निर्णय नं. २३४३ - कुटपीट

निर्णय नं. २३४३ ने.का.प. २०४२ अङ्क ४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको फौ.पु.नं. ५८५।५८९
मुद्दा : कुटपीट ।
पुनरावेदक/वादी:का.प.जि.सांमा गा.पं.वार्ड नं. ६ बस्ने विसु भन्ने विष्णु बहादुर खड्का ।
विरूद्ध
विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने सानो कान्छा खड्का समेत ।
र
पुनरावेदक/प्रतिवादी:का.प.जि. सामा गा.पं. वार्ड नं.६ जनागाल उग्रतारा वडा नं. १ बस्ने वीर बहादुर खड्का क्षेत्री ।
का.प.जि.सामा गा.पं. वार्ड नं. ६ बस्ने सानु कान्छो खड्का ।
ऐ.ऐ बस्ने यादव खड्का ।
ऐ.ऐ बस्ने जेठो भन्ने जयराम खड्का ।
ऐ.ऐ बस्ने नानीकाजी थापा क्षेत्री ।
ऐ.ऐ बस्ने माहिलो भन्ने कृष्ण बहादुर खत्री ।
ऐ.ऐ बस्ने माहिलो भन्ने सोम बहादुर खड्का ।
विरूद्ध
विपक्षी/वादी:ऐ.ऐ. बस्ने रामचन्द्र खत्री ।
ऐ.ऐ बस्ने विसु भन्ने विष्णु खड्का ।
फैसला भएको मिति:२०४२।४।७।२ मा
घा चोटहरूको एक्सरे नगराउँदैमा मौकामा भएको सो घा जाँच केश फाराममा उल्लिखित घा खतलाई अन्यथा भन्न सकिने अवस्था नदेखिने ।
(प्रकरण नं.१५)
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः प्रस्तुत मुद्दामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ ।
२. २०३३ साल कार्तिक ११ गतेका दिन १०/११ बजेको समयमा टिकाबहादुरको धान काट्ने खेतमा थिएँ । भात खाई मिसिन लिई मिनबहादुरको घरबाट जंगलतर्फ खेतमा आएको अवस्था मेशिन खेतमा नपुर्याउँदै हामीहरूको घर निजकै गौंडा बाटोमा पुग्नासाथ विपक्षीहरूले के सल्लाह गरी बसेका रहेछन् । अन्यायवाला वीर बहादुरका छोरा पुष्करबहादुर र सुशिलबहादुर समेतले हामी विसु खड्का समेतलाई लठ्ठीले हानी कुटपीट गर्न थाले किन यसो गर्छौ भन्दा तेरो सन्तान निर्मूल पार्नुपर्छ भनी कुटे । हामीले ठूलो स्वरबाट कराउँदा गाउँका मानिस र रामचन्द्र सहकुल बहादुरसमेत हुलमुल नगर ज्यानै मर्ला भन्दा हामीलाई कुटपीट गर्न आँटे । डरले ६ नं. वडामा कृष्ण बहादुरको घरमा गई लुकी बस्यौं । अन्यायवालाहरू लखेट्दै गएबाट भित्रबाट बाहिर झिकी लाठी ढुङ्गा फलामे डण्डीले कुटपीट गरे । नोक्सान तर्फ यकीन भएपछि कानुन बमोजिम दावी गर्ने नै छौं । कुटपीटतर्फ कुटपीटका ९, ११, १८ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादी दावी बमोजिम वादीलाई हामीले कुटपीट गरेका छैनौं । प्रतिवादी मध्येका म वीर बहादुर खड्का, माधव तथा म साहिलो भनेको नवराजसमेतले वादीमध्येको विसु खड्कालाई कुटपीट गरेको भनी माग गरेको देखिन्छ । विसु खड्कालाई कुटपीट गर्न म पुष्करबहादुर र सुशिलबहादुरलाई मात्र देखाएको छ । तर पुष्कर बहादुर उपर सजायँको माग छैन । कुटपीट वारदात देखाएको दिनमा म वीर बहादुर बुद्धिबहादुर समेतका ५ जनालाई विपक्षी समेतले कुटपीट गरेकोमा विपक्षीहरू समेत उपर म वीर बहादुर म बुद्धिबहादुर समेतका पाँच जनाले कुटपीटमा यसै सम्मानीत अदालतमा फिराद दायर गरेका छौं । हामीहरूलाई विपक्षीहरू समेत भई कुटपीट गरेकोमा म बुद्धिबहादुर समेतलाई ठूलो चोट पर्ने गरी चल्नै नसक्ने पारी कुटपीट गरेमा सो कुटपीटको सजायँबाट बच्न हामीले कुटपीट गरेको देखाई हामीतर्फ ठूलो जमात देखाउन मौका छोपी विपक्षी हरूसँग केही मन मोटाव भएको हाम्रो नातेदार समेतलाई नछोडी सो वारदातमा हुँदै नभएको मानिसहरू समेतको नाउँमा फिराद दिएर दुःख दिन खोजेका रहेछन् । वादीहरूको कुटपीटबाट हामी चलहल गर्न नसक्ने अवस्था पुगेका मानिसहरूले वादीहरूलाई कुटपीट गर्न सक्ने स्थिति नै नभएकोमा पुष्करबहादुर भनी लेखिएको प्रेम बहादुर, सुशिलबहादुरका बाबा वीर बहादुर समेतलाई विपक्षीहरू समेतले कुटपीट गरेकोमा निजहरू सजायँको भागी बन्ने अवस्था परेकोले सजायँ र कसूरमा बच्न हामीलाई देखाएका हुन् । म पुष्कर भन्ने प्रेम बहादुर र म यादव खड्का उक्त वारदातको समय कोशी अञ्चल सुनसरीमा थियौं । म साहिलो भन्ने नवराम उक्त वारदातको समयमा सडक विभागको कार्यालय मिनभवनमा हाजिर छु । म माधव जि.पं.का.काभ्रेमा उक्त वारदातको समयमा छु वादी मध्ये रामचन्द्र कुट्ने भनिएको म नातिकाजी म भरतबहादुर म माहिलो भन्ने कृष्ण बहादुर जेठो भन्नेसमेत ३ जनामा कुटपीटको वारदात देखाएको समय मितिमा म भरतबहादुर १ नं. बाहिनी क्याम्पमा छु म नातिकाजी र कृष्ण बहादुर पनि वारदात भएको दिन समयमा वारदात भएको ठाउँबाट अं. २ माइल टाढा ज्ञानबादुरको खेतमा धान काट्न गएको थियौं, म ध्रुव भन्ने पूर्णबहादुरको मिति समयमा वारदात ठाउँमा नभई अन्यत्रै छु । म रामचन्द्र थापा वारदात देखाएको दिन समयमा ज्वरो आई विरामी भई आफ्नै घरमा छु । म जेठो भन्ने कुल बहादुर म माहिलो भन्ने सोमबहादुर म जेठो भन्ने जयराम म वेनीबहादुर म सानुकान्छो समेत वारदात देखाएको मिति समयमा वारदातको ठाउँमा नभई सो ठाउँबाट २ माइल टाढा ज्ञानबहादुरको खेतमा धान काट्न गएका छौं । वादी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. वादीहरू कराएको सुनी हेर्न जाँदा ५०/६० जना मानिस रहेछन् । कुट्ने मानिस देखिन । पृथ्वी बहादुरको छोरा र टिकाबहादुरको छोराको रगतपक्ष भएको देखें । मानिस नचिनेको हुँदा यसले कुटेको भन्न सकिन भन्ने समेत वादीको साक्षी विदुर मगरको बकपत्र रहेछ।
५. प्रतिवादीहरूले वादीहरूलाई कुटेको होइन प्रतिवादी सुशिल, कृष्ण बहादुर, कुल बहादुर, सोमबहादुर, सानु कान्छा र ज्ञानबहादुर समेत ८ जना ज्ञानबहादुरको श्रीमती १ छोरी १ समेतलाई वादीले कुटेको हो भन्ने प्र.साक्षी सानुकाजीको प्रतिवादी वीर बहादुर वहाँको श्रीमती र केटाकेटी समेतको रगतपक्ष भएको देखेको हो । अरु कुरा थाहा छैन भन्ने समेत साक्षी शंकरबहादुरको प्र. वीर बहादुर, नैनबहादुर, वीर बहादुरको छोरी जहान समेतलाई वादीहरूले कुटेछन् प्र.वीर बहादुरको टाउको फुटेको रहेछ । वादीहरू भाग्न लागेको देखेको हुँ वादीहरूलाई प्रतिवादीहरूले कुटेको होइन भन्ने समेत प्र.को साक्षी गणेशबहादुरको २०३३ साल कार्तिक ११ गतेका दिन १०/११ बजे म मेरै घरमुनिको बारीमा छु । वादीहरूकहाँ छन् थाहा छैन । प्र.पुष्कर १ यादव १ ध्रुव भन्ने पूर्णबहादुर १ समेत कोशी अञ्चलमा छन् । रामचन्द्र थापा बिरामी भई घरमै छन् । नवराज थापा मिनभवनमा छन् । माधव थापा जिल्ला कार्यालयका प्र.जि. मा छन् । वीर बहादुर उसको श्रीमती परिवार समेत वीर बहादुरको घरमुनि कुन्यो लगाई बसी रहेका छन् । अरु प्रतिवादीहरू ज्ञानबहादुरको खेतमा छन् सो ११ गते अं. ११ बजे वीर बहादुर खड्का निजको दाजु बुद्धिबहादुर खड्का समेतको परिवारलाई मारे कुटे भन्ने खबर पाई हेर्न जाँदा वीर बहादुर र निजको परिवार समेतलाई कुटी रगतपक्ष पारी भागेको माहिला खड्कालाई चिनँे । अरु भन्न सक्दिन भन्ने समेत प्रतिवादीको साक्षी चित्रबहादुरको वादीहरूलाई प्रतिवादीहरूले कुटपीट गरेको छैन । वीरसमेतलाई वादीले कुटी भागे भन्ने समेत प्र.को साक्षी रुद्रबहादुरको, प्रतिवादीलाई वादीले कुटी उल्टो उजूर गरेको भन्ने समेत प्र.को साक्षी गणेशबहादुरको, वादीले प्रतिवादीहरूलाई कुटेको भन्ने सुनेको भन्ने प्र.को साक्षी चन्द्र बहादुरको, प्र.वीर बहादुर समेत कुन्यो लगाई राखेका ठाउँमा प्र.वीर बहादुर र निजको श्रीमती समेतलाई वादीले कुटेको भन्ने समेत प्र.को साक्षी हरि बहादुरको, वादीहरूले प्र.वीर बहादुरलाई कुटी बनतिर भागेको भन्ने समेत प्र.को साक्षी सानुबाबुको, प्र.वीर बहादुर रगतपक्ष भई सुतेको रहेछन् । वादीहरूले वीर बहादुर समेतलाई कुटी भागे भन्ने समेत प्र.को साक्षी जोगबहादुरको र प्र.वीर बहादुर र बुद्धिबहादुर रगत पक्ष भएका वादीहरूले कुटी भागेका भन्ने समेत प्रतिवादीको साक्षी तुलाबहादुरको समेत बकपत्र रहेछ ।
६. वादी दावी बमोजिम प्रतिवादीहरूले साक्षी सबूद केही गुजार्न सकेको देखिएन । अतः प्रतिवादी मध्येका वीर बहादुर वादी भई यिनै वादी प्रतिवादी भएको कुटपीट मुद्दामा प्रतिवादीले कुटपीट मुद्दामा प्रतिवादीले कुटपीट गरेको ठहरिँदा वादीहरूले प्रमाण दिएको घा जाँच फाराम बाहेक अरु प्रमाण पेश गरेको नहुँदा केश फारामलाई अवलोकन गरी विचार गरिएमा वचन दिने वीर बहादुर स्वयं घाइते देखिन आएकोले निजले कुटेको भन्न मिलने । प्रतिवादी वीर बहादुर समेतका मानिसहरू कुटिएको भनी वादीहरूलाई शान्ति सुरक्षा राखिएको र प्रतिवादी नानीकाजी थापा, कृष्ण बहादुर, सानुकान्छा र बम्बबहादुर खड्का र जयराम समेत जवान ९ ले सम्म वादीहरूलाई साधारण कुटपीट गरेको र अरु प्रतिवादीले कुटेपीटेको कुनै कारण देखिन नआएकोले वादी प्रतिवादी जवान ९ ले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३५।१।१८ को का.प.जि.अ.को फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको मिति २०३५।३।१६ र २०३५।३।१९ को समेत बा.अं.अ.मा दिएको पुनरावेदन पत्र ।
८. वादी दावी र केश फाराम अनुसार वादी विष्णु बहादुरलाई प्र.वीर बहादुरले साधारण हतियार प्रहार गरेबाट बायाँ कुइनाको हाड भाँचेको र दायाँ घुँडाको पनि बगल पट्टिको कनइल हाड चर्की फुटेको भन्ने देखिएकोले सो चोट पारी कुटेमा प्र.वीर बहादुरलाई कुटपीटको ७ नं. अन्तर्गत ६ महिना कैद र रु. २००। जरिवाना हुन्छ । अरु वादीहरूलाई चोट पारेकोमा अरु प्रतिवादीहरू सबैको हुलबल भई पारेको देखिएकोले सोही बमोजिम कुटपीटका १३ नं. र १८ नं. अन्तर्गत सजायँ हुने ठहर्छ । शुरू जि.अ.बाट हाड भाँचेको तर्फ प्र. वीर बहादुरलाई र अरु चोटमा अरु ९ जना प्र.हरूलाई सफाई दिने गरेको इन्साफ खण्ड मिलेको नदेखिँदा सोही हदसम्म उल्टी हुने ठहर्छ भन्ने बा.अं.अ.को २०३७।१२।१६ को पुनरावेदन फैसला ।
९. उक्त फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्न अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको निवेदनमा यो यो घा चोट यो यो प्रतिवादीले पारेको भन्न र कुटपीटको ७ नं. बमोजिमको दावी समेत वादीले नसकेको साक्षीबाट पनि सो कुराको समर्थन हुन नसकेको यस स्थितिमा वादीलाई प्रतिवादीले कुटपीट गरेको ठहराएको बा.अं.अ.को फैसला त्रुटिपूर्ण देखिनाले पुनरावेदन गर्न अनुमति दिएको छ, भन्ने मिति २०३९।१।१६ को मध्यमान्चल क्षेत्रीय अदालतसिंगल बेञ्चको आदेश ।
१०. कुटपीटको ७ नं. मा रु. २००। जरिवाना र कैद ६ महिना गर्नु भन्ने लेखिएको वादी विष्णु खड्काको बायाँ कुइनाको हाड यसैको चोटबाट भाँचिएको भन्ने सबूद प्रमाणबाट पुष्टि हुन नआएको हुनाले कुटपीटको १५, १८, १९ नं. को ऐन अनुसार ठूलो खतमा मात्र दामासाहीले सजायँ गर्नुपर्ने हुन आएको हुनाले सो अनुसार निजहरूलाई दामासाहीले सजायँ हुने र वादी रामचन्द्रलाई कुटपीट गरेमा कुटपीटका १३ नं. अनुसार सजायँ हुने समेत ठहर्छ । बा.अं.अ.को फैसला केही उल्टी हुन्छ भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको ०४०।५।५ को फैसला ।
११. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी विष्णु बहादुर खड्काको निवेदनमा नि.नं. १०७९ मा पुनरावेदनको अनुमति दिने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि पुनरावेदनको अनुमति दिइएको छ भन्ने ०४१।१।१३ को आदेश ।
१२. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीहरूको निवेदन पर्दा चोटको एक्स–रे गराई सोको आधारमा फैसला गर्नु पर्नेमा सो गरेको नदेखिँदा प्रमाण ऐनको दफा ५४ को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४१।१।१३ को आदेश ।
१३. तारेखमा रहेका पुनरावेदक वादी विसु भन्ने विष्णु बहादुर खड्का र पुनरावेदक प्रतिवादी वीर बहादुर खड्का, सानुकान्छा खड्का, यादव खड्का, जयराम खड्का, नातिकाजी थापा, माहिलो भन्ने कृष्ण बहादुर खत्री, सोमबहादुर खड्का र झिकाई आएका वादी रामचन्द्र खत्री प्रतिवादी वेनीबहादुर खड्का र ज्ञानबहादुर खड्कालाई नियम बमोजिम नाम पुकार गराउँदा उपस्थित हुन नआएको प्रस्तुतमुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१४. यसमा निर्णयतर्फ हेर्दा प्रस्तुत मुद्दामा चोटको एक्स–रे गराई सोको आधारमा फैसला गर्नु पर्नेमा सो गरेका नदेखिँदा बुझ्न पर्ने प्रमाण नबुझी गरेको फैसला त्रुटि भएको भन्ने आधारमा पुनरावेदनको अनुमति प्रदान भएको देखिन्छ ।
१५. मिसिल सामेल रहेको घा जाँच केश फाराममा विष्णु खड्का क्षेत्रीका विभिन्न अङ्गहरूमा घा चोट लागेको र बायाँ कुइनाको हाड (कन्डाईल) भाँचिएको छ । बाँया घुँडाको (बगलपट्टिको कन्डाइल हाड) चर्केको फुटेको छ भन्ने र रामचन्द्र खत्री क्षेत्रीको विभिन्न अंगमा घा खत लागेको भन्ने उल्लेख भएको पाइन्छ । यसबाट सो घा चोटहरूको एक्स–रे नगराउँदैमा मौकामा भएको सो घा जाँच केश फाराममा उल्लिखित घा खतलाई अन्यथा भन्न सकिने अवस्था देखिँदैन । वादीहरूलाई प्रतिवादीहरूले कुटपीट गरेको होइन भन्ने तथ्ययुक्त सबूद प्रमाणको अभावमा मिल्ने नदेखिँदा क्षेत्रीय अदालतको फैसलामा परिवर्तन गर्नुपर्ने अवस्था रहेन । तसर्थ पुनरावेदक प्रतिवादीहरूले नै कुटपीट गरेको देखिन आयो । विष्णु खड्काको बायाँ कुइनाको हाड यसैको चोटबाट भाँचिएको भन्ने पुष्टि हुन नआएकोले ठूलो खतमा दामासाहीले सजायँ हुने र वादी रामचन्द्रलाई कुटपीट गरेमा कुटपीटका १३ नं. अनुसार सजायँ हुने समेत ठहर्छ भनी मध्यमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी पुनरावेदक विसु भन्ने विष्णु बहादुर खड्का पुनरावेदन गरे वापत शुरू जरिवाना गरेको नहुँदा अ.बं. २०३ नं. ले रु. १। एक जरिवाना हुन्छ बेरुजु हुँदा ऐन बमोजिम असूल गर्न काठमाडौं जि.अ.मा लगत दिनु...१
पुनरावेदक प्रतिवादी देहायका मानिसको पुनरावेदन परे वापत शुरू कैद दिन २२ जरिवाना रु. १३५। को अ.बं. २०३ नं. ले सयकडा ५ ले कैद दिन १ दिन ६ घडी र जरिवाना रु. ६।७५ का दरले थप जरिवाना कैद हुन्छ बेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी ऐ. ऐ...२
वीर बहादुर खड्का १
सानुकान्छा खड्का १
यादव खड्का १
जयराम खड्का १
नानीकाजी थापा १
माहिला भन्ने कृष्ण बहादुर खत्री १
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४२ साल श्रावण २० गते रोज २ शुभम् ।