निर्णय नं. ६०३४ - जग्गा खिचोला चलन

निर्णय नं. ६०३४ ने.का.प. २०५२ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
सम्वत् २०४९ सालको दे.पु.नं. ... १०३३
फैसला मिति : २०५१।१२।२१।३
मुद्दा : जग्गा खिचोला चलन ।
पुनरावेदक/वादी: जि.ध. यदुकुवा गा.वि.स. वडा नं. १ बस्ने बैजनाथ हाथीको श्रीमती सीतादेवी हाथी ।
विरुद्ध
विपक्षी/प्रतिवादी: जि.ध. सपही गा.वि.स. वडा नं. १ मा बस्ने विन्देश्वर यादवका छोरा अं. वर्ष १८ को विजय कुमार यादव ।
जे जस्तो किसिमबाट सर्भे नक्सामा बाउण्ड्री कायम भई कित्ता काट हुन्छ सो नै प्रत्येक कित्ताको बाउण्ड्री समेतको सो कित्ताको स्वरुप कायम भएको मान्नु पर्ने हुंदा सो अनुसार भोग गरेको मान्नु पर्ने स्थिति हुन्छ । अतः नक्साको स्वरुप बाउण्ड्रीलाई मिची भोग गरेको कथित भनाइको आधारमा कित्ता काटको वाउण्ड्रीलाई अमान्य गर्ने स्थिति नहुने ।
(प्रकरण नं. १७)
कित्ताकाट भै बाउण्ड्री कायम हुंदैका अवस्था सो नमिले उसै बखत पक्षले उजूर गरी सच्याउने मिलाउने कुरा हो ।
(प्रकरण नं. १७)
पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल
प्रतिवादी विपक्षी तर्फबाट: विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव
अवलम्बित नजिरःX
फैसला
न्या.त्रिलोकप्रताप राणाः पुनरावेदक वादी पु.वे.अ. जनकपुरबाट भएको मिति २०४९ साल जेष्ठ ८ गते रोज ५ को फैसला उपर चित्त नबुझी यस सम्मानीत अदालत समक्ष पुनरावेदन गर्न आउनु भएको रहेछ । मुद्दाको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छ ।
२. अंशबण्डा हुँदा श्रीमान हाथीका नाममा दर्ता भै मेरो स्वर्गीय पति बैजनाथ हाथीको हिस्सामा रहेको जि.ध.ज.न.पा. वडा नं. १ कि.नं. ६१ को जग्गा मध्ये कित्ताकाट भई ऐ. वा.नं. १(ख) कि.नं. ६०४ को ०–१–१५ जग्गा निज मेरो पतिको मृत्यु पश्चात मेरो नाममा नामसारी गराई मेन्टीनेन्स नापी शाखाबाट खटिएको अमिनले जग्गा छुट्याई किल्ला समेत गाडीएकोमा उक्त जग्गा भन्दा पश्चिम तर्फको कि.नं. ६४ बाट कित्ताकाट भई कि.नं. ६४२ को खाली जग्गा विपक्षीको हुँदा पनि केही अवघात पर्न गएको थिएन । म आफ्नो ससुराली जुदुकाहामा बस्ने गरेको अवस्थामा विपक्षीले बद्नियत चिताई सो मेरो कि.नं. ६०४ र ०–१–१५ जग्गा मध्ये दक्षिण पश्चिम कोनाबाट ०–०–१/२ जग्गा आफ्नो कि.नं. ६४२ को जग्गामा मिसाई पार्खलले समेत घेरी खिचोला गरेबाट खिचोला मेटाई चलन समेत चलाई पाउँ भन्ने समेतको फिरादपत्र ।
३. सर्भेबाट कायम भएको ज.न.पा. वार्ड नं. १(ख) कि.नं. ६१ जग्गाको पश्चिम दक्षिण तर्फ रत्नकुमारीका नाममा दर्ता रहेको कि.नं. ६४ ज.वि. ०–१–८ जग्गा मध्ये विभिन्न मितिमा विभिन्न व्यक्तिले जग्गा खरिद गरी लिँदा निजको नाममा कि.नं. ६४१ कायम भै सो कि.नं. ६४१ भन्दा पूर्व तर्फबाट मैले ०–०–५ जग्गा खरिद गरी कित्ताकाट हुँदा कि.नं. ६४२ कायम भई चारैतिर पर्खाल लगाई भोगी आएको छ । फिराद कथन अनुसारको जग्गा खिचोला गरेको भए विपक्षीले भनेको कि.नं. ६०४ र मेरो कि.नं. ६४२ समेत नापनक्सा गरेमा प्रमाणित हुन आउने नै छ । विवादित जग्गाहरु शहरी क्षेत्रको जग्गा हुँदा नरघटी भै रहेको कारण घटेको जग्गा मेरो जग्गाबाट पूर्ति गर्ने उद्देश्यले यो मुद्दा दायर भएको औचित्य प्रति पनि ध्यानाकर्षण गराउन चाहन्छु । तसर्थ मैले विपक्षीको जग्गा खिचोला गरेको नहुँदा फिराद दावीबाट छुटकारा गरी पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर ।
४. मिति २०४५।५।१० मा भएको नक्सामा न.नं. ४ वादीको कि.नं. ६०४६ र न.नं. ५ झगडा परेको जग्गा भन्ने देखिन आयो । उक्त न.नं. ५ को जग्गालाई प्रतिवादीले आफ्नो कि.नं. ६४२ को जग्गामा मिसाई खिचोला गरेको हो होइन भनी नक्सा देशसँग भिडाउँदा झगडा जनिएको न.नं. ५ को जग्गा वादीको कि.नं. ६०४ अन्तर्गतको देखिएकोले न.नं. ५ को जग्गा मेरो कि.नं. ६४२ अर्थात् न.नं. ६ अन्तर्गतको हो भन्ने प्रतिवादी जिकिर झुठ्ठा सिद्ध हुन आएबाट वादीको जग्गा प्रतिवादीले खिचोला गरेको ठहरी चलन समेत चलाई लिन पाउने ठहर्छ भन्ने समेतको मिति २०४५।१०।२ को धनुषा जिल्ला अदालतको फैसला ।
५. साविक कि.नं. ६४ को हाल मेरो कि.नं. ६४२ को जग्गा साविक कि.नं. ६१ को जग्गा देखि दक्षिण पश्चिममा अवस्थित छ । कि.नं. ६१ को जग्गा विभाजित भै कि.नं. ६०४, ६०५ र ६०६ कायम भएको जग्गा अदालतबाट नक्सा हुँदा क्रमशः न.नं. ४, ३ र १ का जग्गाको परिणाम समेतलाई भिडाई जिल्ला अदालतले निर्णयको निमित्त निष्कर्ष निकाल्नु पर्नेमा सो भएको देखिँदैन । अदालतबाट भएको नक्साबाट न.नं. ४ को कि.नं. ६०४ को ०–१–१२–८ न.नं. ३ कि.नं. ६०५ को ०–१–७–१४.१/४ तथा कि.नं. ६०६ न.नं. १ को ०–०–६ जग्गा ठहर भएको छ भने नक्सामा देखाएको खडक २० फिट र ३३ फिट गरिँदा कि.नं. ६०४ को जग्गा सडकमा पर्न जानु स्वभाविक छ । सडकमा परेको जग्गा र उक्त न.नं. ४, ३, र १ समेतको परिमाण ०–३–९–१२.१/२ जग्गा भएको देखिँदा दर्ता स्रेस्ता भन्दा ०–०–१–१२.१/२ बढी जग्गा देखिन्छ । मेरो हक भोगको कि.नं. ६४२ को ०–०–५–८ मध्येबाट पनि न.नं. १२ को सडकमा पर्न गई हाल न.नं. ५ र ६ मा ०–०–४–१५.१/२ मात्र हुन आएको र दर्ता भन्दा ०–०–८–८ घटी देखिएको छ । विवादित न.नं. ५ को ०–०–२–११.१/२ जग्गा समेत साविक कि.नं. ६१ अर्थात् न.नं. ३, ४ र १ को जग्गामा जोड्दा ०–३–१२–८० हुन गै साविकको दर्ता भन्दा ०–०–४–८ जग्गा बढी हुन जाने हुँदा जिल्ला अदालतले कि.नं. ६१ क को सम्पूर्ण जग्गाको परिणामलाई हाल देखिन आएको जग्गाको परिणामसँग तुलना गरी निर्णय प्रदान गर्नु पर्नेमा दर्ता भन्दा बढी जग्गा देखिएको कि.नं. ६१ मध्येबाट कायम गरी दर्ता श्रेस्ता भन्दा कम जग्गा भोग्ने व्यक्ति मैले वादी दावी अनुसार खिचोला ठहर गर्नु त्रुटिपूर्ण एवं अनुपयुक्त हुँदा सो फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पुनरावेदनको पु.वे.अ. जनकपुरमा परेको पुनरावेदनपत्र ।
६. विवादीत जग्गाको अ.बं. १७१ नं. बमोजिम नापनक्सा गरी पेश गर्नु भन्ने समेतको मिति २०४७।२।२३ को आदेशानुसार भै आएको नापनक्सा मुचुल्का मिसिल संलग्न रहेको ।
७. नक्सामा उल्लेख भै आए अनुसार वादी र प्रतिवादी दुवै थरको जग्गा राजीनामामा उल्लेख भएको जग्गा भन्दा घटी देखिन आएको छ । यस्तो स्थितिमा आफ्नो लिखत अनुसारका जग्गामा पनि घटी भएको प्रतिवादीबाट वादी दावी गरेको आधारमा वादीको जग्गा कम छ भनी प्रतिवादीले खिचोला गर्नुको ठहर गर्नु न्यायोचित नहुने हुँदा शुरुको नक्साको मूल्यांकन नै नगरी केवल नक्सा प्रष्टको स्वरुपलाई हेरी खिचोला ठहर गरेको इन्साफ मिलेको नहुँदा शुरुको मिति २०४५।१०।३ को फैसला उल्टी भै वादी दावी नपुग्ने ठहर्छ भन्ने पु.वे.अ. जनकपुरको संयुक्त इजलासको फैसला ।
८. उक्त पु.वे.अ. को फैसला उपर मलाई चित्त बुझेन । विपक्षीले मेरो ०–०–२.१/२ जग्गा खिचोला गरेकोमा ठहर्दैन भनी विना प्रमाण विना आधार अनुमानको आधारमा पुनरावेदन अदालत जनकपुरले गरेको ठहर त्रुटीपूर्ण छ ।
९. विपक्षी विजयले जि.ध.तत्कालिन ज.न.पं. वार्ड नं. १(ख) कि.नं. ६१ को जग्गा भन्दा दक्षिणतर्फ अवस्थित रत्न कुमारी कार्कीको नाममा दर्ता रहेको कि.नं. ६४ को ०.१.८ जग्गा मध्ये किशोरी देवी, सोमित शाह तथा विपक्षी विजयले जग्गा खरिद गरेको छन् । विपक्षी विजयले खरिद गरेको कि.नं. ६४ मा नरघटी रहेको जग्गा रहेकोमा श्रेस्तामा जग्गा देखिएपनि वास्तविकमा जग्गा एकदमै कम रहेकोमा विपक्षीले साँधमा पर्ने मेरो जग्गा मिची आफ्नो जग्गा पुफ्याउने नियत लिई खिचोला गरेकोमा पुनरावेदन अदालत जनकपुरले उक्त खिचोलालाई सदर गरेको सारै अन्यायपूर्ण छ ।
१०. मिति २०४३ साल फाल्गुण ७ गतेका दिन नापी शाखा धनुषाले म पुनरावेदिकाको जग्गा छुट्याई दिएको छ । उक्त शाखामा अमिनीले सर्भेनक्सा तथा मेरो जग्गा माग बमोजिम दक्षिणतर्फको पूर्व पश्चिम चौडाई ५१.६ फिट उत्तरतर्फको पूर्व पश्चिम ४१.६ र पश्चिमतर्फको उत्तर दक्षिण १२२ फिट, पूर्वतर्फको उत्तर दक्षिण लम्बाई १३० फिट कायम रहेको छ । उक्त मुचुल्काको नक्कलको फोटोकपी यसै पुनरावेदन साथ पेश गरेको छु ।
११. म पुनरावेदीकाको कि.नं. ६०४ को जग्गा तथा विजयले खरिद गरेको कि.नं. ६४ को जग्गा मध्येको दुवै जग्गाहरु सर्भेबाट नक्सा भई जग्गाधनी पूर्जा समेतको श्रेस्ता रहेको जग्गा हो । उक्त जग्गाहरुको नापनक्सा तथा किल्लाको लागि कुनै कल्पनाको रेखा कोर्नु पर्ने अवस्था नभई सर्भे नापीले नापी गरी निश्चित साँध सीमानाको श्रेस्ता कायम गरेको छ । उक्त श्रेस्तालाई प्रमाण आधार टेक्नु पर्नेमा अनुमान र मान्यतालाई आधार टेकी भएको फैसला सम्पूर्ण रुपमा त्रुटीपूर्ण छ।
१२. विपक्षी विजयले म पुनरावेदिकाको कि.नं. ६०४ को जग्गा मध्ये पश्चिम दक्षिणको कुनाबाट ०–०–२.१/२ जग्गा खिचोला गरी आफ्नोमा मिलाई लिएकोमा उक्त कि.नं. ६४ को पश्चिम दक्षिणको कुना र कि.नं. ६४ को पूर्व दक्षिणको कुना सर्भे श्रेस्ताको नक्सामा कुन किसिमको छ भनी वस्तुगत आधारमा प्रमाणको मूल्यांकन गरी फैसला गर्नु पर्नेमा अचल सम्पत्तिको श्रेस्ता सम्बन्धी प्रमाण बुझ्दै नबुझी भएको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी ध.जि.अ. को फैसला कायम गरी पाऊ भन्ने व्यहोराको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
१३. यसमा कि.नं.६०४ को दक्षिण तर्फ पूर्व पश्चिम ५१.६ फुट रहेको भन्ने अमिन तनुलाल यादवको प्रतिवेदनबाट देखिएको न.नं. १७ को दक्षिण मुख ३३ फुट मात्र भई १८.६ फुट कम देखिएको न.नं. १, २, ३, ४ का जग्गाहरुको नाप ०–०–५–१०.१/२ भई प्रतिवादीको श्रेस्ता भन्दा बढी जग्गा देखिन आएको समेतबाट पुनरावेदन अदालत जनकपुरको फैसला नमिली फरक पर्ने देखिँदा अ.बं. २०२ नं. तथा सर्वोच्च अदालतको नियमावली, २०४९ को नियम ५८ बमोजिम विपक्षी झिकाई आएपछि नियम बमोजिम पेश गर्नु भन्न भएको यस अदालतको मिति ०५१ साल कार्तिक १६ गते रोज ४ को यस अदालतको संयुक्त इजलासको आदेश ।
१४. नियमानुसार आजको दैनिक पेशीसूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट नियुक्त विद्वान अधिवक्ता श्री हरिहर दाहालले मेरो पक्ष वादी सीता देवी हाथीले आफ्नो श्रीमान बैजनाथ हाथीको हिस्सामा परेको साविक कि.नं. ६१ मध्येबाट कि.का. भई कि.नं. ६०४ कायम भएको र सो को क्षेत्रफल ज.वि. ०–१–१५ मेरो पतिको मृत्यु पश्चात मेरो नाउँमा नामसारी भै हकभोग कायम भएको जग्गा पश्चिम तर्फको साविक कि.नं. ६४ रहेकोमा सोबाट कित्ताकाट भै कि.नं. ६०४ को दक्षिण पश्चिम कुना २.१/२ धुर जग्गा विपक्षीले आफ्नो कि.नं. ५४२ मा मिलाई पर्खालले घेरी खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने मेरो पक्षको दावी भएकोमा ध.जि.अ. ले अ.बं. १७१ नं. बमोजिम विवादित जग्गाको नक्सा गराई सो आधारमा विपक्षी प्रतिवादीले मेरो पक्षको कि.नं. ६०४ को ज.वि. ०–१–१५ मध्येबाट ज.वि. ०–०–२.१/२ धुर जग्गा आफ्नो कि.नं. ६४२ को जग्गामा मिसाई पर्खालले घेरेकोमा प्रतिवादीले उक्त २.१/२ धुर जग्गा खिचोला गरेको ठहर गरी वादीले चलन गर्न पाउने गरी ठहर गरेको शुरु जि.अ. को ठहर निर्णय विलकुलै मनासिब छ ।
१५. प्रतिवादीको भनाई अनुसार कि.नं. ६१ को पश्चिम दक्षिणतर्फ रत्नकुमारी दर्ता कि.नं. ६४ को ज.वि. ०–१–८ मध्ये विभिन्न व्यक्तिले खरिद गरेपछि कि.नं. ६४१ कायम भई कि.नं. ६४१ को पूर्जाबाट विपक्षी प्रतिवादीले ५.१/२ धुर जग्गा दाताबाट खरीद गरी कित्ताकाट हुँदा कि.नं. ६४२ कायम भएको जग्गा नै पर्खाल लगाई कम्पाउण्ड घेरिएको मेरो आफ्नो हकभोगको जग्गा हो । वादी म उपर झुट्टो आरोप गरेको हो भन्ने जिकिरको हकमा प्रतिवादीको जिकिर सरासर गलत हो । यसको निराकरणको लागि ध.जि.अ. ले गरेको नक्सा र सर्भेबाट भएको नक्सा सँगै विल्कुल मिल्दोजुल्दो छ । यदि मेरो पक्षको झुट्टा दावी भए सो कुरा सर्भे तथा ध.जि. अदालतबाट भएको नक्सा सँगै मेल खान नपर्ने हो । तसर्थ पु.वे.अ. जनकपुरले मेरो पक्षको विरुद्धमा फैसला गरी गरेको ठहर निर्णय नमिलेको हुँदा सो पु.बे.अ. जनकपुरको फैसलालाई बदर गरी शुरु जि.अ. को ठहर फैसलालाई नै यस सम्मानीत इजलासबाट सदर कायम हुनु पर्दछ भनी बहस प्रस्तुत गर्नु भयो ।
१६. त्यस्तै विपक्षी प्रतिवादीका तर्फबाट नियुक्त विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले मेरो पक्ष प्रतिवादीले श्री ध.जि.अ.बाट भएको फैसला न्यायपूर्ण नभएकोले नै पु.बे.अ. ले पुनः अदालतबाट नक्सा मुचुल्का गर्न लगाई सो समेतको आधार प्रमाणबाट अध्ययन निरीक्षण गरी मेरो पक्ष प्रतिवादीको हितमा ठहर निर्णय गरेको छ । वादीले मेरो पक्ष उपर लगाएको झुट्टा लान्छना अर्थात् कि.नं. ६४२ मा वादीको कि.नं. ६०४ को २.१/२ धुर जग्गा समेत झिकाई कम्पाउण्ड घेरी पर्खाल लगायो भन्ने विल्कुल झुट्टा आरोप हो । किनकी दाताबाट मेरो पक्षले खरिद गरी लिएको क्षेत्रफल बराबरकै जग्गा जोतभोग गर्दै आउनु भएको हो । तसर्थ यसरी साविक खरिद गरे देखि नै मेरो पक्षले जोतभोग गर्दै आउनु भएको जग्गामा कम्पाउण्ड पर्खाल लगाउँदा कसरी वादी दावी बमोजिम मेरो पक्षले वादीको २.१/२ धुर जग्गा आफ्नो जग्गमा मिलान गरी पर्खाल लगाउनु भो, यो विलकुलै निरर्थक कुरा हो । तसर्थ ध.जि.अ.ले केवल नक्साको भौगोलिक आधारमा दृष्टिगत गरी ठहर गरेको छ । जबकी मेरो पक्षले शुरु देखि नै भोगचलन गरी आएको जग्गा भएकोले भोगाधिकारको आधारबाट मेरो पक्षको यथावत जग्गाको क्षेत्रफल कायम हुनु पर्नेमा सो नगरी का.जि.अ. ले गरेको नक्सा न्यायोचित नभै स्वयं पु.वे.अ. जनकपुरले २०४७ मा गरेको नक्सा समेतको आधारमा मेरो पक्षको हितमा फैसला गरेको न्यायोचित नै भएको हुँदा वादीको पुनरावेदन व्यहोरा झुट्टा हो । तसर्थ सम्मानीत अदालतबाट पु.वे.अ.जनकपुरको फैसला नै सदर कायम हुनु पर्दछ भनी बहस प्रस्तुत गर्नु भयो ।
१७. उपरोक्त बमोजिम पक्ष विपक्ष दुवै तर्फको विद्वान अधिवक्ताहरुको बहस सुन्नुको साथै इजलास समक्ष प्राप्त हुन आएको सम्पूर्ण मिसिल एवं कागजातहरु समेतको अध्ययन गरी पुनरावेदकको माग दावी बमोजिमको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेनमिलेको के छ भनी इन्साफ दिनु पर्ने हुन आयो । निर्णय तर्फ विचार गर्दा पुनरावेदक वादीको कि.नं. ६०४ को २.१/२ धुर जग्गा प्रतिवादीले आफ्नो कि.नं. ६४२ को जग्गामा मिसाई पर्खाल कम्पाउण्ड घेरेकोले वादीको सो कि.नं. ६०४ को २.१/२ धुर जग्गा प्रतिवादीबाट खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद दावी भएकोमा विवादित जग्गाहरु शहरी क्षेत्रको जग्गा हुँदा नरघटी भैरहेको घटेको जग्गा मेरो जग्गाबाट पूर्ती गर्ने उद्देश्यले मुद्दा दायर गरेको हो । मैले विपक्षीको जग्गा खिचोला गरेको नहुँदा फिराद दावीबाट छुटकारा पाउँ भन्ने प्रतिउत्तर जिकिर भएकोमा भ.जि.अ. ले २०४५ मा नक्सा गर्न लगाइएको आधारमा वादीको उक्त २.१/२ धुर जग्गा प्रतिवादीले खिचोला गरेको ठहराई वादीको ठहर गरी वादीले चलन चलाउन पाउने गरी सो ध.जि.अ.बाट ठहर फैसला गरेकोमा प्रतिवादीको तर्फबाट पु.बे.अ.मा पुनरावेदन पर्दा ध.जि.अ.ले नक्साको मूल्यांकन नै नगरी केवल नक्साको प्रष्ट स्वरुपलाई मात्र हेरेको आधारमा पु.वे.अ.ले शुरु इन्साफलाई उल्टी गरी गरेको फैसलामा सो उपर चित्त नबुझी पुनरावेदन वादीले यस अदालत समक्ष शुरु ध.जि.अ. को फैसला न्यायोचित भएको हुँदा सदर कायम हुनुपर्दछ भनी मुख्य पुनरावेदन जिकिर गर्नु भएको पाइन्छ । यसमा सर्भेमा भएको नक्साको नाप स्वरुप सँगै हाल मिति २०४७।४।२६ मा अदालतमा भएको नक्सा भिडाउँदा न.नं. १ को झगडिया जग्गा र न.नं. २ मा बाटोमा परेको जग्गा समेत वादीको कि.नं. ६०४ भित्र पर्ने देखिन्छ । जे जस्तो किसिमबाट सर्भे नक्सामा बाउण्ड्री कायम भई कित्ताकाट हुन्छ सो नै प्रत्येक कित्ताको बाउण्ड्री समेतको सो कित्ताको स्वरुप कायम भएको मान्नु पर्ने स्थिति हुन्छ । अतः नक्साको स्वरुप बाउण्ड्रीलाई मिची भोग गरेको कथित भनाइको आधारमा कित्ता काटको वाउण्ड्रीलाई अमान्य गर्ने स्थिति हुँदैन । कित्ताकाट भै वाउण्ड्री कायम हुँदैका अवस्था सो नमिले उसै बखत पक्षले उजूर गरी सच्याउने मिलाउने कुरा हो । तर सो बमोजिम नभई प्रतिवादीको दाताले मानी आएको कित्ताकाट वाउण्ड्रीलाई आत्मसात गरी प्रतिवादीले राजीनामा लिएको र वादीको दक्षिण पट्टीको मोहडा न.नं. १ र २ प्रतिवादीलाई दिंदा वादीको मोहडा समेत कम हुने प्रतिवेदनबाट देखिँदा विवादको जग्गा वादीको ठहराई खिचोला ठहर गरेको शुरुको इन्साफ सदर हुने ठहर्छ । पुनरावेदन अदालत जनकपुरको इन्साफ उल्टी हुने ठहर्छ। अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी सीता देवी हाथी के माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम ठहरेकाले वादी दावीको जि. धनुषा जनकपुर नगरपालिका वडा नं. १(ख) कि.नं. ६०४ मध्येको प्रतिवादीले खिचोला गरेको २.१/२ धुर जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भनी कानुनका म्यादभित्र वादीको दर्खास्त परे कानुन बमोजिम चलन चलाई दिनु भनी शुरु धनुषा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु..१
माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम ठहरेकाले प्रतिवादीबाट वादीले भराई पाउने ठहरेकोले शुरु कोर्ट फी रु. ९३।७५ प्रतिवादीले जनकपुर अञ्चल अदालतमा पुनरावेदन दर्ता गर्दा धरौटी राखेको देखिँदा सोही धरौटीबाट भराई दिनु र पु.वे. वादीले यस अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्ट फि रु. १४।०६ प्रतिवादीका यसै सरहदको जेथा भित्र वादीको दरखास्त परे कानून बमोजिम भराई दिनु भनी ध.जि.अ. मा लेखि पठाउन का.जि.अ. मा लगत दिनु...२
शुरु धनुषा जिल्ला अदालतको मिति २०४५।१०।२ तथा पुनरावेदन अदालत जनकपुरको २०४९।२।८ को फैसलाले राख्ने गरेको लगत कट्टा गरी उल्लेखितानुसारको लगत कायम राख्नु भनी ध.जि.अ. मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...३
मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. कृष्णजंग रायमाझी
इतिसम्वत् २०५१ साल चैत्र २१ गते रोज ३ शुभम् ।