शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २३८१ - लिखत बदर हक कायम

भाग: २७ साल: २०४२ महिना: भाद्र अंक:

निर्णय नं. २३८१     ने.का.प. २०४२      अङ्क ५

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

सम्वत् २०४१ सालको दे.पु.नं. ५७९

मुद्दा : लिखत बदर हक कायम ।

 

पुनरावेदक/वादी:महोत्तरी पर्सा पतेली गा.पं.वार्ड.नं.६ बस्ने मदन मिश्र भन्ने मोद नारायण मिश्र ।

विरूद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने मदन भन्ने रामेश्वर मिश्र ।

फैसला भएको मिति:२०४२।५।७।६ मा

 

     सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पनि पर्याप्त हुँदैन ।

(प्रकरण नं.१६)

पुनरावेदक वादी तर्फवाट:विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव

विपक्षी प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्र केशरी बास्तोलाः मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०४१।३।५।३ को फैसलामा कानुनी त्रुटि हुँदा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी मदन मिश्र भन्ने मोदनारायण मिश्रको यस अदालतमा पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत लिखत बदर हक कायम मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छन् :

२.    पिता दुखाई र आमा समेत परलोक भई प्रतिवादीसँग रही कामकाज गरी सगोलमा बसी आएकोमा विपक्षी रामेश्वरकी श्रीमती र मेरी श्रीमतीका बीच मेल नरही प्रतिवादीले इष्र्या, द्वेष राखी खान लाउन हेला गरेकोले २०३१।१।५ गते अंशबण्डा गरी देऊ भन्दा दिन नमानेकाले निज प्रतिवादी उपर अंश मुद्दा दिई अंश मुद्दा चली रहेको छ । मेरो मञ्जूरी बेगर प्रतिवादीले जग्गा बिक्री गर्न नपाउनेमा जि.म. पर्सा वतैली गा.पं. वार्ड नं. ७ को कि.नं. १९५, २१६, ३०७ को ११११५ जग्गाको मोल रु. २०,०००। मा २०३१।३।२४ गते प्रतिवादी रामचन्द्रको नाममा राजीनामा लेखी रजिष्ट्रेशन गरिदिएको ०३२।३।१५ गते रामचन्द्रले उक्त जग्गामा हलो जोताई रहेकोबाट थाहा हुन आएकोले १ वर्षभित्र नालेश गर्न आएकोछु । मेरो मञ्जूरी बेगर बिक्री गरेको उक्त आधि जग्गाको दर्ता बदर गरी हक कायम गराई पाउँ भन्ने व्यहोराको मदन भन्ने मोदनारायण मिश्रको फिरादपत्र ।

३.    वादी विदेशी हुनाले अदलको ३ नं. बमोजिम जग्गामा दावी गर्ने हक अधिकार छैन। स्थानीय पञ्चायतलाई तुष्टी गराई दुखाई मिश्रको छोरा मदन भन्ने मोदनारायण मिश्र हुन् भन्ने सिफारिश गरेको छ भन्ने सुने पनि गा.पं.लाई नाताको प्रमाणपत्र दिने अधिकार नभई वैध नभएकोले विपक्षीलाई नालेश गर्ने अधिकार छैन । वादीले आफ्नो उमेर ५० वर्ष भन्ने नालेशमा लेखाएको भई वादी रामेश्वरको भाइ साँचो भएको भए  अजोध्या नुनियाइनीले स्वर्गीय पिताजीलाई मोग्लानिया कायम गरेको उजूरीबाट कारवाही भई चलेको २००१ सालको मुद्दाबाट र म रामेश्वर मिश्र उपर स्वर्गीय आमा आधारवतीले दायर गर्नुभएको दर्ता बदर दर्ता मुद्दाको फिरादपत्रबाट पनि स्वर्गीय दुखाई मिश्रको म रामेश्वर मिश्र बाहेक निज वादी पनि छोरा देखिन पथ्र्यो सो नभई अरु छोरै नभएको भन्ने आमा आधारवतीले म उपर दायर गरेको दर्ता बदर मुद्धाबाट देखिन आउँछ । उजूरै लाग्न नसक्ने भएकोले दर्ता बदर भई हक कायम हुन नसक्ने भन्ने समेत व्यहोराको प्र.रामेश्वर मिश्र र प्र.रामचन्द्रको संयुक्त प्रतिउत्तरपत्र रहेछ ।

४.    वादीले प्रतिवादीबाट अंश पाउनु पर्ने अंशी भाइ हुन्, भाइको अंश मार्ने उद्देश्यले प्रतिवादीले जग्गा बिक्री गरिदिएका हुन् भन्ने समेत व्यहोराको वादीका साक्षी ईशलाम शेष, प्रताप राय, कपिलदेव रायको बकपत्र र प्रतिवादीको आफ्नो हक लाग्ने जग्गा बिक्री गरेका हुन् वादी अंशी हैनन् भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी रामरतन राय, वगाली राय, विष्णुदेवी राय र रामबच्छ रायको बकपत्र रहेछ ।

५.    अंशी भएको सहाराबाट प्रतिवादीले बिक्री गरेको जग्गाबाट आधि आफ्नो हक कायम गरी लिखतसमेत बदर गरिपाउँ भनी वादीले लिएको दावी बमोजिम जग्गा प्रतिवादीको आफ्नै आर्जनको देखिएकोले कानुनी व्यवस्थाको अभावमा गरेको वादी दावी युक्तिसंगत नदेखिँदा लिखत बदर गरी हक कायम गरिपाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने समेत ०३७।२।५।१ को महोत्तरी जिल्ला अदालतको फैसला रहेछ ।

६.    विपक्षी रामेश्वरको सगोलको अंशियार सहोदर भाइ म मोदनारायणको मञ्जूरी नलिई साक्षी समेत नबसाई रामचन्द्रको नाउँमा राजीनामा लिखत गरी रजिष्ट्रेशन गरिएको विपक्षीहरूको कृयाकलापबाट पुनरावेदकको हकमा प्रत्यक्ष असर परेको हुँदा शुरू फैसला उल्टाई फिराद दावी बमोजिम फैसला गरी न्याय पाउँ भन्ने वादी मोदनारायणको जनकपुर अञ्चल अदालतमा पुनरावेदन परेको रहेछ ।

७.    यिनै पक्ष विपक्षको दे.पु.नं. ४५२ को अंश मुद्दामा नाता कायम गर्ने सम्बन्धित विवाद समावेश भएको कारणले मध्यमान्चल क्षेत्रीय अदालतको अधिकारक्षेत्र भित्रको भई आजै सरुवा आदेश भएको र उक्त अंश मुद्दासँग यो मुद्दा सम्बन्धित रहेको देखिन आएकोले न्या.प्र.सु. ऐन, २०३१ को १३(१)(क) अनुसार मध्यमान्चल क्षेत्रीय अदालतको अधिकार क्षेत्रभित्र पर्ने देखिएकोले लगत काटी पक्ष विपक्षलाई तारेख तोकी आदेश सहितको मिसिल मध्यमान्चल क्षेत्रीय अदालतमा पठाउनु भन्ने ज.अं.अ.को ०३९।१।१९ को आदेश रहेछ ।

      ८.    अ.बं.२०२ नं. र क्षे.अ.नियमावली बमोजिम विपक्षीलाई झिकाउने मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।२।२२ को आदेश रहेछ ।

      ९.    लेनदेन व्यवहारको १० नं. को आधारमा आफ्नो हक जतिको लिखत बदर गरिपाउँ भनी वादीले दावा गरेको देखिन्छ । आफ्नो निजी आर्जनको भए संग बस्नेको मञ्जूरी लिनु पर्दैन बेचबिखन गैर गर्न हुन्छ भन्ने सोही १० नं. ले व्यवस्था गरेको देखिन्छ । विवादित लिखतको जग्गा पैतृक सम्पत्ति हो भन्ने प्रमाणित हुनसकेको छैन । मिसिल रहेको राजीनामा प्रतिलिपिबाट समेत उक्त जग्गा प्र.रामेश्वरकै निजी आर्जनको देखिन्छ । तसर्थ वादी दावी नपुग्ने ठहर्‍याएको शुरू जि.अ.को इन्साफ मनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको ०४१।३।५।२ को फैसला रहेछ ।

      १०.    भारदारी पहिला फाँटबाट २००२।५।१५।५ मा भएको फैसलाले पैत्रिक सम्पत्ति ठहर्‍याई सकेकोलाई अब आई पैत्रिक सम्पत्ति होइन भनी वादी दावा नपुग्ने ठहर्‍याएको शुरू जि.अ.को फैसलालाई सदर गरी गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा उक्त मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदन  गर्ने अनुमति पाउँ भनी वादी मदन मिश्र भन्ने मोदनारायण मिश्रको यस अदालत समक्ष पर्न आएको निवेदनमा पिता दुखाईका नामबाट सारेको कुरा २००२।५।१५।५ को भारदारी पहिला फाँटको फैसलाबाट देखिन्छ । यस किसिमले यो मितिमा स्वःआर्जन भएको भनी अदालतले यकीनै नगरी स्वःआर्जनको मानी वादी दावी नपुग्ने भनी मध्यमान्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा मु.ऐन लेनदेन व्यवहारको १० नं. को त्रुटि गरी निर्णय गरेको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको हुँदा न्या.प्र.सु.ऐन, ०३१ को दफा १३ (५) (ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएकोछ भन्नेसमेत यस अदालत डिभिजन बेञ्चको मिति ०४१।४।१०।४ को आदेश रहेछ ।

      ११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका पुनरावेदक वादी मोदनारायण मिश्रको वा. मकरमान र विपक्षी प्रतिवादी रामेश्वर समेतलाई रोहवरमा राखी पुनरावेदक वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले भारदारी पहिला फाँटबाट पैत्रिक सम्पत्ति ठहर्‍याई सकेकोलाई अहिले आएर पैत्रिक सम्पत्ति हो भन्ने प्रमाणित हुन नसकेको भन्दै प्रमाणित नभएको पैत्रिक सम्पत्तिलाई स्वआर्जनको सम्पत्ति ठहर्‍याएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला गल्ती हुँदा बदर गरी वादी दावी बमोजिम गरी हक कायम गरिनु पर्दछ भन्ने बहस जिकिरसमेत र विपक्षी तर्फबाट बहसकोलागि उपस्थित हुनुभएका विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले विवादित सम्पत्ति पैत्रिकसम्पत्ति नभई प्रतिवादी रामेश्वरमिश्रको निजी आर्जनको हुँदा लेनदेन व्यवहारको १० नं. बमोजिम वादीको मञ्जूरी लिइरहनु नपर्ने हुँदा वादी दावी नपुग्ने ठहर्‍याएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै हुँदा उक्त मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस जिकिर प्रस्तुत गर्नुभयो ।

      १२.   प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

      १३.   पैत्रिक सम्पत्ति प्रतिवादीहरूले लिनु दिनु गरेको हुँदा मेरो हक लाग्ने जति आधि जग्गा बदर गरिपाउँ भन्ने फिराद दावी रहेकोमा पैत्रिक सम्पत्ति हो भन्ने वादीबाट प्रमाणित हुन नसकेको हुँदा मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. बमोजिम निजी आर्जनको भई संग बस्नेको मञ्जूरी लिन नपर्ने हुँदा बेचबिखत गैर गर्न हुन्छ वादी दावा पुग्न सक्दैन भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला भएको पाइन्छ ।

१४.   प्रस्तुत विवादको जग्गा प्रतिवादी मदन मिश्र भन्ने मोदनारायण मिश्र ११ वर्ष भन्दा मुनिको उमेर भएको अवस्थामा नै निजको बाबु दुःखीया मिश्रबाट १९८५।१।१।६ मा निजको नाउँमा राजीनामा भई आएको देखिन्छ । भारदारी पहिला फाँटबाट २००२।५।१५।५ मा भएको (कानुन व्यवसायीले बेञ्च समक्ष पेश गरेको) फैसला नक्कलबाट प्रतिवादीको बाबु दुःखीया मिश्र भारतीय नागरिक नभई निजको विवाह नेपालमा भएकोले १९९४।१।२१ को राजीनामा बमोजिम श्रीमतीको माइती तर्फबाट प्रतिवादी रामेश्वर मिश्रको नाउँमा जग्गा खरिद भएको भन्ने कुरा देखिन्छ । साथै सर्भे नापी भई जग्गा प्रतिवादीको नाममा नापी भएकोमा निजकी आमाले जग्गा मेरो दाइजो पेवाको भनी नालिश गरेकोमा निजको दाइजो पेवाको समेत नठहरी निर्णय भएको देखिन्छ । वादीले गरेको अंश मुद्दामा वादीले प्रतिवादी रामेश्वर मिश्रबाट अंश पाउने ठहरी अन्तिम भइरहेको समेत देखियो ।

      १५.   अब विवादको जग्गाका राजीनामा वादी दावी बमोजिम आधि बदर हुने नहुने के रहेछ त्यसतर्फ हेर्दा १९८५ सालको लिखत बाबुले प्रतिवादीलाई गरिदिएको राजीनामाको जग्गा हुँदा त्यसलाई यस परिबन्धबाट प्रतिवादीले निजी आर्जन गरेको सम्पत्तिबाट बाबु ¬ बाट खरिद भएको हो भन्ने कुरा कतैबाट खुल्न आएको र त्यसको पुष्टि भएको देखिँदैन । यसै गरी अरु दुई कित्ता जग्गा मिति १९९४।१।२१ र १९९४।१।२१ का राजीनामा बमोजिम जागोवती र रामबुझावनबाट प्र.रामेश्वरका नाममा आएको देखिन्छ । यी जग्गाहरू यस परिबन्धबाट आफ्नो आर्जनको सम्पत्तिबाट आर्जन खरिद भएको हो भन्ने कुरा पनि लिखतहरूबाट खुल्न आउँदैन । प्रतिवादीले प्रतिउत्तर लगायत अन्य प्रमाणबाट पनि यो जग्गाहरू निजी आर्जनको सम्पत्तिबाट आर्जेको निजी सम्पत्ति हो भनी भन्न र प्रमाणित गर्न सकेको पनि देखिँदैन ।

१६.    अतः यसमा मुलुकी ऐन अंशबण्डाको महलको १८ नं. अन्तर्गत निजी आर्जन गरेको सम्पत्ति कस्तोलाई मान्ने भन्ने विषयमा विचार गर्न प्रमाण ऐन, २०३१ को दफा ६(क) लाई सर्वप्रथम ध्यान राख्नु पर्ने हुन आउँछ । सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पनि पर्याप्त हुँदैन जस्तो अंशबण्डा भएको कुरा बण्डापत्र पारित भएको लिखत नभए पनि अंशबण्डाका ३० नं. ले व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको देखिएमा मान्यता पाउँछ, त्यस्तै निजी आर्जनको सम्पत्ति हुन पनि लिखतको अतिरिक्त त्यस्तै रूपले व्यवहार प्रमाणबाट पनि निजी आर्जनको सम्पत्ति हो भन्ने कुरा स्पष्ट देखिनु पर्दछ। पारित लिखतबाट प्राप्त भएको भन्दैमा निजी आर्जनको भन्न मिल्दैन । प्रस्तुत मुद्दामा विवादको जग्गा यस किसिमको प्रतिवादीको निजी आर्जन हो भन्ने कुरा प्रतिवादीमा भन्न सकेको र त्यस्तो प्रमाणित हुन आएको पनि छैन । २००२।५।१५।५ मा भारदारी पहिला फाँटबाट भएको फैसलाबाट समेत प्र.रामेश्वरका नाममा राजीनामा भई आएको जग्गा निजको बाबु आमाले माइतीबाट पाई पास भई आएको देखिन्छ । तसर्थ प्रतिवादीका नाममा रहेको जग्गा अंश मुद्दा परी सकेपछि प्रतिवादी रामेश्वरले रामचन्द्रका नाउँमा राजीनामा गरिदिएकोमा वादीको मञ्जूरी देखिन नआएको हुँदा वादी दावी नपुग्ने ठहर्‍याएको शुरू महोत्तरी जि.अ.को इन्साफ मनासिव ठहर्‍याएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेन । सो इन्साफ उल्टी हुन्छ । पारित लिखतको वादी दावी बमोजिम वादीको हक जति जग्गाको लिखत बदर भई वादीको हक कायम हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमान्चल क्षेत्रीय अदालतको फैसला बदर भएको हुँदा पुनरावेदक वादी मोदनारायण मिश्रबाट शुरूमा राखेको कोर्टफी रु. ४२०। र पश्चिमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ६४।५० र यस अदालत समक्ष राखेको कोर्टफी रु. ६६। समेत जम्मा रु. ५५०।५० विपक्षी प्रतिवादी मोदनारायण मिश्र भूमिहारबाट भरी पाउने हुँदा भराई पाउँ भनी ऐनको म्यादभित्र दर्खास्त परे कानुन बमोजिम भराई दिनु भनी शुरू महोत्तरी जि.अ.मा लगत दिन का.जि.अ.मा लगत दिनु...१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी भई फैसला भएको हुँदा मध्यमान्चल क्षेत्रीय अदालतका माननीय मुख्य न्यायाधीश श्री हिरन्यश्वरमान प्रधान र माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको उल्टीमा रेकर्ड राख्नु..२

फाइल नियम बमोजिम गरी बुझाई दिनु........................................३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बर प्रसाद सिंह

 

इतिसम्वत् २०४२ साल भाद्र ७ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु