निर्णय नं. २४३८ - हक सफा

निर्णय नं. २४३८ ने.का.प. २०४२ अङ्क ७
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको दे.पु.नं. ६०४
मुद्दा : हक सफा ।
पुनरावेदक/वादी:का.प.जि.चलाल गनेस्थान गा.पं.वा.नं.५ बस्ने सु.वे.हरिबहादुर कार्की ।
विरुद्ध
विपक्षी/प्रतिवादी:ऐ.ऐ.बस्ने हरिबहादुर भन्ने हरिशरण कार्की ।
ऐ.बस्ने प्रेम कुमारी महत्नी ।
फैसला भएको मितिस:२०४२।६।३।६ मा ।
अलग–अलग मितिका भिन्दाभिन्दै निवेदकहरूले दिएको निवेदनमा छुट्टा छुट्टै मालबाट निर्णय भएकोमा हकसफा एउटै विषय हो भनी दुवैलाई एउटैमा समावेश गरी गाभी निर्णय गर्न पाउने हाम्रो कानुनी व्यवस्था पनि छैन । यसलाई व्यवहारिक रुपले पनि उचित भन्न नमिल्ने ।
(प्रकरण नं. १७)
पुनरावेदक, वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल
विपक्षी, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्जको मिति ०४०।१२।३०।५ को निर्णय आदेश उपर चित्त नबुझी वादी हरिबहादुर कार्कीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत हकसफा मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. जेठाबाबु जित बहादुरका छोरा दाजु सन्त बहादुर कार्की, ऋणी विपक्ष प्रेमकुमारी धनी भई ०३४।५।१९ मा घरसारमा ०३४।५।२६ मा यसै मालमा रजिष्ट्रेशन भएको रु. ५००।– पाँचसयमा खोपासी गा.पं.मार्फत का.प.मालमा तिरो बुझाउनु पर्ने खेत माटो मुरी ।२ को कित्ता १ खेत ।२।१७।४ मध्ये खेत माटो ।।१० को कित्ता १ र खेत ।२।१७।४ मध्ये ।।७।४ को खेत कित्ता १ समेत ३ कित्ता खेत लिन दिनु भएछ । ०३४।१२।२२।१ मा राजीनामा सारी लिई थाहा पाई विपक्षी प्रेमकुमारीसँग रुपैयाँ बुझी मेरो हक सन्धिसर्पन पर्ने जग्गा निखन्न दिनुहोस् भन्दा बुझ्दीन भनी निखन्न नदिएकोले नक्कल सारी लिएको ३५ दिन भित्र रु. ५००।– थैली र रजिष्ट्रेशन दस्तुर रु.३।५० समेत साथराखी दर्खास्त गर्न आएको छु । मेरो हक सन्धिसर्पन पर्ने जग्गा निखनाई पाउँ भन्ने सु.हरिबहादुर कार्कीको ०३४।१२।२० मा काभ्रेपलाञ्चोक मालमा परेको उजूरी ।
३. उजूरीको जग्गा मिति ०३५।१।८ गते काठमाडौं मालपोत कार्यालयबाट राजीनामा रु. ५००।– मा पारित गरी दाता सन्तबहादुर कार्कीलाई फिर्ता दिई सकेकोले उक्त जग्गा हक निखन्न दिनुपर्ने होइन भन्ने समेत व्यहोराको ०३५।२।२२।१ को प्रेमकुमारीको प्रतिउत्तर ।
४. सन्धिसर्पन पर्ने हकवालाले कानुनकै म्यादभित्र हकसफा गरिपाउँ भनी ०३४।१२।२० मा धरौट राखेको देखिने सोही धरौटी राखेको जग्गा उनै असामीलाई मिति ०३५।१।८ मा काठमाडौं मालपोत कार्यालयमा राजीनामा रु. ५००।– मा पारित गरिदिएकोले लेनदेन व्यवहारको ११, १२ नं.ले हकसफा गर्न पाउने नै ठहर्छ भन्ने समेत काभ्रेपलाञ्चोक मालको ०३५।३।२७।३ को पर्चा रहेछ ।
५. बाजे सन्तबहादुरले रु. ५००।– मा विपक्षी प्रेमकुमारीलाई माटो २। मुरीको खेत बिक्री गरी ०३५।५।२६ गते का.प.मालमा राजीनामा पारित गरिदिनु भएछ म्यादभित्र का.प.मालमा धरौट राख्नु पर्नेमा विरामी परी म्याद गुज्रन गएकोमा श्री ५ महाराजाधिराज सरकारबाट म्याद थामी कानुन बमोजिम गर्नु भन्ने हुकुम बक्स भएबमोजिम थैली रु. ५००।– र रजिष्ट्रेशन रु. ३।५० समेत ५०३।५० धरौट लिई हकसफा गर्न पाउँ भन्ने हरिशरण कार्कीको ०३५।४।२७ को का.प.मालमा गरेको सनाखत ।
६. रु. ५००।– मा ०३४।५।२६ गते पारित गरी लिएको जग्गा विपक्षीले हकसफा गरिपाउँ भनी दावीलिएको जग्गा हरू सन्तबहादुरले नै चाहिएको हुँदा रुपैयाँ बुझी उक्त ३ कित्ता जग्गा फिर्ता माग गर्नु भएकोले ०३५।१।१८ गते रु.५००।– मा फिर्ता राजीनामा पारित गरी सन्तबहादुरलाई दिइसकेको छु र म बाट हकसफा गर्न पाउने ठहरी सु.हरिबहादुरलाई हकसफा भइसकेको छ भन्ने समेत ०३५।५।१८ को प्रेमकुमारीको प्रतिउत्तर रहेछ ।
७. ०३५।३।२७ गते हकसफा गर्न पाउने गरी यस कार्यालयबाट निर्णय भएको देखिएकोले यस कार्यालयबाट गरेको निर्णय उपर पुनः निर्णय दिन नमिल्ने हुँदा उक्त मितिको निर्णय उपर प्रतिउत्तर सरह पुनरावेदन गर्न जानु भनी पछि धरौट राख्ने हरिशरणलाई सुनाई दिने ठहर्याई आज अड्डैबाट पर्चा खडा गरी दियौं भन्ने समेत मा.का.का.प.को निर्णय पर्चा ।
८. मिति ०३५।३।२७ को का.प.मालको पर्चा उपर प्र.प्रेमकुमारीको जि.का.धुलिखेलमा पुनरावेदन पर्दा का.प.माल कार्यालयको ०३५।३।२७।३ को पर्चा मनासिव ठहर्छ भन्ने जि.का.धुलिखेलको फैसला साथै ०३६।४।१७ को मा.पो.का.को पर्चाउपर हरिबहादुर भन्ने हरिशरण कार्कीको पुनरावेदन परेकोमा उक्त ०३६।४।१७ को पर्चा मनासिव ठहर्छ भन्ने मिति ०३।१२।६ को जि.का.धुलिखेलको छुट्टा छुट्टै फैसला ।
९. ०३८।१२।१६ को धु.जि.का.को निर्णय उपर चित्त नबुझी वादी हरिबहादुर कार्की भन्ने हरिशरण कार्कीको मध्यमाञ्चल क्षेत्रिय अ..मा पुनरावेदन ।
१०. पुनरावेदक प्रेमकुमारीको जिकिर बमोजिम दावीको जग्गा निखन्न दिनुपर्ने हो होइन यदि निखन्न दिनुपर्ने हो भने वादी मध्येका हरिबहादुरलाई निखन्न दिनुपर्ने हो कि हरिशरणलाई निखन्न दिनुपर्ने हो, निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी झुठ्ठा मुद्दा कायम गरी निर्णय गरेको मिलेको नदेखिएकोले दुवै मुद्दामा भएको जि.कार्यालयको फैसला बदर हुन्छ । कानुन बमोजिम गर्नु भनी हाजिर रहेका पक्ष विपक्षीलाई तारेख तोकी मिसिल प्र.जि.अ.को कार्यालय काभ्रेपलाञ्चोकमा पठाई दिनु भन्ने समेत ०४०।१२।३०।५ को मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
११. उक्त ०४०।१२।३०।५ को निर्णय आदेश उपर चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा वादी हरिबहादुर कार्कीको पर्न आएको निवेदनमा अनुमति प्रदान गरिएको छ भन्ने समेत ०४१।७।२९।४ को यस अदालत डिभिजन बेञ्चको आदेश रहेछ ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रही बेञ्चसमक्ष उपस्थित भएका पक्ष विपक्षहरू समेतलाई रोहवरमा राखी पुनरावेदक वादी हरिबहादुर कार्कीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल र विपक्षी प्रतिवादी हरिशरण कार्कीको तर्फबाट बहसको लागी उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगानाले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१३. प्रस्तुत मुद्दामा उक्त मध्यमाञ्चल क्षेत्रीय अ.ले गरेको निर्णय मनासिव बेमनासिव के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
१४. यसमा निखनाई पाउँ भन्ने मिति ०३४।१२।२०।१ मा सु.हरिबहादुर कार्कीको निवेदन माल कार्यालय काभ्रेपलाञ्चोकमा परेको र त्यसलाई निखनाई पाउँ भन्ने हरिशरण कार्कीको ०३५।४।२७ को का.प.मालमा निवेदन परेको देखिन्छ । उक्त ०३४।१२।२०।१ को सु.हरिबहादुर कार्कीको हकमा निखन्न पाउने ठहरी ०३५।३।२७।३ मा माल कार्यालय काभ्रेपलाञ्चोकबाट निर्णय भई त्यस उपर प्रमुख जिल्ला अधिकारीको कार्यालय धुलिखेलमा पुनरावेदन परेको र त्यसपछि ०३५।४।२७ को हरिशरण कार्कीको उजूरी निवेदनको हकमा मिति ०३५।३।२७ गते हकसफा गर्न पाउने गरी निर्णय भएको देखिएकोले यस कार्यालयबाट गरेको निर्णय उपर पुनः निर्णय दिन नमिल्ने भनी ०३६।४।१७।५ मा काभ्रेपलाञ्चोक माल कार्यालयबाट निर्णय भएपछि यो दोश्रो मालको उक्त निर्णय उपर हरिशरण कार्कीको प्रमुख जिल्ला अधिकारीको कार्यालय धुलिखेलमा पुनरावेदन परेको देखिन्छ ।
१५. यी दुवै पुनरावेदकको पुनरावेदन फैसला छ । प्र.जि.अ.धुलिखेलले दुवै निर्णय गरेको उपर मध्यमाञ्चल क्षेत्रिय अ..मा छुट्टा छुट्टै अनुमतिको निवेदनहरू परेको र छुट्टा छुट्टै पुनरावेदन गर्न पाउने गरी ०४०।२।१९।५ को मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश भएको देखिन्छ ।
१६. यसरी दुई छुट्टा छुट्टै पुनरावेदनहरूको निर्णय गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले “पुनरावेदक प्रेमकुमारीको जिकिर बमोजिम दावीको जग्गा निखन्न दिनुपर्ने हो होइन, यदि निखन्न दिनुपर्ने हो भने वादी मध्येका हरिबहादुरलाई निखन्न दिनुपर्ने हो कि हरिशरणलाई निखन्न दिनुपर्ने हो निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी छुट्टा छुट्टै कायम गरी निर्णय गरेको मिलेको नदेखिएकोले दुवै मुद्दामा भएको जिल्ला कार्यालयको फैसला बदर हुन्छ । कानुनबमोजिम गर्नु भनी हाजिर रहेका पक्ष विपक्षलाई तारेख तोकी मिसिल प्र.जि.अ.कार्यालयमा पठाई दिनु भनी” जि.कार्यालय धुलिखेलको फैसला बदर गरेको पाइयो । अनुमति पाई दर्ता भएको निवेदनहरू उपर पुनरावेदन फैसला गर्नु पर्नेमा आदेशद्वारा दुवै फैसला बदर गरेको निर्णय कानुनको विरुद्ध भएकोले मिलेन ।
१७. अब दोश्रा प्रश्न दुवै मुद्दाको मिसिललाई क्षेत्रीय अदालतले आफूले पनि एउटै मानी (दे.पु.नं. ९७७) निर्णय गर्न र सोही बमोजिम गर्नु भनी तल्लो तहलाई समेत आदेश गरी मिसिल पठाउन मिल्ने हो होइन भन्नेतर्फ बिचार गर्दा अलग–अलग मितिको भिन्दाभिन्दै निवेदकहरूले दिएको निवेदनमा छुट्टा छुट्टै मालबाट निर्णय भएकोमा हकसफा एउटै विषय हो भनी दुवैलाई एउटैमा समावेश गरी गाभी निर्णय गर्न पाउने हाम्रो कानुनी व्यवस्था पनि छैन । यसलाई व्यवहारिकरुपले पनि उचित भन्न मिल्दैन । तसर्थ, मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।१२।३०।५ को आदेश बदर हुने ठहर्छ अब कानुन बमोजिम दुवै पुनरावेदनको एकैपटक छुट्टा छुट्टै निर्णय गर्नु भनी पक्षलाई तारेख तोकी मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु । कोर्टफी रही पुनरावेदन दायर रहेको देखिँदा केही गरी रहनु परेन । मध्यमाञ्चल क्षेत्रिय अ..का माननीय मुख्य न्यायाधीश श्री हिरण्यश्वरमान प्रधान तथा मा.न्या.श्री कृष्णजंग रायमाझीको उल्टीमा रेकर्ड राख्नु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४२ साल आश्विन ३ गते रोज ६ शुभम् ।