शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४९० - कर्तव्य ज्यान

भाग: २७ साल: २०४२ महिना: पौस अंक:

निर्णय नं. २४९०     ने.का.प. २०४२            अङ्क ९

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको फौ.पु.नं. ५३३५००

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी: बाल कुमारी खड्काको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

पुनरावेदक/प्रतिवादी:ग.अं.कास्की जिल्ला पो.नगर पंचायतवडा नं.१६ बस्ने बाबुराम सार्की ।

फैसला भएको मिति:२०४२।९।२५।५ मा

     मृतकलाई तत्काल उठेको रीस थाम्न नसकी सिमेन्ट लगाउने नोलले हिर्काई सोही चोटबाट मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १४ नं.आकर्षित हुने ।

 (प्रकरण नं. १६)

पुनरावेदक, वादी तर्फबाट: विद्वान मुख्यन्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा

पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री साम बहादुर बोगटी

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    २०३९।८।१ गते राती बाबुराम सार्कीसँग झगडा भई हात हालाहाल भएको र सोही राती ३ बजे निजकै घर नजिक छोरा वीरबहादुर गंभीर घाइते भएको देखी पोखरा अस्पतालमा लगेकोमा सोही रात ४.३० बजे बाबुरामकै चोटबाट मृत्यु भएकोले कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको बालकुमारीको खड्काको जाहेरी दर्खास्त ।

३.    लासको दुवै आँखा बन्द भएको टाउकोको आडमा नसुकेको रगतको भल भएको बायाँ घाँटीदेखि कानसम्म ४लामो लाठाले हाने जस्तो घाउ डाम भएको, टुप्पीनेर १ अंगुल गहिराई ४ अंगुल लम्बाइको खप्परको हाड देखिने घाउ भएका भन्ने समेत व्यहोराको ०३९।८।२ को लास प्रकृति मुचुल्का ।

४.    ०३९।८।१ गते बेलुका जगत बहादुरको घरमा म समेत बसी रहेका बखत भैलो खेल्ने केटाकेटी आई रु.१ दिई पठाएपछि पुनः ११ बजे वीरबहादुर समेत आए अघिकै केटाकेटी रहेछन् भन्ने कुरा हुँदा वीरबहादुर भित्र पसी मलाई कन्चटमा हिर्काए । त्यसपछि घरमा गएँ । राती ३ बजे तिर वीरबहादुर मेरो घर नजिक आई बाहिर निस्की चमारे भनी कराएबाट सिमेन्ट लाउने नोल समाई तगारोनेर आइपुग्दा मलाई वीरबहादुले सडकतिर तानेको हुँदा सो नोलले हिर्काए। टाउकोबाट रगत बग्न थाल्यो म भित्र गई बसेँ । मरेको कुरा आज बिहान सुनेको भन्ने समेत व्यहोराको बाबुराम सार्कीको प्रहरीमा भएको कागज ।

५.    धार भएको हतियारबाट टाउकोमा चोट लाग्नाले गिदीमा क्षती पुगी अत्याधिक रगत बग्नाले मृत्यु भएको भन्ने व्यहोराको लाश जाँचको रिपोर्ट ।

६.    बाबुराम सार्कीले कुटपीट गरेको चोटबाट वीरबहादुरको मृत्यु भएका हुन सक्छ भन्ने समेतको देवका सार्कीनीले जि.प्र.का.मा गरेको कागज ।

७.    वीरबहादुरलाई बाबुरामले सिमेन्ट लगाउने नोलले हिर्काई मरेका हुन् भन्ने समेत व्यहोराको एकै मिलानको सरजमीन मुचुल्का ।

८.    बाबुराम सार्कीलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिमको सजायँको माग गरिएको प्रहरी प्रतिवेदन दावी ।

९.    ०३९।८।१ गते वीरबहादुर समेत भैलो खेल्दै आएकोमा अघि पनि आएको भनी भित्रबाट भन्दा वीरबहादुरले भित्र आई कुटी घर आई सुतेपछि २३ बजेको समयमा ए भगुवा चोर अघि भागेर हिंडिस् भने बाट खाटमुनी राखेको नोल हातमा लिई बाहिर निस्केपछि निजले मलाई समात्यो मैले पनि सोही नोलले २ पटक हाने वीरबहादुर थुचुक्क बस्यो म भित्र पसी सुतेँ भोलि पल्ट निजको मृत्यु भएको सुनेँ, मेरो चोटबाट मृत्यु भएको हो सजायँ भोग्न तयार छु भन्ने समेतको बाबुराम सार्कीले अदालतमा गरेको बयान ।

१०.    ज्यानसम्बन्धीका १४ नं.बमोजिम बाबुराम सार्कीलाई १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत कास्की जिल्ला अदालतको फैसला ।

११.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेतको बाबुराम सार्कीको र माग दावी बमोजिम सजायँ हुनुपर्ने भन्ने श्री ५ को सरकारको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको ।

१२.   कास्की जि.अ.को इन्साफ मनासिव छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१३.   उक्त पश्चिमान्चल क्षेत्रिय अदालतको निर्णयमा चित्त बुझेन माग दावीबमोजिम सजायँहोस् भनी श्री ५ को सरकार तर्फबाट र सफाई पाउनु पर्ने भनी बाबुराम सार्कीको यसअदालतमा पुनरावेदन पर्न आएको ।

१४.   नियम बमोजिम पेशी सूचीमा चढी आज पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा र पुनरावेदक प्रतिवादी बाबुराम सार्कीको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सामबहादुर बोगटीले गर्नु भएको बहस समेत सुनियो ।

१५.   अब प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय मनासिव वा बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

१६.    निर्णयतर्फ बिचार गर्दा यसमा वीरबहादुर खड्काको मृत्यु भएकोमा विवाद देखिँदैन। निज वीर बहादुरको मृत्यु बाबुराम सार्कीको कर्तव्यबाट भएको हो वा होइन भन्नेतर्फ हेर्दा वीरबहादुरलाई बाबुराम सार्कीले कुटपीट गरी सोही चोटबाट वीरबहादुरको मृत्यु भएको भनी किटानी जाहेरी दर्खास्त परेको छ । प्र.बाबुराम सार्की अधिकारप्राप्त अधिकारी प्रहरी र अदालत समक्ष समेत कसूर गरेमा सावित भई बयान गरेको देखिन्छ । लाश जाँच प्रकृति मुचुल्का, पोष्टमार्टम रिपोर्ट, सरजमीन मुचुल्का समेतबाट सो कुरालाई यथेष्ट मात्रामा समर्थन प्राप्त भएको देखिन्छ अतः यस्तो स्थितिमा प्र.बाबुराम सार्कीले मृतक वीरबहादुर खड्कालाई मारेको रहेनछ भन्न नमिली निजैले मृतकलाई कर्तव्य गरी मारेको देखिन आयो । अतः प्र.बाबुराम सार्कीलाई के सजायँ हुनु पर्ने हो भन्नेतर्फ हेर्दा वारदातको दिन मिति ०३९।८।१ गतेका राती मृतक वीरबहादुर समेत भैलो खेल्दै बाबुराम सार्की समेत बसेको घरमा पुगेका बखत अघि पनि आएका भनी कुरा चलेको र घर भित्र पसी मृतकले बाबुराम सार्कीलाई हिर्काएको भन्ने कुरा प्रतिवादीको बयानबाट देखिएको र सो कुरा बुझिएकी देवका सर्केनीको बयानबाट समेत समर्थित हुन आएको देखिन्छ ।  सोही राती २३ बजेको समयमा मृतकले प्रतिवादी बाबुराम सार्कीको घर नजिकै गएर ए भगुवा चोर बाहिर निस्की भनेकोबाट सिमेन्ट लगाउने नोल लिई बाहिर निस्कदा मृतकले तानेबाट हातमा भएको नोलले हिर्काएको भन्ने प्र.बाबुराम सार्कीको बयान भएको पाइन्छ । त्यसरी हिर्काउँदा प्र.बाबुरामको मार्ने नियत भएको भए मृतकलाई नमारी आफ्नो घरभित्र पस्ने स्थिति हुँदैन थियो। किनभने त्यहाँ अन्य व्यक्तिको उपस्थितिले प्र.बाबुरामलाई बाधा पुर्‍याएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिँदैन । प्र.बाबुरामले प्रहार गरेको चोट सिमेन्ट लगाउने नोलको भन्ने कुरामा घाउको प्रकृतिबाट समेत समर्थन मिलेको देखिन्छ । त्यस्तोलाई जोखमी हतियार मान्न मिल्ने स्थिति रहँदैन । यस्तै मृतकलाई मार्नपर्ने कारण तत्कालउठेको रीसबाहेक केही देखिएको छैन । अतः यस्तो स्थितिमा प्र.बाबुराम सार्कीले मृतक वीरबहादुरलाई तत्काल उठेको रीस थाम्न नसकी सिमेन्ट लगाउने नोलले हिर्काई निज वीरबहादुरको सोही चोटबाट मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १४ नं.आकर्षित हुने देखिँदा निज बाबुराम सार्कीलाई ज्यानसम्बन्धीको १४ नं.को सजायँ गर्ने गरेको पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ मनासिव ठहर्छ ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजायँ गरिपाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । दोस्रो तह पुनरावेदन गरे बापत प्र.बाबुराम सार्कीलाई अ.बं.२०३ नं. ले थप छ महिना कैद हुने छ सोको लगत कसी कानुन बमोजिम गर्नु भनी शुरु कास्की जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल पौष २५ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु