निर्णय नं. २३७९ - जग्गा खिचोला हक कायम दर्ता

निर्णय नं. २३७९ ने.का.प. २०४२ अङ्क ५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत् २०४० सालको दे.पु.नं. ६२९, ६२८
मुद्दा : जग्गा खिचोला हक कायम दर्ता ।
पुनरावेदक/प्रतिवादी:ल.पु.जि.सुनाकोठी गा.पं.वडा नं. ८ ढोलाहिटी बस्ने जगत बहादुर खत्री ।
विरूद्ध
पुनरावेदक/वादी : जिल्ला मकवानपुर हटिया गा.पं.वडा नं. ८ बस्ने क्षेत्र बहादुर थापा क्षेत्री ।
फैसला भएको मिति:२०४२।५।५।४ मा
आफ्नो हक नपुग्ने जग्गामा दावी गरेको देखिनाले वादीको हकको जग्गामा प्रतिवादीले खिचोला गरेको देखिँदा वादी दावा पुग्न नसक्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक प्रतिवादी तर्फबाट :विद्वान अधिवक्ता श्री शम्भु थापा
पुनरावेदक वादी तर्फवाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुबै पक्षको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ :
२. मणिराज माझीका नाउँमा १९९३ सालको नम्बरी श्रेस्तामा प्र.दोस्तीय मौजे हर्दियाका मेठबन्दी भित्रको रै.नं. २ कि.नं. २ मा ज.वि. १–७–१५ दर्ता भएकोमा पछि उक्त जग्गा मध्ये काले माझीले ज.वि. ०–१३–१७ र जतमान माझीले ज.वि ०–१३–१८ पर्ति सकारेको र २०२९।१२।१९ मा काली माझीबाट पूर्व बाटो पश्चिम श्यामबहादुर उत्तर रामहरि दक्षिण श्यामबहादुर समेत यति ४ किल्ला राखी उक्त ज.वि. ०–१३–१७ जग्गा म.क.मालबाट राजीनामा रजिष्ट्रेशन पारित गरी लिई आएको जम्मा कित्ता १ र जि.म.फापरबारी गा.पं.वडा नं. ८ को रै.नं. १७ को कि.नं. १५ को पूर्व पर्ति पश्चिम दलबहादुर उत्तर हरि प्रसाद दक्षिण दलबहादुर यति ४ किल्ला भित्रको ज.वि. ०–६–६ जग्गा हाल सर्भे नापीका बखत उक्त जग्गा कि.नं. ६६८ मा निज दाताकै नाममा ज.वि. ०–५–१२ कायम भई २०३२।१।४।५ मा जि.म.हटिया गा.पं.वडा नं. ८ फुर्केचौर बस्ने गणेशबहादुर भण्डारी क्षेत्रीबाट म.क.माल मार्फत राजीनामा रजिष्ट्रेशन पारित गरी लिई आफ्नो जग्गा कित्ता १ समेतका कित्ता २ जग्गा मेरो हक भोग दर्ता तिरो भरो भई आएको नम्बरी जग्गा हो । हाल नापीका बखत म वीरगन्ज क्याम्पसमा अध्ययनमा व्यस्त भई फिल्डमा उपस्थित हुन आउन नसकेको कारणबाट मेरो उक्त साविक कि.नं. २ को जग्गा हाल कि.नं. ६७३ र ६७४ मा कित्ताकाट भई कि.नं. ६७३ मा ज.वि. ०–१५–९।। र कि.नं. ६७४ मा ज.वि. १–१४–७।। नाप नक्सा समेत भई नाम खाली रहन गएको रहेछ । नाम खाली भई मेरो नाममा दर्ता हुन नसकी पछि दर्ता गरिपाउँ भनी सम्बन्धित नापी टोलीमा निवेदन समेत दिइसकेको छु । रजिष्ट्रेशन पारित राजीनामाको आधारमा दर्ता तिरो भरो गरी अविच्छिन्न र निर्विवाद रूपबाट हकभोग गरिआएको साविक कि.नं. २ र १५ को मेरो हालको कि.नं. ६७३, ६७४, ६६८ मा तीन कित्ता जग्गामा कुनै हक दावी नै पुग्न नसक्ने उपरोक्त विपक्षीहरूले नापीमा अनाधिकार झुठ्ठा उजूरी निवेदन दिई मेरो नम्बरी जग्गा हात पार्ने दुषित उद्देश्यले लिखित खिचोला जनाउन आउनुभएको छ । विपक्षी जगतबहादुरले दावी गर्न आएको उक्त मौजाको जग्गाहरू साविक कि.नं. १४ मा ज.वि. १–१४–४ जग्गा निजले आफ्नो दाता रुन्के माझीबाट प्राप्त गर्नु भएको छ । निजले कि.नं. १३ को जग्गा हटिया गा.पं.वडा नं. ८ बस्ने शंकर भन्ने चित्राबहादुर कार्कीलाई बिक्री गर्दा कि.नं. १३ बाट केही पैरो खोला लागी केही मात्र जग्गा बाँकी हुँदा कि.नं. १३ को जग्गामा कि.नं. १४ को जग्गा समेत घुसाई श्रेस्तामा मात्र कि.नं. १४ को सम्पूर्ण जग्गा बाँकी राखी बिक्री भएको छ उक्त राजीनामा भएको जग्गा सहदेव थापाका नाममा नाप नक्सा समेत भएकोमा विपक्षीको साविक कि.नं. १९ को जग्गा मेरो साविक कि.नं. १५ हाल कि.नं. ६६८ को जग्गाबाट दक्षिण पश्चिम कुनामा पर्दछ । विपक्षी अकलबहादुरले नापी टोलीमा निवेदन दिँदा कि.नं. ६७३ को जग्गामा श्यामबहादुर श्रेष्ठसँग घरायसी राजीनामाबाट खरिद गरी लिनु भएको भनी लेख्नु भएको छ । विपक्षीले खरिद गरिलिएको श्यामबहादुरको जग्गा खोल्चीबाट दक्षिण कुनामा पर्दछ । उक्त दक्षिण कुनामा श्यामबहादुरबाट जग्गा खरिद गरी लिई मेरो हक भोग दर्ता तिरोको नम्बरी जग्गामा नापीमा खिचोला जनाउनु विपक्षीलाई हक पुग्न सक्दैन । कि.नं. ६७४ को जग्गा सुरेन्द्रराज बानियाबाट लिएको भन्ने विपक्षीको नापीमा उजूरी निवेदन रहेछ । सुरेन्द्रबाट विपक्षीले लिएको कि.नं. ३ को जग्गा मेरो कि.नं. २ को हाल ६७४ भित्र पर्न आउने होइन सुरेन्द्रराज बानियाको जग्गा मेरो उक्त हक भोग दर्ताको कि.नं. ६७३ र ६७४ बाट उत्तरपूर्वतर्फ पर्न आउँछ । कुरा यथार्थ छर्लङ्ग हुन आउने नै छ । साविक कि.नं. २ र कि.नं. १५ को हाल कि.नं. ६७३ र ६६८ को सम्पूर्ण कित्ता मेरै हक भोग दर्ता तिराको निर्विवाद स्वामित्वको नम्बरी जग्गा हो निजहरूको हक पुग्न सक्ने होइन । रु. १०००। मोल पर्ने मेरो उक्त ३ कित्ता जग्गा नापीका बखत जबरजस्ती गरी हात पार्ने दुषित भावनाले विपक्षीहरूले नापीमा झुठ्ठा उजूरी निवेदन दिएको भन्ने प्रष्ट देखिएकै हुँदा कि.नं. ६७३, ६७४ र ६६८ को उक्त कित्ताहरूमा जनिएको खिचोला मेटाई क्षेत्रीय किताबमा मेरै नाम कायम गरी उक्त तीनै कित्ता जग्गा मेरै नाममा दर्ता समेत गरी झुठ्ठा दावी गर्ने विपक्षीहरूलाई सजायँ गरी न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादी क्षेत्रबहादुरको फिराद दावी भएको छ ।
३. हर्दिया मोठ कि.नं. २ को ०–१३–१७ जग्गा काले माझीबाट किनी हक हुन आएको भनेको जग्गा विपक्षीको दावी अनुसारका कि.नं. ६७३, ६६४ को जग्गा नभई कि.नं. ६६७ को हाल निज विपक्षीले राजीनामा गरिदिई जि.म.हे.गा.पं.वडा नं. ८ फर्केचौर बस्ने हरि प्रसादको हक भएको छ । विपक्षीको राजीनामा र उक्त जग्गाको ४ किल्ला हेरेमा प्रष्ट हुन आउँछ । कि.नं. ६७३ को जग्गा म आफैंले खनजोत भोगचलन गरिआएको जग्गा हो कि.नं. ६६४ को जग्गा रामदाश माझीले मोहियानीमा कमाई आएको छ । हाल कि.नं. ६६८ को हकमा वास्तविक कुरा के छ भने हाल कि.नं. ६७१ हुन आएको जग्गा मैले गणेशबहादुरलाई जि.म.हे.गा.पं.वडा नं. ८ फुर्केचौर बस्ने र निजले जि.म.हे.गा.पं. वडा नं. ८ ठूलोदमार बस्ने चैतसिंह बानियालाई र निजको पनि हे.न.पं.वडा नं. ६ चौपडा बस्ने हमिद मियाँलाई बिक्री गरेबाट निज हमिद मियाँको नाममा छ । यसरी चेतसिंह बिक्री गरिसकेपछि फेरि त्यही जग्गाको नाता देखाई निज गणेशबहादुर बिक्री गर्ने र विपक्षी किन्ने गरी मेरो कि.नं. ६७८ को जग्गाको किल्ला हाली हाल यो झुठ्ठा दावी गर्न आएको प्रष्ट हुन आएको छ । मेरो साविकमा हर्दिया मौजामा कूल जग्गा ४–३–१९ भएकोमा यो विपक्षीले दावी गरेको ३ कित्ता र अन्य ६५८, ६७० समेत जम्मा ५ कित्ताको गरी जम्मा विगहा ४–६–१० हुन आई साविक १–२ कठ्ठा मात्र घटी बढी हुन आई ठीक मिल्न आउँछ । यो पाँच कित्ता जग्गा विपक्षी पहिले दावी विरोध पर्दा ०३२।१२।११ मा फिल्ड सरजमीन मुचुल्का भएको थियो । फापरबारी गा.पं.को वडा नं. ८ र ९ को सदस्यहरू र अन्य ८ जना मानिस बसी भएको उक्त मुचुल्काले उपरोक्त पाँचै कित्ता जग्गा मेरो हो भनी दिएको थियो । यदि वादी दावीको ३ कित्ता जग्गा वादीको हुँदो हो त त्यस किसिमको सरजमीन पनि हुँदैन थियो । झगडा परेको जग्गा कसको हक भोग चलनको हो भनी साँध सँधियार स्थानीय सरजमीन तथा पञ्चायतहरू बुझे प्रष्ट थाहा हुने भएको हुनाले सो बुझी इन्साफ पाई विपक्षीको झुठ्ठा दावाबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जगतबहादुर खत्रीको प्रतिउत्तरपत्र भएको ।
४. प्रतिवादी अकलबहादुर कठेतले ०३४।८।२८ गते तामेल भएको शुरू म्यादै गुजारी बसेको कि.नं. ६६८ को विवादास्पद जग्गाको हकमा सर्भे उतारको फिल्डबुकको चार किल्लासँग वादीले उल्लेख गरेको मिति २०३२।१।४।५ को राजीनामाको किल्ला नभिडेको र जग्गाको क्षेत्रफल ज.वि. ०–६–६ हुनु पर्नेमा ज.वि. ०–५–१२ कायम भएको भनी फिरादपत्रमा उल्लेख गरेकोमा यसरी जग्गा घटी भएको कुरा विश्वास गर्न नसकिने हुँदा कि.नं. ६६८ को ज.वि. ०–५–१२ वादीको राजीनामा भित्रको भन्न सकिएन । तसर्थ विवादास्पद कि.नं. ६७३ र ६७४, ६६८ को जग्गा मध्ये कि.नं. ६७४ को ज.वि. १–१४–७ मध्ये पश्चिमउत्तरतर्फको ज.वि. ०–१३–१७ मा वादीको हक भएको देखिएकोमा यस जग्गा मेरो तिरो भित्रको जग्गा हो भनी प्रतिवादीले भनेबाट नै अनाधिकार खिचोला गरेको देखिँदा वादीले सो खिचोला मेटाई उक्त ज.वि. ०–१३–१७ आफ्नो नाममा दर्ता समेत गराई लिन पाउने ठहर्छ भन्ने समेत ना.अं.अ.को फैसला ।
५. तीनै कित्ता जग्गा मेरो फिराद दावा बमोजिम मेरै ठहर कायम गरिदिनु पर्नेमा नगरी केवल ६७४ को उत्तर पश्चिम तर्फको ज.वि. ०–१३–१७ मात्र दिलाउने गरी गरिएको ना.अं.अ.को फैसला प्रत्यक्ष अन्यायपूर्ण एवं गैरकानुनी हुँदा ना.अं.अ.को कि.नं. ६६८, ६७३ को दुई कित्ता र कि.नं. ६७४ को जम्मा ज.वि. १–१४।। मध्ये उक्त कित्ताको पूर्वदक्षिणतर्फको ज.वि. १–०–१०।। समेत मलाई दिलाई दावा बमोजिम नदिलाउने गरी गरेको फैसलासम्म उल्टाई फिराद दावा बमोजिम हुने गरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादी क्षेत्रबहादुरको पुनरावेदन पत्र ।
६. मेरो कि.नं. ६७४ को जग्गाबाट ०–१३–१७ विगहा जग्गा विपक्षीको ठहर्याउने गरेको हदसम्म ना.अं.अ.को फैसला बदर गरी मेरो प्रतिवाद बमोजिम सम्पूर्ण जग्गा मेरो हुँदा विपक्षी वादीको दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको जगतबहादुर खत्रीको पुनरावेदन पत्र ।
७. वादीको राजीनामाको किल्लासँग झगडा परेको कित्ता नं. ६७४ को किल्लाहरू मिल्न भिड्न आएको वादीको उक्त राजीनामाको जग्गा अन्यत्र छ भनी प्रतिवादीले देखाउन नसकेकोले कित्ता नं. ६७४ को जग्गामा वादीकै हक देखिन आयो । कि.नं. ६७४ मा प्रतिवादीले खिचोला गरेको र वादीको नाममा दर्ता हुने देखिन आयो । अब कि.नं. ६७३ पनि वादीको उक्त राजीनामा भित्रको हो कि भन्ने तर्फ विचार गरिएमा प्रतिवादी जगत बहादुरले वीर बहादुरबाट गराई लिएको २०२९।११।२९ को राजीनामा वादीलाई सुनाउँदा सद्दे भनी बयान गरेको उक्त राजीनामाको किल्लामा देखिन साँध धनमान माझी लेखिएकोले कि.नं. ६७३ को दक्षिण साविक धनमानको कि.नं. ६७२ भएको देखिँदा प्रतिवादी जगतबहादुरको राजीनामाको जग्गा कि.नं. ६७३ भएको प्रमाणित हुन आयो । अतः कि.नं. ६७३ को जग्गामा वादीको दावी नपुग्ने ठहराएको ना.अं.अ.को इन्साफ मनासिव देखियो । अब कि.नं. ६६८ को हकमा विचार गरिएमा वादीले पेश गरेको राजीनामाको किल्लाहरूसँग झगडा परेको कि.नं. ६६८ को जग्गा मिले भिडेको देखिएको प्रतिवादी जगत बहादुरले कि.नं. ६६८ मा आफ्नो हकको श्रोत देखाउन नसकेकोले प्रतिवादी जगत बहादुरले आफ्नो हक नपुग्ने जग्गामा दावी गरेको देखिनाले वादीको हकको कि.नं. ६६८ को जग्गामा प्र.ले खिचोला गरेको र वादीले आफ्नो नाममा दर्ता गराई लिन पाउँछ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
८. मध्यमान्चल क्षेत्रीय अदालतको उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी प्रतिवादी दुवै पक्षको निवेदन परी अनुमति पाई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको वा. प्रेम बहादुर र पुनरावेदक प्रतिवादी जगतबहादुरलाई रोहवरमा राखी पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान विरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाको बहस जिकिर समेत सुनियो ।
१०. प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ ? निर्णय दिनु पर्ने हुन आयो ।
११. यसमा मणिराम माझीका नाममा १९९३ सालको नम्बरी श्रेस्तामा प्र.दोस्तीया मौजे हर्दियाका मेठबन्दी भित्रको रै.नं. २ कि.नं. २ मा ज.वि. १–७–१५ दर्ता भएकोमा पछि उक्त जग्गा मध्ये काली माझीले ज.वि. ०–१३–१७ र धनमान माझीले ज.वि. ०–१३–१८ पर्ति सकार गरेकोमा काले माझीबाट पूर्व बाटो पश्चिम श्यामबहादुर उत्तर रामहरि दक्षिण श्यामबहादुर समेत यति ४ किल्ला भित्रको ज.वि. ०–१३–१७ मिति २०२९।१२।१९ मा रजिष्ट्रेशन गराई राजीनामा गराई लिएको हाल सर्भे नापीको जि.म. फापरबारी गा.पं.वडा नं. ८ को कि.नं. ६७३ र ६७४ को कित्ता १ र जि.म.गा.पं.फापरबारी वडा नं. ८ रै.नं. १७ कि.नं. १५ को पूर्व पर्ति पश्चिम दलबहादुर उत्तर हरि प्रसाद दक्षिण दलबहादुर यति ४ किल्ला भित्रको ज.वि. ०–६–६ हाल सर्भे नापीमा उक्त जग्गा कि.नं. ६६८ मा निज दाताको नाममा ज.वि. ०–५–१२ कायम भई गणेशबहादुर भण्डारी क्षेत्रीबाट मिति २०३२।१।४।५ मा राजीनामा पारित गरिलिएको कित्ता १ समेत ३ कित्ता जग्गामा प्रतिवादीहरूले खिचोला गरेकोले सो मेटाई उक्त जग्गा मेरो नाममा दर्ता गरिपाउँ भन्ने वादी र वादीले दावी गरेको ज.वि. ०–१३–१७ हाल नापी हुँदा कि.नं. ६७३ र ६७४ बाट नापी भएको नभई कि.नं. ६६७ बाट नापी भएको हो हाल विपक्षीले राजीनामा गरिदिई हरि प्रसादको हक भएको छ र कि.नं. ६६८ को जग्गाको हकमा मैले गणेशबहादुरलाई कि.नं. ६७१ को जग्गा बिक्री गरेकोमा निज गणेश बहादुर बिक्री गर्ने र विपक्षी किन्ने गरी मेरो कि.नं. ६६८ को जग्गाको किल्ला हाली यो झुठ्ठा दावी गरेको सम्म हो यी तीनै कित्ता जग्गाहरू मेरो तिरोको ज.वि. ४–३–१९ को भित्रको जग्गा हुन् भन्ने प्रतिवादी भएकोमा सर्वप्रथम विवादको कि.नं. ६७३ को सम्बन्धमा विचार गर्दा कि.नं. ६७३ को दक्षिण साँध नक्सा ट्रेश र अदालतबाट भएको नक्सा मुचुल्का समेतबाट कि.नं. ६७२ भएको देखिएको कि.नं. ६७२ को जग्गा साविक ज.ध.धनमानबाट टिकाराम घिमिरेले राजीनामा लिएको देखिनेमा वादीको राजीनामामा दक्षिण साँध टिकाराम घिमिरेको नाम उल्लेख भएको नदेखिनुको अलावा टिकाराम घिमिरेले धनमानबाट जग्गा राजीनामा लिँदा राजीनामाको उत्तर साँधमा जगतबहादुर लेखिएको समेत देखिँदा कि.नं. ६७३ को जग्गा वादी दावी बमोजिम वादीको राजीनामा भित्रको देखिन आएन प्रतिवादी जगतबहादुरले वीर बहादुरबाट गराई लिएको २०२९।११।१९ को राजीनामा वादीलाई सुनाउँदा वादीले सद्दे भनेको उक्त राजीनामाको दक्षिण साँधमा धनमान माझी भनी लेखिएको र कि.नं. ६७३ को दक्षिणमा धनमानको कि.नं. ६७२ देखिएकोले कि.नं. ६७३ को जग्गा प्रतिवादीको राजीनामा भित्रको देखिन आएको हुँदा उक्त कि.नं. ६७३ को जग्गामा वादी दावी पुग्न सक्ने देखिएन ।
१२. अब कि.नं. ६७४ को हकमा विचार गर्दा वादीले पेश गरेको काले माझीबाट ०२९।१२।१० गतेमा ०–१३–१७ जग्गा रजिष्ट्रेशन पारित गराई लिएको राजीनामा प्रतिवादीलाई सुनाउँदा सद्दे भनी बयान गरेको देखिएको र उक्त कि.नं. ६७४ को जग्गामा आफ्नो हक स्थापित हुने प्रमाण दिन सकेको समेत देखिँदैन । मिसिल संलग्न नक्सा मुचुल्का र सर्भेको नक्सा ट्रेश हेर्दा वादीको राजीनामाको पूर्व किल्ला बाटो भनेकोमा झगडा परेको कित्ता नं. ६७४ को पूर्व बाटो देखिने राजीनामा पश्चिम दक्षिण साँधमा श्यामबहादुर भनी लेखिएकोमा दक्षिण पश्चिम खोल्सा जनिई सोसँग जोडिएको कि.नं. ६७५ को श्यामबहादुरको जग्गा देखिने समेत भई वादीको राजीनामाको किल्लासँग झगडा परेको कित्ता नं. ६७४ को किल्लाहरू मिल्न भिड्न आएको देखिने, वादीको उक्त राजीनामाको जग्गा अन्यत्र छ भनी प्रतिवादी जगतबहादुरले देखाउन नसकेको र निजले कि.नं. ६७४ को जग्गामा दावी गरेकोले वादीको हकको कि.नं. ६७४ मा प्रतिवादीले खिचोला गरेको देखिन आयो । अब कि.नं. ६६८ को हकमा विचार गर्दा वादीले गणेशबहादुर भण्डारीबाट गराई लिएको ०३२।१।४।५ को राजीनामामा प्रतिवादी जगतबहादुरलाई सुनाउँदा सद्दे भनी बयान गरेको उक्त राजीनामामा पूर्व किल्ला प्रति लेखिएकोमा नक्सा ट्रेशमा पूर्व जंगल देखिएको पश्चिम दलबहादुर लेखिएकोमा कि.नं. ६६८ को पश्चिम कि.नं. ६८९ को साविक दलबहादुर देखिने । राजीनामामा उत्तर साँधमा हरि प्रसाद लेखिएकोमा नक्सा ट्रेशबाट कि.नं. ६६८ को उत्तरमा हरि प्रसादको कि.नं. ६६६ को जग्गा देखिई वादीले पेश गरेको उक्त राजीनामाको किल्लाहरु सँग झगडा परेको कि.नं. ६६८ को जग्गा मिलेको भिडेकोले वादीले गणेशबहादुर भण्डारीबाट गराई लिएको राजीनामाको जग्गा कि.नं. ६६८ कै देखिन आएको र प्रतिवादी जगतबहादुरले आफ्नो हक नपुग्ने जग्गामा दावी गरेको देखिनाले वादीको हकको कि.नं. ६६८ को जग्गामा प्रतिवादीले खिचोला गरेको देखिँदा कि.नं. ६७३ को जग्गामा वादी दावी पुग्न नसक्ने र कि.नं. ६७४ र ६६८ को जग्गामा प्र.ले खिचोला गरेको ठहराई वादीले आफ्नो नाममा दर्ता गराई लिन पाउने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उक्त फैसलामा लेखिएका बुँदा प्रमाण समेतको आधारमा मनासिव ठहर्छ । वादी प्र.दुवैपक्षबाट पुनरावेदन दर्ता गर्दा कोर्टफी दाखिल भएको देखिएकोले कसैलाई केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बर प्रसाद सिंह
इतिसम्वत् २०४२ साल भाद्र ५ गते रोज ४ शुभम् ।