शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४१५ - अंश दपोट

भाग: २७ साल: २०४२ महिना: असोज अंक:

निर्णय नं. २४१५    ने.का.प. २०४२      अङ्क ६

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४१ सालको दे.पु.नं. ७६४

सम्वत् २०४१ सालको विविध नम्बर ९५

मुद्दा : अंश दपोट ।

 

पुनरावेदक/प्रतिवादी:बारा जिल्ला फत्तेपूर गा.पं.वडा नं. २ बस्ने देवदत्त पन्त ।

विरूद्ध

निवेदक/वादी: काभ्रेपलाञ्चोक जिल्ला पञ्च कुमारी गा.पं.वडा नं. ३ बस्ने रोहिणी प्रसाद पन्त ।

वागमती अञ्चल काभ्रेपलाञ्चोक जिल्ला हाल विर्ता देउराली गाँउ पंचायत वडा नं.६ बाटो गैर बस्ने रोहिणी प्रसाद उपाध्याय ।

विरूद्ध

विपक्षी/प्रतिवादी: काभ्रेपाञ्चोक जिल्ला पञ्चकुमारी गाउँ पञ्चायतको हाल ना.अं.बारा जिल्ला फत्तेपूर गा.पं.वार्ड नं. २ बस्ने देवदत्त उपाध्याय समेत ।

फैसला भएको मिति:२०४२।६।१४।२ मा

     अंशबण्डाको २१ नं. को आधारमा वादी दावी लाग्न नसक्नेमा त्यस्तो दावी भएको फिरादपत्रबाट तहकिकात इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने ।

(प्रकरण नं.१३)

पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री चूडामणि राजसिंह मल्ल

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा

उल्लेखित मुद्दाःX

फैसला

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार   छन् । प्रतिवादीहरू मध्ये नागेश्वर  मेरा पिता र जसोदा मेरी आमा तथा जमुना भाउजू र देवदत्त दाजु हुनुहुन्छ । विपक्षी प्रतिवादी र म समेतका बीचमा २०२०।८।५ मा घरसारमा बण्डापत्र खडा भई ऐ. चैत्र २७ गते का.प.मालमा रजिष्ट्रेशनमा बण्डापत्र भएको थियो । बण्डा हुनुभन्दा अगाडि पर्सा माल मार्फत क्रमश २०१९।६।२९ मा र २०२०।६।२२ मा २ कित्ता जग्गा देवदत्तका नामबाट लिएका रहेछन । हाल नापीमा बारा जिल्ला पिपरा सिमरा गा.पं.वडा नं. २ को कि.नं. १०१ मा जग्गा विगहा १० विपक्षी देवदत्तका नाममा दर्ता भएको रहेछ । सगोलको अंशियारका नाममा खरिद गरेको जग्गा सबै अंशियारहरूमा बण्डा गरी लिनु दिनु गर्नु पर्नेमा नदिई दबाएकोले प्रचलित मोल रु. ६०८०। पर्ने कि.नं. १०१ को उक्त ज.वि. १० जग्गा अंशबण्डाको २१ नं. बमोजिम मैले मात्र खान पाउने गरी मेरो हक कायम गरिपाउँ भन्ने फिरादपत्र ।

२.    हामीहरूका वृद्ध उमेर भएकोले सबै अंशियार जम्मा गराई २०२० सालमा ५ बण्डा लगाई गरिदिए पछि आफू आफूले भोगचलन गरिआएका छन् । अंशबण्डा गर्दा वादी र प्रतिवादी मध्येका देवदत्त समेतले हामीहरूका नाउँमा यो यति जग्गा छन् भनेका र छोरा  हरूले के कति जग्गा छोडेका छन् । हामीहरूले खोजी पनि नगरी हामीहरूको जिम्माको सम्पत्ति बण्डा गरिदिएको दावीको जग्गा हामीहरूले खरिद गरेको र दर्ता गराएको छ, भन्ने वादीले लेखेको देखिएन । हामीले भोगचलन समेत नगरेको सो जग्गा अंश नदिई दपोट गर्‍यो भन्ने फिराद दावी लेखाईबाट झुठ्ठा देखिएको छ, भन्ने समेतको नागेश्वर उपाध्याय र जसोदादेवी उपाध्याय समेत २ जवानको एउटै प्रतिउत्तरपत्र ।

३.    वादी र प्रतिवादी मध्येका देवदत्त समेतले मलाई अंश मार्ने प्रयास गरेको हाल मात्र थाहा हुन आयो । अंशबण्डा हुन भन्दा अगाडि वादीले पनि प्रशस्त जग्गा लिई भोगचलन गरिआएका रहेछन् मलाई ससुरा नागेश्वरले अंश दिनु भएको र वादीलाई मैले अंश दिन पर्ने र दिएको समेत छैन । त्यस्तो जग्गा मैले दपोट गरेको छैन झुठ्ठा फिराद गरेका हुन् भन्ने समेतको जमुनादेवीको प्रतिउत्तरपत्र ।

४.    २००५ सालदेखि नै म पर्सा जिल्लामा गई लेखापढी र डि.रामप्रसादको खेतीमा काम र त्रिभूवन राजपथ रक्सौलको बाटो खन्ने बनाउने ठेक्का लिई आफ्नो परिश्रमबाट दावीका जग्गाहरू खरिद गरी लिई म तराईमा नै रहेको अवस्थामा २०२० सालमा बाबाले खबर गर्नु भई आई २०२०।१२।२७ गते बाबाले वादीलाई र मलाई समेत अंश दिनु भएको र मैले आफ्नो बण्डाको भाग बुझी लिएको छु । वादीलाई मैले अंश नदिएको हुँदा मैले कमाएको भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेतको देवदत्तको प्रतिउत्तरपत्र ।

      ५.    दर्तावाला मध्ये प्रतिवादी देवदत्तले दपोट गरेको ठहर्छ प्रतिवादी मध्ये नागेश्वर समेतले आफ्नो नाममा भएको जग्गा बण्डा गरेको हुँदा शुरू प्रतिवादी उपर वादी दावी पुग्नै नसक्ने हुँदा अंशबण्डाको २७ नं. ले दबाउने देवदत्त बाहेक अरु अंशियार समेतको भाग लाग्ने हुँदा ४ भागको १ भाग वादीको हक कायम हुने समेत ठहर्‍याएको का.प.जि.अ.को ०३७।३।३२ गतेको फैसला ।

६.    उक्त फैसलामा वादी प्रतिवादीको बा.अं.अ.मा परेको भिन्दा भिन्दै पुनरावेदनपत्र ।

      ७.    वादी दावीको सम्पत्ति बण्डा हुन नसक्ने हुँदा पुनरावेदक देवदत्तले दपोट गरेको ठहराइएको र ४ भागको १ भाग वादीको कायम गरेको शुरूको इन्साफ मिलेको देखिएन । सो शुरूले दपोट ठहराएको र ४ भागको एकभाग वादीको ठहराएको शुरूको इन्साफ उल्टी हुने ठहर्छ भन्ने बा.अं.अ.को फैसला ।

८.    उक्त फैसला उपर पुनरावेदन गर्न मध्यमाञ्चल क्षेत्रिय अ..बाट अनुमति दिइएको रहेछ ।

      ९.    वादी प्रतिवादीको बीचमा २०३०।८।५ मा बण्डापत्र भई २०२०।१२।२७ मा पास भएको कुरामा विवाद देखिँदैन । प्रतिवादी मध्येको देवदत्तले विवादित सम्पत्ति २०१९।९।२९ र २०२०।६।२३ मा खरिद गरेको भन्ने कुरामा पनि विवाद देखिएन । सो लिखतको जग्गा बण्डापत्रको लिखतमा परेको देखिँदैन । बण्डापत्र हुँदा सगोलको अंशियार देवदत्तका नाममा खरिद भएको उक्त जग्गा बण्डा गर्नु नपर्ने स्थितिको हो भनी खुलाइएको देखिँदैन । कुनै सम्पत्ति निजी ठहरी आफूखुशी गर्न पाउने अंशबण्डाको १८ नं. को व्यवस्था मुलुकी ऐन सातौं संशोधन, २०३४ मिति २०३४।९।२७ मा लागू भएपछि देखि प्रचलनमा ल्याएको देखिन्छ । किनभने सो ऐनमा अतीतकालदेखि नै यो व्यवस्था लागू हुने भन्ने व्यवस्था भएको देखिँदैन । वादी प्रतिवादीको बीचको बण्डापत्र हेर्दा अंशबण्डा गर्नुपर्ने कुनै अचल घरजग्गा बाँकी छैन दबाई राखेको कुनै अंशियारले पत्ता लगाएमा नदबाउने अंशियारले एकलौटी बण्डा गरी खानु भनी स्पष्ट शर्त राखेको देखिन्छ । दबाए छिपाएको छैन भनी कागज गरी सकेपछि दबाए छिपाएको ठहर्‍यो भने त्यो धनमाल दबाउनेले पाउँदैन नदबाउनेले अरु अंशियारले ऐनबमोजिम अंश खान पाउँछन् भन्ने अंश बण्डाको २७ नं. ले व्यवस्था गरी राखेको देखिई बण्डापत्रबाट पाँच  अंशियार भन्ने देखिन्छ । प्रतिवादी देवदत्तले अंशको दपोट गरेको र सो मा चार भागको एक भागमा वादीको हक कायम हुने समेत ठहर्छ । बा.अं.अ.को इन्साफ केही उल्टी हुन्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०.    उक्तफैसलामा पुनरावेदनको अनुमतिपाउँ भन्ने प्र.देवदत्तको निवेदनमा मिति २०२०।८।५ मा घरसारमा भएको बण्डापत्रको लिखत हेर्दा वादी प्रतिवादीका बाबु नागेश्वर आगे भई छोराहरूको बीचमा बण्डापत्र गरिदिएको देखिन्छ । प्रस्तुत मुद्दाको निवेदक देवदत्त पन्त आगे भई बण्डापत्र गरिदिएको नहुँदा निज उपर अंश दपोटमा नालिश लाग्न सक्ने होइन । अंश मुद्दा परी तायदाती पेश गर्दा अंशबण्डाको २० नं. बमोजिम बण्डापत्र गर्नुपर्ने सम्पत्ति दबाएको छिपाएको छैन भनी तायदाती पेश गर्नेले धर्म बकी दिएको अवस्थामा मात्र अंशबण्डाको २७ नं. बमोजिम निज उपर अंश दपोट मुद्दा लाग्न सक्ने स्थिति हुन्छ । तर प्रस्तुत विवादमा घरसारमा बण्डापत्र गरी रजिष्ट्रेशन गराएकोले उक्त अंशबण्डाको ३० नं. बमोजिम धर्म बकाउने क्रिया नभएको हुँदा अंशबण्डाको २७ नं. आकर्षित हुन नसक्ने भई निवेदक देवदत्त पन्त उपर अंश दपोट मुद्दा लाग्न नै नसक्नेमा माथि दावीको जग्गामा ४ भागको एक भाग वादीको हक कायम हुने ठहराएको मध्यमाञ्चल क्षेत्रिय अ.. को निर्णयमा अंशबण्डाको महलको ३० नं. र २७ नं. को त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ, भन्ने ०४१।२।१० को डिभिजन बेञ्चको आदेश ।

११.    उक्त इन्साफ चित्त बुझेन इन्साफ जाँची पाउँ भनी वादी रोहिणीप्रसादले श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम गर्नु भनी बक्स भई आएको हु.प्र.बमोजिम यस अदालतमा निवेदन दर्ता हुन आएको रहेछ ।

१२.   पुनरावेदक प्र.देवदत्त पन्तकोतर्फका विद्वान अधिवक्ता श्री चूडामणि राजसिंह मल्लले क्षे.अ.ले गरेको इन्साफ त्रुटिपूर्ण हुँदा उल्टी हुनुपर्छ भन्ने र विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री लोकभक्त राणाले क्षे.अ.ले गरेको इन्साफमा कुनै त्रुटि नहुँदा सोही इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      १३.   यसमा फिरादपत्र हेर्दा अंशबण्डापत्र हुँदा सबै अंशियारलाई भाग बण्डा लगाउनु पर्नेमा मलाई समेत बण्डा दिन पर्ने सम्पत्ति नदेखाई दबाए छिपाएको जग्गा अंशबण्डाको २१ नं. बमोजिम मैले मात्र खान पाउने गरी मेरो हक कायम गरिपाउँ भन्ने वादीको दावी भएको देखिन्छ। उक्त अंशबण्डाको २१ नं. हेर्दा ऐनले फाँट दिनुपर्नेले फाँट नदिएको अवस्थालाई लिई व्यवस्था गरेको पाइन्छ । ऐनले फाँट दिनु पर्ने भन्नाले अदालतमा मुद्दा परी कारवाही हुँदा अदालतबाट फाँटवारी दिनु भन्ने आदेश भएको अवस्थालाई जनाउँछ । घरसारमा बण्डपत्र खडा गरी रजिष्ट्रेशन पास भएको कागजमा उल्लेख भएको कुरालाई लिई अंशबण्डाको २१ नं. आकृष्ट हुनसक्दैन । यससन्दर्भमा अंशबण्डाको २० नं. पनि प्रासंगिक देखिन्छ । कारण अंशको नालिश परी आएकोमा फाँट लिनु पर्ने व्यवस्था उक्त २० नं. मा छ । उक्त २० नं. ले फाँट लिँदा दबाए छपाएको छैन भन्ने धर्म भकाई लिन पर्ने हुन्छ । दबाए छपाएको छैन भनी कागज गरी सकेपछि दबाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दबाउनेले पाउँदैन नदबाउने अंशियारले ऐन बमोजिम अंश गरी खान पाउँछन् भन्ने अंशबण्डाको २७ नं. मा व्यवस्था गरेको छ । अर्थात् अंश दिनेले दबाए छपाएको कारणले एकलौटी खान पाउँ भन्ने वादीदावी अंशबण्डाको महल बमोजिम अंश मुद्दा परी कारवाही हुँदा अदालतका आदेश बमोजिम फाँट दिनुपर्नेले फाँट दिँदा दबाएछपाएको ठहरेको अवस्थामा मात्र लाग्न सक्ने हो । घरसारमा सबै अंशियार मिली बण्डापत्रको कागज खडा गरेको आधारमा लाग्ने होइन । अतः अंशबण्डाको २१ नं. को आधारमा वादी दावी लाग्न नसक्नेमा त्यस्तो  दावी भएको फिरादबाट तहकिकात इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने ठहर्छ । शुरू का.प.जि.अ.बाट प्रतिवादी देवदत्तले अंश दपोट गरेको र सो मा ४ भागको एक भागमा वादीको हक कायम हुने ठहर्‍याएको इन्साफलाई मध्यमाञ्चल क्षेत्रिय अ..बाट सदर गरेको इन्साफ बदर हुने ठहर्छ । तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।

तपसील

पुनरावेदक प्रतिवादी देवदत्त पन्तके माथि इन्साफ खण्डमा लेखिए बमोजिमक्षे.अ.हरूको फैसला उल्टी भएकोले शुरू जि.अ.तले कोर्टफी रु. २७३।२० मध्ये वादीको हक कायम हुने ठहराएको चार भागको एक भाग प्रतिवादीबाट वादीलाई भराउने गरेको सो भराउनु पर्दैन । सोको लगत काटी दिनु भनी सम्बन्धित जि.अ.तमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......१    ऐ.ऐ..के माथि इन्साफखण्डमा लेखिएबमोजिम मध्यमाञ्चल क्षेत्रिय अ..बाट शुरु जि.अ.को लगत कायम राख्न भनी लेखेको सोकायम राख्नपर्दैन भनी का.जि.अ.त.मा लगत दिनु...२

ऐ. ऐ. के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादीले बा.अं.अ.मा शुरू उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ४०।९८ र बा.अं.अ.उपर मध्यमाञ्चल क्षेत्रिय अ..मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ८१।९६ मध्ये ४ खण्डको १ खण्ड कोर्टफी रु. २०।४९ प्रतिवादीबाट वादीलाई भराउने गरेको सो भराउनु परेन सम्बन्धित जि.अ.तमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......३

ऐ. ऐ. कै माथि इन्साफ खण्डमा लेखिए बमोजिम यस अदालतमा पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदन दर्ता गर्दा राखेको कोर्टफी रु. ४०।९८ र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले प्रतिवादीबाट वादीलाई भराई दिने गरेको कोर्टपी रु. २०।४९ प्रतिवादीले का.जि.अ. मा दाखिल गरेको देखिँदा सो कोर्टफीहरू वादीबाट प्रतिवादीहरूलाई भरी भराई दिन भनी का.जि.अ.त.मा लगत दिनु...४

इन्साफ उल्टीमा मध्यमाञ्चल क्षेत्रियक्षे.अ.का मा.न्या.श्री अरविन्दनाथ आचार्य मा.न्या.श्री उदयराज उपाध्यायको उल्टी रेकर्ड राख्न स.अ.प्रशासन शाखामा जनाउ दिनु..........५

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल आश्विन १४ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु