निर्णय नं. ७०७२ - लेनदेन, जालसाज

निर्णय नं.७०७२ ने.का.प.२०५९ अङ्क ३/४
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
सम्वत् २०५३ सालको दे.पु.नं. .......३४६६
फैसला मितिः २०५८।३।१८।२
मुद्दाः– लेनदेन, जालसाज ।
पुनरावेदक/वादीः जि. मोरङ विराटनगर न.पा. वार्ड नं. १४ वस्ने सर्वज्ञलाल श्रेष्ठ
बिरुद्व
विपक्षी/प्रतिवादीः जि. मोरङ इन्द्रपुर गा.वि.स. वाडर्न नं. ६ वस्ने गंगाई कुमार दनुवार
§ लिफामा कारणीको हस्ताक्षरसम्म हुन्छ तर त्यसमा लिखतको व्यहोरा उल्लेख भएको हुँदैन । लिखत नभएको अवस्थामा केरमेट हुने र त्यसमा सहीछाप हुने भन्ने अवस्था आउँदैन लिखतको व्यहोरा थपघट केरमेट भै सो केरमेटमा कारणीको सहीछाप परेको छ भने लिखत मौकैमा तयार भएको मान्नु पर्ने हुन्छ । तसर्थ व्यहोरा उल्लेख गरी केरमेटमा सहीछाप समेत भएको कागजलाई लिफाको संज्ञा दिन नमिल्ने ।
§ लिफा भनी जिकिर लिए पनि माथि उल्लेख भए बमोजिम केरमेटमा सहीछाप रहेको, लिखतको मिति बन्दमा दुवै ल्याप्चे उपर ल्याप्चे परेको र लिखत मुनिको सहीछाप उपर अर्को सहीछाप माथि परि रहेको देखिँदा लिफामा लिखत खडा गरेको भन्न नमिल्ने ।
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सर्वज्ञलाल श्रेष्ठ
विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराई
अवलम्वित नजिरः
फैसला
प्र.न्या.केशवप्रसाद उपाध्यायः पुनरावदेन अदालत विराटनगरको मिति २०४९।७।२४ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (ख) बमोजिम दोहोर्याई हेर्न निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं निर्णय यसप्रकार छ :–
२. विपक्षीले घर खर्च गर्न रु. १९०६६।५० लिई २०३८।९।१८ मा कपाली लिखत गरी दिएकोमा हालसम्म नबुझाएकाले साँवा व्याज रु. ३१,०४१।२९ भराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र।
३. मैले कर्णेल गजराजंगको जग्गा जोतेको सर्वे हुँदा सो जग्गा पशुपतीलालले लिएछ र निज धनी म मोही भएकाले मोहीको हैसियतले सालसालै जग्गा जोती मोही भएको जग्गामा २०२४ सालदेखि घरधुरी खडा गरी आएको कुत बुझाएको भर्पाई लिने दिने चलन थिएन । २०३९ सालको कुत र मोही निष्काशनलाई दिएको मुद्दा २०४०।११।२९ मा दावी नपुग्ने ठहरी फैसला भएको र पत्नी पूर्ण देवीले दिएको लेनदेन मुद्दा २०४३।२।१९ मा डिसमिस भएको र २०४२।४३ र २०४४ को कुत भू.सु.का.मा धरौट राखेको छु जान पहिचान नभएको फेरादीबाट रुपैयाँ लिई लिखत गरेको छैन । सक्कल लिखत हेर्ने पाएका वखत उजुर बयान गर्ने हक सुरक्षित हुँदा दाबीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. पशुपतीलाले कुत बुझाउँदा आफू देखा नपरी मेरो लिइरहेको लिफामा लेखक वस्ने साक्षी मिलाई वादी समेत मिली लिफामा खडा गरी जालसाज गरेको भन्ने समेत व्यहोराको प्रतिवादीको वारेसको वयान ।
५. रुपैयाँ लि लेखत केरिए ठाउँ समेतमा सही छाप गरी दिएको सद्दे लिखत हो । पशुपतीलाल मेरो भिन्न भएका काका हुंदा निजले लिफामा मेरो नाउंमा साहु गराई लेखत खडा गर्ने कारण छैन लिखन सद्दे हो भन्ने समेत व्यहोराको वादीको वयान ।
६. म र वादी काका भतिजा नाता भए पनि भिन्न छौं मैले लिफामा खडा गराएको होइन के कहाँ लेखत खडा भयो थाहा छैन भन्ने समेत व्यहोराको पशुपतीलालको बयान ।
७. पहिले परेको सहीछापमा व्यहोरा लेखी तयार भएको पुष्टि हुन आएकोले लिफामा व्यहोरा लेखी जालसाजबाट लिखत तयार भएको ठहर्छ र लिखत नै जालसाजबाट तयार भएको ठहरेकाले साँवा व्याज भराई पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको २०४६।१२।३० को फैसला ।
८. काका पशुपतीलालले किर्ते गरेको नठहराएको कुरामा विपक्षीले चित्त बुझाई बस्नु भएकोबाट विपक्षीबाट काका पशुपती लालले लिफा लिएको थिएन छैन भन्ने कुरा फैसलाबाटै प्रष्ट भएको र शुरु अदालतले तथ्य विपरीत मैले किर्ते गरेको ठहराई मलाई र लिखत साक्षीलाई सजाय गराएको सर्वथा कानून विपरीत हुँदा शुरु फैसला बदर गरी बादी दावी तथा पुनरावेदन जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।
९. रेखा तथा लेखा विशेषज्ञलाई साक्षीको रुपमा अदालतमा उपस्थित गराई पाउँ भन्ने पुनरावेदकले आफ्नो पुनरावेदनमा जिकिर लिएको देखिएको प्रमाण ऐन, २०३१मा त्यस्तो राय दिने व्यक्तिलाई साक्षीको रुपमा अदालतमा उपस्थित गराउने व्यवस्था भएकै देखिएकोले रायदिने व्यक्ति रेखा तथा लेखा विशेषज्ञलाई साक्षीको रुपमा सम्परीक्षण गराउन पुनरावेदकलाई तारेख तोकी र विपक्षीले पनि जान मन्जुर गर्दछन् गर्दैनन् कागज गराई तारेख तोकी साक्षी सम्परीक्षण गराई पठाई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०४८।९।७ को आदेश ।
१०. सम्बन्धित प्रमाणहरुको मूल्यांकन गरी भएको शुरु मोरङ जिल्ला अदालतको फैसला मुनासिव हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०४९।७।२४ को फैसला ।
११. लिखतको प्रकृतिबाट लिफामा व्यहोरा लेखिएको कुरा प्रमाणित हुन सक्दैन । लिखतको पेटबोलीमा केरिएको ठाउँमा लागेको ल्याप्चे छापलाई किर्ते भनी दावी गर्न नसकेको साथै विशेषज्ञले आफ्नो राय प्रतिवेदनमा पनि पेटबोलीमा लागेको ल्याप्चे छापलाई अन्यथा भन्न नसकेको, एउटा विशेषज्ञको राय स्पष्ट नभएमा अर्को विशेषज्ञबाट पनि लिखतको परीक्षण गराउन सकिने भनी ०४५ को फौ.पु.नं. ५० को रुक्मीणी वि. बावुकला भएको किर्ते मुद्दामा स.अ.बाट कानूनी सिद्वान्त समेत प्रतिपादन भएको अवस्थामा त्यसतर्फ विचार नै नगरी पुनरावेदन अदालतले गरेको फैसला प्रत्यक्षतः त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालतको फैसाल दोहोर्याई हेरी पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन ।
१२. लिइरहेको लिफामा जालसाजी गरेको भन्ने कुरा अन्य आधार प्रमाणबाट समर्पित भैरहेको देखिनु पर्छ । रेखा विशेषज्ञको रायबाट मात्र जालसाजी ठहराउँदा जालसाजीको व्याख्यात्मक त्रुटी हुन जाने भएबाट शुरु मोरङ जिल्ला अदालतबाट जालसाजी ठहर्याई गरेको फैसलालाई सदर गरेको पु.वे.अ विराटनगरको मिति २०४९।७।२४ को फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अन्तर्गत व्याख्यात्मक त्रुटी रहेको देखिँदा मुद्दा दोहोर्याई हेरिनुपर्ने देखिएबाट दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ, नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५३।९।४ को आदेश ।
१३. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट विद्वान अधिवक्ता श्री सर्वज्ञलाल श्रेष्ठ र विपक्षी प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराईले गर्नु भएको बहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा विपक्षी गंगाकुमार दनुवारले मिति २०३८।९।१८ गतेका दिन रु.१९,०६६।५० लिई कपाली तमसुक लेखी दिएकोमा सो रुपैयाँ नबुझाएकोले साँवा व्याज भराई पाउँ भन्ने वादीको मुख्य दावी रहेको देखिन्छ । लिखितको शिरमा लगाइएको पहिलो दुवै हातको दुवै बुढी औंलाको ल्याप्चे सहीछाप प्रष्ट नभएकोले पुनः दुवै हातको चार थान ल्याप्चे सहीछाप प्रष्ट नभएकोले सो लिखतको पुछारमा पुनः दुवै हातको दुवै बुढी औंलाको ल्याप्चेछाप लगाइएको र लिखतको पुछारमा पनि दुवै हातको वुढी औंलाको ल्याप्चे सहीछाप गरी लिखत गरी दिएको भन्ने कथन फिरादमा उल्लेख भएको पाइन्छ । मैले फिरादीबाट रुपैयाँ लिएको छैन । झुठ्ठा उजूर गरेको हो । सक्कल लिखत हेर्न देख्न पाएका वखत अ.वं. ७८ नं. बमोजिम उजूर बयान गर्ने हक सुरक्षित नै रहेको छ भन्ने प्रतिवादी जिकिर प्रतिवादीको रही सो कागज सुनाउँदा रुपैयाँ लिई लिखत गरिदिएको हैन, लिखतको कारणी मिति पुछारको र केरिएका ठाउँ समेतको ल्याप्चे सही छापहरु मेरै हो भन्ने बयान गरी रुपैयाँ लिई लेखत भएको नभै लिफामा लेखि जालसाजीपूर्ण तरिकाले तयार गरेको भन्ने बयान जिकिर निजले लिएको पाइन्छ । लिखत लिफामा लेखिएको भन्ने विशेषज्ञको राय समेत रहेको भन्ने आधारमा दावी नपुग्ने ठहर पुनरावेदन अदालत समेतबाट भएको छ । मुद्दाको तथ्यगत विश्लेषण गर्दा लिखतमा लागेको सही छापको व्यहोरालाई प्रत्यर्थी प्रतिवादीले स्वीकार गरी रहेको अवस्था एकातिर छ भने अर्कोतिर लिखतमा केरिएको ठाउँको ल्याप्चे र कारणीको ल्याप्चे सही आफ्नो हो भन्ने तथ्यलाई समेत स्वीकार गरेको देखिन्छ । साथै वादीले फिराद लेखमा ल्याप्चे स्पष्ट नभएकोले पुनः लगाइएको भनी लिएको जिकिरलाई प्रत्यर्थी प्रतिवादीले खण्डन गर्न सकेको अवस्था पनि देखिदैंन । जहाँसम्म लिफामा तयार भएको भन्ने कथन छ लिफामा कारणीको हस्ताक्षरसम्म हुन्छ तर त्यसमा लिखतको व्यहोरा उल्लेख भएको हुँदैन । लिखत नभएको अवस्थामा केरमेट हुने र त्यसमा सहीछाप हुने भन्ने अवस्था आउँदैन लिखतको व्यहोरा थपघट केरमेट भै सो केरमेटमा कारणीको सहीछाप परेको छ भने लिखत मौकैमा तयार भएको मान्नु पर्ने हुन्छ । तसर्थ व्यहोरा उल्लेख गरी केरमेटमा सहीछाप समेत भएको कागजलाई लिफाको संज्ञा दिन मिल्दैन । पक्ष स्वयंले स्वीकार गरेको विषयलाई विशेषज्ञको रायको आवश्यकता सामान्य अवस्थामा पर्दैन । लिफा भनी जिकिर लिए पनि माथि उल्लेख भए बमोजिम केरमेटमा सहीछाप रहेको, लिखतको मिति बन्दमा दुवै ल्याप्चे उपर ल्याप्चे परेको र लिखत मुनिको सहीछाप उपर अर्को सहीछाप माथि परि रहेको देखिँदा लिफामा लिखत खडा गरेको भन्न मिलेन। लिखत दावी अनुरुपकै कपाली देखिँदा माँग बमोजिम साँवा व्याज भराई दिनु पर्नेमा जालसाजबाट लिखत तयार भएको ठहर्याई वादी समेतलाई सजाय गर्ने गरी गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला गल्ती देखिँदा उल्टी हुन्छ । वादी दावी बमोजिम प्रतिवादीबाट वादीले साँवा र कानून बमोजिम पाउने व्याज भराई लिन पाउने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
पुनरावेदक वादी सर्वज्ञलाल श्रेष्ठ के माथि इन्साफ खण्डमा लेखिए बमोजिम साँवा व्याज भरी पाउने ठहरेकाले लिखत मिति २०३८।९।१८ बाट फैसला मिति २०५८।३।१८ सम्मको रु.३७,१७९।६७ व्याज हुने भए पनि साँवा बराबरको मात्र व्याजभरी पाउने हुँदा साँवा रु.१९,०६६।५० र सो को बराबर रु.१९०६६।५० व्याज समेत जम्मा रु.३८,१३३।०० (अठतीस हजार एकसय तेतीस मात्र) प्रतिवादी गंगादेवीबाट वादीले भराई लिन पाउने हुँदा सो सावाँ व्याज प्रत्यर्थी प्रतिवादीबाट भराई पाउँ भनी कानूनका म्यादभित्र पुनरावेदक वादीको दरखास्त पर्न आए कानूनको रीत पुर्याई भराई दिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखी पठाई दिनु ..... १
पुनरावेदक वादी सर्वज्ञलाल के माथि इन्साफ खण्डमा लेखिए बमोजिमको साँवा ब्याज भराई पाउने ठहरेकोले यी वादीले फिराद गर्दा शुरु जि.अ.मा राखेको कोर्ट फि रु.१,२०१।२३, पुनरावेदन गर्दा तत्कालीन कोशि अंचल अदालतमा राखेको कोर्ट फि रु.१८०।२० र पुनरावेदन अदालतको फैसला दोहर्याउने निस्सा प्रदान भए पश्चात यस अदालतमा राखेको कोर्ट फि रु.१८०।२० समेत जम्मा कोर्ट फि रु.१,५६१।६३ पैसा प्रत्यर्थी प्रतिवादीबाट भराई लिन पाउने हुँदा सो कोर्ट फि भराई पाउँ भनी कानूनका म्याद भित्र यी वादीको दरखास्त परे प्रत्यर्थी प्रतिवादीबाट भराई दिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखी पठाई दिनु ....२
पुनरावेदक वादी सर्वज्ञलाल के माथि इन्साफ खण्डमा लेखिए बमोजिम विगो रु.१९,०६६।५० र सो को व्याज रु.१९,०६६।५० समेत भरी पाउने ठहरेकोले निजले फिराद गर्दा व्याज रु.११,९७४।७९ पैसाको मात्र कोर्ट फि राखेको देखिँदा भरी पाउने ठहरेको थप व्याज रु.७,०९१।७१ पैसाको हुने नपुग कोर्ट फि रु.३०३।६६ पैसा विगो भराउँदाका वखत पुनरावेदक वादीबाट दाखिला गर्न लगाई असूल गर्नु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखी पठाई दिनु ...... ३
पुनरावेदक वादी सर्वज्ञलाल श्रेष्ठ के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी बमोजिम लिखत सद्दे ठहरी वादी दावी बमोजिम वादीले साँवा व्याज भराई पाउने ठहरेकोले शुरु जिल्ला अदालतको फैसलाको तपसिलको देहाय ३ ले कसेको जरिवानाको लगत कायम नरहने हुँदा कट्टा गरी दिनु भनी लेखी पठाई दिनु र शुरु फैसलाले लागेको जरीवाना रु.९,५३३।२५ र.नं. १५९९ मिति २०४७।१।४३ मा मोरङ जिल्ला अदालतमा बुझाएको देखिँदा सो र पुनरावेदन अदालतको फैसलाको तपसिलको देहाय १ बमोजिम थप भएको १०% जरिवाना समेत नलाग्ने हुँदा सो को लगत कट्टा गरी दिनु भनी र सो १०% जरिवाना रकम यस अदालतमा दोहोर्याई पाउँ भन्ने निवेदन दर्ता गर्दा मिति २०४९।९।३ मा दाखेल गरेको देखिँदा सो दुवै जरिवाना निजले फिर्ता पाउने हुँदा कानूनका म्याद भित्र फिर्ता पाउँ भनी यी वादीको दरखास्त परे नियमानुसार गरी फिर्ता दिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखी पठाई दिनु .............. ४
माथि इन्साफ खण्डमा लेखिए बमोजिम लिखत सद्दे ठहरेकोले पुनरावेदन नगर्ने लिखत साक्षीहरु छत्रपति पोखरेल र गोविन्द चौधरी समेतको हकमा अ.वं. २०५ नं. बमोजिम सजायँ नहुने हुँदा निजहरुका हकमा शुरु फैसलाको तपसिलले राखेको जरीवानाको लगत कट्टा गरिदिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखि पठाई दिनु ...५
माथि इन्साफ खण्डमा लेखिए बमोजिम लिखत सद्दे ठहरेकोले लिखत जालसाजी भन्ने प्रत्यर्थी प्रतिवादीलाई दण्ड सजायको अन्तिम वाक्यांशको व्यवस्था अनुसार सजाय गर्न परेन नियमानुसार गरी मिसिल बुझाई दिनु ................६
उपर्युक्त रायमा सहमत छु ।
न्या. केदारप्रसाद गिरी
इति संवत् २०५८ साल असार १८ गते रोज २ शुभम् .............