निर्णय नं. ६०३७ - बकसपत्र लिखत बदर दर्ता

निर्णय नं. ६०३७ ने.का.प. २०५२ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५० सालको दे.पु.नं. १०७८
फैसला मिति : २०५२।६।२३।२
मुद्दा : बकसपत्र लिखत बदर दर्ता ।
पुनरावेदक/वादी: जिल्ला सिराहा मझौरा गाउँ विकास समिति वडा नं. ८ बस्ने रामसुफल साहु तेली ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी: ऐ. ऐ. बस्ने करमावती तेलिन ।
ऐ.ऐ गा.वि.स. वडा नं. ७ बस्ने धुरनी साहु तेलिन ।
अंश मुद्दामा पेश भएको फाँटवारीमा उल्लेखित जग्गा भन्दा बेगल जग्गा बकसपत्र गरी दिएको देखिंदा उक्त जग्गामा वादीको समेत हक लाग्ने ।
(प्रकरण नं. १२)
वादीको समेत हक लाग्ने सम्पत्ति हस्तान्तरण गर्दा निजको मञ्जुरी नलिई बकसपत्रको लिखत पारित भएको देखि“दा मञ्जुरी बेगरको बकसपत्रको लिखतलाई कानुनसंगत मान्न नमिल्ने।
(प्रकरण नं. १२)
फैसला
न्या.ओमभक्त श्रेष्ठः श्री पुनरावेदन अदालत, राजविराज सप्तरीको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२ विपक्षीले मलाई धर्मपत्र बनाई मालपोत कार्यालय, सिराहाबाट मिति ०४२।११।१७ मा धर्मपुत्र लेखत पारीत भएको छ विपक्षीले मलाई इज्जत आमद अनुसार खान लाउन नदिएकोले अंश दर्ता मुद्दा दिई दे.नं. ६२६ को मुद्दा यस अदालतमा छ । यस्तो मुद्दा हुँदा हुँदै पनि विपक्षीले आफ्नो नाममा दर्ताको जि.सि.गा.पं. मझोरा वडा नं. ४ कि. नं. २९० को ०–११–१५.१/२ ऐ. कि.नं. २८५ को ०–१–१७.१/४ ऐ. कि.नं. २९३ को ०–०–१७ ऐ. वडा नं. ७ कि.नं. २४८ को ०–०–१.१/२ ऐ. कि.नं. २५२ को ०–०–११.१/२ ऐ. वडा नं. ७(ख) कि.नं. १४८ को ०–०–९.३/४ ऐ. वडा नं. ९ कि.नं. ५४६ को ०–०–१६.१/२ ऐ. वडा नं. ७(ख) कि.नं. १४६ को ०–१–१२ समेत जम्मा ज.वि. १–०–१ जग्गा मेरो समेत अंश हक लाग्नेमा मेरो छोरा छैन भनी आफ्नो छोरी धुर्नि साहुलाई मिति २०४६।११।२ गते बकसपत्रको लिखत पारीत गरी दिइछन् । सो कुरा मिति २०४६।११।१३ गते उक्त जग्गा जोताउँछु भनी जाँदा विपक्षी धुनिले बकसपत्र गरी लिएको छु भनी भनेकोले मालपोत कार्यालय सिरहामा मिति २०४६।११।१८ गतेमा नक्कल सारी लिँदा थाहा भएकोले दान बकसपत्रको १ नं. र लेनदेन व्यवहारको १० नं. अनुसार फिराद गर्न आएको छु । उल्लेखित गा.पं. मझौरा वडा नं. ४ कि.नं. २९० को ०–११–१५.१/२ मध्ये पश्चिमबाट ०–५–१७.३/४ ऐ. कि.नं. २८५ को ०–१–१७.१/४ मध्ये पश्चिमतर्फबाट ०–०–१८.५/८ ऐ. कि.नं. २९३ को ०–०–१७ मध्ये पश्चिमतर्फबाट ०–०–८.१/२ ऐ. वडा नं. ७(क) कि.नं. २४८ को ०–१–१.१/२ मध्ये पश्चिमबाट ०–०–१७.३/४ ऐ. कि.नं. २५२ को ०–०–१८.१/२ मध्ये पश्चिमतर्फबाट ०–०–५.३/४ ऐ. वडा नं. ७(ख) कि.नं. १३८ को ०–०–९.३/४ मध्ये पश्चिमतर्फबाट ०–०–४.७/८ ऐ. वडा नं. ६ कि.नं. ५४६ को ०–१–१६।१/२ मध्ये पश्चिमतर्फबाट ०–०–१८.१/४ को ऐ. वडा नं. ७(ख) कि.नं. १४६ को ०–१–१२ मध्ये पश्चिमतर्फबाट ०–०–१६ समेत ०–१०–१/२ जग्गा विपक्षी धार्नि साहुका नामबाट लिखत दर्ता बदर गरी मेरो नाममा दर्ता गराई फैसला दायर गर्दा राखेको कोर्ट फी समेत दिलाई भराई पाउँ भन्ने समेत वादी।
३. विपक्षीले मलाई धर्मपुत्र भएर पनि इज्जत आमद अनुसार खान लाउन नदिई स्याहार सम्हार समेत नगरेकोले विपक्षी उपर यसै अदालतमा दे.नं. १०५५ मा धर्मपुत्र लिखत बदर मुद्दा दिएको छु त्यस्मा पनि मु. ऐन अंश बण्डाको १९ नं. ले आधासम्म सम्पत्ति आफ्नो खुस गर्न पाउने हुँदा धुनिलाई मैले वादी दावीको जग्गा दिएको र म धुर्निले आमा करमावतिको सेवा सुसार गरेबापत उक्त जग्गा बकस पाई बकसपत्र पारीत गरी लिनु दिनु गरेको हुँदा बकसपत्र बदर हुनु पर्ने होइन भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र ।
४. आजै निर्णय भएको दे.नं. ६२६ को अंश मुद्दामा दुई भागको एक भाग जग्गा प्रस्तुत मुद्दाका वादी राम सुफलले अंश पाउने र बाँकी आधा जग्गा प्रतिवादी करमावतीमो अंशभागमा बाँकी रहने नै हुँदा वादीले सो करमावतीको अंश भागमा परेको आधा जग्गा मध्येबाट प्रस्तुत मुद्दामा निजको हक देखिन आएजति ०१००८ जग्गा कटाई दर्ता गराई लिन पाउने भई प्रस्तुत बकसपत्र बदरतर्फको दावी सम्म पुग्न नसक्ने ठहर्छ भन्ने समेत सिराहा जिल्ला अदालतको मिति २०४७।२।२८ गतेको फैसला ।
५. शुरु अदालतको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गरेको छु । शुरु अदालतले मुद्दा भन्दा बाहिर गई वादी प्रतिवादीको दावा नै नभएको कुरामा प्रवेश गरी गरेको इन्साफ कानून विपरीत भएकोले शुरुको फैसला बदर गरी मेरो माग दावी अनुसारको जग्गाको लिखत बदर हुने र मेरा नाममा दर्ता हुने गरी इन्साफ पाउँ भन्ने समेत वादीको पुनरावेदन अदालत राजविराज सप्तरीमा परेको पुनरावेदन पत्र ।
६. यस्मा प्रतिवादी करमावतिले विवादको हक जति बकसपत्रको लिखत बदर गर्नु पर्नेमा उक्त बकसपत्रको लिखतमा परेको जग्गा मध्येबाट आधि पुनरावेदन वादीको हक जति वादी दावीभन्दा बाहिर गई अंश मुद्दाबाट प्रतिवादी करमावतिको भागमा परेको जग्गाबाट लिन पाउने गरी गरेको निर्णय त्रुटिपूर्ण देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने मिति २०४९।५।१४ गतेको पुनरावेदन अदालत राजविराजको आदेश ।
७. मानो छुट्टिएको बेग्लै बसेको धर्मपुत्रको मञ्जुरी लिनु पर्ने नपर्ने कानूनी प्रावधानतर्फ हेर्दा लेनदेन व्यवहारको १० नं. बमोजिम एका सगोलमा बसेको अंशियारको मात्र मञ्जुरी लिनु पर्ने प्रावधान देखिन आउँछ । अंश मुद्दा परी सकेपछि वादीको मञ्जुरी नलिई बकसपत्र गरेको लिखत बदर हुनु पर्ने देखिएन । तसर्थ वादीको बकसपत्र बदर तर्फको वादी पुग्न नसक्ने ठहराएको शुरुको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ । तर करमावतीको अंश भाग परेको आधा जग्गा मध्येबाट प्रस्तुत मुद्दामा निजको हक देखिन आएजति ०–१०–०–८ जग्गा कटाई लिन पाउने भई भन्ने निर्णयाधार र तपसिलको नं. २ को व्यहोरा नमिलेकोले सो हदसम्म शुरुको फैसला केही उल्टी हुन्छ भन्ने समेतको मिति २०४९।९।६ को पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला ।
८. दान बकसको १ नं. बमोजिम आफ्नो खुश गर्न पाउने बाहेक अरुमा अंशियारको मञ्जुरी नलिई वा साक्षी नराखी दान बकस गरी लिनु दिनु हुँदैन । बकसपत्र गरेको जग्गामा धर्म आमाको आधामात्र हक छ तसर्थ मेरो समेत हक लाग्ने जग्गा बकसपत्र गरी दिनु भएको लिखत मेरो हक जति बदर हुनु पर्नेमा सो नगरको शुरुको तथा त्यसलाई सदर गरेको पुनरावेदन अदालत राजविराजको फैसला बदर गरी फिराद दावी बमोजिम गरी पाउँ भनी वादीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
९. यस्मा वादी पनि अंशियार हो भन्ने तथ्य निर्विवाद नै छ । विधिवत अंश नछुनिएसम्म सबै सम्पत्तिमा अंशियारको समान हक कायम रहने हुन्छ । कुनै अंशियारले त्यस्तो सम्पत्ति मध्ये आफ्नो हक भन्दा बढी खण्ड हस्तान्तरण गरेमा अन्य अंशियारको मञ्जुरी लिन नपर्ने भन्न नमिल्ने हुँदा पुनरावेदन अदालत राजविराजको इन्साफ फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम छलफलको निमित्त विपक्षी झिकाई नियम बमोजिम गरी पेश गर्नु भन्ने समेतको मिति २०५०।११।२२ गतेको यस अदालत संयुक्त इजलासको आदेश ।
१०. नियम बमोजिम आजको दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्र सहितको मिसिल संलग्न कागजात अध्ययन गरी शुरु इन्साफ केही उल्टी गरेको पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला मिलेको छ छैन वादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो सो विषयमा निर्णय दिनु पर्ने देखियो ।
११. निर्णयतर्फ विचार गर्दा मेरो समेत अंश हक लाग्ने जम्मा क्षेत्रफल १–०–१ को विभिन्न कित्ता जग्गाहरु प्रतिवादी करमावतीले निजको छोरा धुरनीसाहु तेलीनलाई मिति २०४६।११।२ मा बकसपत्रको लिखत पारीत गरी दिएकोले अंश हक मार्ने नियतले बकसपत्र गरी दिएको उक्त लिखतको मेरो हक जति आधा बदर गरी पाउँ भन्ने फिराद दावीमा अंश मुद्दाबाट २ भागको १ भाग जग्गा वादी राम सुफलले पाउने र आधा जग्गा प्रतिवादी करमावतीको अंशभाग बाँकी रहने हुँदा कर्मावतिको सो आधा जग्गा मध्येबाट प्रस्तुत मुद्दामा निजको हक देखिन आएजति ०–१०–०८ जग्गा कटाई दर्ता गराई दिन पाउने भई बकसपत्र बदर तर्फको दावी पुग्न नसक्ने भन्ने शुरुको इन्साफ केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसलामा चित्त नबुझी फिराद दावी बमोजिम बकसपत्र आधा लिखत बदर गरी पाउँ भनी जिकिर लिई वादीको पुनरावेदन पर्न आएको देखियो ।
१२. प्रतिवादी मध्येको करमावती साहु तेलीनले मिति २०४२।११।१६ मा धर्मपुत्रको लिखत पारीत गराई पुनरावेदक वादी रामसुफल साहु तेलीलाई धर्मपुत्रको रुपमा ग्रहण गरी इज्जत आमद अनुसार खान लाउन समेत नदिई उचित हेरचाह नपुर्याएको भनी उक्त धर्मपुत्रको लिखत (साविक पेज नं. ५९४) बदर गरी पाउँ भनी सिराहा जिल्ला अदालतमा मिति २०४६।१।११ मा फिराद दायर गरेकोमा धर्मपुत्रको लिखत बदर नहुने भनी मिति २०४७।३।२८ गतेमा सिराहा जिल्ला अदालतबाट भएको फैसला मिति २०४८।११।१३ गते यो पुनरावेदन अदालत राजविराज सप्तरीबाट सदर भई अन्तिम रुपमा रहेको प्रमाणको दे.पु.नं. ५४४ को धर्मपुत्र लिखत बदर मुद्दाबाट देखिँदा वादी रामसुफल साहु तेली प्रतिवादी करमावती साहु तेलीनको धर्म छोरा भएकोमा विवाद देखिएन २ भागको १ भाग अंश पाउँ भनी यिनै वादीले यिनै प्रतिवादी करमावती साहु तेलीन उपर दिएको अंश दर्ता मुद्दामा दावी बमोजिम २ भागको १ भाग अंश छुट्याई पाउने गरी भएको सिराहा जिल्ला अदालतको मिति २०४७।३।२८ गतेको फैसला पुनरावेदन अदालत राजविराजबाट सदर भई बसेको प्रमाणको दे.पु.नं. ५६८ को अंश दर्ता मुद्दाबाट देखिँदा पुनरावेदक वादी प्रतिवादी मध्ये करमावती साहु तेलीनको अंशियार रहेको कुरामा समेत विवाद छैन । वादीले प्रतिवादी करमावती उपर अंश मुद्दा दायर गरेपछि मात्र मिति २०४६।११।२ मा प्रतिवादी करमावतीले छोरो धुरनी साहु तेलीनलाई हालैको बकसपत्र पारीत गरी विवादित जग्गा हक हस्तान्तरण गरी दिएको देखिन्छ । अंश मुद्दामा पेश भएको फाँटवारीमा उल्लेखित जग्गा भन्दा बेगल जग्ग बकसपत्र गरी दिएको देखिँदा उक्त जग्गामा वादीको समेत हक लाग्ने देखिन्छ । वादीको समेत हक लाग्ने सम्पत्ति हस्तान्तरण गर्दा निजको मञ्जुरी नलिई बकसपत्रको लिखत पारीत भएको देखिँदा मञ्जुरी बेगरको बकसपत्रको लिखतलाई कानुनसंगत मान्न मिल्ने देखिएन।
१३. तसर्थ आधा अंश पाउने वादी अंशियार देखिँदा वादीको मञ्जुरी विना वादीको पनि अंश हक लाग्ने जग्गा बकसपत्र गरी दिएको त्रुटिपूर्ण देखिँदा वादीले बकसपत्रमा लेखिएका जग्गा क्षेत्रफल १–०–१ मध्ये आधा ०–१०–०–८ लिखत बदर गराउन पाउने हुँदा बकसपत्र लिखतमा लेखिएको १–०–१ जग्गा मध्ये आधा जग्गा ०–१०–०–८ बदर हुने भई आधा वादीको नाममा दर्ता समेत हुने ठहर्छ । वादीले आधा ०–१०–०–८ जग्गा प्रतिवादीको भागको जग्गाबाट कटाई पाउने भन्ने ठहराएको शुरुको र सो व्यहोरा पनि हटाउने भन्ने पुनरावेदन अदालत राजविराज सप्तरीको इन्साफ समेत मिलेको नदेखिँदा उल्टी हुन्छ अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी राम सुफल साहु तेली के माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु तथा पुनरावेदन अदालत, राजविराज समेतको इन्साफ उल्टी भई फिराद दावी बमोजिम विवादित बकसपत्रको आधा लिखत बदर भई सो ०–१०–०–८ जग्गा वादीको नाममा दर्ता समेत हुने ठहरेकोले दर्ता गराई पाउँ भनी वादीको दर्खास्त परे ऐनको रीत पुर्याई दर्ता गरी दिन सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउन शुरु सिरहा जिल्ला अदालतमा लगत दिनु...१
पुनरावेदक वादी रामसुफल साहुतेली के माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले निजले फिराद दर्ता गर्दा मिति २०४६।११।१९ मा शुरुमा राखेको कोर्ट फी रु. ३०।– तत्कालिन सगरमाथा अञ्चल अदालतमा पुनरावेदन गर्दा मिति २०४७।५।५ मा राखेको कोर्ट फी रु. ३।– तथा यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत, राजविराजमा राखेको कोर्ट फी रु. १३४।५५ मध्ये ऐन बमोजिम लाग्ने रु. ४।५० समेत जम्मा कोर्ट फी रु. ३७।५० (सैतिस रुपैयाँ पैसा पचास) प्रतिवादीबाट भराई पाउँ भनी वादीको दरखास्त परे कानुन बमोजिम भराई दिनु भनी र यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत, राजविराजमा वादीले राखेको बढी कोर्ट फी रु. १३१।५५ वादीलाई नै फिर्ता दिनु भनी शुरु सिरहा जिल्ला अदालतमा लगत दिनु...१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी बमोजिम आधा लिखत बदर भई ०–१०–०–८ जग्गा वादीको नाममा दर्ता समेत हुने ठहरेकोले शुरुको मिति २०४७।३।२८ गते तथा पुनरावेदन अदालत, राजविराजको मिति २०४९।९।६ को फैसलाले राखेको लगत अब राख्नु नपर्ने हुँदा कट्टा गर्न भनी सिरहा जिल्ला अदालतमा लेखि पठाई मिसिल नियम बमोजिम बुझाई दिनु...१
उक्त रायमा म सहमत छु ।
न्या.इन्द्रराज पाण्डे
इतिसम्वत् २०५२ साल असोज २३ गते रोज २ शुभम् ।