निर्णय नं. २३६७ - लेनदेन

निर्णय नं. २३६७ ने.का.प. २०४२ अङ्क ५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको दे.पु.नं. ६७२
मुद्दा : लेनदेन ।
पुनरावेदक/वादी : काठमाडौं जिल्ला कालीमाटी स्थित नेपाल बैंक लि.का तर्फबाट सोही बैकंका शाखा प्रबन्धक गजेन्द्रमान पती ।
विरूद्ध
विपक्षी/प्रतिवादी:ऐ.ऐ काठमाडौं नगर पञ्चायत वार्ड नं. २१ अन्तर्गत लगनटोल बस्ने महेश्वर मान शाक्य ।
फैसला भएको मिति : २०४२।४।१५।३ मा
बाणिज्य बैंक ऐन, ०३१ को दफा ४७ तथा ४७(क) ले व्यवस्था गरे मुताविक नेपाल राष्ट्र बैंकको निर्देशित तरिका समेतका आधारमा दावी गरेको साँवा ब्याज प्रतिवादीबाट भरी पाउँदैन भन्न मिल्ने पनि देखिँदैन ।
(प्रकरण नं.१७)
पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे
विपक्षी प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५(ख) बमोजिम मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. महेश्वर मान शाक्यका तर्फबाट निजका मानिस सिंहराज बज्राचार्यले बिल बमोजिम भनी विभिन्न किसिमका साइकलका सामानहरू धितो राखी यस बैंकबाट १५,९००। पन्ध्र हजार नौ सय रूपैयाँ कर्जा लिई सो साँवाको सयकडा १६ प्रतिशतका दरले ब्याज लगाई ६ महिनामा बुझाउँला भन्ने समेत व्यहोराको बैंक नियमानुसार २०३३ साल चैत्र २४ गते कर्जा नं. ३९।९९ को तमसुक बमोजिम सो धितो राखेको माल निखन्न नआएको बराबर ताकेता गर्दा पनि सो माल निखन्नमा वास्ता नराखेकोले सो मालसामानहरू बिक्री गरी बैंकको थैली असूल उपर गर्नको लागि २०३५ साल आश्विन २ गतेको गोरखापत्रमा प्रकाशित गरिएको सूचना बमोजिम सो मालसमान खरिद गर्न ग्राहकहरू उपस्थित नभएको हुनाले सो दिन सो बिक्री गर्ने कार्य श्री ५ को सरकारको कार्यालयका प्रतिनिधिहरूको रोहवरमा स्थगित राखी निज महेश्वरमान शाक्यको रोहवरमा उल्लिखित गोदामबाट मालसामानहरू सारी लिएको व्यहोरा निजबाट ०३५।४।१५ गते बैंकलाई सम्बोधन गरी लेख्नु भएकोबाट स्पष्ट छ यस्तो अवस्थामा सो धितो रहेको मालहरू बिक्रीको लागि पुनः गोरखापत्रमा प्रकाशित गरिएकोमा सो कर्जाको संरक्षण गर्न थप जमानी गर्ने वा निखनी लाने काम गर्नेछु हाललाई लिलाम बिक्री रोक्का गरिपाउँ भन्ने महेश्वरमानले २०३५।७।६ मा सम्बोधन गरी लेखी दिनु भई सो अनुसार केही काम गर्न नआउनुभएको हुनाले यस्तो स्थितिमा ०३६।९।५ को सूचना अनुसार २०३६ पौष १६ गते सरकारी कर्मचारीहरूको रोहवरमा सबै भन्दा बढी ३२००। तीनहजार दुई सयमा भाइराजाले कबोल गरेको कुरा निज पाटीलाई जानकारी दिँदा पनि केही विचार नराखेको हुँदा भाइराजा बज्राचार्यलाई ३२००। मा २०३७।१०।२८ मा दिई आएका रकम उक्त हिसाबमा जम्मा गरेको छ । सो अनुसार २०३७ साल चैत्र मसान्तसम्ममा साँवा ब्याज समेत जम्मा रु. २६६७१।६२ मा धितो माल बिक्रीबाट आएको कट्टा गरी बाँकी रु. २३४७१।६२ र २०३८ साल बैशाख १ गते देखि लाग्ने ब्याज समेत बुझाउन ल्याउनु होला भनी निज पाटी महेश्वरमानलाई मिति ०३८।१।२ मा प.सं. ४४।५३ पत्र लेख्दा पनि बेवास्ता गरेबाट बैंकको थैली हजम गरी लिने बदनियत गरेकोले निजलाई यस अदालतबाट झिकाई कानुन बमोजिम गरी उक्त साँवा रु. १५,९००। को लिखित मिति ०३३ चैत्र २४ गते देखि २०३८ साल फाल्गुण मसान्तसम्मको ब्याजको हकमा लिखितमा सयकडा १६ प्रतिशत मात्र लेखिएको भए पनि नेपाल राष्ट्र बैंक ऐन, २०१७ को दफा २२ र २२(क) बमोजिम ब्याजदरको सम्बन्धमा निर्देशन प्राप्त भएको प्यानल्टी ब्याज समेत १८ प्रतिशत लाग्ने ब्याज समेतको साँवा ब्याज मध्ये संलग्न स्टेटमेन्ट बमोजिम निज पाटी महेश्वरमानले पार्टपेमेन्ट गरेको रु. ५००। धितो माल बिक्रीबाट आएको रु. ३२००। समेत जम्मा रु. ३७००। कटाई खूद बाँकी साँवा रु. १२२००। र ब्याज रु. १३३४३।१० समेत जम्मा रु. २५५४३।१० पच्चीस हजार पाँचसय त्रिचालिस रूपैयाँ पैसा दश मात्र र सो साँवा १२,२००। को यो २०३८ साल चैत्र १ गतेदेखि मुद्दा किनारा लागी बिगो भरी पाउने दिनसम्मको उल्लेख गरिए बमोजिम सयकडा १८ प्रतिशतले हुने ब्याज समेत दिए नगदै र नदिए निजको घर जग्गा समेतको श्रीसम्पत्तिबाट उक्त बाणिज्य बैंक ऐन संशोधन सहित २०३१ को दफा ४७, ४७(क) बमोजिम बैंकको थैली असूल उपर गरी भराई पाउँ भन्ने समेत व्यहोराको ने.बैं.लि.तर्फबाट सान्तवर प्रधानको फिराद रहेछ ।
३. मिति ०३९।९।४।१ को महेश्वरमान शाक्यका नाउँको इतलायनामा समाव्हान तामेल भई प्रतिउत्तर नदिई म्याद गुजारी बसेको ।
४. प्रस्तुत मुद्दा लेनदेन व्यवहारको महल अन्तर्गत नभई बाणिज्य बैंक ऐनको व्यवस्थाबाट ब्याजदर लागू हुने हो तर उक्त ऐनमा ब्याजको अंक जतिसुकै पनि बैंकले लिन पाउने व्यवस्था नभई उक्त ऐनको दफा ५२ मा यस ऐनमा लेखिएको जतिमा यसै ऐन बमोजिम र अरुमा प्रचलित नेपाल कानुन बमोजिम हुनेछ भन्ने उल्लेख भएको व्यवस्था लागू हुने देखिएकोले लेनदेन व्यवहारको ७ नं. बमोजिम वादीले बाँकी साँवा बराबरको ब्याजसम्म पाउने देखिएकोले वादीले प्रतिवादीबाट साँवा रु. १२,२००। र ब्याज रु. १२२००। समेत जम्मा रु. २४,४००। मात्र भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ.को ०४०।३।२२।४ को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने मध्यमान्चल क्षेत्रीय अदालतमा वादीको पुनरावेदन।
६. बाणिज्य बैंक ऐन बमोजिम दावी अनुसारको ब्याज समेत भरी पाउने भन्न कानुनले नमिल्ने नै हुँदा बा.अं.अ.बाट लेनदेनको ७ नं. मा व्यवस्था भए अनुसार साँवा बराबरसम्म ब्याज भराउने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने मिति ०४०।११।४ को फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन भनी पुनरावेदनको लागि अनुमति पाउँ भनी वादी ने.बैं.लि.को निवेदन परेकोमा बाणिज्य बैंक ऐनको दफा ४७ मा ब्याज लाग्ने तरिका बैंकले तोके बमोजिम हुनेछ भन्ने हुँदा र यस्तो ब्याज दर ब्याज लाग्ने तरिकाको सम्बन्धमा राष्ट्र बैंकले निर्देशन दिन सक्ने र सो निर्देशन पालन गर्नपर्ने भन्ने रा.वा.बैंक ऐन, २०१२ को दफा २२ र २२(क) मा उल्लेख भएको र भएका निर्देशन १८ प्रतिशतले ब्याज लाग्ने भएको लिखतमा पनि पछि बैंकले ब्याज दरमा पछि थपघट गरेमा मञ्जूरी भन्ने लेखिएकोबाट ब्याजको अंक जतिसुकै पनि लिन पाउने भन्ने व्यवस्था भएकोमा उक्त मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा रा.वा.बैंक ऐन, २०१२ को दफा ४७ को त्रुटि गरेकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०४०।१२।९ को आदेश ।
८. पुनरावेदक वादी तर्फवाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले राष्ट्र बैंक ऐन, २०१२ को दफा २२(क) मा राष्ट्र बैंकले ब्याजदर सम्बन्धमा बाणिज्य बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था छ र सो निर्देशन बाणिज्य बैंक ऐनको दफा ४७ बमोजिम ने.बैंक लिमिटेडले मान्नु पर्दछ । प्रस्तुत मुद्दामा ब्याजदर सम्बन्धमा मुलुकी ऐन लेनदेन व्यवहार आकर्षित नभई बाणिज्य बैंक, ०३१ को दफा ४७(ख) आकर्षित हुन्छ, अतः दावी बमोजिम साँवा ब्याज प्रतिवादीबाट भराई दिनु पर्नेमा साँवा बराबरसम्म ब्याज भराउने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला नमिलेको हुँदा उक्त फैसला बदर गरी दावी बमोजिम साँवा ब्याज भराई पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
९. मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय मिले नमिलेको के छ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा बाणिज्य बैंक ऐन, २०३१ को दफा ४७, ४७(क) अन्तर्गतको दावी लिई बाँकी साँवा रु. १२२००। र ब्याज रु. १३३४३।१० समेत २५५४३।१० र साँवा रु. १२२००। को ०३८ साल चैत्र १ गते देखि मुद्दा किनारा लागि भरी पाउने दिनसम्मको सयकडा १८ प्रतिशतले हुने ब्याज समेत प्रतिवादीबाट भराई पाउँ भनी नेपाल बैंक लिमिटेड कालिमाटीको फिराद परेकोमा लेनदेन व्यवहारको ७ नं. बमोजिम वादीले बाँकी साँवा बराबरको ब्याजसम्म पाउने देखिएकोले वादीले प्रतिवादीबाट साँवा रु. १२२००। र ब्याज रु. १२२००। समेत जम्मा रु. २४४००। मात्र भराई लिन पाउने ठहराई बा.अं.अ.बाट भएको फैसला सदर गरी मध्यमान्चल क्षेत्रीय अदालतबाट मिति ०४०।१०।४ मा निर्णय भएको देखिन्छ ।
११. प्रतिवादी महेश्वरमान शाक्यले अदालतबाट जारी भएको म्यादमा प्रतिउत्तर नै नफिराई म्याद गुजारी बसेको पाइन्छ ।
१२. नेपाल बैंक लिमिटेड बाणिज्य बैंक ऐन, २०३१ बमोजिम सञ्चालन हुने तथा कार्य गरिआएको भन्ने कुरा वादी दावी देखिन्छ ।
१३. मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. मा विषय विषयमा छुट्टा–छुट्टै बनेका कानुनमा लेखिए जतिमा सोही कानुन बमोजिम र सो कानुनमा नलेखिएकोमा यही मुलुकी ऐन बमोजिम गर्नुपर्छ भन्ने उल्लेख भएको र वाणिज्य बैंक ऐन, २०३१ को दफा ५२ मा यस ऐनमा लेखिए जतिमा यसै ऐन बमोजिम र अरुमा प्रचलित नेपाल कानुन बमोजिम हुनेछ भन्ने उल्लेख भएको पाइन्छ ।
१४. यसबाट नेपाल बैंक लिमिटेड बाणिज्य बैंक ऐन, ०३१ अन्तर्गत सञ्चालन तथा कार्य गर्ने भएपछि नेपाल बैंक लिमिटेडको काम कारवाहीमा बाणिज्य बैंक ऐनमा लेखिए जति कुरामा र बाणिज्य बैंक ऐनमा व्यवस्था नभएको कुरामा मात्र मुलुकी ऐन आकर्षित हुने सोही ऐन बमोजिम हुने स्पष्ट देखिन आयो ।
१५. बाणिज्य बैंक ऐन, ०३१ को दफा १२ ले बैंकलाई कर्जा दिने ऋण लगानी कारोबार गर्न सक्ने गरी अधिकार दिएको पाइन्छ । त्यसरी कारोबार कर्जा दिँदा लाग्ने ब्याज दर सम्बन्धमा बाणिज्य बैंक ऐन, ०३१ को दफा ४७ को उपदफा (ख) मा बैंकले कर्जा वा निक्षेपमा लिने वा दिने ब्याजको दर र ब्याज लाग्ने तरिका बैंकले तोके बमोजिम हुनेछ । तर त्यस्तो ब्याजको दर ब्याज लाग्ने तरिकाको सम्बन्ध राष्ट्र बैंकले समय समयमा दिएको निर्देशन बैंकले पालना गर्नु पर्नेछ भन्ने र ऐ. उपदफा (ग) मा बैंकले लिने वादी नै कर्जा निक्षेपको भाषा बैंकले तोके बमोजिम हुनेछ भन्ने व्यवस्था गरेको पाइन्छ ।
१६. यसबाट बैंकले दिने कर्जा सम्बन्धमा ब्याजको दर लाग्ने तरिका बैंकले तोके बमोजिम हुने र राष्ट्र बैंकबाट समय समया तत्सम्बन्धमा दिएको निर्देशन बैंकले पालन गर्न पर्ने व्यवस्था गरेको पाइयो ।
१७. प्रस्तुत मुद्दामा राष्ट्रिय बाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ तथा ४७(क) अन्तर्गत दावी गरी फिराद परेको हुँदा उक्त बाणिज्य बैंक ऐन, ०३१ को दफा ४७ तथा ४७(क) अन्तर्गत साँवा र बैंकको दररेट बमोजिम ब्याज समेतमा दावी गरेको कुरामा सो बमोजिम तिर्न बुझाउन नपर्ने भनी प्रतिवादीले खण्डन गरी प्रतिवाद गर्न सकेको देखिँदैन । त्यसरी बाणिज्य बैंक ऐन, ०३१ को दफा ४७ तथा ४७(क) ले व्यवस्था गरे मुताविक नेपाल राष्ट्र बैंकको निर्देशित तरिका समेतको आधारमा दावी गरेको साँवा ब्याज प्रतिवादीबाट भरी पाउँदैन भन्न मिल्ने पनि देखिँदैन । यस्तो अवस्थामा प्रस्तुत मुद्दामा आकृष्ट नहुने लेनदेन व्यवहारको ७ नं. प्रयोग गरी साँवा र साँवा बराबरको ब्याज प्रतिवादीबाट वादीलाई भराउने गरेको बा.अं.अ.को इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । तसर्थ वादी दावी बमोजिम साँवा र आजसम्मको ब्याज तथा बिगो भरी भराउको दिनसम्मको ब्याज समेत वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पु.वे.वादी नेपाल बैंक लिमिटेडके माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीबाट भरी पाउने ठहरेको साँवा रु. १२२००। र त्यसको ०३८ साल फाल्गुण मसान्तसम्मको ब्याज रु. १३३४३।१० र ०३८।१२ देखि आजसम्मको ३।४।१५ दिनको ब्याज समेत सयकडा १८ ले रु. ७४११।५० समेत जम्मा रु. ३२,९५४।६० र बिगो भरी पाउने दिनसम्मको ब्याज समेत भराई पाउँ भनी ऐनका म्यादभित्र प्रतिवादीको जायजेथा देखाई दर्खास्त परे बिगोको वादीबाट अढाई प्रतिशतका दरले दस्तूर लिई वादीलाई भराई दिनु भनी काठमाडौं जि.अ.तमा लगत दिनु...१ पुनरावेदक वादीले फिराद गर्दा राखेको कोर्टफी रु. १०३६।३० अरु दस्तूर रु. ७। म. क्षे.अ.मा पुनरावेदन गर्दा राखेको रु. ८।५६ यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ८।५७ समेत जम्मा रु. १०६०।४३ प्रतिवादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र वादीको दर्खास्त परे केही दस्तूर नलिई भराई दिनु भनी काठमाडौं जि.अ.तमा लगत दिनु...२
फैसला हुँदाका मितिसम्मको ब्याज बिगोको नपुग कोर्टफी रु. २२२।३३ प्रतिवादीबाट ऐन बमोजिम असूल गर्ने प्रतिवादीबाट असूल हुन नसके वादीबाट ऐन बमोजिम असूल गर्नु भनी काठमाडौं जि.अ.मा लगत दिनु..३
वादीलाई प्रतिवादीबाट बागमती अं.अ.को ०४०।३।२२ को फैसला ०४०।३।१६ को लगतले साँवा ब्याजको बिगो कोर्टफी र अरु दस्तूर समेत जम्मा रु. २५४४३।३० भराउने गरेकोमा माथि लेखिए बमोजिम भरी भराउ हुने हुँदा सो बमोजिम भराई रहन परेन त्यसको लगत कट्टा गरिदिनु भनी का.जि.अ.मा लगत दिनु..४
मिसिल नियम बमोजिम गरी बुझाई दिनु........................................५
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल श्रावण १५ गते रोज ३ शुभम् ।