निर्णय नं. २३८४ - कर्तव्य ज्यान

निर्णय नं. २३८४ ने.का.प. २०४२ अङ्क ५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको फौ.पु.नं. ६१२
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी:प्रहरी थाना घैलाडुवाको पत्रले श्री ५ को सरकार ।
विरूद्ध
विपक्षी/प्रतिवादी:भारत जिल्ला दार्जलिङ्ग जलपाइगडी बस्ने मंगल महमद मियाँ ।
ऐ. खोरीवारी बस्ने पीरमहमद मिया ।
फैसला भएको मिति:२०४२।५।३ मा
हेलचेक्र्याईबाट होस् नपुर्याई यो यस्तो विष्फोटक हो ज्यान जान सक्छ भन्ने कुरा नसोची प्र.हरूले मृतकलाई दिएको र निजले पनि सिलौटामा राखी थिची दिँदा निजको ज्यान मर्न गएको देखिएकोले सो कसूर भवितव्यबाट हुने ठहर्छ ।
(प्रकरण नं.१४)
पुनरावेदक,वादी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा
विपक्षी ,प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः पूर्वान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. २०३९।६।२७ गतेका दिन अन्दाजी १.३० बजेको समयमा राधाकान्तलालको घरमा बम बिष्फोटन भई राधाकान्तको श्रीमती भागिरथीको मृत्यु भएको भन्ने प्र.ना.नि. दिव्यराज ओझाले सुनी बुझ्दा भागिरथीको मृत्यु भइसकेको रहेछ भन्ने व्यहोराको प्रहरी थाना घैलाडुवाको पत्र ।
३. बम बनाउने मुख्य उद्देश्य घैलाडुवा डागीवारी चकचकी समेत विभिन्न ठाउँमा डाँका गर्ने कुरा कसिर महमद, जमालाल, रामफल, पिरमहमद समेतको सल्लाह भएकोले बम बनाई परीक्षणको लागि पिरमहमदले भागिरथीलाई दिई निजले लोहोरोले सिलौटामा फोर्न लाग्दा भागिरथीको घटनास्थलमा नै मृत्यु भएको हो भन्ने व्यहोराको प्र.मंगलमहमद मियाँले प्रहरीमा गरेको कागज ।
४. ०३९।६।२७ गते दिउँसो १.३० बजेको समयमा म समेत भई तयार गरेको हाते बम परीक्षण गर्नको लागि राधाकान्तको श्रीमती भागिरथीको हातमा दिएर यसलाई फोरी हेर्नु भन्दा सिलौटामा राखी फोर्दा पड्की निज भागिरथीको मृत्यु भएको हो । राधाकान्तको घरमा बेलुका कसिर महमद, जमालाल, रामफल समेत भई चकचकी, घैलाडुवा सुरुङ्गा आदि विभिन्न ठाउँमा डाँका गर्ने सल्लाह भएको थियो भन्ने व्यहोराको प्रपी र महमद मियाँले प्रहरीमा गरेको कागज ।
५. प्र.पिरमहमद, मंगल मियाँले बमतयार गरी बिष्फोटन पदार्थजस्तो खतरनाकचिज अन्जान महिला भागिरथीलाई दिई सिलौटामा राखी हिर्काउन लगाई ज्यानमार्ने गैरकुरा गरी भागिरथीको मृत्यु भएको प्रमाणित हुन आएकोले निजहरूलाई मु. ऐ.ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ हुने भन्ने प्रहरीप्रतिवेदन ।
६. २०३९।६।२६ गते म पिरमहमद मर्ने भागिरथीको घरमा आई बसेको, पिरमहमद सुतिरहेको थियो म दिसाबस्न गएको थिएँ अकस्मात बमको आवाज आयो आउँदा पिरमहमदलाई गाउँलेहरूले कुट्दै रहेछन् । प्रहरीमा खबर गर्न आउँदा मलाई र मियाँहरूलाई पक्राउ गरी ल्याएका हुन् । बम कसले कहाँबाट ल्यायो पड्कायो थाहा छैन । हामीले पड्काउन लगाएको समेत होइन । प्रहरीले कुटपीट गरी सही गराएको मात्र हो भन्ने समेत व्यहोराको मंगलमहमद मियाँले अदालतमा गरेको बयान ।
७. २०३९।६।२६ गते म र मंगल समेत जनवन गर्न आई मर्नेको घरमा बसी काम खोज्न जाँदा काम नभेटी बास बसी भोलिपल्ट हाटमा काम खोज्दा नभेटी सो दिन १ बजेको समयमा हामीहरू सुती निदाएको बेलामा भान्सा घरमा बमको ठूलो आवाज आयो र उठी हेर्दा मृतक लडी राखेको रहेछ हामीहरूलाई गाउँलेहरूले बाँधी कुटपीट गरे प्रहरीहरूले थानातर्फ लगेका हुन् । बम कसले कसरी ल्याई पड्काएका हुन थाहाछैन मैले बनाई ल्याएको पनि होइन । प्रहरीले कागज गर्दा कुटपीट गरी शासना दिई जबरजस्ती कागज गराएको हुन् भन्ने व्यहोराको प्र.पिरमहमद मियाँले अदालतमा गरेको बयान ।
८. प्रस्तुतमुद्दा ज्यानसम्बन्धीको १ नं. को अवस्था देखिन नआई ज्यानसम्बन्धीको ५ नं. को भवितव्यको अवस्था मिसिलबाट देखिन आउँछ । अतः प्रतिवादीहरूले बम जस्तो घातक बस्तु परीक्षण गर्न भनी पड्काउन दिई बम भागिरथी आफैंले पड्काउँदा फुटी सो पड्काउँदा भागिरथीलाई लागी मृत्यु भएको देखिएकोले भवितव्यबाट ज्यान मरेको ठहर्छ भन्ने समेत शुरू झापा जिल्ला अदालतको २०३९।११।२४।३ को फैसला ।
९. शुरू झापा जिल्ला अदालतको फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको श्री ५ को सरकार तर्फबाट पश्चिमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको ।
१०. शुरू झापा जि.अ.को इन्साफमा मनासिव ठहर्छ भन्ने समेतको पूर्वान्चल क्षेत्रीय अदालतको फैसला ।
११. उक्त फैसला उपर वादी श्री ५ को सरकार तर्फबाट माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने पुनरावेदन यस अदालतमा परेको रहेछ ।
१२. नियम बमोजिम पेश हुन भएको प्रस्तुत मुद्दामा पु.वादी श्री ५ को सरकारतर्फबाट उपस्थित हुनुभएका विद्वान व.सर्वोच्च अदालतश्री केदार प्रसाद शर्माले विपक्षीहरूले एक अवला अनजान आइमाईलाई बमपरीक्षण गर्न दिएबाट ज्यान मार्ने काम भएको मान्नु पर्ने हुँदा माग दावी बमोजिम सजायँ हुन पर्दछ भन्नेसमेतको बहस प्रस्तुत गर्नुभयो ।
१३. अब प्रस्तुत मुद्दामा पूर्वान्चल क्षेत्रीय अदालतबाट भएको निर्णय मनासिव वा बेमनासिव के रहेछ ? भन्ने कुराको निर्णय दिनु परेको छ ।
१४. निर्णयतर्फ विचार गर्दा यसमा मृतक भागिरथीको मृत्यु बम बिष्फोटनबाट भएकोमा विवाद देखिँदैन । प्र.पिरमहमद मियाँले प्रहरी समक्ष गरेको कागजमा निज समेत भई बनाएको हाते बम परीक्षण गर्न भागिरथीलाई दिएको भन्ने समेत उल्लेख गरेको र प्र.मंगलु महमदले प्रहरी समक्ष गरेको कागजमा पनि सोही बमोजिम बम दिएको कुरा उल्लेख भएको देखिन्छ । उक्त बम परीक्षण गर्ने बखत पिरमहमद पनि घटनास्थलमा सामेल भएको देखिन्छ । निजलाई समेत बम बिष्फोटनमा बारुदका छर्राहरू लागेको भन्ने घा जाँच फारामबाट देखिन आएको छ । मृतक भागिरथीको ज्यान मार्ने नियतले सो बम परीक्षण गर्न दिएको भए पिरमहमद घटनास्थलमा रुजू रहने अवस्था पर्दैन थियो । तसर्थ हेलचेक्र्याईबाट होस् नपुर्याई यो यस्तो विष्फोटक हो ज्यान जानसक्छ भन्ने कुरा नसोची उक्त प्र.हरूले मृतकलाई दिएको र निजले पनि सिलौटामा राखी थिची दिँदा निजको ज्यान मर्न गएको देखिएकोले सो कसूर भवितव्यबाट हुने ठहर्छ । तसर्थ प्र.पिरमहमद र मंगलमहदम मियाँलाई ज्यानसम्बन्धीको ६(२) नं. बमोजिम सजायँ हुने ठहर्याई शुरू झापा जि.अदालतले गरेको इन्साफ सदर गरी पूर्वान्चल क्षेत्रीय अदालतबाट भएको निर्णयमा कुनै त्रुटि नदेखिँदा सदर हुने ठहर्छ । वादी श्री ५को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४२ साल भाद्र ३ गते रोज शुभम् ।