निर्णय नं. २३७७ - कर्तव्य ज्यान

निर्णय नं. २३७७ ने.का.प. २०४२ अंङक ५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको फौ.पु.नं.४३५
सम्वत् २०४१ सालको फौ.पु.नं.६८१
सम्वत् २०४१ सालको फौ.सा.नं.११८
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी: जि.ओखलढुङ्गा,माम्खा गा.पं.वा.नं.९ हाल उदयपुर कारागारमा कैदमा थुनिई बस्ने मान बहादुर कार्की ।
विरूद्ध
पुनरावेदक/वादी: बोध बहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी: जि.ओखलढुङ्गा सेनी गा.पं.वा.नं.५ चिसपानी घर भई जि.का. कारागार शाखा, ओखलढुङ्गामा थुनामा बस्ने चन्द्र बहादुर बस्नेत ।
फैसला भएको मिति:२०४२।५।२।१ मा
स्वतन्त्र प्रमाणको अभावमा कसूरमा सजायँ पाउने सह अभियुक्तबाट पोलाई माग्दाकै कारणले मात्र प्र.लाई कसूरदार ठहर्याउन नल्मिने ।
(प्रकरण नं.२२)
फैसला
न्या.पृथ्वी बहादुर सिंहः पूर्वान्चल क्षेत्रीय अदालतको फैसला उपर प्र.मान बहादुर कार्की र श्री ५को सरकारको पुनरावेदन परी तथा साधक जाँच समेतका लागि पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकार रहेछ ।
२. ०३९।३।२२ गते दिनको १ बजे बच्चा रोई रहेको सुनी कटेरो घरमा गई हेर्दा भाउजू नन्दकुमारी मरी रहेकी चन्द्र बहादुरले हल्ला गरेबाट म समेत गई हेरँे । कर्तव्य गरी मार्ने निजको लोग्ने मान बहादुर वा अरु को छन् पत्ता लगाई कर्तव्यवाला उपर कानुनी कारवाही गरिपाउँ भन्ने समेत बोधबहादुर कार्कीको ०३९।३।२४ को जाहेरी दर्खास्त ।
३. मेरो पहिलो पट्टिको ससुरा चन्द्र बहादुरले बुढी आइमाई ल्याई स्वास्नी बनाउनु भयो, अब मेरी छोरी ल्याई दिन्छु त्यसलाई पन्छाउनु पर्छ भनेकाले स्वीकार गरी ०३९।३।२१ गते बेलुका ८ बजेतिर ससूराले घाँटी थिच्ने र मैले खुट्टा समाउने गरी नन्दकुमारीलाई मारेको हो भन्ने मान बहादुरको प्रहरीमा भएको कागज ।
४. नन्दकुमारीलाई मान बहादुर कार्की र चन्द्र बहादुर बस्नेतले मारेको हुनुपर्छ भन्ने केही र मान बहादुरले मारेको हो, चन्द्र बहादुर उपर शंका लाग्दैन भन्ने केही भएको सरजमीन मुचुल्का ।
५. वारदातमा समावेश छैन, मैले समेत भई नन्दकुमारीलाई मारेको होइन, छोरी नपठाई दिएको रिसले मलाई पोलेको हो भन्ने समेत चन्द्र बहादुर बस्नेतको प्रहरीमा भएको कागज ।
६. बाबु चन्द्र बहादुर र म ०३९।३।२० गते रुम्जाटार गा.पं.का अ.स.ई.ललितप्रसादको घरमा बहुविवाहको उजूरी लेखाउन गएका हौं र २१ गते बाबु र म सँगै घर फर्किएका हौं बाबुले नन्दकुमारीलाई कर्तव्य गरी मारेको होइन भन्ने नन्दमायाले प्रहरीमा गरेको कागज ।
७. नन्दकुमारीलाई निजको लोग्ने मान बहादुर र चन्द्र बहादुर समेत भई मार्नु मराउनु गरेको स्पष्ट देखिन आएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
८. ०३९।३।२१ गते ससूरा चन्द्र बहादुरले मेरी छोरीलाई सौता हालेछौ, त्यसलाई तह लगाउने उपाय म गर्छु भनेकाले स्वीकार गरी कान्छी श्रीमती बसेको गोठ घरमा गई ससूराले घाँटीमा दुई हातले समाई मुन्ट्याउँदै ढोका छेउमा ल्याएँ । खुट्टा छटपट गर्दा समाई देउ भन्दा मैले खुट्टा समाएको सम्म हो, मैले मारेको होइन, ससूरा चन्द्र बहादुरले मारेको हो भन्नेसमेत मान बहादुर कार्कीले अदालतमा गरेको बयान ।
९. म समेत भई मृतक नन्दकुमारीलाई मारे मराएको होइन, बहुविवाहमा उजूर गरेको रिसइवीले पोलेका हुन् भन्ने समेत चन्द्र बहादुरले अदालतमा गरेको बयान ।
१०. चन्द्र बहादुर र मान बहादुर समेतले पूर्व योजना बनाई मृतक नन्दकुमारीलाई कर्तव्य गरी मारेकोले सर्वस्वसहित जन्मकैद हुन्छ भन्ने ०३९।८।१७ को ओ.जि.अ.को फैसला ।
११. सो फैसला उपर चन्द्र बहादुर बस्नेत र मान बहादुरको पुनरावेदन ।
१२. शुरू जि.अ.को इन्साफ फरक पर्ने देखिएकोले अ.बं. २०२ बमोजिम विपक्षी झिकाउने पूर्वान्चल क्षेत्रीय अदालतको ०४०।२।३१ को आदेश ।
१३. शुरूले प्र.मान बहादुरलाई कसूरदार ठहर्याएको इन्साफ मनासिव छ । चन्द्र बहादुर बस्नेतलाई कसूरदार ठहर्याएकोसम्म शुरूको इन्साफसँग सहमत हुन सकिएन । निज चन्द्र बहादुर बस्नेतले सफाई पाउने ठहर्छ भन्ने समेत पूर्वान्चल क्षेत्रीय अदालत को मिति २०४०।१२।१५।४ को फैसला ।
१४. सो फैसला उपर चन्द्र बहादुर बस्नेतको हकमा श्री ५ को सरकारको र मान बहादुर समेतको पुनरावेदन परी तथा साधक जाँचको लागि समेत पेश हुन आएको रहेछ ।
१५. नियम बमोजिम पेश हुनआएको प्रस्तुतमुद्दाको पुनरावेदन सहित मिसिल अध्ययन गरी पु.वादी तर्फवाट खटिई उपस्थित हुनुभएका विद्वान सर्वोच्च अदालतश्री कृष्ण प्रसाद श्रेष्ठ र विपक्षी पुनरावेदक प्र.मान बहादुर कार्कीका हकमा खटाइएको वै.अ.श्री पुण्यप्रसाद अर्यालले प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।
१६. अब पूर्वान्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सोको निर्णय दिन परेको छ ।
१७. निर्णयतर्फ विचार गर्दा यसमा मिसिल संलग्न रहेको लाश प्रकृति मुचुल्का समेतबाट मृतक नन्दकुमारीको कर्तव्यबाट मृत्यु भएको कुरामा विवाद देखिएन ।
१८. प्र.मान बहादुर कार्की प्र.चन्द्र बहादुर बस्नेत उपर नन्दकुमारीलाई मारे उपर अभियोग लगाई प्रहरी प्रतिवेदन पर्न आएको देखिन्छ ।
१९. प्र.हरू दुबैलाई शुरू जि.अ.ले सर्वस्वसहित जन्मकैद हुने ठहर्याएकोमा प्र.मध्ये चन्द्र बहादुरलाई अभियोगबाट सफाई दिई प्र.मान बहादुरको हकमा शुरूको इन्साफ सदर गरी पूर्वान्चल क्षेत्रीय अदालतबाट फैसला भएको देखिन्छ ।
२०. प्र.मान बहादुर कार्कीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरेको इन्साफ ठीक छ छैन भनी हेर्दा प्रथमतः निज प्र.मान बहादुर कार्कीले आफू समेत भई नन्दकुमारीलाई मारेको हो भनी प्रहरी तथा अदालतमा साविती बयान गरेको देखिन्छ । निज प्र.मान बहादुरको भाइ बोधबहादुरले जाहेरीमा निज प्र.मान बहादुरलाई किटानी शंका देखाई जाहेर गरेको पाइन्छ । सरजमीनका केही व्यक्तिले मान बहादुरले मारेको हुनुपर्छ भनी निज उपर शंका देखाई अदालतमा समेत बकी लेखाई दिएका छन् ।
२१. उपरोक्तानुसार प्र.मान बहादुरको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिन आएको छ । यस्तो अवस्थामा निज प्र.मान बहादुर कार्कीले आफ्नो कान्छी श्रीमती नन्दकुमारीलाई मारेको होइन भन्न सकिने स्थिति देखिँदैन । तसर्थ निज पुनरावेदक प्रतिवादी मान बहादुरलाई प्रहरी प्रतिवेदन दावी बमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरू ओखलढुंगा जि.अ.को इन्साफ सदर गरेको पूर्वान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । निज मान बहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२२. अब प्र.चन्द्र बहादुर बस्नेतको हकमा विचार गर्दा प्र.मानबहाुदरले प्र.चन्द्र बहादुर मेरी अघिल्ली श्रीमती पट्टिका ससुरा हुन्, निजले मेरी छोरीलाई सौता हालेछौ म मेरो छोरी ल्याई दिन्छु, त्यस (नन्दकुमारी) लाई ठीक पार्नु पर्छ भनेकाले मानी निजले घाँटी थिची मैले खुट्टा समाएकोसम्म हो भनी प्रहरी तथा अदालतमा बयान गरेको तर प्र.चन्द्र बहादुर बस्नेतले आरोपित कसूरमा प्रहरी तथा अदालतमा समेत इन्कारी रही बहुविवाहमा उजूर गरेको कारणले पोलेका हुन् भनी बयान गरेको पाइन्छ । जाहेरी दर्खास्तमा पनि निज प्र.चन्द्र बहादुरको नाम उल्लेख भएको पाइन्न । सरजमीनका मानिसहरू धर्मध्वज, भक्तबहादुर, दीपबहादुर, बल बहादुर समेत चन्द्र बहादुर उपर शंका लाग्दैन भनी अदालतमा समेत बकी लेखाएका छन् । चन्द्र बहादुरले लाएको कपडाको रगतको दाग भनी जाँच्न पठाएकोमा दौरा सुरुवाल जाँच गर्दा कुनै ठाउँमा पनि रगतको दाग नबुझिएको भनी लेखिआएको पाइन्छ । तसर्थ अन्य स्वतन्त्र प्रमाणको अभावमा कसूरमा सजायँ पाउने सहअभियुक्तबाट पोलाई माग्नाकै कारणले मात्र प्र.चन्द्र बहादुरलाई कसूरदार ठहर्याउन नमिल्ने हुँदा यस्तो ठोस सबूद प्रमाण तथा चस्मदिद पोल्ने सहअभियुक्त बाहेक अन्य गवाहको समेत अभावमा निज प्र.चन्द्र बहादुर बस्नेतलाई यस्तो गम्भीर अभियोगमा सजाय गर्न मिल्दैन । निजलाई अभियोगबाट सफाई दिने गरेको पूर्वान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा सो पनि सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन तहबाट इन्साफ भएको हुँदा साधकको लगत काटी दिनु । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव
इतिसम्वत् २०४२ साल भाद्र २ गते रोज १ शुभम् ।