शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४४४ - कर्तव्य ज्यान

भाग: २७ साल: २०४२ महिना: कार्तिक अंक:

निर्णय नं. २४४४    ने.का.प. २०४२      अङ्क ७

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४२ सालको फौ.पु.नं. ३७१

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी:कृष्ण प्रसाद ओलीको जाहेरीले श्री ५ को सरकार  ।

विरुद्ध

विपक्षी/प्रतिवादी: जि. इलाम कुसेनी गा.पं.वा.नं.८ घर भई हाल झापा अर्जुनधारा गा.पं.वा.नं. ९ बस्ने टेक बहादुर कार्की  ।

फैसला भएको मिति:२०४२।७।३०।६ मा

     जोखिमी हतियारको परिभाषाभित्र फरुवालाई समावेश नगराई ज्यानसम्बन्धी १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरी शुरु जि.अ.ले गरेको इन्साफ सदर गरी भएको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ।

 (प्रकरण नं. १४)

पुनरावेदक, वादीतर्फबाट: विद्वान का.मु.सहन्यायाधीवक्ता श्री प्रमोद विजयी

विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान वैतनिक अधिवक्ता श्री विष्णुकुमार शाह

उल्लेखित मुद्दाःX

फैसला

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः पुर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।

२.    ०३९।३।१ गतेको दिन १ बजेको समयमा अर्जुनधारा गा.पं.वा.नं. ९ बस्ने मेरी बहिनी तीलरुपा पाठक पानी लाउन घरबाट १ किलोमिटर दक्षिण खेतमा गएको अवस्थामा ऐ.बस्ने टिकाप्रसाद पाठकको घरमा नोकर बस्ने कान नसुन्ने कार्की पनि मालिकको खेतमा पानी लाउन गएको बखत के निहुँ पारी बहिनीलाई फरुवा (कोदाली) ले टाउकोमा काटी मारीभागी गएपछि गोठालाहरूले हल्ला गर्दा थाहापाई घटनास्थल जाँदा बहिनीको मृत्यु भइसकेको भेटिएको हुँदा अपराधी पक्राउ गरी कानुन बमोजिम गरिपाउँ भन्ने ०३९।३।१ को कृष्णप्रसाद ओलीको जाहेरी दर्खास्त ।

३.    कुलोमा पानी नआएकोले मुहानतर्फ जाँदा तीलरुपाले पानी आफ्नो खेततर्फ लगाएको देखी किन यसो गरेको भन्दा बजिया भनी गालीगरेकोले रीसउठी हातको फरुवाले चोटछोड्दा टाउकोमा लाग्न गई टाउको फुटी भईमा लडी छटपटाउन थालेकीले म तुरुन्तै फर्की उप प्र.पं.को नोकर नाम नजानेको राईलाई फरुवा दिई म भागें मारु भन्ने इवि थिएन भन्ने अ.टेकबहादुर कार्कीले प्रहरीमा गरेको ठाडो कागज ।

      ४.    टेकबहादुर कार्कीले तीलरुपाको टाउकोमा हानी कर्तव्य गरी मारेको भन्ने कुरा लाश जाँच हुँदाको अवस्था घटनास्थलको प्रकृतिबाट थाहा भयो भन्ने ०३९।४।३ को सरजमीन मुचुल्का ।

५.    टेकबहादुर कार्कीले तीलरुपा पाठकलाई फरुवाले ठाउकोमा हानी ज्यानमारेकोले निजलाई ज्यानसम्बन्धीको १३(१) नं. को सजायँ होस् भन्ने माग दावी भएको प्रहरी प्रतिवेदन ।

६.    तीलरुपाले मालिकको खेतको सबै पानी सुकाई आफ्नो खेतमा लगीछन्, किन सबै पानी लगेको भन्दा निजले एक्कासि तँ बजियाको मात्र पानी हो ? भनी फरुवाले हान्न लाग्दा मेरो हातमा भएका फरुवाले छेक्दा फरुवा मेरो हातबाट फुस्कन गई निजको टाउकोमा लागी रगत बग्न थालेपछि म भागें भन्ने टेकबहादुर कार्कीले अदालतमा गरेको बयान ।

      ७.    बहिनी तीलरुपालाई टेकबहादुरले फरुवाले टाउकोमा हानी मारेको हुँदा सजायँ गरिपाउँ भन्ने समेत जाहेरवाला कृष्णप्रसादले अदालतमा गरेको बकपत्र ।

      ८.    खेतमा पानी लाउँदाको अवस्था विवाद भई तत्काल उठेको रिसबाट फरुवाले हिर्काएकोबाट मानिस मरेको देखिएकोले ज्यानसम्बन्धीको १४ नं.को अवस्था देखिएको, फरुवा जोखिमी हतियार हो भन्ने कुटपीटको ९ नं.मा उल्लेख नहुँदा ज्यानसम्बन्धीको १३(१) को कसूर भन्न नमिलेकाले ऐ.१४ नं.बमोजिम टेकबहादुरलाई १० वर्ष कैद हुन्छ भन्ने समेत ०३९।६।२०।४ को झापा जिल्ला अदालतको फैसला ।

९.    उक्त फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परेकोमा शुरु जि.अ.को इन्साफ मनासिव ठहर्‍याई पु.क्षे.अ.बाट फैसला भएको रहेछ ।

१०.    उक्त फैसलामा चित्त बुझेन मागदावी बमोजिम सजायँ हुनपर्दछ भन्ने समेतको श्री ५ को सरकार तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आई डिभिजन बेञ्ज समक्ष पेश हुँदा फरुवा जस्तो जोखिमी हतियारको प्रयोग गरी तीलरुपालाई कर्तव्य गरी मारेकोमा ज्यानसम्बन्धीको १४ नं.बमोजिम कसूरदार ठहर्‍याई गरेको झापा जि.अ.को इन्साफ सदर गरी पु.क्षे.अ.बाट भएको फैसला मिलेको देखिएन । अ.बं.२०२ नं.बमोजिम प्रतिवादीलाई झिकाई आएपछि पेश गर्ने भन्ने समेतको आदेश भएको ।

११.    नियम बमोजिम पेशी सूचीमा चढी आज पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फबाट उपस्थित हुनुभएको विद्वान का.मु.सहन्यायाधीवक्ता श्री प्रमोद विजयीले फरुवा जस्तो जोखिमी हतियारको प्रयोग गरी ज्यान मारेकोमा ज्यानसम्बन्धीको १४ नं.आकर्षित हुन सक्दैन भन्ने समेत र विपक्षी प्रतिवादी तर्फबाट बहस गर्न खटिनु भएको विद्वान वैतनिक अधिवक्ता श्री विष्णुकमार शाहले प्र.टेकबहादुर माथि मृतकले आक्रमण गर्दा रोक्न फरुवा उठाउँदा लाग्न गई मृत्यु भएकोले भवितव्यबाट मृत्यु भएको हो भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

१२.   प्रस्तुत मुद्दामा पु.क्षे.अ.बाट भएको निर्णय मनासिव वा बेमनासिव के रहेछ सो कुराको निर्णय दिनु परेको छ ।

१३    निर्णयतर्फ बिचार गर्दा यसमा मृतक तीलरुपाको मृत्यु भएकोमा विवाद देखिँदैन । निजको मृत्यु टेकबहादुरको कर्तव्यबाट भएको हो वा होइन भन्नेतर्फ बिचार गर्दा प्र.टेकबहादुरले प्रहरी समक्ष र अदालत समक्ष समेत आफ्नो फरुवाले लागी तिलरुपाको मृत्यु भएकोमा सावित भई बयान गरेको देखिन्छ । प्रहरी समक्ष भएको प्र.टेकबहादुरको बयानमा मलाई मृतकले बजिया भनेकाले रीस उठी तीलरुपा उपर प्रहार गरेको भन्ने र अदालत समक्ष भएको बयानमा तिलरुपाले बजिया भनी फरुवाले हान्न लाग्दा मेरो हातको फरुवा उठाई छेक्न लाग्दा फरुवा हातबाट फुस्कन गई मृतकको टाउकोमा लागेको भन्ने उल्लेख गरेको देखिन्छ । यसरी प्रहरीमा गरेको बयानलाई अदालतमा आई अलिकति बङ्ग्याएको देखिन्छ । यदि हातबाट त्यसरी फरुवा फुस्केको भए निज प्र.टेकबहादुरले मौकामा प्रहरी समक्ष उक्त कुरा भन्न सक्नु पर्ने हुन्थ्यो । त्यसरी भन्न नसक्नाको तथ्ययुक्त कारण केही देखिन आएको छैन । फेरि अर्कोतर्फ छेक्न लाग्दा फुस्कन गएको फरुवाले ज्यान मर्न सक्ने चोट लाग्न पनि अविश्वासनीय हुन्छ । बलै प्रयोग गरी नहानेको भए ज्यान मर्न सक्ने स्थिति पर्दैनथ्यो । अतः एवं प्र.टेकबहादुर कार्कीले तीलरुपालाई  फरुवा प्रहार गरी कर्तव्य गरी मारेको सिद्ध हुन आयो । जहाँसम्म प्रतिवादी टेकबहादुर कार्की तर्फका विद्वान वैतनिक अधीवक्ताले आत्मरक्षाको लागि गरिएको र भवितव्य परी मरेको हो भनी भन्नु भएको बहस जिकिर छ त्यसतर्फ बिचार गर्दा खेतमा पानी लगाउन जाने एक अवला स्वास्नी मानिसले प्रतिवादीलाई मार्न लागेको होला भन्न  सकिँदैन । उसमा पनि मृतकले फरुवा प्रहार गर्दा यो प्रतिवादीभागी उम्की जान नसक्ने तथा गुहार मद्दत माग्न नसक्ने स्थिति नभएको पनि देखिँदैन। यसर्थ आत्मरक्षाको लागि केही गरेको भन्न मिलेन भवितव्य हो की भन्ने जिकिरका हकमा समेत मृतक तीलरुपाले फरुवाले हान्दा रोक्न खोज्दा फरुवा फुस्कन गएको भन्ने भनाई प्रतितलायक देखिँदैन । फरुवाले हिर्काउने नियतले नहिर्काएको भए ज्यान जान सक्ने स्थिति पर्दैन थियो । अतः विद्वान वैतनिक अधिवक्ताको बहससँग यो बेञ्च सहमत हुन सकेन अर्कोतर्फ प्र.टेकबहादुरलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम पु.क्षे.अ.बाट सजायँ भएको छ, भवितव्य वा आत्मरक्षाको जिकिर लिने प्र.टेकबहादुरको पुनरावेदन परेको पनि देखिँदैन ।

१४.   अब श्री ५ को सरकारको पुनरावेदन जिकिर बमोजिम ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम प्र. टेकबहादुरलाई सजायँ गर्नपर्ने हो वा होइन भन्ने कुरातर्फ बिचार गर्दा मृतक तीलरुपालाई प्र.टेकबहादुरले फरुवा जस्तो जोखमी हतियार प्रयोग गरी कर्तव्य गरी मारेको देखिएको छ । अतः जोखिमी हतियारको परिभाषाभित्र फरुवालाई समावेश नगराई ज्यानसम्बन्धी १४ नं.बमोजिम प्र.टेकबहादुरलाई १० वर्ष कैद गर्ने गरी शुरु झापा जि.अ.ले गरेको इन्साफ सदर गरी पु.क्षे.अ.बाट भएको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । प्र.टेकबहादुरलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । सर्वश्वसहित जन्मकैदको लगत कसी १० वर्ष कैदको लगत कट्टा गरिदिनु भनी शुरु झापा जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु । पु.क्षे.अ.को इन्साफ उल्टी भएकोले मा.न्या.द्वय श्री मोहनप्रसाद शर्मा र श्री उदयराज उपाध्यायको उल्टीमा रिकर्ड राख्नु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल कार्तिक ३० गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु