शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४८७ - बन्दी–प्रत्यक्षीकरण

भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९

निर्णय नं. २४८७    ने.का.प. २०४२      अङ्क ९

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको रि.नं. १५८५

विषय : बन्दी–प्रत्यक्षीकरण ।

 

निवेदक      : जि.धनुषा कोहलपुर गा.प. वार्ड नं.७ घर भई हाल प्रहरी उपरीक्षक कार्यालय काठमाडौंमा थुनामा रहेका सूर्यनाथ यादवको हकमा उमेश कुमार दास ।

विरुद्ध

विपक्षी :प्रहरी उपरीक्षकको कार्यालय हनुमान ढोका ।

प्रहरी उपरीक्षक कार्यालय सिरहा ।

सदर खोर कार्यालय,डिल्लीबजार ।

जि.का.कारागार शाखा सिरहा ।

जि.का. कारागार शाखा सप्तरी,राजविराज ।

आदेश भएको मिति:२०४२।९।१६।६ मा

     बन्दी हाल गैरकानुनी थुनामा रहेको भन्ने कुरा कतैबाट प्रमाणित हुन आएको छैन । यस्तो स्थितिमा निवेदकको माग बमोजिमको बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने ।

प्रकरण नं. १०)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

विपक्षी तर्फबाट      :विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दाःX

आदेश

न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ ।

२.    आफ्नो निजी कामको सिलसिलामा बाटो हिंडिरहेको अवस्थामा ०४२।२।१० का दिन सिरहा जि.को निर्दना गाउँको पश्चिमपट्टी मकैवारीमा लुकी रहेका विपक्षी उपरीक्षक कार्यालय सिरहाका १८ जना सशस्त्र प्रहरीद्वारा सूर्यनाथ यादवलाई पक्राउ गरी मिरचैया थानामा ल्याइएको थियो । बिनाकारण पक्राउ गरी कारागार शाखा सप्तरीमा राखिएको र कुटपीट गरी घाइते तुल्याएको हुँदा राजविराज अस्पतालमा केही दिन प्रारम्भिक उपचार समेत प्रहरीद्वारा गराइएको थियो । अ.बं.१२१ नं.को रीत नपुर्‍याई श्री यादवलाई थुनिएको छ । नातेदारलाई समेत भेट्न दिइएको छैन । सप्तरीबाट सिरहा कारागार र त्यहाँबाट सदरखोर  शाखा काठमाडौंमा थुनामा राखी हाल प्र.उपरीक्षकको कार्यालय काठमाडौंमा थुनामा राखेकोसम्म थाहा भएको छ । बन्दी यादवलाई कुनै पुर्जीसम्म दिएको छैन । प्रथमतः विपक्षीहरूलाई अधिकारप्राप्त अधिकारीको आदेश बिना २४ घण्टा भन्दा बढी थुन्ने अधिकार छैन । थुनुवा प्रति गरिने व्यहोराका न्यूनतम प्रारम्भिक शर्त समेत पालना नभएको स्पष्ट छ । निज यादवबाट के कस्तो कार्य भएको वा हुनसक्ने सम्भावनाबाट निजलाई कठोर यातना सहित वैयक्तिक स्वतन्त्रता अपहरण गरी थुनामा राखिएको हो सो रहस्य गर्भमा नै छ । उल्लिखित वर्णित तथ्य एवं त्रुटिले निज यादवलाई गैरकानुनी तवरले थुनामा राखी निजको वैयक्तिक स्वतन्त्रता अपहरण गरिएको हुनाले ३ दिनभित्र निज बन्दीलाई अदालत समक्ष उपस्थित गराई गैरकानुनी थुनाबाट मुक्त गराई पाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।

३.    विपक्षीहरूबाट लिखिन जवाफ मगाउने भन्नेसमेत यसअदालत सिं.बेञ्चको मिति ०४२।६।८ को आदेश ।

४.    सूर्यनाथ यादव कसैको आदेशबाट पनि यस खोर भित्र थुनामा नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको सदर खोर शाखा डिल्लीबजारको लिखिन जवाफ ।

५.    निवेदक सूर्यनाथ यादवलाई यस कार्यालयबाट पक्राउ गर्नु पर्ने कुनै कारण नभएकोले पक्राउ गरी ल्याएको छैन र पक्राउ गर्न मातहतका कुनै कार्यालयलाई आदेश दिएको समेत छैन भन्ने समेतको बागमती अञ्चल प्रहरी कार्यालयको लिखिन जवाफ ।

६.    सूर्यनाथ यादवलाई थुनामा राखिएको श्रेस्ताबाट नदेखिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको जि.का.कारागार शाखा सप्तरीको लिखिन जवाफ ।

७.    सूर्यनाथ यादवलाई रामनारायणठाकुरको जाहेरीले वादी श्री ५ को सरकार भएको कर्तव्यज्यान मुद्दामा अ. बं.११८ नं.को देहाय ३ को (२)(३) बमोजिम थुनामा राख्नु हुन भन्ने सिरहा जि.अ.को पत्र साथ दाखिल भई थुनामा राखिएकोमा खोटाङ्ग कारागारमा सरुवा गर्नु भन्ने अञ्चलाधिश कार्यालय सगरमाथाले जि.का. सिरहालाई लेखी सोहीमुताविक जि.का.सिरहाले खोटाङ्ग कारागारमा पठाउने भनी पत्र लेखे बमोजिम निज यादवलाई खोटाङ्ग कारागारमा चलान गरिएकोमा बाटोमा उदयपुर जि.को सिद्धीपुर गा.पं.को ओद्राहा दोभान पुगी बास बसेकोमा राती दिशा पिसाब लाग्यो भनी हतकडी लगाई दिशा पिसाब गराउन लाँदा थुनुवाले जबरजस्ती पाले उपर बल प्रयोग गरी भागेकोमा खोजतलाश गर्दा फेला नपरेकोले पाले उपर कारागार ऐन अन्तर्गत जि.अ.मा मुद्दा दायर गरिएकोले सूर्यनाथ हाल यस कारागारमा नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको कारागार शाखा सिरहाको लिखिन जवाफ ।

८.    नियम बमोजिम पेशी सूचीमा चढी आज पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले बिना पुर्जी अमानुषिक यातना दिई निवेदकलाई थुनामा राखेको गैरकानुनी छ भन्ने समेत र विपक्षी कार्यालय तर्फबाट खटिई आउनु भएका विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्सालले थुनाबाटभागी सकेकोले बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्नुको केही प्रयोजन नहुँदा रिट निवेदन खारेज हुन पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

९.    अब यो रिट निवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

१०.    निर्णय तर्फ बिचार गर्दा यसमा बिना पुर्जी अमानुषिक तवरबाट गैरकानुनी रुपले निवेदकलाई थुनामा राखेको हुँदा मुक्त गरिपाउँ भन्ने रिट निवेदकको मुख्य निवेदन जिकिर भएकोमा विपक्षी जिल्ला  कार्यालय कारागार शाखा सिरहाको लिखिन जवाफमा बन्दी भनेको सूर्यनाथ यादव रामनारायण ठाकुरको जाहेरीले वादी श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा पूर्पक्षको लागि थुनामा रहेकोमा कारगार सरुवा गर्ने क्रममा खोटाङ कारागारमा सिरहा कारागारबाट पठाउँदा बाटोमा बास बसेको ठाउँबाट ०४२।६।२ गते राती २.४५ बजे बन्दी सूर्यनाथ भागेको भन्ने समेत उल्लेख भएको पाइन्छ । बन्दी भनेका सूर्यनाथ यादव हाल गैरकानुनी थुनामा रहेको भन्ने कुरा कतैबाट प्रमाणित हुन आएको छैन । यस्तो स्थितिमा निवेदकको माग बमोजिमको बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४२ साल पौष १९ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु