निर्णय नं. २३३६ - उत्प्रेषण

निर्णय नं. २३३६ ने.का.प. २०४२ अङ्क ४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको रि.नं. १४६०
विषय : उत्प्रेषण ।
निवेदक :भ.पु.न.पं.वडा नं. ८ तिबुक्छे टोल बस्ने जय भक्तलाल मूल ।
विरूद्ध
विपक्षी :मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत बासुदेव शर्मा नेपाल ।
भ.पु.न.पं.वडा नं.५ योछें टोल बस्ने रामकाजी ताल्चा भडेल समेत जवान १६ ।
आदेश भएको मिति:२०४२।४।१०।५ मा
अधिकारप्राप्त अधिकारीले गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ।
(प्रकरण नं.११)
निवेदक तर्फबाटःX
विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.नयन बहादुर खत्रीः नेपालको संविधानको धारा ७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् ।
२. मेरो हक भोग तिरानको साल सालै आश्विन वदी ९।१०।११।३० मार्ग वदी १ को श्राद्ध समेत चलाउनु पर्ने गुठी काम अवछिन्न चलाई भोगी खाई आएको भ.पु.तिबुक्छे ९५।७७ नं. का मोठ, लगतमा गुठी जनी हर्षनर्सि ताल्चा भडेलका दर्ता गराई राखेको श्राद्ध गुठी खेत रोपनी साविक ३७–१–० को ८० साल नापी ठहर ४४–३–३–१ जग्गाको श्राद्ध गुठी धर्म लोप हक बेहक मुद्दा परेका झगडिया श्याम मूल तर्फबाट र गौरीमान ताल्चा भडेल तर्फबाट समेत चलाउनु पर्ने श्राद्ध नचलाई धर्म लोप गरेको ठहरी श्याम मूल गौरीमान ताल्चा भडेल दुवै तर्फलाई गुठी जग्गा बाली नपाउने निजहरूले धर्म लोप गरेको श्राद्ध भवानीदास, माधव नारां, बाबु विष्णुलाल ३ जवानले चलाएको ठहरी निज ३ जनाले गुठी जग्गाबाली पाउने र धर्म लोप गर्ने श्याम गौरमानलाई गुठीबाट बर्खास्त खारेज भएका देवानी अपीलका ६४।६९ सालमा फैसला र उक्त झगडिया रामकाजी समेतसँगका नामसारी बदर मुद्दाको अपील पहिलाका ०७।३।२५ का फैसला मनासिव सदर ठहरेको सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१९।१०।३०।३ का फैसला र हरि प्रसाद मुलसँगको नामसारी बदर ३ खण्डको १ खण्ड श्राद्ध गुठी हक कायम गरी दिलाई पाउँ भन्ने मुद्दाको ०१७।८।७।३ को का.जि.अ.को फैसला समेतबाट मेरो एकलौटी हक भोग कायम सदर भएको र ल.नं. ९५।७७ का मोठ बमोजिमको जग्गा मेरो नाउँमा परिणत गरी ज.ध.प्रमाणपूर्जा पाउँ सो प्रमाणपूर्जा बमोजिम भ.पु. ईंटा टायल कारखाना परेका भक्ति दाससँगको नखेल गा.पं.वडा नं. १(क) कि.नं. ८५।११६ को रोपनी १–९–० को खला १ कृष्णमाया प्रजापति सँगको ऐ. वडा कि.नं. ३१ को रोपनी ३–५–० को खला एक समेत दुई खला जग्गाको मुआब्जा दिलाई पाउँ भन्ने समेत व्यहोराको मेरो निवेदन परेकोमा हु.प्र.भई मालपोत कार्यालयबाट मालपोत सम्बन्धी ऐन, ०३४ को दफा ३२ बमोजिम कारवाही गर्नु भएकोमा रामकाजीले ६४।६९ सालको फैसलाबाट हटक खारेज भएका झगडियाहरूका नाति पनाति बटुली १६ जवानको उजूरी निवेदन दिएको फैसलाहरू बदर वातिल भएको ठोस प्रमाण पेश गर्न नसकेकोमा जयभक्त लालबाट एकलौटी नामसारी गर्नुपर्ने आधार के छ पेश गराउने र रामकाजीले हर्षनर्सिको हक खाने नाता प्रमाणित रीतपूर्वकको प्रमाण पेश गराउने भन्ने ०४०।५।२६।१ मा आदेश भई प्रमाण तोकेकोमा निज रामकाजीले नामसारी बदर मुद्दाको सर्वोच्च अदालतका फैसला सहितको मिसिलबाट प्रमाणित हुने हुँदा सो मिसिल झिकाई प्रमाण लगाई पाउँ नाता प्रमाणित गर्न नपरोस् भन्ने निवेदन दिई सर्वोच्च अदालतको फैसलालाई नै समर्थन गरेको प्रष्ट हुन आएको छ ।
३. मालपोत सम्बन्धी ऐन, ०३४ को दफा ३२ बाट अदालतलाई भएको अधिकार पाइरहेकोमा सो ऐन कानुन र मैले पेश गरेका प्रमाण निवेदन समेतलाई दृष्टिकोण नै नलगाई ठाडै हचुवा बुँदा लगाई ३५ दिनको हदम्याद तोकी ०४१।५।१५।६ मा तामेली पर्चा गरी तामेलीमा राखी अन्याय गरेको हुँदा उक्त मालपोत कार्यालय भक्तपुरबाट ०४१।५।१५।६ को तामेली पर्चा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने व्यहोराको उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ ।
४. यसअदालतको सिं.बे.को मिति ०४१।७।२ को आदेशबमोजिम प्राप्त हुनआएको लिखित जवाफ यस प्रकारछ ।
५. तेरो मेरो सम्बन्धी उठेको प्रश्नमा मालपोत कार्यालयबाट हकबेहकमा ठहर फैसला गर्ने अधिकारक्षेत्र नभएकोले अधिकारप्राप्त व्यक्तिसमक्ष उजूर गर्नजानु भनी गरेकोनिर्णयबाट विपक्षीको मौलिकहक हनन्भएको भन्न नमिल्ने र नापी भएको २ वर्ष नाघीसकेको अर्काको नाममा मोठ तयार भएको र सो बदर गर्ने विपक्षीको कानुनी हदम्याद समाप्त भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने रामकाजी ताल्चा भडेलको लिखित जवाफ रहेछ ।
६. मिति ०७।३।२५ को अ.बे.को फैसलाबाट गुठियार जग्गाधनी जयभक्तलाल मात्र भन्ने नभई अरु पनि रहेछ भन्ने कुरा देखिएपछि गुठियार जग्गाधनी नाता प्रमाणितको यकीन सिफारिश अथवा ३५ दिनभित्र नालेश उजूर जो गर्नुपर्ने गरी ल्याउनुपर्ने हुँदा मालपोत कार्यालयले सुनाई गर्नुपर्ने सो अनुसार ०४१।५।१५ मा पर्चा खडा भएको पुनरावेदन म्याद नतोकिएको भन्ने तर्फ उक्त बमोजिमको पर्चा खडा भई सोही मितिमा हाजिर रहेको जयभक्तलाल समेतलाई पर्चा सुनाई सुनी पाएको कागज भएपछि चित्त नबुझे सोही मितिले ३५ दिनभित्र पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन दिन पाउने नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको मालपोतकार्यालय, भक्तपुरको लिखित जवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा विपक्षी मालपोत कार्यालयभक्तपुरको तर्फबाट खटी उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहससमेत सुनियो ।
८. प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ । यसमा मेरो एकलौटी हक भोग कायम सदर भएको र ल.नं. ९५।७७ का मोठ बमोजिमको भक्तिदाससँगको नखेल गा.पं.वडा नं. १(क) कि.नं. ८५।११६ को रोपनी १–९–० र कि.नं. ३१ को रोपनी ३–५–० को खला १ समेत दुई खला जग्गा मेरो नाममा परिणत गरी जग्गाधनी प्रमाणपूर्जा पाउँ र सो प्रमाणपूर्जा बमोजिम भ.पु.ईंट कारखानामा परेको उक्त जग्गाको मुआब्जा दिलाई पाउँ भनी निवेदन दिएकोमा उक्त निवेदन तामेलीमा राखी दिनु भनी मालपोत कार्यालय भक्तपुरले गरेको निर्णय त्रुटिपूर्ण हुनाले बदर गरिपाउँ भन्ने जिकिर रिट निवेदकले लिएको पाइन्छ ।
९. अतः मालपोत कार्यालय भक्तपुरले गरेको उक्त निर्णय त्रुटिपूर्ण छ छैन हेर्नुपर्ने हुन आयो । यस तर्फ हेर्दा जयभक्तलाल मुलले आफ्नो मात्र देखाई रैकरमा परिणत गरी नामसारी गरी दर्ता गरिपाउँ भनी दावी लिएको र रामकाजी ताल्चा भडेल समेत १६ जवानले पनि सोही जग्गा रैकर परिणत गरी नामसारी गरी जग्गा दर्ता गरी ज.ध.प्र.पू. पाउँ भनी दावी लिएकोले दुवै पक्षले उक्त श्राद्ध गुठी जग्गाको गुठीयारहरू हाल कतिजना छन् यी व्यत्तिहरू मात्र गुठियार हुन् भन्ने समेत प्रमाण पेश नगरेको हुँदा गुठियार कतिजना छन् सो समेत देखाई सिफारिश पेश गरी कारवाही माग गरेको बेलामा वा ३५ दिनभित्र फिराद गरी आफ्नो हक कायम गरी ल्याएको बखत मात्र दावी बमोजिम कारवाही हुने नै हुँदा दुवै थर झगडियालाई सुनाई दिने र निस्सा मिसिल सामेल राखी यो मिसिल तामेलीमा राखी दिनु भनी मालपोत कार्यालय भक्तपुरले निर्णय गरेको पाइन्छ ।
१०. यसरी मालपोत कार्यालय भक्तपुरले हक बेहकको प्रश्न उपस्थित भएको कारणबाट आफ्नो हक कायम गराई ल्याएको बखत कारवाही गर्ने भनी मिसिल तामेलीमा राखेको देखिन्छ । मालपोत ऐन, २०३४ ले मालपोत कार्यालयलाई जग्गा दर्ताको सम्बन्धमा हक बेहकको प्रश्न कार्यालयलाई जग्गा दर्ताको सम्बन्धमा हक बेहकको प्रश्न खडा भएमा निर्णय गर्ने अधिकार प्रदान गरेको देखिँदैन ।
११. अतः हक बेहक सम्बन्धी प्रश्न उठेको कारणबाट खास गुठियार कतिजना छन् सो समेत देखाई सिफारिश पेश गरी कारवाही माग गरेको बेलामा वा ३५ दिनभित्र फिराद गरी आफ्नो हक कायम गरी ल्याएको बखत कारवाही गर्ने गरी मिसिल तामेलीमा राखी दिने भनी मिति २०४१।५।१५।६ मा मालपोत कार्यालय भक्तपुरले कानुनको परिधिभित्र नै रही निर्णय गरेको देखियो । अतः अधिकारप्राप्त अधिकारीले गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियम बमोजिम गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४२ साल श्रावण १० गते रोज ५ शुभम् ।