शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४७६४ - उत्प्रेषण

भाग: ३५ साल: २०५० महिना: असोज अंक:

निर्णय नं. ४७६४    ने.का.प. २०५० (ख)        अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

सम्वत २०४८ सालको रिट नं. ८११

आदेश मिति: २०५०।३।१।३

निवेदक      : भ.पु.जि.भ.पु.न.पा. वडा नं. ३ तथा पाल टोल बस्ने कृष्ण गोपाल बासिछ्याका ।

विरुद्ध

विपक्षी : भक्तपुर जिल्ला अदालत समेत ।

मुद्दा : उत्प्रेषण ।

 (१)   तारेखमा राख्ने काम अदालतका कर्मचारीको हुँदा मिसिल प्राप्त भएपछि दुवै मुद्दामा अलग अलग तारेख पर्चा दिई तारेखमा राख्नुपर्ने सो बमोजिम कर्मचारीले नगरेको देखिएपछि बेञ्चमा पेश भएपछि दुवै मुद्दामा तारेखमा राख्ने आदेश गरेको देखिन्छ । अदालतमा उपस्थित भएका पक्ष विपक्षको तारेख गुज्रेको तथा गुजारेको भन्न कानून संगत देखिदैंन ।

(प्र.नं. ६)

(२)   अदालतको कर्मचारीले गर्नुपर्ने आन्तरिक काम कारवाहीको सम्बन्धमा भएको कुरालाई लिएर भएको आदेशलाई बदर गरी पाउँ भन्ने रिट निवेदनको जिकिर तर्कसंगत र कुनै कानूनमा आधारित भएको नहुँदा रिट तहबाट हेर्न उपयुक्त नभएकोले प्रस्तुत रिट निवेदन खारेज हुने ।

(प्र.नं. ६)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री चुडामणि राज सिंह मल्ल ।

विपक्षी तर्फबाट      : विद्वान सरकारी अधिवक्ता श्री अली अकवर मिकरानी ।

आदेश

न्या. लक्ष्मण प्रसाद अर्याल

१.     नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :

२.    कहरमान बासिछयाक, रधुनाथ वासिछ्याक समेतले निजहरुको हक भोगको भ.पु. तचपाल टोलको पूर्व उत्तर सडक, पश्चिम भगवान दासको घर, दक्षिण जंगल मठको बगैंचा यती ४ किल्ला भित्रको पूर्व उत्तर मोहडाको उत्तर दक्षिण १३ हात लम्बाई, पूर्व पश्चिम ५ हात चौडाई भएको २ तल्ले पक्की झिंगटी घर पसल शर्त राखी मेरो बाबु जगत कुमार वासिछ्याकलाई ०३।६।१३ मा दानपत्र पास गरी दिई बाबु जगत कुमारले आफ्नो जानी भोग चलन गरी आएकोमा बाबु जगत कुमारको शेषपछि अपुतालीबाट मेरो हक हुन आई मैले एकलौटी भोगचलन गरी आएकोमा नापीमा मेरो नाउँमा नापी हुँदा बेसरोकार गुठीयार विपक्षी मध्येको मानीकलाल समेत ४ जनाको मात्र उजुर पर्दा समेत नापीले मेरै अस्थायी श्रेस्ता दर्ता खडा गरेको छ । सो उपर विपक्षहरुले म कृष्ण गोपाल उपर निज मानिकलाल समेत १३ जनाले भ.पु.जि.अ. मा खिचोला मुद्दा दिएकोमा म निवेदकले पेश गरेको ब्रम्हायणी पूजा गर्ने मुर्दा गुठीमा साल साल बुझाएको भर्पाई पेश गरेको सो भर्पाई वादीलाई सुनाउँदा किर्ते भनी वयान गरेको कागजलाई जालसाजी भनी मुद्दा दिई दुवै थरी तारेखमा बसेको छौं । उपरोक्त भपाई किर्ते भन्ने दावी उठीसकेको खिचोला मुद्दा र जालसाजी मुद्दाहरु भ.पु.जि.अ. बाट फैसला भै खिचोला मुद्दामा मेरो र जालसाजी मुद्दामा विपक्षहरुको वागमती अंचल अदालतमा पुनरावेदन पर्दा दुवै मुद्दाको फैसला वा.अं.अ. ले ०४६।६।८ मा बदर गरी निर्णय गर्न भ.पु.जि.अ.मा मा तारेख तोकी मिसिल पठाउने भै फैसला अनुसार भ.पु.जि.अ. मा हाजिर हुन पठाएकोमा जालसाजी मुद्दामा मात्र वादी प्रतिवादीले निवेदन दिई तारेखमा बसी आएका थियौं । किर्ते उठेको खिचोला मुद्दामा दुवै पक्षले ०४६।७।७ गते देखि तारेख गुजारेकोले उक्त मुद्दा डिसमिस हुने स्वतः स्पष्ट छ । विपक्ष भ.पु.जि.अ.ले ०४७।५।६ मा मेरो अनुपस्थितिमा आदेश हुँदा यिनै जालसाजी खिचोला मुद्दा बा.अं.अ.को फैसला अनुसार कारवाहीको लागि भ.पु.जि.अ.मा हाजिर हुन आउँदा मिसिल नआएको कारणबाट धरौटी तारेखमा बस्न पाउँ भनी दर्खास्त दिई जालजासी मुद्दामा मात्र तारेखमा बसेकोमा जालसाजी मुद्दाको लगाउ खिचोला मुद्दा समेत पेश हुन आएकोमा दुवै पक्षले बा.अं.अ. बाट एउटा मात्र तारेख पर्चा दिएकोले दुवै मुद्दामा एउटै तारेख पर्चाले हुन्छ भन्ने भान पारी एउटै मात्र दर्खास्त दिई दुवै मुद्दामा तारेखमा छौं भन्ठानेको छौं भन्ने दुवै मुद्दामा छुट्टाछुट्टै तारेख पर्चा लिई तारेखमा बस्नुपर्छ भन्नेमा भोर परेको भनेको हुँदा बा.अं.अ. बाट दिएको तारेख पर्चाबाटै वादी प्रतिवादी धरौटी तारेखमा रहेको हुन सो तारेख पर्चा एउटै मात्र देखिन आएको हुँदा जालसाजी मुद्दा र खिचोला मुद्दा समेत आजका मितिबाट तारेखमा राखी नियमानुसार गरी पेश गर्नु भनी आदेश भएको कुरा पछि जालजासी मुद्दामा तारेख भर्पाई नक्कल लिंदा थाहा भयो । दुवै मुद्दामा अलग अलग दर्खास्त लिई तारेख भर्पाई पनि अलग अलग खडा गरी तारेख तोक्नुपर्नेमा ऐन अनुसार नगरी जालसाजी मुद्दामा मात्र दर्खास्त दिई तारेखमा बसेको जानी जानी किर्ते उठेको खिचोला मुद्दामा तारेख टुंटाई बसेको स्पष्ट हुन्छ । दुवै पक्षले तारेखमा नबसेको कारणले डिसमिस हुने स्पष्ट छ । पक्ष विपक्ष भोरमा परेको भनी जालसाजीको लगाउ मुद्दा भनी खिचोला मुद्दा समेत आजैका मिति देखि तारेखमा राख्ने  आदेश गरिएको र डिसमिस हुने मुद्दा फैसला गर्ने भ.पु.जि.अ.लाई कुनै अधिकार छैन । उक्त आदेश गरेको अधिकार क्षेत्र विहिन हुनुको साथै अन्यायपूर्ण, कानूनी विपरित भएकोले उत्प्रेषणको आदेशद्वारा बदर भागी छ । दुवै पक्षले भनेको भन्ने उल्लेख रहेको हकमा म निवेदक उपस्थित नै छैन जालसाजी मुद्दामा तारेख गुजारी बसेको र पछि थमाई तारेखमा बसेको छु । दुवै पक्षको भन्दैमा गुज्रेको तारेख त्यसरी जोडी तारेख दिई फैसला गर्न मिल्ने होइन । तसर्थ सो आदेशबाट संविधान प्रदत्त धारा १० को कानूनी समानताको हक धारा ११ को मेरो सम्पत्ति सम्बन्धी हकमा आघात परी अझ पार्ने भएकोले संवैधानिक हक प्रचलनको लागि वैकल्पिक कारण उपचार नहुँदा संविधानको धारा ७१ को अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी भ.पु.जि.अ. को ०४७।५।६ को आदेश बदर गरी खिचोला मुद्दामा कानून बमोजिम गर्नु भनी भ.पु.जि.अ. को नाउँमा परमादेश समेतको आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भन्ने कृष्ण गोपाल वासिछ्याकको रिट निवेदन जिकिर ।

३.    बागमती अञ्चल अदालतले शुरुको फैसला त्रुटि देखिंदा बदर गरी दिएको छ । जालसाजी किर्ते तर्फ समेत बोली पुनः फैसला गर्नु भनी प्रस्तुत मुद्दामा तारेखमा रहेका पक्ष विपक्षलाई भक्तपुर जिल्ला अदालतमा हाजिर हुन पठाई दिनु भनी बागमती अंचल अदालतबाट फैसला भएको सो फैसला उपर प्रतिवादीहरुको जालसाजी मुद्दामा मात्र म.क्षे.अ. मा पुनरावेदन परि विवादित लिखत प्रमाण पेश भएको खिचोला मुद्दामा पुनरावेदन परेको नदेखिंदा र खिचोला मुद्दा भक्तपुर जिल्ला अदालतमा इन्साफ हुन गएको र प्रस्तुत मुद्दा त्यसै खिचोलाको लगाउको देखिएकोले बागमती अञ्चल अदालतको फैसला मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने ०४६।१२।२।५ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला बागमती अञ्चल अदालतको फैसला अनुसार वादी प्रतिवादी हाजिर हुन आउँदा मिसिल प्राप्त हुन नआएकोले मिसिल प्राप्त नभए सम्म धरौटी तारेखमा रहन पाउँ भनी जालसाजी मुद्दामा दर्खास्त दिई तारेखमा रहेको देखिएको ।

४.    यसमा यिनै पक्ष विपक्षका जालसाजी मुद्दा र खिचोला मुद्दामा समेत बा.अं.अ. को फैसला अनुसार कारवाहीको लागि यस अदालतमा ०४६  साल कार्तिक ७ गतेका दिन हाजिर हुन जानु भनी बागमती अंचल अदालतबाट तारेख तोकिएको दुवै पक्षले सो मितिमा मिसिल नआएको कारणबाट धरौटी तारेखमा बस्न पाउँ भनी दर्खास्त दिई जालसाजी मुद्दामा मात्र तारेखमा रहेको देखियो । जालसाजी मुद्दाको लगाउ खिचोला मुद्दा पेश हुन आएकोमा दुवै पक्षले बा.अं.अ.बाट दुईवटै मुद्दाको एउटा मात्र तारेख पर्चा दिएकोले सोही अनुसार हामी दुवै मुद्दामा एउटै तारेख पर्चाले हुन्छ भन्नेमा परि एउटा मात्र दर्खास्त दिई दुवै मुद्दामा छुट्टाछुट्टै तारेख पर्चा लिई तारेखमा बस्नुपर्छ भन्नेमा भोर परेको भनेको हुँदा र बा.अं.अ. बाट दिएको तारेख पर्चाको आधारमा दर्खास्त दिई दुवैथर धरौटी तारेखमा रहेको हुँदा सो तारेख पर्चा एउटा मात्र देखिन आएको हुँदा सो जालसाजी मुद्दाको लगाउ खिचोला मुद्दामा समेत आजैका मितिबाट तारेखमा राखी नियमानुसार पेश गर्नु भन्ने ०४७।५।६।४ मा आदेश भएको हुँदा सो आदेश बदर गरी पाउँ भन्ने दिएको रिट निवेदन खारेज गरी पाउँ भन्ने भक्तपुर जिल्ला अदालतको लिखित जवाफ ।

५.    विपक्षीले भ.पु.जि.अ. को आदेश उपर कारवाहीको सिलसिलामा रहेको मुद्दा सम्बन्धमा विपक्षले रिट निवेदन गरेको देखिन्छ । मुद्दाका कारवाहीको सिलसिलामा उत्प्रेषणको निवेदन गर्न पाउने होइन । विपक्षलाई उक्त आदेश कानून प्रतिकुल लागेमा विपक्षलाई सो आदेश उपर अ.वं. १७ नं. बमोजिम पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न पाउने कानूनले व्यवस्था गरेकै छ । पुनरावेदन अदालतले सो आदेश वेरित भएको देखिएमा कानून बमोजिम गर्नु गर्न लगाउनु पर्ने अधिकार प्राप्त पुनरावेदन सुन्ने अदालतमा विपक्षले निवेदन गर्नु पर्ने सो निवेदन नगरी असाधारण अधिकार क्षेत्रको अवलम्वन गरी रिट निवेदन गर्नु भएको खिचोला मुद्दा र जालसाँजी मुद्दा समेतका बा.अं.अ. ले पुनः इन्साफ गर्न भ.पु.जि.अ. मा हाजिर हुन तोकिएको दिनमा भ.पु.जि.अ.मा हाजिर भै मिसिल नआएकोले धरौटी तारेखमा बसेको भन्ने तथ्यलाई विपक्षले पनि मानेकै छ । बा.अं.अ. ले दुवै मुद्दाको नम्बर खुलाई एउटै मात्र तारेख पर्चा दिएको र सोही तारेख पर्चा भ.पु.जि.अ.मा दाखिल गरी धरौटी तारेखमा बसेको जालसाँजी र खिचोला मुद्दा लगाएको हुँदा भ.पु.जि.अ.ले तारेखमा राख्ने न्यायिक मन प्रयोग गरी भएको आदेश कानून प्रतिकुल आदेश होइन । पेशीका दिन भएको आदेशलाई विपक्षको अनुपस्थितिमा आदेश भएको भन्न मिल्ने होइन । न्यायिक मन प्रयोग गरी भएको आदेशलाई असाधारण अधिकार प्रयोग गरी न्यायिक विवेकमा हस्तक्षेप गर्न मिल्दैन । भ.पु.जि.अ.को आदेशले विपक्षलाई संविधानद्वारा प्रदत्त हक हनन भएको छैन । मुद्दाको कारवाहीको सम्बन्धमा भएको आदेशले कानूनी हक हनन् हुन सक्दैन । मुद्दाको कारवाही सम्बन्धमा १७ नं. अन्तर्गत निवेदन गर्नु पर्नेमा सो नगरेको समेतबाट विपक्षको हक अधिकार हनन् नभएको भन्ने स्पष्ट छ । हक हनन् नभएको रिटको आदेश जारी गर्न मिल्ने होइन । मुद्दाको कारवाहीको सिलसिलामा भएको आदेशलाई विपक्षले वदर गराउन पुनरावेदन अदालतमा निवेदन गर्ने कानूनी व्यवस्था गरेको हुँदा हुँदै सम्मानित अदालतको असाधारण अधिकार क्षेत्र गुहार गरी दिएको रिट निवेदन खारेज गरी पाउँ भन्ने पदमनाथ जोशी समेतको लिखित जवाफ ।

६.    आज नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फका विद्वान अधिवक्ता श्री चुडामणी राज सिंह मल्लको बहस र विपक्ष श्री ५ को सरकारका तर्फबाट सरकारी विद्वान अधिवक्ता अली अकवर मिकरानीको बहस समेत सुनी इन्साफतर्फ विचार गर्दा यसमा जालसाँजी मुद्दामा तारेखमा रहेको कारण उल्लेख गर्दै लगाउको जालसाँजी र खिचोला मुद्दामा समेत तारेखमा राख्ने भनी भ.पु.जि.अ.बाट आदेश गरी तारेखमा राख्ने ०४७//६ मा निर्णय भएको देखिन्छ । उक्त आदेश बदर गरी पाउँ भन्ने प्रस्तुत रिट निवेदनमा निवेदकले जिकिर लिएको पाइन्छ । दुबै थरले दुई मुद्दामा एउटै तारेख पर्चा लिएको पाइयो । तारेखमा राख्ने काम अदालतका कर्मचारीको हुँदा मिसिल प्राप्त भएपछि दुवै मुद्दामा अलग अलग तारेख पर्चा दिई तारेखमा राख्नु पर्ने सो बमोजिम कर्मचारीले नगरेको देखिएपछि वेञ्चमा पेश भएपछि दुवै मुद्दामा तारेखमा राख्ने आदेश गरेको देखिन्छ । अदालतमा उपस्थित भएका पक्ष, विपक्षको तारेख गुज्रेको तथा गुजारेको भन्न कानून संगत देखिँदैन । अदालतका कर्मचारीले गर्नु पर्ने आन्तरिक काम कारवाहीको सम्बन्धमा भएको कुरालाई लिएर भएको आदेशलाई बदर गरी पाउँ भन्ने रिट निवेदनको जिकिर तर्कसंगत र कुनै कानूनमा आधारित भएको नहुँदा रिट तहबाट हेन उपयुक्त नभएकोले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियमानुसार बुझाई दिनु ।

उक्त रायमा मेरो सहमत छ ।

न्या. कृष्णकुमार बर्मा

 

इति सम्वत् २०५० साल आषाढ १ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु