निर्णय नं. ९२२२ - लेनदेन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री सुशीला कार्की
फैसला मिति : २०७१।१।८।२
०६८-CI-०२६८
मुद्दा : लेनदेन ।
पुनरावेदक/प्रतिवादी : जिल्ला बैतडी, रिम गाउँ विकास समिति वडा नं. ९ बस्ने मोहनदेव जोशी
विरूद्ध
प्रत्यर्थी/वादी : जिल्ला बैतडी, रिम गाउँ विकास समिति वडा नं. ६ डरम गाउँ बस्ने पदमबहादुर साउद
§ आर्थिक दायित्व सिर्जना हुँदाका बखत निजले उक्त लिखतमा आफ्नो उमेर २० वर्ष उल्लेख गरी लिखतलाई स्वीकार गरेको अवस्थामा ऋण तिनुपर्ने दायित्वबाट उम्कनका लागि पछि आएर नाबालकको जिकिर लिनु मनासिब नदेखिने ।
(प्रकरण नं.४)
§ विपक्षी र आफूबीच भएको कारोबारलाई पुनरावेदक प्रतिवादीले इन्कार गरेको देखिन्न । लिखत हुँदाको बखत किर्ते वा करकापले लिखत गरेको भन्ने जिकिर लिएको पनि देखिन्न । बरू लिखतबमोजिमको रकम आफूले बुझाएको भनी प्रतिवाद गरेको देखिँदा यी पुनरावेदक प्रतिवादीले विपक्षी वादीसँग कारोबार नै नगरेको भए रकम बुझाउने प्रश्नै नहुने, रकम बुझाएको कानूनबमोजिमको प्रमाणको अभावमा सो पनि स्वीकार गर्न सक्ने अवस्था नरहने हुन्छ । लिखतमा आफ्नो उमेर आफैँले २० वर्ष भनी उल्लेख गरेको र सो तथ्य अन्यथा प्रमाणित हुन नसकेको अवस्थामा निजले गरेको कारोबार नाबालकले गरेको सरह मानी यी प्रतिवादीलाई आर्थिक दायित्वबाट छुट दिन नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय प्रेमसिंह धामी र मधुर पाठक
प्रत्यर्थी/वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, अ.बं. २४ नं.
§ मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १८ नं.
सुरू तहमा फैसला गर्नेः
मा.जि.न्या.श्री स्वीकृति पराजुली
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.श्री डिल्लीराज आचार्य
मा.न्या.श्री बाबुराम रेग्मी
फैसला
न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, महेन्द्रनगरबाट मिति २०६८।१।१४ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवम् ठहर निम्नबमोजिम रहेको छ :
१. तथ्य खण्डः
मिति २०५८ साल मङ्सिर १२ गतेका दिन विपक्षी प्रतिवादी मेरो घरमा आई मेरो नयाँ घर निर्माण कार्य भइरहेको हुँदा अहिले रूपैयाँको अभावको कुरामा विश्वास गरी मिति २०५८।८।१२ गते रू.२५,०००।– कर्जा दिई सो कर्जा चुक्ता गर्ने मिति २०५८।८।१७ भित्र भाखा राखेकोमा सो कर्जा लिएको ८ वर्ष भै सक्दा पनि पटकपटक कर्जा चुक्ता गर भन्दा अनेकौँ बहाना बनाई १० वर्ष भुक्तान गरी कपाली तमसुकको औचित्यविहीन गर्ने विपक्षी प्रतिवादीको नियत भई रकम माग गर्दासमेत नदिएबाट मिति २०५८।८।१२ मा लिएको कर्जा रू.२५,०००।– र आजसम्म कानूनबमोजिम सयकडा १० ले हुन आउने व्याज १९,८३८।३० समेत जम्मा रूपैयाँँ ४४,८९८।३० को साथै फैसला भई अन्तिम किनारा नहुन्जेलसम्मको व्याजसमेत विपक्षीबाट असुलउपर गरिपाउँ भन्नेसमेत व्यहोराको पदमबहादुर साउदको बैतडी जिल्ला अदालतमा दायर भएको फिराद दावी ।
विपक्षीसँग लिएको ऋण र व्याजसमेत मैले मिति २०६२।७।५ गते फिर्ता बुझाएको थिएँ । ऋण लिएको रू.२५,०००।– र व्याज १०,०००।–समेत जम्मा रू.३५,०००।– निज फिरादीलाई रिम गा.वि.स.वडा नं. ९ को स्थानीय बजार गौरीधारा साहु इन्द्रदत्त जोशीको माथिल्लो तलाको कोठामा रोहबरमा इन्द्रदत्त जोशी, धनीदत्त जोशी, प्रेमसिंह कार्की, डम्बरदत्त जोशी, केशवराज भट्टसमेत भएको बखत निज पदमबहादुर साउदलाई सावाँ व्याज गरी बुझाएको थिएँ । निज पदमबहादुर साउद तमसुक अहिले मसँग छैन घरको कुरो हो पट्टा गरी जलाई दिने छु भनी भनेका थिए । निज फिरादी पदमबहादुर साउदको रकम व्याजसमेत मैले बुझाइसकेको छु । म ऋण लिएको मितिमा १६ वर्ष नपुगेको हुँदा लेनदेन व्यवहारको महलको १८ नं. ले सो तमसुकले मान्यता पाउन पर्ने होइन । त्यस तमसुकमा मेरा आमा बुबा भाइ दाजुहरूको समेत कुनै सहीछाप परेको छैन । तमसुक मान्यता प्राप्त नभएकोले फिराद खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी मोहनदेव जोशीको बैतडी जिल्ला अदालतमा पेस भएको प्रतिउत्तरपत्र ।
वादी प्रतिवादीका साक्षीहरूले गरेको बकपत्र मिसिल सामेल रहेको ।
नागरिकता बनाउने बेला मेरो रूपैयाँ मिल्काउने हिसाबले कम उमेर हाली नागरिकता बनाएको हो । विद्यालयको २०४७ सालको भर्ना रजिस्टरमा २०४२।१२।२० लेखेको छ । २०५८ साल मङ्सिर १३ गते आफ्नै उमेर २० वर्ष भनी तमसुक मेरो हातमा दिएको हो । हाल नागरिकता बनाउँदा कम उमेर हाली मेरो पैसा पचाउने नियत राखेको प्रष्ट देखिन्छ । मेरो लेनदेनको रकम असुल गरिपाउँ भन्नेसमेत व्यहोराको अ.बं. ७८ नं. बमोजिम बुझिएका पदमबहादुर साउतले बैतडी जिल्ला अदालतमा गरेको बयान ।
मेरो नागरिकताको मिति २०४२ साल चैत २० गते हो । नागरिकता सद्दे हो । जिल्ला प्रशासन कार्यालयबाट बनाएको हो । सही दस्तखत कार्यालयको हो । मिति २०६४।५।१० मा नागरिकता लिएको हो । नागरिकता
लिँदाको उमेर २२ वर्ष हो । तमसुक बनाउँदा १५ वर्ष ७ महिना थियो भन्नेसमेत व्यहोराको अ.बं ७८ नं. बमोजिम बुझिएका मोहनदेव जोशीले बैतडी जिल्ला अदालतमा गरेको बयान ।
२. बैतडी जिल्ला अदालतबाट भएको फैसला खण्ड :
मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १८ नं. मा १६ वर्ष नपुगेका नाबालकले गरेको लेनदेन व्यवहार सदर नठहर्ने, नाबालकले गरेको व्यवहारमा नाबालकको धनको हिफाजत गर्ने मानिससमेतको सहीछाप गराएको रहेछ भने मात्र सदर ठहर्नेमा सो अवस्थासमेत रहे भएको नपाइँदा यस्तो कानूनबमोजिम सदर नै हुन नसक्ने लिखतका आधारमा भए गरेको लेनदेन व्यवहारको विषयलाई पक्री पर्न आएको वादीको आधारमा लिखत अनुसारको साँवा व्याज भराई दिन नमिल्ने हुँदा प्रस्तुत वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने बैतडी जिल्ला अदालतबाट मिति २०६७।८।६ गते भएको फैसला ।
३. पुनरावेदन अदालत, महेन्द्रनगरमा वादीका तर्फबाट दायर भएको पुनरावेदनपत्र व्यहोरा :
मेरो थैली भुस गराउन यावत प्रयास गरिएकोमा फैसलाले त्यस्तो कुरालाई पूर्णता दिने काम भै मेराउपर ठूलो अन्याय भएको छ । तसर्थ सुरू बैतडी जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी वादी दावीबमोजिम सावाँ व्याज पाउने गरी न्याय पाउँ भन्नेसमेतको वादी पदमबहादुर साउदको तर्फबाट पुनरावेदन अदालत, महेन्द्रनगरमा परेको पुनरावेदनपत्र ।
४. पुनरावेदन अदालत, महेन्द्रनगरबाट भएको आदेश तथा फैसला :
प्रतिवादी मोहनदेव जोशीले तमसुकमा सहीछाप गर्दा साबालक भएको कुरा स्वीकार गरेको स्थितिमा निजलाई नाबालक भएको भनी गरेको सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीलाई म्याद पठाई हाजिर भएपछि वा अवधि भुक्तान भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत, महेन्द्रनगरबाट भएको आदेश ।
आफैँले आफूलाई बालिग भएको घोषित गरी विश्वाससमेत दिलाई रीतपूर्वकको लिखत लेखी रकम लिएको कुरा स्वीकार गर्ने प्रतिवादीले रकम बुझाएको कुराको सबुद प्रमाण पेस गर्न नसकेको अवस्थामा केवल मौखिक भनाईलाई आधार मानी लिखतबमोजिमको रकम फिर्ता गरेको भनी मान्न नसकिने हुँदा वादी दावीबमोजिम साँवा पच्चीस हजार रूपैयाँँ र सोको कानूनबमोजिमको व्याज प्रतिवादीबाट भराई पाउने ठहर्छ । वादी दावी नपुग्ने ठहर्याई सुरू बैतडी जिल्ला अदालतबाट मिति २०६७।८।६ मा भएको फैसला उल्टी हुन्छ भन्नेसमेतको पुनरावेदन अदालत, महेन्द्रनगरबाट मिति २०६८।१।१४ मा भएको फैसला ।
५. प्रतिवादीका तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदनपत्रको व्यहोरा :
घर निर्माण गर्न भनी मिति २०५८।८।१२ मा २५ हजार कर्जा दिएको बुझाउने भाखा ५ दिनभित्र अर्थात मिति २०५८।८।१७ उल्लेख छ । एउटै गाउँ विकास समितिमा बसोबास गर्ने विपक्षीले घर निर्माण गर्न बाबु आमा
दाज्युहरू घरमै जीवितै अवस्थामा छँदा १५ वर्षको नाबालकलाई ५ दिनको भाखा राखी त्यति रकमको तमसुक बनाउनुपर्ने व्यवहार कतिसम्म स्वाभाविक, विश्वसनीय हुनसक्छ भन्नेतर्फ फैसला खण्डमा विश्लेषण भएको
पाइँदैन । लेनदेन व्यवहारको महलको १८ नं. मा सोह्र वर्ष नपुगेका नाबालकले गरेको लेनदेन व्यवहार सदर ठहर्दैन भनी प्रारम्भमा नै किटान गरिएको छ । तमसुक बनेको थियो थिएन भन्ने निरूपणको विषय नै होइन । विपक्षीले आफ्नो अ.बं.७८ नं. को बयानमा नागरिकतामा उमेर झुट्ठा लेखाएको एकमात्र कारण कागज बन्दा नाबालक देखाउन र त्यहीँ कारणबाट रकम भुस गराउनु हो भनेका छन् तर नागरिकताको वैधतामा कुनै विवाद नै रहेको छैन । संरक्षक हकवाला जीवितै घरमा हुँदाहुँदै त्यति ठूलो रकम तमसुकी कागज नामाकरण गराउन पर्ने विपक्षीका लागि किन अनिवार्य थियो र मैले २० वर्ष भन्दैमा त्यसैलाई ठीक हो भनी विश्वास गर्नुपर्ने एउटै ठाउँमा बसेको वादीले नाबालक भनी जान्दाजान्दै मेरा घर संरक्षकहरूलाई थाहा जानकारी केही नगराई रकम कर्जा दिन कसरी सहज भयो त्यसमा पनि अल्प समयको भाखापछि विभिन्न अनधिकृत निकायहरूमा उजुरी गर्न पर्ने कारण के थियो यस सम्बन्धमा कुनै विश्लेषण, निरूपण वा उल्लेख सम्म नगरी गम्भीर कानूनी त्रुटि भएको छ । मैले तमसुक बनेको भन्दैमा ऐनका उपयुक्त प्रावधान निस्क्रिय हुन सक्तैनन् । कागज बनेकै भए पनि सदर नहुने किटानी व्यवस्था हुँदा त्यसमा अपव्याख्या गर्न मिल्ने होइन । अतः लेनदेन व्यवहारको महलको १८ नं., अ.बं. २४ नं. को व्याख्यात्मक त्रुटि गरी भएको श्री पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला बदर गरी बैतडी जिल्ला अदालतको फैसला कायम राखी पाउँ भन्नेसमेतको प्रतिवादीको यस अदालतसमक्ष दायर भएको पुनरावेदनपत्र ।
नियमबमोजिम पेसीसूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री प्रेमसिंह धामी र मधुर पाठकले नाबालकसँग भएको लेनदेनलाई कानूनले नै बदरयोग्य ठहर्याएको छ । त्यसमा पनि हाम्रो पक्षले रकम तिरी सकेको कुरालाई प्रमाणमा नलिई दावी पुग्ने ठहर्याई भएको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरूको फैसला सदर कायम हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
मिसिल अध्ययन गर्दा, मिति २०५८।८।१२ का दिन विपक्षीलाई रू.२५,०००।– कर्जा दिई सो कर्जा चुक्ता गर्ने भाखा मिति २०५८।८।१७ मा राखेकोमा भाखाभित्र कर्जा चुक्ता नगरी आलटाल गरेबाट साँवा रू.२५,०००।– र व्याज रू.१९,८३८।३० गरी जम्मा ४४८९८।३० समेत विपक्षीबाट भराई पाउँ भन्ने मुख्य दावी लिई दायर भएको प्रस्तुत मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी सुरू बैतडी जिल्ला अदालतबाट फैसला भएको र सोही फैसलालाई उल्टी गरी दावीबमोजिमको रकम वादीले प्रतिवादीबाट भराई पाउने ठहरी पुनरावेदन अदालत, महेन्द्रनगरबाट फैसला भएकोमा सोही फैसलाउपर चित्त नबुझी प्रतिवादीको यस अदालतसमक्ष पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो ।
अब सुरू बैतडी जिल्ला अदालतबाट दावी पुग्न नसक्ने ठहराई भएको फैसलालाई उल्टी गरी दावीको रकमसमेत वादीले प्रतिवादीबाट भरी पाउने ठहरी भएको पुनरावेदन अदालत, महेन्द्रनगरको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपरेको छ ।
२. सुरू बैतडी जिल्ला अदालतबाट दावी पुग्न नसक्ने ठहर गर्दा लेनदेन व्यवहारको महलको १८ नं. मा १६ वर्ष नपुगेका नाबालकले गरेको लेनदेन व्यवहार सदर नठहर्ने नाबालकले गरेको व्यवहारमा नाबालकको धनको हिफाजत गर्ने मानिससमेतको सहीछाप गराएको रहेको भने मात्र सदर ठहर्नेमा सो अवस्थासमेत रहे भएको नपाइँदा कानूनबमोजिम सदर नै हुन नसक्ने लिखतका आधारमा भए गरेको लेनदेन व्यवहारको विषयलाई पक्री पर्न आएको दावीको आधारमा लिखत अनुसारको साँवा व्याज भराई दिन नमिल्ने भन्नेसमेत आधार लिएको देखियो भने प्रस्तुत मुद्दामा प्रतिवादीको समेत सोही व्यहोराको पुनरावेदन जिकिर रहेको देखियो ।
३. मिसिल संलग्न यी पुनरावेदक मोहनदेव जोशी र पदमबहादुर साउदका बीच सम्पन्न मिति २०५८।८।१२ को कपाली तमसुकको व्यहोरा हेर्दा यी पुनरावेदक प्रतिवादी मोहनदेव जोशीले आफ्नो ठेगाना जिल्ला बैतडी, रिम गा.वि.स. वडा नं ९ बस्ने हरिदत्त जोशीको छोरा ऐ. बस्ने वर्ष २० को मोहनदेव जोशी भन्ने उल्लेख गरी उक्त कपाली तमसुक तयार भएको देखिन्छ । आफू र विपक्षीबीच भएको उक्त कपाली तमसुकको अस्तित्व वा वैधतालाई लिएर यी पुनरावेदकले प्रश्न उठाएको समेत देखिएको छैन । बरू प्रतिउत्तरपत्रको खण्ड २ मा विपक्षीसँग लिएको ऋण र व्याजसमेत आफूले मिति २०६२।७।५ मा फिर्ता बुझाएको र साँवा र व्याज गरी रू.३५,०००।– रिम गा.वि.स. वडा नं. ९ को स्थानीय बजारको गौरीधारा साहु इन्द्रदत्त जोशीको पसलको माथिल्लो तलाको कोठामा बुझाएको भनी जिकिर लिएको देखिन्छ । रकम बुझाएको भन्ने जिकिर लिए पनि प्रत्यर्थीसँग आफ्नो कारोबार नै नभएको भन्न सकेको देखिन्न भने रकम बुझाएको भन्ने वस्तुनिष्ठ आधार प्रमाणसमेत पेस गर्न सकेको देखिन्न ।
४. आफू र विपक्षीबीच भएको लेनदेनको कारोबारबाट सिर्जित दायित्वबाट बच्ने उद्देश्यले फिराद परेपछि त्यसको प्रतिवाद गर्दा लिखत हुँदाका बखत आफ्नो उमेर १६ वर्ष मुनिको नाबालक भएको भन्ने जिकिर लिनु आफैँमा पर्याप्त हुँदैन । आर्थिक दायित्व सिर्जना हुँदाका बखत निजले उक्त लिखतमा आफ्नो उमेर २० वर्ष उल्लेख गरी लिखतलाई स्वीकार गरेको अवस्थामा ऋण तिनुपर्ने दायित्वबाट उम्कनका लागि पछि आएर नाबालकको जिकिर लिनु मनासिब देखिएन । आफू नाबालक रहेको जिकिर लिई प्रतिउत्तर दिएपछि बैतडी जिल्ला अदालतको आदेशानुसार पेस भएको श्री पञ्चदेव महानन्द उच्च माध्यमिक विद्यालय बैतडीको पत्र व्यहोरा साथ संलग्न रजिस्टरको छाँयाप्रतिबाट समेत यी पुनरावेदकको जन्म मिति सच्चिएको भै यकिन नभएको यस्तो अवस्थामा लिखत तयार हुँदाका बखत यी पुनरावेदक नाबालक थिए भनी भन्न सकिएन ।
५. लेनदेन गर्दाका बखत नागरिकता लिएर आफ्नो उमेर १६ वर्ष भन्दा कम भएको भनी देखाए पनि यी पुनरावेदक प्रतिवादीले लेनदेनको लिखत तयार हुँदाका बखत आफ्नो उमेर २० वर्ष जनाएको देखिन्छ । लेनदेन गर्दाको अवस्थामा आफ्नो शारीरिक अवस्था नाबालक भए कारोबार गर्ने प्रश्नै नउठ्ने हुन्छ । विपक्षी र आफूबीच भएको कारोबारलाई यी पुनरावेदक प्रतिवादीले इन्कार गरेको देखिन्न । लिखत हुँदाको बखत किर्ते वा करकापले लिखत गरेको भन्ने जिकिर लिएको पनि देखिन्न । बरू लिखतबमोजिमको रकम आफूले बुझाएको भनी प्रतिवाद गरेको देखिँदा यी पुनरावेदक प्रतिवादीले विपक्षी वादीसँग कारोबार नै नगरेको भए रकम बुझाउने प्रश्नै नहुने, रकम बुझाएको कानूनबमोजिमको प्रमाणको अभावमा सो पनि स्वीकार गर्न सक्ने अवस्था नरहने हुन्छ । लिखतमा आफ्नो उमेर आफैँले २० वर्ष भनी उल्लेख गरेको र सो तथ्य अन्यथा प्रमाणित हुन नसकेको अवस्थामा निजले गरेको कारोबार नाबालकले गरेको सरह मानी यी प्रतिवादीलाई आर्थिक दायित्वबाट छुट दिन मिलेन । पुनरावेदकले कारोबार गर्दाका बखत उमेर ढाँटेको प्रमाणित भएमा बरू त्यसका कारणले थप फौजदारी दायित्व आकर्षित गर्ने अवस्था आउँछ ।
६. माथि विवेचित आधार कारणसमेतबाट यी पुनरावेदक प्रतिवादी लिखत गर्दाको अवस्थामा १६ वर्षमुनिको नाबालक रहेको भन्ने वस्तुनिष्ठ प्रमाणको अभावमा निज र प्रत्यर्थीबीच भएको मिति २०५८।८।१२ को तमसुक लिखतलाई अन्यथा भन्न नमिल्ने भै यी पुनरावेदक प्रतिवादीले दावीबमोजिमको रकम प्रत्यर्थी वादीलाई तिर्नु बुझाउनुपर्ने देखिएबाट दावी पुग्न नसक्ने ठहराई भएको सुरू बैतडी जिल्ला अदालतको मिति २०६७।८।६ को फैसला उल्टी गरी दावीबमोजिमको साँवा र सोको कानूनबमोजिमको व्याज यी पुनरावेदक प्रतिवादीबाट प्रत्यर्थी वादीले भरी पाउने ठहराई पुनरावेदन अदालत, महेन्द्रनगरबाट मिति २०६८।१।१४ मा भएको फैसला मिलेकै
देखिँदा सदर हुन्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०७१ साल वैशाख ८ गते रोज २ शुभम् ।
इजलास अधिकृत : विष्णुप्रसाद गौतम