निर्णय नं. २३०८ - कर्तव्य ज्यान

निर्णय नं. २३०८ ने.का.प. २०४२ अङ्क ३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको फौ.पु.नं. ५५१
सम्वत् ०४० सालको फौ.सा.नं. १६८
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी: रोल्पा गा.पं.वार्ड नं.९ ग्वाहा खोला घर भै हाल जि.का.कारागार शाखा दाङ तुलसीपुर थुनामा रहेको रहेको लाल बहादुर बुढामगर ।
विरूद्ध
विपक्षी/वादी:मनमायाको जाहेरीले श्री ५ को सरकार ।
फैसला भएको मिति:२०४२।३।२।२ मा
स्याल मार्न भरिराखेको बन्दूक साथैमा भएकोबाट तत्काल उठेको रिसको आवेसमा फायर गर्दा मृतकको मृत्यु भएको प्रष्ट देखिन आएको र मार्न पूर्व योजनाबद्ध तरिकाबाट मारिएको भन्ने कर्तव्यबाट देखिन नआएकोले पुनरावेदकलाई अ.बं. ११८ नं. अनुसार कैद वर्ष १० (दश) मात्र लाग्ने गरिदिने ठहर्छ ।
(प्रकरण नं.१३)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्रीमती इश्वरी दाहाल र विद्वान अधिवक्ता श्री सुवास नेम्वाङ
विपक्षी वादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंहः अन्यायवालाको घर र मेरो घर अं. १० गज फरकमा भएकोले ०३८।५।२१ गते दिन १२ बजेको समयमा लोग्ने नरपति अन्यायवालाको घर तर्फबाट लाग्दा बन्दूकले हानी मारेछ कि के को आवाज हो भनी म घर बाहिर निस्की हेर्दा लोग्नेको शरीरमा बन्दूकको घाउ परी घाउ लागी मरेको देख्दा लोग्नेलाई कसले मार्यो भनी गुहार माग्दा लोग्नेको पत्नीलाई गुहार माग्ने भएकी भनी मलाई पनि कुटपीट गरेका र लोग्नेलाई बन्दूकले हानी ज्यान कर्तव्य गरी मारेकाले दर्खास्त दिएको छु । लाश जाँच गरी मेरो शरीरको घाउ समेत जाँची पाउँ भन्ने ०३८।५।२८ को जाहेरी दर्खास्त ।
२. मृतक नरपतिको बायाँ हात पाखुरामा बन्दूकको छर्रा लागी भाँचिएको बायाँ काखी मुनि छेडिएको एक इन्च गोलाईको छर्राको घाउ घाँटी अगाडि घ्याकुरी घाँटी फोरेको २ इन्च लम्बा १ इन्च चौडा घाउ पाखुरामा १ इन्च गोलाईको घाउ समेत भएको भन्ने ०३८।५।३१ को लाश प्रकृति मुचुल्का ।
३. मृतक नरपति मेरो सहोदर भाइ र जाहेरवाली मेरी बुहारी हो हामी भिन्न भएका छौं गोहार खोला समेत तङवाङ भन्ने ठाउँमा मृतक नरपतिको र मेरो जग्गा तथा गोठ छ गोठमा मेरो खर्च सकिएकोले खर्च ल्याउन ०३८।५।१९ गते बिहान ८ बजे घर गोहा खोला आउँदा गोठैमा भएको ढिकीको ओखलमा गुहु हगेको देखेँ २० हात फरकमा भएको नरपतिको घरमा गई हेर्दा जाहेरवाला वहीँ रहिछ, निजलाई मेरो ढिकीमा कसले गुहु हगेछ भनी सोधनी गर्दा मैले होइन म सोर्दिन भनी जवाफ गरेकीले ढिकी झिकी अर्को ठाउँमा राखेर ८.३० बजेको समयमा खर्च नखाई तङवाङ गोठैमा गई बसेको अवस्था मनमाया पनि आफ्नो गोठमा गई बसेकी रहिछ निजले जेठाजु लाल बहादुरले ढिकी झिके भनी भाइ नरपतिलाई सुनाएकी रहिछ । निजहरूले आफ्नो गोठबाट ढिकी झिक्ने भनी कराई गाली गरेको मेरो गोठबाट जे गर्नु पर्छ गर भन्ने जवाफ गरी कंकड सकिएकोले कंकड ल्याउने विचारबाट ०३८।५।२१ गते बिहान ७ बजे गोहा खोला गोठमा आई खाना खाई काँचो पातको डाँठ हाते ओखलमा राखी कुटिरहेको मौका सो दिन १२ बजेको समयमा मृतक नरपति कुन समयमा हो घरमा आएको रहेछ । मैले निज बोलेको बोली सुनी सो सुन्नासाथ आफ्नो घरबाट मेरो आँगनको ढिकी ल्याइस् तँलाई नमारी छाड्दिन भनी मलाई भन्दा साथै स्याललाई हान्न भनी मेरा नाउँमा दर्ता लाइसेन्स भएको प्यू गो.नं. १२३१ को एकनाले भरूवा बन्दूकमा ३ अंगुल बारूद फलामको गोली बिटको छर्रा समेत भरी पालीमा घुसारी राखेको सो बन्दूक झिकी अब मलाई मार्छ भन्ने डर लिई मैले बन्दूक फायर गर्दा नरपतिको बायाँ हात पाखुरामा गोली लागी सो पाखुरालाई छेडी पाखुरा भाँची सो गोलीले बायाँ कोखामा लागी भित्र पस्न गएछ अर्को गोलीले घाँटी छेड्न गएछ गुहार भन्दै नरपति कराउँदै लोटेपछि गा.पं.स. भाजवीर र वीर बहादुरकहाँ खबर गर्न भाइ नरपतिलाई गोली हानी मारेको छु, जाँचबुझ गर भनी निजहरूकै साथ लागी घटनास्थलमा आई घटना घटेको ठाउँदेखि २० हात पर आफ्नो गोठमा गई मैले हानेको बन्दूकको गोलीको चोटले मरेछ अरू कसैको सहमित छैन मार्छु भनी आएको देख्दा मैले नै बन्दूकले हानी मारेको हुँ कानुनले जो ठहर्छ भन्ने लाल बहादुरको मौकाको बयान कागज।
४. प्र.लाल बहादुर बुढामगरलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) बमोजिम कारवाही सजायँ हुने माग दावी गर्दछौं भन्ने प्रहरी प्रतिवेदन ।
५. मनमायालाई कुटपीट गरेको होइन मलाई नै मार्छु भनी आएको भाइ नरपतिलाई मैले बन्दूकले हानी मारेको र पञ्चायतमा म आफैंले जाहेर गरेको हुँदा नरपतिलाई बन्दूकले हानी मारेमा कानुनले जो ठहर्छ भन्ने लाल बहादुरले अदालतमा गरेको बयान ।
६. ढिकी उखेली लगेको कुरामा झगडा भएको थियो म घर भित्र कंकड खाइरहेको थिएँ लोग्ने वादी र स्येफु सुतिरहेका थिए । एक्कासि बन्दूक पड्केको आवाज आयो र छोरी खिमा हेर्न गइछ । बाबु मरिरहेको देखी मलाई बाबु मरेका छन् भनी भन्दा म पनि हेर्न गएँ रगतले मुछी भुइमा लडिरहेको देखी जाहेरी दर्खास्त दिएको हुँ लोग्नेले खुकुरी लगेको र घटनास्थलमा खुकुरी देखिन भन्ने समेत मनमायाले अदालतमा गरेको बयान ।
७. मलाई मार्छु भनी आएकोले बन्दूकले हान्दा मरेको हो भनी नर बहादुर भन्न आएकोले हामी समेत आउँदा लाश लडिरहेको थियो वरिपरि खुकुरी केही थिएन भन्ने सरजमीनका मानिस वीर बहादुर, तिलमान, भागवीर समेतको एकै मिलानको बकपत्र ।
८. प्र.लाल बहादुरले तत्काल उठेको रिसको आवेशमा मार्न भनी भरिराखेको बन्दूक जस्तो जोखिमी हतियार प्रयोग एवं फायर गरी मृतक नरपतिलाई कर्तव्य गरी मारेको कुरा मिसिल प्रमाणबाट देखिन आएकोले निज प्र.लाल बहादुरलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको रो.जि.अ.को फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन सजायँबाट रिहाई पाउँ भन्ने लाल बहादुरले मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदन ।
१०. यसमा अभियुक्तलाई दावी बमोजिम ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ गरेको शुरू जि.अ.को इन्साफ मनासिव ठहर्छ । तत्कालै उठेको रिसबाट बन्दूक जस्तो सांघातिक हतियार प्रयोग गरी मारेको देखिएकोले सजायँ चर्को हुने जस्तो देखिन्छ भनी व्यक्त गरेको शुरूको राय समेत मनासिव ठहर्छ भन्ने समेत व्यहोराको म.पश्चिमान्चल क्षेत्रीय अदालतको ०२९।१२।८ को फैसला ।
११. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको अभियुक्त प्र.लाल बहादुरले यस अदालतमा दिएको पुनरावदेन ।
१२. पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान वै.अ.श्रीमती इश्वरी दाहालले र अधिवक्ता श्री शुभाष नेम्वाङले गर्नुभएको बहससमेत सुनियो मुख्यतः क्षे.अ.ले गरेको निर्णय मिलेको छछैन सोकुराको निर्णय दिनुपर्ने हुनआएकोछ ।
१३. यसमा साझा ढिकी झिकिएको कुरामा झगडा भई पुनरावेदक प्रतिवादी लाल बहादुरले बन्दूक फायर गरी मृतक सहोदर भाइ नरपतिलाई मारेमा गा.पं.सदस्य तथा प्रहरी समक्ष र अदालत समक्ष समेत पूर्ण साविती भई अपराध स्वीकार गरेको प्रष्ट पाइन्छ । साथै मौकामा प्र.लाल बहादुरले जाहेर गरेको गा.पं.सदस्यहरू भनेका व्यक्तिहरू समेत अदालतमा आई सो सावितीलाई पूर्ण स्वीकार गरेको छ । यस्तो स्थितिमा पुनरावेदक प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरू रोल्पा जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै हुँदा सदर हुने ठहर्छ शुरू जिल्ला अदालतले सजायँ कम हुनुपर्छ भनी व्यक्त गरेको रायलाई म.पश्चिमान्चल क्षेत्रीय अदालतले सदर गरी जाहेर गरेको साधक तर्फ हेर्दा साझा ढिकी झिकिएको मूल कारणबाट आफ्नै दाजुभाइको बीचमा झगडा भई सोही अवस्थामा स्याल मार्न भरिराखेको बन्दूक साथैमा भएकोबाट तत्काल उठेको रिसको आवेशमा फायर गर्दा मृतक नरपतिको मृत्यु भएको प्रष्ट देखिन आएको र मार्न पूर्व योजनाबद्ध तरिकाबाट मारिएको भन्ने कतैबाट देखिन नआएकोले पुनरावेदक प्र.लाल बहादुरलाई अ.बं. १८८ नं. अनुसार कैद वर्ष १० (दश) मात्र लाग्ने गरिदिने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएको बमोजिम अ.बं. ११८ नं. अनुसार पुनरावेदक प्रतिवादी लाल बहादुरलाई कैद वर्ष १० (दश) वर्ष कैद मात्र हुने ठहरेकोले निज घटना घटेका दिन ०३८।५।२१ गतेदेखि प्रहरी हिरासतमा रहेको देखिएकोले निजलाई ०४८ साल भाद्र २० गतेसम्म थुनामा राखी ऐ. २१ गते छुटी जाने गरी लगत कसी सो अनुसारको थुनुवालाई पुर्जी समेत गरिदिनु भनी शुरू रोल्पा जि.अ.तमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...१
पुनरावेदक प्र.लाल बहादुरलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ गर्ने गरेको इन्साफ सदर गरेको म.पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफमा उक्त उल्लिखित अ.बं. ११८ नं. अनुसार अब निजलाई १०(दश) वर्ष मात्र कैद हुने ठहरेकाले सो जन्मकैदको लगत कट्टा गरिदिनु भनी रोल्पा जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिने...२
मिसिल नियमानुसार गरी बुझाई दिनु...............................३
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल आषाढ २ गते रोज २ शुभम् ।