निर्णय नं. ६०१६ - बन्दी प्रत्यक्षीकरण
निर्णय नं. ६०१६ ने.का.प. २०५२ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
सम्वत् २०५१ सालको रिट नं. २७७५
आदेश मिति : २०५१/१२/२९/४
विषय : बन्दी प्रत्यक्षीकरण ।
निवेदक :जि. दोलखा ध्याङसुकाठोकर गा.वि.स. वडा नं. ९ घर भई हाल केन्द्रीय कारागार शाखामा थुनामा रहेको वर्ष १८ को मान बहादुर तामाङ ।
विरुद्ध
विरुद्ध:काठमाडौं जिल्ला अदालत ।
पुनरावेदन अदालत, पाटन ।
वारदातमा समान तथ्य र परिस्थिति भएको तथा समान संलग्नता भएका अन्य प्रतिवादीहरुलाई तारेखमा राख्ने गरी आदेश भएको, तर निवेदकको हकमा थुनामा राख्ने गरी पुनरावेदन अदालतबाट आदेश भएको पाइन्छ । उपरोक्त बमोजिम समान संलग्नता भएका प्रतिवादीहरुलाई समानरुपमा तारेखमा राख्नु पर्नेमा निवेदकलाई थुनामा राख्ने गरेको आदेश कानून संगत नदेखिने ।
(प्र.नं. ११)
निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री धन बहादुर लामा
विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र श्रेष्ठ
अवलम्बित नजीरःX
आदेश
न्या. सुरेन्द्र प्रसाद सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :
२. म थापाथली स्थित दिपक प्रधानको वेकरी सेल्स रेष्टुरेण्टमा कुक हेल्पर काम गर्दै आएको थिएँ । म लगायत त्यहाँ रविन्द्र चापागाइ, पद्मबहादुर थापा, कृष्ण प्रसाद थपलिया र लक्ष्मी प्रसाद खनाल काम गर्दै आएकोमा मिति २०५०/१२/२२ गते साँझ अं. ६ बजे म भित्र काम गर्दै थिएँ । बाहिर ढोकानेर रविन्द्र र निजको भाइ बलबहादुर समेत भएको ठाउँमा पछि नाम थाहा हुन आएको हामीले नचिन्ने मृतक गोविन्दराज जोशी (आर्मी) मादक पदार्थ सेवन गरी आफ्नो शरीर आफैंले नियन्त्रण गर्न नसक्ने अवस्थामा आएका रहेछन् । निज र लक्ष्मी विच फोनको विषयमा भनाभन भइ झगडा भएको रहेछ । हो हल्ला भएको आवाज सुनी काउण्टर तर्फ हेर्न आउँदा मृतक गोविन्द राजले रविन्द्र चापागाईको कठालोमा समातेको रहेछ त्यसपछि मृतकले २ लात रविन्द्रको पेटमा हान्यो । मृतकलाई बचाउन वारदात स्थलबाट बाहिर पुर्याउने नियतले छुट्याउँदा मृतकलाई म र पद्मबहादुरले सामान्य बल प्रयोग गरी धकेली दियौं । हामीले कुनै कुटपिट गरेनौं, मृतक बाहिर आइपुगेपछि सरासर आफ्नो बाटो लागे । करिब ३०० मिटर टाढा कोल्डस्टोर नेर एकजना साइकल चढ्ने मानिस भेटेपछि मृतक पुनः रेष्टुरेण्ट तर्फ आएर पुनः रविन्द्रलाई लात प्रहार गरे । रविन्द्र र गोविन्दराज जोशी भिडन्त भएपछि रविन्द्रको भाइ बलबहादुरले एक बक्सीङ गोविन्दराजको बङ्गारामा प्रहार गरेपछि गोविन्दराज शरीर नियन्त्रण गर्न नसकी पिच सडकमा टाउको ठोकिई रगत समेत आई बेहोस भए र तत्काल प्रहरीले निजलाई उपचार गर्न अस्पताल लगी उपचार गर्दा गर्दै म्यादभित्र निजको मृत्यु भएको रहेछ ।
३. प्रहरीले म, रविन्द्र, पद्मबहादुर, लक्ष्मीप्रसाद र कृष्ण प्रसाद समेत ५ जनालाई पक्राउ गरे । राजेन्द्रको भाइ बलबहादुर चापागाई फरार रहे । प्रहरीमा मैले माथि वर्णन गरेको सत्य साँचो व्यहोरा उल्लेख गरेकोमा अर्कै व्यहोराको कागज लेखि जबरजस्ती सही गराए । जाहेरीमा कसैको नाउँ उल्लेख छैन । सरजमिनमा मलाई कसैले पोलेको वा किटान गरेको छैन । पोष्ट मार्टम प्रतिवेदनमा टाउकोको वेदनाबाट मृत्यु भएको भनेको छ । मैले विपक्षी का.जि.अ. मा आफ्नो स्वेच्छाको वयानमा पनि सत्य व्यहोरा उल्लेख गरेकोमा हचुवा अभियोगपत्रकै आधारमा विपक्षी का.जि.अ.ले लक्ष्मीप्रसाद र कृष्णप्रसादलाई जनही रु. २७,०००/– नगद धरौट लिई पुर्पक्षको लागि तारेखमा छाडे र रविन्द्र, पद्मबहादुर र म निवेदकलाई अ.वं. ११८ को देहाय २ बमोजिम भनी थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी २०५१/१/३१ मा आदेश भयो ।
४. सो आदेश उपर अ.वं. १७ नं. बमोजिम पु.वे.अ. मा रविन्द्र, पद्मबहादुर र म निवेदकको छुट्टाछुट्टै निवेदन गरेकोमा मेरो हकमा पु.वे.अ.बाट थुनामा राख्ने आदेशलाई मिति ०५१/२/१६ मा सदर हुने भन्ने आदेश भयो । उक्त ज्यान मुद्दाको घटनाक्रम र वादीले अभियोग पत्रसाथ पेश गरेका सम्पूर्ण मिसिल संलग्न प्रमाणहरुको सुक्ष्म अध्ययन र न्यायिक मूल्याङ्कन भएको अवस्थामा उक्त ज्यान मुद्दामा मेरो संलग्नता देखिँदैन । अपराधमा संलग्न नभएकोमा संलग्नता देखाइ कसुरदार बनाई थुनामा राख्न पाउने होइन । मृतकलाई मैले कुटपिट गर्नु पर्ने पूर्व इवि, चिनजानी केहि छैन । मैले कुटपिट गरेको छैन । म र पद्मले धकेली दुवै जनालाई छुट्याएपछि मृतक पुनः पाखुरा समेट्दै, रविन्द्र चापागाई भए ठाउँमा आएर २ लात रविन्द्रलाई हिर्काउनासाथ नजिक रहेको रविन्द्रको भाई बल बहादुरले एक बक्सीङ गोविन्दराजको बङ्गारामा र लात्तिले छातिमा हिर्काएपछि गोविन्दराज पिच सडकमा ढलेको र सडकमा टाउको बजारी बेहोस भई बल बहादुरको चोटबाट मृत्यु भएको हो भनी प्रहरी लगायत अदालत समक्ष बयानमा हामील सबैले उल्लेख गरेका छौं । उक्त दिन दुई पृथक पृथक घटना भई दोश्रो घटनाबाट मृतकको मृत्यु भएको र दोश्रो घटनामा मेरो कुनै संलग्नता नदेखिएको कुरा तत्काल प्राप्त प्रमाणबाट प्राप्त हुन्छ ।
५. अर्का सह अभियुक्त पदम बहादुर र रविन्द्र चापागाईले उक्त थुनछेकको आदेश उपर अ.वं. १७ नं. बमोजिम पु.वे.अ.मा छुट्टाछुट्टै निवेदन परी आदेश गर्दा का.जि.अ. को उक्त थुनछेकको आदेश बेरित भएको हुँदा बदर गरी लिएको छ र पदम बहादुर र रबिन्द्र चापागाईलाई थुनाबाट मुध्m गरी तारेखमा राखी मुद्दाको पूर्पक्ष गर्नु भन्ने आदेश मिति २०५१/६/१३ गते पदम बहादुरलाई, मिति २०५१/१०/१९ गते रविन्द्रको निवेदन उपर आदेश भई हाल रविन्द्र र पदम बहादुर थापा तारेखमा बसी पूर्पक्ष गरेको छ । आरोपित ज्यान मुद्दाको पहिलो घटनाको तथ्यमा मात्र मैले स्वीकारेको छ । मुद्दामा म निवेदक र पदम बहादुरको हैसियतमा कत्तिपनि फरक छैन । अझ रविन्द्र चापागाईको हकमा त मूख्य कारणी झगडा गर्ने गोविन्दराजसँग कठालो समाता समात हुने व्यक्ति रविन्द्र हुन् । का.जि.अ. ले रविन्द्र म र पदम बहादुर तिनै जनालाई पूर्पक्षको लागि थुनामा पठाई सो आदेश बेरीत भयो भनी हामीले छुट्टाछुट्टै निवेदन गर्न जाँदा बराबरी हैसियतमा पदम बहादुर र रविन्द्र चापागाईलाई का.जि.अ.को आदेश बदर गरी तारेखमा राख्ने र बराबरी हैसियत तथ्यसम्म स्वीकारेकोमा म चाँहि पुर्पक्षको लागि थुनामा राख्ने गरेको का.जि.अ.को आदेश सदर गरी विपक्षी पु.वे.अ.ले आदेश गरेपछि मेरो नेपाल अधिराज्यको संविधान २०४७ को भाग ३, धारा ११(१) बमोजिम प्रत्याभूत गरिएको समानताको हक हनन भएकोले निवेदन गर्न आएको छु । अतः का.जि.अ. र पु.बे.अ. पाटनको गैर कानूनी तथा पक्षपातपूर्ण आदेश गरेकोले मिति २०५०/१२/२३ देखि हालसम्म गैर कानूनी रुपमा बन्दी बनाई थुनामा राखेकोले विपक्षीहरुको उक्त आदेश बदर गरी गैर कानूनी थुनाबाट मुक्त गरी पाउन बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
६. यस्मा निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखित जवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासबाट भएको मिति २०५१/११/५ को आदेश ।
७. यस अदालतबाट थुनामा राख्ने गरी भएको आदेश उपर पुनरावेदन अदालत पाटनमा निवेदन गर्ने प्रतिवादी पदम बहादुर थापा र रविन्द्र चापागाईलाई पुनरावेदन अदालत पाटनको तारेखमा राख्ने गरी आदेश भए अनुसार तारेखमा राखिएको र निवेदकको हकमा थुनामा राख्ने जि.अ.को आदेशलाई सदर गरेकोले निवेदक हालसम्म थुनामा रहेका छन् । गैर कानूनी तरिकाले थुनामा राखेको नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत काठमाडौं जिल्ला अदालतको लिखित जवाफ ।
८. निवेदकको हकमा जिल्ला अदालतले थुनामा राख्ने गरेको आदेश बेरित नदेखिँदा आदेश परिवर्तन गरी रहन परेन, कानून बमोजिम गर्नु भन्ने समेत यस अदालतबाट आदेश भएको, कानून बमोजिम थुनामा रहेकोलाई गैर कानूनी थुनुवा भन्न मिल्ने अवस्था नहुँदा रिट निवेदन खारेज गरी पाउँ भने समेत पु.वे.अ. पाटनको लिखित जवाफ ।
९. नियम बमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री धन बहादुर लामाले प्रतिवादी रविन्द्र पदम बहादुर तथा निवेदकलाई पूर्पक्षको लागि थुनामा राख्ने गरी भएको जिल्ला अदालतको आदेश उपर निवेदन पर्दा रबिन्द्र तथा पदम बहादुरलाई तारेखमा राख्ने गरी पु.वे.अ.बाट आदेश भएको, तर वारदातमा समान संलग्नता भएको निवेदकलाई भने थुनामा राख्ने गरी भएको शुरु जि.अ.को आदेशलाई सदर गरेको पु.वे.अ.को आदेशबाट निवेदकको नेपाल अधिराज्यको संविधानद्वारा प्रदत्त समानताको हकमा आघात परेको छ । तारेखमा बसेका रविन्द्र चापागाईको घटनासँग निवेदक भन्दा बढी संलग्नता भएको मिसिल संलग्न कागजातबाट देखिन्छ । यस्तो अवस्थामा समान रुपमा निवेदकलाई पनि तारेखमा राख्नु पर्नेमा थुनामा राख्ने आदेश सदर गरेको पु.वे.अ.को आदेश त्रुटीपूर्ण हुँदा बन्दीलाई मुक्त गरिनु पर्दछ भनी वहस प्रस्तुत गर्नु भयो । विपक्षी तर्फबाट उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठले तारेखमा छुटेका रविन्द्र तथा पदम बहादुरको र निवेदकको वारदात घटासँगको संलग्नता समान नै रहेको छ । तर तह तह अदालतबाट कानून बमोजिम आदेश भएको कुरामा रिट क्षेत्रबाट हस्तक्षेप गर्न मिल्दैन । तसर्थः रिट खारेज गरिनु पर्दछ भनी बहस प्रस्तुत गर्नु भयो ।
१०. प्रस्तुत रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
११. यस्मा निवेदक मानबहादुर तामाङलाई शाही नेपाली जंगी अड्डाको पत्रले श्री ५ को सरकार वादी यिनै निवेदक समेत प्रतिवादी भएको कर्तव्य ज्यान मुद्दा अ.वं. ११८(२) नं. बमोजिम पूर्पक्षको लागि थुनामा राख्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको उक्त मुद्दाको मिसिलबाट देखिन्छ । त्यसको अतिरिक्त वारदातमा समान रुपमा संलग्नता रहेका अन्य प्रतिवादीहरु पदम बहादुर थापा र रविन्द्र चापागाईलाई शुरु जिल्ला अदालतले पूर्पक्षको निमित्त थुनामा राख्ने आदेश गरेकोलाई निजहरुको हकमा पुनरावेदन अदालत पाटनबाट बदर भै पूर्पक्षको लागि तारेखमा राख्ने गरी आदेश भएको समेत उक्त कर्तव्य ज्यान मुद्दाको मिसिलबाट देखिन्छ । निवेदकको हकमा कसूर गरेको देखिने अन्य थप प्रमाण रहेको भन्ने मिसिलबाट देखिन आउँदैन। वादी पक्षको सरकारी अधिवक्ताले पनि कसूर गरेको देखिने थप प्रमाण भएको भन्ने इजलास समक्ष जिकिर लिन सकेको पाइएन । वारदातमा समान तथ्य र परिस्थितिको भएको तथा समान संलग्नता भएका अन्य प्रतिवादीहरुलाई तारेखमा राख्ने गरी आदेश भएको तर निवेदकको हकमा थुनामा राख्ने गरी पुनरावेदन अदालतबाट ादेश भएको पाइन्छ । उपरोक्त बमोजिम समान संलग्नता भएका प्रतिवादीहरुलाई समान रुपमा तारेखमा राख्नु पर्नेमा निवेदकलाई थुनामा राख्ने गरेको आदेश कानूनसंगत भएको देखिन आएन । तसर्थ निवेदकलाई अ.वं. ११८(२) नं. बमोजिम थुनामा राख्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको आदेश र त्यसलाई सदर गरेको पुनरावेदन अदालत पाटनको आदेश समेत त्रुटीपूर्ण हुँदा बदर हुने ठहर्छ । अन्य मुद्दामा थुनामा राख्नु पर्ने अवस्था भएमा बाहेक पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी निवेदकलाई तारेखमा राखी पूर्पक्ष गर्नु भनी काठमाडौं जिल्ला अदालतलाई लेखी पठाई दिनु । निर्णयको जानकारी महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षीलाई पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. कृष्णजङ्ग रायमाझी
इति सम्वत् २०५१ साल चैत्र २९ गते रोज ४ शुभम् ।