निर्णय नं. २३५१ - कर्तव्य ज्यान

निर्णय नं. २३५१ ने.का.प. २०४२ अङ्क ४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको फौ.पु.नं. ६८३
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी:भोला हरिजनको जाहेरीले श्री ५ को सरकार ।
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी:रुपन्देही जिल्ला पर्सा गा.पं.वा.नं. १ बस्ने मुन्केशर भन्ने मुन्द्रामणिराज हरिजन।
ऐ.ऐ बस्ने तिजिया भन्ने तिजकुमारी हरिजन ।
फैसला भएको मिति :२०४२।३।१०।२ मा
ज्यान जस्तो गम्भीर अपराधमा केवल शंका र अनुमानको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर्याउन नमिल्ने ।
(प्रकरण नं.२२)
फैसला
न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः पश्चिमान्चल क्षेत्रीय अदालतको मिति २०४१।२।२१।१ को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. ०३६ सालकार्तिक २ गते शुक्रबारको रात अं.१२ बजे गाउँमा डाँका भयो भन्ने हल्ला सुनीजाँदा बदमाशहरू भागी सकेका रहेछन् । दुलारी हरिजन र निजको छोरा रामकिशुनलाई बदमाशहरूले तिखो वस्तुले काटी मारेको र कसले हत्या गर्यो पत्ता लाग्न नआएबाट लाश सुरक्षित राखी जाहेर गरेको छु । लाश जाँच गरी सतगत गर्न जिम्मा पाउँ भन्ने समेत वार्ड अध्यक्ष रामनारायण गुप्ताको ०३६।७।३ को जाहेरी दर्खास्त ।
३. दिदी दुलारी हरिजनले विपक्षी मुद्रामणि हरिजन उपर अंश पाउँ भनी मुद्दा गरी दुलारीले अंश पाउने ठहरी फैसला भएको र २०३५ सालको बाली समेत रोक्का गरिदिएकोले विपक्षी मुद्रामणि हरिजन र निजको आमाले मार्छु भनी हिंडेकोले दिदी दुलारी डरले भाग्दा रामकिशुनलाई लिई रामजितको घरमा सुत्ने बस्ने गर्दथिन् । ०३६ साल कार्तिक २ गते रात अं. ११।। बजे डाँका भयो भन्ने हल्ला सुनी जाँदा रामजित हरिजनको घरमा दिदी दुलारी र भान्जा रामकिशुनको मृत्यु भएको र रामजित र निजको स्वास्नी घाइते भएको देखें बदमाशहरू भागी सकेका रहेछन् । मुन्द्रामणि र निजकी आमा भोलि पल्टदेखि बेपत्ता भएको बुझिएको र दिदी सुत्ने खाटको सिरानामा झोलाभित्र भान्जा रामकिशुनको आफ्ना हस्ताक्षरबाट लेखेको पत्रमा उल्लेख भएको संदिग्ध व्यक्तिहरूको सहयोग लिई मुन्द्रामणि र निजकी आमा तिजिया भन्ने तिलेश्वरीलाई पक्राउ गरी कारवाही गरी सजायँ गरिपाउँ भन्ने समेत मिति ०३६।७।४।१ को भोला हरिजनको जाहेरी दर्खास्त ।
४. दायाँ कान बीचदेखि च्यूडोसम्म काटी घाँटी समेतको मासु छिनिएको कान समेत च्यातिएको ५” लम्बाई, ४” चौडाई, ३” गहिरो घाउ भएको भन्ने समेत दुलारी हरिजनको र कानमा पछाडि ६ इञ्च लम्बाई, १ इञ्च चौडाई, आधा इञ्च गहिरो धारिलो हतियारले काटेको घाउ उक्त घाउको बीचमा हड्डी समेत फोडिएको देखिएको उक्त बायाँ कानको तल गालामा तिखो हतियारले घोचेको घाउ भएको भन्ने समेत रामकिशुन हरिजनको मिति ०३६।७।३ को लाश प्रकृति मुचुल्का।
५. शरीर छियाछिया भई मृत्यु भएको भन्ने समेत मिति ०३७।७।४।१ को लाश जाँच प्रतिवेदन ।
६. मुन्द्रामणि र दुलारी हरिजनको अंश मुद्दा परी दुलारीले आधा अंश पाउने ठहराई ०३५ सालको बाली रोक्का गरी राखेकोले मार्छु भनी हिंडेकोले डरले दुलारी र रामकिशुन मेरो घरमा सुत्न आउँथे । ०३६ साल कार्तिक २ गते अं. ११ बजे दुलारीको आवाज सुनी जाँदा नचिनेका बदमाशहरू मलाई जोखिमी तिखो हतियारले प्रहार गरी चोट पुर्याएको र दुलारी र रामकिशुन हरिजन समेतलाई बदमाशहरूले कर्तव्य गरी मारेको र मर्नु अगाडि दुलारीले आफ्नो झगडिया मुन्द्रामणिको नाम लिएको एकछिन पछि दुलारी मरेकोले निज मुन्द्रामणि र निजको आमा तिजियाभन्ने तिलेश्वरीको कर्तव्यबाट अरु बदमाशहरूको सहयोग लिई मारे मराएको पूरा विश्वास छ भन्ने रामजित हरिजन र पुतरिया हरिजनको मिति ०३६।७।७ मा प्रहरीमा भएको कागज ।
७. दुलारी हरिजनको लोग्ने सुन्नर हरिजन मेरो पति तिर्थराज हरिजनको सहोदर दाजु हुन् । मेरो पति जीवित छँदै जेठाजुले हाम्रो हकको जग्गा अंश पाउँ भनी सि.डि.ओ. अफिसमा निवेदन दिनु भएको थियो । मेरो पति र जेठाजुको समेत मृत्यु भएपछि दुलारीले अंश पाउँ भनी मुद्दा गरी जितेको थियो त्यसमा चित्त नबुझी पश्चिमान्चल क्षेत्रीय अदालत पोखरामा पुनरावेदन गरेको छु । फैसला भएको छैन । मैले दुलारी र उनका छोरालाई कर्तव्य गरी मारेको होइन कसले मार्यो भन्न सक्तिन, हाम्रो अंश मुद्दा परी रहेकोले हामीलाई शंका गर्लान् भन्ने डरले लुकी हिंडेका हौं भन्ने समेत व्यहोराको तिजकुमारी हरिजनको प्रहरीमा बयान ।
८. दुलारीसँग अंश मुद्दा परेको थियो । वारदातको दिनमा आफ्नै घरमा सुती रहेको थिएँ र मकहाँ कोही पनि आएको थिएन । रामकिशुनले लेखेको चिठ्ठी जग्गाबारे झगडा हुँदा लेखेको हुनुपर्छ । निजहरूलाई मैले मारेको होइन, कसले कुन रिसले मारेका हुन् थाहा छैन, रामजित र पुतरिया हरिजनले दुलारीले मेरो नाम लिई चिच्यायो भनी किन भनेका हुन् थाहा छैन भन्ने समेत व्यहोराको मुन्द्रामणि हरिजनको प्रहरीमा बयान ।
९. मर्ने दुलारी र निजको छोरा रामकिशुन र मुन्द्रामणि निजको आमा तिजिया समेतसँग कुनै रिसइवी छैन, मुन्द्रामणिलाई सहयोग गरी दुलारी र निजको छोरालाई मारे मराएकोमा मेरो कुनै सहमति छैन, वारदातको रात म आफ्नै घरमा सुती रहेको थिएँ भन्ने समेत व्यहोराको सुर्जु क्षेत्रीको प्रहरीमा बयान ।
१०. ०३६ साल कार्तिक २ गते राति गाउँमा डाँका गर्यो भन्ने हल्ला सुनी हेर्न जाँदा बदमाशहरूको प्रहारबाट दुलारी रामकिशुनको मृत्यु भएको रामजित र पुतरिया हरिजन घाइते भएको देखियो, दुलारीको मुन्द्रामणिसँग अंश मुद्दा परेको त्यही रिसइवीबाट मारेको शंका लाग्छ भन्ने पुरदिल भन्ने राम प्रसाद हरिजन समेतले पृथक–पृथक दफामा मिति ०३६।७।२३।३ मा गरिदिएको सरजमीन मुचुल्का ।
११. मृतक दुलारी र रामकिशुनको हरिजन तीजकुमारी र मुन्द्रामणिसँग मात्र रिसइवी भएको र दुलारीले मृत्युको तत्काल अघि मुन्द्रामणिको नाम लिएको र सरजमीनमा समेत तीजकुमारी मुन्द्रामणि उपर तथ्य साथ किटान उल्लेख गरिदिएकोले तीजकुमारी हरिजन र मुन्द्रामणि हरिजनलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजायँ गरिपाउँ, रामकिशनु हरिजनले लेखको भनिएको कागजको टुक्रामा उल्लेख भएका सुर्जूक्षेत्रीसमेतका व्यक्तिहरू विरुद्ध सबूदको अभावमा मुद्दा चलाउन नपर्ने भन्ने समेत मिति ०३६।७।३०।६ को प्रहरी प्रतिवेदन।
१२. मुन्द्रामणि हरिजन र तीजकुमारी हरिजनले अदालतमा गरेको इन्कारी बयान ।
१३. ०३६ साल कार्तिक २ गते रात मेरो खाट नजिक दुलारी हरिजन र निजको छोरा किशनु खाटमा सुतेका थिए । सो रात बदमाशहरू आई मलाई र मेरो लोग्नेलाई समेत कुटपीट गरे । बदमाशहरूले दुलारी हरिजन र निजको छोरा रामकिशनुलाई मारेका हुन् । बदमाशहरू को–को हुन् मैले देखिन चिनिन भन्ने समेत पुतरिया हरिजनले अदालतमा गरेको बकपत्र र सोही मिलानको रामजित हरिजनको अदालतमा भएको बकपत्र ।
१४. प्रतिवादीहरूले कर्तव्य गरेको भन्ने देखिने शंकारहित प्रष्ट सबूदको अभावमा ज्यान जस्तो जघन्य अपराधमा दोषी मानी सजायँ दिन कानुन अनुरूप नभई शंकाको सुविधा प्रतिवादीले पाउने सर्वमान्य सिद्धान्त हुनाले मुन्द्रामणि हरिजन र तीजकुमारी हरिजनले सफाई पाउने ठहर्छ भन्ने समेत शुरू रूपन्देही जिल्ला अदालतको मिति २०३९।१।८।४ को फैसला ।
१५. उक्त फैसला उपर पश्चिमान्चल क्षेत्रीय अदालत पोखरामा श्री ५ को सरकारको पुनरावेदन परेकोमा रूपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहराई पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको मिति ०४१।२।२१।१ को फैसला ।
१६. प्रतिवादीहरूलाई सफाई दिने गरेको शुरू जिल्ला अदालतको इन्साफ मनासिव ठहर्याई गरेको क्षेत्रीय, जि.अ. को फैसलासमेत न्यायनुकूल नहुँदा उक्त फैसला बदर गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।
१७. नियम बमोजिम आज निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट बहस गर्नाका लागि वरिष्ठ सरकारी अधिवक्तालाई खटाइएको महान्यायाधिवक्ताको कार्यालयको पत्र मिसिल संलग्न रहेको तर उहाँ बेञ्चमा उपस्थित नभएको ।
१८. प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई सफाई दिने ठहर्याएको पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय मिलेको छ छैन हेर्नु परेको छ । यसतर्फ हेर्दा वार्ड अध्यक्ष रामनारायण गुप्ताको मिति ०३६।७।३ को जाहेरीबाट प्रस्तुत मुद्दाको सिर्जना भएको छ । निज रामनारायण गुप्ताले दुलारी हरिजन र रामकिशुन हरिजनलाई बदमाशहरूले मारेको भन्ने कुरा जाहेरीमा उल्लेख गरेको, तर कस–कसले मारेको हो भन्ने सम्बन्धमा कसै उपर शंका गरेको पाइँदैन । यसपछि मिति ०३६।७।४ मा मृतक दुलारी हरिजनको भाइ भोला हरिजनको दोश्रो जाहेरी दर्खास्त परेको देखिन्छ । भोला हरिजनले दिएको उक्त जाहेरीमा दिदी दुलारी हरिजन र मुन्द्रामणि हरिजन उपर अंश मुद्दा दिई जिल्ला अदालतबाट जितेको र घटना भएको भोलिपल्ट देखि मुन्द्रामणि र निजको आमा बेपत्ता भएको हुनाले निज आमा छोराले नै मेरो दिदी र भान्जालई कर्तव्य गरी मारे मराएकोले कारवाही गरिपाउँ भन्ने माग गरेको पाइन्छ । तर निज जाहेरवालाले अदालत समक्ष बकपत्र गर्दा मैले जाहेरी दर्खास्तमा कसै प्रति शंका गरी किटानीसाथ लेख्न लगाएको छैन । दुलारी र रामकिशुनलाई कसले मारे थाहा छैन भनी लेखाई दिएबाट निजको जाहेरी दर्खास्तको कुरालाई सत्य मान्न सकिने अवस्था परेन ।
१९. प्रतिवादीहरू तिलेश्वरी हरिजन र मुन्द्रामणि मृतकहरू दुलारी र रामकिशुनलाई कर्तव्य गरी मारेकोमा प्रहरी र अदालत दुवै ठाउँमा इन्कार रहेको पाइन्छ ।
२०. वारदात भएको ठाउँमा मृतकहरू नजिक सुत्ने र उक्त घटनामा घाइते हुनेहरू पुतरिया र रामजितले दुलारी र रामकिशुनलाई कसले मारेको हो देखिन चिनिन भनी अदालत आई बकपत्र गरेको पाइन्छ ।
२१. दुलारीले जिल्ला अदालतमा अंश मुद्दा जितेको एकमात्र कारणबाट (जबकी उक्त मुद्दा त्यस बेला पश्चिमान्चल क्षेत्रीय अदालतमा चलिरहेको थियो) प्रतिवादीहरूले दुलारी र रामकिशुनलाई ज्यान समेत लिनु पर्ने अवस्था पर्न आउँदैन ।
२२. तसर्थ उपरोक्त कारणहरूबाट ज्यान जस्तो गम्भीर अपराधमा केवल शंका र अनुमानको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर्याउन नमिल्ने हुनाले यी प्रतिवादीहरू मुन्द्रामणि र तीजकुमारीले सफाई पाउने ठहर्याएको रूपन्देही जिल्ला अदालतको फैसलालाई सदर गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला मनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गर्नु ।
उक्त रायमा म सहमत छु ।
प्र.न्या.नयन बहादुर खत्री
इतिसम्वत् २०४२ साल आषाढ १० गते रोज २ शुभम् ।