शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३०७ - उत्प्रेषण

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३०७    ने.का.प. २०४२      अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको रि.नं. २२१३

विषय : उत्प्रेषण ।

 

निवेदक      :जि.सप्तरी डिभन गा.पं.वा.नं. ८ बस्ने हरिनारायण शाहा ।

जि.सप्तरी डाढा गा.पं.वा.नं.२ बस्ने दिपेन्द्र कुमार शाहा ।

विरूद्ध

विपक्षी :भूमि सुधार कार्यालय सप्तरी, राजविराज ।

जि.सप्तरी डाढा गा.पं.वा.नं.६ बस्ने रामलखन शाहा ।

आदेश भएको मिति:२०४२।२।२७।१ मा

     पेश भएका भर्पाईहरू जग्गाधनीलाई अ.बं. ७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनु पर्नेमा सो समेत विपक्षी कार्यालयले सुनाएको पाइँदैन, अतः विपक्षी कार्यालयले त्यस्तो गैरकानुनी निर्णय गरेको हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।

 (प्रकरण नं.१२)

निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री गणेशराज शर्मा

विपक्षी तर्फबाट      :विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त र विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल

उल्लेखित मुद्दाःX

आदेश

न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकारको छ :

२.    जि.सप्तरी डाढा गा.पं.वा.नं. ६ कि.नं. ३९४ को निवेदकहरू मध्येको म दिपेन्द्रकुमार शाहाको नाउँमा दर्ता भई हक भोग गरी रहेको र सर्भे नापीमा समेत यिनै मोही भएको विगहा ०१६ जग्गा म निवेदक हरिनारायण शाहाले मिति २०३९।१२।२४ मा रजिष्ट्रेशन पारित गरी हालैदेखिको बकसपत्रद्वारा हक कायम हुन आई दर्ता तिरो भरो भोग गरिआएकोमा विपक्षी रामलखन शाहातेलीले कि.नं. ३९४ समेतको जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षीले विपक्षी कार्यालयमा निवेदन दिनु भएकोमा विपक्षीले उक्त जग्गा कमाएको छैन । उक्त जग्गा २०३९ सालमा नै बिक्री समेत गरिदिएको छु भनी दिपेन्द्रकुमार शाहाले प्रतिवाद गरेको र रजिष्ट्रेशन पारित गराई लिने व्यक्ति हरिनारायण शाहालाई बुझ्दै नबुझी विवादित जग्गाको  मोहियानी प्रमाणपत्र दिने भन्ने विपक्षी कार्यालयले निम्नलिखित जिकिरमा उल्लेख गरे बमोजिम गैरकानुनी निर्णय गर्नु भएको छ भनी स्पष्ट गर्दछु ।

३.    जिकिर : विपक्षीले पेश गर्नु भएको २ नं. अनुसूचीमा विवादको क्षेत्रफल जग्गा मिल्दैन । निज विपक्षीले आधार लिएको २ नं. अनुसूची बमोजिम लगत प्रकाशन भएको हो भने पनि त्यसमा म दिपेन्द्रको बाबु शिवनारायणले उजूर गर्नुपर्ने कुनै कुरा खुल्दैन । शुभनारायण भन्ने काल्पनिक वा यथार्थ कस्तो व्यक्ति हो र निजले वतन वलिया भनी वतन देखाउनु भएकोमा डाढा बस्ने व्यक्तिले उजूर गर्नुपर्ने अवस्था  पर्दैन । त्यसको अतिरिक्त विपक्षीले भूल स्वीकार गरेर पाउँ भन्ने निवेदन हुने कानुनले मान्यता नदिनेमा अमान्य अनधिकृत कारवाही चलाई जग्गाकै सम्बन्धमा पनि विपक्षीको आफ्नो शुरू दावी खण्डन गरी भूल स्वीकार गरिरहेको तर्फ कुनै ध्यान नदिई कानुनले अग्ररूप निवेदन लिई हाम्रो हितको प्रतिकूल निर्णय गर्न मिल्दैन । कि.नं. ३९४ को ०१६ जग्गाको मोहियानी हकको दावीलाई संशोधन गरिपाउँ भनी अर्कै कि.नं. उल्लेख गरेकोले दावी नै समाप्त भइसकेको कुरामा निर्णय गरी विपक्षीले कि.नं. ३९४ को ७१६ जग्गामा मोहियानीको प्रमाणपत्र दिने गरेको कानुनी त्रुटिपूर्ण छ । विपक्षीले पेश गरेका भर्पाईहरूलाई अ.बं. ७८ नं. को प्रकृया पूरा गर्नु पर्नेमा सो पूरा भएको छैन । नापी र फिल्डबूकमा समेत विपक्षी मोही भए खुलाउनु पर्ने सो खुलाउन सक्नु भएको छैन । म निवेदक हरिनारायण शाहाले बकसपत्रद्वारा हक प्राप्त गरी सकेपछि उक्त जग्गाको मोहियानी कायम गर्दा मलाई प्रत्यक्ष असर पर्ने हुँदा मलाई बुझ्दै नबुझी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त समेतको प्रतिकूल भएको छ । २ नं. अनुसूचीमा शुभनारायण भनी प्रकाशित भएकोमा शिवनारायण भनी विपक्षी कार्यालयले सच्याई निर्णय गर्न पाउने अधिकार छैन । अतः विपक्षी कार्यालयको उक्त निर्णयले निवेदकहरूको संवैधानिक हक हितमा आघात पुगेको हुँदा संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी उक्त निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदन ।

४.    विपक्षीहरूबाट लिखित जवाफ आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्चको आदेश ।

५.    जि.रू.गा.पं.डाढा वा.नं. ८ बस्ने हरिनारायण शाहा ऐ. वा.नं. २ बस्ने दिपेन्द्रकुमार शाहा नाउँ दर्ताको गा.पं.डाढा वा.नं. ६ कि.नं. ३९४ को ०१६ जग्गाको निवेदक वादी र मोही भएको भन्ने रिट निवेदन जिकिर सरासर गलत देखिन्छ । वादीले शुभनारायणलाई ज.ध.देखाई गा.पं.डाढाबाट १० जग्गाको मोहीको लगत भराई प्रकाशित २ नं. अनुसूचीमा म्यादभित्र कसैको उजूरी नपरी निर्विवाद रूपमा हालसम्म मोही लगत कायम रहेको र प्रकाशित २ नं. अनुसूची बमोजिम १० जग्गाको निवेदक वादीले प्राप्त गरेको जो.अ.नि. कायम देखिन्छ । साविक जग्गाधनी शिवनारायण र भुवन नारायण भन्ने व्यक्ति छुट्टाछुट्टै नभई एकै व्यक्ति हो भन्ने जि.रू.गा.पं.डाढाको सिफारिशपत्रबाट र विपक्षीले पनि छुट्टाछुट्टै हुन् भनी भन्न नसकेको र निजको नाउँमा सरी आएकोमा विवाद नदेखिएको यस्तो स्थितिमा निवेदकले प्राप्त गरेको ४ नं.जो.अ.नि. को जग्गा दावीको जग्गा होइन भन्न पनि नसकेको कारणबाट र भर्पाई दिएको होइन वा कीर्ते गरेको भनेर भन्न नसकेको समेतबाट विवादित कित्ता जग्गाको विपक्षी रामलखन शाह मोही देखिएको हुँदा निजलाई मोही प्रमाण दिने गरेको यस कार्यालयको निर्णय कानुनसंगत नै हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का. सप्तरीको लिखित जवाफ ।

६.    विवादको कि.नं. ३९४ को जग्गा साविकमा केशवजंग थापाको भई वहाँसँग विपक्षी दिपेन्द्रका पिता शुभनारायण भन्ने शिवनारायणले पारित गराई लिएको अवस्थामा भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ भएबाट दिपेन्द्रको पिताको नाउँबाट अनुसूची भरी प्रकाशित भई  उजूर नपरी दर्तावाला मोही भई ४ नं. जो.अ.नि. समेत प्राप्त मोही हुँ विपक्षी दिपेन्द्रले शिवनारायणबाट अंश पाएको हुँदा साविक केशवजङ्गले गरिदिएको भर्पाई तथा विपक्षको पिताले कि.नं. समेत उल्लेख गरिदिएको भर्पाई समेतका प्रमाण दिई मैले भूमि सुधार कार्यालयमा निवेदन दिएको मलाई मोहियानी प्रमाण दिने गरेको निर्णय कानुनसंगत नै छ । दर्तावाला मोहीलाई मोहियानी प्रमाणपत्र दिँदा पछि हुने जग्गावालालाई बुझ्नै पर्दछ भन्ने जरूरी छैन । शिवनारायण र शुभनारायण एकै व्यक्ति भएको हुँदा अनुसूचीमा नाम फरक पर्‍यो भन्ने निवेदकको कथन पनि झुठ्ठा हो जसलाई पञ्चायतले पनि सिफारिश गरी नै रहेको छ । मैले संशोधन गरिपाउँ भनी कि.नं. ३९४ मा होइन भनी २३४ मा दिएको हुँ । ४ नं. जो.अ.नि. समेतको आधारमा मलाई मोहीको स्थायी प्रमाणपत्र दिएको हुँदा रसिद सुनाउनु पर्ने अवस्था नै छैन । अतः भू.सु.का. सप्तरीको निर्णय कानुनसंगत नै भएको र निवेदकको कुनै पनि कानुनी हक हितमा आघात पुगेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत रामलखन शाह तेलीको लिखित जवाफ ।

७.    नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत निवेदनमा रिट निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विपक्षी कार्यालयबाट खटिई आउनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त र लिखित जवाफवाला तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

८.    मुख्यतः भू.सु.का. ले विपक्षीलाई विवादित कित्ता जग्गाको मोहियानी प्रमाणपत्र दिने गरेको निर्णय मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।

९.    निर्णयतर्फ विचार गर्दा यसमा विपक्षी कार्यालयले गैरकानुनी तरिकाबाट जग्गा नै नकमाएको व्यक्तिलाई  मोहियानीको प्रमाणपत्र दिने गरेको निर्णय बदर गरिपाउँ भन्ने मुख्य जिकिर लिएको पाइन्छ ।

१०.    विपक्षी रामलखन शाहा विपक्षी कार्यालयमा जि.स.गा.पं. डाढा वा.नं. ६ कि.नं. २०१ को ०११ कि.नं. २३४ को ०१११० मध्ये दक्षिण सो ०० कि.नं. ३९४ को ०१६२ जग्गा समेत मोहीमा कमाई आएकोमा सर्वेमा मोही दर्ता गराउन छुटभएको र प्रमाणपत्र ४ नं.जो.अ.नि. तथा साविक हाल जग्गाधनीबाट लिएका रसिदहरू पेश गरेको छु भन्ने मोहियानीको स्थायी प्रमाणपत्र पाउँ भनी निवेदन दिएको पाइन्छ ।

११.    शुभ नारायणलाई जग्गाधनी देखाई विवादित जग्गाको २ नं. अनुसूची प्रकाशन भएको र सोमा कसैको बाधा विरोध नभएको र ४ नं.जो.अ.नि. समेत मोहीले प्राप्त गरेको कारण समेतबाट विवादित कि.नं.को जग्गाको स्थायी प्रमाणपत्र बनाई दिने ठहर्छ भन्ने निर्णय लिएको पाइन्छ ।

१२.   विवादित जग्गाको २ नं. अनुसूची प्रकाशन हुँदा जग्गाधनीको नाममा शुभनारायण भएको कुरा फाइल संलग्न प्रतिलिपिबाट देखिन आउँदछ । शिवनारायणको नाममा उक्त जग्गाको मोहियानीको स्थायी प्रमाणपत्र दिेने गरी विपक्षी कार्यालयले निर्णय गरेको हुँदा एकको नाउँमा २ नं. अनुसूची प्रकाशन भएकोमा दोश्रोको नाउँको जग्गाको प्रमाणपत्र दिने गरी विपक्षी कार्यालयले विपक्षी मोहीलाई दिएको पाइन्छ । सो बाहेक विपक्षी कार्यालयमा दिएको निवेदनमा उल्लेख भएको क्षेत्रफल समेत नमिलेको र पेश भएका भर्पाईहरू जग्गाधनीलाई अ.बं. ७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनु पर्नेमा सो समेत विपक्षी कार्यालयले सुनाएको पाइँदैन । अतः विपक्षी कार्यालयले त्यस्तो गैरकानुनी निर्णय गरेको हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयको नाउँमा परमादेशको आदेश समेत  जारी हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल ज्येष्ठ २७ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु