निर्णय नं. ५०७७ - हाडनाता करणी

निर्णय नं. ५०७७ ने.का.प. २०५२ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
सम्वत् २०५० सालको फौ.पु.नं. ७९३
फैसला मिति : २०५१।९।२६।३
विषय : हाडनाता करणी ।
पुनरावेदक/प्रतिवादी:जि. खोटाङ फाक्टाङ गा.वि.स. वडा नं. ५ बस्ने राम प्रसाद राई ।
विरुद्ध
विपक्षी/वादी:ऐ. बस्ने मिल बहादुर राई ।
कुनै कानूनको व्याख्या गर्नु पर्ने अवस्था बाहेक कानून प्रष्ट हुँदा हुँदै व्याख्या गरी कसुरदार कायम गर्न मिल्ने नदेखिने ।
(प्र.नं. ११)
मुलुकी ऐन, २०२० सालको शुरु संस्करणमा भएको शब्द पछि, पछिको संस्करणमा के कति कारणले फेरिन गएको हो, त्यो जनसामान्यले बीसौं वर्ष अघि देखि परिवर्तित रुपमा छापिएको ऐन कानूनको त्यसरी परिवर्तित संस्करण छपाइको वा प्रकाशनको भूलले भएको हो अथवा वास्तविक रुपमा नै त्यही हो भनी थाहा पत्ता लगाउनु पर्ने बाध्यता देखिंदैन । तत्काल बहाल रहेको ऐन कानूनलाई हेरी कानून परायणताको कर्तव्य र व्यवहार प्रर्दशन गर्नुपर्ने कर्तव्य देखिन आउँछ । यस स्थितिमा बहालमा रहेको ऐनको संस्करणमा अर्को शब्द भै आफ्नो एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोरीको छोरी भन्ने शुरु शब्दको ठाउँमा छोराको छोरी पर्न गएको हो भन्ने कारण देखाई बीसौं वर्ष देखि प्रकाशन र प्रचलनमा रहेको मुलुकी ऐनमा भएको भन्दा बेग्लै कानून प्रयोग हुने गरी व्याख्या गर्नु र सो कानूनको अरु प्रावधानबाट अन्यथा नदेखिएसम्म त्यस्तो व्याख्या गरी कसैलाई कसुरदार समेत ठहर्याउन मिल्ने नदेखिने ।
(प्र.नं. ११)
प्रस्तुत मुद्दा चल्नु भन्दा पहिला देखि नै तत्काल प्रकाशनमा भै जनसामान्यले प्रचलनमा रहेको भनी बुझी आएको मुलुकी ऐन हाडनाता करणीको महलमा हेर्दा आफ्ना एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोरीको छोरीको सम्बन्धमा हाडनाता करणीमा सजाय हुने कानूनी व्यवस्था देखिएन । सरकारी निकाय वा संस्थाबाट प्रकाशनमा ल्याएको कानूनमा प्रकाशन वा छपाईको गल्तीबाट कुनै कुरालाई अपराधको वर्गिकरणमा उल्लेख गर्न पटक पटक भूल गरी सोही भूल बीसौं वर्ष सम्म दोहर्याउँदै गएको र सो कुरा त्यस कानूनको अरु प्रावधानसँग सामान्जस्य र संगतिमा रहेकोमा त्यसरी बीसौं वर्ष देखि पटक पटक प्रकाशित भएको कानूनको परायणता नै जनसामान्यका लागि कानूनी परायणताको मापदण्ड मान्नु कानूनी परायणताको मापदण्ड मान्नु पर्ने देखिन्छ । सो मापदण्ड भन्दा बाहिर गई कुनै व्यक्तिलाई कसुरदार ठहर्याउनु न्यायोचित नहुने ।
(प्र.नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी तर्फबाटःX
अवलम्बीत नजीरःX
फैसला
न्या. केदारनाथ उपाध्याय: पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) को आधारमा पुनरावेदकको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. मेरा बाबु नर बहादुर जेठा हुन । मेरा बाबुकै एक आतका भाई मेरा कान्छा बाबु मताप सिं हुन । मताप सिं कै छोरा विपक्ष राम प्रसाद हुन । मेरा सौतेनी आमाको छोरी विमल कुमारी निजकी छोरी संगीता राई हुन । विपक्ष राम प्रसाद राई र संगीता राई बीच मामा भान्जी नाता पर्दछन । विपक्षीहरुले पहिला देखि नै हाडनातामा करणी लिनु दिनु गरेका रहेछन । सो करणबाट विपक्ष संगीता राईलाई गर्भ रहन भै २०४३ साल कार्तिक २९ गतेका दिन छोरी जातकै जन्माई विपक्षी राम प्रसाद ले नै न्वारन गराई संगीतालाई स्वास्नी तुल्याई राखेकोले हाडनाता करणीका ३ नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत फिराद पत्र ।
३. प्रतिवादी राम प्रसाद राई र म मामा भान्जी नाताका हो । यो भन्दा ४, ५ वर्ष अगाडि देखिनै हाम्रो उमेर पुगी भर जवानी भएकोले हामीहरुको करणी लेनदेन भै रहन्थ्यो । २०४२ साल माघ २२ गते मलाई रजस्वला भएको ४ दिन भएको थियो म र राम प्रसाद दिक्तेल बजार हेर्न भनी हिडी २०५२।१०।२२ गते राती धावलाङटार भन्ने ठाउँमा वास बसी सो रात हामीले करणी लिन दिन परेपछि सोही मितिबाट गर्भ रही ०४३।७।१९ गते छोरी जन्मिएको हो । हामी खास ३ पुस्ता भित्रको मामा भान्जी नाताका मानिस हुँदा कानून बमोजिम सजाय समेत गरी पाउँ भन्ने समेत संगीता राईको प्रतिउत्तर पत्र ।
४. प्र. संगीता राई र म ३ पुस्ता भित्रको मामा भान्जी होइनौं । विपक्षी संगीता राई लाई मैले करणी गरी बच्चा जन्मिएको समेत होइन । विपक्षी संगीता राईबाट जन्मिएको बच्चा फावटाङ गा.पं. वडानं. ५ बस्ने छत्र बहादुर राई करणी विर्यबाट प्र. संगीताले बच्चा जन्माई निजै छत्र बहादुरले न्वारान गरी निजकै घरमा रहे बसेको भन्ने कुरा घर गाउँमा सुनेको हुँ भन्ने समेत म राम प्रसाद राईको प्रतिउत्तर पत्र ।
५. वादी दावी अनुसार प्रतिवादी राम प्रसाद राई र संगीता हाडनाता करणी को नं. ३ विपरित ३ पुस्ता भित्रको मामा भान्जीको नातामा हाडनाता करणी गरी शिशु कला राई नामकी छोरी जातक समेत जन्माएको ठर्हछ भन्ने शुरु खोटाङ जिल्ला अदालतको २०४४।१०।५।३ को फैसला ।
६. शुरु खोटाङ जिल्ला अदालतको फैसलामा चित्त बुझेन । सो फैसलाले हुने ठहरेको कैदबाट फुर्सद पाउँ भन्ने समेत प्र. राम प्रसाद राईको सगरमाथा अंचल अदालत ओखलढुंगा बेञ्चमा परेको पुनरावेदन ।
७. हाडनाता करणी गरी शिशु कला नामकी छोरी जातक समेत जन्माएको ठहर्याई गरेको खोटाङ जिल्ला अदालतको फैसला मनासिव ठर्हछ भन्ने समेत सगरमाथा अंचल अदालत ओखलढुंगा बेञ्चको २०४५।१२।२५।४ को फैसला ।
८. मुलुकी ऐन २०२० सालमा लागू भए देखि हाल सम्म हाडनाता करणीको महलको ३ नं. मा कुनै संशोधन थप घट भएको पाइदैन । २०२० सालको मुलुकी ऐनको पहिलो संस्करणको हाडनाता करणीको महलको ३(२) मा एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोरीको छोरीको करणी गरेमा हाडनाता करणी गरेको मानिने व्यवस्था रहेको देखिने र ०३२ साल जेष्ठ २५ गते प्रकाशित मुलुकी ऐनमा पनि सोही अनुसारको व्यवस्था कायम रहेको पाइन्छ । तर ०३८ साल असारमा प्रकाशित मुलुकी ऐनमा उक्त व्यवस्थामा एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोराकी छोरी भन्ने उल्लेख भई बेग्लै नाताको बोध जनाउने गरिरहेको देखियो । सोही व्यवस्था हाल नवौं संशोधन सहित २०४४ सालमा प्रकाशित मुलुकी ऐनमा समेत पाइयो । उक्त कानूनी व्यवस्थामा बेग्लै नाता बोध हुने गरी संशोधन भएको भन्ने देखिन आउँदछ । हाल रहेको उक्त ऐ को व्यवस्थाको बनौट हेर्दा पनि बाबुकी भन्ने शब्दले त्यसपछिको व्यक्तिलाई जनाउने शब्द स्त्रीलिंग नै संकेत गर्ने भएकोले त्यसपछिको शब्द छोरीको छोरी नै रहे भएको देखाउँछ । पछि छोराको छोरी भई दिएको भए छोरा शब्दको अगाडि बाबुको भन्ने उल्लेख हुने थियो जबकी हाल सम्मको उक्त कानूनी व्यवस्थामा बाबुकी भन्ने शब्द कायम रहेको छ, यसबाट पनि २०३२ साल पछि प्रकाशित मुलुकी ऐनमा छपाईको गल्तीको कारणबाट छोराकी छोरी हुनु पर्नेमा छोरीको छोरी हुन गएको कुरालाई नकार्न सकिने आधार नदेखिएकोले र सोही शब्द पछि प्रकाशित हुने मुलुकी ऐन पनि कायम रहेको देखिन आउँछ । पहिलो प्रकाशित मुलुकी ऐनमा संशोधन नभए सम्म सोही ऐनमा उल्लेखित कुरालाई नै मान्नुपर्ने हुँदा एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोरीको छोरीलाई करण गरेमा हाडनाता करणी गरेको मान्नुपर्ने हुन आएबाट विद्वान अधिवक्ताका वहस जिकिरसँग सहमत हुन सकिएन । यसर्थ प्र. राम प्रसाद राई र संगीता राई उपरोक्त उल्लेख गरिए बमोजिम मामा भान्जी नाताका हुन भन्ने कुरा मिसिल प्रमाणबाट पुष्टि भईरहेको देखिंदा प्रतिवादी पुनरावेदक राम प्रसाद राई लाई हाडनाता करणी ३(२) नं. अनुसार कसुर गरेको देखिंदा निजलाई कसुरदार ठहर्याएको शुरुको र सो सदर गरेको सगरमाथा अंचल अदालत ओखलढुंगा बेन्चको फैसला मनासिव ठर्हछ । सजायको हकमा शुरुको सदर गरेको सगरमाथा अंचल अदालत ओखलढुंगा बेन्चको फैसला मिलेको देखिएन । प्रतिवादीहरुको नाता र पुस्ताको विचार गर्दा पुनरावेदक प्रतिवादी राम प्रसाद राईलाई कैद वर्ष १ र पुनरावेदन नगर्ने संगाीता राई लाई अ.वं. २०५ नं. बमोजिम कैद महिना ३ हुन्छ । शुरु खोटाङ जिल्ला अदालत र सगरमाथा अंचल अदालत ओखलढुंगा बेन्चको फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रिय अदालतको फैसला ।
९. पूर्वाञ्चल क्षेत्रीय अदालतले मलाई कसुरदार ठहराई सजाय गर्ने गरेको फैसलामा हाडनाता करणीको ३ नं. समेतको व्याख्यात्मक त्रुटी भएको हुँदा पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राम प्रसाद राईको यस अदालतमा पर्न आएको निवेदन ।
१०. यसमा प्रतिवादी राम प्रसाद राई र संगिता राई मामा भान्जी नाताका रहेको र २०२० सालको मुलुकी ऐनको पहिलो संस्करणमा हाडनाता करणीको ३(२) अनुसार एकै बाजे बाट जन्मेको जेठा वा कान्छा बाबुकी छोरीकी छोरीको करणीलाई हाडनाता करणीको कसुर मानेको हुँदा सो अनुसार यी प्रतिवादी राम प्रसाद राईलाई १ वर्ष कैद हुने पु.वे.अ. बाट ०४७।१।१० मा फैसला भएको देखिन्छ। कसुर हुँदाको अवस्थामा कायम रहेको व्यवस्था हेर्दा मुलुकी ऐन हाडनाता करणीको महल ३(२) नं. भएकै बाजेबाट जन्मेको जेठा वा कान्छा बाबुकी छोरीको छोरी भन्ने उल्लेख भएको पाइन्छ । उक्त व्यवस्था अनुसार यी प्रतिवादी राम प्रसाद र संगिता राई हाडनाता भित्रको नदेखिंदा कसुरदार ठहर्याई गरेको पु.वे.अ. को २०४७।१।१० को फैसलामा हाडनाताकरणीको महलको ३(२) नं. व्याख्या सम्बन्धी त्रुटी भएको देखिंदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) को आधारमा पुनरावेदनको अनुपति प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।
११. नियम बमोजम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले प्रचलित कानूनले निषेध गरेको कार्य गरेमा मात्र कुनै पनि व्यक्तिलाई सजायको भागी बनाउनु पर्छ भन्ने सर्वमान्य फौजदारी न्यायको सिद्धान्त हो । मेरो पक्षले हाडनाता करणीको महलको ३(२) को विपरित हुने कुनै कार्य गरेको छैन । उक्त दफा ३(२) मा एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोराकी छोरीलाई करणी गरेमा हाडनाता करणीको अपराध मानेको छैन । तसर्थ पु.वे.अ. समेतले मेरो पक्षलाई कसुरदार ठहर्याउने गरेको फैसला वदर गरी आरोपित कसुरबाट सफाई पाउनु पर्छ भनी आफ्नो वहस जिकिर प्रस्तुत गर्नु भयो । विद्वान अधिवक्ताले गर्नु भएको वहस जिकिर सुनि पुनरावेदन सहितको मिसिल अध्ययन गरी निर्णय तर्फ विचारगर्दा यसमा २०२० सालको मुलुकी ऐनको पहिलो संस्करणको हाडनाता करणीको महलको ३(२) नं. मा एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोरीकी छोरीको करणी गरेमा हाडनाता करणी गरेको मानिने कानूनी व्यवस्था भएको र २०३२ साल जेष्ठ २५ गते प्रकाशित मुलुकी ऐनमा पनि सोही व्यवस्था कायम रहेको तर मिति २०३८ सालमा प्रकाशित मुलुकी ऐनमा भने एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोराकी छोरी भन्ने उल्लेख भएको देखियो । हाल सम्म उक्त दफामा कुनै संशोधन भएको देखिंदैन । मुलुकी ऐन हाडनाता करणी गर्नेको महलको ३ नं. को देहाय (२) व्याख्या गरी पुनरावेदक प्रतिवादी लाई कसुरदार ठहर्याई पु.वे.अ. बाट १ (एक) वर्ष कैद गरेको देखियो । कुनै कानूनको व्याख्या गर्नुपर्ने अवस्था वबाहेक कानून प्रष्ट हुँदा हुँदै व्याख्या गरी कसुरदार कायम गर्न मिल्ने देखिंदैन । मुलुकी ऐन, २०२० सालको शुरु संस्करणमा भएको शब्द पछि पछिको संस्करणमा के कति कारणले फेरिन गएको हो त्यो जनासामान्यले बीसौं वर्ष अघि देखि परिवर्तित रुपमा छापिएको ऐन कानूनको त्यसरी परिवर्तित संस्करण छपाईको वा प्रकाशनको भूलले भएको हो अथवा वास्तविक रुपमा नै त्यही हो भनी थाहा पत्ता लगाउनु पर्ने बाध्यता देखिंदैन । तत्काल वहाल रहेको ऐन कानूनलाई हेरी कानूनपरायणताका कर्तव्य र व्यवहार प्रदर्शन गर्नुपर्ने कर्तव्य देखिन आउँछ । यस स्थितिमा वहालमा रहेको ऐनको संस्करणमा अर्कै शब्द भै आफ्नो एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोरीको छोरी भन्ने शुरु शब्दको ठाउँमा छोराकी छोरी पर्न गएको हो भन्ने कारण देखाई विसौं वर्ष देखि प्रकाशन र प्रचलनमा रहेको मुलुकी ऐनमा भएको भन्दा बेग्लै कानून प्रयोग हुने गरी व्याख्या गर्नु र सो कानुनको अरु प्रावधानबाट अन्यथा नदेखिए सम्म त्यस्तो व्याख्या गरी कसैलाई कसुरदार समेत ठह्याउन मिल्ने देखिंदैन । प्रस्तुत मुद्दा चल्नु भन्दा पहिला देखि नै तत्काल प्रकाशनमा भै जनसामान्यले प्रचलनमा रहेको भनी बुझी आएको मुलुकी ऐन हाडनाता करणीको महलमा हेर्दा आफ्ना एकै बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोरीको छोरीको सम्बन्धमा हाडनाताको करणीमा सजाय हुने कानून व्यवस्था देखिएन । सरकारी निकाय वा संस्थाबाट प्रकाशनमा ल्याएको कानूनमा प्रकाशन वा छपाईको गल्तीबाट कुनै कुरालाई अपराधको वर्गिकरणमा उल्लेख गर्न पटक पटक भूल गरी सोही भुल बीसौं वर्ष सम्म् दोहर्याउँदै गएको र सो कुरा त्यस कानूनको अरु प्रावधानसँग सामानजन्य र संगतिमा रहेकोमा त्यसरी विसौं वर्ष देखि पटक पटक प्रकाशित भएको कानूनको परायणता नै जनसामान्यका लागि कानुनी परायणताको मापदण्ड मान्नुपर्ने देखिन्छ । सो मापदण्ड भन्दा बाहिर गई कुनै व्यक्तिलाई कसुरदार ठहर्याउनु न्यायोचित नहुने हुँदा प्रतिवादी राम प्रसाद राईलाई हाडनाता करणीको महलको ३ नं. को देहायको कसुर गरेको ठहर्याई सजाय समेत हुने ठहर्याएको शुरु र अंचल अदालतको फैसला सदर गरी प्रतिवादीलाई कसुरदार ठहर्याई सजाय समेत गरेको पूर्वाञ्चल क्षेत्री अदालत समेतको फैसला नमिलेकोले उल्टी हुन्छ । वादीको फिराद दावी खारेज हुने ठर्हछ ।
तपसिल
पुनरावेदक प्रतिवादी राम प्रसाद राई के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निज प्रतिवादीले सफाई पाउने ठहर्याई वादी दावी समेत खारेज हुने ठहरेको शुरु खोटाङ जिल्ला अदालतको मिति २०४४।१०।५ को फैसला सगरमाथा अंचल अदालतको मिति २०४५।११।२५ को फैसला तथा पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।१।१० को फैसला समेतको तपसिल खण्ड बमोजिम कसिएको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गर्नु भनी शुरु जि.अ. मा लेखि पठाउनु ................ १
पुनरावेदक प्रतिवादी राम प्रसाद राई के माथि इन्साफ खण्डमा ठहरे बमोजिम निज प्रतिवादीले आरोपित कसुरबाट सफाई पाउने ठहरेकोले शुरु खोटाङ जि.अ. को फैसला उपर सगरमाथा अंचल अदालत ओखलढु्ंगा बेन्चमा पुनरावेदन गर्दा निज प्रतिवादीले पदम बहादुर राई नाउँको वामाङग गा.वि.स. वडानं. ९ कि.नं. २३ को २–१०–३–० र ऐ कि.नं. ५० को २–१०–०–० र राम प्रसाद राई नाउँको फावटङ गा.पं. वडानं. ८ को नं. ८२ को रोपनी १–१५–१–३ को जग्गा जेथा जमानत राखि खोटाङ मालपोत कार्यालयको मिति २०४४।१।१० को पत्र समेतले उक्त जग्गाहरु रोक्का रहेको मिसिलबाट देखिंदा उक्त जग्गा फुकुवा गरि दिनु भनी शुरु जि.अ.लाई लेखि पठाउनु ................ २
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ............................. ३
उक्त रायमा सहमत छु ।
न्या. नरेन्द्र वहादुर न्यौपाने
इति सम्वत् २०५१ साल पौष २६ गते रोज ३ शुभम् ।