शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३२२ - कर्तव्य ज्यान

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३२२     ने.का.प. २०४२      अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् ०३९ सालको फौ.पु.नं. ३२१

सम्वत् २०४० सालको फौ.सा.नं. ८२

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी:भू.पु.सहायक मन्त्री लवरुराना थारुको जाहेरीले वादी श्री ५ को सरकार ।

विरूद्ध

विपक्षी/प्रतिवादी:कञ्चनपुर वन डिभिजन कार्यालय अन्तर्गत किचाई रेञ्जर कार्यालयका फरेष्टर मानेश्वर मण्डल ।

फैसला भएको मिति:२०४२।३।१२।४ मा

     अभियुक्तहरूले आफ्नो कब्जामा राखेको व्यक्तिको मृत्यु हुनजान्छ भने त्यो व्यक्तिको मृत्यु कालबाट भएको अथवा कुनै अन्य घटना घटी भएको हो भन्ने कुराको शड्ढा  रहित तथ्ययुक्त प्रष्ट प्रमाणले समर्थन गराउने जवाफदेही अभियुक्तहरूकै हुनजान्छ, यसमा कुनै शड्ढा र विवाद हुँदैन । यस्तोमा साधारण लरोतरो धुरमुरे प्रमाण प्रस्तुत गरेर अभियुक्तहरूले सफाई पाउने अवस्था पर्दैन।

(प्रकरण नं.१०४)

पुनरावेदक/वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट

विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री बलराम काफ्ले

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोलाः सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतबाट गरेको फैसलामा वादी श्री ५ को सरकारको पुनरावेदन तथा साधक निकासाको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : वन अतिक्रमण गर्ने अगुवा देखलमुनी गा.पं.मुली बस्ने नन्दलाल राणालाई ०३७।२।१६ गतेका दिन १० बजेतिर हात्तीमा राखी ल्याउँदा निज भाग्न उम्कन खोजी हात्तीबाट हामफाल्दा सोही ठाउँमानै मृत्यु भएकोले उक्त सम्बन्धमा आवश्यक कारवाही होस् भन्ने व्यहोराको मिति ०३७।२।१६ को कञ्चनपुर वन डिभिजन कार्यालयको पत्र ।

२.    कञ्चनपुर अस्पतालको मुर्दा राख्ने घरभित्र लुहाको खटियामा राखिएको नन्दलाल राना थारुको लाश हेर्दा हातको नाडीमा खोस्रिएको नाकबाट रगत मिश्रित पानी निस्किएको मुख बन्द भएको मृतकले लगाएको लुगा खोली हेर्दा कम्बरको दाहिने पट्टि पानी निस्किएको अं. १ इञ्च लम्बा १ इञ्च चौडा फोका उठेको लिंग खुम्चिएको काखीमा रगत जमी निलो भएको कम्बर देखि केही माथि अन्दाजी ४ इञ्च लामो आधा इञ्च चौडा निल डाम भएको लाश जाँच प्रकृति ठीक छ भनी महेन्द्रनगर बजारमा फोटोग्राफीको काम गर्ने वर्ष २१ को इन्द्रप्रसाद भट्ट समेतले ०३७।२।१७।६ मा गरिदिएको लाश प्रकृति मुचुल्का ।

३.    शरीरमा भएको निलडाम तथा गर्दनको हाड भाँचिएको कारणबाट मृत्यु भएको भन्ने मिति ०३७।२।१७ को पोष्टमार्टम रिपोर्ट ।

४.    मेरो भतिजा नन्दलाल मिति ०३७।२।१६ गतेका दिन अन्दाजी ७।८ बजेको समयमा खाना खाई रहेको बखत अन्दाजी १२।१३ जना खाकीको बर्दिधारी ५।६ जनाको हातमा राइफल समेत अरु बन्चरो लाठी हातमा लिएका मानिसहरूको हुल आई तिनै व्यक्ति मध्ये १ जना नाम नजानेकोले तपाईलाई डि.एफ.ओ. र रेन्जर तथा फरेष्टरले बोलाएको छ भन्दा म किन जाने मेरो त्यहाँ के काम छ म जादिन भनी भतिजा नन्दलालले इन्कार गर्दा सबैले मिली राइफलका कुञ्जा लाठी हात मुक्का प्रहार गरी तान्दै लछार्दै लगेका र पछि वनारा नदी हुँदै लग्दा सम्म आमा मरे मरेभनी मृतक नन्दलालले चिच्याई रहेको सुनिएको पछि कहाँ के भयो मलाई थाहा हुन सकेन । वन विभागका फरेष्टर गार्ड र फरेष्टर समेतले कर्तव्य गरी मारी नन्दलाललाई मारेको ठाउँबाट तुरुन्तै लाश जाँच प्रकृति नगराई श्री कञ्चनपुर वन डिभिजन कार्यालयको रसियन जिपबाट कानुन विरुद्ध उठाई ल्याई कन्चनपुर अस्पतालमा राखिएको हुनाले कन्चनपुर वन डिभिजन कार्यालयको योजनाबद्ध षडयन्त्रबाट मेरो भतिजा नन्दलालको ज्यान मारेका हुनाले कन्चनपुर वन डिभिजन कार्यालयका डि.एफ.ओ. र किचाई रेन्ज कार्यालयको रेन्जर समेतलाई पक्राउ गरी ज्यानसम्बन्धीको महलले निजहरू माथि कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३७।२।१७ को भू.पु.स.मन्त्री लवरु राना थारुको जाहेरी दर्खास्त ।

५.    ०३७।२।१६ गतेका दिन फरेष्टर, फरेष्टर गार्ड, स.फ.गार्ड, समेत जम्मा ३१ जनाको टोली २  वटा हात्ती समेत लिई जङ्गल अतिक्रमण रोकथामको सिलसिलामा बिहानै ७ बजेबाट गएका म सोही वाणी झालाको फरेष्टर हुँदा खटिएका जवानहरूको खाना बनाउने काममा म समेतका चार जना सोही ठाउँमा बस्दा १० बजेतिर ह.मान बहादुर चन्दले रेन्जर ध्रुववीर पाण्डेसँग जङ्गल अतिक्रमणका अगुवा नन्दलाल रानालाई पक्राउ गरी हात्तीमा राखी ल्याउँदा हात्तीबाट हामफाली बेहोस भएको छ भनेबाट मैले सो कुरा सुनेको हुँ तर कसैको कर्तव्यबाट मरेको हो वा अरु कारणबाट मरेको हो म सो अवस्थामा घटनास्थलमा नभएको हुँदा भन्न सक्दिन भन्ने समेत व्यहोराको मिति ०३७।२।१९ को फरेष्टर लिलाराज पन्तको बयान कागज ।

६.    बाणी झालामा वन अतिक्रमण गरी बसोबास गरेकालाई उठाउन ह.मान बहादुर चन्द जमदार प्रेम बहादुर खरेल तथा मसमेतका ३२ जनाका टोली थियो रेन्जर तथा डि.एफ.ओ. बाट पाएको आदेशानुसार खटिएका टोलीले नन्दलाललाई मारेको होइन पक्राउ गर्दा हातपात भएको र हात्तीबाट हाम फाल्दा समेतको चोटबाट निज मरेको हुनुपर्छ खटिएको टोलीमा कसैले पनि मारौं भन्ने मनसायले नन्दलाललाई बल प्रयोग गरेको होइन भन्ने समेत व्यहोराको मिति ०३७।२।१९ को फरेष्टर मानेश्वर मण्डलले प्रहरी समक्ष गरेको बयान ।

७.    बसोबास उठाउन जंगलमा म समेतका २९ जनाको टोली थियो । नन्दलाललाई मार्न पर्ने सम्मको मेरो कुनै रिसइवी थिएन । निजलाई पक्राउ गरी ल्याउनु भन्ने रेन्जरको आदेशानुसार पक्राउ गरी ल्याउँदा बल प्रयोग गर्नु परेको र निज हात्तीबाट खसेको समेत कारणबाट नै निजको शरीरमा चोट परेको र त्यसैबाट निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको वनपाले शेरदत्त भट्टले प्रहरी समक्ष गरेको बयान कागज ।

८.    ०३७।२।१६ को बिहान फरेष्टर मानेश्वर मण्डल र म समेतका २९ जना वाणीबाट हिंडी वनारा नदीमा पुग्दा पुग्दा नन्दलाल समेत भागेको देखी पक्राउ गरी ल्याउनु भन्ने आदेशानुसार म समेत नन्दलालका घरमा गई निजलाई हिंड भन्दा हामीसँग आउन इन्कार गरेकोले बलपूर्वक वनारा नदीसम्म ल्याई त्यहींबाट हात्तीमा राखी ल्याउन लाग्दा जंगलैमा हात्तीबाट खसी निजको मृत्यु भएको हो घरबाट आउन नमानेकोले एक दुई चोट हानेको सो कसले कति हान्यो मलाई थाहा छैन भन्ने समेत व्यहोराको फ.गा.इन्द्रबहादुर खड्काले मिति ०३७।२।१९ गते प्रहरी समक्ष गरेको बयान ।

९.    ज्येष्ठ १६ गते खटिएका टोलीमा म र जमदार प्रेम बहादुर खरेल समेतका २९ जनाको टोली थियो । नन्दलाललाई मारौं भन्ने नियत हामी कसैको थिएन । वाणीमा हिंड भन्दा नमानेको र हातमा समाती तान्दा अटेर गरेको कारणले बलपूर्वक ल्याउनु परेको हो । हात्तीबाट हाम फाल्दा म त्यहाँ थिइन । मैले नन्दलाललाई कुटपीट गरेको होइन किन म समेतले कुटपीट गरे भनी जाहेरीमा लेखाए थाहा छैन भन्ने समेत व्यहोराको मिति ०३७।२।२० मा वनपाले हर्कबहादुर खड्काले प्रहरी समक्ष गरेको बयान कागज ।

१०.    वनअतिक्रमण रोकथाम गर्ने काममा फरेष्टर मानेश्वर मण्डल र मसमेतका ३० जनाको टोली खटी गएको थियौं । नन्दलाललाई पक्राउ गर्दा जमदार प्रेम बहादुर खरेलसमेतले बल प्रयोग गर्दा लाग्न गएको चोटबाट र हात्तीबाट खसेको चोटबाट निजको मृत्यु भएको हुनुपर्छ । निजलाई कुटपीट गरी मार्ने नियत कसैको थिएन भन्ने समेत व्यहोराको मिति ०३७।२।२० मा वनपाले खड्ग बहादुर खड्काले प्रहरी समक्ष गरेको बयान ।

११.    जमदार प्रेम बहादुर तथा सिपाहीहरूसमेतले नन्दलालको घरमा नन्दलाललाई पक्री नन्दलाललाई पिट्दै बल पूर्वक हात्तीमा चढाई लगेका हुन् । म त्यहाँ निजहरूसँग थिइन पछि वाणी गाउँमा पुग्दा नन्दलाल हात्तीबाट खसी मर्‍यो र गाडीमा राखी महेन्द्रनगर तिर लिई गए भन्ने कुरा  थाहा पाएको हुँ भन्ने समेत व्यहोराको ०३७।२।१६ को प्र.चौ.गुलरियाबाट पठाइएको प्रहरी वीर बहादुर पालेको प्रतिवेदन ।

१२.   वन अतिक्रमण कार्य रोकथामको लागि फरेष्टर मानेश्वर मण्डल, जमदार प्रेम बहादुर खरेल समेतका व्यक्तिहरू खटिई गएका र नन्दलाललाई खटिएका जवानहरूले कहाँ फेला पारी कसरी पक्राउ गरी ल्याई हात्तीमा चढाए र कसरी हाम फाल्यो सो कुरा म निजहरूसँग नभएकोले थाहा छैन भन्ने समेत व्यहोराको मिति ०३७।२।२१ मा रेन्जर ध्रुववीर पाण्डेले प्रहरी समक्ष गरेको बयान कागज ।

१३.   ०३७।२।१६ गतेका दिन फरेष्टर फ.गा.हरू र स.फ.गा.हरू वन अतिक्रमण कार्य रोकथामका लागि बिहान खटिई गएका र कस्तो परिवन्दबाट निजको मृत्यु भएको रहेछ थाहा भएन भन्ने समेत व्यहोराको मिति ०३७।२।२२ मा वनपाले दानसिंह धामीले प्रहरी समक्ष गरेको बयान ।

१४.   डि.एफ.ओ. र रेन्जरको आदेशानुसार जमदार प्रेम बहादुर समेतको टोलीले पक्राउ गरी ल्याउँदा नआएकोले धक्का मुक्का हुँदा र हात्तीबाट हाम फाल्दा समेत लागेको चोटले नन्दलाल मरेको हो मार्ने मनसायले कुटपीट गरी कसैले मारेको होइन भन्ने समेत व्यहोराको वनपाले बलभद्र अधिकारीले मिति ०३७।२।२२ मा प्रहरी समक्ष गरेको बयान ।

१५.   डि.एफ.ओ. र रेन्जरले योजना गरी नन्दलाललाई मार्न पठाएको होइन । नन्दलाई पक्राउ गर्नेहरूले लुटपीट गरेको भए मैले देखिन । मैले कुटेको हैन हात्तीबाट खसेर या कुटपीटबाट नन्दलालको मृत्यु भएको हो म खुलाउन सक्दिन भन्नेसमेत व्यहोराको ०३७।२।२२ को वनपाले गोपालप्रसाद पनेरुले प्रहरीसमक्ष गरेको बयान ।

१६.    नन्दलाललाई मैले कुटपीट गरेको छैन पक्राउ गरी ल्याउँदा धेरै जनाको हुल थियो। यसैले पिटेको भनी खुलाउन सक्दिन नन्दलाल हात्तीबाट खसेर मरेको हो भन्ने समेत व्यहोराको मिति ०३७।२।२२ को वनपाले मेघराज भण्डारीले प्रहरी समक्ष गरेको कागज ।

१७.   नन्दलाललाई पक्राउ गरी ल्याउँदा आउन नमानेकोले बल प्रयोग गरी ल्याउँदा लछारपछार भएको र हात्तीबाट खसेको समेत कारणबाट नन्दलाल मरेको हो म समेत भई कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको मिति ०३७।२।२३ मा स.फ.गा.गनबहादुर थापाले प्रहरी समक्ष गरेको बयान ।

१८.   नन्दलाल वन अतिक्रमण गराउने मुख्य अगुवा हुँदा फेला परे पक्राउ गरी ल्याउने भन्ने डि.एफ.ओ. तथा रेन्जरको आदेशानुसार निजलाई घरबाटै पक्राउ गरी ल्याउँदा जान नमानी बलपूर्वक हात्तीमा चढाई ल्याउँदा निज भाग्न हात्तीबाट हाम फाल्दा निजको शरीरमा चोट लागेको हो । बाटोमा निजको मृत्यु कहाँ भयो थाहा भएन । निजलाई पक्राउ गरी ल्याउँदा र हात्तीबाट हाम फाल्दा सम्म मात्र म त्यहाँ थिए भन्नेसमेत व्यहोराको मिति ०२७।२।२३ मा ह.मान बहादुर चन्दले प्रहरी समक्ष गरेको बयान ।

१९.    नन्दलाललाई म समेतले कर्तव्य गरी मारेको होइन पक्राउ गरी ल्याउन खोज्दा निज नमानी अटेर गरेकोले बल जफती निजलाई ल्याउँदा तान्नु धकेल्नु परेको र यसमा बल प्रयोग समेत भएको पछि निज हात्तीबाट खसेको कारणबाट मरेको हो मारौं भन्ने मनासयले मारेको होइन भन्ने समेत स.फ.गा. लक्ष्मीदत्त भट्टले प्रहरीमा गरेको कागज ।

२०.   नन्दलाललाई पक्राउ गरी ल्याउन हात्तीमा चढाउँदा नन्दलालको शरीरको कुनै भागमा रगत परेको मैले देखिन । नन्दलाललाई को कसले कुटपीट गर्‍यो मैले नदेखेकोले भन्न सक्दिन । नन्दलाललाई मोटरमा हालेर ल्याउँदा सम्म निजको प्राण थियो । कुन बेला निजको मृत्य भयो मलाई थाहा छैन भन्ने समेत व्यहोराको स.फ.गा. मान बहादुर नेपालीले प्रहरी समक्ष गरेको बयान ।

२१.   डि.एफ.ओ. र रेन्जरले योजना गरी हामीहरूलाई खटाई नन्दलाललाई मार्न पठाएको होइन । निजलाई मार्ने कुनै कारण छैन निज नन्दलाललाई पक्री हात्तीमा राखी ल्याउँदा हात्तीबाट हाम फाल्दा वा पक्राउ गर्दा धक्का मुक्का हुँदा चोटपटक लागी निज नन्दलाल मरेको हो भन्न सक्दिन भन्ने समेत स.फ.गा. रामसिंह महतले प्रहरी समक्ष गरेको बयान ।

२२.   डि.एफ.ओ. र रेन्जरले योजना बनाई नन्दलाललाई मार्न पठाएको र मारेको होइन पक्राउ गरी बलपूर्वक हात्तीमा राख्न लाग्दा निज नन्दलालले हात्तीबाट हाम फाली बेहोस अवस्थामा हुँदा मैले देखेको हुँ पछि निजलाई उपचारार्थ महेन्द्रनगरतिर लगेको हुन् । कहाँ मरे मलाई थाहा छैन भन्ने समेत स.फ.गा. रनबहादुर ठकुराठीले गरेको बयान ।

२३.   डि.एफ.ओ. र रेन्जरको योजनाबाट नन्दलाललाई म समेतले मार्नुपर्ने कुनै कारण छैन । मार्ने आदेश पनि थिएन, पक्राउ गरी ल्याउँदा बल प्रयोग गर्दा र हात्तीबाट हाम फाल्दा लागेको चोटबाट नन्दलालको मृत्यु भएको हुनुपर्छ । मैले निजलाई कुटेको छैन निजसँग मेरो कुनै रिसइवी समेत छैन भन्ने समेत ज.प्रेम बहादुर खरेलले प्रहरीमा गरेको बयान ।

२४.   पक्राउ गरी ल्याउँदा बल प्रयोग गरेको कारण र हात्तीबाट खसेको समेतबाट नन्दलालको मृत्यु भएको । निज नन्दलालसँग मेरो रिसइवी थिएन भन्ने समेत हवल्दार संग्राम सिंहले प्रहरी समक्ष गरेको बयान ।

२५.   पक्राउ गरी ल्याउँदा अटेर गरेकोले बलपूर्वक ल्याएको र हात्तीबाट हाम फालेको समेतको चोटबाट नन्दलाल मरेको हो । हामीले कर्तव्य गरी मारेको होइनौ भन्ने समेत व्यहोराको स.फ.गा. इन्द्रचन्द्रले प्रहरी समक्ष गरेको बयान ।

२६.   नन्दलाललाई पक्राउ गरी ल्याउँदा र हात्तीबाट हामफाल्दाको चोट पीरले निज मरेको हुनुपर्छ । निजलाई म समेतले कुटपीट गरेको होइन भन्ने समेत स.फ.गा.तेज बहादुर पन्तको प्रहरी समक्ष गरेको बयान ।

२७.   नन्दलाललाई कसैले कुटपीट गरेको मैले देखिन, म मुली गाउँमा निजलाई पक्राउ गर्न समेत गइन । कसरी नन्दलालको मृत्यु भयो मलाई थाहा छैन भन्नेसमेत स.फ.गा.हर्कबहादुर खड्काले प्रहरी समक्ष गरेको बयान ।

२८.   नन्दलाललाई पक्राउ गर्न म नगएको हुँदा कसरी निजलाई चोट लाग्यो मलाई थाहा छैन । निजलाई मार्नपर्ने कारण समेत केही थिएन भन्ने समेत स.फ.गा.कर्ण बहादुर गुरुङले गरेको बयान ।

२९.   नन्दलाललाई पक्राउ गरी ल्याउँदा निज आउन नमानेकोले तान्दै ल्याउनु परेको र धक्का मुक्का समेत भएको र पछि हात्तीबाट हाम फाल्दा बेहोस भएको समेतबाट निज मरेको हो निजलाई मार्ने मनासयले मारेको होइन भन्ने समेत स.फ.गा.आइते सिंह विष्टले प्रहरी समक्ष गरेको बयान ।

३०.   नन्दलाल हात्तीबाट हाम फाल्दा मरेको हो वा अचेत अवस्थामा भई महेन्द्रनगर ल्याउन लाग्दा कहाँ मरेको हो, सो कुरा मैले नदेखेको हुँदा मलाई थाहा छैन भन्ने स.फ.गा. शेरसिंह कार्कीको बयान ।

३१.   हात्तीबाट खसेको चोटको पीर समेतबाट नन्दलालको मृत्यु भएको हुनुपर्छ भन्ने समेत प्र.ह.वीर बहादुर पालले प्रहरीमा गरेको बयान ।

३२.   स.फ.गार्डको जवानहरू समेतले धक्का मुक्का गर्दा र हात्तीबाट खस्दाको वेदना समेतले निज मरेको हुनुपर्छ भन्ने समेत प्रहरी पदम सिंह खत्रीले प्रहरीमा गरेको बयान ।

३३.   हात्तीबाट खस्दाको चोटले निज मरेको हुनुपर्छ भन्ने समेत प्रहरी राम बहादुर भट्टराईले प्रहरी समक्ष गरेको बयान ।

३४.   अस्पतालमा ल्याउँदा बाटोमा कहाँ मर्‍यो खुलाउनु सक्दिन भन्ने समेत सुवेदार लाल बहादुर विष्टले प्रहरीमा गरेको बयान ।

३५.   अस्पतालमा ल्याउँदा बाटोमा कहाँ मर्‍यो खुलाउन सक्दिन भन्ने समेत ड्राइभर धर्माचन्द पन्तले प्रहरीमा गरेको बयान ।

३६.   हात्तीमा राखी ल्याउँदाको अवस्थामा हात्तीबाट हाम फाली बेहोस भएको हो कहाँ मर्‍यो मलाई थाहा छैन भन्ने समेत चमरु राना थारु समेतका जना ४ को संयुक्त कागज ।

३७.   नन्दलाल फेला परे पक्राउ गरी हात्तीमा राखी ल्याउनु भन्ने आदेश दिइएको थियो मारी दिनु भन्ने आदेश दिएको थिएन भन्ने समेत डि.एफ.ओ. कृष्णमान शाक्यले प्रहरीमा गरेको बयान ।

३८.   नन्दलाललाई वन कर्मचारीले पक्राउ गरी हात्तीमा राखी ल्याउँदा हात्तीबाट हाम फाल्दा मर्‍यो भन्ने कुरा सुनेको हुँ भन्ने समेत पछुवा बंधु पण्डितले प्रहरीमा गरेको बयान ।

३९.   निजलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत बहादुरसिंह भण्डारी समेतको जना २९ ले गरिदिएको सरजमीन मुचुल्का ।

४०.   प्रहरी पदमसिंह खत्री समेतलाई लोकबहादुर चन्दको हाजिरी जमानीमा छाडेको मिति ०३७।३।२ को छुट्टाछुट्टै हाजिरी जमानीको कागज ।

४१.   फरेष्टर मानेश्वर मण्डल समेतका १९ जना मध्ये प्रहरी हवल्दार वीर बहादुर पाल समेतका ३ जनालाई हाजिरी जमानी छाडिएकोले बाँकी अभियुक्त फरेष्टर मानेश्वर मण्डल समेत १६ जनाको हकमा विचार गर्नु पर्ने भएको छ । मानेश्वर मण्डल समेतका १६ जनाले नन्दलाललाई पक्राउ गर्न गएका, पक्राउ गर्दा बल प्रयोग भएको कुटपीट तथा हात्तीबाट खस्दाको चोट पटकबाट नन्दलाल मरेको भन्ने तथ्य स्वीकार्य छन । नन्दलाललाई निजको घरदेखि हात्तीमा चढाएको भनिएको ठाउँसम्म पुर्‍याउँदाका अवस्थासम्म निज उपर चोट छाडेकोमा उक्त समयमा सो स्थानमा रहने १६ जना अभियुक्तहरू मध्येको को रहेछन् भन्ने सम्बन्धमा अभियुक्तहरूको बयान कागज हेर्दा मृतक उपर चोट छोड्नेमा शेरबल्ल भट्ट पनि हो भनी चन्द्र बहादुरले लेखाएका छन् चन्द्र बहादुरले पनि छोडेको भनी शेर भट्ट र मान बहादुरले लेखाउनुको अतिरिक्त सरजमीनको चैनराम राना थारुले पनि लेखाएका छन र अरुको शुरमा लागि आफूले पनि एक चोट छोडेकोमा चन्द्र बहादुर आफैं सावित छन् हर्कबहादुरले पनि चोट छोडेको हुन् भनी चन्द्र बहादुरले बयानमा लेखाएको छैन भने सरजमीनको रघुवीर राना थारुले पनि सो कुरा समर्थन गरेको छैन मृतक उपर चोट छाड्नेमा प्रेम बहादुर खरेल पनि हुन् भनी शेरबहादुर, चन्द्र बहादुर, हर्कबहादुर समेतले लेखिदिएका छन । मान बहादुर चन्दले पनि मृतक उपर चोट छोडेका थिए भनी चन्द्र बहादुर, हर्कबहादुरले लेखाएको छन् ।

४२.   संग्रामसिंह धामीले मृतक उपर चोट छाडेको थिए भनी अभियुक्त मध्ये हर्कबहादुरको बयानमा उल्लेख भएको छ । लक्ष्मीदत्त भट्टले पनि मृतकलाई कुटपीट गरेको हुँ भनी चन्द्र बहादुरले र मान बहादुरको बयानमा लेखेको पाइन्छ । मृतक उपर कुटपीट गर्नेमा खड्ग बहादुर खडका पनि हुन् भनी शेरदत्त र चन्द्र बहादुरको बयान उल्लेख भएको छ । यस प्रकार नन्दलाललाई पक्राउ गरी लिएर कुटपीट गर्नेमा पक्राउ गर्दा मौजूद रहने मध्ये माथि लेखिएका शेरदत्त भट्ट समेत जना ८ देखिन आएका छन् । मृतक उपर चोट छाड्ने यी ८ जना मध्ये कसैको चोटपीरबाट मृतकको मृत्युभएको भन्ने खुल्न आएको छ मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. र १३(३) नं.को विपरीत कार्य गर्ने माथि लेखिएको शेरदत्त भट्ट, चन्द्र बहादुर खड्का, हर्कबहादुर खडका, बहादुर खडका, प्रेम बहादुर खरेल, मान बहादुर यादव, संग्राम सिंह धामी, लक्ष्मीदत्त भट्ट उपर र मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. अनुसार तेज बहादुर चन्द, आइतसिंह विष्ट, गनबहादुर थापा मगर, इन्द्रबहादुर रामसिंह महतो, रणबहादुर ठकुराठी, मेघराज भण्डारी समेत ८ जना गई पक्राउ गर्नुपर्ने कानुनी कारण बिना नन्दलाललाई पक्राउ गरी कुटपीट गर्दै लैजादा मौकामा उपस्थित थिए भन्ने देखिन आएको र निजहरूले मृतक उपर कुटपीट हुन नदिन र कुटपीटबाट जोगाउन समेत कोशिस गरेको भन्ने कतैबाट देखिन नआएकोले निजहरूले मृतकलाई मार्ने मतलबमा पसेका थिएनन् भन्न नमिल्ने देखिएन, मृतक उपर कुटपीट हुँदाका अवस्थामा मौकामा वरिपरी रही छुट्याउन आएका गाउँलेहरूलाई रोकेको भन्ने देखिएको, मानेश्वर मण्डल समेत ८ जनाले मृतक उपर कुटपीट हुँदाको अवस्थामा वरिपरी घेरा दिएको बाटो छेकेको र भाग्न उम्कन नपाउने काम गरी मार्ने संयोग पारिदिएको देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १७ नम्बरको देहाय २ अनुसार कसूर गर्ने महेश्वर मण्डल, तेज बहादुर चन्द, आइतसिंह विष्ट, गनबहादुर मगर, इन्द्र, चन्द्र, रामसिंह महतो, रणबहादुर ठकुराठी, मेघराज भण्डारी समेत जना आठलाई सोही ऐनको १७ नं. को देहाय २ नं. अनुसार सजायँको माग दावी लिई गरेको मिति ०३७।३।६ को प्रहरी प्रतिवेदन ।

४३.   मौकैमा उपस्थित रहेका नन्दलाललाई पक्राउ गर्दा हात समातेर मार्ने संयोग पारी दिने देखिएको प्र.ह. वीर बहादुर पालले मुलुकी ऐन ज्यानसम्बन्धीको १७ नं. को देहाय (२) को कसूर गरेको देखिएकोले निजलाई अदालतबाटै झिकाई मुलुकी ऐन ज्यानसम्बन्धीको १७ नं. को देहाय (२) अनुसार सजायँ हुन माग गर्दछु र प्रहरी राम बहादुर भट्टराई पदम बहादुर सिंह खत्री मृतकलाई पक्राउ गरी लैजाँदाको मौकामा रहेको देखिएको र सोही अवस्थामानै मृतक उपर कुटपीट भएको हो भन्ने समेत देखिएकोले मृतक उपर कुटपीट हुँदा निजहरू पनि महजूद देखिएका हुन्, सङ्कलित कागजबाट निज भट्टराई र खत्रीले मृतक उपर चोट छाडेको ८ जनै संयोग पारिदिएको समेत देखिएको हुँदा मार्ने ठाउँमा नै अरु कुरा केही नगरी हेरी मात्र रहेको देखिएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १७ नं. देहाय (३) अनुसारको कसूर गर्ने निज राम बहादुर भट्टराई र पदमसिंह खत्रीलाई अदालतबाटै झिकाई मुलुकी ऐन ज्यानसम्बन्धीको १७(३) नं. अनुसार सजायँ हुन माग गर्दछु भनी प्रहरी प्रतिवेदनमा उल्लेख भएका अन्य कुरामा प्रहरी अधिकृतको रायसँग सहमत छु भन्ने समेत सर्वोच्च अदालत तथा सर्वोच्च अदालतको राय ।

४४.   नन्दलालको लाश महेन्द्रनगरमा छ भन्ने सुनेको हुँ अरु के भो थाहा छैन भन्ने समेत ह.मान बहादुर चन्दले अदालतमा गरेको बयान ।

४५.   नन्दलाललाई मैले कुटपीट गरेको र समातेको छैन अरु साक्षीहरूलाई समेत देखेन प्रहरीमा कुटपीट गरी झुठ्ठा बयान गराएको हो भन्ने समेत प्र.शेरदत्त भट्टले अदालतमा गरेको बयान ।

४६.   नन्दलाललाई कुटपीट गरेको र घरबाट पक्राउ समेत गरेको होइन भन्ने समेत अभियुक्त मेघराज भण्डारीले अदालतमा गरेको बयान ।

४७.   कुटपीट गर्न र मार्न आदेश पनि थिएन कुटपीट गरी मारेको र संयोग पारेको पनि छैन भन्ने समेत अभियुक्त फ.मानेश्वर मण्डलले अदालतमा गरेको बयान ।

४८.   म समेतले कुटपीट गरेको र घरबाट पक्राउ गरी ल्याएको समेत हैन र प्रहरीमा गरेको बयान समेत झुठ्ठा हो भन्ने समेत ज.प्रेम बहादुर खरेलले अदालतमा गरेको बयान ।

४९.   कुटपीट गरी मारेको समेत कुनै कुरा होइन भन्ने समेत चन्द्र बहादुर खड्का तथा ह.संग्राम सिंहले अदालतमा गरेको बयान ।

५०.   हात्तीबाट हाम फाल्दा लागेको चोटबाट मृत्यु भएको हुनुपर्छ भन्ने समेत गनबहादुर थापा मगर, रामसिंह महता, लक्ष्मीदत्त भट्ट, रणबहादुर ठकुराठी खड्ग बहादुर समेतले अदालतमा गरेको बयान ।

५१.   मैले नन्दलाललाई कुटपीट समेत गरेको छैन भन्ने समेत तेज बहादुर, चन्द्र, इन्द्र चन्द, आइतसिंह विष्ट समेतको अदालतमा गरेको बयान ।

५२.   नन्दलाललाई जबरजस्ती समाती बन्चरोको पछाडि पट्टिबाट समेत टाउकोको पछाडि पट्टि हानी लतारी लगेका हुन् । निजहरूले कुटेकोले नन्दलाल मरेको हो भनी लेखिदिएका समेत देखिन आएकोले र सो वारदात गरेमा अभियुक्तहरूले प्रहरीमा सावित भई बयान गरेकै देखिन आएकैबाट समेत निजहरूलाई हाल धरौटी लिई तारिखमा राख्न नमिल्ने भएकोले पछि बुझ्दा अ.बं.१२३ नं. बमोजिम हुने नै हुँदा हाल अ.बं. ११८ नं. को दफा ३ को उपदफा १ र ३ बमोजिम पूर्पक्ष निमित्त थुनामा राख्ने प्रहरी हवल्दार वीर बहादुर पाल तथा प्रहरी राम बहादुर भट्ट पद्मसिंह खत्रीको हकमा मुद्दा चलाउन सबूद नपुग्ने भनी प्रहरी अधिकृतको राय र मुद्दा चलाउने भनी सर्वोच्च अदालतको राय भई राय बाझिएकोमा हामी वन अतिक्रमण गरी बसेकालाई हटाउन खटिएका होइनौ भनी निजहरूले बयानमा लेखिएको भए पनि कन्चनपुर वन डिभिजन कार्यालयको पत्रमा वीर बहादुर, राम बहादुर, पदमसिंह समेतलाई मद्दतको निमित्त खटाएको भनी फाँटवारी दिएको र अभियुक्त शेरदत्त समेतका व्यक्तिहरूले अदालत समक्ष बयान गर्दा हामीहरूको साथमा वीर बहादुर समेतका प्रहरीहरू मद्दतको निमित्त खट्टी आई नन्दलाललाई पक्राउ गरेका हन् भनी लेखिदिएको समेतबाट निजहरूका उपर मुद्दा चलाउन नमिल्ने भन्ने प्रहरीको राय मिल्दो देखिँदैन । सर्वोच्च अदालतको राय मनासिव हुँदा निजहरूलाई दालिख गर्नु भनी प्रहरीमा लेखी पठाई दिनु भन्ने समेत व्यहोराको मिति ०३७।३।२० को कन्चनपुर जिल्ला अदालतको आदेश ।

५३.   मैले कुटपीट गरेको पक्राउ गर्न मद्दतमा गएको होइन भन्ने समेत प्रहरी हवल्दार वीर बहादुर पाल, प्रहरी राम बहादुर भट्टराईले अदालतमा गरेको बयान ।

५४.   अ.ह. वीर बहादुर पाल राम बहादुर भट्टराईले यस अदालतमा र प्रहरीमा बयान गर्दा कसूरमा इन्कार भई लेखिएका निजहरूका उपर जाहेरवालाले किटानसँग राय उल्लेख गरेको पनि नदेखिएको र सर्वोच्च अदालतको अभियोग पत्रमा प्र.ह.वीर बहादुरको उपर ज्यानसम्बन्धीको १८ ऐको २ दफा र राम बहादुरका उपर ऐका ३ दफाको सजायँको माग गरेको देखिएको बुझिएको सरजमीनले निजहरूलाई कर्तव्यवाला हुन भनी लेखेको नदेखिएकोले अ.बं. ११८ नं. को ३ दफाको देहाय ५ बमोजिम जनही रु. २००। रूपैयाँका दरले धरौटी दिए लिई तारेखमा राख्नु र दिन नसके ख. श्रेणीको सिधा दिई थुनामा राख्नु भन्ने मिति ०३७।४।२० को कं.जि.अ.को आदेश ।

५५.   प्रहरीले मुद्दा चलाउन नपर्ने भनी जमानामा छाडेको फरेष्टर दिलाराम पन्त, रेन्जर ध्रुववीर पाण्डे, बलभद्र अधिकारी, गोपालसाद पनेरु, मान बहादुर नेपाली, सिं हर्कबहादुर खड्का, कर्ण बहादुर गुरुङ डि.एफ.ओ कृष्णमान शाक्यलाई उपस्थित गराउन भनी तारेख तोकी स.सर्वोच्च अदालतका.मा लेखी पठाउने र दाखिल गरेमा पेश गर्नु भन्ने मिति ०३७।८।१।१ को कं.जि.अ.को आदेश ।

५६.   रेञ्जर धु्रववीर पाण्डे महाकाली वन डिभिजन कार्यालय अन्तर्गत दार्चुला रेन्जर कार्यालयमा सरुवा भएको भनी सर्वोच्च अदालतका.तथा वन डिभिजनले पत्र लेखी पठाएको देखिएकोले निज रेन्जरलाई अदालतबाटै म्याद झिकाई आएपछि बुझी पेश गर्नु भन्ने समेत व्यहोराको आदेश ।

५७.   प्र.ह. वीर बहादुर जमदारले नन्दलाललाई हात्तीामा बसाएर लगेका हुन् भन्ने समेत व्यहोराको प्र.चन्द्र बहादुरको साक्षी लक्ष्मीदत्त पाण्डेको बकपत्र ।

५८.   नन्दलाल हात्तीबाट हामफाली भूँइमा लडेको देखेको हुँ भन्ने समेत मानेश्वर मण्डल समेतको साक्षी चकतराज भट्टले गरेको बकपत्र ।

५९.   मृतक नन्दलाललाई हात्तीमा चढाई वाणी तर्फ लान लागेको देखेको हुँ भन्ने समेत शेरदत्त भट्ट समेतको साक्षी तारादत्त जोशीको बकपत्र ।

६०.   नन्दलालले हात्तीबाट हाम फालेको देखेको हुँ भन्ने मानेश्वर मण्डल समेत १४ जनाका साक्षी विष्णुराज भट्टको बकपत्र ।

६१.    नन्दलालले हात्तीबाट हाम फालेको देखको हुँ भन्ने समेत मानेश्वर मण्डल समेत १४ जनाको साक्षी विष्णुराज भट्टको बकपत्र ।

६२.   ०३७।२।१६ गते धनगढीबाट आउँदा वागी चौकीमा इन्द्रचन्द र तेज बहादुरलाई देखेको थिँए भन्ने समेत प्र.का साक्षी मोहनदेव पन्त र बल बहादुर थापाले गरेको बकपत्र ।

६३.   नन्दलालले हात्तीबाट हाम फालेको देखेको हुँ भन्ने समेत व्यहोराको मान बहादुरको साक्षी बहादुर सिं भण्डारीको बकपत्र ।

६४.   नन्दलालले हात्तीबाट हाम फाल्यो भन्ने कुरा सुनेको हुँ भन्ने समेत मेघराज भण्डारीको साक्षी ठगा सिं रावलको बकपत्र ।

६५.   मानेश्वर मण्डल समेतको साक्षी रघुनाथ भट्टको बकपत्र ।

६६.   ०३७।२।१६ गतेका बिहान तेज बहादुर चन्द समेतले नन्दलाललाई कुटपीट गर्दै घिसार्दै लगेका हुन् भन्ने समेत रमौला थरुनीको बकपत्र ।

६७.   तेज बहादुर चन्द समेतका ३०।३५ जना मानिसहरूले नन्दलाललाई कुट्दै लगेका हुन् भन्ने समेत सरजमीनको सुकराम थारुको बकपत्र ।

६८.   खड्ग बहादुर समेतका मानिसहरूले नन्दलाललाई कुट्दा बञ्चरो आदिले कुट्दै घिसार्दै घरबाट लगेका हुन् भन्ने समेत व्यहोराको सरजमीनको पद्म बहादुर राणाको बकपत्र ।

६९.   नन्दलाल खाना खाइरहेको अवस्थामा तेज बहादुर समेतका मानिस आई कुट्दै लगेका हुन् भन्ने समेत सरजमीनका राम भरोसे रानाको बकपत्र ।

७०.   नन्दलाललाई घरबाट तेज बहादुर समेतले कुटपीट गर्दै लगेका हुन् भन्ने समेत सरजमीनका फुलमती राना थारुनीको बकपत्र ।

७१.   नन्दलाल खाना खाई रहेको अवस्थामा राइफल बञ्चरो लठ्ठी बोकेको मानिसहरू आई नन्दलाललाई कुटपीट गर्दै लगेको हुन् भन्ने समेत सरजमीनको वहनीया राना थारुनीको बकपत्र ।

७२.   नन्दलाललाई प्र.हरूले कुटपीट गरेका हुन् भन्ने समेत सरजमीनको रघुवीर थारुको बकपत्र ।

७३.   प्र.हरूकै कुटपीटबाट नन्दलाल मरेको होला भन्नेसमेत सरजमीनका टिकाराम डगौरा थारुको बकपत्र ।

७४.   प्र.हरूले नन्दलाललाई कुटपीट गर्दै घिसार्दै लगेका हुन् भन्ने समेत सरजमीनका अनिलप्रसादको बकपत्र ।

७५.   नन्दलाललाई प्र.हरूले कुट्दा बञ्चरोले कुटेका हुन् भन्नेसमेत सरजमीनका चोता राना थारुको बकपत्र ।

७६.   नन्दलाललाई प्र.हरूले कुटपीट गर्दै लगेको हुन् भन्ने समेत सरजमीनका कालीप्रसाद डंगोलको बकपत्र ।

७७.   नन्दलाल हात्तीबाट हाम फाली बेहोस भएको छ भन्ने सुनेको हुँ भन्ने समेत खड्ग बहादुर समेतको साक्षी इश्वरीदत्त भट्टको बकपत्र ।

७८.   नन्दलाललाई प्र.हरूले मार्नुपर्ने कुनै कारण थिएन भन्ने समेत प्र.मेघराज भण्डारीका साक्षी भोजराज भण्डारीको बकपत्र ।

७९.   हात्तीमा ३ जना मानिस चढेका देखेको हुँ भन्ने समेत प्र.हर्षबहादुर, खड्ग बहादुरको साक्षी तारादत्त पाण्डेको बकपत्र ।

८०.   मेघराज भण्डारी समेतले नन्दलाललाई कर्तव्य गरी मारेको शंका लाग्दैन भन्ने समेत प्र.मेघराज भण्डारीको साक्षी परमदत्त ओझाको बकपत्र ।

८१.   नन्दलाललाई खड्ग बहादुर समेतले कुटपीट गरी मारेको शंका लाग्दैन भन्ने समेत व्यहोराको प्र.हर्कबहादुर खड्का सरेदत्त भट्टको साक्षी चेतराजको बकपत्र ।

८२.   चन्द्र बहादुर समेतले नन्दलाललाई कुटपीट गरी मारेको शंका लाग्दैन भन्ने व्यहोराको प्र.चन्दबहादुर खड्काको साक्षी टेक बहादुर खड्काले गरेको बकपत्र ।

८३.   चन्द्र बहादुरको साक्षी लाल बहादुर साउदले गरेको बकपत्र ।

८४.   हर्कबहादुर खड्का समेतको साक्षी लोकदत्त भट्टको बकपत्र ।

८५.   प्रतिवादीहरूले किन र कसरी मारेका हुन् मलाई थाहा छैन भन्ने समेत व्यहोराको सरजमीनको रघुवीर राना थारुको बकपत्र ।

८६.   नन्दलाललाई ३०।३५ जनाले घिसार्दै लगेको देखेको हुँ भन्ने समेत व्यहोराको सरजमीनको बलिराना थारुको बकपत्र ।

८७.   प्र.हरूले नन्दलाललाई घिसार्दै लगेको देखेको हुँ भन्ने समेत व्यहोराको सरजमीनको कालीप्रसाद डगौराको बकपत्र ।

८८.   ०३७।२।१६ गतेका दिन खटिएका जवानहरू जंगलमा गइसकेपछि मैले पनि जंगलमा भएका कटेराहरू भत्काउँदै जाँदा म एक्लै भएर म त्यहाँबाट १० बजे देखत मुलीका दोकानमा पुगी पौने बाह्र बजे फर्की आएँ । नन्दलाल मेरो मित्र हुँदा मैले पक्राउ गर्न नपरोस् भन्ने सोचेको थिएँ । फर्की जङ्गलमा पुग्दा रेन्जर ध्रुववीर पाण्डे समेतका सबै जवान झुमिई रेहका र २२।२३ हात टाढाबाट नन्दलाल सुतिरहे जस्तो देखेको हात्तीबाट हाम फालेको भन्ने निजहरूबाटै सुनेको हुँ । नजिक गई हेरिन करीव १ डेढ घण्टा पछि वन विभागको जीपमा प्रहरी स.झ.गा.को सुवेदार लाल बहादुर विष्ट समेत आएर नन्दलाललाई महेन्द्रनगरमा अस्पतालमा लग्छु भनी लगेका हुन् भोलिपल्ट महेन्द्रनगरमा नन्दलाल मर्‍यो भन्ने सुनेको हुँ अरु मलाई थाहा छैन भन्ने समेत गोपालप्रसाद पनेरुले कं.जि.अ.मा गरेको बयान ।

८९.   हामी सबै हात्तीको अगाडि पछाडि भएर गएका हौं । १ मिलसम्म हिँडी सकेपछि नन्दलालले हात्तीबाट हाम फाली बेहोस भएको हो । रेन्जर साहेवलाई रिपोर्ट गर्न द मान बहादुर र एकजना प्रहरी गएका  हुन् । केही बेरपछि प्रहरी सुवेदार लाल बहादुर समेतले वन विभागको जिप ल्याई नन्दलाललाई उपचारार्थ महेन्द्रनगर लगेका हुन् भोलिपल्ट नन्दलालको मृत्यु भयो भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको मान बहादुर नेपालीले अदालतमा गरेको बयान ।

९०.   नन्दलाललाई हात्तीमा बसाई अगाडि माहुते र पछाडि रामसिं महता बसी हिँडेको । केही माथि जंगलमा पुग्दा नन्दलालले हाम फाल्यो भनी कराएको सुन्दा म पनि गएँ । काठको मुडोमा उत्तानो परेको देखेपछि म समेतले सजिलो ठाउँमा सुताएको हो । त्यसपछि वन विभागको जीप ल्याई महेन्द्रनगर लगेका हुन् अरु मलाई थाहा छैन भन्ने समेतको बलभद्र अधिकारीको अदालतमा भएको बयान ।

९१.    हात्तीबाट खसेर नन्दलाल मर्नै पनि सक्ने हुँदा निज नन्दलाल हात्तीबाट खसी मरेको होला जस्तो लाग्छ भन्ने समेत डि.एफ.ओ.कृष्णमान शाक्यले अदालतमा गरेको बयान ।

९२.   पक्राउमा परेको मानिस हात्तीमा चढेको थियो साथमा रामसिंह महता थियो । थारु बानेको हात्ती अघि र पोथी पछि थियो । २।४ फरलाङ उत्तरतर्फ गएपछि नन्दलाल हात्तीबाट खसी भाग्न लाग्यो भनी हात्तीमा बसेका मानिसले कराएको सुनी म र हर्कबहादुर समेत गयौं । सो ठाउँमा पुग्दा काटी राखेको सुइनाको सानो काठमा उत्तानो राखेको थियो । अरु मानिस र प्रहरी समेत थिए । प्रहरी पद्मसिंह र म खाना खाई चौकी तिर आयौं । त्यसपछि मलाई थाहा छैन भन्ने समेतको कर्ण बहादुरको अदालतको बयान ।

९३.   नन्दलाल कसरी कहाँ मर्‍यो मलाई थाहा छैन । म पनि डिभिजनमा पुगी सकेको अवस्था नन्दलाल डिभिजनको जीपमा ल्याए भन्ने सुनेको हुँ । मान बहादुर चन्दको रिपोर्ट अनुसार नन्दलाल मरिसकेकोले घटना  स्थलमा गईन । मैले निजलाई मार्ने आदेश दिएको र षडयन्त्र गरेको समेत केही होइन भन्ने रेन्जर ध्रुववीर पाण्डेले अदालतमा गरेको बयान ।

९४.   पक्राउ भएको मानिसले डोरी समाती हात्तीमा बस्यो, त्यसको पछाडि १ जना सिपाहीले हातमा बन्दूक लिई बसेको र अगाडि म बसी हात्ती हिंडाई त्यसतर्फ जंगलमा आएपछि पानी खान्छु भने, यो जंगलमा पानी छैन भनी मैले भनेर त्यसै अवस्थामा हाम फाली पछाडिको मानिसले भागे भनी कराएपछि हेर्दा पक्राउ परेको मानिसले हाम फाली काटेको रुखको मुढामा घोप्टो परेको देखी पछाडि बसेको मानिस त्यही बस्यो । म वाणीतर्फ आएँ भन्ने समेतको पछुवा चमरु थारुले अदालतमा गरेको बयान ।

९५.   हात्तीमा नन्दलाल आफैं चढ्यो र रामसिंमहता पनि हात्तीमा चढ्यो र अस्थायी चौकी तिर गएँ । बीच जंगलमा पुगेपछि भाग्ने प्रयासबाट नन्दलालले हात्तीबाट हाम फाले मैले देखिन म सरासर आई चौकीमा भात खान लागेको थिएँ । त्यसबखत प्रहरी पद्म बहादुर आएको सुनेको हुँ भन्ने समेतका हर्कबहादुर खड्काले अदालतमा गरेको बयान ।

९६.   ०३७।२।१६ गते ११।१२ बजेको समयमा म अस्थायी चौकी वानीमा थिएँ । सोही चौकीमा रहेका शेरसिंह दानसिंह रेन्जर समेतका मुखबाट सुने मुली बस्ने नन्दलाल राना थारु हात्तीबाट हाम फाली मर्‍यो भनी सुनेको हुँ । रेन्जर साहेब र म नन्दलाल मरेको ठाउँमा गएनौ अस्थायी चौकीमा बसेका थियौं भन्ने समेत व्यहोराको लिलाराज पन्तले अदालत समक्ष गरेको बयान ।

९७.   भवितव्यबाट नन्दलाल राना थारुको मृत्यु भएको देखिनाले कर्तव्य गरी मारेको भनी मुद्दा ज्यानसम्बन्धीको १३ नं. र १७ नं. बमोजिम सजायँको माग दावी भई आएको प्रहरी आरोप पत्रको अभियोग पुग्न नसकी मुलुकी ऐन ज्यानसम्बन्धीको ६ नं. बमोजिम भवितव्यबाट मृतक नन्दलालको मृत्यु भएको ठहर्छ । जिल्ला प्रहरी कार्यालयमा समय भित्र मृतक नन्दलालको सम्बन्धमा जाहेर गरी सकेका प्रहरी वीर बहादुर पाल प्रहरी राम बहादुर भट्टराई उपर आफ्नो कर्तव्य पालन गरेको भनी प्रहरीले अभियोग नलगाइएको सर्वोच्च अदालतबाट ज्यानसम्बन्धीको १७ नं. बमोजिम निजहरूमाथि दावी लिएको अभियोग ठोस प्रमाणको अभावमा पुग्न नसक्ने हुँदा अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेतको ०३८।३।३१ को विशेष अदालतको फैसला ।

      ९८.   उक्त इन्साफमा चित्त बुझेन प्रतिवादीहरुलाई शुरू प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको श्री ५ को सरकारको पुनरावेदन पर्न आएको ।

९९.   प्रतिवादीहरूद्वारा कुटपीट गरिएका नन्दलाल पक्राउमा परेको अवस्था भाग्न उम्कनको लागि हात्तीबाट हाम फालेबाट नै निजको मृत्यु भएको देखिन आएकोले पक्राउ गर्ने सिलसिलामा प्रतिवादीहरूले नन्दलाललाई कुटपीट गरेकै भए पनि सोही कुटपीटबाट निजको मृत्यु भएको भनी प्रतिवादीहरूलाई कुनै रूपबाट अपराधी ठहराउन नमिल्ने र हाम फाल्नु भन्दा अघि भएको कुटपीटको लागि प्र.हरूलाई कुनै अभियोग लगाउन कानुनले नमिल्ने हुँदा विद्वान सरकारी अधिवक्ताको तर्फबाट आएको जिरह समर्थन गर्न सकिने अवस्था नरहेकोले विशेष अदालतबाट प्रतिवादीहरूलाई निजहरूको हेलचक्राईबाट भवितव्य पर्न गएको भनी प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको ६(२) अनुसार ९।९ महिनाको दरले कैद गर्ने गरेको समेत मनासिव देखिन नआई प्र.हरूले रिहाई पाउने ठहरेको हुँदा प्रस्तुत मुद्दामा प्रहरी प्रतिवेदनबाट ज्यानसम्बन्धीको १३(३) अन्तर्गत सजायँको माग गरेकोमा रिहाई पाउने ठहरेकोले अ.बं. १८६ नं. का देहाय (२) बमोजिम साधक सदर लागि सर्वोच्च अदालतमा जाहेर गरी पठाउने ठहर्छ भन्ने समेतको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।

१००.   उक्त फैसला उपर वादी श्री ५ को सरकारको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

१०१.   सू.पश्चिमान्चल क्षेत्रीय अदालतले सफाई दिई निर्णय गरेको पाइन्छ । इन्साफ नमिलेकोले अ.बं. २०२ नं. बमोजिम झझीको आदेश ।

१०२.  पुनरावेदक वादी तर्फबाट रहनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्टले क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने र विपक्षी प्रतिवादीहरूका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री बलराम काफ्लेले क्षेत्रीय अदालतको सफाई दिने ठहराई गरेको फैसलामा कुनै त्रुटि नहुँदा सोही फैसला कायम हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

१०३.  प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको इन्साफ मनासिव वा बेमनासिव के रहेछ निर्णय गर्नु परेको छ ।

१०४.  यसमा मर्ने नन्दलाललाई पक्राउ गर्न अभियुक्तहरू सरकारी आदेश बमोजिम गएका र अभियुक्तलाई पक्राउ गरेका भन्ने कुरामा कुनै विवाद छैन । नन्दलाललाई घरमा पक्राउ गर्दा नन्दलालले पक्राउ हुन नमानेकोले कुटपीट भएको भन्ने कुरामा पनि कुनै शंका छैन । कुटपीट भएको होइन भन्ने कुरालाई मान्न सकिने अवस्था मर्नेको घरमा रगतको छिटा भएको र लाश जाँच प्रतिवेदन पोष्टमार्टम रिपोर्टमा भनिए बमोजिमको (Died of multiple blunt injuries all over the body)  शरीर भरको घाउखतले पनि पुष्टि गर्दछ । मर्ने नन्दलाललाई जहाँसुकै पक्राउ गरिएको भए पनि वा मरे पनि नन्दलालको मृत्यु अभियुक्तहरूले पक्राउ गरी राखेकै अवस्थामा भएको छ । हात्ती जीप जेमा हाली लगेको भए पनि हस्पिटल पुर्‍याउँदा नन्दलालको मृत्यु भइसकेको छ यसरी अभियुक्तहरूले आफ्नो कब्जामा राखेको व्यक्तिको मृत्यु हुनजान्छ भने त्यो व्यक्तिको मृत्यु कालबाट भएको अथवा कुनै अन्य घटना घटी भएको हो भन्ने कुराको शंकारहित तथ्ययुक्त प्रष्ट प्रमाणले समर्थन गराउने जवाफदेही अभियुक्तहरूकै हुनजान्छ, यसमा कुनै शंका र विवाद हुँदैन । यस्तोमा साधारण र लरतरो धुरमुरे प्रमाण प्रस्तुत गरेर अभियुक्तहरूले सफाई पाउने अवस्था पर्दैन। मर्नेको जीउमा परेको शरीर भरको घाउचोटबाट निजको मृत्यु भएको भन्ने प्रतिवेदनबाट देखिन्छ । हात्तीबाट हाम फालेर त्यसरी घाउचोट पर्दछ भन्न मिल्दैन हात्तीबाट हाम फालेर भाग्न सक्छु भन्ने नन्दलालले सम्झी प्रयास गर्ने अवस्था पनि देखिँदैन । अभियुक्तहरूले कुटपीट गरेको भन्ने कुरा नन्दलालको शरीरमा परेका चोटले पुष्टी गर्दछ । यस प्रकारका मुद्दामा वादीले अपराध अभियुक्तहरूको कब्जामा घटेको हो र सो अपराध कर्तव्य हो भन्ने पुष्टी गरे पुग्छ ।

१०५.  हात्तीबाट हाम फाली मरेको भन्ने अभियुक्तहरूको बयान जिकिरको भर गरी प्रतिवादीहरूलाई सफाई दिने निष्कर्षमा पुग्न क्षेत्रीय अदालतले, “वास्तवमा घरमै मरिसकेको भए नदिसम्म पछि लाग्दै जाने मर्ने नन्दलालका आमा, स्वास्नी, काका, काकी, बाबु तथा मानिसहरू समेतले लासलाई लान नदिई रोकेको हुनुपर्छ, सो पनि गरेको भन्ने निजहरूको भनाई बकाई समेतबाट नदेखिएकोभन्ने हास्यास्पद तर्क उठाएको छ । जिउँदो नन्दलाललाई पक्राउ गर्नबाट बचाउन नसक्ने निजका आमा, स्वास्नी, काका, काकीले लाश खोसी रोकी राखेको नदेखिएको भन्नु केवल अभियुक्तहरूको जिकिरलाई बलजफती पुष्टि गर्न खोज्नु मात्र हो । प्रमाणको मूल्याङ्कन गर्ने यस्तो तरिका न त हाम्रो पूर्वी न्याय प्रणालीसँग मेल खान्छ, न त हाम्रो नेपाली मौलिक न्याय प्रणालीसँग नै मेल खान्छ । त्यत्ति मात्र हैन यो प्रक्रिया पश्चिमी प्रणाली (Common Law Jurisprudence) सँग पनि मेल खाँदैन यस प्रकार प्रमाणको मूल्याङ्कन गर्ने तरिका पश्चिमी प्रणालीसँग त्यति मेल खाँदैन भन्ने कुरा मैले फुल बेञ्चमा ०४१।११।११ मा उद्धरण गरेको भारतको उच्चतम न्यायालयको उद्धरणले पनि पुष्टी गर्दछ । सो उद्धरण निम्न प्रकारको छ ।

            "The court added" It is not an unusual experience that the wood is missed for the trees, when a judge is confronted with a jumbled up mass of data, relevant and irrelevant. It is necessary in such cases to find out the central point of the case and to concentrate upon evidence which bears upon that point. Petty details which befor the real issue and minor contradictions in the evidence, which are inivitable when a story is narrated under the stress of a grave crime ought not be permitted to tilt the spaces of justice. The more a judge gets begged down in superfluous details, the greater is the likelihood of his staying away from evidence which can hinch the issue. In the instance case, the high court missed or mistook salient features of the case and, the result embarked upon a hairsplitting exercise while appreaciating the evidence."    

पूर्व कुमार जी श्रेष्ठ विरुद्ध श्री ५ को सरकार । मुद्दा सरकारी छाप दस्तखत किर्ते । सम्वत् २०३९ को फौ.पु.नं. १४ अभियुक्तहरू पक्राउ पर्न गएको र, मर्ने नन्दलालले पक्राउ हुनबाट इन्कार गरेकोबाट अभियुक्तहरूले बल प्रयोग गर्दा कुटपीट गरेको कारणबाट अभियुक्तहरूको कब्जामा छँदा नै निजको मृत्यु हुन गएको देखिन्छ । अभियुक्तहरूले नन्दलाललाई मार्नु पर्ने सम्मको इवीलाग र मनसाय भएको पुष्टी हुन आएको अथवा त्यस्तो प्रमाण प्रस्तुत मुद्दामा देखिँदैन । यस स्थितिमा प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ हुनुपर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।

१०६.   माथि उल्लेख गरिए बमोजिम अभियुक्तहरूले नन्दलाललाई पक्रन प्रयोग गर्दा निजको मृत्यु हुन गएको प्रमाण परिबन्दबाट देखिँदा देखिँदै विशेष अदालतको इन्साफ उल्टाई पुरै सफाई दिने गरेको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने र ज्यानसम्बन्धीको ६(२) बमोजिम तजविजी कैद महिना ९ का दरले सजायँ गर्ने गरी विशेष अदालत महाकाली अञ्चल महेन्द्रनगर कञ्चनपुरले गरेको ०३८।३।३१ को इन्साफ मनासिव ठहर्छ। अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा सुदूर पश्चिमाञ्चलक्षे.अ.को ०३९।५।८ को इन्साफ उल्टी भई विशेष अदालत महाकाली अञ्चल महेन्द्रनगर कञ्चनपुरको ०३८।३।३१ को इन्साफ सदर हुने ठहरेकोले सुदूर पश्चिमाञ्चलक्षे.अ.को फैसला बमोजिमको लगत कायम राख्नु पर्दैन शुरू विशेष अदालतको फैसला बमोजिम लगत कायम राख्नु पर्दैन शुरू विशेष अदालतको फैसला बमोजिम गर्नु र प्रतिवादीहरू ०३७।२।२३ देखि ०३७।१२।१८ सम्म ९ महिना २५ दिन हिरासतमा र पूर्पक्षको लागि थुनामा बसी सकेको हुँदा केही गरिरहनु परेन । सुदूर पश्चिमाञ्चलक्षे.अ.को लगत सम्म कट्टा गरी विशेष अदालतको लगत कायम राख्नु भनी कन्चनपुर जि.अ.तमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४२ साल आषाढ १२ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु