निर्णय नं. २४४० - ज्यान मार्ने उद्योग

निर्णय नं. २४४० ने.का.प. २०४२ अङ्क ७
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको डि.फौ.पु.नं. ५८३
मुद्दा : ज्यान मार्ने उद्योग ।
पुनरावेदक/वादी:सुर्जेमानको जाहेरीले श्री ५ सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी:का.प.जि.मेचिनकोट गा.पं.वडा नं. ९ बस्ने बुद्धिमान तामाङ ।
ऐ.ऐ बस्ने कान्छो तामाङ ।
फैसला भएको मिति:२०४२।७।१६।६ मा
जानी जानी भरुवा बन्दूकले फायर गरी घाइते पारेको देखिँदा ज्यान मार्ने उद्योग गरेको ठहर्छ ।
(प्रकरण नं. १५)
पुनरावेदक, वादीतर्फबाट: विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त
विपक्षी, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. ०३७।१।१ का दिन १२ वर्षको छोरा राजुलाई बुद्धिमान तामाङले बोलाई लगेका थिए। उसले भरुवा बन्दूकले फायर गरी ज्यान मार्ने उद्योग गरेमा कारवाई गरिपाउँ भन्ने समेतको जाहेरी दर्खास्त ।
३. बुद्धिमान र कान्छो तामाङमा कान्छोले भरुवा बन्दूक लिएको रहेछ । कान्छोले ढुकुर रहेनछ तँलाई हान्नु पर्यो भन्यो मैले केही भनिन त्यसपछि मलाई बन्दूकले लाग्यो, बेहोस भएपछि अस्पतालमा लगेको थाहा पाएँ । कानुनबमोजिम कारवाही गरिपाउँ भन्ने समेतको घाइते राजु तामाङको सनाखत कागज ।
४. प्र.बुद्धिमान तामाङ र कान्छो तामाङले ज्यान मार्ने उद्योग गरेकोले ज्यानसम्बन्धीको १५ नं.बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी ।
५. मैले राजुलाई मार्ने उद्योग गरी बन्दूकले हानेको होइन । म ०३६।१२।२१ मा खनालथोक गा.पं.का अर्जुनबहादुरको खसी व्यापार गर्न झुग्गा झोलीतर्फ गई ०३७।१।२ का दिन मंगलटारमा शंकरबहादुरलाई भेटेको थिएँ निजहरूलाई समेत बुझी पाउँ भन्ने व्यहोराको प्र.बुद्धिमानको अदालतमा भएको बयान ।
६. ज्यान मार्ने उद्योग गरेको छैन । वारदात भनेको समय अगावै ०३६।१२।२८ गते भाउजू बिरामी भएको भन्ने समाचार आएकोले हेर्न गएको र ०३७।१।२ का दिन फर्कंदा गंचामा मामा प्रेम लामाको घरमा बास बसी भोलिपल्ट बुवाङ लामाले फेदीबाट खोपासी जानु भनी आमाले भनेको छ भनेकोले म खोपासी गएँ । खोपासीबाट ०३७।१।२९ गते मात्र फर्केको हुँ भन्ने समेतको कान्छो तामाङको अदालतमा भएको बयान ।
७. मेरो जाहेरी ठीक छ, जाहेरी बमोजिम प्रतिवादीहरूलाई कारवाही गरिपाउँ भन्ने जाहेरवालाको अदालतमा भएको सनाखत बयान ।
८. बुद्धिमान र कान्छो तामाङले शिकार खेल्न जाउँ भनी लगेको, कान्छो तामाङले ढुकूर पाइएन । तिमीलाई हानौ कि बन्दूकले हानेका हुन् तसर्थ मलाई मार्ने उद्योग गरेकोले सजायँ गरिपाउँ भन्ने राजु तामाङको अदालतमा भएको सनाखती बयान ।
९. प्रतिवादीहरूले ज्यान मार्ने उद्योग गरेको भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने शुरु का.प. जि.अ.को फैसला ।
१०. उक्त फैसला उपर चित्त बुझेन भन्ने समेतको श्री ५ को सरकारको मध्यमाञ्चल क्षेत्रिय अ..मा परेको पुनरावेदनपत्र ।
११. शुरु इन्साफ मनासिव ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला।
१२. उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने श्री ५ को सरकारको निवेदन परी डिभिजन बेञ्ज समक्ष पेश हुँदा, केश फारामबाट बन्दूकको प्रहार भएको देखिन्छ । प्रहार लाग्ने राजुले बन्दूकले हानेको भनी सनाखत बयान गरेकोमा प्र.बुद्धिमान तामाङलाई सफाई दिने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं. १८४(क) समेतको त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको ।
१३. नियम बमोजिम पेशी सूचीमा चढी आज पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले पिडित पक्षले नै प्र.कान्छा समेतले बन्दूक फायर गरी मार्न खोजेको भनी सनाखत बयान गरेको छँदाछँदै निज प्रतिवादीहरूलाई सफाई दिने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय त्रुटिपूर्ण हुँदा माग दावी बमोजिम प्र.हरूलाई कसूरदार ठहराउनु पर्दछ भन्ने समेत र विपक्षी कान्छा भाइ समेत तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले प्र.बुद्धिमान तथा कान्छा भाइ समेत वारदातका दिन अन्यत्रै रहेको भनी अदालतमा इन्कार छन् । यस्तो स्थितिलाई आधार लिई मध्यमाञ्चल क्षेत्रिय अ..बाट निजहरूलाई सफाई दिने ठहर्याई भएको निर्णय मनासिव हुन पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
१४. अब यो मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अ.बाट भएको इन्साफ मनासिव बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।
१५. निर्णयतर्फ बिचार गर्दा यसमा मेरो छोरा राजु तामाङलाई बुद्धिमान तामाङ र निजका भाइले मार्ने नियतले भरुवा बन्दूकले फायर गरी मर्ने बाँच्नेको दोसाँधमा भएकोले ज्यान मार्ने उद्योगमा कारवाही गरिपाउँ भन्ने सुर्जेमानको जाहेरी परेको देखिन्छ । पीडित राजु तामाङको केश फाराम हेर्दा विभिन्न ठाउँमा छाला खुइसिनुका साथै छातीको बायाँ भागमा अमिल्दो चिज पेटको बायाँ भागमा अमिल्लो चिज, घाँटीमा फलामे टुक्रा, दाहिने पट्टिको चौथो करङ चर्केको भन्ने उल्लेख भएको पाइन्छ । घाइते राजु तामाङले प्रहरी र अदालत समक्ष समेत ढुकूर पाइएन । तिमीलाई नै हिर्काउँ भने र कान्छा तामाङले हिर्काएका हुन् भनी सनाखत बयान समेत गरेको देखिन्छ । यस्तो अवस्थामा राजु तामाङले गरेको सनाखत बयानलाई अविश्वास गर्नुपर्ने कुनै कारण नदेखिँदा वारदात घटेकोमा विवाद देखिएन । अब सो वारदात कसले गरेको हो भन्नेतर्फ बिचार गर्दा प्र.कान्छा तामाङले राजुलाई शिकार खेल्न जाउँ भनी हातमा समाती लगेको र पछि ढुकूर पाइएन तिमीलाई नै हिर्काउँ भनी निजले हिर्काएको भनी स्वयं पीडित पक्षले सनाखत बयान गरेको छ सो कुरालाई केश फारामबाट प्रमाणित भएको छ । अतः यस्तो स्थितिमा केवल अभियुक्त प्र.कान्छा तामाङ अदालतमा इन्कार भई बयान गरे तापनि पीडित पक्षको सनाखतलाई अविश्वासनीय हो भनी अन्यथा भन्न सक्ने स्थिति केही देखिँदैन । त्यसरी निज प्र.कान्छाले बन्दूकले फायर गरेको भनी राजु तामाङले भन्नु पर्ने सम्मको रीस इवि समेत केही भए गरेको देखिँदैन । अतः प्र.कान्छा तामाङले राजु तामाङलाई जानी जानी भरुवा बन्दूकले फायर गरी घाइते पारेको देखिँदा, राजु तामाङको ज्यान मार्ने उद्योग गरेको ठहर्छ । निजलाई सफाई दिने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला सदर गरी मध्यमाञ्चल क्षेत्रिय अ..बाट भएको निर्णय त्यति हदसम्म उल्टी हुने ठहर्छ । अब प्र.बुद्धिमान तामाङको सम्बन्धमा बिचार गर्दा स्वयं पीडित व्यक्तिले निजले फायर गरेको भन्न सकेको छैन । निजसँग अघिदेखि नै कुनै रीस इवि समेत भएको देखिँदैन । प्र.बुद्धिमान कसूर गरेमा इन्कार रहेको देखिन्छ । अतः प्र.बुद्धिमानले कसूर गरेको नठहर्याई आरोपित कसूरबाट निजलाई सफाई दिने ठहर्याई गरेको शुरु इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रिय अ..बाट निर्णय भएको निजका हकमासम्म सदर हुने ठहर्छ । निजलाई समेत सजायँ गरिपाउँ भन्ने वादी श्री ५ को सरकारको पुरावेदन जिकिर पुग्न सक्दैन । तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.कान्छा तामाङले ज्यान मार्ने उद्योग गरेको ठहरेकोले निजलाई ज्यानसम्बन्धीको १५ नं.बमोजिम १० वर्ष कैदको सजायँ हुनेमा निजको उमेर निजले अदालतमा बयान गर्दा १५ वर्ष लेखाएकोबाट १६ वर्ष भन्दा कम १५ वर्षको उमेरको देखिएकोले मु.ऐन दण्ड सजायँको १ नं.ले सो को आधा सजायँ कैद वर्ष ५ हुन्छ । बेरुजू हुँदा निजलाई लागेको कैद वर्ष ५ कानुन बमोजिम असूल गर्ने भनी शुरु काभ्रे जि.अ.मा लगत दिन काठमाडौं जि.अ.तहसिल शाखामा लगत दिनु ।.........१
मिसिल नियम बमोजिम गरी बुझाई दिनु..................१
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४२ साल कार्तिक १६ गते रोज ६ शुभम् ।