शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४६० - उत्प्रेषण

भाग: २७ साल: २०४२ महिना: मंसिर अंक: ८

निर्णय नं. २४६०     ने.का.प. २०४२      अङ्क ८

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको रिट नं.१४४७

विषय  :उत्प्रेषण ।

 

निवेदक      : सर्लाही जिल्ला सुन्दरपुर गा.पं.वडा नं.५ बस्ने हालमा सेखीन ।

विरुद्ध

विपक्षी :भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय, सर्लाही ।

सर्लाही जिल्ला मूर्तिया गा.पं.वडा नं.३ बस्ने मतीलाल कोतवार ।

आदेश भएको मिति:२०४२।७।१६।६ मा

     एकासगोलको लोग्नेको अन्तरसाक्षी पनि बसेको पाइन्छ । तसर्थ कानुन बमोजिम मोही नै नहुने अवस्थामा निजको मृत्युपछि निजको छोरा विपक्षीको नाममा मोहियानीको नामसारी गर्ने गरी भु.सु.का. सर्लाहीले गरेको निर्णय कानुन विपरीत हुँदा उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर हुने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान सरकारी अधिवक्ता श्री वलि राम कुमार

विपक्षी तर्फबाट      :विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

उल्लेखित मुद्दाःX

आदेश

न्या.सुरेन्द्र प्रसाद सिंहः विपक्षी कार्यालयको ०४१।३।१५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ ।

२.    यसमा प्र. हालमा सेखीनको बयानबाट सगोलको मोही भएकोले नामसारी हुन नसक्ने भन्ने जिरह लिएको र प्र.ले ०३४।३।१६ मा रजिष्ट्रेशन पास गराई लिएको दाताको सगोलको मोही उसै बखत मोही लगतकट्टा गर्नुपर्नेमा कारवाही चलाएकोसम्म पनि नदेखिएको । ज.ध.को श्रेस्ताबाट पनि वादी मनलालको बाबु पलटको स्वार मोही देखिएकोले समेत भू.सं. ऐन, ०२१ को दफा २६(१) अनुसार जग्गाको मोहियानी हक वादीका नाममा नामसारी हुने ठहर्छ भन्ने भु.सु.का.सर्लाहीको ०४१।३।१५ को निर्णय ।

३.    भू.सं.ऐन, ०२१ को दफा २(ख) ले मोही भन्नाले आफू वा आफ्नो परिवारका श्रमले खेती गर्ने किसान सम्झनुपर्छ भन्ने व्यवस्था गरेको छ । जस अनुसार म निवेदकको दाता पानवतीको स्वास्नीको जग्गामा नीजका एकाघर सगोलको लोग्ने मोही हुन नसक्ने निर्विवाद छ । सोही ऐनको दफा २(ग) मा लोग्ने स्वास्नी एकै परिवार हुने स्पष्ट छ । म निवेदकले विवादित गंगापुर सीतापुर गा.पं.वार्ड नं.३(ग) को कि.नं.५१ को ३–१०–६ जग्गा खरीद गर्दा असामी पानवतीको एकाघर सगोलको लोग्ने भनी राजीनामामा पलट भनी साक्षी महलमा सही गरेको छ । यस स्थितिमा विपक्षीको बाबु पलटलाई मोही भन्न सकिने अवस्थै हकदैया समेत छैन । विपक्षीले बाबु र बाबुपछि जोत्दै आएको छु भन्न पनि सकेको छैन । मोहीको लगत कट्टा गर्न जहिले पनि सकिने कुरा हुँदा यति समयभित्र जान पर्दछ भन्ने कुनै कानुनी व्यवस्था छैन । विपक्षीका पिताको नामबाट जग्गा विगहा ११–१८–१७ भोगचलन गरेको देखिन्छ । ऐनको दफा ८ प्रतिकूल ४ विगहा भन्दा बढी जग्गा जोती रहेको प्रष्ट छ । माथिको जिकिरमा असर नपर्ने गरी वैकल्पिक जिकिर छ कि यदि मर्नेको हकमा मोही रोक्न पाउने कानुनी व्यवस्थानुसार मोहीका छोराहरूमा छान्न पनि पाएको छैन । उल्लिखित कानुनी त्रुटि हुनको अतिरिक्त नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) १५ द्वारा प्रदान मेरो मौलिक हकमा आघात तथा कुण्ठा पुर्‍याएकोले धारा १६ तथा ७१ अन्तर्गत निवेदन गर्न आएको छु । सो विपक्षीको ०४१।३।१५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

४.    विपक्षीबाट लिखिन जवाफ झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको सिंगल बेञ्जको आदेश ।

५.    मेरा बाबु आमा परलोक भइसकेका र ऐनले मोहियानी हक निज मोही पछि नीजका छोराहरूले पाउने कानुनी प्रावधान छ र मोहियानी हक खरीद बिक्री हुने व्यवस्था नभएकोले बाबुले साक्षी बस्दैमा मोहियानी हक जाने अवस्था पनि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मतीलालको लिखिन जवाफ ।

६.    कुनै जग्गामा रहेको जग्गाको जग्गाधनीको स्वामित्व मात्र खरीद बिक्री हुनसक्ने कानुनी प्रावधान भएकोमा मोहीहक समेत लिएको भन्ने र मोही लगत कट्टा गरिपाउँ भनी निवेदन दिएको छु भन्ने भनाई मिथ्या हो र सगोलका मोही भन्ने कुनै कानुनी प्रमाण निवेदकले पेश गर्न सकेको पनि छैन । जग्गा धनी श्रेस्तामा समेत हालसम्म पलटको स्वारलाई नै मोहियानी बसेको समेतको आधारमा मोही नामसारी हुने ठहराई गरेको कानुनी निर्णयबाट निवेदकको कुनै पनि कानुनी एवं संवैधानिक हक हनन् नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भूमि सुधार कार्यालय सर्लाहीको लिखिन जवाफ ।

७.    निवेदक तर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीको र विपक्षी  कार्यालय तर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी विद्वान अधिवक्ता श्री वलिराम कुमारले र लि.ज.तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले गर्नु भएको बहस समेत सुनियो मुख्यतः निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

८.    यसमा भु.सं.ऐन, ०२१ को दफा २(ख) मा मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै सर्तमा कमाएको व्यक्तिलाई सम्झनु पर्ने भनी उल्लेख भएको पलटको स्वार पानवतीको सगोलको लोग्ने भएको कुरालाई विपक्षीले खण्डन गर्न नसकेको निवेदकले विवादको जग्गा ०३४।३।१६ मा पानवतीबाट खरीद गरी लिंदा एकासगोलको लोग्ने भनी पलटको स्वार अन्तरसाक्षी पनि बसेको पाइन्छ । तसर्थ कानुन बमोजिम मोही नै नहुने अवस्थामा निजको मृत्युपछि निजको छोरा विपक्षीको नाममा मोहियानीको नामसारी गर्ने गरी ०४१।३।१५।५ मा भू.सु.का.सर्लाहीले गरेको निर्णय कानुन विपरीत हुँदा उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर हुने ठहर्छ । निर्णयको प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल कार्तिक १६ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु