शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०४१ - मोही नामसारी

भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक:

निर्णय नं. ६०४१ ने.का.प. २०५२  अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४९ सालको दे.पु.नं. ५०३

आदेश मिति     : २०५२।१।४।२

मुद्दा : मोही नामसारी ।

 

पुनरावेदक/प्रतिवादी: जिल्ला सिरवरियारपट्टि गा.वि.स. वडा नं. १ बस्ने दुलिचन यादव ।

विरुद्ध

विपक्षी/वादी: ऐ.ऐ. हनुमाननगर गा.वि.स. वडा नं. ५ बस्ने जहरिवती कोइरिन ।

 

     मोहीको आधारभुत प्रमाण २ नं. अनुसूची र ३ नं. स्थायी प्रमाणपत्र हुने ।

(प्रकरण नं. १४)

     जग्ग धनीत्व हस्तान्तरण गर्न लिखतमा मोही नाम उल्लेख नगर्दैमा मोही हक नजाने।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सतिश कृष्ण खरेल

विपक्षी तर्फबाट   : विद्वान अधिवक्ता श्री अमर थापा

अवलम्बित नजिरःX

 

फैसला

न्या.लक्ष्मणप्रसाद अर्यालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतको क्षेत्राधिकार भित्र परेको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.   साविक जग्गा धनी भागवत महतो भई हाल विपक्षी जग्गा धनीहरुले खरिद गरी लिएको जग्गा गा.पं. हनुमान नगर वा.नं. ५ क कि.नं. २१२ को ०१५ बाट कित्ताकाट भै हाल कि.नं. ३११ को ०१५ रुकमणिका नाउँमा कायम हुन आएको र कि.नं. ३१२ को ०० जग्गा सोनेलालका नाउँमा कायम हुन आएको र वा.नं. ५ क कि.नं. २४४ को ०१८९ बाट कित्ताकाट भै हाल कि.नं. ३१३ को ०१०० निज मोहीको श्रीमतीका नाउँमा दर्ता भएको र कि.नं. ३१४ को ०० जग्गा दुलिचनका नाउँमा र साविक जग्गा धनी भागवत महतोको नाउँमा कि.नं. २४७ को ०१७ र वा.नं. ८ कि.नं. २०५ को ०१३ समेतका जग्गामा लोग्ने ठकहर मोही भै कमाई राखेको मोहीको प्रमाणपत्र समेत पाई सकेको ०३१ सालमा लोग्ने परलोक भई सकेकोले मेरो पति नाउँको मोही जग्गा मेरा नाउँमा नामसारी गरी पाउँ भन्ने समेत निवेदन उजुरी ।

३.   विवादित जग्गा ०३४।४।२५ गते रामरतनबाट खरिद गरे देखि आजसम्म मैले नै जोती भोगी आएको छु । मैले खरिद गरी लिँदा ज.ध.द.प्र. पुर्जामा विपक्षीको पतिको नाउँ मोही महलमा उल्लेख थिएन । मोही भए मौका मै आई प्रमाण देखाई म मोही हुँ भन्नु पर्ने केही नगरी चुप बसी ०४५ सालमा मोही नामसारी गरी पाउँ भन्ने निवेदन दिएका छन् । मैले खरिद गरेको उक्त ०० जग्गा प्र. भागवतका नाउँमा दर्ता थियो, सो जग्गा मैले रामरतन सँग खरिद गरेको हुँ । विपक्षीले उक्त जग्गा कहिले पनि मोहीको हैसियतले जोती कमाई आएको नहुँदा विपक्षीको माग दावी अनुसार मेरो नाउँको उक्त ०० जग्गाको विपक्षीका नाउँमा मोही नामसारी भै मोही प्रमाणपत्र निजले पाउने हैन भन्ने समेत व्यहोराको प्र.दुलीचन यादवको प्रतिउत्तर पत्र ।

४.   वादीले देखाएको उक्त जग्गाको विपक्षीका पति मोही थिएनन् र निजले सो जग्गा कहिले पनि मोहीको हैसियतले कमाएको थिएन । निजको शेषपछि निवेदकले पनि उक्त जग्गा कहिले जोती कमाएको छैन । विपक्षीले सो जग्गा जोती कमाएको भए मैले उक्त कि.नं. २४४ को ०१७० जग्गाबाट ०१०० जग्गा झिंगुर साहुलाई बाँकी ०० जग्गा रामरतनलाई बिक्री गरेको ततपश्चात ०० जग्गा हाल दुलिचनले लिएकोमा जग्गा धनीहरु बदलिँदा प्रमाणपत्रमा ज.ध.हरुको नाउँ बदलाई लिनु पर्ने साथै मौका मै नामसारी गराई लिनु पर्ने समेत केही नगरेको कूत बुझाएको भर्पाई समेत लिनु पर्ने केही गरेको नहुँदा उक्त जग्गामा निजको मोही छैन होइन ।

५.   झुठ्ठा दावीबाट विपक्षीका नाउँमा मोही नामसारी हुने हैन भन्ने समेत प्र.भागवत महतोको प्रतिउत्तर पत्र ।

६.   प्र.रुकमणि देवीले ०४५।३।३० मा र सोनेलाल कामेतको ०४५।३।२४ मा तामेल भएको शुरु म्यादै गुजारी बसेको ।

७.   यसमा फिल्डबुक उतार समेतको आधारमा निवेदक एकै परिवारको देखिएकोले वादीको दावी पुग्न सक्दैन वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको भूमि सुधार कार्यालय सिरहाको मिति ०४६।३।२२ को फैसला ।

८.   भूमिसुधार कार्यालय सिरहाको फैसलामा चित्त बुझेन, सो फैसला उल्टी गरी मेरो माग दावी बमोजिम मोही नामसारी गरी पाउँ भन्ने समेत वादी पक्षबाट पर्न आएको पुनरावेदनपत्र ।

९.   यसमा प्रमाणको मूल्यांकनलाई लिएर छलफल गर्नु पर्ने हुँदा अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाई आएपछि वा गुजारे पछि पेश गर्नु भन्ने मिति ०४७।२।९ को आदेश ।

१०.  ठकहर महतोको स्वर्गवास भै निजको पत्नी जहरीवती कोइरीन एकमात्र देखिँदा पुनरावेदिका वादीको नाममा मोहियानी नामसारी गरिदिनु पर्नेमा वादी दावी नपुग्ने भनी खारेज गरेको भु.सु.का. सिरहाको निर्णय मिलेको नदेखिँदा उल्टी हुन्छ । वादीको नाममा मोहियानी नामसारी हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत राजविराजको फैसला ।

११.   विपक्षीको पति ठकहरले कुनै प्रमाणपत्र पाउँदैमा अथवा अनुसूची२ कसैको नाममा प्रकाशित हुँदैमा मोहीको लागि चाहिने खास शर्तहरु पुरा नगरी मोही हुन सक्दैन, हलो, जोते बापत उब्जा खान पाएको हली मोही हुन सक्दैन । मेरो दाता भागवात र विपक्षीको पति ठकहर अंशियार भएको विवादित जग्गा निज ठकहरले जग्गाधनीको हैसियतले जोतेको साथै स्वामित्व देखाएपछि यस्तो जग्गामा मोहियानी कायम गरेको पुनरावेदन अदालत राजविराजको फैसला बदर गरी प्रतिउत्तर जिकिर अनुसार ठहर हुनुपर्छ भन्ने मिति ०४९।२।७ मा यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

१२.  पुनरावेदन अदालत राजविराजको फैसला नमिली फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने मिति २०५०।१०।२६ गते यस अदालतको संयुक्त इजलासबाट भएको आदेश ।

१३.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सतिश कृष्ण खरेलले मेरो पक्षको दाता भागवत र विपक्षीको पति ठकहर अंशियार भएको र विवादित जग्गामा ठकहरले स्वामित्व देखाएको र जग्गाधनीको हैसियतले निजले विवादित जग्गा आफ्नो भागमा परेकोले जोतेको भनेको अवस्थामा भूमिसम्बन्धी ऐनले तोकेको शर्त अनुसार निजले उक्त जग्गा नकमाएको अवस्थामा पुनरावेदन अदालत राजविराजले मोहियानी नामसारी गरेको फैसला उल्टाई मेरो पक्षको प्रतिउत्तर जिकिर अनुसार हुनुपर्छ भनी गर्नु भएको बहस तथा विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अमर थापाले मेरो पक्षको पतिले विवादितट जग्गा कमाएको र मोही प्रमाणपत्र पाएको अवस्थामा निजको मृत्युपछि श्रीमतीको नाममा मोहियानी नामसारी हुने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको इन्साफ सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनी इन्साफ तर्फ विचार गर्दा पुनरावेदन अदालत राजविराजको फैसला मिले नमिलेको के रहेछ? निर्णय दिनुपर्ने देखिन आयो।

१४.  यसमा २०४८।१०।२८ को पुनरावेदन अदालत राजविराजको अंश मुद्दाको फैसलाले वादी भागवत महतो कोइरी र प्रतिवादी जहरीवती कोइरिनका बीच परेको अंश मुद्दामा वादी प्रतिवादी बीच बण्डा भै सकेको ठहर भएको सो उपर पुनरावेदन नपरेबाट सगोलको भन्ने देखिन आएन । भूमिसुधार नापीको फिल्ड बुकमा जहरीवतीको पति ठकहरले मैले जोती आएको भनी लेखाएको २ नं. अनुसूची प्रकाशित हुँदा उजुर नपरी ३ नं. मोही प्रमाणपत्र समेत प्राप्त गरेको मोहीको आधारभूत प्रमाण २ नं. अनुसूची र ३ नं. स्थायी प्रमाणपत्र हुने । वादी जहरीवतीको पतिले १ नं. फाराम भरी २ नं. अनुसूची प्रकाशित भै ३ नं. मोही प्रमाणपत्र प्राप्त गरेकोमा विवाद नभएको । जग्गा हक छाडी दिंदा मोहीको नाम उल्लेख गर्नु पर्नेमा सो नगर्नु वादीको कर्तव्य नभै लिने दिनेले मोहीलाई सूचना दिनु पर्ने भूमिसम्बन्धी ऐनले गरेको व्यवस्थाको परिप्रेक्ष्यमा जग्गाधनीत्व हस्तान्तरण गर्न लिखतमा मोही नाम उल्लेख नगर्दैमा मोही हक नजाने हुँदा पुनरावेदक दुलिचन यादवको पुनरावेदन जिकिर स्वीकार योग्य देखिएन । तसर्थ पु.बे.अ. राजविराजको शुरु भूमिसुधार कार्यालयको निर्णय उल्टी गर्ने गरेको निर्णय मुनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारनाथ उपाध्याय

 

इतिसम्वत् २०५२ साल बैशाख ४ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु