शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४३७ - क.ख.विर्ता

भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक:

निर्णय नं. २४३७    ने.का.प. २०४२      अङ्क ७

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको दे.पु.नं. ५३२

मुद्दा : क.ख.विर्ता।

 

पुनरावेदक/वादी:सिं.पा.जि.ज्यामिरे गा.पं.वार्ड नं. ५ बस्ने इन्द्र बहादुर खड्का ।

ऐ.सिखरपुर गा.पं. वार्ड नं.१ बस्ने धन बहादुर कार्की ।

ऐ.ज्यामिरे गा.पं.वार्ड नं.१ बस्ने दिल बहादुर घर्ती ।

ऐ.ऐ बस्ने कृष्ण बहदुर खड्का ।

ऐ.ऐ बस्ने नर बहादुर खड्का ।

ऐ.ऐ बस्ने नेत्र बहदुर खड्का ।

ऐ.ऐ बस्ने शुर बहादुर खड्का ।

ऐ.ऐ बस्ने सानो रण बहादुर क्षेत्री ।

ऐ.ऐ बस्ने नर बहादुर कार्की ।

ऐ.ऐ बस्ने निर्मल सार्की ।

ऐ.ऐ बस्ने शुर बहादुर अधिकारी ।

ऐ.ऐ बस्ने शिव प्रसाद ओली ।

ऐ.ऐ बस्ने यमनाथ पाध्या ।

ऐ.ऐ बस्ने राम बहादुर खड्का ।

ऐ. वडा नं.३ बस्ने राम बहादुर विष्ट ।

ऐ.ऐ बस्ने शुर बहादुर खड्का ।

ऐ.ऐ बस्ने फौदे घर्ती ।

ऐ.ऐ बस्ने भिम बहादुर खड्का ।

ऐ.ऐ बस्ने जीत बहादुर थापा ।

ऐ.ऐ बस्ने राम बहादुर खड्का ।

ऐ.ऐ बस्ने  भिम बहादुर खड्का ।

ऐ.ऐ बस्ने कृष्ण बहादुर कार्की ।

ऐ.ऐ बस्ने मान बहादुर मु.स गर्ने विष्णु बहादुर खड्का ।

ऐ.ऐ बस्ने शिखरपुर बस्ने गणेश बहादुर कटुवाल ।

विरुद्ध

विपक्षी/प्रतिवादी:सि.पा.जि.मिलाची गा.पं.वार्ड नं. १ बस्ने हुतराज पाण्डे ।

ऐ.ऐ बस्ने अर्धचन्द्र पाण्डे ।

ऐ.ऐ बस्ने ठाकुर प्रसाद पाण्डे ।

ऐ.ऐ बस्ने सत्य चन्द्र पाण्डे ।

ऐ.ऐ बस्ने बस्ने धर्मनन्द पाण्डे ।

फैसला भएको मिति:२०४२।६।१७।५ मा

      मालपोतको अंक भन्दा बढी कुत तिरो तिर्ने गरेको जग्गालाई श्रेणीको विर्ता जग्गाको परिभाषा भित्र परेको मान्न मिल्ने देखिएन ।

(प्रकरण नं. १४)

पुनरावेदक, वादीतर्फबाट:विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंहः मध्यामाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    भैरव प्रसादको विर्ता खेत पाखा जग्गाहरू मालपोत सरह भनी भोगी आएको र सो विर्ता कृष्णचन्द्र उपाध्यायले राजीनामा गरिदिएछन्, निजले पाएदेखि हामीले विर्तावालालाई मालपोत सरह नगदी बुझाई आएको सो विर्ता जग्गा (क) श्रेणीको भई मोहीकै नाउँमा दर्ता हुने हुँदा रैकरमा परिणत गराई विवरण दिई विर्तावाललाई बुझाई आएको मेजरबहादुरको पूर्व बाटो समेत ४ को काफले खेत मोही ठूला खड्गबहादुरले ०१७ सालमा मालमा विवरण दिई निज सो राजीनामा लिई मेरो हक भएको माटो मुरी ।१।६।५।३ को रु. ४।५८ बुझाई आएको पूर्व रामबहादुरको खेत समेत ऐ.ऐ.माटो १। को रु. ।७४ को खेत १ म इन्द्रबहादुर खड्काको पूर्व बिक्री धानको बारी समेत ४ को म समेतले ०१७ सालमा विवरण दिएको बाटो ।१ को रु. १०।२८ लागेको दमैकम्दो खेत १ सानु खड्गबहादुरको पूर्व चक्रबहादुरको बारी समेत ४ किल्लाको ०१७ सालमा विवरण दिएको माटो ।१ को रु. १०।१८ लागेको ऐ.खेत म सानु खड्गबहादुरको पूर्व चक्रबहादुरको  बारी समेत ४ माटो मुरी ।५ को रु. ।२६ लागेको काफले खेत र जितबहादुरको पूर्वमा भरीको खेत समेत ४ किल्लाको विवरण दाखेल गरेको माटो मुरी ।७ को रु. ११।१ लागेको ऐ.खेत ।१ मनिसरबहादुरको पूर्व सुरबहादुरको खेत समेत ४ को विवरण दिएको माटो ।९।६।६ को रु. १६।६९ लागेको रु. ।१ म तिलबहादुरको पूर्व बाटो समेत ४ को विवरण दिएको माटो ।५ को ८।९२ लागेको ऐ.खेत, म काले घर्तीको पूर्व कुलो समेत ४ को विवरण दिएको माटो ।५ को रु. ८४ लागेको बगर खेत, म रणबहादुरको सर्वे तेर्सो बाटो समेत ४ को माटो ।१ को रु. १।३६ को धले खेत पूर्व बारी समेतको ४ को माटो ।।१० को रु. ६।२३ को पुछार खेत, १ समेत ३ कित्ता म धनबहादुर समेतको पूर्व नरबहादुरको खेत ४ को माटो ।१० को रु. १६।९६ को कित्ता १, पूर्व म नरबहादुर समेतको पूर्व नरबहादुरको खेत समेत ४ को माटो ।१० को रु. १६।९६ को कित्ता १ पूर्व म नरबहादुर समेतको ४ को माटो ।१ को रु. ८।८५ को पूर्व तिलकबहादुरको समेतको माटो ।।९ को खेत १।५८ समेतको विवरण दिएको र पूर्व नरबहादुरको बारी समेत ४ को गैरीबारी १ को रु. २।८ को म कृष्णबहादुरको पूर्व क्षेत्रबहादुर समेत ४ को किल्लाको माटो ।५ को रु. ६।८२ बदहरे खेत १ म जम्बहादुरको पूर्व रणबहादुरको खेत समेत ४ को माटो ।१० को रु. २०।३० मुडी खेत १ म तेजबहादुर थापाको पूर्व भिमबहादुर समेत ४ को माटो ।७ को १३।३५ को दरले खेत १ मा गणेशबहादुरको पूर्व पदमबहादुरको बारी समेत ४ को माटो ।१० को रु. २०।७० को पूर्व तर्सो बाटो समेत ४ को निज ।।३ को रु. १।८ को घरबारी १ समेत २ कित्ता, म मानबहादुरको पूर्व कुलो समेत ४ को माटो ।१० को रु. १८।६२ बिस पुरै खेत १ पूर्व कुलो समेत ४ को माटो ।५ को रु. ८।९३ को तल्लो काफले खेत पूर्व बाभरीको वारीको बारी समेत ४ को विज ।।४ को रु. ।५ लागेको तिलखोरिया घरबारी १ समेत कित्ता २ म नेत्रबहादुरको पूर्व कुलो समेत ४ को माटो ।२० को खेत १, म नरबहादुरको पुर्व कमाएको विर्ता समेत ४ को माटो ।१० को रु. ।७० को खेत १, म सुरबहादुरको पुर्व मैले कमाएको विर्ता खेत समेत ४ को माटो ।२।१० को रु. १३।१ को विसपुरे खेत, म छत्रबहादुरको पूर्व तेर्सो कुलो समेत ४ को माटो ।५ को रु. ५।८८ को बडहा खेत १ हिलबहादुर समेत २ को पूर्व चन्द्रबहादुरको खेत समेत ४ को माटो ।१० को रु. २०।३० को सुगुरे खेत म नरबहादुरको पूर्व गणेशबहादुरको बारी समेत ४ को विज ।।४ पूर्व सेरबहादुरको खेत समेत ४ को माटो ।१।६।५।३ को रु. ४।५८ को काफले खेत १ म मानबहादुरको पूर्व कालको खेत समेत ४ को माटो ।२४ मध्ये ।१८ को रु. ८।१० को काफले खेत १ म यमनाथको पूर्व दलबहादुर समेत ४ को माटो ।२ को रु. ।९० को ऐ.खेत १ माटो १ प्रलादको पूर्व सानुहर्षबहादुरको साध समेत ४ को माटो मुरी ।२ को माटो ६।५।६।३ को रु. २।८५ को फलामे खेत १ समेत भोग गरी आएको विपक्ष हुत रामप्रसाद समेतले विर्तामा विवरण दाखेल गरेकोले दुवै तर्फबाट लगत कायम राखी पोत असूल भई रहेको पछी हामीहरूको नाउँमा मालबाट म्याद आएकोमा जोत समेत विर्तावाललाई बुझाई निस्सा रसिद लिई राखेको मोहीले उक्त ४ किल्ला भित्रको जग्गाहरूको भई रहेको कबूलियत अनुसार आधी आयस्ता बुझाएको छैन तिरो बुझाउँदा ०१५ सालसम्मको नगद नै बुझाई आएको र निज विर्तावारहरूले ०१७।२।२१।२ को झुठ्ठा विवरण दिएको भई सि.पा.जि.मालबाट भएको पर्चा अनुसार फिराद गरेका छौं, सो विवरण बदर गरी हाम्रो (क) विर्ता कायम गरिपाउँ भन्ने समेत व्यहोराको गणेशबहादुर समेत जवान २९ को संयुक्त फिरादपत्र ।

३.    वादी दावी बमोजिमको विर्ता हाम्रो बाबु कृष्णचन्द्रले भैरवप्रसादसँग १०,१०१। मा १९८८ मा फार्से गरी लिनु भएको उक्त जग्गा कमाउने मोहिहरूले जिन्सी धान दिने भनी कबूलियत गरी राखेको, सो  कबूलियत गरिदिनेहरू मरे तापनि जग्गा कमोद गर्नेबाट कुत लिने खाने गरी आएको, विर्ता उन्मूलन ऐन अनुसार १७ सालमा सि.पा.मालमा विवरण दर्खास्त दिई मालबाट गाउँ सरजमीन बुझी आठा कायम गरेको पाखातर्फ निज ।६।५ र खेततर्फ माटो ।२।३८ को तिरो तिरी आएको मोहिहरूबाट कुत बुझी धानको दरमा दुवै थरीको मन्जुरी अनुसार कुनै कुनै साल जिन्सी बुझ्ने गरेका छौं त्यसरी उपरोक्त जिकिर अनुसार जिन्सी तिरो कायम कुत लिई खाई आएको (ख) विर्ता जग्गालाई (क) विर्ता भनेको वादी दावा झुठ्ठा हो । विर्ता कायम गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी ।

४.    आयस्ता अंक मालपोत सरह नभई बढी आएकोले विर्तावारले मालपोत भन्दा बढी आयस्ता नगद भई खाने गरेको देखिँदा सो खाई आएबमोजिम खान पाउने विर्तावारको हक हुँदा बुझिएसम्मबाट वादीहरूले दावा लिनु भएको दावाको हकमा (क) श्रेणीको विर्ता भन्ने पर्याप्त प्रमाण देखिन नआएकोले विर्तावार प्रतिवादीहरूले मालपोत सरह प्रतिवादीहरूबाट असूल उपर गरी खाई आएको भई बढी आयस्ता खाई आएको देिखँदा (ख) श्रेणीको विर्ता ठहर्छ भन्ने समेत सि.पा.जि.अ.को फैसला ।

      ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीहरूको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६.    विर्ता उन्मूलन ऐन, २०१६ को दफा (२) को उपदफा (२) मा यस्तो किसिमको मुद्दामामिला तोकिएको अदालतले हेरी निर्णय गर्नेछ भन्ने उल्लेख भएको र तोकिएको अदालतमा मिति २०२४।११।२१ मा प्रकाशित राजपत्रमा जिल्ला अदालतलाई तोकेको र जिल्ला अदालतले गरेको फैसला उपर आयकर अदालतमा पुनरावेदन लाग्नेछ भन्ने उक्त ऐनको दफा (२) को उपदफा (२) मै व्यवस्था भएको पाइन्छ । अर्को कुरा विर्ता उन्मुलन ऐन, २०१६ को दफा ११ को उपदफा (२) को प्रयोजनको निमित्त पनि तोकिएको अदालतमा सोही मितिमा प्रकाशित राजपत्रले जिल्ला अदालतलाई तोकेको र जिल्ला अदालतले गरेको निर्णय उपर आयकर अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएकोमा राजस्व न्यायाधीकरण ऐन, २०३१ को अनुसूची १ को क्रमसंख्या (२) विर्ता उन्मुलन ऐन, २०१६ संशोधन सूची १ को क्रमसंख्या (२) विर्ता उन्मुलन ऐन, २०१६ संशोधन भई क्षेत्रीय अदालतमा पुनरावेदन लाग्नेसम्म व्यवस्था सो ऐनको दफा ११ को उपदफा (२) को सन्दर्भमा गरिएको तर माथि प्रकरण १ मा उल्लेख भएको विर्ता उन्मुलन ऐन, २०१६ को दफा (२) को उपदफा (२) को सम्बन्धमा आयकर अदालत नै यथावत रहेको देखिएको स्थितिमा प्रस्तुत (क) र (ख) विर्ता कुन हो भन्ने विपक्षको पुनरावेदनहरू अञ्चल अदालतमा दायरै गर्न नहुने, दायर भएकोले खारेज हुने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला।

७.    उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन पेश हुँदा मध्यमाञ्चल क्षेत्रिय अ..बाट अनुमति प्राप्त भएको रहेछ ।

८.    पुनरावेदक प्रतिवादी इलाबहादुर मगर समेत हर्षबहादुर तामाङको (क) (ख) विर्ता मुद्दा ०३३।१०।०३३।१०२ सर्वोच्च अदालतको निर्णयमा जि.अ.ले तोकिएको अदालतको हैसियतबाट मुद्दा किनारा गरेको हुँदा अञ्चल अदालतमा पुनरावेदन लाग्न नसक्ने भनी ठहर भएको पाइन्छ । विर्ता उन्मुलन ऐन, २०१६ को दफा ११(२) मा तोकिएको अदालतमा मुद्दा लाग्न र सो अदालतको निर्णय उपर आयकर अदालतमा पुनरावेदन लाग्ने भनी व्यवस्था भएको पाइन्छ । सो अवधिमा आयकर अदालत खारेज भइसकेको छ तथापी अञ्चल अदालतमा पुनरावेदन लाग्न सक्छ भन्न मिलेन । अञ्चल अदालतले अधिकारक्षेत्र बाहिरको भनी पुनरावेदन खारेज गरेको मनासिव छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रिय अदालतको ०३५।६।१३।६ को फैसला  उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा राजस्व न्यायाधीकरण ऐन, २०३१ बमोजिम विर्ता उन्मुलन ऐन, २०१६ अन्तर्गत जग्गा (क) वा (ख) कुन हो भन्ने विषयको मुद्दाको पुनरावेदन क्षेत्रीय अदालतबाट हेरी कारवाही किनारा गर्नु पर्नेमा अञ्चल अदालतले अधिकारक्षेत्र बाहिरको भनी पुनरावेदन खारेज गरेको मनासिव छ भनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३५।६।१३।६ को फैसलामा राजस्व न्यायाधीकरण ऐन, २०३१ को त्रुटि गरी निर्णय गरेकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) को आधारमा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत श्री सर्वोच्च अदालतको मिति २०३८।७।५।४ को आदेश ।

९.    प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतले २०३५।६।१३ गते निर्णय गर्नुभन्दा अगावै पुनरावेदन हेरी निर्णय गर्ने अधिकार प्राप्त गरी सकेकोले खारेज गर्ने गरेको मिलेन । बागमती अञ्चल अदालतमा पुनरावेदन परेको भए तापनि मध्यमाञ्चल क्षेत्रीय अदालतले उक्त पुनरावेदन हेरी निर्णय गर्ने अधिकार प्राप्त गरेको देखिँदा उक्त पुनरावेदनमा कानुन बमोजिम निर्णय गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी शुरु मिसिल सम्बन्धित मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु । मध्यमाञ्चल क्षेत्रीय अदालतले खारेज गर्ने गरेको फैसला बदर गरिदिने ठहर्छ भन्ने समेत व्यहोराको सर्वोच्च अदालतको मिति ०३९।२।१० को फैसला ।

१०.    सो फैसलाको आधारमा प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीयमा दायर हुन गएको रहेछ। शुरु का.प.जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

११.    उक्त फैसला उपर वादी निवेदकहरूको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन यस अदालतमा परी डिभिजन बेञ्ज समक्ष पेश हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा विर्ता उन्मुलन ऐन, २०१६ को दफा २(६) को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।

१२.   नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुर्‍यालले नगद तिरो तिरी कबूलियतको आधारमा घरबार समेत गरी बसेको हुँदा (क) श्रेणीको विर्ता जग्गा कायम हुन पर्दछ भन्ने समेत र विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले विर्ता उन्मुलन ऐनको (क) श्रेणीको विर्ता जग्गाको परिभाषाभित्र प्रस्तुत जग्गा नपर्ने हुनाले (ख) श्रेणी कायम गरेको क्षे.अ.को इन्साफ मनासिव हुन पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

१३.   अब प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रिय अ..बाट भएको फैसला मनासिव वा बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनु परेकोछ ।

१४.   निर्णयतर्फ बिचार गर्दा यसमा पुनरावेदक वादीहरूको फिराद दावी हेर्दा विवादित जग्गाहरू (क) श्रेणीको विर्ता भन्ने उल्लेख गरेको र प्रतिउत्तर जिकिर हेर्दा (क) श्रेणीको विर्ता होइन (ख) श्रेणीको विर्ता जग्गा हो भन्ने उल्लेख भएको पाइन्छ । अब सर्वप्रथम विवादित जग्गा (क) श्रेणीको विर्ता हो अथवा (ख) श्रेणीको भन्ने बारेमा निर्णय दिनु पर्ने हुन आएकोछ । प्रस्तुत विवादमा वादीले दावी लिएको र प्रतिवादीले जिकिर लिएका जग्गाहरू फरक नभई एकै हुन् भन्नेमा विवाद छैन । विर्ता उन्मुलन ऐन, २०१६ (संसोधनसहित) को दफा २(१) मा (ख) वा (क) श्रेणीको विर्ता जग्गा भन्नाले ठेकिएको मालपोतसम्म उठाई खान पाउने गरी पाएको वा जसरी लिए पाएको भए पनि ठेकिएको मालपोत वा मालपोतको अङ्क बमोजिमसम्म उठाई खाने गरी आएको श्री ५ को सरकारमा केही तिर्नु पर्ने वा नपर्ने विर्ता जग्गा र आवाद नभएको पर्ति जग्गा तथा जङ्गल विर्ता समेत सम्झनु पर्दछभन्ने उल्लेख भएको  पाइन्छ । अब विवादित जग्गा उक्त परिभाषा भित्र पर्दछ वा पर्दैनन् भनी बिचार गरेमा यी जग्गाहरू प्रतिवादीका दाताको पालादेखि नै यी वादीहरूले मोहीमा कमाई आएको पाइन्छ । ७६।७७ सालको कबूलियत र पछि प्रतिवादीले खरीद गरी सकेपछि गरिदिएको कबूलियत तथा दोहोरो भर्पाई समेतबाट प्रतिवादीलाई जिन्सी तिर्ने शर्त गरी सो जिन्सीलाई नगदमा परिणत गरी कुत तिरो तिर्ने भन्ने कुरा मिसिल प्रमाणबाट देखिन आएको छ । त्यसरी तिर्ने गरेको कुत तिरो मालपोतको अङ्कसम्म मात्र भएको नभई सो भन्दा बढी देखिन आएको छ । यस्तो स्थितिमा मालपोतको अङ्क भन्दा बढी कुत तिरो तिर्ने गरेको जग्गालाई उक्त (क) श्रेणीको विर्ता जग्गाको परिभाषाभित्र परेको मान्न मिल्ने देखिएन । अतः विवादित जग्गा (ख) श्रेणीको विर्ता ठहर्‍याई गरेको सि.पा.जि.अ.को फैसला मनासिव ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिव ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.श्री हरगोविन्द सिंह प्रधान

 

 

इतिसम्वत् २०४२ साल असोज १७ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु