निर्णय नं. ६०१८ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. : ६०१८ ने.का.प. २०५२ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
२०४७ सालको रिट नं. ११५८
आदेश मिति : ०५०/१०/११/२
विषय : उत्प्रेषणयुक्त परमादेश ।
निवेदक :काठमाडौं जिल्ला गोठाटार गा.वि.स. वडा नं. २ बस्ने सोम प्रसाद आचार्य ।
विरुद्ध
विपक्षी :गुठी संस्थान, गुठी लगत तथा तहबिल कार्यालय, भद्रकाली ।
ऐ. को वरिष्ठ शाखा अधिकृत माधव प्रसाद शर्मा दुवाडी ।
गुठी संस्थान केन्द्रिय कार्यालय,रामशाहपथ ।
नापीका समयमा खोला पसेकोले नापी नभएकै आधारमा पछि आवाद योग्य भएको जग्गामा निवेदकको दावी पुग्न सक्दैन भन्न न्यायसंगत नहुने ।
(१) (प्र.नं. ७)
खोला फर्केपछि सो जग्गा साविक बमोजिम चलन गर्न पाउने हुँदा गुठी लगत तथा तहबिल कार्यालयको मिति ०४७/१०/४ को निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ । अब कानून बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षीको नाममा परमादेश समेत जारी हुने ।
(प्र.नं. ७)
निवेदक तर्फबाटःX
विपक्षी तर्फबाटःX
अवलम्बित नजीरःX
आदेश
न्या. सुरेन्द्र प्रसाद सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. श्री पशुपतिनाथका स्थानमा नित्य गुठी बाँड्ने नै सदावर्त गुठीमा दरिएको साविक बागमती डोल भन्ने खेत रोपनी ११०।।। मध्ये डुकाबु खेत रोपनी १२ को साविक मोही जोगलाल श्रेष्ठ भएको र का.ई. किलागल बस्ने तालुकदार गयानन्द वैद्य मार्फत साल सालको तिरो तिरी आएको जग्गा रमादेवी उपाध्यायनीसँग रु. १९००/– लिई भोगवन्धकी दिई राखेको रुपैयाँ समेत तिर्न र घर खर्च गर्न समेत रु. ६००१/– निज जोगलाललाई दिई २०११/११/१७/२ मा रजिष्ट्रेशन पास गरी मेरो हक भोगको जग्गा हो । सो जग्गामा कहिले खोला पस्ने कहिले छोड्ने गरेको र कमाएको बेलाको कुत कहिले गुठीयार विद्यानन्द वैद्यलाई र कहिले गुठियार तालुकदार गयानन्द वैद्यलाई बुझाई भरपाई लिँदै आएको छु । २०२१ सालमा सर्वे हुँदा गोठाटार गा.वि.स. वडा नं. ४(क) कि.नं. २४ र ४७ को क्षेत्रफल क्रमशः ३–१२–० र २–३–२ र नपुग बाँकी जग्गा हाल खोलाले छोडेकोले मैले कमोद गरी आएको हुँदा मेरो नाममा दर्ता गरी पाउँ भनी प्रत्यर्थी नं. १ मा निवेदन दिई स्थलगत सरजमिन गर्दा खोलाले खानुभन्दा अगाडि देखि निवेदकले नै कमाएको र खोलाले छाडेपछि पनि निवेदकले नै कमाई आएको हो भन्ने समेतको सरजमिन मुचुल्का भयो । गुठीयार तथा तालुकदार गयानन्द वैद्यलाई झिकाई बुझ्दा पनि सोही व्यहोरा लेखाई दिएका छन् । मेरो निवेदन उपर कारवाही हुँदा जग्गा नापी समेत नभएको र नक्साबाट वागमती बगर देखिने हुँदा यस कार्यालयबाट कारवाही गर्न नमिल्ने कुराको जानकारी निवेदकलाई दिने सम्बन्धमा उठेको टिप्पणी मिति ०४७/१०/४ मा सदर भयो ।
३. उक्त जग्गा गुठीको होइन भनी विपक्षीले भन्न सकेका छैनन् । जग्गाको बाँकी भाग मेरो नाममा नै दर्ता छ । यस्तो जग्गा दर्ता गर्ने अधिकार विपक्षीलाई छ । गुठीको उक्त निर्णय गुठी संस्थान ऐन, २०३३ को दफा २६(१) विपरित छ । नापीको अवस्थामा खोला पसेको कारणले नापी नभएको कारणले मैले राजीनामा पास गरी लिएको जग्गाबाट मेरो मोहीयानी हक समाप्त गर्न मिल्दैन । मोहियानीको आधार नापी तथा फिल्डबुक होइन भनी सर्वोच्च अदालतबाट पटक पटक प्रतिपादित सिद्धान्त अनुसार पनि नापी समेत नभएको भनी गुठीको जग्गा मोहियानी कायम नगरेको विपक्षीको उक्त निर्णय वदरभागी छ । निर्णय गर्दा न्यायिक मनको प्रयोगमा गर्नु पर्दछ । निर्णयकर्ताले टिप्पणी सदर गरेको छ । २०११ सालको राजीनामाबाट मेरो हकभोग भएको सालको जम्मा धान १६/१८/६/५ मध्ये साविक खेत रोपनी ५।।३।।।१ को उक्त कि.नं. २४ र ४७ दर्ता भै सकेको र सोही राजीनामाबाट मेरो हक भएको खुर्सानी बारी डुकाबु साविक खेत रोपनी ५/९/२ को उक्तानुसार हाल कायम का.जि. गोठाटार गा.वि.स. वडा नं. ४(क) कि.नं. १०० को क्षे.फ. १७–३–२–० मध्ये उक्तानुसार रोपनी ६ को मेरो हकभोगको जग्गा मेरो मोहियानीमा दर्ता नगरेको विपक्षीको उपरोक्त ०४७/१०/४ को निर्णयले मेरो नेपाल अधिराज्यको संविधानको धारा ११(१) र १७ द्वारा प्रदत्त मौलिक हकमा आघात परेकोले सो निर्णय वदर गरी उक्त गुठी जग्गा दर्ता गर्ने कित्ताकाट गर्ने सम्बन्धित निकायमा कानून बमोजिम पत्राचार आदेश जे जो गर्नु पर्ने गरी मेरो नाममा मोहियानी कायम गरीदिनु भनी विपक्षीको आदेश जारी गरी पाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।
४. यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालतका एक न्यायाधीशको इजलासको मिति ०४७/१२/२५ को आदेश ।
५. पशुपतिनाथका स्थानमा नित्य गुठी बाँड्ने सदावर्त गुठीमा दरिएको साविक बागमती डोल खेत रोपनी ११०।।। मध्ये डुकाबु खेत रोपनी १२ सर्भे नापीमा गोठाटार गा.पं. वडा नं. ४(क) कि.नं. २४ को ३–१२–० र कि.नं. ४७ को २–३–२ जग्गा कायम भै दाजु रुपनारायण र मैले भोगचलन गरी विद्यानन्द वैद्यलाई बाली बुझाई आएकोमा निज दाजु ०४०/१/७ मा परलोक भै निजका हकदार म मात्र भएको जग्गा पनि मैले नै भोग चलन गरी वाली समेत बुझाउँदै आएको हुनाले मोही मेरो नाममा कायम गरी ज.ध. प्रमाण पूर्जा पाउँ भनने रिट निवेदनको ०४७/३/१४ को निवेदन १ र कि.नं. २४ र कि.नं. ४७ को जग्गामा मोही कायम गरी पूर्जा पाउन निवेदन गरेको सो जग्गा साविक १२ मध्ये हाल खोलाले छाडी आवाद हुने भै आवाद हुन आएको पूर्व शम्भु प्रसाद सुवेदीको जग्गा, पश्चिम पौडेलको जग्गा, उत्तर रामप्रसाद र दक्षिण आफ्नै जग्गा यति ४ किल्ला भित्रको जग्गा खोलाले छाडी आवादलायक भई खेती गरेको हुनाले सो जग्गामा पनि मोही कायम गरी पाउँ भन्ने निवेदन पर्दा कि.नं. २४ को फिल्डबुकको जोताहा महलमा सोमप्रसाद आचार्यको हकमा दाजु रुपनारायण आचार्य भन्ने जनिएको साविक १२–२–० जग्गा मध्ये ६–०–० भोग चलन भै कित्ता समेत कायम भएको देखिन आएकोले निवेदकका नाममा नामसारी गरी पूर्जा माग गर्ने भनी ०४७/४/२८ मा निर्णय भएको र त्यस बाहेककाजग्गा नापीका समयमा खोलो भएको र नक्साबाट पनि वागमती वगर देखिन आएको हुँदा त्यस्तो किसिमको जग्गा दर्ता गर्न नमिल्ने व्यहोराको जानकारी निवेदकलाई दिने भनी ०४७/१०/४ मा निर्णय भएको । सर्भे नापीमा कित्ता कायम भै निवेदकको भोग जनिए जति जग्गा नामसारी गरी मोही कायम गर्ने र नापीमा खोला नजिई बागमती वगर कायम रहेको जग्गा निवेदकका नाममा कायम गर्न नमिल्ने भन्ने निर्णय कानून बमोजिम नै भए गरेको हो । उक्त बागमती वगर जग्गामा निवेदकको कुनै प्रकारको हक नभएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेतको विपक्षी गुठी लगत तथा तहविल कार्यालय र गुठी संस्थानको संयुक्त लिखित जवाफ ।
६. नियम बमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा इजलासबाट पटक पटक पुकार गर्दा पनि निवेदक तर्फबाट कोही पनि उपस्थित हुन नआएको र विपक्षीलाई पेशीको सूचना दिइएकोमा पनि कोही उपस्थित हुन नआएकोमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो होइन ? हेरी निर्णय दिनु पर्ने हुन आयो ।
७. प्रस्तुत रिट निवेदनमा निर्णयतर्फ विचार गर्दा मोहियानी दर्ता नगरेको प्रत्यर्थीहरुको मिति ०४७/१०/४ को निर्णय बदर गरी मेरो नाममा मोहियानी कायम गरिदिनु भन्ने आदेश जारी गरी पाउँ भन्ने मुख्य जिकिर रहेको पाइन्छ । यसमा वगरको छेउछाउमा रहेको कि.नं. २४ र ४७ को जग्गामा निवेदक मोही कायम भएको कुरामा विवाद दैन । विवादित जग्गा नापीका वखत खोला परेको कारणले नापी हुन नसकेको कुरा निवेदकको माग दावी एवं सरजमिन मुचुल्का समेतबाट देखिन्छ । नापीका समयमा खोला पसेकोले नापी नभएकै आधारमा पछि आवादयोग्य भएको जग्गामा निवेदकको दावी पुग्न सक्दैन भन्न न्यायसंगत नहुने र खोला फर्केपछि सो जग्गा साविक बमोजिम चलन गर्न पाउने हुँदा गुठी लगत तथा तहबिल कार्यालयको मिति ०४७/१०/४ को निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ । अब कानून बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षीको नाममा परमादेश समेत जारी हुने ठहर्छ । यसको जानकारी विपक्षीलाई दिनु, मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वी बहादुर सिंह
इति सम्वत् २०५० साल माघ ११ गते रोज २ शुभम् ।