निर्णय नं. २३७४ - कर्तव्य ज्यान

निर्णय नं. २३७४ ने.का.प. २०४२ अङ्क ५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको फौ.पु.नं. ६०६
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी:प्र.ह.ज्ञान बहादुर खत्री समेतको प्रतिवेदन जाहेरीले श्री ५ को सरकार ।
विरूद्ध
विपक्षी/प्रतिवादी:गोरखा बुंकोट गा.पं.वडा नं. खात्दी तिवारी गाउँ बस्ने शुसिला तिवारी ।
फैसला भएको मिति:२०४२।१।१३।५ मा
रक्षा शिक्षा दिने आफ्नो आमाले घाँस काट्न जा भनी अर्हाउँदा नमानेकी हुँदा मर्नेको हितको लागि कुटपीट गर्दा भवितव्यमा परी मृत्यु भएको देखिन्छ, तसर्थ ज्या.स.को ६(३) बमोजिम रु. ५०। जरिवाना हुने ।
(प्रकरण नं.२१)
पुनरावेदक/वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल
विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ताहरु श्री बसन्तराम भण्डारी र श्री लोकभक्त राणा
उल्लेखित मुद्दाःX
फैसला
न्या.बब्बर प्रसाद सिंहः पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ उपर चित्त नुबझी वादी श्री ५ को सरकारको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने यस अदालतमा पर्न आएको निवेदनबाट पुनरावेदन गर्ने अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् ।
२. ०३७।३।३१ गते दिनको ११.३० बजे वैनी गीता घाँस काट्न गएकी धेरैबेरसम्म नआएकोले हामी मेलाबाट खबर पाई आई खोज्दा खनायोको रुखको हाँगामा डोरीको पासो लगाई झुण्डी मरी रहेको देखी पिता तारानाथले गाउँघरका मानिस जम्मा गरी लाश सुरक्षित राखी जाहेरी दिन आएको छु । लाश जाँच गरिपाउँ भन्ने समेतको गिरीराज तिवारीको जाहेरी दर्खास्त ।
३. गोरखा बुंकोटतर्फ गस्ती गर्न जाँदा बुझ्दा गीता तिवारी झुण्डी मरेको नभई निज गीताको आमा सुशिला तिवारी १, बाबु तारानाथ १, दाजु गिरीराज तिवारी १ र भाइ एकराज समेत भई कर्तव्य गरी मारेका हुन् भन्ने गाउँघरमा चर्चा भइरहेकोले जना ४ लाई पक्राउ गरी दाखिला गर्न ल्याएका छौं । कानुन बमोजिम हुनुपर्छ भन्ने समेत व्यहोराको प्र.ह.ज्ञानबहादुरको प्रतिवेदन।
४. ०३७।३।३१ गते आमाले मलाई बोलाई गीतालाई घाँस काट्न जा भन्दा नमानेकीले रिस उठी मुठी भरको दाउराले २ चोटि कुटेको मरी त्यसकारण बाबु दाजुलाई बोलाई ल्याउ यो कुरा कसैलाई नभन्नु भनी आमाले भनेपछि म गई सो कुरा बाबु दाजुलाई भनेपछि हामीहरू तुरुन्तै घर फक्र्र्यौं । घटनास्थलमा आउँदा गाउँले भेला भएका गीताको लाश बारीको कुनामा सुतिरहेको देखें । भोलिपल्ट दाजु गिरीराजले जाहेरी दिएँ भन्ने समेत एकराज तिवारीको प्रहरीमा कागज ।
५. ०३७।३।३१ गते बुद्धि खोला खेतमा गई बहिनी छैन भनेपछि घरमा आई श्रीमती सुशिलालाई सोद्धा गीतालाई देखेको छैन भनेपछि खोरी वा बारीमा छोरी गीता मरी सुतिरहेकोे, मैले घाउ चोट हेरिन, लाशको घाँटीमा डोरीको टुक्रा पनि झुण्डिरहेको थियो भन्ने समेत व्यहोराको तारानाथ तिवारीले प्रहरीमा गरेको बयान कागज ।
६. मिति ०३७।३।३१ गते गीतालाई घाँस काट्न जा भन्दा नमानेकीले २ मुड्की हानेको एकैछिनमा बेपत्ता भयो । खोज्दा भेटेर २ चोट दाउरोले टाउकोमा हानेको लडी मरी छोपछाप पारी घर आई खाना खाइसकेपछि लोग्नेलाई छोरी मरेको भनेँ दुबैले झुण्ड्याउने हिसाबले गाँठो पार्दा डोरी चुडियो । लोग्ने छोरा गिरीराजलाई मेरो सल्लाहबाट झुण्डाएको भन्न पठाएको भन्ने समेत व्यहोराको सुशिला तिवारीले प्रहरीमा गरेको कागज ।
७. ज्या.सं.को १४ नं. बमोजिम सुशिलालाई जाहेर नगरेमा ज्या.सं.को २५ नं. को सजायँको व्यवस्था भएकोमा कर्तव्यको लाशलाई अपहत्याको लाश भनी जाहेर गर्ने गिरीराजलाई ज्यानसम्बन्धीको १७(३) बमोजिमको सजायँको माग दावी गर्दै कुनै कसूर नदेखिएका एकराज र नन्दलाललाई हाजिर जमानीमा छाडी पेश गरेको भन्ने समेतको प्रहरी प्रतिवेदन ।
८. म र मेरी श्रीमती शुशिला समेत भई गीता छोरीलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको तारानाथले अदालतमा गरेको बयान ।
९. छोरी गीतालाई मार्यो भनी झुठ्ठा लेखाएका हुन् भन्नेसमेत व्यहोराको शुशिलाले अदालतमा गरेकोबयान ।
१०. आमा शुशिला र हामी समेत भई कर्तव्य गरी बहिनी गीतालाई मारेका हैन मगज ठेगान नभएर आफैं झुण्डिएर मरेको हो भन्ने समेत व्यहोराको गिरीराजले अदालतमा गरेको बयान ।
११. गीताको मृत्यु शुशिला तिवारीकै कर्तव्यबाट भएको देखिन आउँदा ज्यानसम्बन्धीको १४ नं. बमोजिम प्र.शुशिला तिवारीलाई १० वर्ष कैद र प्र.तारानाथ, गिरीराजले मृतक गीता तिवारीको लाश दबाएको समेत ठहर्छ भन्ने समेत व्यहोराको गोरखा जि.अ.को फैसला ।
१२. शुरू जि.अ.ले गरेको इन्साफमा चित्त नुबझी प्र.शुशिला, तारानाथ र गिरीराज समेतले पश्चिमान्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन पत्र ।
१३. जाहेरवाला गिरीराजको जाहेरी हेर्दा झुण्डी मरेको भनी उल्लेख भएको र प्र.ह.ज्ञानबहादुरको जाहेरी प्रतिवेदनमा प्रतिवादीहरूले कर्तव्य गरी मारेको हुन् भनी चर्चा भइरहेकोले पक्राउ गरेको भन्ने उल्लेख भएको र अदालतमा बकपत्र गर्दा गाउँको भनाईबाट कर्तव्य भनिएको भन्ने लेखाई भएबाट किटानीसाथ प्रतिवादीहरूको नाम भन्न नमिली संवेहात्मक स्थितिमा पक्राउ भएको देखिन आएको लाश जाँच प्रकृति मुचुल्काबाट निल डाम देखिन आए तापनि के कसको कर्तव्यबाट चोट पर्न गएको हो सो कुरा मिसिलबाट देखिँदैन । सडेगलेको लाश भएकोले मृत्युको कारण भन्न नसकिने भन्ने डाक्टरको राय व्यक्त भएको र सरजमीनहरूले मृतक गीतालाई प्र.सुशिला तिवारीले कर्तव्य गरी मारेको शङ्का लाग्छ भनी बकेको पाइन्छ, अदालतमा मगनबहादुर समेतको व्यक्तिहरूले सफाई दिई बकी लेखिदिएको समेत कारणबाट सुशिलातिवारीको प्रहरीमा साविती भएको कागज समर्थित हुन आएको देखिएन । प्र.तारानाथ तिवारी र प्र.गिरीराज तिवारीको हकमा प्र.सुशिला तिवारीकै प्रहरीमा भएको साविती कागज अन्य सबूद प्रमाणबाट समर्थित भएको नदेखिएपछि प्र.तारानाथ र गिरीराजको प्रहरीमा भएको साविती कागज समर्थित हुनसक्दैन । वादी श्री ५ को सरकारले आफ्नो प्रहरी प्रतिवेदन दावीस्थापित गर्न नसकेको हुँदा प्र.सुशिला तिवारी, प्र.तारानाथ तिवारी र प्र.गिरीराज तिवारी समेतले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ, शुरू गो.जि.अ.को इन्साफ उल्टी हुन्छ भन्ने पश्चिमान्चल क्षेत्रीय अदालतको मिति ०४०।७।२९ को फैसला ।
१४. पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी श्री ५ को सरकारबाट पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन पत्र ।
१५. मृतक गीताको शरीरमा निलडाम छ तापनि सो निलडाम के कसको कर्तव्यबाट पर्न गएको हो सो कुरा मिसिलबाट देखिँदैन भनी सुशिलाको प्रहरीमा साविती बयान र लाश प्रकृति मुचुल्का तर्फ विचार नगरी ज्या.सं.को १४ नं. अनुसार सुशिलालाई र त्यस्तो कर्तव्यको लाश जाहेर नगरेमा ज्यान सं.२५ नं. को सजायँको व्यवस्था भएको कर्तव्यको लाशलाई अपहत्याको लाश भनी जाहेर गर्ने गिरीराजलाई ज्या.सं.को १७(३) बमोजिम अरु किसिमको मतलबी सिद्ध हुँदा निज गिरीराज र तारानाथलाई पनि १७(३) बमोजिम सजायँको मागदावीसमेतको प्रहरीप्रतिवेदन भएकोमा शुरू गो.जि.अ.को इन्साफ बदर गरी प्रतिवादीहरूलाई सफाई दिने गरेको पश्चिमान्चल क्षेत्रीय अदालतका निर्णयमा अ.बं. १८४ र अ.बं. १८५ नं.को कानुनी त्रुटि देखिँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने मिति ०४०।९।२५ को यस अदालतको डिभिजन बेञ्चको आदेश ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दामा श्री ५ को सरकारको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विपक्षी प्र.सुशिला तिवारीको तर्फबाट विद्वान विरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विपक्षी प्र. तारानाथ तिवारीको तर्फबाट विद्वान अधिवक्ता श्री बसन्त राय भण्डारी र विपक्षी गिरीराज तिवारीको तर्फबाट विद्वान अधिवक्ता श्री लोकभक्त राणाको बहस जिकिर समेत सुनियो ।
१७. प्रस्तुत कर्तव्य ज्यान मुद्दामा पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव केरहेछ निर्णय दिनुपरेको छ ।
१८. यसमा मृतक गीता तिवारीले डोरीकोपासो लगाई झुण्डीमरेको तारानाथ तिवारीले देखेको हुँदा लाशजाँच गरि पाउँ भन्ने गिरीराजको जाहेरीमा उल्लेख भएको र गीता तिवारी झुण्डी मरेको नभई आमा शुशिला तिवारी, बाबु तारानाथ, दाजु गिरीराज, भाइ एकराज समेत भई कर्तव्य गरी मारेका भन्ने चर्चा भइरहेकोले पक्री ल्याएको कानुन बमोजिम सजायँ हुनुपर्छ भन्ने प्र.ह.ज्ञानबहादुरको जाहेरी प्रतिवेदनमा उल्लेख भएको देखिन्छ ।
१९. मृतक गीताको आङमा रातो र निलो डामहरू देखिएको बायाँ आँखा सुन्निएको र आँखाबाट रगत बगी सुकेको घाँटीमा २ वटा डोरीको निलो डाम देखिएको र सो डाम १ इन्च मोटाई भएको भन्ने मिति ०३७।३।३२ को लाश प्रकृति मुचुल्कामा उल्लेख भएको पाइन्छ ।
२०. सडे गलेको लाश भएकोले पोष्टमार्टम गर्न नमिलेको हुँदा मृत्युको कारण भन्न नसकिने भनी ०३७।४।१ को श्री ५ को सरकार जि.का.स्वास्थ्य शाखा गोरखाका का.मु.सिनियर मेडिकल अफिसरले राय व्यक्त गरेको कुरा लाश जाँचको प्रतिवेदनमा उल्लेख भएको देखिन्छ ।
२१. लाशको प्रकृति हेर्दा कर्तव्यबाट मरेको जस्तो लाग्यो तर मौकामा नदेखेको र सो दिन आमा र बहिनी घरमा भएको हुँदा कसले कर्तव्य गरी के भई गीता मरेको हो सो आमालाई नै थाहा हुनुपर्छ भनी प्रहरीमा सुशिला तिवारीको छोरा गिरीराजले बयान गरेको र मिति ०३७।३।३२ को लाश प्रकृति मुचुल्का हुँदा स्वयं जाहेरवाला गिरीराज तिवारीले सरजमीनले भने बमोजिम लेखिएको ठीक छ भनी ल्याप्चे हस्ताक्षर गरेको पाइन्छ । साथै घाँस काट्न जा भन्दा नमानेकोले दाउराले २ चोटि मृतक गीतालाई हिर्काएको मरी हाली, कसैसँग हल्ला नगरी बाबु र दाजुलाई बोलाई ल्याउ भनी आमा शुशिलाले भनेको भन्ने निज शुशिलाको छोरा एकराजले प्रहरीमा बयान गरेको र आफूले नभनेको नलेखाएको कागजमा प्रहरीले सही गरायो भनी एकराजले कतै उजूर गरेको पनि देखिँदैन । प्र.शुशिला तिवारी, तारानाथ, गिरीराजले अदालतमा इन्कारी बयान गरे तापनि ११ वर्षकी मृतक गीताको मानसिक असन्तुलन भई आफैं झुण्डी मरेको भन्नलाई गीता तिवारी पहिले देखि नै पागल केही थिएन म काम गर्न सो घरमा जाँदा राम्रो मिजाससँग बोल्थिन् भनी कृष्ण बहादुर लोक्पाले प्रहरीमा कागज गरेको देखिन्छ र गीता तिवारीको मानसिक असन्तुलन भएको कुनै सबूद प्रमाण पनि मिसिलमा देखिँदैन । मृतक गीताको आङमा रातो निलो डाम भएको आँखा सुन्निएको, आँखाबाट रगत बगी सुकेको भन्ने मिति ०३७।३।३२ को लाश प्रकृति मुचुल्कामा उल्लेख भएको र सो लाश प्रकृति मुचुल्का गिरीराज स्वयं उपस्थित भएको छ र आफूले जन्माएको छोरी गीतालाई मारांै भन्ने मेरो कुनै रिसइवी नभएको घाँस काट्न जा भन्दा नमानेकीले रिसको झोकमा हान्दा मरेकी हो भनी प्रहरीमा शुशिला तिवारीले बयान गरेको पाइन्छ । अदालतमा शुशिला, तारानाथ, गिरीराजले गीतालाई कर्तव्य गरी मारेको छैन भनी इन्कारी भए तापनि रक्षा शिक्षा दिने आफ्नो आमा शुशिलाले आफ्नो प्यारी छोरी गीतालाई घाँस काट्न जा भनी अर्हाउँदा नमानेकी हुँदा मर्नेको हितको लागि कुटपीट गर्दा भवितव्यमा परी गीताको मृत्यु भएको देखिन्छ । तसर्थ प्र.शुशिलाको हकमा ज्या.सं.को ६(३) बमोजिम रु. ५०। जरिवाना हुने ठहर्छ । प्र.शुशिला तिवारीलाई आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भनी पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ हदसम्म उल्टी हुन्छ । प्र.तारानाथ र गिरीराजको हकमा प्र.तारानाथ र गिरीराज मृतक गीतालाई मार्ने मतलवमा पसेको मिसिलबाट देखिन्न । ज्या.सं.को १४ नं. को दावीमा तारानाथ र गिरीराज उपर ज्या.सं.को १७(३) लाग्ने स्थिति देखिँदैन । प्र.तारानाथ प्रधानपञ्चलाई बोलाउन गएको र प्र.गिरीराज जाहेर गर्न गएकोबाट ज्या.सं.को २५ नं. पनि लाग्ने स्थिति देखिँदैन । अतः प्र.तारानाथ तिवारी र प्र.गिरीराज तिवारी समेतले आरोपित कसूरबाट सफाई पाउने ठहराएको पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुन्छ । तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.शुशिलालाई रु. ५०। जरिवाना हुने हुँदा प्र.शुशिलाले सफाई पाउने ठहराई शुरू जि.अ.मा लेखी पठाउने गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको लगत कट्टा गरी ऐ. बमोजिम हुने हुँदा प्र.शुशिलाके शुरूबाट गर्ने गरेको कैद वर्ष १० नलाग्ने हुँदा लगत कट्टा गर्नु भनी शुरू जि.अ.मा लेखी पठाएको पश्चिमान्चल क्षेत्रीय अदालतको लगत कायमै राख्नु भनी शुरू जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.....१
ऐ. बमोजिम प्र.शुशिला तिवारीलाई ज्या.सं.को ६(३) बमोजिम रु. ५०। पचास जरिवाना लाग्ने हुँदा प्र.शुशिला तिवारीबाट नगद धरौट रु. ४७०१। फिर्ता माग्न आए केही दस्तूर नलिई प्र.लाई फिर्ता दिनु भनी पश्चिमान्चल क्षेत्रीय अदालतले शुरू जि.अ.लाई लेख्ने गरेको लगत कायम नराखी प्र.शुशिला तिवारीबाट निजलाई जरिवाना भएको रु. ५०। असूल उपर गरी बाँकी रु. ४६५१। फिर्ता माग्न आए केही दस्तूर नलिई प्र.लाई फिर्ता दिनु प्र.शुशिला तिवारीलाई निजबाट राखेको नगद धरौट रु. ४७०१। फिर्ता दिइसकेको भए प्र.शुशिला तिवारीबाट निजलाई लागेको जरिवाना रु. ५०। असूल उपर गर्नु भनी लगत कस्न शुरू जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु........२
ऐ. ऐ. बमोजिम प्र.गिरीराज र प्र.तारानाथ तिवारीको हकमा पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुने हुँदा शुरूले कैद वर्ष १ गर्ने गरेको नलाग्ने हुँदा लगत कट्टा गर्नु भनी शुरू जि.अ.मा लेख्ने गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको लगत कायमै राख्नु भनी ऐ. ऐ..........................३
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल बैशाख १३ गते रोज ५ शुभम् ।