निर्णय नं. २४८५ - जग्गा खिचोला

निर्णय नं. २४८५ ने.का.प. २०४२ अङ्क ९
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको दे.फु.नं. ६५५
मुद्दा : जग्गा खिचोला ।
पुनरावेदक/प्रतिवादी:ल.पु.जि.ल.पु.नगर पंचायतवडा नं.११ मंगलपण्डाछे बस्ने इन्द्रगोपाल श्रेष्ठ ।
विरुद्ध
विपक्षी/वादी:ऐ. वडा नं. १८ पूर्ण चण्डी नलाटोल बस्ने प्रेम बहादुर श्रेष्ठ ।
ऐ.ऐ बसने वखत बहादुर श्रेष्ठ ।
फैसला भएको मिति:२०४२।५।११।५ मा
वादीको नालेश जग्गा मिच्नेको १८ नं.को हदम्याद भित्र परेको नभई हदम्याद नघाई परेको देखिँदा त्यस्तो नालेश उजूरीबाट कारवाही गरी हेर्न नमिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदक/प्रतिवादी तर्फबाटःX
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।
२. ल.पु.जि.ल.पु.नगर पंचायतवार्ड नं.१८ बलाटोलको पूर्व कृष्णबहादुर, राधादेवीको केववारी समेत पश्चिम गल्ली बाटो र कृष्णबहादुरकै घर किलास उत्तर साझा चोक दक्षिण मुल बाटो यति ४ किल्ला भित्रको केववारीमा घर बनाउन पाउँ भनी ल.पु.नगर पंचायतमा नक्शा दर्खास्त दिएकोमा विपक्षी गंगामायाले मेरो हक भोगको घर भत्की पाताल भएको भनी र इन्द्र गोपालले बण्डापत्रबाट अंश भागमा परेको भनी उजूरी दर्खास्त दिएको हुँदा नगर पंचायतले तेरो मेरो देखिएकोले म्यादभित्र अदालतमा उजूर गर्न जानु अदालतबाट निर्णय भएबमोजिम पास हुनेछ भनी ०३५।२।१८।४ मा पर्चा गरी सुनाएकोमा कसैले पनि अदालतमा उजूर गर्न नगए तापनि मेरो दर्खास्तमा उजूर गरेपछि अदालत जानु पर्ने कर्तव्य पनि विपक्षकै थियो । तर माथि उल्लिखित ४ किल्ला भित्रको जग्गामा २०३६।२।१७ गते आई म प्रेमबहादुरको नाउँमा भएको धारा झिकी अनेत्र लगी राख्न यो जग्गा हाम्रो हो भनी विपक्षीले खिचोला गर्न आउनु भएकोले विवादित जग्गाको एकतिर सडक बाटो तिनतिर हामी र हाम्रो भैयाहरूको जग्गा भएको ठाउँमा विपक्षीहरूको हकको हुन नै नसक्ने यदि छ भने के कस्तो हामीबाट हक टुटाई लिएको कागज छ सो समेत देखाउन नसक्नुको अलावा उक्त जग्गाको शहरी क्षेत्र भित्रको जग्गा दर्ता ७ नं.फाँटवारी हाम्रो पिता जगतबहादुरले दाखिल गर्नु भएपछि उहाँको स्वर्गवास भएकोले हाम्रो हक हुन आएको रु. २००।– जाने जग्गा खिचोला गर्न आएकोले खिचोला मेटाई हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. मेरो बुढामावली पट्टीको जिजु बज्यैबाट मेरो पिताजीको आमालाई शेषपछिको बकसपत्र दिई मानलक्ष्मीको मृत्युपछि अमृत वाणीको हक भई उहाँपछि मेरो पिताजीको भोगचलन भई १९९० को भुकम्पले पाताल हुन गएको जग्गामा मेरो पिता स्वर्गे भएपछि मिति ०२९।११।५।६ मा पास भएको अंशबण्डापत्रबाट हक भई भोगचलन गरी आएकोले आफ्नो जग्गामा खिचोला गर्न पर्ने अवस्थै नहुँदा निरर्थक दावाबाट फूर्सद पाउँ भन्ने समेत इन्द्रगोपाल श्रेष्ठको प्रतिउत्तरपत्र ।
४. वादीले दावी लिएको ठाउँमा मेरी सासू अमृतवाणीले आफ्नी आमाबाट पाएको घर र सो घर देखि पूर्वपट्टि जोडिएको र सो साझा चोक देखि उत्तर पट्टि समेत पाताल केववारी थियो। सोही जग्गा मिति १९६०।६।।५ मा मेरी सासूकी आमाले २ दिदी बहिनी छोरीहरूलाई शेषपछिको बकसपत्र लेखी दिनु भएकोमा मानलक्ष्मी स्वर्गे भएपछि मेरी सासू अमृतवाणीको र उहाँ स्वर्गे भएपछि पति गोपाल राजोपाध्याले भोगचलन गरी आउनु भएकोमा पतिको शेषपछि मैले भोगचलन गरेकोमा विपक्षीहरूले घर बनाउन नक्शा पास गरिपाउँ भनी दिनु भएको दर्खास्तमा कानुनी हकदैया नभएको र नगर पंचायतबाट पर्चा भएपछि ज.मि.को १८ नं.बमोजिमको हदम्याद भित्र नालेश नगरेकोले अ.बं. १८० बमोजिम खारेज गरिपाउँ भन्ने समेतको गंगामायाको प्रतिउत्तरपत्र ।
५. ज.मि.को १८ नं.को हदम्याद भित्र नआएको हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने शुरु ल.पु.जि.अ.को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन वादी दावी बमोजिम गरिपाउँ भन्ने समेतको वादीको पुनरावेदन पत्र ।
७. शुरु जि.अ.ले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको बागमती अञ्चल अदालतको फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको मध्यमाञ्चल क्षेत्रिय अ..मा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त गरेको ।
९. नक्सा पासलाई दर्खास्त दिएको २०३४।५।१ का मितिले २ वर्षभित्र र हाल ०३६।२।१७ मा खिचोला गरेको भनी ०३६।३।१७ मा फिराद परेको, छ महिना भित्रकै देखिँदा ज.मि.को १८ नं.को म्यादभित्र देखिन आएकोले खारेज गर्ने गरेको शुरु ल.पु.जि.अ. र बा.अं.अ.को फैसला बदर गरिदिएको छ । कानुन बमोजिम निर्णय गर्नु भनी ल.पु.जि.अ.मा पठाई दिने भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन परी डिभिजन बेञ्ज समक्ष पेश हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा तत्काल ज.मि.को १८ नं.को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।
११. नियम बमोजिम पेशी सूचीमा चढी आज पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी ईन्द्रगोपाल श्रेष्ठलाई रोहवरमा राखी विपक्षी वादीका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसालले गर्नु भएको बहस समेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रिय अ..बाट भएको इन्साफ मनासिव वा बेमनासिव केरहेछ सोकुराको निर्णय दिनुपरेको छ ।
१३. निर्णयतर्फ बिचार गर्दा यसमा विपक्षी वादीले विवादको जग्गामा नक्शा पास गरिपाउँ भनी ०३४।५।१ मा ललितपुर नगर पञ्चायतमा दर्खास्त दिएकोमा प्रतिवादी पुनरावेदक ईन्द्रगोपालले उक्त जग्गा मेरो अंश भागमा परेकोले मेरो हो भनी ०३४।५।१० मा प्रतिवाद गरेको देखिन्छ । त्यसरी वादी र प्रतिवादी बीच मुख नमिली तेरो मेरो देखिएको कारणबाट म्यादभित्र सम्बन्धित अदालतमा जानु भनी ल.पु.नगर पंचायतबाट ०३५।२।१८ मा निर्णय गरेको मिसिल संलग्न प्रमाणबाट देखिन आएको छ ।
१४. विवादको जग्गालाई मेरो भनी वादीले नक्सापासको लागि नगर पञ्चायतमा दर्खास्त दिएकोमा प्रतिवादीले मेरो हो भनी प्रतिवाद गरेपछि प्रतिवादी परेको मिति ०३४।५।१० मा नै उक्त जग्गामा खिचोला गरेको मान्नु पर्ने स्थिति हुन्छ । त्यसरी खिचोला गरेको कुरा वादीलाई उसै मौकामा थाहा भएको पाइन्छ । उसमा पनि नगर पञ्चायतबाट ०३५।२।१८ मा तेरो मेरोमा निर्णय गर्न अदालत जानु भनी वादी प्रतिवादीलाई सुनाएको मितिबाट ६ महिनाभित्र वादीले नालेश गर्न सकेको देखिँदैन । उक्त ६ महिनाको म्याद समेत नघाई मिति ०३६।३।१७ मा मात्र वादीको नालेश परेको पाइन्छ । यस्तो स्थितिमा वादीको नालेश जग्गा मिच्नेको १८ नं.को हदम्याद भित्र परेको नभई हदम्याद नघाई परेको देखिँदा त्यस्तो नालेश उजूरीबाट कारवाही गरी हेर्न मिल्ने देखिँदैन । तसर्थ वादी दावी खारेज हुने ठहर्याएको शुरु ल.पु.जि.अ.को इन्साफ सदर गरेको बा.अं.अ.को इन्साफ मनासिव ठहर्छ । हदम्याद भित्रको फेराद कायम गरी इन्साफ गर्नु शुरु ल.पु.जि.अ.मा पठाउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । उल्टीमा मध्यमाञ्चल क्षेत्रिय अ..का मा.न्या.द्वय श्री जनार्दनलाल मल्लिक र मा.न्या.श्री उदयराज उपाध्यायको रेकर्ड राख्नु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल पौष ११ गते रोज शुभम् ।