निर्णय नं. ८६५५ - आगो लगाई ज्यान मार्ने उद्योग

ने.का.प. २०६८, अङ्क ७
निर्णय नं.८६५५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
संवत् २०६२ सालको CR–३११०, ३५६१, ३५६२
फैसला मितिः २०६७।७।१४।१
मुद्दाः आगो लगाई ज्यान मार्ने उद्योग ।
पुनरावेदक वादीः प्र.नि.प्रदीपकुमार खड्का समेतको प्रतिवेदनले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः मोरङ जिल्ला नोचा गा.वि.स.वडा नं.३ बस्ने जनकलाल मण्डल समेत पुनरावेदक प्रतिवादीः मोरङ जिल्ला, पोखरिया गा.वि.स.वडा नं.८ बस्ने शिवनारायण मण्डल
बिरुद्ध
प्रत्यर्थी वादीः प्र.नि.प्रदीपकुमार खड्का समेतको प्रतिवेदनले नेपाल सरकार
पुनरावेदक प्रतिवादीः मोरङ जिल्ला, पोखरिया गा.वि.स.वडा नं.६ बस्ने जगन्नाथ भन्ने जगरनाथ मण्डल समेत
बिरुद्ध
प्रत्यर्थी वादीः प्र.नि.प्रदीपकुमार खड्का समेतको प्रतिवेदनले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.न्या.श्री वमकुमार श्रेष्ठ
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री वोधरीराज पाण्डे
मा.न्या.श्री राघवलाल वैद्य
§ घटनास्थलमा घटना घटित हुनुपूर्व ठूलो संख्याको भीड रहेको र सो भीडमा आगो लगाउने कार्यमा संलग्न प्रतिवादीहरूलाई तत्कालै प्रहरीले पक्राउ गरेकोमा ती पक्राउ परे बाहेकका प्रतिवादी बनाइएका अन्य प्रतिवादीहरूले पनि आगो लगाएको भन्ने तथ्य स्थापित हुन नसकेबाट प्रतिवादी बाहेकका अन्य प्रतिवादीहरूको वारदात घटनामा प्रत्यक्ष संलग्न रहे भएको भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.६)
§ अभियोगमा बिगोमा गोश्वारा रुपमा यो यसको यति भनी दावी लिएबाट यो यो यति मूल्य बराबरको यस्तो सम्पत्ति भन्ने स्पष्ट खुल्न नसकेको यस्तो बिगो भराई पाउने सम्बन्धमा स्पष्ट रुपमा यकीन हुन नसकेको विषयमा अदालत आफैले किटान गरी दिन पनि नसक्ने हुँदा बिगो भराई पाउने भन्ने अवस्था पनि नरहने ।
(प्रकरण नं.७)
§ भेदभाव गरी अरुको हकमा हस्तक्षेप गर्ने कार्य मानवअधिकार र फौजदारी कानूनको दृष्टिले गम्भीर विषय हुन्छन । त्यसमा पनि धर्म वा समुदायको विवादका नाममा उत्तेजित बनाई व्यापक असर भएको आपराधिक कार्यमा परिणत हुन्छ भने त्यो झन गम्भीर विषय हुन्छ त्यस्तो विषयमा कानूनले विशेष सतर्कतापूर्वक गम्भीर एवं सख्त दृष्टिकोण लिन जरुरी हुन्छ भने त्यस्तो विषयमा कानून कार्यान्वयन अझ प्रभावकारी हुन जरुरी हुनुपर्ने ।
§ व्यापक रुपमा भौतिक क्षति भएको परिस्थितिमा सम्बन्धित व्यक्तिका नोक्सानीका क्षतिपूर्ति गर्नुका अतिरिक्त फौजदारी कानूनका दृष्टिले त्यस्तो कसूर दोहरिन नदिने हिसावले पनि पर्याप्त अनुसन्धान साथ क्षतिको सही आंकलन गरी पर्याप्त उपचारप्राप्त गर्ने प्रयास हुनुपर्नेमा त्यस हिसावले मुद्दामा अनुसन्धान एवं दावी नै लिन नसकेको स्थितिमा मुद्दामा केही प्रतिवादीहरूलाई भएको सजाय मात्रले पर्याप्त परिपुरण हुने गरी पूर्ण न्यायको अनुभूति दिलाउन नसक्ने ।
(प्रकरण नं.८)
पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी
प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ र विद्वान अधिवक्ता लक्ष्मीप्रसाद पोखरेल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ ज्यानसम्बन्धी महलको २ र ३, ५, १५ नं.
फैसला
न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत विराटनगरको मिति २०६१।११।२७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
मोरङ जिल्ला, पोखरिया गा.वि.स.वाड नं.६ बस्ने महावीर मण्डलको छोरी सुमित्राकुमारी मण्डललाई ऐ.ऐ.बस्ने फिरोज मियाँले भगाई लगेको सम्बन्धमा केटी पक्षका मानिसहरूसँग विवाद भै मिति २०५३।११।१९ गते दिनको १:३० बजेको समयमा ऐ.बस्ने महावीर मण्डल, विश्वनारायण मण्डल समेतका केटीका मानिसहरूले ऐ.बस्ने रहमान मियाँ समेतको घरमा आगो लगाई दिएकाले निम्न घरहरू आगलागीबाट पूरै ध्वस्त भई नगद जिन्सी पूरानो लत्ता कपडा भाडा वर्तन समेतको धनमाल डढी क्षति भएकोले घटनास्थल प्रकृति ठीक छ भनी रहमान अन्सारीको रु.६०,०००।–, तैयव अन्सारीको रु.६०,०००।–, रहमान अन्सारीको रु.१,००,०००।–, साहाबुद्दिन अन्सारीको रु.१८,०००।–, मफिजुद्दिन अन्सारीको रु.८,०००।–, ठाकुरउद्दिन अन्सारीको रु.६०,०००।–, कलिम अन्सारीको रु.१,५०,०००।– मुर्सिल अन्सारीको रु.१,५०,०००।–, सकुर अन्सारीको रु.२५,०००।–, महरम अन्सारीको रु.५०,०००।– महिरउद्दिन अन्सारीको रु.२५,०००।–, अव्वास अन्सारीको रु.१५,०००।–, वारिक अन्सारीको रु.३०,०००।–, महमद अन्सारीको रु.२५,०००।–, कैयुम अन्सारीको रु.१५,०००।–, सिकन्दर अन्सारीको रु.६०,०००।– हजरथ अन्सारीको रु.१२,०००।–, सराजुद्दिन अन्सारीको रु.२,००,०००।–, लुकमान अन्सारीको रु.२५,०००।–, सकुर अन्सारीको रु.२५,०००।–, असकर अन्सारीको रु.२५,०००।– सवुरद्दिन अन्सारीको रु.२५,०००।–, रामजान अन्सारीको रु.२५,०००।–, वारिक अन्सारीको रु.१५,०००।–, असरफयालीको रु.१५,०००।–, अव्वरुल अन्सारीको रु.२५,०००।– हविव अन्सारीको रु.६०,०००।, अकिमुद्दिन अन्सारीको रु.१,००,०००।–, महमद सैद अन्सारीको रु.७५,०००, अलाउद्दिन अन्सारीको रु.५०,०००।–, जमुरद्दिन अन्सारीको रु.६०,०००।, अलमा अन्सारीको रु.५५,०००।–, सलिम अन्सारीको रु.४५,०००।– अकिमुद्दिन अन्सारीको रु.१,२५,०००।–, अजिमउद्दिनको रु.२,००,०००।–, ईव्राहिम अन्सारीको रु.५०,०००।–, सरिक अन्सारीको रु.५०,०००।–, जमानल अन्सारीको रु.४०,०००।– हसिवुल अन्सारीको रु.५०,०००।–, अलिउद्दिनको रु.७५,०००।–, मथान अन्सारीको रु.३,००,०००।–, नाजिर अन्सारीको रु.१,५०,०००।–, सलिम अन्सारीको रु.२५,०००।, रजाम अन्सारीको रु.३५,०००।–, लियाकत अन्सारीका रु.६०,०००।–, रहमान अन्सारीको रु.४५,०००।–, समसुद्दिन अन्सारीको रु.४०,०००।, नसिम अन्सारीको रु.२०,०००।–, दिल महमद अन्सारीको रु.७५,०००।–, जमलु अन्सारीको रु.६५,०००।–, रहमान मियाँ अन्सारीको रु.४५,०००।–, गफार अन्सारीको रु.३५,०००।–, नाजुम मियाँको रु.५०,०००।–, जलिम मियाँको रु.३०,०००।–, कुरवन अन्सारीको रु.१,५०,०००।–, जमुद्दिन अन्सारीको रु.१,५०,०००।– ऐ.मा रहेको मस्जिद थान १ को १,५०,०००।– लगायतका ६१ घरहरू र सामान, धनीपूर्जा समेत जलेर नष्ट भएको हो भन्ने समेत व्यहोराको प्रहरी अधिकृतको डोरमार्फत् मिति २०५३।११।१९ गते भएको लाल महमद मियाँ समेतको घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०५३।११।२ गते महावीर मण्डलको छोरी सुमित्रा मण्डललाई फिरोज रहमान समेतका व्यक्तिहरूले ललाई फकाई बेपत्ता पारेको विषयमा २०५३।११।१९ गते केटी पक्षका र छिमेकी गा.वि.स.समेतका मानिस भेला भै फिरोज मियाँ समेतको घरमा आगो लगाई दिएको जानकारी प्राप्त भै घटनास्थलमा गै बुझ्दा उक्त विषयमा विवाद भै केटी लाने फिरोज रहमानको घरमा कर्तव्यबाट आगो लगाई आगलागीबाट उक्त घरको आपसासका ७० जना मानिसको घर ध्वस्त भएको ज्यान मर्न नपाएको आगो लगाउनेमध्ये शिव नारायण मण्डल, रामदेव मण्डल, लक्ष्मण मण्डल, गंगाइ मण्डल, नथुराम भोर, धनिकलाल राय, जनकलाल मण्डल र शिवनाथ मण्डलाई मक्राउ गरी ल्याएका छौं । मुलुकी ऐन आगो गाउनेको महलबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.नि.प्रदीपकुमार खड्का समेतको मिति २०५३।११।१९ को प्रतिवेदन ।
मिति २०५३।११।२ गते फिरोज रहमान तथा नजयुद्दिन अन्सारीले महावीर मण्डलको छोरी सुमित्रालाई जवर्जस्ती भगाई लगी भारतमा राखेकोमा सो ठाउँबाट भागी आएको भन्ने गाउँका मानिसले थाहा पाई भेला भएका र सो विषयलाई लिएर हिन्दू र मुसलमान बीचमा पोखरियास्थित जनता नि.मा.वि.मा छलफल गर्ने सहमति भै छलफल गर्दा फिरोज नआएकाले आफ्नै घरमा बनाएको रक्सी सेवन गरी मिति २०५३।११।१९ गते निजलाई लिन र पञ्चायती गर्न गए । तहाँ केटी पक्षको फिरोज तथा नजयुद्दिनलाई ल्याएको छैन भनी भिडले थाहा पाएपछि करीव ५।७ सय जतिको भीड भएकाले सो अवस्थामा भीडमा चर्चा चल्यो र मुसलमानको घरमा आगो लगाई दिनु पर्छ भनी चर्को आवाज आएकोले मेरो गोजीमा भएको सलाई निकाली जनता नि.मा.वि.को उत्तरतर्फ भएको घरमा सलाई कोरी आगो लगाई दिएको हुँ । ठूलो भीड भएकाले अरु को कसले कता आगो लगाए सो मलाई थाहा छैन । प्रहरी प्रतिवेदनमा उल्लिखित व्यक्तिलाई मौकामा प्रहरीले पक्राउ गरी दाखिल गरेको हो । आगो लगाउने योजना थिएन एक्कासी रिस उठेका कारणले त्यस्तो हुन गएको हो । मुस्लिम जातिले सुमित्रा मण्डललाई भगाई लगेकोमा सामाजिक दण्ड पाउनु पर्छ भन्ने उद्देश्यले गा.वि.स.अध्यक्ष जगरनाथ मण्डललाई भनी मिटिङ्गको आव्हान गरेको हो भन्ने समेत व्यहोराको जनकलाल मण्डलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
जगरनाथ मण्डललाई पक्राउ गरी दाखिल गरेको भन्ने प्र.ह.गोविन्दबहादुर थापा समेतको मिति २०५३।११।२२ को प्रतिवेदन ।
मेरो र फिरोजको घर अं.१ किलोमिटर फरकमा भएको र निज तथा परिवारसँग समेत राम्रो सम्बन्ध थियो । मिति २०५३।११।२ गते महावीरको छोरी हराएकी र फिरोजको पञ्जाबाट भारतको पूर्णियाबाट भागेर आएकी फिरोज समेतका मानिसहरूले जवर्जस्ती भगाई लगेका भन्ने कुरा गरेकाले सामाजिक दण्ड दिनु पर्छ भनी जनता नि.मा.वि.मा मिटिङ्ग बोलाएको थियो । केटी भगाउने व्यक्ति फिरोज नआएकाले मिति २०५३।११।१९ गते सोही नि.मा.वि.को प्राङ्गणमा मिटिङ्ग बोलाएको हुँदा म पनि गएको थिएँ । त्यहाँ चार पाँच सय मानिस भेला भएका थिए । मुख्य कारणी केटा नल्याएकाले उक्त भिडले आज मियाँ बस्ती जलाउनु पर्छ भनेका र हल्लासम्म गरेको हुँ । मैले मेरो हातले आगो लगाएको हैन तर सबैभन्दा पहिले जनता नि.मा.वि.को छेउबाट आगो उठेको थियो रहमान समेत ६१ जनाको घर जली नष्ट भएको भनी सुनी थाहा पाऊँ के कति धनमाल नष्ट भयो थाहा छैन । केटी भगाउने केटा नआएको कारणबाट तत्काल उठेको रिसबाट केही व्यक्तिले मुस्लिमको घरमा आगो लगाई देउ भनेको हुँदा सो मासको व्यक्तिले आगो लगाएका हुन् । कसले आगो लगाए मलाई थाहा भएन भन्ने समेत व्यहोराको रामदेव मण्डलले गरेको बयान ।
मेरो गाउँको महावीर मण्डलको छोरी साबित्री फाल्गुणको पहिलो हप्तामा हराएकी थिइन् । फिरोजले मुखमा पाउडर दली मलाई लट्याई भारतको डुमरियामा मियाँ वस्तीमा लगी राखी सो पछि भारत कै तकिया भन्ने ठाउँमा लगी राखेको हो सो ठाउँबाट भागी आएको भनेकीले गा.वि.स.अध्यक्षलाई खवर गरी मिटिङ्ग बसेकोमा पहिलो दिन कारणी केटा फिरोज नआएकोले मिति २०५३।११।१९ गते जनता नि.मा.वि.पोखरिया स्कूलमा भेला जम्मा भएको मासमा केटा फिरोज नआएको रिसले मुस्लिमको घरमा आगो लगाई देउ भनी कराएकोमा स्कूलको दक्षिणतर्फबाट आगो निस्केको देखेको हुँ । प्रहरी प्रतिवेदनमा उल्लिखित जनकलाल मण्डल समेतका मानिसलाई घटनास्थलमा प्रहरीले पक्राउ गरी ल्याएको हो । आक्रोशमा आई भिडमा भएका मानिसले आगो लगाएका हुन मैले लगाएको होइन, कसले आगो लगाए मलाई थाहा भएन भन्ने समेत व्यहोराको गंगाइ मण्डलको बयान ।
म मिस्त्री काम गर्ने मानिस हुँ । हाम्रै गाउँको महावीर मण्डलको छोरी मुस्लिमले भगाएको छ अरे भन्ने ३।४ दिन अगाडि सुनेको सम्म थिएँ । उक्त वारदात घटेको दिन बिहान १०:०० बजे अगाडि नै जनता नि.मा.वि.को झ्याल ढोका बनाउन गएकोमा सो स्कूलमा दिउँसो चार पाँच सय जति मानिस भेला भए र हल्ला गरेको सुनी सो ठाउँमा जाँदा मुस्लिमको घरमा आगो लगाई दिऊँ भन्ने कुरा गरेको सुने र स्कूलको छेउबाट आगो शुरु भएको देखेको हुँ । को कसले आगो लगाए भीडमा भएकाले मैले भन्न सकिन । पूर्व योजनाअनुसार आगो लागएको नभै तत्काल रिस उठेका कारणले त्यस्तो भएको हो मैले आगो लगाएको होइन कसले लगायो सो भन्न सक्दिन भन्ने समेत व्यहोराको धनिकलाल राय अमातको बयान ।
मिति २०५३।११।१९ गते गाउँको महावीरको छोरी सुमित्रा हराएको सम्बन्धमा छलफल गर्न जनता नि.मा.वि.पोखरीमा गाउँलेहरू भेला भएका ठाउँमा म समेत गएको थिएँ । फिरोज अन्सारीले सुमित्रालाई जवर्जस्ती जोरजुलुम गरी भगाई भारतको डुमरिया मियाँ बस्तीमा केही दिन राखी निज केटीले फिरोजको आँखा छली भागी आएको सोही छलफलबाट थाहा पाऊँ । हिन्दूको चेलीबेटी मुस्लिमले लाने बस्तीलाई सामाजिक दण्ड दिनु पर्छ भनी आवाज आउन थाल्यो मुस्लिमको घर जलाई दिनुपर्छ भन्ने शव्द मैले प्रयोग गरे पछि जनमासले आगो लगाएको हो म सो आगो लगाउने काममा सामेल छैन । कसले आगो लगाएको हो मैले देखिन तर आगोको ज्वाला निस्केको देखेको हुँ । मानिसको भीड धेरै थियो कसले आगो लगायो भन्न सक्दिन । पहिले योजना बनाई आगो लगाएको होइन । तत्कालीन भीडमा हिन्दूको चेलीबेटी मुस्लिमले लगेको रिसमा आवेशमा आई उक्त घटना भएको हो । मैले आगो लगाएको होइन भन्ने समेत व्यहोराको जगरनाथ मण्डलको बयान ।
गाउँको महावीर मण्डलको छोरी हराएको सुनेको थिए पछि फिरोज अन्सारीले घरबाट जवर्जस्ती भगाई भारतको डुमरिया मियाँ बस्तीमा लुकाई राखेकोमा फिरोजको आँखा छली भागी आएको भन्ने चर्चा थियो । मिति २०५३।११।१९ गते जनता नि.मा.वि.पोखरियामा छलफल गर्ने भै मानिस भेला भएका र केटी भगाउने केटा नआएसम्म छलफल नहुने भनी वादविवाद चलेकोमा भीडमा मुसलमानको घरमा आगो लगाई दिनुपर्छ भन्ने आवाज उठेको र मैले पनि सोही कुरा भनेको हुँ को कसले आगो लगाए मैले देखिन । को कसको घरमा आगो लाग्यो कति क्षति भयो मलाई थाहा भएन । पक्राउ भै आएका मानिसहरूले आगो लगाएको हो होइन म भन्न सक्दिन भन्ने समेत व्यहोराको लक्ष्मण मण्डलको बयान कागज ।
मिति २०५३।११।१९ गते पोखरिया गा.वि.स.अन्तर्गत वोचाई मण्डलको मीलमा काम गरी खाना खान घर गएको अवस्थामा महावीरको छोरी वर्ष १२ की सुमित्रा मण्डलाई फिरोज अन्सारी समेतका मुसलमानहरूले भगाई लगेका र भारतको डुमरीया मुस्लिम बस्तीमा राखेकोमा भागी आएकीले सोको छलफलको लागि भेला भएका मासमा जनता नि.मा.वि.पोखरियामा गै पोखरियाका गा.वि.स.अध्यक्ष समेतलाई देखेको हुँ । मुस्लिमतर्फका कोही थिएनन् । भीडमा मानिस उत्तेजित भएका थिए । मुस्लिमले हिन्दूकी छोरी जवर्जस्ती भगाएर लान मिल्दैन, दण्ड गर्नुपर्छ भनी उफ्रि रहेका जमातले मुसलमानको घरमा आगो लगाउनु पर्छ भनी जाँदा म पनि गै आगो लगाएको हुँ । पूर्व योजना थिएन एक्कासी मुस्लिमले हिन्दूकी छोरी जवर्जस्ती भगाई लगेको कारणले उत्तेजित भीडमा सरीक भै आगो लगाउने कार्य गरेको हुँ । फिरोज पक्षका मानिस मिटिङ्गमा नआउँदा सोही कारणले आवेशमा आएर आगो लगाएको हो । के कति सम्पत्ति नास भयो थाहा छैन । ६१ घर जलेको भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको नथुराज भोरको बयान कागज ।
महावीर मण्डलकी छोरी सुमित्रालाई फिरोज अन्सारीले जवर्जस्ती भगाई लगेकोमा निज सुमित्रा घर फर्की आएपछि थाहा पाएर गाउँका सबै जनता फिरोजसँग रिसाइ सामाजिक दण्ड दिनुपर्छ भनी २०५३।११।१९ गते छलफलको कार्यक्रम गरेकोले जनता नि.मा.वि.पोखरियामा बिहान ८:०० बजे जाँदा फिरोज अन्सारी नआएकोले खोजी गरी तानी ल्याउन भनेकोमा खोजी गर्दा फेला परेन । दिनको १२।१ बजे पाँच छ सय जति भीड भैरहेको र भीड उत्तेजित अवस्थामा थियो फिरोज छलफलमा नआएको कारण मुसलमानको घरमा आगो लगाई दिने भने पछि भीडले रहमान अन्सारी समेतका ६१ जना मानिसको घरमा आगो लगाई क्षति भएको हो सोही अवस्थामा प्रहरी पुगी मलाई समेत पक्राउ गरेको हो । पक्राउ परेका जनकलाल समेतले आगो लगाएको हो होइन मलाई थाहा छैन । के कति घर र धनमाल क्षति भयो खुलाउन सक्दिन । आगो लगाउने पूर्वयोजना थिएन, एक्कासी मासमा कुरा उठेका कारणले त्यस्तो भएको हो भन्ने समेत व्यहोराको शिवनारायण मण्डलको बयान कागज ।
२०५३।११।१९ गते बिहान म आफ्नो कामले विराटनगर आएको थिएँ । सोही अबस्थामा महावीरको छोरी सुमित्रालाई फिरोज अन्सारीले भगाई भारत डुमरीयामा लगी ४।५ दिन थुनी राखेको र भाग्न सफल भै आफ्नो घरमा आएकी छन् सो विषयमा आज पोखरियामा जनता नि.मा.वि.मा छलफल छ भन्ने सुनेको हुँ । सो पछि घरमा गै उक्त स्थानमा जाँदा पाँच सातसय मानिसको भिड थियो फिरोज अन्सारीलाई किन नल्याएको हो भन्दै मासले कराउँदै मुसलमानको घरमा आगो लगाउने भन्न थाले सो पछि स्कूलको छेउको घरमा मैले आगो लगाई दिएको हुँ अरु को कसले काहाँ आगो लगाए म भन्न सक्दिन । तत्काल मासमा उठेको आवाजले हिन्दूको छोरी मियाँले भगाई लगेको कारणले रिस उठी आगो लगाएको हुँ । जम्मा ६१ घरमा आगो लाग्यो भन्ने सुने कति क्षति भयो थाहा छैन भन्ने समेत व्यहोराको शिवनाथ मण्डलको बयान कागज ।
महावीरको छोरी सुमित्रा मण्डल र रहमान अन्सारीको छोरा फिरोज अन्सारीको बीचमा प्रेम भै निजले भगाई लगेकोमा फर्की आएकीले हिन्दूकी छोरी मुसलमानले विवाह गरी लाने भनी २०५३।११।१९ गते जनकलाल मण्डल समेतका चिनेका र ४०।५० जना नचिनेका समेतको हुल भै जाहेरीमा उल्लिखित ६१ जनाको घरमा आगो लगाई घर धनमाल नष्ट पारिदिएका र खराब स्वभावका मानिस भएकाले त्यस्तो गरेको हो भन्ने समेत व्यहोराको लाल महमद मियाँ र अव्दुल अन्सारीको मिति २०५३।१२।५ मा गरेको कागज ।
महावीर मण्डलकी छोरी सुमित्रालाई रहमान अन्सारीको छोरा फिरोज अन्सारीले भगाई लगेकोमा निज सुमित्रा फर्की आएकीले छलफल गरी दिनु प¥यो भनी केटाको बाबु रहमान अन्सारी र केटीको बाबु महावीर मण्डलले अनुरोध गरेबमोजिम २०५३।११।१९ गतेभन्दा अगाडि पनि सल्लाह छलफल भएको र उक्त दिन दुवै पक्षबाट जम्मा भै छलफल गर्ने सर्वसम्मति भएकाले उक्त २०५३।१।१९ गते छलफलमा जाँदा फिरोज नआएकाले आएपछि पुनः छलफल गर्ने भन्ने सल्लाह भै म हिडेकोमा जनता नि.मा.वि.पुग्दा मानिसको भीड देखिएकाले निजहरूलाई समेत सोही जानकारी गराएकोमा भीड उत्तेजित भयो । इ.प्र.का.रंगेलीका प्रहरी समेत सो ठाउँमा आइसकेका थिए मैले उक्त घटना हुन सक्ने अवस्थादेखि जिल्ला प्रहरी कार्यालयमा समेत मौखिक जानकारी गराई आफ्नो गा.वि.स.जाँदा उक्त भिडले मुसलमानको घरमा आगो लगाएको भन्ने थाहा पाए । उक्त घटनामा म नहुँदा कसले आगो लगायो यकीन भन्न सक्दिन भन्ने समेत व्यहोराको जगन्नाथ सिंहको कागज ।
फिरोज अन्सारी र सुमित्रा मण्डलको बीचमा भएको प्रेम सम्बन्धको विषयमा महावीरले आफ्नो जात भाइ जम्मा गरेका र हामी पनि शान्तपूर्ण वातावरणमा वार्ता गर्न तयार भएकोमा २०५३।११।१९ गते जातिय विवाद खडा गरी तनावपूर्ण वातावरण सिर्जना गरी पूर्वाग्रह समेत राखेको हुँदा उक्त दिन महावीरको गाउँघरका सम्पूर्ण भेला भएका जनता नि.मा.वि.को प्राङ्गणमा करिव ५००० जति स्थानीय जनता भेला भएको र हाम्रो प्रतिनिधि पठाउँदा प्रवेश गर्न समेत नदिएका र हाम्रो प्रतिनिधि र महावीरका केही सहयोगीबीच छलफल हुँदा समेत विपक्षीहरू विवाद समाधान गर्न नमानी विवाद होहल्ला गरी भीडमा गएका र तनावग्रस्त स्थिति भएकाले प्रहरीलाई समेत जानकारी गराएको हुँदा प्रहरी आई भीडलाई सम्झाई बुझाई गर्दा पनि नमानी जनकलाल मण्डल, काशी चौधरी, जगरनाथ मण्डल गंगाई, जयनाथ मण्डल गंगाई, नथुराम भोर, छगोरी विश्वास, सत्यनारायण मण्डल, शिवनाथ मण्डल, लेन्हु मण्डल, वासो मण्डल, विसनदेव यादव, वालदेव साह वर्णवाल, धनिकलाल राय, फुलचन्द मण्डल, रामदेव मण्डल, शिवनारायण मण्डल, गंगा मण्डल, लक्ष्मण मण्डल समेतले हामी जाहेरीवाला समेतका घरमा जवर्जस्ती एक्कासी आगो लगाई दिएको हुँदा ६५ घर ध्वस्त र मुलुकी ऐन आगो लगाउन महलको १ नं.को विपरीत कार्य गरेकाले सोही ऐनको ५ नं.बमोजिम हदैसम्म सजाय गरिपाऊँ साथै आगो लगाउने कार्यमा बचन समेत दिई आगो लगाउन लगाउने मुख्य व्यक्ति चमरा मण्डल, नेविलाल नुनिया, मिश्रीलाल साह, बहादुर मण्डल, अशोक साह, राजेश रैया सतार, जितन मण्डल, महावीर मण्डल, माघेश्वर मण्डल, लक्ष्मण मण्डल गंगाई, किसनलाल सरदार, गर्जु मण्डल, जयकृष्ण मण्डल समेतले हात हतियार बन्दुक समेत लिई मानिसहरूलाई भेला जम्मा गराई आगो लगाई देउ हामी सल्टाउछौ भनी बचन दिई षडयन्त्र समेत गरेको हुँदा ऐ. बमोजिम नै सजाय हुन र आगो लगाउने काममा सहयोग गरी साथ लागी भिडमा गई मतियार भएका पुगुल साह तेली, नन्दलाल साह नुनिया, मताल सातार, रामसय मुर्मु सतार, टुडका मण्डल, राजदेव मण्डल, गर्जु मण्डल, उमेश मण्डल, दिनेश मण्डल, सगरु मण्डल, गुल्टेन मुसहर, वजल सतार, हकरु मण्डल समेतले हामी आगो निभाउन जानेलाई समेत रोकी हिर्काई आगो लगाउने कार्यमा प्रत्यक्ष सहयोग गरेको हुँदा ऐ.ऐनको कसूरमा ऐनको ७ नं.बमोजिम हदैसम्म सजाय गरिपाऊँ साथै बालबच्चा सुतिरहेको थाहा हुँदा हुँदै आगो लगाएको हुँदा आगो लगाउने महलको २ नं. बमोजिम ज्यानसम्बन्धी महलबमोजिम सजाय हुन र रहमान अन्सारीको घर लगायतका ६६ जनाको घर धान, चामल, आलु, सुन, चाँदी, भाडा वर्तन, लत्ता कपडा, सिलाई मेसिन, क्यासेट रेडियो, साइकल नगद पाटा समेतको धन सम्पत्ति नोक्सान पारी क्षति पुर्याएको हुँदा आगो लगाउने महलको दफा ९, १० बमोजिम क्षति पुर्याएको रु.३८,६९,४२०।– बिगो समेत विपक्षीहरूबाट दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको नाजुम मियाँ र मन्नान अन्सारीको मिति २०५३।११।२७ को जाहेरी दरखास्त ।
महावीर मण्डलको छोरी सुमित्रा मण्डल र फिरोज अन्सारी बीच प्रेम भई घर छाडी भागेको र यही फागुन १९ गते उक्त भगाएको विषयमा विवाद सिर्जना हुन सक्ने सम्भावना छ भन्ने खवर पाएकाले मेरो कमाण्डमा केही प्रहरी टोलीको मद्दत लिई विवादित स्थानमा अं.दिनको १३:३० बजेको समय पुगेपछि ठूलो जन समूह सरस्वती प्रा.वि.को प्राङ्गणमा भेला जम्मा छन् भन्ने थाहा पाई सो ठाउँमा गै दुवै पक्षका मानिसहरू बसी छलफल गरी समस्या समाधान गर्नुपर्छ भनी सम्झाई केटा पक्षको मुसलमान जातीका मानिसहरूलाई गाउँमा बोलाउनको लागि पठाएकोमा निजहरू आई नपुग्दै जनकलाल मण्डल, शिवनाथ मण्डल, नाथु राजभर नुनियाले मादक पदार्थ सेवन गरी उत्तेजित अवस्था आई मुसलमान वस्तीमा आगो लगाउनु पर्छ आगो लगाओ भन्दै भीडलाई उत्तेजित पार्दै वस्तीमा आगो लगाउन शुरु गरेकाले प्रहरी जनशक्ति कम भएको हुँदा पाँच राउण्ड गोली हवाई फायर समेत गरी भीडलाई तितर वितर गरी उत्तेजित व्यक्तिलाई घटनास्थलमा नै पक्राउ गरेको लक्ष्मण मण्डल रामदेव मण्डल, शिवनारायण मण्डल, जगरनाथ मण्डल, गंगाई मण्डल, धनिकलाल रायले बाँकी रहेको मुसलमान बस्तीमा आगो लगाउनु पर्छ भनी सल्लाह गरी रहेको अवस्थामा पक्राउ गरी कारवाहीको लागि पेश गरेको, उक्त भीडको समूह ज्यादै ठूलो भएकोले अन्य धेरै मानिसको नाम थर वतन थाहा हुन नसकेको वस्तीमा शुरुमा एक दुईवटा घरमा आगो लगाएको भएतापनि हावा हुण्डरीको कारण अन्यत्र घरमा आगो फैलिन गई मस्जिद–१ समेत फुसको छाना भएको जम्मा घर संख्या १२४ र सो भित्र रहेका नगद धनमालहरू डढी पूर्णरुपमा क्षति भएको मूल्य विवरण घर धनीहरूबाटै खुल्ने हुँदा भएको विवरण पेश गरेको भन्ने समेत व्यहोराको प्रहरी निरीक्षक गोपालबहादुर रायमाझीको प्रतिवेदन ।
महावीरको छोरी सुमित्रा मण्डल र फिरोजको बीचमा प्रेम भै भगाई लगेकोमा पुनः आफ्नो घरमा फर्की आएकी र जनता नि.मा.वि.पोखरियामा सो विषयमा छलफल गर्न मिटिङ्ग बसेको अध्यक्ष उपाध्यक्ष आई छलफल गरी फर्की गएकोमा एकछिन पछि घटनास्थलमा १०।१५ सय मानिसको भीड लागी उक्त भीड उत्तेजित अवस्थामा रहेकोमा काशी चौधरी, जगरनाथ मण्डल, विश्वनाथ मण्डल, लल्हु मण्डल, वासो मण्डल, विसनदेव यादव, वलदेव साह वर्णवाल, धनिकलाल राय, फुलचन्द मण्डल, रामदेव मण्डल, शिवनारायण मण्डल, गंगाई मण्डल, लक्ष्मण मण्डल, गर्जु मण्डल, सुगरु मण्डल, मिश्रीलाल साह समेतका व्यक्तिहरूले मुसलमान समुदायको वस्तीमा आगो लगाई देउ भनी जवाफ दिएपछि सोही भिडमा संलग्न गरेका मानिसहरू जनकलाल मण्डल, जयनाथ मण्डल, नाथुराम भोर, छगोरी विश्वास, सत्यनारायण मण्डल समेतका व्यक्तिहरूले आगो लगाउँदैको अवस्थमा प्रहरी आई जनकलाल समेतका ९ जनालाई पक्राउ गरी दाखिल गरेको सो वारदातमा जम्मा ६५ परिवारको १२४ वटा घर जली जम्मा बिगो रु.३८,५९,६२०।– को धनमाल क्षति भएको छ । निजहरूको कर्तव्यबाट उक्त क्षति भएको हुँदा कानूनबमोजिम कारवाही होस् भन्ने समेत व्यहोराको जाकिर हुसेन समेतको मिति २०५३।१२।१३ मा भएको वस्तुस्थिति मुचुल्का ।
संकलित अनुसन्धान तहकीकात समेतका कागज प्रमाणको आधारमा जाहेरवालालगायत ६५ जना परिवारको घर जलाएको कुरा पुष्टि हुन आएकोले फिरोजले महावीरको छोरीलाई बेपत्ता पारेको विषयमा २०५३।११।१९ गते केटा एवं केटी पक्षका मानिसहरू बीच विवाद उत्पन्न भै फिरोज रहमान समेतका ७० जना मानिसहरूको घरमा आगो लगाई ध्वस्त पारेकाले आगो लगाउने शिवनारायण मण्डल, रामदेव मण्डल, लक्ष्मण मण्डल, नथुराम भोर, धनिकलाल राय, गंगाई मण्डल, जनकलाल मण्डल तथा शिवनाथ मण्डललाई पक्राउ गरेको भन्ने प्रतिवेदन, पक्राउ भै आएका नथुराज भोर समेतको व्यक्तिहरूले रहमान अन्सारी समेतको घरमा आगो लगाउनु पर्छ भनी उपस्थित व्यक्तिले भनेकाले अगो लगाएको हुँ भन्ने समेत व्यहोराको बयान कागज, आगो लगाउनु भनेको हुँ भन्ने समेत व्यहोराको रामदेव मण्डल गंगाई समेतको प्रमाण कागज, जनकलाल समेतका चिनेका र नचिनेका ३०।३५ जना मनिसहरूले आगो लगाएको भन्ने व्यहोराको लाल महमद मियाँ एवं अव्दुल अन्सारीको एकै मिलानको कागज समेतका सबूद प्रमाणको अवस्थालाई हेर्दा सो वारदातमा ६५ परिवारको १२४ वटा घर समेतको रु.३८,५९,६२०। को धनमाल क्षति भएको भन्ने वस्तुस्थिति मुचुल्का समेतका आधार प्रमाणबाट जनकलाल मण्डल, काशी चौधरी, जगरनाथ मण्डल, जयनाथ मण्डल, छगोरी विश्वास मण्डल, सत्यनारायण, लेल्हु, वखुवा भन्ने वासे, विसनदेव, वलदेव, धनिलाल, फुलचन, रामदेव, शिवनारायण, गंगाई, लक्ष्मण, नथुराज, शिवनाथ, दीपचन्द सरदान भन्ने चमरा मण्डल, नेविलाल, मश्रिलाल, बहादुर, गंगाई, अशोक साह, राजेश रैया, जीतन, महावीर, मधेश्वर, लक्ष्मण, किसनलाल, गर्जु एवं जयकृष्ण समेत ३१ जनाले मानिसहरूको ठूलो भीडलाई उत्तेजित पारी आगो लगाइ देउ भनी कराउँदै नोक्सान गराउन जानी जानी आगो लगाउन बचन दिई आगो समेत लगाई मुलुकी ऐन आगो लगाउनेको महलको १ नं.बमोजिम कसूर गरेकाले सोही कसूरमा सोही महलको ५ नं.बमोजिम सजाय हुन र प्रतिवादी पगलु, नन्दलाल, मताल, रामसयमुर्मु, टुडका, राजदेव, गंजु, उमेश मण्डल, दिनेश, सगरु, गुल्टेन, विजय सरदार एवं हकरु समेत १३ जनाले आगो लगाउने कार्यमा सहयोग गरी मतियार भै आगो लगाउने महलको १ नं.बमोजिमको कसूर गरेकोले ऐ.को ७ नं.बमोजिम सजाय हुनका साथै विरुद्ध खण्डका सम्पूर्ण प्रतिवादीहरूबाट सोही महलको १० नं.बमोजिम बिगो समेत दिलाई भराई पाउन र घरभित्र मानिसहरू भएको जानी–जानी मार्ने नियत समेत राखी आगो लगाएको देखिएको र त्यस्तालाई ज्यानसम्बन्धीको महल बमोजिम गर्नुपर्छ भन्ने आगो लगाउनेको २ नं.मा उल्लेख हुँदा ज्यानसम्बन्धी १ नं.को कसूरमा ऐ.को १५ नं.बमोजिम सजाय गरी पाउन माग दावी लिई पक्राउ परेका प्रतिवादीहरूलाई यसै साथ पेश गरेका र पक्राउ हुन बाँकी प्रतिवादीहरूको हकमा म्याद जारी हुन समेत अनुरोध छ भन्ने समेत व्यहोराको मिति २०५३।१२।१५ को अभियोग दावी ।
मेरो उपरको अभियोग दावी झूठा हो । मैले आगो लगाएको होइन, प्रहरीमा मैले नभनेको कुरा लेखी मलाई नसुनाई सही गर भनी सही गराएका हुन । उक्त वारदात भएको मितिमा म पोखरिया स्कूलमा काठको काम गर्दै थिएँ । फिरोज भन्ने केटाले केटी लगेकोबाट बच्न आफ्नै घरमा आगो लगाएको हो । प्रतिवेदनमा उल्लिखित व्यक्तिहरूले आगो लगाएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी धनिकलाल रायले अदालतमा गरेको बयान ।
प्रतिवादीहरू कसैसँग मेरो चिनजान छैन । उक्त मितिमा आफ्नो मामाको भाइको घरमा गै फर्कंदा आगलागी भएको सुनेको हुँ । फिरोज हुसेन, लाल महमद हुसेन, जाकिर हुसेनले आगो लगाए भनेको सुनेको हुँ । किन प्रतिवेदनमा मलाई पोले भन्न सक्दिन । महावीर, शिवनारायण समेतले आगो लगाएको होइन । प्रहरीले डरत्रास देखाई मैले नभनेको कुरा लेखी सहिछाप गराएका हुन् । मैले मेरो घरबाट सलाई बोकी लगी आगो लगाएको होइन । किन मउपर विभिन्न व्यक्तिले पोल गरे भन्न सक्दिन । पक्राउ परेका समेत प्रतिवादीले आगो लगाएको होइन भन्ने समेत व्यहोराको जनकलाल मण्डलको अदालतमा भएको बयान ।
म आफ्नै घरमा भएको बखत २० गते प्रहरीले पक्राउ गरेको हो । मैले सुनेसम्म फिरोज जाकिर, लाल महमद, नेजाम अन्सारी लगायतका व्यक्तिहरूले आगो लगाएका हुन । मैले आगो लगाएको र बचन दिएको होइन । प्रतिवेदनमा उल्लिखित व्यक्तिहरूले आगो लगाएको होइन । प्रहरीले मलाई नसोधी लेखी नसुनाई सही गराएका हुन् । किन मउपर पोल गरे मलाई थाहा छैन । मैले कुनै अपराध नगरेकोले सजाय हुने होइन भन्ने समेत व्यहोराको प्रतिवादी जगरनाथ मण्डलको अदालतमा भएको बयान ।
प्रतिवादीहरूलाई चिन्दिन, मैले आगलागी गरे गराएको होइन । उक्त दिन म आफ्नो घरमा छु । आगलागी भएको हो तर कसले लगायो मलाई थाहा छैन । प्रहरीमा भएको बयान मैले लेखाएको होइन । आफैले लेखी व्यहोरा नसुनाई डर त्रास देखाई सही गर भनेकाले गरेको हुँ । उक्त मिटिङ्गमा गै बचन दिई आगो लगाएको होइन । मैले सुने अनुसार जसको घरमा आगो लाग्यो उनीहरूले नै पहिले सामान झिकी पछि आगो लगाएका हुन् । मउपरको अभियोग दावी झूठा हुँदा अभियोगबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी शिवनारायण मण्डलले अदालतमा गरेको बयान ।
आगलागी भएको भनेको मिति समयमा म बजार गएको थिएँ । घटनास्थलमा थिइन । फर्केर घरमा जाँदै गर्दा बाटामा प्रहरीले पक्राउ गरेका हुन । मैले आगो लगाएको होइन किन मउपर अभियोग माग दावी लिएको हो । किन पोल गरेका हुन् सबै झूठा हो । झूठा अभियोगबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी शिवनाथ मण्डलको बयान ।
२०५३।११।१९ गते आफ्नो घर छेउ वौचाई मण्डलको खेतमा काम गरिरहेको थिएँ । प्रहरीको गाडी गएकाले म पनि हेर्न गै आगलागी भएको देखी फर्की चिया दोकानमा बसेको ठाउँबाट प्रहरीले पक्राउ गरी ल्याएको हो । मैले आगो लगाएको होइन को कसले आगो लगाए मैले नदेखेकाले भन्न सक्तिन । मलाई झूठा कुरा देखाई किन प्रतिवेदन दिइयो । अभियोग लगायो, मलाई थाहा छैन । मियाँहरूले आगो लगाएको भन्ने सुनेको हुँ । प्रहरीमा भएको कागज मैले भनी लेखाएको होइन, प्रहरीले कुटपीट गरी सही गराएका हुन् । झूठा अभियोगबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी नथुराम भोरले अदालतमा गरेको बयान ।
२०५३।११।१९ गते बिहानैदेखि विराटनगर–७ बस्ने शंकर कामतको घर बनाउने काममा मिस्त्रीसँग जनको काम गरी बेलुका ७:०० बजेतिर घर गएको हुँ । मियाँहरू आफैले आगो लगाएको भन्ने सुनेको हुँ । राति घरमा प्रहरीले पक्राउ गरेका हुन् । प्रतिवादीहरूलाई चिन्दिन । कागज गर्ने, प्रतिवादी दिने व्यक्तिलगायत प्रतिवादीहरूले किन मलाई पोल गरे मलाई थाहा छैन । मैले कुनै अपराध नगरेको हुँदा झूठा अभियोग माग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मण मण्डल गंगाईको अदालतमा भएको बयान ।
मिति २०५३।११।१९ गते म घरबाट बिहान ५:०० बजे गै विराटनगर सरौचिया बस्ने शंकर कामतको घर बनाएको ठाउँमा मिस्त्रीसँग जनवनी गरी बेलुका ७:०० बजे घरमा आई पुगेको हुँ । सामान निकाली मियाँले घरमा आगो लागाएको भन्ने सुनेको हुँ । मलाई घरमा बसेको बेला रातको ८:०० बजे घरबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीमा भएको कागज मैले भनी लेखाएको होइन । आफूखुश लेखी सही गराएका हुन । मैले कुनै अपराध गरेको होइन । प्रतिवादीले मेरो नाम किन लेखाए म भन्न सक्दिन । मैले अपराध नगरेको हुँदा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामदेव मण्डलको बयान ।
मिति २०५३।११।१९ गते म आफ्नो घर छाएर दिनभर बसेको छु । पोखरियामा आगो लगाउने जाकिर, फिरोज, लाल महमद, पिर महमद हुन् भन्ने सुनेको हुँ । मैले कुनै अपराध गरेको होइन, किन मउपर अभियोग लाग्यो थाहा छैन । प्रहरीमा मैले भने बमोजिमको कागज नलेखी आफूखुश लेखी सही गर भन्दा कुटाइको डरले सही गरेको हो । उक्त वारदातमा म सामेल नै नहुँदा झूठा दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी गंगाप्रसाद मण्डलको बयान ।
वारदात मिति २०५३।११।१९ मा म घरमा नभई श्रीमती बिरामी भएकीले उपचार गराउन र ससुरा बिरामी हुँदा निजलाई हेर्न २०५३।११।१६ गते नै बुधनगर गा.वि.स.वडा नं.१ बस्ने तेजनारायण मण्डलको घर गएका थियौं । जोगवनीमा लगी श्रीमतीलाई उपचार गरी २०५३।११।२३ गते घरमा फर्किएको हुँ । घरमा आउँदा आगलागी भएको थाहा पाएको हुँ । मैले आगो लगाएको होइन । वारदात समयमा म घरमा नहुँदा पहिलेको रुपैयाँको कारोवारको रिसइवीका कारण झूठा जाहेरी दिएका हुन् । मैले कुनै अपराध नगरेको हुँदा मैले सजाय पाउने होइन भन्ने समेत व्यहोराको प्रतिवादी दिपचन्द सरदारले अदालतमा गरेको बयान ।
अभियोग दावीबमोजिम मैले कुनै कसूर गरेको छैन । २०५३।११।१७ गते म कटहरी–५ बस्ने उचितलाल गंगाइको छोरीको बिवाहमा गै ऐ.२० गतेमात्र घरमा आएको घर आउँदा आगलागी भएको बाटोमा थाहा पाए । वारदात मिति समयमा म गाउँघरमा नै नभएको हुँदा मउपरको जाहेरी तथा ठाडो कागज लगायतका व्यहोरा झूठा हुन् । गाउँको पहिलेको विवादको कारण फसाउन मउपर झूठा जाहेरी गरेको हो । मेरो अपराध नहुँदा झूठा अभियोगबाट फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी छङौरी विश्वास मण्डलले मिति २०५४।५।१६ मा अदालतमा गरेको बयान ।
मिति २०५३।११।१९ गते म कटहरी गा.वि.स.वडा नं.६ मा मेरा धानको गोला भएको ठाउँमा छु । अभियोगमा उल्लेख भएका मानिससँग मेरो भेटघाट भएको छैन । म सो ठाउँमा नभएको हुँदा मेलै आगो लगाएको होइन । जनकलाल समेतले आगो लगाए लगाएनन् निजहरू नै जानून् । लेनदेनको विषयमा लाल महमदसँग रिसइवी भएकोमा निजको परिपञ्चबाट त्यस्तो व्यहोरा लेखाएका हुन् । जाहेरीमा उल्लेख भएबमोजिमको सम्पत्ति राख्ने मानिस होइनन् कति क्षति भयो थाहा छैन । म निर्दोष हुँदा झूठा अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मिश्रीलाल साहको बयान ।
मेरी छोरी वर्ष १२ की सुमित्रादेवी मण्डललाई बेलुका ७:०० बजे पिसाव गर्न घर बाहिर आएको अवस्थामा फिरोज अन्सारी मियाँ समेतले जवर्जस्ती गरी लगेछन् सो कुराको हल्ली खल्ली गरी निजउपर शंका लागी २०५३।११।८ गते प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको र सोही महिनाको २३ गते छोरी घरमा आइछन् । म र छोरो दिनेश उक्त छोरी खोज्न झापा गौरीगञ्ज हुँदै भारततर्फ गएकोमा बीचमा छलफल भएछ ऐ.२ गते हिँडी २३ गते मात्र घरमा आउँदा छोरी आएकी रहिछन् गाउँमा आगलागी भएछ । म घरमा नहुँदा को कसले आगलागी गरायो वा आफै आगलागी भयो मलाई थाहा छैन छोरा उमेश ऐ.२४ गते मात्र घर आएका हुन् । जनकलाल मण्डल समेतका ४४ जना प्रतिवादीसँग मेरो उक्त वारदात भएको दिन भेटघाट छैन । पिर महमदको र मेरो बीचमा घर हटाई पाऊँ भन्ने यसै अदालतमा मुद्दा चलेको र निजले हारेकाले सोही रिसइवीबाट निजको गठमेलमा जाहेरवालालाई पारी झूठा जाहेरी दिएका हुन् । म छोरीको खोजीमा बाहिर गएको हुँदा जनकलाल समेतले बचन दिई आगो लगाएको हो होइन मलाई थाहा छैन । मेरो कुनै कसूर नहुँदा झूठा अभियोग माग दावीबाट मैले सजाय पाउने होइन भन्ने समेत व्यहोराको प्रतिवादी महावीर मण्डलले अदालतमा गरेको बयान ।
मेरी बहिनी वर्ष १२ की सुमित्रा २०५३।११।२ गते हराएकीले खोजी गर्न पिता झापातिर र म दाजु उमेशलाल भारततर्फ गएका र फेला नपरेकाले ऐ.२४ गते घर आउँदा बैनी आइसकेकी र बुबा पनि ऐ.२३ गते घरमा आउनु भएको रहेछ । हामी नभएको अवस्थामा बहिनी घरमा आउँदा फिरोजले बेच्न खोजेकोले भागी आएकी भनेकाले गाउँ समाजले सोधपुछ गरी विवाद शुरु भएछ । ऐ.२४ गते घरमा आउँदा आगलागी भएको थाहा पाए तर कसरी आगलागी भयो थाहा भएन । मैले आगो लगाएको होइन र सो अवस्थामा म गाउँ घरमा नै नभएको हुँदा मलाई थाहा छैन । पिर महमदसँग बुबाको झगडा भएको कारणले हामीलाई फसाउन बहिनीलाई समेत जवर्जस्ती भगाई यो अभियोग समेत लगाएका हुन् । म निर्दोष छु झूठा अभियोगबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी दिनेश मण्डलको अदालतमा भएको बयान ।
बहिनी सुमित्रा २०५३।११।२ गते हराएकीले खोज्न बुबा महावीर झापातर्फ र म भाइ भारततर्फ गै फेला पार्न नसकी ऐ.२४ गते घरमा आउँदा बहिनी र पिता समेत घरमा आइ पुग्नु भएको रहेछ । गाउँमा रहमान समेतको घरमा आगलागी भएछ । गाउँमा आएपछि मात्र थाहा भएको हो । के कसरी आगलागी भयो के कति धनमाल नोक्सान भयो म घरमा नहुँदा केही थाहा छैन । पिर महमदसँग पिता महावीरको जग्गा मुद्दा परेको कारण निजको प्रयासले झूठा कुरा लेखी हामीलाई फसाउन खोजेको मात्र हो । मैले कुनै अपराध नगरेको हुँदा झूठा अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी उमेशलाल मण्डलको बयान ।
मेरो खेती नहुँदा जनवनी गरी खाने गरेको र २०५३।११।१९ गते पनि जनवनीको लागि विराटनगर आई गुद्रीमा अपरिचित व्यक्तिको घरमा वालुवा, गिटी ओसार्ने काम गरी बेलुका ८:०० बजे घरमा पुगेको हुँ । घरमा पुगेपछि आगलागी भएको थाहा भयो । गाउँका आइमाइहरूले मियाँले नै आगो लगाएका भन्थे । कसले आगो लगायो कति क्षति भयो म सो ठाउँमा नहुँदा थाहा छैन । जाहेरी समेतमा मेरो नाम किन लेखियो म सो ठाउँमा उक्त वारदात भएको मिति समयमा नहुँदा र अभियोग दावीबमोजिमको कसूर मबाट नभएको हुँदा सजाय हुने होइन भन्ने समेत व्यहोराको राजदेव मण्डलको बयान ।
मिति २०५३।११।१९ गते बिहान भुजिया बिक्री गर्न विराटनगर गुद्रीमा गै दिनभर बिक्री गरी साँझ ७:०० बजे मात्र घरमा फर्किएको हुँदा जनकलाल समेतका ४४ जना प्रतिवादीसँग मेरो घेटघाट छैन । महावीरको बहिनीलाई मियाँले भगाएकोमा झगडा हुँदा मियाँले नै घर जलाएको भन्ने सुनेको हुँ । म सो वारदात मितिमा सो ठाउँमा नहुँदा मैले आगो लगाएको हैन । कसले आगो लगायो कति क्षति भयो थाहा छैन । पहिलेको रिसइवीको कारणले मलाई फसाउन झूठा पोल उजूरी गरेका हुन् झूठा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी गर्जु मण्डल गंगाईले गरेको बयान ।
म २०५३।११।१९ गते जनवनीको लागी बिहान विराटनगर आई धरान रोड पश्चिममा दिनभर काम गरी बेलुका ८:०० बजे घरमा पुग्दा आगलागी भएको थाहा पाऊँ । कसैको कर्तव्यबाट हो वा भवितव्यबाट आगलागी भएको हो सो मलाई थाहा छैन । सुनाइएका प्रतिवादी जनकलाल समेत सँग मेरो भेटघाट भएन । मैले कुनै अपराध नगरेको सो घटनामा म नभएको हुँदा मउपरको झूठा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी गंजु मण्डल भन्ने गजेन्द्र मण्डलको बयान ।
वारदात मिति २०५३।११।१९ गते म बिहानै विराटनगर आएको हुँ । उक्त दिन विराटनटरमा कोशी महोत्सव मनाउने सो कार्यमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवको सवारी हुने भै म सो सवारीको मूल समितिको सदस्य भएको र जि.वि.स.को क्षेत्रीय सदस्य समेत भएको हुँदा सवारीको लागी उक्त मितिमा दिउँसोको बैंठकमा समेत उपस्थित भै बेलुका ५:०० बजे घरमा फर्किएको हुँदा आज सुनाइएका जनकलाल समेत ४३ जना प्रतिवादीहरूसँग मेरो घेटघाट नै भएको छैन । बेलुका घरमा जाँदा मियाँ बस्तीमा आगो लागेको थाहा भयो । कसले आगो लगाए भन्ने कुरा कसैले भनेनन् । प्रतिनिधि भएको नाताले गृहमन्त्री समेतको साथमा गै उक्त घरहरू जलेके देखेको हुँ । मेरो चरित्र हत्या गर्ने प्रयास गरी झूठा दावी लिएका हुन । किन प्रहरीको बयानमा मेरो नाम उल्लेख भयो म भन्न सक्दिन । म सो वारदातमा नहुँदा मैले कुनै अपराध नगरेकोले झूठा दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीबहादुर मण्डल गंगाईको बयान ।
म मेरो मित शयामप्रसाद काफ्लेको घर माथीगछ–८ मा २०५३।११।१७ गते गएको र सोही ठाउँमा बसी २०५३।११।१९ गते घर नआई सोझै मझारे–३ स्थित साझा संस्थाको सञ्चालक समितिको बैठकमा दिनको ११:०० देखि ५:०० बजेसम्म बसी घर गएको हुँ । रहमान समेतको घरमा आगो लागेको कुरा घरमा जाँदा मात्र थाहा पाएको हुँ । म सो ठाउँमा नहुँदा कुनै अपराधमा सामेल छैन । सामाजिक काम गरी हिड्ने भएकाले कहिले काही नाजुकसँग मनमुटाव हुने भएकोले सोही रिसले आफ्नो मान्छेलाई कागज गराई मेरो नाम पोलेको हुनुपर्छ । कसले आगो लगायो कति सम्पत्ति क्षति भयो म सो ठाउँमा नहुँदा थाहा छैन । झूठा अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी लेल्हु मण्डलको बयान ।
मिति २०५३।११।१८ गते भिनाजु महावीरप्रसाद मण्डलको कटहरी–५ मा भएको घरमा पूजाको निम्ता मान्न गै ऐ.१९ गते त्यही बसी २० गते मात्र घरमा आउँदा रहमान मियाँको घरमा आगो लागेको सुनेको हुँ । कति नोक्सानी भयो आगो कसले लगायो म सो ठाउँमा नहुँदा थाहा छैन । किन मउपर पोल गरी कागज लेखी दिए थाहा छैन । म नाजुम मियाँसँग सधियार भएको र रिसइवि भएको कारणले पोलेको हुनुपर्छ । मेरो अपराधमा संलग्नता छैन झूठा दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको किसनलाल सरदारको बयान ।
मिति २०५३।११।१९ गते दिनको ११:०० बजे म सहकारी संस्था लिमिटेड मझारेको सञ्चालक समितिको बैठकमा समितिको सदस्य भएको नाताले उपस्थित भै उक्त दिन ३:३० बजेसम्म मिटिङ्गमा बसेको हुँदा उक्त आगलागीको वारदातमा म सामेल छैन । सुनाइएका जनकलाल समेतका ४२ जना प्रतिवादीसँग उक्त दिन मेरो भेटघाट छैन । कसरी आगलागी भयो कति क्षति भयो सो मलाई थाहा छैन । मैले आगो लगाउने तथा आगो लगाउन आदेश दिने समेत कुनै काम नगरेको हुँदा झूठा अभियोगबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मण मण्डलको बयान ।
२०५३।११।१९ गते बिहान म विराटनगर गुद्रीमा आई जनवनी गरी बेलुका ८:०० बजे घरमा पुगेको हुँ । उक्त वारदात भएको स्थानमा वारदात समयमा म नभएको हुँदा मैले आगो लगाउने आगो लगाउन बचन दिने समेत कुनै काम गरेको होइन छैन । मलाई किन पोल उजूर गरे थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी नन्दलाल सिंह नुनियाको बयान ।
२०५३।११।१९ गते म घरगाउँमा छैन । ऐ.१८ गते बिहानै आमाही वरियाती–४ बस्ने मामा सुन्दरलाल गच्छदारको छोरीको विवाहमा गएको थिए । विवाहको कुरा टुङ्गो लगाई ऐ.२० गते मात्र घरमा आएको र घरमा आएपछि उक्त आगलागी भएको कुरा थाहा भएको हो । उक्त वारदात भएको मितिमा सुनाइएका जनकलाल समेतका ४३ जनासँग मेरो भेट भएन । उक्त आगलागीमा मेरो १–१९–० जग्गाको उखु समेत नास भएको छ । करिव एक लाखको मेरो क्षति भएको समेत हुँदा म आफू नभएकाले कसको कारणले आगलागी भयो अरुको कति क्षति भयो मलाई थाहा छैन । मैले अभियोग बमोजिमको कसूर नगरेकोले निर्दोष छु सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी जयनाथ मण्डलको बयान ।
मिति २०५३।११।१९ गते नामसारीको कामको लागि विराटनगरमा आई बेलुका घर फर्किएको हुँ । उक्त वारदात स्थानमा सो मितिसमयमा म नभएको हुँदा उक्त वारदात मबाट भएको होइन । म नभएको मानिसलाई किन झूठा व्यहोराको पोल उजूर गरे मलाई थाहा छैन । मैले कुनै अपराध नगरेको हुँदा क–कसले आगो लगाए कति क्षति भयो सो समेत मलाई थाहा छैन । म निर्दोष हुँदा अभियोग माग दावीबमोजिम सजाय पाउने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सत्यनारायण मण्डल गंगाइको बयान ।
मिति २०५३।११।१९ गते म वारदात स्थानमा छैन । आफ्नो विराटनगर उ.म.न.पा.वडा नं.२२ को घरमा छु । उक्त दिन आफ्नो घरमा बसी पछि जाँदा फिरोजले महावीरको छोरी भगाई लगेको विषयमा विवाद हुँदा उक्त घटना भएको भन्ने सुनेको हुँ । म सो वारदातमा नभएको हुँदा मउपरको झूठा दावीबाट अलग फुर्सद गराई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अशोक साहले गरेको बयान ।
मिति २०५३।११।१९ गते बिहान ७ बजे सिसवनी जहदा–८ मा पर्ने स्थानमा सत्सग भएकोले सो कार्यमा दिन रात बसी भोलिपल्ट २०५३।११।२० गते बिहान मात्र आफ्नो घरमा आएको हुँ । म उक्त वारदात भएको मिति समयमा सो ठाउँमा नहुँदा मैले आगो लगाउने समेतको कुनै काम गरेको होइन । किन मउपर पोल उजूर गरे म भन्न सक्दिन । मैले कुनै अपराध नगरेको हुँदा झूठा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी वासो मण्डलको बयान ।
म घोडा लिई चट्टाल थापी धानको व्यापार गर्ने मानिस हुँदा २०५३।११।१९ गते बिहानै कटहरी बजारमा गै दिनभर व्यापार गरी बेलुका घरमा फर्कंदा आगो लागेको थाहा भएको हो । म चट्टाल थापी व्यापार गर्ने मानिस हुँदा कहिले कहा कहिले कहा गै रहको हुन्छु । उक्त वारदात भएको मिति समयमा म सो ठाउँमा नभएको र आगो समेत मैले नलगाएकोमा झूठा पोल गरेका मात्र हुन । २०५३।११।१८ गते गाउँको गा.वि.स.अध्यक्षकोमा गएको समयमा महावीरकी छोरी रहमान समेतले भगाई लगेको विषयमा छलफल हुँदा नावालक हिन्दूको छोरीलाई भगाई लानु नहुने भनेको थिए, सोही कारणले मलाई दोष लगाएको हुनुपर्छ । म निर्दोष हुँदा झूठा अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको वालदेव साह वर्णवालको बयान ।
वारदात मिति २०५३।११।१९ गते बिहान पटुवा, धान लिई नयाँबजारमा बिक्री गरी दिनभर त्यही व्यापार गरी बेलुका घरमा फर्किएको हुँदा उक्त घटनामा म सामेल छैन । मैले आगो लगाएको होइन । मउपर किन जाहेरीमा पोल गरे मलाई थाहा छैन । कसले आगो लगाए कति क्षति भयो सो समेत मलाई थाहा नहुँदा मउपरको झूठा दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जितन मण्डलको बयान ।
मिति २०५३।११।१९ गते दाजुकी छोरी निर्मला सुत्केरी हुने अवस्थामा भएकीले विहानै अस्पतालमा ल्याई बेलुका शिशवनी जहदा–१ मा बहिनीको घरमा बसी ऐ.२० गते पनि अस्पतालमा नै बसी साँझमा घर जाँदा आगलागी भएको जानकारी पाएको हुँ । ऐ.१९ र २० गते प्रतिवादी जनकलाल समेतसँग भेटघाट भएको छैन । के कसरी आगलागी भयो म नभएकोले भन्न सक्दिन । गाउँ छिमेकी भएका नाताले कहिले काही विवाद हुने भएको हुँदा सोही रिसइवीले जाहेरीमा मेरा नाम लेखेको होला । अन्य व्यक्तिले मलाई किन पोले भन्न सक्दिन । वारदातमा म नभएको र अपराध नगरेको हुँदा झूठा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जयकृष्ण मण्डल गंगाइको बयान ।
मिति २०५३।११।१९ गते म भवानी प्रा.वि.को अध्यक्ष भएको नाताले सो स्कूलको मिटिङ्ग भएको हुँदा मिटिङ्गमा बिहान ११:०० बजे गै बेलुका ३:०० बजे घर फर्किएको हुँ । उक्त स्कूल र वारदात भएको भनेको ठाउँमा १¼. कि.मि.को दूरीमा छ । म सो वारदात समय मितिमा सो ठाउँमा नगएको हुँदा आगो कसले लगायो क्षति कति भयो सो मलाई थाहा छैन । यस मुद्दाका जाहेरवाला प्रतिवादीहरू समेत सँग मेरो उक्त दिन भेटघाट नभएको हुँदा किन मउपर यस्तो अभियोग लाग्यो थाहा छैन । जाहेरीमा मधेश्वर मण्डल लेखिएको रहेछ मेरो नाम नाथेश्वर मण्डल हो । म उक्त वारदातमा नगएको नभएको मानिस उपर झूठा अभियोग माग दावी लिएको हुँदा उक्त दावीबाट फुर्सद गराई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी नाथेश्वर मण्डलको बयान ।
मिति २०५३।११।१९ गते दिउँसो नोचा गा.वि.स.वडा नं.३ अन्तर्गत अतिरिक्त हुलाकमा छु । म २०४६ सालदेखि हुलाकको प्रतिनिधिको काम गर्दछु । सो दिन उक्त हुलाकमा बसी बेलुका मात्र घरमा आएको हुँ । म उक्त घटना भएको ठाउँमा गएको हैन छैन । सो ठाउँमा नगएको हुँदा आगलागी गर्ने बचन दिने काम नगरेकोमा हिन्दू मुसलमानको विवादको कारण मलाई फसाउन झूठा पोल जाहेरी गरेका हुन । प्रतिवादीहरूसँग मेरो भेटघाट छैन । म निर्दोष हुँदा झूठा अभियोगबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको काशीनाथ चौधरीको बयान ।
प्रतिवादी टुडका मण्डलको र राजेश रैया सतारको नामको म्याद मिति २०५५।३।१३ मा र प्रतिवादी रामसय मुर्मु सतार, मताल सतारका नामको म्याद मिति २०५४।११।१४ मा तामेल हुँदा बेपत्ते व्यहोराले तामेल भएको र वादी पक्षबाट यकीन वतन माग गर्दा वतन समेत खुली नआएको ।
प्रतिवादी वजल सतार, गुल्टेन सदा, फुलचन्द मण्डल, नेविलाल मण्डल, पगुल साह, हकरु मण्डल, सगरु मण्डल र विसनदेव मण्डलका नाममा जारी भएको म्याद तामेल भएकोमा म्यादभित्र प्रतिवादीहरू उपस्थित नभै म्याद गुजारी बसेका ।
आदेशानुसार बुझिएका प्रतिवादी मिश्रीलालको साक्षी राजाराम कामत, प्रतिवादी नन्दलालको साक्षी गुलावचन्द नुनिया, जनकलालको साक्षी वासुदेव मण्डल, काशीनाथको साक्षी जनकलाल, गर्जु मण्डलको साक्षी गणेशलाल, प्रतिवादी लेल्हुको साक्षी श्यामप्रसाद काफ्ले, वासु मण्डलको साक्षी लल्हु दास, प्रतिवादी शिवनारायाणको साक्षी शिवनारायण, दीपचन्दको साक्षी मनिलाल, प्रतिवादी राजदेवको साक्षी वल्ली मण्डल, प्रतिवादी नथुराजको साक्षी रामचन्द्र, प्रतिवादी वालदेवको साक्षी किशोरी मण्डल, प्रतिवादी नाथेश्वरको साक्षी पुरन महतो, प्रतिवादी शिवनाथको साक्षी झुवरलाल, प्रतिवादी जयकृष्णको साक्षी नथु मण्डल, प्रतिवादी जितन मण्डलको साक्षी रामदेव मण्डल, प्रतिवादी लक्ष्मणको साक्षी ताराचन्द मण्डल र अवधलाल कामत, गजेन्द्र मण्डलको साक्षी रामेश्वर मण्डल प्रतिवादी सत्यनारायणको साक्षी तम सिंह गन्गाई, प्रतिवादी धनिकलालको साक्षी गंगाप्रसाद, जगरनाथको साक्षी वोदी मण्डल र जयनाथको साक्षी सुन्दरलाल गच्छदार, महावीर, दिनेश, उमेशको साक्षी वैजनाथ मण्डल, छगौरीको साक्षी शनिश्चर राजवंशी, अशोककुमारको साक्षी रामविलास साह,बहादुर मण्डलको साक्षी ताराचन्द मण्डल, किसनलालको साक्षी रामु मण्डल गंगाई, रामदेवको साक्षी पन्नालाल मण्डल, गंगाप्रसादको साक्षी रामकृष्ण मण्डलको साथै प्रतिवेदक प्र.नि.प्रदीपकुमार खड्का प्रहरीमा कागज गर्ने लालमहमद मियाँ, जाहेरवाला मदान अन्सारी र नाजुम मियाँ जाहेर गर्न मञ्जूरी दिने अलिम अन्सारी, सावुद्दिन भन्ने साहावुद्दिन अन्सारी, असगर अन्सारी, सहिद अन्सारी, सिकन्दर अन्सारी, समसुद्दिन अन्सारी, जलाउद्दिन अन्सारी, नसिम अन्सारी, हजरत अन्सारी, सिद्धिक अन्सारी, जमाल अन्सारी, सलिम अन्सारी अव्वास अन्सारी, छेदिया अन्सारी, मोनिजुद्दीन अन्सारी, ठूलो रमजान अन्सारी, जनमुलु अन्सारी, मोहरम अन्सारी, रहमान अन्सारी, (सानो) रमजान अन्सारी, रेजानु भन्ने रेजाक अन्सारी, कुर्वान अन्सारी, तैयव अन्सारी, असिवुल भन्ने हसिवुल अन्सारी र प्रतिवेदक गोपालबहादुर रायमाझीको बकपत्र भै मिसिल संलग्न रहेको ।
प्रतिवादीहरू मध्ये राजेश रैया सतार, टुडका मण्डल, रामसय मुर्मु सतार र मनालु सतारका नामको वारेण्टसहितको म्याद पूर्जी तामेल हुन नसकी वेपत्ते भै आएको देखिएको र वतन सम्बन्धमा लेखी पठाउँदा कुनै वतन नभएको भनी लेखी आएकोले निजहरू प्रतिवादी नै कायम हुन सकेको अवस्था नहुँदा निजहरूको हकममा अभियोग माग दावी खारेज हुने देखियो । प्रतिवादी मध्येका वजल सतार, गुल्टेन सदा, कुलचन्द्र मण्डल, नेविलाल मण्डल, पगुल साह, हकरु मण्डल, सगरु मण्डल र विसनदेव मण्डलको हकमा निजहरूले जारी भै तामेल भएको म्याद गुजारी बसेकोले अ.बं.१९० नं.ले मुलतवी राखिदिएको छ । प्रतिवादी जनकलाल मण्डल, प्रतिवादी नथुराज भोर र प्रतिवादी शिवनाथ मण्डलको हकमा आगो लगाउनेको महलको ५ नं.ले जनही चार वर्षको दरले कैद हुने ठहर्छ । प्रतिवादीहरू धनिकलाल राय, जगरनाथ मण्डल, शिवनारायण मण्डल, लक्ष्मण मण्डल, रादमेव मण्डल, गंगाप्रसाद मण्डल, दिपचन्द्र सरदार, छङौरी विश्वास मण्डल, मिश्रीलाल सरदार, महावीर मण्डल, दिनेश मण्डल, उमेशलाल मण्डल, राजदेव मण्डल, गर्जु मण्डल, गंजु भनेको गजेन्द्र मण्डल,बहादुर मण्डल, लेल्हु मण्डल, किसनलाल सरदार, लक्ष्मण मण्डल, नन्दलाल सिंह नुनिया, जयनाथ मण्डल, सत्यनारायण मण्डल, अशोक साह, वासो मण्डल, वालदेव साह वर्णवाल, जीतन मण्डल, जयकृण मण्डल, मधेश्वर भनेको नाथेश्वर मण्डल र काशीनाथ चौधरीलाई लिइएको अभियोग माग दावी मनासिव देखिन नआएकाले अभियोग माग दावीबाट माथि ठहर भएका प्रतिवादीहरू बाहेक यी प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको मिति २०५९।१।२४।३ को फैसला ।
प्रतिवादी विसनदेव यादव समेत ८ जनाको हकमा मुलतवी राखिएकोमा कुनै जिकीर लिइएको छैन । प्रतिवादी जनकलाल मण्डल, नथुराज भोर, शिवनाथ मण्डललाई मुलुकी ऐन आगो लगाउने महलको ५ नं. बमोजिम र प्रतिवादी राजेशरैया सतार, टुडका मण्डल, रामसय मुर्मु सतार, मतालु सतारको हकमा खारेज गर्ने र अन्य प्रतिवादी धनिकलाल राय समेत २९ जनाको हकमा सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादीतर्फबाट पेश भएको पुनरावेदन पत्र ।
लालमहमद मियाँ समेतका प्रत्यक्षदर्शीहरूले मौकामा र अदालतमा प्रत्यर्थी प्रतिवादीहरूले जाहेरवालाको घरमा जानाजान आगो लगाउने कार्य गरेको भनी किटानी साथ बकपत्र गरी दिएको अवस्थामा सोको विवेचना नगरी आगो लगाउनेको २ नं.को परिभाषा भित्र नपर्ने भनी र राजेशरैया सतार, टुडका मण्डल, रामसय मुर्मु सतार, मतालु सतारको हकमा यकीन वतन खुलाउने तर्फ अन्य कारवाही नगरी खारेज गर्ने गरेको शुरु मोरङ जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.बं.२०२ नं.बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६०।३।३० को आदेश ।
आगो लगाउनेको महलको ५ नं.बमोजिम मौकामा पक्राउ परेको व्यक्तिमध्ये प्रतिवादी जनकलाल मण्डल, प्रतिवादी नथुराम भोर र प्रतिवादी शिवनाथ मण्डललाई सजाय गर्ने गरेको तर्फ शुरु फैसला मिलेकै र अपराध अनुसन्धानको सिलसिलामा वारदातमा उपस्थित भै आगो लगाउन सामान्य बचन दिएको कुरामा सावित भै बयान कागज गर्ने प्रतिवादीहरू शिवनारायण मण्डल, लक्ष्मण मण्डल, जगरनाथ मण्डल, गंगाई मण्डल, रामदेव मण्डल र धनिकलाल रायको उक्त बयान कागज राजीखुशी बिना भएको भन्ने नदेखिएको समेतको आधारबाट निजहरूले आगो लगाउन हुलमुलमा सामान्य बचनसम्म दिएको देखियो । निजहरूले मुख्य भै बचन दिएको मान्न मिलेन । सो हुँदा निज प्रतिवादीहरूलाई ऐ महलको ७ नं.मा उल्लेख भएबमोजिम मतलवी मतियार मान्नुपर्ने भै सोही नं.अनुसार मुख्य कारणीहरूलाई भएको चार वर्ष कैदको सजायको आधाको दरले प्रत्येक माथि उल्लिखित प्रतिवादीलाई कैदको सजाय हुने ठहर्छ । बिगो भरी भराउको हकमा कुन प्रतिवादीले के कस्तो प्रकृतिको धनमाल नोक्सान भए गरेको हो सोको तथ्यपूर्ण आधारमा दावी लिन नसकेको अवस्थामा एकमुष्ट दावीको आधारमा बिगो भराउन मिल्ने देखिएन । ज्यानसम्बन्धी महलको दावीतर्फ मानिस मार्ने नियतले आगो लगाएको नदेखिँदा ज्यानसम्बन्धी महलको १५ न. बमोजिम सजाय गर्न मिलेन । अतः बिगो भरी भराउतर्फ ज्यानसम्बन्धी महलको दावीतर्फ र आज यस अदालतबाट कसूरदार कायम भएको निम्न प्रतिवादीहरू बाहेक अन्य प्रतिवादीहरूलाई सफाइ दिई प्रतिवादी जनकलाल मण्डल, प्रतिवादी नथुराम भोर र प्रतिवादी शिवनाथ मण्डललाई सजाय गरे तर्फ शुरु फैसला मिलेको र प्रतिवादी शिवनारायण मण्डल, लक्ष्मण मण्डल, जगरनाथ मण्डल, गंगाई मण्डल, रामदेव मण्डल र धनिकलाल रायले कसूर गरेको ठहर गर्नुपर्नेमा निजहरूलई पूरै सफाइ दिएको हकमा मोरङ जिल्ला अदालतको मिति २०५९।१।२४।३ को फैसला नमिलेकोले केही उल्टी हुने ठहर्छ । निज प्रतिवादीहरूलाई आगो लगाउनेको महलको ७ नं.बमोजिम मुख्य कारणीहरूलाई भएको चार वर्ष कैदको सजायको आधाको दरले कैद सजाय हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत विराटनगरको मिति २०६१।११।२७ को फैसला ।
घटनामा पक्राउ परेका शिवनारायण मण्डल समेतका व्यक्तिहरूले जाहेरवाला फिरोज रहमान समेतका जाहेरवालाहरूको घरमा आगो लगाएको अवस्थामा फेला परेको भनी प्र.नि.दीपककुमार खड्का समेतले दिएको प्रतिवेदनमा उल्लेख छ । मौकामा भएको घटनास्थल प्रकृति मुचुल्का, पीडितले दिएको जाहेरी दरखास्त, बुझिएका मनिसहरूले गरेको कागजबाट पुष्टि भइरहेको तथा जाहेरवालाहरूको घरमा आगो लगाई जम्मा रु.३८,५९,६२०।– बराबरको धनमाल हानि नोक्सानी पुर्याएको भनी किटानी जाहेरी दिएका र अदालतमा बकपत्र गर्दा जाहेरी व्यहोरालाई पुष्ट्याई गर्दै क्षति भएको नगद धनमाल समेतको विवरण उल्लेख गरेको अवस्थाको विद्यमानता हुँदा–हुँदै सोको मूल्याङ्कन नगरी प्रमाण ऐन, २०३१ को दफा १८ र ५४ विपरीत भएको फैसला त्रुटिपूर्ण छ । अपराधिक क्रियाकलाप सम्पन्न गर्न बचन दिएकोलाई हुलमुलमा दिएको सामान्य बचन भनी गलत अर्थ लगाई तथा बिगो नोक्सानी पृथक–पृथक खुलाउन नसकिए पनि एकमुष्ट क्षति भएको बिगो उल्लेख गरी दिएको किटानी जाहेरी, बुझिएका मानिसहरूको कागज, जाहेरवाला प्रतिवेदक समेतका वादीका साक्षीहरूले किटानीसाथ अदालतमा गरेको बकपत्र समेतलाई प्रमाणमा नलिई ज्यानसम्बन्धी महलको १५ नं.को दावीबाट प्रतिवादीहरू जनकलाल मण्डल, नथुराज भोर र शिवनाथ मण्डललाई सफाइ दिई आगो लगाउनेको ५ नं.अनुसार सजाय गर्ने गरी र अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी तथा राजेश रैया सतार समेतका फरारीको हकमा मुद्दा मुल्तवीमा राख्नु पर्नेमा खारेज गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेतको वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
म पुनरावेदकलाई प्रहरीले पक्राउ गरी ल्याउँदैमा अपराध गरेको मानिने होइन । म पुनरावेदक आगलागी घटनामा संलग्न नरहेको सो आगलागीको विवादमा मेरो सरोकार चासो नभएको र संलग्न हुने कुनै कारण अवस्था नरहेको विषयमा परिस्थितिको विश्लेषण नगरी तथ्यगत ठोस प्रमाण बिना अनुमानको भरमा मतियार ठानी प्रतिपादित न्यायिक सिद्धान्त तथा कानून एवं तथ्यमा त्रुटि गरी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरिपाऊँ भन्ने समेतको शिवनारायण मण्डलको पुनरावेदन पत्र ।
हामी पुनरावेदकहरूलाई प्रहरीले पक्राउ गरी ल्याउँदैमा अपराध गरेको मानिने होइन । हामीले आगो लगाएको पनि होइन र बचन दिएको पनि होइन । बयानमा बचनको शब्द पारिदैमा मतियार हुने होइन । जाहेरवालाको बयान एक आपसमा विरोधाभाष भएको अवस्थामा प्रमाणको मूल्याङ्कन नगरी गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को त्रुटिपूर्ण छ । जाहेरी दरखास्त र प्रहरीमा भएको साविती बयानको आधारमा मात्र कसूरदार ठहर्याउन नमिल्ने हुँदा कानूनी तथ्य एवं प्रतिपादित सिद्धान्तको परिपालना नगरी भएको पुनरावेदन अदालत विराटनगरको त्रुटिपूर्ण फैसला उल्टी गरी मोरङ जिल्ला अदालतबाट सफाइ दिने गरी भएको फैसला सदर गरिपाऊँ भन्ने समेतको जगरनाथ मण्डल समेतको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीहरू उपर मुलुकी ऐन, आगो लगाउनेको महलको १, ५, ७ नं.समेत बमोजिम सजायको माग दावीको अतिरिक्त सोही महलको १० नं.बमोजिम आगो लगाएबाट क्षति भएको बिगो समेत दिलाई भराई पाउन वादी तर्फबाट अभियोग माग दावी लिएको अवस्थामा सो तर्फ केही नबोली शुरुको फैसला केही उल्टी गरी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला नमिली फरक पर्न सक्ने देखिँदा प्रत्यर्थीहरू झिकाई लगाउका पुनरावेदन समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने समेतको फौ.पु.नं.३११० मा यस अदालतबाट मिति २०६५।२।२६ मा भएको आदेश ।
यसमा मिसिल संलग्न कागजातको यथोचित् विश्लेषण नै नगरी केवल पुनरावेदक प्रतिवादीहरूको प्रहरीसमक्ष भएको साविती बयानको भरमा शुरु जिल्ला अदालतको निर्णय केही उल्टी गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला नमिली फरक पर्न सक्ने देखिँदा छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेतको फौ.पु.नं.३५६१ र ३५६२ मा भएको मिति २०६५।२।२६ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदीले प्रतिवादीहरूले जानाजान लगाएको आगोबाट रहमान मियाँ समेतका व्यक्तिहरूको घर पूरै ध्वस्त भई धनमाल समेत क्षति भएको र मौकामा आगो लगाउँदा कै अवस्थामा पक्राउ गरिएको र सो आगो लगाएको कुरामा साबित समेत रहेका छन् । यसरी जाना–जान आगो लगाई ज्यान मार्ने उद्योग गरेकोले प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भनी बहस गर्नुभयो । प्रतिवदी जगरनाथ मण्डल, रामदेव मण्डल र लक्ष्मण मण्डलको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठले मेरो पक्ष अदालतमा कसूरमा इन्कार रहेका छन् । सामान्य बचन दिएको भन्ने आधारमा फौजदारी अपराधमा ठहर गरेको मिलेको छैन । मेरो पक्षको वारदातमा के कस्तो संलग्नता थियो प्रमाणद्वारा पुष्टि र प्रमाणित गर्न सकेको देखिँदैन । आगो के कसरी लागेको हो त्यो नै स्पष्ट खुल्न नसकेको अवस्थामा मेरो पक्षलाई कसूर अपराधमा सजाय गरेको नमिलेको हुँदा सफाइ पाउनु पर्छ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो । त्यसै गरी रामदेव मण्डल, जगरनाथ मण्डल, लक्ष्मण मण्डल, छगोरी विश्वास, जयनाथ मण्डल समेतका तर्फबाट उपस्थित विद्वान अधिवक्ता लक्ष्मीप्रसाद पाखरेलले प्रस्तुत मुद्दा बनी बनाउको मुद्दा हो मेरो पक्षले आगो लगाउने उद्योग गरेको भन्ने कुनै तथ्य कही देखिँदैन । घटनास्थलमा नै पक्राउ गरिएको व्यक्तिको बयान नै धेरै दिन पछिको देखिँदा प्रहरी निरीक्षक गोपालबहादुर रायमाझीको प्रतिवेदन नै शंकास्पद हुँदा मेरो पक्षले सफाइ पाउनु पर्छ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो ।
यसरी पुनरावेदक वादी र प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान कानूनी व्यवसायीहरूले गर्नु भएको बहस जिकीर सुनी पुनरावेदन पत्र सहितको मिसिल प्रमाण कागजातहरू अध्ययन गरी हेर्दा पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला मिलेको छ छैन निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, फिरोज रहमानले महावीर मण्डलको छोरीलाई बेपत्ता पारेको विषयमा २०५३।११।१९ गते केटा एवं केटी पक्षका मानिसहरू बीच विवाद उत्पन्न भै फिरोज रहमान समेतका मानिसहरूको घरमा प्रतिवादी शिवनारायण मण्डल समेतका प्रतिवादीहरूले आगो लगाई ध्वस्त पारी रु.३८,५९,६२०।– बराबरको धनमाल क्षति पारेकोले प्रतिवादी शिवनारायण मण्डल समेत ३१ जनालाई जानी–जानी आगो लगाई मुलुकी ऐन, आगो लगाउनेको महलको १ नं.को कसूर गरेकोले सोही महलको ५ नं.बमोजिम सजाय हुन र प्रतिवादी पगलु साह तेली समेत १३ जनाले सोही आगो लगाउने कार्यमा सहयोग गरी मतियार भै सोही महलको १ नं. को कसूर गरेकोले ऐ महलको ७ नं. बमोजिम सजाय गरी ऐ १० नं. बमोजिम क्षतिपूर्ति समेत दिलाई भराई पाउन तथा घरभित्र मानिस भएको जानी–जानी मार्ने नियतले आगो लगाएको देखिएकोले त्यस्तोलाई ज्यानसम्बन्धी महलबमोजिम गर्नुपर्छ भन्ने आगो लगाउनेको २ नं.मा उल्लेख भएको हुँदा ज्यानसम्बन्धी महलको १ नं. को कसूरमा ऐ.को १५ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने मुख्य अभियोग दावी भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू जनकलाल मण्डल, नथुराम भोर र शिवनाथ मण्डललाई शुरु जिल्ला अदालतबाट आगो लगाउनेको महलको ५ नं.बमोजिम जनही ४ वर्षका दरले कैद हुने ठहराएको हकमा सदर गरी अन्य प्रतिवादीहरू शिवनारायण मण्डल, लक्ष्मण मण्डल, जगरनाथ मण्डल, गंगाई मण्डल, रामदेव मण्डल र धनिकलाल रायलाई आगो लगाउन मुख्य भै बचन दिएको नभै हुलमुलमा सामान्य बचन दिएको हुँदा भनी आगो लगाउनेको महलको ७ नं.बमोजिम मुख्य कारणीलाई हुने सजायको आधा अर्थात् २ वर्षका दरले कैद सजाय हुने गरी शुरुको फैसला केही उल्टी हुने ठहराई भएको फैसलाउपर प्रस्तुत पुनरावेदन परेको देखियो ।
३. प्रत्यर्थी प्रतिवादीहरूले घरमा आगो लगाउनुको अलावा घरभित्र मानिस छ भन्ने जानी जानी आगो लगाई धन सम्पत्ति नोक्सानी पारेको कार्यमा प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १५ नं.को दावीबाट सफाइ दिएको भन्ने वादी नेपाल सरकारको पुनरावेदन दावीतर्फ हेर्दा प्रतिवादीहरू उपर वादी नेपाल सरकारले मूल रुपमा आगो लगाउनेको महलको ५ नं.समेतको दावी लिएको र सो ५ नं.मा अर्काको घरमा आगो लगाएमा यस महलको २ र ३ नं.ले सजाय हुने अवस्थाकोमा बाहेक भनी उल्लेख भएको तथा प्रतिवादीहरूले घरमा आगो लगाएको भने पनि आगो लगाएका भनिएका घरभित्र को–को मानिसहरू थिए र ती घरभित्र भएका मानिसहहरूलाई यो यस किसिमले भाग्न उम्कन नपाउने अवस्थामा पारी ज्यान मार्ने मनसायले आगो लगाएको भन्ने अवस्था देखिन्न । अभियोग दावीबमोजिमको ज्यानसम्बन्धी महलको १५ नं.को अवस्था हुनको लागि ज्यान मार्ने मनसायले गरेको कार्यबाट ज्यान मर्न नपाएको अवस्था हुनुपर्ने हुन्छ अर्थात् अभियुक्तले ज्यान मार्ने मनसायले आगो लगाई मार्ने सम्मको काम गरेको तर त्यस्तो काम गरिसकेर पनि ज्यान भने मर्न नपाएको हुनुपर्छ । तर प्रस्तुत वारदातमा प्रतिवादीहरूले को–को मानिसलाई भाग्न उम्कन नपाउने प्रवन्ध गरी घरभित्र रहेको अवस्थामा आगो लगाएको र त्यसबाट को कसको ज्यान मर्न नपाएको हो भन्ने कुनै तथ्ययुक्त आधार प्रमाण देखिँदैन । जाति जातिमा भएको विवादमा वाहुल्यता रहेका प्रतिवादी समेतका व्यक्तिले फुसका छाना भएका घरहरूमा आगो लगाउने कार्य गरेको सम्म देखिन्छ । तर मानिस मार्ने मनसायले पूर्व योजनाबद्ध भई षडयन्त्र रची आगो लगाएको भन्ने तथ्य स्थापित हुन सक्ने तथ्ययुक्त आधार प्रमाण बेगर प्रतिवादीहरू उपर ज्यानसम्बन्धी महलको १५ नं.आकर्षित हुन सक्ने देखिन्न ।
४. प्रतिवादीहरू आरोपित कसूरमा इन्कार रही अदालतमा बयान गरेको भए पनि महावीर मण्डलको छोरी सुमित्रा मण्डललाई फिरोज रहमान समेतका व्यक्तिले भगाएको सम्बन्धमा छलफल भएको र छलफलमा भगाउने पक्ष मुसलमान समुदायको भएको देखिन्छ भने केटी पक्ष हिन्दू समुदायको भई दुई समूहमा मानिसहरू विभक्त भई छलफल हुँदाकै क्रममा मुसलमान समुदायको घरमा आगो लगाएको र सो लगाएको आगोले आसपासमा रहेका फुसका छाना भएका घरहरू जली नष्ट भएको कुरामा विवाद देखिएन । प्रतिवादीहरूले आफूहरूले आगो लगाएको होइन छैन भनी कसूरमा इन्कार रही अदालतमा बयान गरेको भए पनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी जनकलाल मण्डल, नथुराज भोर र शिवनाथ मण्डलले आगो लगाएको भनी आरोपित कसूर स्वीकार गरेको देखिन्छ भने प्रतिवादीहरू शिवनारायण मण्डल, लक्ष्मण मण्डल, जगरनाथ मण्डल, गंगाई मण्डल, रामदेव मण्डल र धनिकलाल राय अमातले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मुसलमान बस्तीमा आगो लगाउनु पर्छ भनी भनेको कुरा स्वीकार गरी बयान गरेको देखिन्छ ।
५. बुझिएका प्रहरी निरीक्षक गोपालबहादुर रायमाझीले महावीर मण्डलको छोरी सुमित्रा मण्डल र फिरोज अन्सारीबीच प्रेम भई घर छाडी भागे भगाएको विषयमा विवाद सिर्जना हुने खवर पाई आफ्नो कमाण्डमा प्रहरी टोली लिई विवादित स्थानमा गएकोमा ठूलो समूह उपस्थित भएको र सो समूहमा मुसलमान जातिका मानिसहरूको उपस्थित नहुँदैमा प्रतिवादी जनकलाल मण्डल, शिवनाथ मण्डल र नाथुराजभर नुनियाले मुसलमान वस्तीमा आगो लगाउनु पर्छ आगो लगाउँ भन्दै आगो लगाउन शुरु गरेकोले घटनास्थलमा नै पक्राउ गरेको, भिडको समूह ठूलो थियो भनी आफूले दिएको प्रतिवेदनलाई स्वीकार र समर्थन गर्दै एउटाले एउटा घरमा आगो लगाएको देखेको र सोही बखत पक्राउ गरेको भनी घटनाको प्रत्यक्षदर्शी भै बकपत्र लेखाएको देखिन्छ । यी प्रतिवादीहरूले पनि हिन्दू केटी मुसलमान केटाले भगाएको विषयमा छलफल गर्न गाउँलेहरू सहित आफूहरू भेला भएका र सोही अवस्थामा प्रतिवादीहरू जनकलाल मण्डल, शिवनाथ मण्डल र नाथुराज भरले मुसलमानको घरमा आगो लगाएकोमा अधिकारप्राप्त अधिकारीसमक्ष साबित रहेका र अन्य प्रतिवादी शिवनारायण मण्डल, लक्ष्मण मण्डल, जगरनाथ मण्डल, गंगाई मण्डल, रामदेव मण्डल र धनिकलाल रायले आगो लगाउनु पर्छ भनी भिडलाई उत्तेजित गराएको तथ्य मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि हुन आएको देखियो । यसरी मुसलमान बस्तीमा आगो लगाउनु पर्छ भनी भेला जम्मा भएका मानिसहरूलाई उक्साई उत्तेजित गराउने र आगो लगाउने सम्मको कार्य उल्लिखित प्रतिवादीहरूले गरेको तथ्य प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान, प्रतिवेदक गोपालबहादुर रायमाझीको प्रतिवेदन र अदालतमा भएको कागज तथा आगलागीबाट मुसलमान बस्तीका घरहरू जली ध्वस्त भएका वास्तविकता समेतका सिलसिला तथा घटनाक्रमबाट समर्थित र पुष्टि हुन आएको देखिँदा स्थापित तथ्यबाट उल्लिखित प्रतिवादीहरूले आगजनीको अपराध गरेको होइन भनी उन्मुक्ति पाउने देखिन्न ।
६. उल्लिखित प्रतिवादीहरू बाहेक अन्य प्रतिवादीहरूले कसूर गरेकोमा अधिकारप्राप्त अधिकारी तथा अदालतमा समेत इन्कार रहेका र सहअभियुक्तहरूले एक अर्कालाई पोल गर्न सकेको देखिँदैन । मौकामा घटना देख्ने प्रत्यक्षदर्शी प्रतिवेदक गोपालबहादुर रायमाझीले तत्काल पक्राउ गरेका बाहेकका अन्य प्रतिवादीहरू को–को थिए भन्न सकेको छैन । घटनास्थलमा घटना घटित हुनुपूर्व ठूलो संख्याको भीड रहेको र सो भीडमा आगो लगाउने कार्यमा संलग्न प्रतिवादीहरूलाई तत्कालै प्रहरीले पक्राउ गरेको अवस्था देखिँदा ती पक्राउ परे बाहेकका प्रतिवादी बनाइएका अन्य प्रतिवादीहरूले पनि आगो लगाएको भन्ने तथ्य स्थापित हुन नसकेको अवस्थामा उल्लिखित प्रतिवादी बाहेकका अन्य प्रतिवादीहरूको पनि प्रस्तुत वारदात घटनामा प्रत्यक्ष संलग्न रहे भएको भनी अर्थ गर्न मिल्ने देखिन्न ।
७. प्रतिवादीहरूले मुसलमान बस्तीको एउटा घरमा आगो लगाएको र सो आगो फैलदै गई वस्ती नै ध्वस्त भएको अवस्थामा ती आगोले खाक भएका घरहरूमा के कसको घर र के कति सम्पत्ति थियो अनुसन्धानका क्रममा स्पष्ट गर्न सकेको छैन । अभियोगमा बिगोमा गोश्वारा रुपमा यो यसको यति भनी दावी लिएबाट यो यो यति मूल्य बराबरको यस्तो सम्पत्ति भन्ने स्पष्ट खुल्न नसकेको यस्तो बिगो भराई पाउने सम्बन्धमा स्पष्ट रुपमा यकीन हुन नसकेको विषयमा अदालत आफैले किटान गरी दिन पनि नसक्ने हुँदा बिगो भराई पाउने भन्ने अवस्था पनि रहँदैन । विवादको विषयका प्रकृति हेर्दा धार्मिक एवं साम्प्रदायिक किसिमले सामाजमा असहिष्णुता र उत्तेजना बढाउने, सद्भाव प्रवर्द्धन नगर्ने र सामूहिक द्धेष, घृणा र अपहेलना फैलाउने किसिमको देखिन्छ । पुरुष वा स्त्रीबीच कायम हुने सम्बन्धको हकमा स्वाभाविक रुपमा नैसर्गिक स्वतस्फूर्त र स्वेच्छिक हुन दिनुपर्ने र समुदायका व्यक्तिहरूले हस्तक्षेप गरी व्यवधान सिर्जना गर्न नहुनेमा त्यसको विपरीत समाजमा धर्म वा जातजातिको आधारमा सामाजिक सम्बन्धलाई वर्गीकृत गरी वैवाहिक सम्बन्ध कायम गर्ने प्रक्रियामा नै हस्तक्षेप गर्ने स्थिति खडा भएको देखिन्छ । जब सम्बन्धित व्यक्तिहरूले स्वाभाविक रुपमा स्वेच्छिक रुपले कायम गर्ने नितान्त व्यक्तिगत विषयलाई सामाजिकीकरण गरी हस्तक्षेपको आधार बनाइन्छ, तब त्यस्तो कुरा व्यक्तिगत हित वा अहितमा सीमित नरही सामूहिक असर पैदा गर्न खोज्दछन् । यस्तो स्थिति केवल सामाजिक सम्बन्धको समस्याको रुपमा प्रकट भएको नभै आपराधिक रुपमा प्रकट भई असम्बन्धित रहेका समुदायका अन्य सदस्यहरूको समेत धनजनमा क्षति पुर्याउने प्रवृत्ति रहने गरेको पाइन्छ ।
८. भेदभाव गरी अरुको हकमा हस्तक्षेप गर्ने कार्य समेत पनि मानवअधिकार र फौजदारी कानूनको दृष्टिले गम्भीर विषय हुन्छन । त्यसमा पनि धर्म वा समुदायको विवाद बनाई उत्तेजित बनाई व्यापक असर भएको आपराधिक कार्यमा परिणत हुन्छ भने त्यो झन गम्भीर विषय हुन्छ त्यस्तो विषयमा कानूनले विशेष सतर्कतापूर्वक गम्भीर एवं सख्त दृष्टिकोण लिन जसरी हुन्छ भने त्यस्तो विषयमा कानून कार्यान्वयन अझ प्रभावकारी हुन जरुरी छ । प्रस्तुत मुद्दामा जस्तो व्यापक रुपमा भौतिक क्षति भएको परिस्थितिमा सम्बन्धित व्यक्तिका नोक्सानीका क्षतिपूर्ति गर्नुका अतिरिक्त फौजदारी कानूनका दृष्टिले त्यस्तो कसूर दोहरिन नदिने हिसावले पनि पर्याप्त अनुसन्धान साथ क्षतिको सही आंकलन गरी पर्याप्त उपचारप्राप्त गर्ने प्रयास हुनु पर्ने हो तर त्यस हिसावले मुद्दामा अनुसन्धान एवं दावी नै लिन सकेको पाइएन । यस्तो स्थितिमा मुद्दामा केही प्रतिवादीहरूलाई भएको सजाय मात्रले पर्याप्त परिपुरण हुने गरी पूर्ण न्यायको अनुभूति दिलाउन सक्ने स्थिति रहेन । यस विषयमा वादी पक्षको विशेष रुपमा ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।
९. अतः मुख्य भई आगो लगाउने प्रतिवादीहरू जनकलाल मण्डल, शिवनाथ मण्डल र नाथुराज भरलाई आगो लगाउनेका महलको ५ नं.को कसूर अपराधमा सोहीबमोजिम जनही ४ (चार) वर्ष कैद र प्रतिवादीहरू शिवनारायण मण्डल, लक्ष्मण मण्डल, जगरनाथ मण्डल, गंगाई मण्डल, रामदेव मण्डल र धनिकलाल रायले भीडमा आगो लगाउन उक्साउने सम्मको कार्य गरी मतलवी मतियारको भूमिका निर्वाह गरेको सम्म देखिन आएकोले निजहरूको कार्य आगो लगाउनेको महलको ७ नं.को कसूर अपराध भित्रको देखिँदा निजहरूलाई जनही २ (दुई) वर्ष कैद हुने र अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी र प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरु तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत विराटनगरले गरेको फैसला सदर हुने ठहरी फैसला भएकोले पुनरावेदक प्रतिवादी शिवनारायण मण्डल, जगरनाथ मण्डल, रामदेव मण्डल, गंगाई मण्डल, लक्ष्मण मण्डल र धनिकलाल रायलाई पुनरावेदन अदालत विराटनगरको फैसलाले लागेको जनही कैद वर्ष २ (दुई) को हकमा अ.बं.१९४ नं.बमोजिम जेथा जमानतको सुविधा लिई पुनरावेदन अदालत विराटनगरमार्फत् यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत विराटनगरकोे च.नं.१४३३ मिति २०६२।७।३ को पत्रले मालपोत कार्यालय विराटनगरको च.नं.१८४८ मिति २०६२।७।६ का पत्रले यस मुद्दाको हकमा रोक्का रहेको जग्गा निज प्रतिवादीहरूलाई लागेको कैद भुक्तान भएपछि मात्र अन्य मुद्दा वा कारणबाट रोक्का राख्नु नपर्ने भए फुकुवा गरी दिनु भनी सम्बन्धित कार्यालयमा लेखी पठाई दिनू भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनू–––––– १
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू–––––– २
उक्त रायमा म सहमत छु ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६७ साल कात्तिक १४ गते रोज १ शुभम्–
इजलास अधिकृतः श्रीप्रसाद संजेल