शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३२३ - सवारी दुर्घटना ज्यान

भाग: २७ साल: २०४२ महिना: असार अंक:

निर्णय नं. २३२३     ने.का.प. २०४२      अंङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

सम्वत् ०४१ सालको फौ.पु.नं. ५६२

मुद्दा : सवारी दुर्घटना ज्यान ।

 

पुनरावेदक/वादी:प्र.ह.कोपिल मणिको जाहेरीले श्री ५ को सरकार ।

विरूद्ध

विपक्षी/प्रतिवादी:जिल्ला रुपेन्देही बुटवल.न.पं.वार्ड नं. ९ बस्ने लु.अं.२५३ को बस चालक जनक कुमार श्रेष्ठ ।

फैसला भएको मिति:२०४२।३।२४।२ मा

     दुर्घटना हुन सक्ने स्थितिको ज्ञान हुँदाहुँदै स्पष्टतः लापरवाही एवं हेलचक्र्याई गरी बस हाँकेको देखिन आएकोले निज अपराधिक दायित्वबाट पन्छिन नपाउने ।

 (प्रकरण नं.१७)

पुनरावेदक वादी  तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल

विपक्षी प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव:    पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

२.    २०३६।१०।२ गते बिहान ८.५५ बजे सुनौलीबाट पोखरा जान लागेको लु.अं. २५३ को बन्धना बस स्याङजा मालुङगा टुनिकोट गा.पं.वार्ड नं. ६ परेवा कुनामा बस दुर्घटना भयो भन्ने सुनी जाँदा अन्य मानिस पनि थिए, घाइते मानिसहरू निकाल्दै थिए । एकजना बेहोस व्यक्ति बसबाट झिकी औषधीपचार गर्न ल्याउँदा निजको साथमा रहेको रूपैयाँ मध्ये रु. ११,१९३।२० पाल्पा जि.पं.स. मथुराप्रसाद श्रेष्ठ जिम्मामा लगाएर रु. १०००। यसै प्रतिवेदन साथ दाखिल गरेको छु । कानुन बमोजिम होस् भन्ने समेत राम्दी प्रहरी चौकीका प्र.ह. कोपिलमणि शर्माको प्रतिवेदन।

३.    २०३६।१०।२ गते बिहान ६ बजे खाली ट्रक लिई स्याङजाबाट भैरहवा गइरहेको अवस्था परेवा कुनामा आई पुग्दा हर्न बजेको सुनी साइडमा ट्रक रोकेर बसें, लु.अं. २५३ को बस मेरो ट्रकमा ठोकिई बस व्याक हुँदै जाँदा प्याराफुटमा ठक्कर खाई बस भीरतिर खस्यो, चालक हाम फाल्यो भन्ने समेत ना.अ १३९८ को ट्रक चालक इन्द्रबहादुर गुरुङको बयान ।

४.    परेवा कुनामा बस आई पुग्दा हर्न दिँदै गाडी बढाउँदै जाँदा घुम्तीको नजीकमा ना.अं. १३९८ नं. को ट्रक खडा रहेछ, मैले गाडी मोड्दा मोड्दै ट्रकमा ठोकिन गयो, ब्रेक लागेन, १०० गज पछि हटेर प्याराफूटमा ठक्कर खाई बस बाटोबाट तल खस्न लागेर म बस छाडी ओर्लें र राम्दी जान लाग्दा प्रहरीले पक्राउ गरेका हुन् भन्ने समेत चालक जनककुमार श्रेष्ठको बयान कागज ।

५.    बस चालकको लापरवाहीबाट नै बस दुर्घटना भएको हो भन्ने समेत धनबहादुर समेतको कागज ।

६.    बस चालकले लापरवाही गरी बस दुर्घटना भएको हो भन्ने समेत सरजमीन मुचुल्का ।

७.    बस चालकले सवारी ऐन, २०२० को बर्खिलाप गरी बस चलाएको हुँदा जनकबहादुर श्रेष्ठ उपर ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँको माग दावी भएको प्रहरी प्रतिवेदन ।

८.    ब्रेक हाने, ब्रेक लागेन, त्यसैले ज्यान बचाउन भागेको हुँ रादिवारी आउँदासम्म ब्रेक ठीक थियो । बस ट्रक जुधेपछि ब्रेक फेल भएको हो भन्ने समेत जनककुमार श्रेष्ठको अदालतमा भएको ततिम्बा बयान समेत रहेछ ।

९.    चालक जनककुमारको हेलचक्र्याईबाट भवितव्य भई बस दुर्घटना भई यात्रुहरूको मृत्यु भएको ठहर्छ भन्ने समेत स्याङजा जि.अ.को फैसला ।

            १०.    जि.अ.को फैसला उल्टाई सफाई पाउँ भन्ने समेत जनककुमार श्रेष्ठको पुनरावेदन ।

११.    भवितव्यको संज्ञा दिएको मिलेन, प्रतिवादीलाई प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ हुनु पर्दछ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

१२.   चालकले लापरवाही गरी हेलचक्राई साथ बस हाँकेको ठहर गरेको शुरूको इन्साफ मनासिव छ । सजायँको हकमा प्र.जनककुमारलाई ज्यानसम्बन्धीको ६(२) नं. ले १ वर्ष ६ महिना कैद र सवारी ऐन, २०२० को दफा ४५(१) बमोजिम मृतक २९ जनाको परिवारलाई क्रिया खर्च रु. २०००। र क्षतिपूर्ति रु. ३०००। जम्मा रु. ५०००। जनहीका दरले जनककुमारबाट भराई दिने ठहर्छ भन्ने समेत पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।

१३.   उक्त फैसलामा चित्त बुझेन प्रतिवादीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ हुनु पर्दछ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

१४.   पुनरावेदक तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले प्र.चालक जनककुमारले ८० जना यात्रु भएको बस लापरवाही साथ हाँक्दा दुर्घटना हुन सक्छ र मानिस मर्न सक्छ भन्ने थाहा हुँदाहुँदै निजकै अदालतमा भएको बयान अनुसार ४० गज टाढाबाट ट्रक देखेको र बेसाइटबाट बस हाँकेको भन्ने हुँदा लापरवाहीसँग बस हाँक्दा आफ्नो साइडमा उभ्याई राखेको ट्रकमा ठक्कर लागि राजमार्गबाट बस तल खसी २९ जनाको ज्यान मरेको हुँदा यस्तो अवस्थामा ज्यान मार्ने नियत गरेको होइन भन्न कानुनसंगत हुँदैन । ट्रकसँग ठक्कर लागेपछि बस विस्तारै ५० गज पर पुग्ने बेलासम्म गाडीको ब्रेक नलागे पनि स्टेरिङको सहायताले गाडीलाई अर्को तर्फ मोड्न सक्ने अवस्था हुँदाहुँदै ८० जना मानिसको ज्यान बचाउन तर्फ नलागी आफैं गाडीबाट हाम फालेको हुँदा ती ८० जना यात्रुको ज्यान लिन खोजेको होइन भन्न मिल्दैन । तसर्थ यस्तो अवस्थामा ज्यानसम्बन्धीको ६(२) अनुसार सजायँ गरेको फैसला मिलेको छैन, प्रतिवेदन दावी बमोजिम सजायँ हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो ।

            १५.   अब पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो को निर्णय दिनु परेको छ ।

१६.    निर्णयतर्फ विचार गर्दा यसमा प्र.चालक जनककुमारले लापरवाही साथ बस हाँक्दा भवितव्य परी बस दुर्घटना भई २९ जनाको ज्यान गएकोले प्र.चालक जनककुमारलाई मु.ऐन ज्यानसम्बन्धीको ६(२) बमोजिम सजायँ गर्ने गरेको शुरू जि.अ.को इन्साफ सदर गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन । प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजायँ हुनुपर्छ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर देखिन्छ ।

            १७.   प्रहरी प्रतिवेदन दावी अनुसार प्र.चालक जनककुमार श्रेष्ठलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्न मिल्ने नमिल्ने तर्फ हेर्दा उक्त दफा बमोजिम सजायँ गर्नलाई अभियुक्तको अपराधिक मनसाय प्रमाणित हुनुपर्ने हुन्छ । अर्थात् निज प्र.चालक जनककुमार श्रेष्ठको निजले हाँकेको बसमा रहेका ८० जना यात्रुहरूको ज्यान लिने नियत थियो भन्ने प्रमाणित हुनुपर्ने हुन्छ । यस सम्बन्धमा सरसर्ती विचार गर्दा पनि निज चालकको ती ८० जना यात्रुहरू प्रति ज्यानै लिनु  पर्ने मनसाय थियो भन्न कदापि मिल्दो हुँदैन अर्थात् त्यस्तो थियो भनी वादी पक्षले कुनै ठोस प्रमाणद्वारा प्रमाणित गर्न सकेको देखिँदैन । तसर्थ यस्तो अवस्थामा उक्त ज्यानसम्बन्धीको १३(३) आकर्षित हुने देखिँदैन । अब निज चालकलाई ऐ. ६(२) बमोजिम सजायँ गर्ने गरेको ठीक छ छैन भनी हेर्दा ८० जना यात्रु रहेको बस हाँक्दा होसियारीसाथ सामान्य गतिमा नहाँके दुर्घटना हुनसक्ने र यात्रुहरूको ज्यान जान सक्ने कुरा निजलाई ज्ञान (Knowledge) हुनुपर्ने हो । निजको अदालतको बयान अनुसार निजले साइडमा रोकी राखेको ट्रक ५० गज परबाट देखेको भन्ने छ । यस्तो अवस्थामा मोटरको गति (Speed) कम गरी समयमै आफ्नो साइड लिनुपर्ने निजलाई स्पष्टतः थाहा हुनुपर्ने कुरा हो । त्यसमा पनि आफू गलत साइड (Wrong Side) मा भएको कुरा समेत निजको अदालतको बयानबाट देखिन्छ । यसरी यी विभिन्न परिस्थितिहरूको विश्लेषण गर्दा निज प्र.चालक जनककुमारले दुर्घटना हुन सक्ने स्थितिको ज्ञान (Knowledge) हुँदाहुँदै स्पष्टतः लापरवाही एवं हेलचक्र्याई गरी बस हाँकेको देखिन आएकोले निज अपराधिक दायित्व (Criminalliability) बाट पन्छिन पाउने देखिएन । तसर्थ निजले लापरवाही एवं हेलचक्र्याई गरी बस हाँकेको कारणबाट दुर्घटना हुन गई २९ जना यात्रुको मृत्यु भएको हुँदा निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको ६(२) (जसमा होस् नपुर्‍याई वा हेल्चक्र्याई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँच सय रूपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजायँ हुन्छ भन्ने व्यवस्था छ) अनुसार कैद वर्ष १।६ र सवारी ऐन, २०२० को दफा ४५(१) अनुसार मृतक जम्मा २९ जनाका हकदारलाई कृया खर्च वापत रु. २०००। र क्षतिपूर्ति वापत रु. ३०००। जम्मा रु. ५०००। जनहीको दरले ऐन बमोजिम चालक जनककुमार श्रेष्ठबाट भराई दिने ठहर्‍याएको पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिँदा मनासिव ठहर्छ । प्रहरी प्रतिवेदन अनुसार सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वी बहादुर सिंह

 

इतिसम्वत् २०४२ साल आषाढ २४ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु