शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०७९ - दर्ता बदर समेत

भाग: ४४ साल: २०५९ महिना: असार अंक:

निर्णय नं.७०७९       ने.का.प.२०५९     अङ्क ३/४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ

सम्बत २०५७ सालको बिबिध नं. १३६

फैसला मितिः २०५८।६।१।२

 

मुद्दाः दर्ता बदर समेत ।

 

पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा.वडा नं.२३ पुज्यबहाल टोल ग्वाछे मुगल बस्ने दिक्षितमान श्रेष्ठ समेत

बिरुद्व

विपक्षी/वादीः ऐ.ऐ.बस्ने शुभरत्न शाक्य

 

§  मिति २०१५।१२।१६ को प्रतिबादीहरुको बण्डापत्रमा समेत पश्चिम किल्लामा साझा चोक समेतको घर उल्लेख भएको देखिएको प्रतिबादीहरु बेगल नहुदै सगोलमा रहंदा नै बिवादीत चोकलाई साझा चोक भन्ने नामाकरण गरि मान्यता दिएको सो चोकको वरपरका घर र छिमेकीहरुको साझा प्रयोगमा आएको भन्ने जग्गाको नक्सा प्रकृति र मिसिल संलग्न कागजातबाट देखिएको र बिवादको चोक कसैको एकलौटी निजी चोक भन्ने मिसिल कागजातबाट नदेखिएको अवस्थामा बादी समेतका छिमेकीहरुले प्रयोग गरी आएका भन्ने समेत देखिदा विवादित चोक साझा चोकको रुपमा यथावत कायम हुने ।

(प्र.न. १७)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर

अवलम्वित नजिरः

 

फैसला

          न्या.हरिप्रसाद शर्माः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।१०।६ को फैसला उपर इन्साफ जाँचको लागि परेको बिन्ति पत्रमा दोहोर्‍याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ ।

    २.   का.न.पं.वडा नं.२३ बसन्तपुर दरवार देखि दक्षिणतर्फ रहेको पूर्व ध्रुबमान, दिक्षितमान, नेममान बसि आएको कि.नं.५५८ को घर, पश्चिम गल्ली बाटो उत्तर म शुभरत्नको घर, दक्षिण कुवेर मानन्धरको घर यति ४ किल्ला भित्रको पुण्य बहाल  (चोक) र सो चोक दक्षिणतर्फ रहेको खुल्ला पाटी समेत सार्वजनिक रुपमा भोग चलन गरी आएको उक्त घर चोकको नक्सा समेतबाट प्रष्ट छ। उक्त पुण्य बहालको चोक बिपक्षीहरुको मात्र साझा चोक नभई सबैको साझा नै भएको सो जग्गामा घाम ताप्न समेत सबैले प्रयोग गरी  आएका छन् । यस्तो जग्गा जग्गा नाप जाँच ऐन, २०१९ को दफा २ (च) ले पनि सार्वजनिक भन्ने प्रष्ट छ । उक्त चोक नापीका समयमा बिपक्षीहरुले आफना नाउँमा दर्ता गराई पुर्जा समेत लिएको कुरा मिति २०४२।१।१८ गते नक्कल सारी लिंदा थाहा हुन आएकोले अ.बं.८२ नं.घर बनाउनेको ३ नं. र जग्गा पजनीको १७ नं.,जग्गा मिच्नेको १८ नं.अन्तर्गत नालेस गर्न आएको छु । उक्त कि.नं.५५५ को बिपक्षीहरुले आफ्नो मात्र साझा दर्ता गरेको दर्ता बदर गरि सार्वजनिक जनाई दर्ता गरि सार्वजनिक कायम गरि पाउँ भन्ने समेत व्यहोराको शुभरत्न शाक्यको फिराद पत्र ।

    ३.   बिवादित जग्गा बिभिन्न कित्तामा उल्लेखित गरि नापी भएतापनि सो सम्पूर्ण जग्गा हाम्रो आफ्नो घर कम्पाउण्ड भित्रको एउटै प्लटको निजी हकभोगको जग्गा हो । यो जग्गा बिपक्षीहरुको घर आवतजावतमा समेत नपर्ने हामी मात्र आवतजावत गर्ने जग्गा हो । घर कम्पाउण्ड भित्रको निजी एकलौटी जग्गामा हाम्रो पुर्खाले यो कि.नं.५५६ को पाटी बनाएको  हो । कि.न..५५६ को पाटी बनाई बाँकी रहेको हाम्रो निजी जग्गा कि.नं. ५५५ बाट नापी दर्ता गराएको हुँदा सार्वजनिक भन्न मिल्दैन । नापी उपर बिपक्षीले समयमा नालेस दिन सकेको छैन । धेरै मूल्य पर्नेलाई कम देखाइ कोर्ट फि कम राखेको, ०३८।७।२४ मै हामीले पुर्जा समेत पाएको हुनाले बिपक्षीको हक नपुग्नेमा झुठा दावा गरेको फिरादबाट  फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको नेममान श्रेष्ठ समेत जना ५ को संयुक्त प्रतिउत्तर पत्र ।

    ४.   बादीको एकसरो कथनलाई मात्र आधार लिइ जग्गा नापजांच ऐन, २०१९ को दफा ६ अनुरुप नापी भई दर्ता उसै बखत प्रमाणित भएको प्रतिबादीको नामको जग्गालाई सार्वजनिक चोक भनि प्रतिबादीका नाममा मात्र साझा गरी दर्ता गरि गराए भन्ने बादी दाबी मनासिब देखिदैन । तसर्थ बादी दाबी बमोजिम दर्ता बदर नहुने ठहर्छ । सार्वजनिक दर्ता कायम नहुने भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।

    ५.  मालपोत ऐन, २०३४ को दफा २४ नाप जाँच को दफा ६(५) ले कुनै सार्वजनिक सम्पत्ति वा बस्तु कसैले व्यक्तिगत दर्ता गर्न गराउन नसकिने दर्ता गराएमा त्यसको कानूनी मान्यता नहुने हुँदा बिपक्षीहरुले मिति २०३८।७।२४ मा जग्गाधनी प्रमाणित भएको भन्ने आधारलाई अकाट्य प्रमाण लिन नमिल्नेमा बिपक्षीहरुले गराएको दर्ता गलत कानून सबुद प्रमाण विपरीत भएकोले बदर गरि पाउँ भनि मेरो दाबी नै परि उक्त जग्गा दर्ता सम्बन्धी झगडाको बिषय भइसकेको हुँदा झगडा र बिवादपूर्ण नापी दर्तालाई नै आधार प्रमाण मानी बिवादित जग्गा बिपक्षीको हो भनि फैसला गर्नु देखा देखि गलत हुनाका साथै सन्धि सर्पन बाटो चोक व्यक्तिगत गर्न, हुन दिन मिल्दैन भन्ने घर बनाउने महलको ३ नं.को विपरीतको फैसला बदर गरि, साझा सार्वजनिक कायम गरि पाउँ भन्ने समेत व्यहोराको बादी शुभरत्न शाक्यको पुनराबेदन पत्र ।

    ६.   बिवादित जग्गा प्रतिबादीहरुको मात्र साझा नभई सो को हक लाग्ने सार्वजनिक जग्गा हो भन्ने पुनराबेदक बादीको साक्षी बिष्णु लाल श्रेष्ठ पुन्यलाल श्रेष्ठको बकपत्र ।

    ७.  बिवादित जग्गा बिपक्षी प्रतिबादीहरुको मात्र साझा हक लाग्ने जग्गा हो सबै व्यक्तिहरुले उपभोग गर्न पाउने सार्वजनिक जग्गा होइन भन्ने समेत व्यहोराको प्रतिबादीको साक्षी अमृतलाल श्रेष्ठ र छत्रराज जोशीको छुट्टाछुट्टै बकपत्र ।

    ८.   बागमती अंचल अदालतको मिति २०५४।७।५ को आदेशानुसार बिवादित ठाउँको मिति ०४३।८।१९ र मिति २०४३।९।११ गते नापनक्सा मुचुल्का समेत भएको ।

    ९.   बादी दाबी बमोजिम बिवादित कि.नं. ५५५ को जग्गा प्रतिबादीहरुको नाममा भएको दर्ता बदर भई सार्वजनिक जनी दर्ता कायम हुने मनासिब देखिदा शुरु काठमाडौं जिल्ला अदालतबाट बादी दाबी बमोजिम प्रतिबादीहरुको नापको दर्ता बदर नहुने सार्वजनिक दर्ता कायम नहुने ठहर्‍याई गरेको फैसला नमिलेको हुंदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अंचल अदालतको फैसला ।

    १०.  नापको गठित समितिले समेत कि.नं.५५५ को हाम्रो जग्गा सार्वजनिक ठहर्‍याउन नसकी एकलौटी हक भोगको ठानी कुनै कारवाही नगरेको बिपक्षीले सार्वजनिक भन्ने कुराको कुनै प्रमाण पेश गर्न नसकेको अवस्था हुँदा हुदै बागमती अंचल अदालतले हाम्रो दर्ता बदर गर्ने गरेको फैसला प्रमाण ऐनको दफा २६ को कानूनी व्याख्या सम्बन्धी प्रश्न खडा भएबाट र १९०२ सालको शिलालेखले समेत कि.नं.५५५ को आफ्नै जग्गा भनि प्रष्ट देखाएको कुरामा सो को मूल्याङ्कन नै नगरी अंचलबाट भएको फैसलामा अ.बं.१८४(१) र १८५ को त्रुटि हुँदा उक्त फैसला बदर गरि हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिबादी नेममान श्रेष्ठ समेतले मध्यमान्चल क्षेत्रीय अदालतमा दिएको पुनराबेदन पत्र ।

    ११.  कि.न.५५५ को जग्गा प्रतिबादीहरुका नाउँमा भएको दर्ता बदर भै सार्वजनिक हुने ठहर्‍याएको बागमती अंचल अदालतको फैसला मुनासिब ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

    १२.  काठमाडौं नगरपालिका वडा नं.२३ बशन्तपुर दरवार देखि दक्षिण तर्फ रहेको पुर्व ध्रुबमान, दिक्षितमान, नेममान, बसी आएको कि.नं.५५८ को घर पश्चिम गल्ली बाटो, उत्तर शुभरत्नको घर दक्षिण कुवेर मानन्धरको घर यति चार किल्ला भित्रको पुण्यबहाल चोक र सो देखि दक्षिण पटिृ रहेको खुला पाटी सार्वजनिक रुपमा भोग चलन गरि आएकोमा नापीका समयमा बिपक्षीहरुले आफना नाउँमा साझा दर्ता गराई पुर्जा समेत लिएको सो कि.नं.५५५ को चोकलाई सार्वजनिक कायम गरी पाउँ भन्ने नालेस गरेकोमा फिराद दाबी खारेज गरी पाउँ भनि प्रतिउत्तर पर्दा बादी दाबी खारेज भएकोमा बिपक्षीले बागमती अंचल अदालतमा पुनराबेदन दर्ता जग्गाको बास्तबिक भौतिक स्थितिबाट समेत सार्वजनिक देखिन आएको आधार दर्शाइ दर्ता बदर भई सार्वजनिक कायम हुने भनि शुरुको फैसला उल्टी भयो । सोमा चित्त नबुझि बिपक्षीहरुको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनराबेदन पर्दा अंचल अदालतले लगाएको बुँदा प्रमाण समेतबाट बादी दाबी बमोजिम कि.नं.५५५ को जग्गा प्रतिबादीहरुका नाउँमा भएको दर्ता बदर भई सार्वजनिक कायम हुने ठहर्‍याएको बागमती अंचल अदालतको फैसला मुनासिब ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको त्रुटिपुर्ण फैसला दोहोर्‍याई इन्साफ जाँच गरि दिनु भन्ने सर्बोच्च अदालतको नाममा हुकुम प्रमाङ्गी बक्स पाउँ भनि पर्न आएको निबेदन पत्र ।

    १३.  बकस भै आएको हुकुम प्रमाङ्गी बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४५।१०।६ मा भएको फैसलामा इन्साफ मिले नमिलेको के रहेछ भन्ने तर्फ छानबिन गरि हेर्दा, २०३४ सालको नापीका बादीका बाबु मानरत्नले कि.नं.५५४ मा पेटी समेत नापी गराई अस्थाई निस्सा लिएको र त्यस्तै कि.नं.५५५ को जग्गा साझा चोक भनि नापी भएकोमा सो बखत कुनै बिवाद परेको देखिदैन । प्रतिबादीहरुका बीच मिति २०१९।१२।१६ मा  भएको बण्डापत्रमा बिवादको चोक साझा राख्ने भनि उल्लेख भएको पाइन्छ । सम्बत १९०२ को शिलालेखमा आफ्नो जग्गामा गुठी कायम गर्ने भन्ने समेत उल्लेख भएबाट कि.न. ५५५ जग्गा गुठीयारका सन्तानहरुको साझा कायम गर्नुपर्नेमा सार्वजनिक कायम गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिन नआएकोले दोहोर्‍याई हेर्नु पर्ने हुँदा प्रस्तुत मुद्दा संयुक्त इजलासको लगतमा दर्ता गरि बिपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालतको २०५३।४।११ को आदेश ।

    १४.  नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी आज यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनराबेदक प्रतिबादी तर्फबाट बिद्वान अधिवक्ता शम्भु थापाले बिवादित चोकको सम्बन्धमा प्रतिबादीहरुका पुर्खाले बि.स.१९०२ सालको शिला लेख लेखाई पुर्खाले आफना सन्ततीहरुको लागि छोडेको पाटी र चोकलाई सार्वजनिक गर्न मिल्दैन । मध्यमाञ्चल क्षेत्रीय अदालतको त्रुटिपूर्ण फैसला बदर हुनुपर्छ भनि र प्रत्यर्थी बादी तर्फबाट बिद्वान बरिष्ट अधिवक्ता सर्वज्ञरत्न तुलाधरले बिवादित जग्गा प्रतिबादीले आफ्नो तिरो भित्रको भन्न सकेको छैनन् । जग्गा नाप जाँच ऐन, २०१९ को दफा २ (च) बमोजिम बिवाद परेको जग्गा साझा प्रकृतिको नदेखिई सार्वजनिक देखिन्छ । सार्वजनिक जग्गा दर्ता गरेमा मालपोत ऐन, २०३४ मा स्वतः बदर हुने कानूनी व्यवस्था हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर थामी पाउँ भनि बहस गर्नु भयो ।

    १५.  बिद्वान अधिवक्ताको उल्लेखित बहस सुनि मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ, निर्णय दिनु परेको छ ।

    १६.  निर्णयतर्फ बिचार गर्दा, काठमाडौं नगरपालिका वडा नं.२३ को बसन्तपुर दरवार देखि दक्षिणतर्फ रहेको पूर्व ध्रुबमान, दिक्षितमान, र नेममानको कि.नं.५५८ को घर, पश्चिम गल्ली बाटो, उत्तर बादी शुभरत्नको घर, दक्षिण कुवेर मानन्धरको घर, यति चार किल्ला भित्रको कि.नं.५५५ को पुण्य बहाल (चोक) र सो देखि दक्षिणतर्फ रहेको खुल्ला पाटी समेत सार्वजनिक रुपमा भोगचलन गरि आएकोमा सो चोक समेत बिपक्षीहरुले आफ्नो मात्र साझा कायम गरि नापी गराई दर्ता गराएकोले दर्ता बदर गरि पूर्ववत सार्वजनिक कायम गरि पाउँ भन्ने बादी दाबी र १९०२ साल को शिलापत्रमा उल्लेखित पाटी हाम्रो पुर्खाले बनाएको र सो निजी पाटी नजिकको कि.नं.५५५ हाम्रो आफनै निजी हकको पुर्खौली जग्गालाई शिलापत्रको प्रतिकूल सार्वजनिक भन्न नमिल्ने हुंदा दर्ता बदर हुने अवस्था छैन भन्ने समेत प्रतिउत्तर जिकिर भै बिवाद परेको प्रस्तुत मुद्दामा दर्ता बदर नहुने ठहर्‍याएको शुरु फैसला उल्टी हुने ठहराई सार्वजनिक कायम हुने ठहराएको बागमती अञ्चल अदालतको फैसला मुनासिब ठहरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४५।१०।६ को फैसला भए उपर प्रतिबादीहरुको मुद्दा दोहोर्‍याउन पाउँ भन्ने बिन्ति पत्र परि सो बिन्तिपत्रको निबेदन यस अदालतमा प्राप्त भै संयुक्त इजलासबाट निस्सा प्रदान भई पेश हुन आएको देखियो ।    

    १७.  बिवादित पुण्य बहाल (चोक) मा टोलका मानिसहरु जाडोको समयमा घाम ताप्ने, भोज खाने खुवाउने बच्चाहरु खेल्ने समेत गरि प्रयोग गरी आएको सार्वजनिक जग्गा हो भनि दाबी बादीले लिएको र प्रतिबादीहरुले आफना पुर्खाले राखेको शिलालेखमा आफ्नो घर आफनै घरको नजिक श्री ३ शिव मूर्ति श्री ३ नारायण मूर्तिको प्राण प्रतिष्ठा गरेर यसको धर्मशालामा प्रत्येक बैशाख शुक्ल पञ्चमीको दिनमा होम गर्न समेत स्थापना गरि आएको बिवादको जग्गा हाम्रो स्ववासी घरको पश्चिम पटिृको बाँकी जग्गा हो भन्ने समेत प्रतिबादीले जिकिर लिएको देखिन्छ । अदालतबाट मिति ०४३।९।११ मा भै आएको नकसा कुण्डली हेर्दा, बिवादको कि.नं.५५५ लाई न.नं.१ को चोक, सो चोकको पूर्वमा न.नं.५, , ७ क्रममा प्रतिबादी दिक्षित मान, मथुरा देबी, मनहरि देबी, मंगलादेबी र नेममान श्रेष्ठको घर पेटी, पश्चिममा न.नं.९ सार्वजनिक बाटो, उत्तरमा बादी शुभरत्नको न.नं.३ को दक्षिण तर्फको ढोका सहितको घर, र दक्षिणमा प्रतिबादीको निजी पेटी र पाटी भनि नक्सामा देखाएको पाइन्छ । बिवादित जग्गाको उत्तरमा बादी शुभरत्नको न.नं.३ को दक्षिण तर्फको ढोका सहितको घर रहे भएकोमा प्रतिबादीले स्वीकार गरेको देखियो । बादीको न.नं.३ को घर र पेटी बिवादित न.नं.१ को चोकलाई छुट्याउने कुनै रेखाङ्कन रहे भएको नक्सामा देखिदैन । बादी शुभरत्नले निजको घर अगाडिको न.नं.४ को पेटीलाई सार्वजनिक भनेको र प्रतिबादीले सो पेटीलाई कि.नं.५५४ बादीको पेटी भनि नक्सा मुचुल्कामा लेखाएको समेत देखिन्छ । विवादित न.नं.१ को चोकतर्फ बादी प्रतिबादीहरुका घरहरु जोडिई घर र ढोकाहरु चोकतर्फ फर्केको नक्साबाट प्रष्ट देखिन्छ । प्रतिबादीले आफ्नो प्रतिउत्तर साथ पेश गरेको बि.सं.१९०२ सालको शिलालेखको भाषानुवाद हेर्दा, मदु टोल पिंडेबहाल यान्ता गृहका अनन्तनारायण भारोले आफ्नै जग्गा आफनै घरको नजिकै श्री ३ शिवमूर्ति श्री ३ नारायण मूर्तिको प्राण प्रतिष्ठा गरेको भन्ने सम्म उल्लेख भएको तर प्रतिबादीहरुले मात्र निजी प्रयोगको  लागि राखिएको पाटी भन्ने उल्लेख भएको देखिदैन । प्रतिबादीहरुले पनि आजसम्म हामीले मात्र प्रयोग गरि आएको भन्न सकेको पाइदैन । बादीले सार्वजनिक कायम गरीपाउँ भन्ने दाबी लिएतर्फ जग्गा नाप जाँच ऐन, २०१९ को दफा २(च) हेर्दा, सार्वजनिक जग्गा भन्नाले कुनै व्यक्ति वा परिवार मात्रको नभै सबैले सार्वजनिक रुपमा उपयोग गर्न पाउने बाटो गौचर, ताल, मसानघाट र अरु यस्तै जग्गालाई सम्झनु पर्दछ भन्ने समेत उल्लेख भै सार्वजनिक जग्गाको परिभाषा गरेको पाइन्छ । सो विवादित जग्गा उक्त परिभाषा भित्र परेको जग्गाको प्रकृतिबाट देखिन आउंदैन । तर बिवादको चोक पेटीसंग जोडिएको चोक पेटी बादी र प्रतिबादी समेतका टोल छिमेकीहरुले प्रयोग गर्न पाउने र निजकै घर    नजिकको कि.नं.५५०, ५५८, ५५९ को नजिकै पश्चिम दक्षिण कुनामा रहेको कि.नं.५५६ मा मूर्ति स्थापना गरेको नक्सा मुचुल्काबाट र सर्भेको नक्सा ट्रेसबाट समेत देखिदा सो न.नं.२ को कि.नं.५५६ मा प्रतिबादीको पुर्खाले गुठी स्थापना गरि त्यसको संचालनार्थ जग्गा समेत छुट्याई श्राद्व र होम आदि गर्ने भनि उल्लेख  भएको देखिन्छ । तर न.नं.१ को कि.नं.५५५ को जग्गाको सम्बन्धमा सो शिलालेखमा कुनै व्यहोरा उल्लेख भएको पाइदैन र मिति २०१५।१२।१६ को प्रतिबादीहरुको बण्डापत्रमा समेत पश्चिम किल्लामा साझा चोक समेतको घर उल्लेख भएको देखिएको यी प्रतिबादीहरु बेगल नहुदै सगोलमा रहंदा नै बिवादीत चोकलाई साझा चोक भन्ने नामाकरण गरि मान्यता दिएको देखिन्छ । सो चोकको वरपरका घर र छिमेकीहरुको साझा प्रयोगमा आएको भन्ने जग्गाको नक्सा प्रकृति र मिसिल संलग्न कागजातबाट देखिएको र बिवादको चोक कसैको एकलौटी निजी चोक भन्ने मिसिल कागजातबाट नदेखिएको अवस्थामा बादी समेतका छिमेकीहरुले प्रयोग गरी आएका भन्ने समेत देखिदा बिवादको साझा चोकको रुपमा यथावत कायम हुने प्रकृतिको देखिएकोले बादी प्रतिबादी समेतले प्रयोग गर्न पाउने पुर्ववत चोक साझा चोक कायम हुने ठहर्छ । सार्वजनिक चोक भन्ने बादी दाबी पुग्न सक्दैन । सार्वजनिक कायम गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला सो हद सम्म उल्टी हुन्छ । प्रतिबादीको मात्र साझा कायम गरी दर्ता गर्ने गरेको दर्ता  बदर हुन्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठ

                                     

इति सम्बत २०५८ साल आश्विन १ गते रोज २ शुभम............................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु