निर्णय नं. २३०६ - जग्गा खिचोला दर्ता बदर

निर्णय नं. २३०६ ने.का.प. २०४२ अङ्क ३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
सम्वत् २०४० सालको दे.पु.नं. ६२०।६२१
मुद्दा : जग्गा खिचोला दर्ता बदर ।
पुनरावेदक/वादी :का.जि.का.न.पं.वडा नं. १ नक्साल कमलपोखरी बस्ने विश्व राज्यलक्ष्मी ।
पुनरावेदक/प्रतिवादी:का.जि.का.न.पं.वा.नं. ७ चुच्चेपाटी बस्ने नानु कुमारी रिसाल ।
विरूद्ध
विपक्षी/प्रतिवादी:जि.धादिङ्ग जिवनपुर गा.पं.वार्ड नं. ५ बस्ने खिलकुमारी थापा ।
फैसला भएको मिति:२०४२।३।३०।१ मा
पेटबोलीबाट बुझ्न पर्ने देखी झिकाउने भनी आदेश भई आदेश बमोजिम हाजिर भएका व्यक्तिलाई हाजिर भइसकेपछि अ.बं. १३९ नं. बमोजिम बयान गराई निर्णय गर्नु पर्ने ।
(प्रकरण नं.१०)
निवेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल
विपक्षी प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी निवेदनहरूमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :
२. मेरो हक भोगको नु.जि. कुमारी गा.पं. वडा नं. ८ को कि.नं. ११५३, ११५४, ११५५, ११५६, ११५७, ११६१, ११६२ का जग्गाहरू २०३१ सालमा रैकरमा धादिङ्ग मालमा रै.नं. ०७५ मा रैकरमा परिणत गरी मालपोत समेत तिरी आएको जग्गा मध्ये ११५३, ११५४ को रोपनी ३–२–० जग्गा अपानका नाउँमा र ११५५ को रोपनी १–६–० इन्द्रदासका नाउँमा र ११५६ को रोपनी ८–७–१ मदनराजका नाउँमा कि.नं. ११५७ को जग्गा रोपनी ४–३–२ बालकृष्णको नाउँमा कि.नं. ११६१ को रोपनी ३–४–०–१ खिलकुमारीका नाउँमा कि.नं. ११६२ को रोपनी २–२–३ नन्दकुमारीका नाउँमा श्री ७ नं. नापी गोश्वारा नुवाकोट अन्तर्गत ६ नं. नापी टोलीबाट दर्ता गरिदिएको बारेमा ७ नं. नापी गोश्वारामा निवेदन गरेको निजहरूको समेत बयान भएपछि सो जग्गा निजहरूका नाउँमा दर्ता गरिदिने चित्त नबुझे ३५ दिनभित्र अदालतमा नालेश गर्नु भनी मलाई ०३४।८।१८।७ मा जनाउ दिएको मितिबाट म्यादभित्र नालेश गर्नु पर्नेमा नासकी हु.प्र.बाट म्याद थामिएका म्यादभित्र फिराद गर्न आएको छु । १९१७ साल पौष सुदी १०। रोज २ को सुक्री बिक्रीको लालमोहर बमोजिम २०३१ सालमा रैकर परिणत गरी तिरो भरो समेत गरिआएकोमा जग्गा अन्यायहरूले निजको दर्ताको भनी नापीमा लेखाएको उपरोक्त लेखिएबमोजिम कि.नं. ११५२, ११५४ को मोल रु.७००। जाने र कि.नं. ११५५ को मोल रू. २५०। जाने र ११५६ को मोल रू. १७००। जाने र ११५७ को मोल रू. ९००। जाने ११६२ को मोल रू. ७००। र ५००। जाने समेत जग्गा जम्मा मोल रू. ४७५०। जाने जग्गा खिचोला गरेमा विपक्षीहरूलाई सजायँ गरी निजहरूको दर्ता बदर गरी मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको विश्वराज्यलक्ष्मीको का.जि.अ.मार्फत चढाएको फिरादपत्र ।
३. विपक्षी वादीले आफ्नो विर्ता जग्गा भनेको ०३१ सालमा विपक्षको नाउँमा दर्ता भएको भनेको जग्गा कहाँ छ जग्गाको किल्ला केही दावी गर्न नसकेको हुँदा हामीलाई थाहाजनक छैन । हामी प्र.हरूले का.जि.क्षेत्रपाटी धोबीचौर बस्ने हेमकुमारीको हक खाने सानुकुमारी रिसाल्नीको विर्ता जग्गाको मोही भई जग्गा कमाई आएका थियौं । सो हामीले कमाएको जग्गाको तिरो मालपोत समेत निज विर्तावालालाई तिरो बुझाएको हुँदा विर्ता उन्मूलन ऐन, २०१६ को दफा २(ख) बमोजिम धादिङ्ग मालमा हामीहरूको नाउँमा परिणत दर्ता गरी २०१६ सालदेखिको मालपोत समेत बुझाई अविच्छिन्न रूपमा जग्गा भोगचलन गरिआएका छौं । हामीहरूको दर्ताको जग्गा विपक्षीको नहुँदा हामीले खिचोला गरेका छैनौं । हामीले कमाएको विर्ता जग्गा (क) श्रेणीको हुँदा विर्तावाल सानुकुमारी रिसाल्नीले आजसम्म आफ्नो नाउँमा परिणत दर्ता गर्नु भएको छैन । विर्तावालले परिणत दर्ता नगरेबाट समेत हामीहरूको दर्ताको जग्गा हो भन्ने कुरा प्रष्ट हुन आउँछ । हामीले मोहियानीमा कमाएको सानुकुमारीको विर्ता जग्गा क. श्रेणीको हुँदा विर्ता उन्मूलन ऐन, २०१६ प्रारम्भ भएपछि स्वतः हामी मोहीको जग्गामा हक भएबाट भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम जग्गाधनीको हैसियतले ७+१४ नं. फाराम समेत अनिवार्य भरी बचत समेत पञ्चायतमा बुझाई जोताहाको अस्थायी निस्सा समेत प्राप्त गरेका छौं । विपक्ष वादीका नाउँको विर्ता जग्गा भए भूमिसम्बन्धी ऐन र नियम बमोजिम हामीहरू उपर उजूर गरी हामीहरूले भरेको फाराम र जोताहाको निस्सा समेत बदर गराई कानुन बमोजिम जग्गाधनीको हैसियतले भर्नुपर्ने फारामलाई अनिवार्य बचत समेत बुझाई जोताहाको निस्सा समेत लिन सक्नु पर्ने थियो । सो लिन नसक्नु भएको हुँदा समेत हामीहरूको दर्ताको जग्गा वादीको हो भन्ने कुरा स्वतः नै झुठ्ठा छ । विर्ता उन्मूलन ऐन, २०१६ र सोको संशोधन २०२४ को दफा ७ ले विर्तावाललाई २०३५ सालमा दर्ता गर्ने अधिकार प्रदान गरेको पाइँदैन । २०३१ सालमा विर्ता जग्गा दर्ता गरी आफ्नो हक भएको छ भन्ने वादी दावी झुठ्ठा छ । हामीहरूको नाउँमा हाल नापीमा दर्ता भएको जग्गाहरू नापीमा मात्र दर्ता भएको होइन विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम नै परिणत दर्ता गरी जग्गा समेत विर्तावालको हक अधिकार छउञ्जेल ०१५ सालसम्म मोहीको हैसियतले र विर्ता उन्मूलन ऐन, २०१६ ले विर्तावालको हक समाप्त भएपछि जग्गाधनीको हैसियतले अविछिन्न रूपले जग्गा भोगचलन गरिआएको हुँदा धादिङ्ग मालको दर्ता बदर नभई सो दर्ताको आधारमा भएको नापी गोश्वारा दर्ता मात्र बदर हुन सक्ने होइन । विपक्ष वादीको विर्ता जग्गा भए विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम क. क्षेणीमा हामीहरूको नाउँमा ०२२ सालमा धादिङ्ग मालमा भएको दर्ता र भूमि कर बुझाएको रसिद समेत उपर ऐनका म्यादभित्र उजूर गरी बदर गराई भूमिसम्बन्धी ऐन बमोजिम आफ्ना नाउँमा दर्ता गराइसक्नु पर्ने थियो सो नसकी हामीहरूको दर्तालाई स्वीकार गरी बस्नु भएबाट समेत वादीको हकको जग्गा भन्ने कुरा कतैबाट देखिँदैन । जग्गा हामीहरूको बाबुको पालादेखि हामीहरू समेतले अविच्छिन्न भोग गरिआएका छौं वादीको जग्गा भए प्रचलित मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. समेतले कानुनको म्याद २ वर्षभित्र उजूर गरी आफ्नो हक स्थापित गराउनु पर्नेमा नसक्नु भएबाट वादीको जग्गा हो भन्ने कुरा सरासर झुठ्ठा छ । वादी दावी खारेज गरी झुठ्ठा दावी लिएमा वादीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको आसमान समेत जना ६ को मिति ०३५।४।२।२ को प्रतिउत्तरपत्र ।
४. वादी दावी अ.बं. ८२ नं. अनुसार खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ.को मिति ०३८।११।८।६ को फैसला ।
५. सो फैसलामा चित्त बुझेन भनी वादी विश्वराज्यलक्ष्मीको मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको रहेछ ।
६. पेटबोलीका नानुकुमारी समेतलाई पुकार्न लगाउँदा बेञ्च समक्ष उपस्थित हुन नआएको भए पनि मुद्दा स्थगित हुन नसक्ने प्रस्तुत खिचोला र दर्ता बदर समेतमा दावी परेको जग्गा अघि कृष्णबिक्रम शाहले नानु रिसाल्नी समेतलाई ०१३।७।१४।३ मा बकसपत्र रजिष्टे«शन पास गरिदिएकोमा सनाखती साक्षी विश्वराज्यलक्ष्मी बसेको कुरामा पुनरावेदकको प्रति जिकिर इन्कार हुन नसकेको एवंप्रकार उक्त लिखित अन्यथा भएको छ भन्ने कुराको पनि जिकिर लिन नसकेको र प्रस्तुत विवादित जग्गा मोहीहरूले ०२२ सालमा रैकरमा परिणत गरी सकेकोलाई स्वीकार गरी त्यस उपर उजूर गरेको छु भन्न नसकेपछि बा.अं.अ.ले प्रस्तुत मुद्दा खारेज गरेको बेमनासिव भन्ने नभएकोले सो निर्णय सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत ०४०।७।१४ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
७. उक्त फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी विश्वराज्यलक्ष्मी शाहको र प्रतिवादीका पेटबोलीबाट बुझिएको नानूकुमारी रिसालको पर्न आएको निवेदनमा अ.बं. १३९ नं. बमोजिम पेटबोलीबाट झिकाइएको व्यक्तिलाई बयान गराउनु पर्ने व्यवस्था सो ऐनमा देखिएकोले सो नगरी निवेदिका नानूकुमारी रिसाललाई बयानसम्म नगराई खारेज गर्ने गरेको बा.अं.अ.को निर्णय मुनासिव ठहर्याएको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं. १३९ नं. को प्रत्यक्ष त्रुटि देखिएको र यस्तो त्रुटि सार्वजनिक महत्वको विषयको हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०४०।११।१८ को आदेश ।
८. पुनरावेदक, पेटबोलीबाट बुझिएको प्रतिवादी नानुकुमारी रिसालको वा.गोविन्दबहादुर बानियाँ, विपक्षी खिलकुमारी थापा, नन्दकुमारी थापा, बालकृष्ण पाण्डे, आशामानको मु.स.गर्ने श्यामबहादुर तामाङ, इन्द्रदासको मु.स.गर्ने चिनियामायाको वा.मिनदास रोहवरमा रही पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी विश्वराज्य लक्ष्मीदेवी शाह तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गुरूप्रसाद बरालले अ.बं. १३९ नं. बमोजिम नानु रिसाललाई बुझ्नुपर्ने भनी मध्यमान्चल क्षेत्रीय अदालतबाट झिकाउने आदेश भए अनुसार म्याद जारी भई हाजिर भएकी नानु रिसाललाई बयान गराई निर्णय गर्नु पर्नेमा बयान नै नगराई गरेको मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०४०।७।१४ को फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
९. प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा मध्यमान्चल क्षेत्रीय अदालतबाट कृष्णविक्रमले नानु रिसाल ब्राम्हणीलाई ०१३।४।१२।६ मा बकसपत्र गरिदिएको दान बकसपत्र दान बकसको ५ नं. को परिप्रेक्ष्यमा नानुकुमारी रिसाल ब्राम्हणीलाई बुझ्नुपर्ने देखिँदा निजलाई अ.बं. १३९ नं. बमोजिम बुझ्न म्याद पठाई आए वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति ०४०।३।१२।१ मा मध्यमान्चल क्षेत्रीय अदालतबाट आदेश भएको मिसिलबाट देखिन्छ । त्यसरी पेटबोलीबाट बुझ्न पर्ने देखी झिकाउने भनी आदेश भई आदेश बमोजिम हाजिर भएका व्यक्तिलाई हाजिर भइसकेपछि अ.बं. १३९ नं. बमोजिम बयान गराई निर्णय गर्नुपर्ने हुन्छ ।
११. प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतले पेटबोलीबाट बुझ्नुपर्ने भनी झिकाइएको नानुकुमारी रिसाललाई बयान नगराई बा.अं.अ. ले खारेज गरेको इन्साफ सदर भन्दै गरेको मध्यमाञ्चल क्षे.अ.को मिति ०४०।७।१४ को निर्णय मिलेको नदेखिँदा सो निर्णय बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी उपस्थित पक्षहरूलाई तारेख तोकी मिसिल मध्यमान्चल क्षेत्रीय अदालतमा पठाई दिनु । कोर्टफी रही दायर भएको मुद्दा हुँदा केही गर्नु परेन। मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशराम भक्त माथेमा
इतिसम्वत् २०४२ साल आषाढ ३० गते रोज १ शुभम् ।