निर्णय नं. २३७० - मोही निष्काशन गरी चलन चलाई पाउँ

निर्णय नं. २३७० ने.का.प. २०४२ अङ्क ५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत् २०४१ सालको दे.पु.नं. ५१३
मुद्दा : मोही निष्काशन गरी चलन चलाई पाउँ ।
पुनरावेदक/प्रतिवादी:जि.बाँके हसनापुर गा.पं. वार्ड नं. ६ बस्ने दौलत खाँ ।
विरूद्ध
विपक्षी/वादी:जि.बाँके बसन्तपुर गा.पं.वार्ड नं. ६ बस्ने इस्माइल रग ।
ऐ.ऐ बस्ने रमजान खाँ ।
ऐ.ऐ बस्ने मोहमद सरिफ खाँ ।
फैसला भएको मिति:२०४२।५।१८।३ मा
बाली बटैयाको मुचुल्काको नक्कल सारी थाहा भएको मितिले फिराद गर्न पाउने ऐनले व्यवस्था गरेको देखिएन, तसर्थ बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट परेको फिरादलाई म्यादभित्रको भन्न नमिल्ने ।
(प्रकरण नं.१३)
पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
विपक्षी वादी तर्फवाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह
उल्लेखित मुद्दाःX
फैसला
न्या.धनेन्द्र बहादुर सिंहः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. मोही अब्बास खाँ मरी विपक्षी मोही नाउँमा संयुक्त दर्ता भएको बाँके रनियापुर गा.पं.वार्ड नं. २ को कि.नं. ६९ दौलत खाँले हामी फिरादीको ज.वि. ०–१५–३ मोहीको हैसियतले अधियाँ बटैयामा जोती कमाई आएकोमा उक्त जग्गामा ०३७ सालको धान बालीमा राम्रोसँग खन जोत मल जल केही नगरी आई आर एट धान लागेकोमा बालीको रेखदेख नगरी उक्त जग्गाको हैसियत र मोल उब्जा घटाएको र बाली बटैया गर्दा पनि भू.सु.ऐनको प्रक्रिया नअपनाई अनधिकृत डोर ल्याई उक्त जग्गाको ३ क्वीन्टल ५० किलो धान उब्जा देखाई हामीहरूको हिस्सा १ क्वीन्टल २५ किलो बटैया गरेको कुरा ०३७।११।२३ मा भू.सु.बाट बटैया गरेको मुचुल्काको नक्कल लिँदा थाहा पाएकोले भू.सु.ऐन, ०२१ को दफा २९(१) को (क) बमोजिम उक्त जग्गाबाट मोही निष्काशन गरी चलन चलाई पाउँ भन्ने फिरादपत्र ।
३. वादी दावी कि.नं. ६९ तथा दावी नगरेको कि.नं. ६८ समेत तिंकुर शर्तमा कमाई आएको छु । अधियाँमा जोतेको छैन । दावी कित्तामा ०३७ सालमा रोपेको धानमा किरा लागि बाली नाश भई राम्रो उब्जा नभएकोले वादीको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर ।
४. बालीमा के कस्तो किरा लागेको हो र के कस्तो औषधी प्रयोग गरेको हो सो कुरा कागज गराउँदा प्रतिवादीले उल्लेख गर्न नसकेको र धान बटैया गर्दा भू.सु., ०२१ को दफा ३६ को प्रकृया पूरा नगरी जति बाली देखायो त्यति नै बटवारा गरेको समेत देखिएकोले र मोहीले जग्गाधनी प्रति खुला ह्दयले बटैया गरेको समेत देखिन नआई भू.सु. ऐनको दफा २९(१)(क) को व्यवस्था प्रति उदासिन रही उल्लघंन समेत गरेकोले मोही निष्काशन हुने ठहर्छ भन्ने शुरू जिल्ला अदालतको फैसला ।
५. शुरू जि.अ.को इन्साफ बदर गरी वादीदावीबाट फुर्सदपाउँ भन्नेसमेत पुनरावेदन जिकिर, मोहियानीबाट निष्काशन गर्ने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत भे.अं.अदालतको ०३९।९।१२ को फैसला ।
६. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको ०४०।१।२३ को आदेश ।
७. मोहियानी हक निष्काशन गर्ने गरेको शुरू इन्साफ मनासिव ठहराएको अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको ०४०।७।२५ को फैसला ।
८. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णयमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९क(क) को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४०।१०।२३ को आदेश ।
९. पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रस्तुत फिराद बटैया मुचुल्का सारी थाहा पाएको भनी परेको छ । तर भूमिसम्बन्धी ऐनको दफा २९क(क) अनुसार काम कुरा भए गरेको मितिले ३५ दिनभित्र परेको छैन, तसर्थ वादी दावी खारेज हुनुपर्छ मोही निष्काशन गरेको क्षेत्रीय अदालतको निर्णय मिलेको छैन भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका विद्वान विरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहले बाली बटैया मुचुल्काबाट उब्जनी घटेको भन्ने देखिएको छ । त्यसरी उब्जनी घटाई दिएकोबाट जग्गा मोल समेत घट्न गएको हुँदा वादीले मुचुल्का सारी थाहा पाए पछि फिराद गरेकोलाई म्यादभित्र नपरेको भन्न मिल्दैन । मोही निष्काशन गरेको क्षेत्रीय अदालतको निर्णय सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१०. प्रस्तुत मुद्दामा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
११. यसमा निर्णयतर्फ हेर्दा बाली बटैया गराएको मुचुल्काको नक्कल ०३७।११।२३ मा प्राप्त भएकोले भू.सं.ऐन, २०२१ को दफा २९(क) को खण्ड (क) को म्यादभित्र नालिश दिन आएका छौं । भू.सु.ऐनको दफा २९ को उपदफा (२) को खण्ड (क) बमोजिम मोही निष्काशन गरी चलन चलाई पाउँ भनी प्रस्तुत मुद्दाको फिराद मिति ०३७।११।३० मा परेको देखिन्छ ।
१२. सो फिराद दावीमा राम्रोसँग खनजोत मलजल केही नगरी जग्गामा लागेको बालीको रेखदेख नगरी प्रतिवादीले विवादित जग्गाको हैसियत तथा मोल उब्जा घटाएको भन्ने मुख्य दावी लिएको पाइन्छ ।
१३. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९क को देहाय (क) मा दफा २९ को उपदफा (२) को खण्ड (क) मा उल्लेख भएको अवस्थामा सो खण्डमा तोकिएको काम कुरा भए गरेको मितिले ३५ दिनभित्र निवेदन दिई सक्नु पर्छ । सो म्याद गुज्रेपछि निवेदन लाग्न सक्दैन भन्ने लेखिएको पाइन्छ । यसबाट तोकिएको काम कुरा भए गरेको मितिले ३५ दिनभित्र उजूर गर्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दाको फिरादमा राम्रोसँग खनजोत मलजल केही नगरी जग्गामा लागेको बालीको रेखदेख नगरेको भन्ने कुरा उल्लेख भएको पाइन्छ । सो कुरा गरेको मितिले उक्त ऐनको म्यादभित्र प्रस्तुत मुद्दाको फिराद दिएको भनी स्वयं वादीले भन्न सकेको छैन । बाली बटैया मुचुल्काको नक्कल सारेको मितिले उक्त ऐनको म्यादभित्र प्रस्तुत फिराद गरेको भन्ने छ । बाली बटैयाको मुचुल्का ०३७।१०।१२ मा भएको देखिन्छ । उब्जा घटेको कुरा बाली तयार भई कटना मडनी गरेकै समयमा थाहा हुन सक्ने हुन्छ तर प्रस्तुत फिराद बालीको बाँडफाँड गरी बटैया गरेको मितिले पनि उक्त ऐनको म्यादभित्र पर्न आएको देखिँदैन । बाली बटैयाको मुचुल्काको नक्कल सारी थाहा भएको मितिले फिराद गर्न पाउने उक्त ऐनले व्यवस्था गरेको देखिएन । तसर्थ बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट परेको फिरादलाई म्यादभित्रको भन्न नमिलेको हुनाले उक्त ऐन बमोजिमको म्याद नाघी परेको प्रस्तुत मुद्दाको फिराद खारेज हुने ठहर्छ ।
१४. तथ्यमा प्रवेश गरी मोहीहकबाट निष्काशन गर्ने गरेको बाँके जिल्ला अदालत र भेरी अञ्चल अदालतको इन्साफ सदर गरेको मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
बाँके जि.अ.का. ०३९।१।२० को फैसलाले मोही लगत कट्टा गर्न लेखी पठाउने गरेको सो लेखी पठाउन पर्दैन भनी मिसिलै शुरूमा पठाई दिनु...१
बाँके जि.अ.को ०३९।१।२० को फैसला र ०३९।३।१० को आदेशले कोर्टफी रु. १३०।९० र अन्य दस्तूर समेत प्रतिवादी दौलत खाँबाट वादीलाई भराउने गरेकोमा सो बमोजिम भरी भराउ गर्नु नपर्ने हुँदा सो लगत काटिदिनु भनी बाँके जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..२ प्रतिवादी दौलत खाँले शुरू उपर पुनरावेदन गर्दा कोर्टफी रु. १३०।९० मिति ०३९।३।१७ मा बाँके जि.अ.मा धरौट राखेको देखिँदा सो धरौटी वादीलाई भरी भराउ गर्नु नपर्ने हुँदा सो धरौटी फिर्ता पाउँ भनी प्रतिवादीको ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई फिर्ता दिनु भनी बाँके जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......३
भेरी अं.अ.का ०३९।९।१२ का फैसलाले प्रतिवादी दौलत खाँले पुनरावेदन गर्दा धरौट राखेको रु. १३०।९० वादीलाई फिर्ता दिने गरेकोमा सो बमोजिम वादीलाई फिर्ता दिनु परेन सो लगत व्यहोरा जनाई काटी दिनु भनी बाँके जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.....४, पुनरावेदक प्रतिवादी दौलत खाँले पुनरावेदन गर्दा राखेको भेरी अं.अ.मा रु. १९।६५ क्षे.अ.मा रु. १५।३४ यस अदालतमा रु. १।५० समेत जम्मा रु. ३६।४९ देहायका प्रतिवादीहरूबाट भराई पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त परे दस्तूर केही नलिई प्रतिवादीलाई वादीहरूबाट बराबरका दरले भराई दिनु भनी का.जि.अ.मा लगत दिनु..........५
इस्माइल खाँ १
रमजान खाँ १
मोहमद सरिफ खाँ १
खारेज गर्नु पर्ने मुद्दामा इन्साफ गरेमा देहायका अदालतका उस बखतमा देहायका न्यायाधीशहरूको रेकर्ड राख्नु भनी सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु...६ मध्यमाञ्चल क्षेत्रीय अदालतका मा.मु.न्या.श्री षडानन्दप्रसाद उपाध्याय १
ऐ. का.मा.न्या.श्री केशवप्रसाद मुडभरी १
भेरी अं.अ.का अं.न्या श्री तुलसी प्रसाद श्रेष्ठ १
बाँके जि.अ.का जि.न्या.श्री नारायणप्रसाद क्षेत्री १
मिसिल नियम बमोजिम गरी बुझाई दिनु..............७
उक्त रायमा म सहमति छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४२ साल भाद्र १८ गते रोज ३ शुभम् ।