निर्णय नं. २३५३ - उत्प्रेषण

निर्णय नं. २३५३ ने.का.प. २०४२ अङ्क ४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको रिट नं.१३२२
विषय : उत्प्रेषण ।
निवेदक :जि.पर्सा घोरे गा.पं. वडा नं.६ को हाल वडा नं.२ बस्ने सुब्बा सहनी मलाहा ।
विरूद्ध
विपक्षी :भूमि सुधार कार्यालय पर्सा वीरगन्ज समेत ।
आदेश भएको मिति:२०४२।४।७।२ मा
मोहियानी लगत कट्टा गर्ने सम्बन्धमा भएको कारवाही विषयमा कीर्ते जालसाजी मुद्दा जिल्ला अदालतमा दिएको छु भन्ने उल्लेख गरेको देखिँदा रिट क्षेत्रबाट बोल्न नमिल्ने ।
(प्रकरण नं.९)
निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल तथा विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट
उल्लेखित मुद्दाःX
आदेश
न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ ।
२. निवेदक विपक्ष मध्येका रामवृक्ष महतो कोइरीका बाबु धर्मदेव महतो कोइरीको नाउँमा दर्ता रहेको जि.पर्सा गा.पं. घोरे वडा नं. २ कि.नं. २६ को ०–५–३ र ऐ. वडा नं. ९ कि.नं. ६७ को ०–२–० समेत जम्मा २ कित्ता जग्गा भू.सं.ऐन प्रारम्भ हुनु पूर्व देखि मोही भई आफू र आफ्नो परिवारको श्रम लगाई जोती आएको र भूमिसम्बन्धी ऐन प्रारम्भ भएपछि जो.अ.नि. तथा मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गरी जोती कमाई अद्यापि पनि आएको छु । यसै बीच उक्त जग्गामा निवेदकले लगाएको धान बाली यही ०४१ साल आषाढ २२ गते गोडमेल गरी उक्त जग्गामा जाँदा विपक्षी मध्येका रामवृक्ष महतो कोइरीले यी जग्गामा अब तिम्रो कुनै हक छैन तिम्रो मोहियानीको हक तिमीले आफैंले छाडी सकेको हुँदा मोहीयानी हकको लगत कट्टा समेत गरी सकेको छ भनी जग्गामा बाली नाली समेत गोडमेल तथा लगाउन नदिई जबरजस्ती गरेकोले मेरो मोहियानी हकको लगत के कसरी कट्टा भएछ त भनी विपक्षी भू.सु.का. मा बुझ्दा निवेदकको नाउँबाट २०२८ साल वैशाखमा मोही जग्गाको हक छाड्नेबारे विषय राखी व्यहोरामा धर्मदेव महतो कोइरीका नाउँमा रहेको जग्गा अघि देखि मैले आवाद गरी अब उक्त जग्गा आवाद गर्न बेरामीबाट र खेती खर्च गर्न नपुग्ने भई सारै मर्का भएकोले मोही जग्गा छाड्न निवेदन गर्न आएको छु । उक्त जग्गा आवाद गर्न जग्गाधनीलाई सूचना दिनु भई उक्त जग्गाको हर्जाना बाली मबाट लिन नपाउने गरिपाउँ भन्ने निवेदन निवेदकको नाउँबाट दिलाइएको रहेछ । विपक्ष भू.सु. कार्यालयले २०२८ सालको बालीदेखि जोत्न सक्दिन भन्ने मोही सुब्बा सहनी मलाहाले निवेदन दिई निज मोहीले मोही राजीनामा गरेको भन्ने ०२८।१।२० मा पत्र समेत प्राप्त भएकोले निज मोहीको नाउँको मोही लगत ज.ध.प्र.पू. र मोठ श्रेस्ताबाट कट्टा गरिदिन हुन सूचित गरिन्छ भन्ने मिति ०२८।४।२४ मा पत्र मोठ तथा श्रेस्ता शाखा तत्कालीन भू.सु.का. पर्सालाई लेखेको रहेछ । जसको जानकारी निवेदकले आजसम्म प्राप्त गरेको छैन र निवेदकलाई जानकारी छैन निवेदकले जग्गा जोती आई नै रहेको थिएँ । विपक्ष कार्यालयबाट ०४१ साल आषाढ २१ गते पर्चा खडा गरी पूर्व निर्णय बमोजिम मोही लगत कट्टा बारेमा निर्णय गरिएछ । सो निर्णय पश्चात मात्र विपक्षले जग्गामा हस्तक्षेप गर्न आएकोले विपक्ष भू.सु.कार्यालयमा गई ०४१।३।२३ मा सम्पूर्ण कागजात सहितको नक्कल रीतपूर्वक सारी सराई लिए पछि उल्लिखित कुरा जानकारीमा आएकोले म निवेदकको नामबाट कीर्ते जालसाजी गरे गराएमा सजायँ गरी पाउन निवेदकले पर्सा जिल्ला अदालतमा कीर्ते जालसाजी मुद्दा समेत दायर गरेको छु । भू.सु.ऐन, ०२१ को दफा २५ को खण्ड (ख) बमोजिमको दर्तावाला मोही भन्ने कुरामा विवाद नभएको र ऐ. को दफा २६(क) मा दफा २५ को उपदफा ५ को खण्ड (ख) बमोजिम दर्ता भएको मोहियानी हकको जग्गा मोहीले छाड्न चाहेमा खेतीको याम भन्दा कमसे कम १ महिना अगावै तोकिएको अधिकारी वा जग्गावालालाई लिखित सूचना दिन पर्दछ भन्ने कानुनी व्यवस्था छ । यदि निवेदकले मोही छाड्न निवेदन दिएको र सनाखत समेत गरेको भए सो बमोजिम जग्गावालालाई सूचना समेत दिई सोही २०२८ सालदेखि नै जग्गा जोत्न छाड्ने थिएँ सोबाट नै मोही छाड्नु निवेदकले निवेदन दिई सनाखत समेत गरेको होइन रहेछ भन्ने प्रष्ट छ । तसर्थ विपक्षहरूको उक्त गैरकानुनी कारवाही र निर्णय बदर गरिपाउँ भन्ने समेतको निवेदन जिकिर ।
३. यसमा विपक्षीहरूबाट लिखित जवाफ मगाई पेश गर्नु भन्ने मिति ०४१।५।१५ को सिंगल बेञ्चको आदेश ।
४. रिट निवेदक सुब्बा सहनी मलाहाले जग्गाबाट छोडपत्र गरी लगत कट्टा हुने गरी ०२८।४।२४ मा नै यस कार्यालयबाट लेखिएको सक्कलै पत्र वादीबाट पेश भएको र यसै जग्गा सम्बन्धीमा मोहीले छोडपत्र गरे देखि ज.ध.कै जोतमा जग्गा रहेकोले मोही लगत कट्टा गर्न स्थानीय पं. घोरेबाट लेखिआएपछि यस कार्यालयबाट मिति ०४१।३।२१ मा पूर्व निर्णय बमोजिम मोहीको लगत कट्टा गर्न पर्चा भएको हो । आफ्नो हक छोडी जग्गा जोत्न छाडी सकेको मोहीले पुनः स्थापित हुन पाउने आकांक्षाबाट अभिप्रेरित भई यो गरेको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको भू.सु.का.पर्साको लिखित जवाफ ।
५. विपक्षीले जग्गा कमाउन सक्दिन भनी अघि पिताजीकै पालामा मोही छोडपत्र गरेकोमा पञ्चायत समेत बुझी मोही लगत कट्टाको निर्णय पश्चात आज १३ वर्ष देखि म जग्गाधनीले आफ्नै तर्फ जोतकोड गरिआएकोमा झुठ्ठा कुराहरू लेख्दै दुःख हैरानी गराई केही हात लगाउन सक्छु कि भनी दिएको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको रामवृक्ष महतोको लिखित जवाफ ।
६. रिट निवेदक स्वयंले नै पर्सा जिल्ला अदालतमा कीर्ते जालसाजी मुद्दा दिएको छु भनी देखाउनु भएकोबाट पनि तल्लो तहको मुद्दालाई असर पुग्ने गरी रिट क्षेत्रबाट बोल्न नहुने र १३ वर्ष अघिको कुरामा हालै मात्र रिट परेकोबाट समेत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेतको अयोध्याप्रसाद कोइरीको लिखित जवाफ ।
७. निवेदकतर्फका विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले विपक्षीहरूको ०२८।४।२४ को पत्र तथा ०४१।३।२१ को निर्णय गैरकानुनी हुँदा बदर हुनुपर्छ भन्ने र विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विपक्षी कार्यालयका तर्फबाट रहनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्टले भू.सु.का. बाट भएको निर्णय भू.सं.ऐन, २०२१ को दफा २६(१)(क) को अनुकूल नै हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
८. प्रस्तुतकेशमा निवेदकको मागबमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन सोकुराको निर्णय गर्नुपरेको छ ।
९. यसमा मोहीले सूचना प्राप्त नगरेसम्म मोहियानी हक छाडेको मानिदैन । विपक्षीहरूको कार्यवाही तथा निर्णय गैरकानुनी हुँदा विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने निवेदन जिकिर भएकोमा रिट निवेदकले मोहियानी लगत कट्टा गर्ने सम्बन्धमा भएको कारवाही विषयमा कीर्ते जालसाजी मुद्दा पर्सा जिल्ला अदालतमा दिएको छु भन्ने उल्लेख गरेको देखिँदा रिट क्षेत्रबाट बोल्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल श्रावण ७ गते रोज २ शुभम् ।