद सिंहले श्री ५ को सरकारको विचाराधीन रहेको कुरालाई आशंका भयो भनी निशेषाज्ञा जारी गर्न मिल्दैन भन्ने र व.अ. श्री कृष्ण प्रसाद पन्तले ट्रेडमार्क हस्तान्तरण हुन सक्दैन क्षेत्रीय अदालतबाट विरोधाभास निर्णय भएको छ । क्षेत्रीय अदालतको पूर्व निर्णयमा आघात पर्ने आशंका विद्यमान छैन । निवेदकको माग नभएको कुरामा निषेधाज्ञा जारी भएको हुँदा क्षे.अ.को निर्णय बदर हुनुपर्छ भन्ने र विपक्षी तर्फबाट रहनुभएका विद्वान व.अ. श्री कृष्ण प्रसाद भण्डारीले असली गणेश बिँडी ट्रेडमार्क शिव बिँडीले खरिद गरेको छ । शिव बिँडीका नाउँमा नाउँसारी भएको छ । धनावतले विरोध गरेपछि श्री ५ को सरकारले कारवाई गर्न थाल्यो र आशंका हुन आयो निषेधाज्ञा जारी गरेको निर्णय मिलेको भन्ने र विद्वान व.अ. श्री शम्भु प्रसाद ज्ञवालीले टे«ेडमार्क सम्बन्धमा मुद्दा परी अन्तिम निर्णय भइसकेको कुरामा मन्त्रालयमा उजूर गरी आघात पार्ने आशंका भएकोले निषेधाज्ञा जारी गरेको निर्णय सदर हुनुपर्छ भन्ने र व.अ. श्री रतनलाल कनौडियाले उद्योग विभागको निर्णय उपर ट्रेडमार्क ऐन अनुसार अञ्चल अदालतमा विपक्षीले पुनरावेदन नगरी बसेको हुँदा समेत निषेधाज्ञा जारी गरेको निर्णय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१०.    प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

११.    यसमा निर्णयतर्फ हेर्दा श्री पारख बिँडी फैक्ट्री विराटनगरलई असली गणेश छाप ट्रेडमार्क दर्ताको प्रमाणपत्र मिति ०१८।६।१९ मा भएको प्रमाणपत्रको प्रतिलिपिबाट देखिन्छ । असली गणेश बिँडीको लेबुल ट्रेडमार्कले गर्दा हाम्रो गणेशबिँडी र गणेशछाप बिँडीको उद्योगमा असर परेकोछ । असली गणेशबिँडीको गैरकानुनी ट्रेडमार्क बदर गरिपाउँ भन्ने धनावतबिँडी फैक्ट्रीको उजूर परी कारवाई भएको ट्रेडमार्क बदर मुद्दामा पारखबिँडी फेक्टरीको असली गणेश बिँडी नाउँको ट्रेडमार्क लेबुल पछिको भनी उद्योग विभागले बदर गरेको निर्णय गल्ती देखिन्छ । सो हुँदा पारख बिँडी फैक्ट्रीले प्रयोग गरेको ट्रेडमार्क लेबुल बदर नहुने ठहर्छ भनी बा.अं.अ.बाट २०३०।३।२७ मा निर्णय भएको सदर भई मध्यमान्चल क्षेत्रीय अदालतबाट २०३२।६।१९ मा अन्तिम फैसला भएको पाइन्छ । सो फैसलाबाट कायम भएको उक्त ट्रेडमार्क पारख बिँडी फैक्ट्रीका हकदार बिजयकुमार पारखले प्रत्यर्थी शिव बिँडी फैक्ट्रीका प्रो.नन्दकिशोर बोहरालाई ०३३।१२।१७ मा रजिष्ट्रेशन पास गरी छोडपत्र गरेको र सो असली गणेश नामक लेबुल शिव बिँडी फैक्ट्रीको नाममा गरिएको उद्योग विभागको मिति ०३३।१२।२९ को पत्रबाट देखिन्छ । त्यसरी क्षे.अ.को ०३२।६।१९ को अन्तिम फैसलासमेतबाट कायमभएको असली गणेशछाप ट्रेडमार्क बिजयकुमार बाट वादी शिवबिँडी फैक्ट्रीले हक हस्तान्तरण गरिलिएको सो असली गणेश छाप ट्रेडमार्कको सम्बन्धमा आघात पर्ने काम गर्न लागे निषेधाज्ञा जारी गरिपाउँ भन्ने प्रस्तुत उजूर परेको देखिन्छ । फैसला समेतबाट कायम भएको ट्रेडमार्कको सम्बन्धमा आघात पर्ने काम गर्न मिल्ने स्थिति हुँदैन । अन्तिम फैसलासमेतबाट वादीको हक भई राखेको कुरामा तेरोमेरोको प्रश्न उठी श्री ५ को सरकारमा विचाराधीन रहेको भन्नमिल्ने अवस्थारहँदैन । तसर्थ मध्यमान्चल क्षेत्रीय अदालतको ०३२।६।१९ मा भएको निर्णयमा असर पर्ने गरी कुनै काम कारवाई नगर्नु भनी विपक्षीहरूका नाममा निषेधाज्ञाको आदेश जारी गर्ने गरेको बा.अं.अ.को इन्साफ सदरगरेको हदसम्म मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ कोर्टफी लागेको हुँदा कसैलाई केही   गर्नपरेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्र केशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल आषाढ २४ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु