निर्णय नं. २४०८ - दर्ता बदर

निर्णय नं. २४०८ ने.का.प. २०४२ अङक ६
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको दे.पु.नं. ४२०
मुद्दा : दर्ता बदर ।
पुनरावेदक/वादी:नु.जि. भैरवी गा.पं.वार्ड नं. ४ पाटी पानी बस्ने बद्रीनाथ अनाथ ।
विरूद्ध
विपक्षी/प्रतिवादी:नु.जि.मदानपुर गा.पं.वार्ड नं. २ बस्ने प्रेमराज खरेल ।
ऐ. चतुराले गा.पं.वार्ड नं.८ बस्ने प्रेम दिप थपलिया ।
फैसला भएको मिति:२०४२।६।२४ मा
दर्ता भएको एकाको दर्ता बदर गराउनलाई विशेष अदालतको क्षेत्राधिकार भित्र नपरी सम्बन्धित जि.अ.को क्षेत्राधिकार भित्र पर्ने ।
(प्रकरण नं.१४)
फैसला
न्या.बब्बरप्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।११।१५ को फैसलामा चित्त नबुझी वादी बद्रीनाथ अनाथको पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत दर्ता बदर मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छन्।
२. पूर्व दुर्गा प्रसादको खेत, पश्चिम आफ्नै खेत, उत्तर इन्द्र बहादुर राईले कमाएको खेत, दक्षिण धनराज पाण्डेको खेत, यति ४ किल्लाभित्रको काली भरा आवाबोटे भन्ने खेत १४४ मध्ये खेत ।२२ को जग्गाधनी विपक्षी प्रेमराज भएको मैले अघिदेखि साल १ को धानमुरी ९।५ को रु. १। को पाथी ३ का दरले बुझाई मोही भई खाई भोगी आएको विर्ता जग्गाको भू.सु.लागू भएपछि पनि मोहीका फाराम भरी जो.अ.नि समेत प्राप्त गरी तिरो बुझाई रसिद समेत लिएको, २०३१ सालको बाली देखि बाली बुझ्ने रसिद नदिने गरेको थियो, विर्ता उन्मूलन ऐन, २०१६ अनुसार जग्गाधनीले उक्त विर्ता जग्गाको आफ्ना नाउँमा रैकरमा परिणत गर्नु पर्ने नगरेकोले विर्ता उन्मूलन ऐन संशोधनसहित २०२४ को दफा ७ ले (ख) श्रेणीका विर्ता जग्गाहरू उक्त ऐन लागू भएको १२० दिनभित्र आफ्नो नाउँमा रैकरमा परिणत गर्नुपर्ने नगरेकोमा मोहीले आफ्ना नाउँमा दर्ता गरिपाउँ भनी मालमा दर्खास्त दिई मालबाट सूचना प्रकाशित भएपछि विपक्षी मध्येको प्रेमदिप थपलियाले ०३५।११।४ मा मालमा दिएको उजूरी निवेदनबाट मलाई झिकाएकोले हाजिर भई आफ्ना नाउँमा दर्ता लगत हुन सक्ने जिकिर सहित प्रमाण प्रस्तुत गरेकोमा यसै बीच उक्त जग्गा ०३४।१।१८ मा का.जि.बानेश्वर बस्ने रमेशराज सत्यालबाट रु. ९९ मूल्य पर्ने भनी लेखिएको छोडपत्र दाखिल गरी आफ्ना नाउँमा दर्ता गरी परिणत गर्ने भएको ०३५।१२।३।६ मा मालबाट नक्कल सारी लिँदा थाहा हुन आएकोले विपक्षी प्रेमदिप थपलियाले ०३५।१०।१० मा गराएको परिणत दर्ता बदर गरी मेरा नाउँमा दर्ता लगत गरिपाउँ भन्ने फिरादपत्र ।
३. वादी दावीको ४ किल्लाभित्रको जग्गा वादीको होइन वादी दावी सारा झुठ्ठा हो । विपक्षीको वादी दावीको जग्गामा हक अधिकार नभएको र मोही समेत विपक्षी नहुँदा मैले नुवाकोट मालमा विर्ता जग्गा रैकरमा परिणत दर्ता गरिपाउँ भनी नुवाकोट मालमा दर्खास्त दिएको र सो निर्णयको आधारबाट नुवाकोट मालले जग्गामा कसैको कुनै प्रमाणको हक अधिकार छ भने उजूर गर्न आउनु भनी सूचना प्रकशित हुँदा विपक्षी समेतको उजूरी नपरी मेरो नाउँमा दर्ता भएको छ विपक्षीको नाउँमा परिणत दर्ता हुने जग्गा भए उजूरी गर्न सक्नु पर्नेमा नसकेबाट समेत विपक्षीको फिराद दायर हुन सक्दैन मलाई विर्ताबाट रमेशराज सत्यालले गरिदिनु भएको छोडपत्रको आधारबाट जग्गा दर्ता परिणत गरेको छु । विपक्षीको छोडपत्र उपर उजूर नहुँदा छोडपत्र कायम रहेको अवस्थामा छोडपत्रबाट सिर्जना भएको परिणत दर्ता बदरमा दिएको फिराद दायर हुन सक्तैन विपक्षीले दिएको फिरादबाट मेरो नाउँको दर्ता बदर हुने होइन विपक्षीको फिराद खारेज गरिपाउँ भन्ने प्रेमदिप थपलिया र प्रेमराज खरेलको विर्ताजग्गा सम्बन्धित विशेषअदालतमा परेको संयुक्त प्रतिउत्तर ।
४. विशेष अदालत ऐन, २०३४।९।९ गते प्रकाशित भएको नेपाल राजपत्रको दफा ४ ले २ वर्ष समय पूरा भई विघटन भएको छ भनी यस अदालतमा प्राप्त हुन आएको दायरीमा दर्ता गरी रुल नियम बमोजिम गर्नु भन्ने समेत बा.अं.अ.को ०३७।१।२७।६ को आदेश रहेछ ।
५. भू.सु.ऐन, २०२१ ले अदालतलाई अधिकार नभई भू.सु.का.लाई भएकोले यस अदालतबाट इन्साफ बोल्न मिलेन परिणत दर्ता गरी नसकेको वादीले र साथ आफ्नु जग्गाधनी पनि नभएको व्यक्तिले रैकरपरिणत दर्ता उपर दावी गर्ने अधिकार पनि कानुनद्वारा प्रदत्त भएको नदेखिएको बिनासबूद आधारमा वादी दावी प्रमाणित मान्न नमिल्ने भएकोले वादी दावी पुग्नसक्दैन भन्नेसमेत व्यहोराको बा.अं.अ.को मिति ०३८।१।१३।६ को फैसला ।
६. उक्त बा.अं.अ.को फैसला चित्त बुझेन भन्ने समेत वादी बद्रीनाथ अनाथको मध्यमाञ्चल क्षेत्रिय अ..मा परेको पुनरावेदन ।
७. जग्गा ख श्रेणीको विर्ता जग्गा भएको र आफूले रैकरमा परिणत गरी नसकेको कुरा पुनरावेदन वादीले स्वीकार गर्नु भएकै छ, जग्गा प्र.मध्येका प्रेमराज खरेलको म मोही भई कमाएको भनी वादी भन्नुहुन्छ तर प्र.प्रेमराज मेरो जग्गा होइन भन्दछन् । ०३१ देखि यताको कुत बुझाएको भर्पाई छ भन्न वादी सक्नु हुन्न प्र.प्रेमराजको जग्गालाई हडप्न प्रेमदिप र हेमराजले छोडपत्र बहाना गरी लिनु दिनु गरेको भए त्यसतर्फ ऐन बमोजिमको उजूरी नालेश हुनुपर्ने सो भए गरेको पनि देखिँदैन यता जग्गा परिणत भइसकेको छैन उता छोडपत्रबाट लिनु दिनु गरिसकेको भन्ने कुराको जानकारी प्राप्त भइसकेपछि पनि त्यसतर्फ छुट्टै उजूरी नभएकोले वादी दावी पुग्न नसक्ने ठहर्याएको बा.अं.अ. को फैसला सदर हुने ठहर्छ भन्ने ०३९।११।२५।१ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
८. वादी दावी पुग्न नसक्ने ठहर गरेको बा.अं.अ.को फैसलालाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा उक्त फैसलाउपर पुनरावेदन गर्ने अनुमतिपाउँ भनी वादी बद्रीनाथ अनाथको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएकोछ भन्नेसमेत यस अदालत डिभिजन बेञ्जको आदेश रहेछ ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रही बेञ्च समक्ष उपस्थित भएका पक्ष विपक्षी प्रेमदिप थपलिया तथा वा.शरिधर समेतलाई रोहवरमा राखी पुनरावेदक वादी बद्रीनाथ अनाथको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री विष्णु राउत र विपक्षी प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१०. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रिय अ..ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
११. यसमा विपक्षी प्रतिवादी प्रेमदिप थपलियाले विर्ता जग्गा ०३५।१०।१० मा रैकरमा परिणत गराई निजको नाउँमा दर्ता गराएकोमा प्र.वादी बद्रीनाथ अनाथले आफूलाई उक्त जग्गाको मोही भनी ०३५।१०।२९ मा नुवाकोट मालमा रैकरमा परिणतको लागि निवेदन दिएको र विपक्षी प्रेमदिप थपलियाले ०३५।१०।१० मा नुवाकोट मालमा गराएको परिणत दर्ता बदर गरी मेरो नाममा दर्ता लगत गरिपाउँ भनी बिर्ता जग्गा सम्बन्धी मुद्दा हेर्ने विशेष अदालतमा फिरादपत्र दिई, उक्त अदालत विघटन भएपछि सो मुद्दा बा.अं.अ.मा सरी बा.अं.अ.ले निर्णय गरे उपर मध्यमाञ्चल क्षेत्रिय अ..मा पुनरावेदन गरी निर्णय भई त्यस उपर पुनरावेदक वादी बद्रीनाथ अनाथको पुनरावेदन रहेछ ।
१२. प्रेम दिप थपलियाको नाउँमा दर्ता भइरहेको दर्ता बदर गराउनलाई वादीले जि.अ.मा नालेश गर्नु पर्नेमा विशेष अदालतमा मुद्दा दायर गरी विशेष अदालत विघटन भई मुद्दा बा.अं.अ.मा सरी अनाधिकार अञ्चल अदालतले निर्णय गरेको र त्यस उपर पुनरावेदन परी अधिकार बाहिर भई मध्यमाञ्चल क्षेत्रिय अ..ले निर्णय गरेको कानुन अनुरूप नहुँदा बा.अं.अ. र मध्यमाञ्चल क्षेत्रिय अ..का फैसला बदर हुनु पर्दछ भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताको बहस जिकिर समेत भएको पाइन्छ ।
१३. यस सम्बन्धमा नेपाल राजपत्र भाग ३, २०३४ फाल्गुण ९ गतेमा श्री ५ को सरकार कानुन तथा न्याय मन्त्रालयको सूचना हेर्दा उक्त विशेष अदालतलाई आफ्नो जिल्लाका विर्ता उन्मूलन ऐन, २०१६ अन्तर्गत विर्ता जग्गा हो होइन वा कुन श्रेणीको हो भन्ने वा त्यस्तो जग्गाको तेरो मेरो मुद्दा सम्बन्धित जिल्ला अदालतका समक्ष दायर भई छिन्न बाँकी रहेका र अब दायर हुने मुद्दा मामिला उजूरी लिई कारवाई किनारा गर्न विशेष अदालत ऐन, २०३१ र विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम तोकिएको र सुम्पिएको छ भन्ने उल्लेख भएको पाइन्छ ।
१४. उपरोक्त सूचना अनुसार विशेष अदालतलाई प्रदान भएको मुद्दा भित्र प्रस्तुत दर्ता बदर मुद्दा पर्छ पर्दैन भन्नेतर्फ विचारगर्दा प्रस्तुतविवादको विर्ताजग्गा प्रतिवादी प्रेमदिप थपलियाको नाउँमा ०३५।१०।१० मा दर्ता भई निजको दर्ताभोगको जग्गा निजको दर्ताबदर गरी वादीको नाउँमा दर्ता गरिपाउँ भन्ने वादीदावी भएको त्यस्तो दर्ता भएको एकाको दर्ताबदर गराउनलाई उक्त विशेषअदालतको क्षेत्राधिकारभित्र नपरी सम्बन्धित जि.अ.को क्षेत्रा– धिकारभित्र पर्ने मुद्दा विशेषअदालतमा परी उक्त विशेष अदालत विघटन भई बा.अं.अ.मा सरी अं.अ.ले निर्णय गरेको र त्यस उपर मध्यमाञ्चल क्षेत्रिय अ..मा पुनरावेदन परी मध्यमाञ्चल क्षेत्रिय अ..ले निर्णय गरेको क्षेत्राधिकार बाहिर गई अं.अ.ले निर्णय गरेको देखिँदा, उक्त बा.अं.अ.को फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला समेत बदर हुने ठहर्छ ।
१५. पुनरावेदक वादी बद्रीनाथ अनाथले कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गरिरहनु परेन । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भई फैसला भएको हुँदा मा.न्या.श्री लिलाप्रसाद गिरीको उल्टीमा रेकर्ड राख्नु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल आश्विन २४ गते रोज शुभम् ।