निर्णय नं. २४१० - ज्यान

निर्णय नं. २४१० ने.का.प. २०४२ अङ्क ६
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको फौ.पु.नं. ५७२, ६२६
सम्वत् २०४१ सालको फौ.सा.नं. ८२
मुद्दा : ज्यान ।
पुनरावेदक/प्रतिवादी: जिल्ला पाल्पा गा.पं. वराङदी वा.नं.६ खरिपानी घर भै हाल जिल्ला कार्यालय कारागार शाखा पाल्पा तानसेनमा कैदमा बसेको चंखे भन्ने मुक्तिराम घिमिरे ।
जिल्ला पाल्पा वराङदी गा.पं.वा.नं.४ सिल्टुङ डाडा घर भै हाल कारागार शाखा पाल्पामा थुनामा रहेका गणेश प्रसाद भट्टराई ।
ऐ. वा.नं.६ नारडांडा घर भै ऐ मा थुनामा राहेकी कान्ति कुमारी बस्याल ।
विरूद्ध
विपक्षी/वादी:कान्ति कुमारीको जाहेरीले श्री ५ को सरकार ।
फैसला भएको मिति:२०४२।३।७ मा
सासू बुहारी बीच मनमुटाव भई व्यवहारिक कारणले मारी देउसम्म भनेको घटनास्थलमा उपस्थित नरहेको अवस्था देखिँदा प्र.लाई १३(४) बमोजिम सजायँ गर्दा चर्को हुने हुँदा अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने ।
(प्रकरण नं.२१)
फैसला
न्या.गजेन्द्र केशरी बास्तोलाः पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला उपर प्रतिवादी मुक्तिराम घिमिरे समेतको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा पुनरावेदन जिकिर निम्न प्रकारको रहेछ ।
२. मेरो सासू गौरा बस्याल्नी ०३७।२।६ का दिन छोरीको घर मधेशतर्फ जानु भएको ०३७।२।७ गते म तानसेन आउँदा सो दिन उहाँ फर्की आउँदा सितलपाटीमा भेट भई घर जानु भन्दा साँझपख आउँछु भन्नु भएकोले म घर आई खाना पकाई कुरेको थिएँ । नआएबाट अन्त वस्नु भयो होला भनी सुतँ । आज बिहान तानसेन दुध लाने गाउँले मानिसले वडा नं. ४ मा पर्ने रामेको बारीमा घोप्टो पारी राखेको छन् भनेबाट गई हेर्दा मृत अवस्थामा देखि सोधपुछ गर्दा ०३७।२।७ का रात गाउँकै चंखे भन्नेसँग अं.८ बजेको समयमा गाउँतर्फ सासू गएको भन्ने सुनेको हुँदा निजले कर्तव्य गरी मारेको शंका लाग्दछ । पक्राउ गरी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ०३७।२।८।४ को जि.प्र.का. पाल्पामा दिएको जाहेरी दर्खास्त ।
३. जाहेरवालाले मेरो सासूले घरका सामान सबै बेच्दै रक्सी खाने जुवा खेल्ने गरी सकेकोले तिमीले सासू गौरीलाई मार मैले लगाएको सुनका माडवारी दिन्छु भनेकोले ०३७।२।७ गतेका दिन म र गणेशबहादुर भई चुत्रा भञ्ज्याङ तानसेनको रमाइलो बारी जोती अं. ६ बजे मैले जुवा गणेशले हलो बोकी चुत्रा भञ्ज्याङ बजारमा आउँदा रक्सी पसल अगाडि खगराज गौरा उभिएकी थिइन । गणेश त्यही गयो । म चिनी किन्न गई चिनी पाई रु. १। को मिश्री किनी चारैजना गयौं । खगराज घरतिर लागे । हामी ३ जना रक्सी पसलमा गई एक एक मोहरको रक्सी लिई चुत्रा भञ्ज्याङबाट केही तल झरी गणेशले गौरालाई आज मार्नैपर्छ भनी रक्सी किन्न रु. ३। दिएकोले रु. ३। बोकी राखी छेलुङको पसलबाट देखाएको शिशीमा रक्सी लिई गई तीनै जनाले खायौं । गौरा व्यहोस भएपछि गौराको शरीरबाट गणेशले रूपैयाँ झिकी रु. ३०। मलाई दिई पर्खालबाट तल खरबारीमा धकेली देखाइएको सेतो पछ्यौराले घाँटीमा सुर्के गाँठो पारी कस्यो र केही बेर पछि गाँठो मैले फुकाई हलो जुवा बोकी घरतिर हिड्यौं । केही तल झरेपछि गणेशले मेरो पकेट रूमाल छुटेछ । तिम्रो चप्पल साटिएछ भनेबाट मैले चप्पल बाटा मुनि Çयाकी दिएँ र जाहेरवालीको घरमा हामी दुवै भई गौरालाई मारेको कुरा भनी घरतर्फ लाग्यौं भन्ने समेत व्यहोराको प्र.चंखे भन्ने मुक्तिराम घिमिरेको मौकाको कागज ।
४. आजभन्दा ९ वर्ष अगाडि मेरो दिदी जाहेरवालीले मुक्तिरामलाई बारी जोत्दै गरेको अवस्था सासू गौराले घरको सबै सामान बेच्दै रक्सी खाने जुवा खेल्ने गरी सकेकीले सासूलाई तिमीले मारिदेउ रु. २००। दिउँला भनी भनेकी अवस्थामा म त्यही थिएँ । ०३७।२।७ गते म र मुक्तिराम भई चुत्रा भञ्ज्याङ बस्ने सार्कीको बारी जोती साँझ ६ बजे गोरु फुकाई रु. ८। लिई चुत्रा भञ्ज्याङ पुग्यो । मुक्तिरामले चिनी किन्न भनी गई मिश्री लिई आए । मृतक गौरा चुत्रा भञ्ज्याङबाट आउँदै गरेको अवस्था मुक्तिरामले आज गौरालाई मानुपर्छ भन्दा यसो गर्नु हुँदैन भनी मैले भन्दा तँ बढ्ता नहो भन्यो र गौरा आएपछि रक्सी खान भनी गौरालाई लिई चुत्रा भञ्ज्याङ गई एक रु. को दारु मुक्तिरामले गौरालाई खुवायो र अलि पर पुगेपछि रक्सी लिई आउँछु भनी रु. २। लिई गई देखाइएको शिशीमा रक्सी लिई आई जंगलतिर नजाउ भन्दा गौरालाई नमारी जान्न यहाँ मानिसले थाहा पाउँछन् भनी मलाई पनि समाती लग्यो र रक्सी खुवाई गौरा बेहोस भएपछि घिसार्दै लगी पर्खालबाट खसाली दियो र देखाइएको सेतो पछ्यौराले घाँटी कसी दियो मुक्तिरामले गौराको मुखमा हानी पछ्यौरा फुकाई दिई आयो गौरालाई मारिसक्दा रातको ८ बजेको थियो र देखाइएको पकेट रूमाल घटनास्थलमा छुटेको मेरै हो र नयाँ चप्पल मुक्तिरामको हो । मुक्तिरामले गौराको जिउ तलास गरी मलाई रु. २२। दियो आफूले कति लियो थाहा भएन । गौरालाई मारी सकेपछि हामी दुबै जाहेरवालीको घरमा गई गौरालाई मारेको कुरा भन्यौ र जाहेरवालीले किन मारेको भनेकी थिइन त्यसपछि हामी दुवै घरतर्फ लाग्यौं भन्ने समेत व्यहोराको प्र.गणेशप्रसाद भट्टराईको मौकाको कागज ।
५. आजभन्दा १०–१२ वर्ष अघि देखि मर्ने सासू गौराले घरको सामान बेच्दै तास खेल्ने, रक्सी खाने गरी सखाप पारेकोले गएको माघ महिनामा अभियुक्त मुक्तिराम भाइ गणेश समेत भई सल्ला खन्दाको अवस्थामा सासूले सामान सखाप पारेका कुरा भनी मेरो सासूलाई मारी दिन्छौ भने कानमा लगाएको माडवारी दिन्छु भन्दा अभियुक्त मुक्तिरामले रक्सी खाई मारिदिन्छु भनेका थिए र ०३७।२।७ गतेका रात सुती निदाएको अवस्थामा अं. ९ बजे अभियुक्तहरू आई सासूलाई मारेको कुरा बताउँदा ख्याल ख्याल भन्दैमा मार्नु हुन्थ्यो त अब जाने भयौ भन्दा केही हुँदैन भनी माडवारी मागी नलिकन गएका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला अभियुक्त कान्ति कुमारीको मौका कागज ।
६. मिति ०३७।२।७ गतेका दिन साँझ मुक्तिराम, गणेशप्रसाद र मर्ने गौरा समेत मेरो पसलमा आई रक्सी मागेका थिए नभएकोले बटुक भन्ने खाजा र रोटी मागी दिएँ र भोलिपल्ट ज्येष्ठ ८ गते गौरा मरेको थाहा पाएँ । आज डोरबाट अभियुक्तहरूको कागज सुनाउन यिनै डोरबाट अभियुक्तहरू मुक्तिराम, गणेशप्रसाद र कान्ति कुमारीले नै गौरालाई मारेको थाहा पाएँ मर्ने गौरालाई यिनै ३ जना अभियुक्तहरूले मिलेमतोबाट मारेको भन्ने विश्वास लाग्छ । अरु कोही कसै माथि कर्तव्यमा शंका लाग्दैन भन्ने समेत व्यहोराको नारायण सिलवालको जेठी छोरी राममाया कार्की समेतको सरजमीन मुचुल्का ।
७. बरामद भएको देखाइएको रक्सीको शिशी मुक्तिरामले ०३७।२।७ गते अं. ७ बजेको समयमा मेरो पसलबाट रु. २ तिरी ३। बाँकी राखी लगेका १ मौवा रक्सीको शिशी हो मुक्तिराम समेतले कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने समेत छुरलुङ भन्ने इश्वरीप्रसादको कागज ।
८. मिति ०३७।२।७ गतेका दिन म घर जान लाग्दा चुत्रा भञ्ज्याङ नगिचै मुक्तिराम, गणेश र गौरालाई कैलास नगरतिर आउन लागेको देखी आफ्नो काममा हतार भएकोले नबोलिकन गएँ । भोलिपल्ट बिहान गौरा मरेको थाहापाई गई हिजो साँझ चंखे र गौरालाई समेत भेटेको कुरा भने कान्ति कुमारीको षडयन्त्रबाट मुक्तिराम र गणेश समेतले मारेको हुन सक्दछ भन्ने समेत व्यहोराको खगराज बस्यालको कागज ।
९. ०३७।२।७ गतेका राति गौरालाई रक्सी खुवाई पछ्यौराले घाँटी कसी मारेमा अभियुक्तहरू सावित भई गौरालाई मारी दिनमा कान्ति कुमारीले आफ्नो सुनका माडवारी दिउँला भनी भनेको घटनास्थलमा फेला परेको रक्सीको बिर्कोसहितको खालीशिशी, पकेट रुमाल, केही नयाँ निलो फित्ता गरेको हवाई चप्पल समेत दशीलाई अभियुक्तहरूले हाम्रो हो भनी स्वीकार गरेबाट अभियुक्तहरूले मिलोमतोबाट गौरालाई ज्यानसम्बन्धीको १ नं. विपरीत कर्तव्य गरी मारेकोले मुक्तिराम र गणेशप्रसादलाई ज्यानसम्बन्धीको १३(३) नं. र जाहेरवाला कान्ति कुमारीलाई ऐको १३(४) बमोजिम सजायँ हुन माग दावी गरिएको भन्ने समेत व्यहोराको प्रतिवेदन ।
१०. गते, बार, महिना थाहा छैन पोहरसाल सल्ला खनी घरतर्फ जाँदा मुक्तिरामलाई सासू बूढीलाई मारी दिएमा माडवारी दिउँला भनी दिदीले भनेको सुनेको र ०३७।२।७ गते मुक्तिराम र म साढे पाँच बजे जोत्न छोडी चुत्रा भञ्ज्याङ आयौं र मुक्तिरामले मिश्री लिई आउँदा बूढी गौरा पनि आएको रहिछन् र मुक्तिरामले बूढीलाई मारौं भन्दा मैले नमानेको र भाग पाउँछस् भनेकोले तीनै जना तलतिर झरियो र मुक्तिराम रक्सी लिन गई ल्याएर रक्सी खाएर मुक्तिरामले बूढीलाई घिसार्दै पर्खालबाट घचेटी दिए । मुक्तिरामले भने अनुसार घाँटी अँठ्याई मारी बूढीको गोजीबाट मलाई रु. २२। दिएको थियो । दिदीसँग गई बूढीलाई मारेको कुरा भनी माडवारी नगद पैसा नलिई आफ्नो–आफ्नो घर गएका हौं भन्ने समेत व्यहोराको प्र.गणेशप्रसाद भट्टराईको अदालतमा भएको ०३७।२।२६।१ को बयान ।
११. २।३ महिना अघि सासू गौरालाई मारी देउ पैसा माडवारी दिउँला भनेकी थिइन । ०३७।२।७ गते म र गणेशप्रसाद हलो जोत्न छोडी चुत्रा भञ्ज्याङ बजारमा आई म मिश्री किन्न गई आउँदा गणेशले बुढी गौरालाई ल्याई रोकी राखेको रहेछन् । भेट भई रक्सी खान पर्यो भनी बूढीले भन्दा नारान भन्नेको छोरी कहाँ रक्सी खायौं र अलि तल पुगेपछि गौराले रक्सी ल्याउँ भनेकोले गणेशले रु. ३। दिएर रक्सी लिई गए । रक्सी खायौं र गणेशले मार्नुपर्छ भनेकोले मैले घचेटी दिएँ । दुवै जनाले गौराको पछ्यौराले घाँटी बाँधी तान्यौ बूढी मरेपछि कान्तिकहाँ गई तिमीले मार्न भनेको थियौं मारेर आयौं भन्यौं र अरु आफ्नो घरतिर लाग्यौं । गौरासँग चुत्रा भञ्ज्याङमा भेट भएको थाहा पाएकोले म उपर किटानी जाहेरी परेको भन्ने समेत व्यहोराको प्र.चंखे भन्ने मुक्तिराम घिमिरेको अदालतमा भएको ०३७।२।२६।१ को बयान ।
१२. ०३५ साल माघ महिनामा श्रीनगरको सल्ला खनी घर जान लाग्दा सासूले भाँडा बेची रक्सी खाने, तास खेल्ने गरी सखाप पारी सकिन सासूलाई मार्न सक्ने भए कानको माडवारी दिने थिएँ भनी मुक्तिरामसँग भनेको थिएँ । ०३७।२।७ गते राति ८ बजेको समयमा मुक्तिराम र गणेश आई मलाई हामीले घचेटी मारेको भनेर उनीहरू घरतिर गए । तानसेन दुध लिई आउने मानिसले चुत्रा भञ्ज्याङमा मरेकी छिन् भनेकाले गई हेर्दा कर्तव्यबाट मरेको थाहा भएकोले भाइलाई जोगाउन मुक्तिराम उपर मात्र किटानी जाहेरी दिएको हुँ । मारे वापत रूपैयाँ गहना केही दिएको छैन भन्ने समेत व्यहोराको प्र.कान्ति कुमारी बस्याल्नीको ०३७।२।२६।१ को अदालतमा भएको बयान ।
१३. अभियुक्तहरूले ज्यानसम्बन्धीको १ नं. को कसूर गरी गौरा बस्याल्नीको कर्तव्यबाट मृत्यु भएको प्रमाणित हुन आएकोले अभियुक्त मुक्तिराम र गणेशप्रसादलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम र अभियुक्त कान्ति कुमारीलाई ज्यानसम्बन्धीको १३(४) बमोजिम सजायँ हुने र २।३ महिना अघि गाउँको महिलाले बचन दिएको आफू मार्नमा सक्रिय नभएको त्यस्तो बचन दिएको मार्ने मनसायको दृष्टिकोणले अति नै गम्भीर गहन भन्न मिल्दैन । गाणेशप्रसादको मार्ने मनसाय नभई परिपञ्चले मतियार हुन गएको गौरा र मुक्तिरामले रक्सीखाएको अवस्थामा मुक्तिराम मार्न अग्रसर भएको कारण वारदात घट्न गएको प्रमाणहरूबाट देखिँदा निज कान्ति कुमारी र गणेशप्रसादलाई कैद वर्ष १० मात्र गर्नुपर्ने चित्तमा लागेकोले अ.बं. १८८ नं. बमोजिम राय लगाई साधक गरेको छु भन्ने समेत शुरू पाल्पा जि.अ.को फैसला ।
१४. उक्त फैसलामा चित्त बुझेन । मेरो साविती कागजलाई समर्थन गर्ने अन्य कुनै स्वतन्त्र प्रमाणको अभावमा शुरू फैसला झुठ्ठा तर्कमा आधारित भएको । अधिकांश सरजमीनका मानिसले कर्तव्य गरी मारेको कुरा विश्वास लाग्यो भन्ने सम्म सरजमीन लेखाई दिए तापनि किटानी भनाई कसैको छैन र त्यसबाट मलाई प्रतिकूल असर पर्न आउने अवस्था नहुँदा शुरू फैसला गैरकानुनी र त्रुटिपूर्ण भएकोले शुरू फैसला बदर गरी थुनाबाट रिहाई पाउँ भन्ने समेत व्यहोराको प्र.मुक्तिराम घिमिरेको पुनरावेदन जिकिर ।
१५. मैले ज्यान मारौं भन्ने नियत पनि गरेको होइन सजायँभागी बनाउन निषिद्ध क्रिया अपराधी मनसाय साथ गरेको प्रमाणित हुनु पर्दछ । उक्त अभियुक्तको पोल स्वतन्त्र ठोस प्रमाण मान्न नसकिने । मुक्तिरामले डर देखाई अग्रसर तुल्याएबाट रूमालको टुप्पा समातेको सासू गौरालाई मार्नमा मेरो मानसिक तत्व विद्यमान थियो भन्न मिल्दैन । गौराको ज्यान मार्नमा बचन दिएर पूर्व निश्चित योजनाबाट ज्यान मराएको भन्न मिल्दैन । ज्यान मार्न र बचन दिएको कुरामा सबूद प्रमाणको यथेष्ट अभाव हुँदा शुरूबाट हामीलाई ज्यानसम्बन्धीको १३(३) र १३(४) को सजायँको त्रुटिपूर्ण फैसला बदर गरी कसूरबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको क्रमशः गणेशप्रसाद र कान्ति कुमारीको संयुक्त पुनरावेदन जिकिर ।
१६. प्र.कान्ति कुमारी बस्यालकोसम्बन्धमा ज्यानसम्बन्धीको दफा १३ को देहाय ४ को अवस्था विद्यमान नभएकोले शुरू अदालतको फैसला फरक पर्ने भएबाट अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली बमोजिम प.क्षे. अ.को कार्यालयलाई पेशीको सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने समेत क्षे.अ.को आदेश ।
१७. मुक्तिराम र गणेशप्रसादका हकमा बिचार गर्दा निजहरूले गौरालाई कर्तव्य गरी मारेको कुरा प्रहरी र अदालतमा सावित रहेको देखिन्छ । अपराध गरी सकेपछि कान्ति कुमारीलाई खबर गर्न गएको र माडवारी माग गरेको भन्ने देखिन्छ । सह अभियुक्त कान्ति कुमारीको बयानबाट पुष्ट्याई भएको छ । यस स्थितिमा मुक्तिराम घिमिरे र गणेशप्रसाद भट्टराई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गर्ने गरेको पाल्पा जिल्ला अदालतको इन्साफ मनासिव छ । अब कान्ति कुमारीलाई सजायँ दिने हकमा बिचार गर्दा सासू बुहारी बीच वैमनष्य रहेको र आत्म चित्कार कोपमा सासूलाई मारी दिन बचन दिएको अवस्था देखिँदा ऐन बमोजिम सजायँ दिँदा चर्को देखिने चित्तमा लागेको हुँदा १० वर्ष कैद गर्ने अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरी साधक जाहेर गरेका छौं भन्ने समेत पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला ।
१८. उक्तफैसलामा चित्तबुझेन उल्टाई सफाईपाउँ भन्नेसमेत व्यहोराको मुक्तिराम घिमिरेसमेतको पुनरावेदनपत्र ।
१९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा उपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्यालको बहस जिकिर समेत सुनी निर्णयतर्फ बिचार गर्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनुपर्ने हुन आयो ।
२०. यसमा प्र.मुक्तिराम र गणेशप्रसाद दावीको अभियोगमा प्रहरी र अदालतमा सावित रहेको देखिन्छ । मृतक गौरा बस्यालनीको कर्तव्यबाट मृत्यु भएको भन्ने कुरामा विवाद छैन । प्र.कान्ति कुमारीले गौरालाई मारी दिए पैसा माडवारी दिने कबूल गरेको अपराध पश्चात कान्ति कुमारीलाई खबर गर्न गएको र माडवारी माग गरेको भन्ने प्र.हरूको बयानमा उल्लेख भएको र उक्त कुरा प्र.कान्ति कुमारीको बयानबाट पुष्टि भएको समेत देखिँदा प्र.मुक्तिराम घिमिरे र गणेशप्रसाद भट्टराईलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गर्ने गरेको पाल्पा जिल्ला अदालतको इन्साफ मनासिव ठहर्याएको पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ मनासिव छ । अब कान्ति कुमारीको हकमा बिचार गर्दा गौरालाई मारी दिए पैसा माडवारी दिने थिएँ भनी निजले भनेको देखिन्छ । उक्त साविती प्र.मुक्तिराम समेतको बयानबाट समर्थित भएको र सासू गौरा बीच पारिवारिक मनमुटाव रहेको समेत देखिने हुँदा निज कान्ति कुमारी बस्यालनीलाई ज्यानसम्बन्धीको १३(४) अन्तर्गतको सजायँ गर्ने गरेको क्षे.अ.को इन्साफ मनासिव छ । पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२१. प्रस्तुत मुद्दामा संलग्न प्र.कान्ति कुमारीको बयान हेर्दा ०३५ साल माघ महिनामा श्रीनगरको सल्ला खनी घर जान लाग्दा सासूले भाँडा बेची रक्सी खाने तास खेल्ने गरी सखाप पारी सकिन् सासूलाई मार्न सक्ने भए कानको माडवारी दिने थिएँ भनी मुक्तिरामसँग भनेकी थिएँ । ०३७।२।७ गते राति ८ बजेको समयमा मुक्तिराम र गणेश आई मलाई बोलाई हामीले घुचेटी मारेम् भनेर उनीहरू घरतिर गए । मारे वापत रूपैयाँ गहना केही दिएको छैन भन्ने उल्लेख भएको देखिने र सासू बुहारी बीच मनमुटाव भई व्यवहारिक कारणले मारिदेउ सम्म भनेको घटनास्थलमा उपस्थित नरहेको अवस्था देखिँदा प्र.कान्ति कुमारीलाई १३(४) बमोजिम सजायँ गर्दा चर्को हुने हुँदा अ.बं. १८८ नं. बमोजिम निज प्र.कान्ति कुमारीलाई १० वर्ष कैदको सजायँ हुने ठहर्छ । प्र.मुक्तिराम घिमिरे समेतको पुनरावेदन परेको देखिँदा साधकको लगत कट्टा गरिदिनु र तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक (प्रतिवादी) मुक्तिराम घिमिरे समेतको माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षे.अ.को इन्साफ मनासिव ठहरेकोले पुनरावेदन गरे वापत थप सजायँ गर्नु पर्दछ कि भन्नलाई सर्वस्वसहित जन्मकैदको सजायँ हुने भएकोले केही गरिरहन परेन.............१
पुनरावेदक प्रतिवादी कान्ति कुमारी बस्यालनीको माथि इन्साफ खण्डमा लेखिए बमोजिम अ.बं. १८८ नं. ले १० वर्ष कैदको सजायँ हुने ठहरी निर्णय भएकोले शुरू जि.अ.को मिति २०३९।३।३० को फैसलाले जन्मकैदको सजायँ गर्ने गरिदिएको लगत कट्टा गरिदिनु र प्र.कान्ति कुमारी बस्यालनी ०३७।२।१३ गते देखि प्रहरी हिरासतमा र ०३७।२।२६ देखि जि.अ.का आदेशानुसार थुनामा रहेको देखिँदा प्रहरी हिरासतमा रहेकै मितिदेखि कैद कट्टी मिन्हा दिने गरी कैद वर्ष १० को लगत कसी बाँकी कैद असूल गर्नु भनी शुरू जि.अ.मा लगत दिनु का.जि.अ.त.मा लगत दिनु....................................................२
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०४२ साल आषाढ ७ गते शुभम् ।