शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०३६ - जग्गा हक कायम खिचोला मेटाई चलन चलाई पाउं ।

भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक:

निर्णय नं. ६०३६   ने.का.प. २०५२ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने

सम्वत् २०५१ सालको दे.पु.नं. ... २१११

फैसला मिति  : २०५२।७।२८।३

मुद्दा : जग्गा हक कायम खिचोला मेटाई चलन चलाई पाउ

 

पुनरावेदक/प्रतिवादी: बलभद्रको छोरा कास्की जिल्ला पोखरा नगरपालिका वडा नं. ७ बस्ने उमाकान्त शर्मा ।

सेवकनाथ छोरा पर्वत जिल्ला कान्छा गा.पं. वडा नं. ५ बस्ने तुलसी प्रसाद शर्मा ।

विरुद्ध

विपक्षी/वादी: कास्की जिल्ला पोखरा नगरपालिका वडा नं. १७ बस्ने लक्ष्मण वास्तोला ।

 

    वादीको आफ्नो हक स्वामित्वको जग्गा प्रतिवादीको नाममा वादीलाई थाहा जानकारी नभई कित्ताकाट गराएकोमा वादीले थाहा पाएको मिति कायम गरी सोबाट हदम्याद भित्रै परेको फिरादलाई हदम्याद नाघी परेको भन्न नमिल्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा

विपक्षीवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शेषनारायण ढुंगाना

अवलम्बित नजिरःX

फैसला

न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत पोखराको मिति २०४९।३।१० गते भएको फैसला उपर मुद्दा दोहोर्‍याइने निस्सा भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.  विपक्षी मध्येका उमाकान्तले गजेन्द्रबहादुरबाट लिएको कि.नं. ३५८ को जग्गाको पिछाड कम भएकोले मलाई अलिकति जग्गा दिनु होस भनी भन्नु भएकोले मेरा नाममा दर्ता भएको कि.नं. ३५७ मध्ये ०० जग्गा राजीनामा पास गरी दिएको थिए । मैले दिएको जग्गा कि.नं. १४२८ मा कित्ताकाट गराई लिनु भएको छ । सो कित्ता कटाई सकेपछि कि.नं. ३५७ सँगै जोडिएको कि.नं. ३५९ को जग्गा मध्येको सडक छेउको क्षेत्रफल ०० को जग्गा पनि सोही राजीनामाको नाताले माल तथा नापीका कर्मचारी समेतलाई मोर्‍याई कि.नं. १४३० मा कित्ता कटाई दर्ता गराई सोही जग्गा विपक्षी मध्येका तुल्सीप्रसाद आचार्यलाई मिति २०४३।३।१६ गते राजीनामा पास गरी दिनु भएको रहेछ । सो कुरा कि.नं. ३५९ मध्येको पश्चिम उत्तर तर्फको कोण ढुंडाखसाली पर्खाल लगाउन लागेको देखि मेरो जग्गामा किन लगाउन लाग्नु भएको भन्दा मैले उमाकान्तबाट राजीनामा लिएको छु भन्नु भएकोले के रहेछ भनी कास्की मालमा गई बुझ्दा मेरो कि.नं. ३५९ को जग्गाबाट कि. फोड गरी कि.नं. १४३० विपक्षी उमाकान्तले आफ्ना नाममा दर्ता गराएको देखियो । मैले उमाकान्तलाई मिति २०३४।१।१४ गतेमा र.नं. २८३० को १ राजीनामा मात्र गरी दिएको २८३१ को होइन । र.नं. २८३० को राजीनामामा कि.नं. ३५७ मध्येबाट मोहडा हात ४ र पिछाड हात २१ को जग्गा मात्रै दिएको छु । जुन जग्गा कि.नं. १४२८ मा विपक्षीले पाउनु भएको छ । सो बाहेक मेरो हक छुटाएको लिखत बेगर विपक्षीले कि.नं. ३५९ बाट कि. फोड गराई कि.नं. १४३० लिन पाउने अधिकार नभएको हुँदा सो कित्ताको दर्ता र उमाकान्तले तुल्सीप्रसादलाई दिएको राजीनामा लिखत अमान्य हुँदा बदर गरी सो आधारमा गरिएको तुल्सीप्रसादको दर्ता बदर गरी सो जग्गामा विपक्षीको खिचोला मेटाई मेरो हक कायम गरी पाउँ भन्ने समेत लक्ष्मण वास्तोलाको फिरादपत्र ।

३.  प्रतिवादी मध्येको म उमाकान्तले गजेन्द्रबहादुरसँग मिति २०३३।४।१८ गतेमा साविक लुकुम स्वारा गा.पं. वडा नं. १ को हाल पो.नं.पं. वडा नं. १७ को छोरेपाटन भन्ने जग्गा राजीनामा पारीत गरी लिएको हुँ । सो जग्गा घडेरीका निमित्त अपुग भएबाट मिति २०३४।१।१४ गतेमा पूर्व मेरै साँध पश्चिम म उमाकान्त र लक्ष्मणको साँध उत्तर बाटो दक्षिण मेरो २ गरा छाडी ३ गराको सानो आठौं यति ४ किल्ला भित्रको ४ हात मोहडा ३७ हात पिछाड भएको तिरो रु. ।१२ लागेको जग्गा म उमाकन्तले लक्ष्मणबाट राजीनामा गरी लिएको हुँ । सो जग्गा दा.खा. भई प्रमाण पूर्जा लिन बाँकी नै थियो । यसरी गजेन्द्रबहादुर र लक्ष्मण वास्तोलाबाट राजीनामा लिएको जग्गा एकै ठाउँमा भए तापनि अलग अलग तीन कित्ताकाट गरी सो जग्गा म उमाकान्तका नाममा भई प्रमाण पूर्जा लिई भोग चलन गरी आएको थिए भन्ने उमाकान्त र कि.नं. १४२८, १४३० र ३५८ का जग्गाहरु म तुल्सीप्रसादले उमाकान्तबाट राजीनामा पारीत गरी घर बनाउनलाई ढुंगा समेत ल्याई सकी भोग चलन गरी आएको छु । तसर्थ मैले उमाकान्तबाट राजीनामा लिएका उक्त ३ कित्ता जग्गाहरुमा मेरै हक सुरक्षित राखी विपक्षीको झुठ्ठा फिराद दावीबाट अलग फुर्सद दिलाई पाउँ भन्ने समेत उमाकान्त शर्मा र तुल्सीप्रसाद शर्माको संयुक्त प्रतिउत्तर पत्र ।

४.  कास्की जिल्ला अदालतका आदेशानुसार मालपोत कार्यालयबाट प्राप्त प्रमाण कागजातहरु मिसिल सामेल रहेछ ।

५.  विवादित जग्गा वादीको कि.नं. ३५९ भित्रको देखिँदा उक्त दर्ता बदर भई वादीको हक कायम हुने र दर्ता नभएको जग्गा बिक्री भएको हुँदा सो हदसम्मको लिखत बदर हुने ठहर्छ भन्ने समेत कास्की जिल्ला अदालतको फैसला ।

६.  उक्त फैसला प्राकृतिक न्याय सिद्धान्त तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल हुँदा बदर गरी कि.नं. १४३० को जग्गाको दर्ता र लिखत कायमै राखी हक इन्साफ गरी न्याय पाउँ भन्ने उमाकान्त र तुल्सीप्रसाद समेत जना दुईले तत्कालिन गण्डकी अञ्चल अदालतमा दायर गरेको संयुक्त पुनरावेद पत्र ।

७.  यस्मा शुरुले विवादित जग्गाको नक्सा मुचुल्का नै नगरी गरेको शुरु इन्साफ विचारणीय हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत साविक गण्डकी अञ्चल अदालतबाट भएको आदेश ।

८.  प्रतिवादीले कि.नं. ३५९ बाट कि.नं. १४३० को जग्गा मिति २०३६।१२।२२ मा कि.का. गराएको भन्ने सम्बन्धित प्लट रजिष्टर समेतबाट देखिन्छ । सो कुरा वादीलाई उसै बखत थाहा थियो भन्ने कुरा अनुमान गर्न ल्निे होइन । त्यसैले थाहा पाएको मितिले फिराद परेको देखिँदा म्याद नाघेको भन्न मिलेन । प्रतिवादी उमाकान्तलाई वादीले मिति २०३४।१।१४ गतेमा गरी दिएको लिखतमा हालको कि.नं. ३५७ मध्येबाट लिखत गरी दिएको कुरा खुलाइएकै पाइँदा र प्रतिवादीले सो कि.नं. ३५७ बाट कित्ताफोट गरी कि.नं. १४२८ पुष्ट्याई लिएको भन्ने देखिँदा वादीको राजीनामा लिखतको जग्गा सो रहेछ भन्ने देखियो । सो लिखतले अरु अर्को कि.नं. को जग्गा पक्रन मिल्ने देखिँदैन । विवादित कि.नं. को जग्गा सोही कि.नं. ३५७ को नभई कि.नं. ३५९ को भन्ने मालपोतको श्रेस्ता समेतबाट देखिन आएको छ । सो कि.नं. ३५९ बाट प्रतिवादीले वादीसँग हक छुटाई लिएको अवस्था नहुँदा केवल उत्तर किल्ला बाटो भन्ने लिखतमा जनिएकै भरले लिखत बाहेकको कित्ताको जग्गा पक्रन मिल्दैन लिखतमा मोहडाको कुरा लेखिएकोले मात्र छुट्टै कित्ताको जग्गा लिए पाएको अर्थ गर्न मिल्दैन । यस अवस्थामा विवादित कि.नं. १४३० को जग्गा प्रतिवादी उमाकान्तको हकको देखिन नआई वादीको कि.नं. ३५९ भित्र देखिन आउँछ । तसर्थ वादी दावी बमोजिम विवादित कि.नं. १४३० को दर्ता बदर भई वादीको हक कायम हुने र सो हदसम्मको लिखत बदर समेत हुने ठहर्‍याएको कास्की जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पोखराको मिति २०४९।३।१० गतेको फैसला ।

९.  विपक्षीले फिराद लेखाइमा कहीं कतै पनि हाम्रो हक भोग चलनलाई इन्कार गरी आफैंले भोग चलन गरी आएको भन्न र प्रमाण दिन सक्नु भएको छैन । मिति २०३४।१।२४ मा लिएको मिति देखि हक भोग चलन र नामसारी दा.खा. कि.का. गरी र मिति २०४३।३।१६।२ मा म तुल्सी आचार्यले लिएपछि पर्खाल समेत लगाई हक भोग गरी आएका छौं । एकै साथ कि.का. भएकोमा विपक्षी साविक हुनुहुन्छ । कि.नं. १४३० मा विपक्षीले थाहा पाइन भन्ने कुरा नै मिल्ने होइन । निजलाई मौकैमा थाहा भएको र त्यसको म्यादभित्र नालेस गर्न नसकी हदम्याद नाघेको प्रष्ट छ । जग्गाका कुरामा श्रेस्तातयार भएका मितिले हदम्याद शुरु हुने सर्वमान्य सिद्धान्त ने.का.प. २०४५ अंक ७ नि.नं. ३५१० को सिद्धान्त प्रतिपादन भएको छ । हदम्याद नाघेको फिराद खारेज गर्नु पर्नेमा म्यादभित्र परेको भनी गरिएको व्याख्या ज.मि.को १८ नं. को प्रतिकूल छ । आफूले कानून बमोजिम हक छाडी दिएको जग्गामा उजूर गर्ने हक विपक्षीलाई अ.बं. ८२ नं. ले दिएको छैन । मैले नापी श्रेस्ता दर्ता प्रमाणित भई पूर्जा आई नसकेको अवस्थामा प्रमाणमा तिरो तिरेका रसिद ८७ नं. फाँटवारीको प्रमाण उल्लेख गर्दै सम्पत्तिको विवरण मोहडा र पिछाड हातमा खुलाई साविक प्रमाणको आधारमा साँध मिलाउन लिएको छु । साविकको प्रमाणको आधारमा लिएपछि र विपक्षीले विवाद नै उठाउन नसकेका लिखतका ४ किल्ला लिखतमा लेखिएका सो व्यहोरा साँध किल्ला र जग्गाको वस्तु स्थितिको समग्ररुपमा अध्ययन गरी लिखत अन्तर्गत लिएको जग्गा कुन हो भनी सार ग्रहण हुनु गरिनु पर्नेमा मूलभूत रुपमा नापीको कित्ताको आधार नै लिन नहुनेमा लिइएको बुँदा मुद्दाको वास्तविक विवादसँग मेलखान सकेको देखिँदैन र इन्साफमा नै तलमाथि पर्न गएको छ । यसर्थ यसमा पुनरावेदन अदालतको उक्त फैसला अ.बं. ८२, १७९, १८४(क), १८५ नं. प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्याको प्रश्नमा तथा प्रतिपादित नजीरको प्रश्नमा प्रत्यक्ष त्रुटी हुन गएको हुनाले उक्त फैसला दोहोर्‍याई हेरी बदर गरी जिकिर बमोजिम न्याय पाउँ भन्ने समेत व्यहोराको तुल्सीप्रसाद शर्मा समेतको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

१०.  यसमा वादीले मिति २०३४।१।१४ मा प्रतिवादी मध्येको उमाकान्त शर्मालाई ०० जग्गा राजीनामा गरी दिएको तथ्यलाई स्वीकार गरेको र सो राजीनामाबाट बाटो देखि दक्षिणतर्फको जग्गा लिनु दिनु गरेको देखिन्छ । अदालतको आदेश बमोजिम भएको मिति २०४७।७।१४ गतेको नक्साको न.नं. ५ को विवादित जग्गा पनि बाटो देखि दक्षिणतर्फ कै भएको र प्रतिवादीले कि.नं. ३५८ को जग्गा कम भएको भनी वादीको जग्गा खरिद गरेको स्थिति देखिन आएकोले लिखतमा लेखिएको किल्ला कायम गरी निर्णय गर्नु पर्नेमा रजिष्टे«शनको महलको १६ नं. को गलत व्याख्या गरी पुनरावेदन अदालत पोखराले निर्णय गरेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दामा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ, भन्ने समेत यस अदालतको संयुक्त इजलासको २०५१।१।१४ गते भएको आदेश।

११.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले वादीको कि.नं. ३५९ को जग्गा मिति २०३४।३५ सालमै राजीनामा भई विभिन्न कित्ता कायम भई सर्न गएको अवस्था हुँदा उसै बेला विवादित कि.नं. १४३० को जग्गा सम्बन्धमा वादीले थाहा नपाउने अवस्था नै नहुने हुँदा वादीको फिरादम्याद नाघि परेको हुँदा खारेज हुनु पर्छ । मेरो पक्षलाई वादीले २०३४ सालमा दिएको राजीनामामा उत्तर किल्लाबाट भनिएकोमा भई आएको नक्सामा कि.नं. १४३० मा उत्तर किल्ला मात्रै बाटो छ । कि.नं. १४२८ को उत्तर किल्लामा बाटो जोडिएको छैन यसबाट पनि कि.नं. १४३० मेरो पक्षको भन्ने कुरा निर्विवाद छ । यसअवस्थामा वादी दावी बमोजिम दर्ता बदर भई वादीको हक कायम हुने समेत ठहर्‍याएको कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला नमिलेको हुँदा बदर हुनु पर्छ भन्ने समेत व्यहोराको र विपक्षी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शेषनारायण ढुंगानाले र.नं. २८३० बाट प्रतिवादी उमाकान्तलाई राजीनामा गरी दिएको कि.नं. ३५७ को जग्गा मात्र हुँदा पछिबाट कि.नं. ३५९ को बेच्दै नबेचेको जग्गाबाट कित्ताकाट गराई कि.नं. १४३० कायम गरी दर्ता गरेको र पछि तुल्सी प्रसादलाई बिक्री गरेको हुँदा कि.नं. १४३० को दर्ता बदर भई मेरो पक्षको हक कायम हुने र सो हदसम्मको लिखत बदर समेत हुने ठहर्‍याएको कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै हुँदा सदर कायम हुनु पर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

१२.  दुवै पक्षको बहस सुनि प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यस्मा कि.नं. ३५९ बाट कि.नं. १४३० को जग्ग मिति २०३६।१२।२२ मा प्रतिवादीले आफ्नो नाममा कित्ताकाट गराएको देखिन्छ । सो कुरा कि.नं. ३५७ को जग्गा मध्ये ०२० जग्गा प्रतिवादीलाई राजीनामा गरी हक छाडी दिने वादीलाई कि.नं. ३५९ को जग्गा प्रतिवादीले कित्ताकाट गराएको सम्बन्धमा समेत मौकैमा थाहा जानकारी थियो भन्ने सकिने अवस्था देखिँदैन। वादीको आफ्नो हक स्वामित्वको जग्गा प्रत्तिवादीको नाममा वादीलाई थाहा जानकारी नभई कित्ताकाट गराएकोमा वादीले थाहा पाएको मिति कायम गरी सोबाट हदम्याद भित्रै परेको फिरादलाई हदम्याद नाघी परेको भन्न मिल्ने देखिएन । वादीले प्रतिवादी उमाकान्तलाई मिति २०३४।१।१४ मा गरी लिएको लिखतमा हालको कि.नं. ३५७ मध्येबाट लिखत गरी दिएको र प्रतिवादीले उक्त कि.नं. ३५७ बाट कित्ताकाट गरी कि.नं. १४२८ छुट्याई लिएको भन्ने देखिँदा वादीको राजीनामा लिखतको जग्गा सो कि.नं. १४२८ को रहेछ भन्ने देखिन्छ । विवादित कि.नं. १४३० को जग्गा सोही कि.नं. ३५७ नभई कि.नं. ३५९ को भन्ने मालपोतको श्रेस्ता समेतबाट देखिन आएकोछ । सो कि.नं. ३५९ बाट प्रतिवादीले वादीसँग हक छुटाई लिएको कुनै पनि सबूद प्रमाण पेश गर्न नसकेकोले सो कुराको अभावमा विवादित कि.नं. १४३० को जग्गा प्रतिवादी उमाकान्तको हकको देखिन नआई वादीको कि.नं. ३५९ भित्र कै देखिन आउँछ । तसर्थ वादी दावी बमोजिम विवादित कि.नं. १४३० को दर्ता बदर भई वादीको हक कायम हुने र सो हदसम्मको लिखत बदर समेत हुने ठहर्‍याएको शुरु कास्की जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.नरेन्द्र बहादुर न्यौपाने

 

इतिसम्वत् २०५२ साल कार्तिक २८ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु