निर्णय नं. २४६२ - उत्प्रेषण

निर्णय नं. २४६२ ने.का.प. २०४२ अङ्क ८
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४२ सालको रि.नं. २२९६
विषय : उत्प्रेषण ।
निवेदक : जि.दाङ हेकूलो गा.पं.वा.नं.७ बस्ने जगवीर राउत ।
विरुद्ध
विपक्षी :उच्चस्तरीय समिति दाङ तुल्सीपुर ।
जि.दाङ हेकूलो गा.पं.वा.नं.७ मनिकापुर बस्ने खिल्लत बहादुर खत्री ।
आदेश भएको मिति:२०४२।८।३।२ मा
कति घरबारीको लागि जग्गा छुट्याए बेश हुन्छ भनी विपक्षी समितिले तोक्न सक्ने भन्ने अधिकार प्राप्त गरेको नपाइने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ताश्री वासुदेवप्रसाद ढुंगाना र विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी तर्फबाट :विद्वान सरकारी सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट
उल्लेखित मुद्दाःX
आदेश
न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ :
२. विपक्षी उच्चस्तरीय समितिले मिति ०४०।५।१३ मा विपक्षीलाई मेरो १–८–१७ जग्गामा मोहियानी कायम ठहर्याएको निर्र्णय उपर मैले यस सम्मानीत सर्वोच्च अदालतमा निवेदन गर्दा सो निर्णय बदर गरी कानुन बमोजिम पुनः निर्णय गर्नु भनी परमादेश समेत जारी भई गएकोमा पुनः निर्णय गरी आए विपक्षी समितिले अमिन खटाई बुझिएकोमा मैले २ कठ्ठा जग्गा ज्ञानबहादुर वलीलाई दिई बाँकी रहेको मेरो जग्गा १–९–७–
को माँझमा मेरो घर पर्दछ भन्ने अमिनले नक्शा प्रतिवेदन दाखिल गरेकोले कि.नं.४७० को मेरो नामको जग्गा मध्ये घरले चर्चेको ०–२–१० बाहेक गरी ज.वि.१–८–१७–
धुर मोही कायम हुने ठहर्छ भनी विपक्षी समितिले २०४१।१०।२४ मा गरेको फैसला निम्न लेखिएबमोजिम गैरकानुनी हुँदा बदर योग्य छ भन्ने उल्लेख गरेको ।
३. जिकिर : विपक्षी समितिले गरेको नक्शा मुचुल्कामा विवादित जग्गामा मेरो घर उरिम गोठ छ भन्ने प्रष्ट खुलेको छ मैले २ कठ्ठा जग्गा यज्ञबहादुरलाई दिई बाँकी रहेको १–९–१७– जग्गाको माँझमा नै मेरो घर छ यसरी विपक्षीले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी तजविजले घरबारीलाई भनी ०–२–१० छुट्याइएकोमा अ.बं.३५ नं.ले बदरभागी छ विपक्षी खिल्लतबहादुरले मेरो जग्गामा मोहियानी दावी गर्दा निजले मोहीमा कति जग्गा कमाएको छ सो हेरिनु पर्दथ्यो सो हेरिएन । विपक्षीले मोहीमा ४ विगहा भन्दा बढी जग्गा कमाएकोले भूमिसम्बन्धी ऐनको दफा ८ को प्रष्ट विपरीत छ । मोहियानी ठहर गरेको जग्गा मेरो घरबारीको जग्गा हो भन्ने प्रष्ट भई सकेपछि घरबारीमा मोही लगाउन नपाउनेमा विपक्षी समितिले मोहियानी कायम गरेको पूर्ण रुपमा गैरकानुनी छ अतः विपक्षी समितिले माथि लेखिए बमोजिमको कानुनी त्रुटि गरी गरेको फैसलाले निवेदकको संवैधानिक हक हितमा असर परेको र अन्य उपचारको अभावमा संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारीगरी उक्त विपक्षी समितिको मिति ०४१।१०।२४ को निर्णय बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको आदेश ।
५. ०३१ सालदेखि मोहीमा जोती आएको जग्गाको केही भागमा घर बकस गराई मोहीलाई हकबाट वञ्चित गराई पुरै कित्ता घरबासमा परिणत गर्ने प्रयास गरेको देखिन आएको र उसमा पनि निजको वारिसको रोहवरमा भएको नक्शा मुचुल्काबाट निजको घरले चर्चेको जि.वि.०–२–१० बाहेक अन्य जग्गामा मोहियानी ठहर गरेको कानुनसंगत नै छ । ३ विगहा सम्मको जग्गा घरबासको लागि राख्न पाउने भन्ने व्यवस्था हदबन्दीको लागि हो सोको गलत अर्थ रिट निवेदकले लगाएको प्रष्ट छ । मोहीले ४ विगहा भन्दा बढी जग्गा कमाएको देखिएकोमा कानुन बमोजिम हुने नै हुँदा ४ विगहा भन्दा बढी जग्गा मोहीले कमाएको भन्ने निवेदन जिकिर पनि ग्राहीय छैन निवेदकले मोहीलाई मोहीहकबाट वञ्चित गर्नको लागि घरबारी भनी नामाकरण गरेका त्यस्तो जग्गालाई घरबारी भन्न मिल्दैन अतः यस समितिबाट कानुन बमोजिम भएको निर्णयले विपक्षको कानुनी हकहितमा असर परेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत उच्चस्तरीय समिति दाङको लिखिन जवाफ ।
६. साविक जग्गाधनीको जग्गा भए देखि नै मैले अधियामा कमाई आएको हुँ हालको जग्गाधनीले पनि जग्गा खरीद गर्दा घर जग्गा भनी खरीद गर्नु भएको छैन अतः जग्गाधनी हेरफेर हुँदैमा मोहीलाई असर पर्न सक्ने होइन मैले मोहीमा कमाएको जग्गा घर जग्गा होइन अतः सरजमीन समेतले मैले वास्तविक मोहीको हैसियतमा उक्त जग्गा कमाएको छु भनी प्रष्ट बकी लेखिदिएको समेत आधार प्रमाणबाट मलाई मोही कायम गर्ने गरेको उच्चस्तरीय समिति दाङको निर्णय न्यायसंगत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत खिल्लातबहादुर खत्रीको लिखिन जवाफ हुलाकद्वारा प्राप्त भएको मिसिल समेत रहेछ ।
७. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले र लि.ज.तर्फबाट विद्वान अधिवक्ता श्री हरिहर दाहालले र विपक्षी समिति तर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी सह–न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्टले गर्नु भएको बहस जिकिर समेत सुनियो । मुख्यतयाः निवेदकको माग बमोजिम आदेश जारी हुने हो होइन सो विषयमा निर्णय दिनुपर्ने हुन आयो ।
८. निर्णयतर्फ बिचारगर्दा यसमा मेरो घरबारीको जग्गामा विपक्षीलाई मोहियानी ठहर गर्नेगरेको विपक्षी समितिको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ भन्ने मुख्यतया रिट निवेदकको जिकिर भएको पाइन्छ ।
९. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७ को २(१) मा जग्गावालाले घरबारीको हैसियतले जग्गा राख्न पाउने प्रष्ट व्यवस्था गरेको छ जसमा भित्री मधेश समेत सूम्पूर्ण तराई क्षेत्रमा अथवा भित्री तराई घरबारीको लागि ३ विगहा जग्गा राख्न पाउने र उक्त ऐनको दफा २५ मा भूमिसम्बन्धी ऐन, २०२५ द्वारा संशोधन भएको उपदफा (५) बमोजिम घरबारीको जग्गामा मोही हक प्राप्त हुने छैन भन्ने व्यवस्था गरेको पाइन्छ ।
१०. प्रस्तुत विवादमा रिट निवेदकले विवादित कित्ता जग्गामा घरजग्गा रहेको भनी बयान दिएकोमा विपक्षी समितिले अमिन पठाई बुझेकोमा विवादित कित्ता जग्गामा निवेदकको घरजग्गा रहेको भन्ने नक्शा ट्रेस दाखेल गरेको पाइन्छ र सो विवादित कित्ता जग्गामा निवेदकको घरबारीले चर्चेको रहेछ भन्ने कुरा स्वीकार गरेको र घरजग्गागको लागि ०–२–१० जग्गा छुट्याई बाँकीको जग्गामा मात्र मोहियानी ठहर गरेकोबाट प्रष्ट रुपमा देखिन आएको छ । यस्तो अवस्थामा कति घरबारीको लागि जग्गा छुट्याए बेश हुन्छ भनी विपक्षी समितिले आफूले तोक्न सक्ने भन्ने अधिकार प्राप्त गरेको पाइँदैन । यस्तो स्थितिमा विवादित कित्ता जग्गामा घरबास भएको भन्ने प्रष्ट देखिएकोमा पनि त्यस्तो जग्गामा विपक्षीलाई मोहियानी प्रदान गर्ने गरेको विपक्षी समितिको निर्णय भूमिसम्बन्धी ऐनको विपरीत भएको हुँदा कानुनी भन्न मिलेन अतः विपक्षी समितिले घरबारी जग्गामा विपक्षीलाई मोहियानी ठहर गर्ने गरेको मिति २०४१।१०।२४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल मार्ग ३ गते रोज २ शुभम् ।