शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४९१ - कर्तव्य ज्यान

भाग: २७ साल: २०४२ महिना: पौस अंक:

निर्णय नं. २४९१     ने.का.प. २०४२      अङ्क ९

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४१ सालको फौ.सा.नं. ९५

मुद्दा : कर्तव्य ज्यान ।

 

वादी:टिकाराम वलीको जाहेरीले श्री ५ को सरकार  ।

विरुद्ध

प्रतिवादी:जि.रुकुम पेउघा गा.पं.वार्ड नं.१ घोलाङ बस्ने विष्णु कुमार पुन ।

ऐ.ऐ बस्ने  भूपाल सिंह पुन ।

ऐ.वार्ड न.५ माथी गारु बस्ने हरि बहादुर विष्ट मगर(पहाडी) ।

ऐ.ऐ बस्ने पहल बहादुर विष्ट मगर ।

फैसला भएको मिति:२०४२।८।२६।४ मा

     निश्चयात्मक सबूद प्रमाणको अभावमा केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न नमिल्ने ।

(प्रकरण नं. २७)

प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल

वादी तर्फबाटःविद्वान का.मु.सह-न्यायाधीवक्ता श्री प्रमोद विजयी

उल्लेखित मुद्दाःX

फैसला

न्या.पृथ्वी बहादुर सिंहः मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर साधक जाँचको लागि  पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।

२.    ०३९ कार्तिक १७ गते मेला हेर्न बुदे खड्का र भाइ दिपाराम गएका र दोकानमा सामान किनी रहेका बखत हरिबहादुर विष्ट, विष्णुकुमार, पहलबहादुर र भूपाल समेतले बुदे खड्कालाई कुटपीट गर्दा दिपारामले छेक्दा बुदे खड्का भागी बचेछ । भाइलाई कुटपीट गरी लखेटेको भन्ने बुदेबाट थाहा भयो । ऐ.१८ गतेसम्म भाइ घरमा नआएकोले खोजी गर्दा १९ गते लास फेला परेकोले जाहेर गर्न आएको छु । उपरोक्त विपक्षीहरूलाई कारवाही गरी सजायँ गरिपाउँ भन्ने समेत ०३८।७।२१ को जाहेरी दर्खास्त ।

३.    प्र.हरिबहादुर समेतले दोकानमा मलाई कुटपीट गर्दा दिपारामले छुट्याएको र बैनी समेतले मलाई घरतर्फ लैजान लाग्दा दिपारामलाई निजहरू जना ४ ले लखेट्दै मुंरुको जंगलतर्फ लगेका हुन् दिपारामलाई निज हरिबहादुर समेत जना ४ ले कर्तव्य गरी मारेका हुन भन्ने समेत बुदे खड्काले प्रहरीमा गरेको कागज ।

४.    मृतक दिपारामलाई हरिबहादुर समेत जना ४ ले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत बुदे खड्काले बहिनी रेवती खड्काले प्रहरीमा गरेको कागज ।

५.    १५ गज जति पहिराको तल जंगलको बीचमा दिपारामको लाश रहेको, लाश किरा परी सुनिएको, निलो भएको, बायाँ छातीमा दूधको नजिक ५ इन्च लम्बाई र २ इन्च चौडाई भएको कुनै वजनदार लठ्ठी ढुंगाले हानी चोट परेको, धर्के कट्टु लाएको, लिङ्ग बाहिर तानिएको भन्ने समेत ०३८।७।२३ को लाश प्रकृति मुचुल्का ।

६.    कार्तिक १७ गते मेला हेर्न गएको थिएँ । उक्त दिन दोकानमा झगडा भएको पनि होइन   मैले निजलाई मारेको पनि होइन भन्ने समेत प्र.भुपाल सिंह र प्र.विष्णुकुमारले प्रहरीमा गरेको      पृथकपृथक बयान कागज ।

७.    २०३८।७।१७ गते झुल्नेटाको मेलामा हरिबहादुर समेतले बुदे खड्कालाई कुटपीट गर्दा दिपारामले छुट्याएको र दिपारामलाई हरिबहादुर समेतले लखेट्दै जंगलतर्फ लगेका हुन् । दिपारामलाई जाहेरीमा लेखिएका हरिबहादुर समेत जना ४ ले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेत ०३८।७।२६ को सरजमीन मुचुल्का ।

८.    २०३।७।१७ गते झुल्नेटा मेलामा गएको थिएँ । तर सुरेशको दोकानमा झगडा भएको र दिपारामलाई मारेको होइन भन्ने समेत प्र.पहलबहादुर र प्र.हरीबहादुरले प्रहरीमा गरेको पृथकपृथक बयान कागज ।

९.    प्र.हरिबहादुर, विष्णुकुमार, पहलबहादुर भूपाल सिंहले मृतक दिपारामलाई कर्तव्य गरी मारेको देखिएकोले निजहरूलाई ज्यानसम्बन्धी १३(१) नं.बमोजिम सजायँ हुनु पर्ने भन्ने समेत प्रहरी प्रतिवेदन ।

      १०.    कार्तिक १७ गतेका दिन झुल्नेटामा मेला हेर्न गई ५ बजेतिर मेलटा कुरी बस्ने मैतु घर्तिको घरमा सत्यनारायणको पूजामा आएको हो, दिपारामलाई मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत प्र.भुपाल सिं पुनमगर र प्र.विष्णुकुमार पुन मगरले अदालतमा गरेको पृथकपृथक बयान ।

११.    उक्त दिन मेला हेरी ५ बजे घर फर्केको हो । दिपारामलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत प्र.पहलबहादुर विष्ट र हरिबहादुर विष्टले अदालतमा गरेको पृथकपृथक बयान ।

      १२.   मृतक दिपाराम भिरबाट लडी मरेको हुनु पर्दछ भन्ने समेत प्रतिवादीका साक्षीहरूको बकपत्र ।

१३.   दिपारामलाई प्रतिवादीहरूले लखेट्दै लगी झुल्नेटामा मारेको भनी बुदे खड्काले भनेकोले जाहेरी दिएको हो । मारेको आँखाले देखिन । रीसइवी भएको  थाहा छैन भन्ने समेत जाहेरवाला टिकाराम वलीले अदालतमा गरेको बकपत्र ।

१४.   ०३८।७।१७ गते म दिपाराम समेत झुल्नेटामा मेला हेर्न गएका थियांै । साँझ ७ बजेतिर सुरेश पुनको दोकानमा बिंडी, सलाई किनी बाहिर आउन लाग्दा प्रतिवादीहरू ढोकामा भएकोले एक मिनेट बाटो छाडी दिनुस् भनी हामीले भन्दा एक मिनेट पख भनी प्रतिवादीहरूले भने । एक मिनेट होइन पाँच मिनेट पर्खौंला भनी हामीले भन्दा एक मिनेट भन्दा पाँच मिनेट भन्ने कुन चाँहि पाजी हो भनी एक एक लात्ती मुड्कीले हान्न लागे । म त्यहीँ लडे, दिपारामलाई लखेट्दै लगेको देखेको हुँ । डरले म घर आएँ । भाइ खोई ? भनी टिकारामले सोध्दा उक्त कुरा बताएँ पछि दिपारामको लाश फेलापर्‍यो । दिपारामलाई प्र.हरिबहादुर, पहलबहादुर, विष्णुकुमार, भूपाल सिंहले मारेका हुन् । पहिले रीसइवी थिएन भन्नेसमेत बुदे खड्काले अदालतमा गरेको बकपत्र ।

१५.   दिपारामलाई यिनै प्रतिवादीहरूले मारेका हुन भन्ने समेत रेवती वलेनीले अदालतमा गरेको बकपत्र ।

१६.    दिपारामलाई प्र.हरिबहादुर समेतले मारेको भन्ने सुनेका हौं भन्ने समेत सरजमीनका होमबहादुर खड्का समेतको बकपत्र ।

१७.   ०३८।७।१७ गते मेरो घरमा सत्यनारायणको पूजामा भूपाल सिंह र विष्णुकुमार रातभर बसेका हुन । निजहरूले दिपारामलाई मारेको होइन भन्ने समेत मैतु घर्तीको बकपत्र ।

१८.   ०३८।७।१७ गते मेरो पसलमा कुटपीट हो हल्ला भएको होइन । दिपाराम मरेको कुरा १९ गते जाहेरवालाबाट थाहा पाएको हुँ । कसले मार्‍यो थाहा छैन भन्ने समेत सुरेशकुमार पुनले अदालतमा गरेको बयान ।

१९.    प्रहरी प्रतिवेदनको आरोपित कसूरबाट प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने समेत रुकुम जि.अ.को फैसला ।

२०.   उक्त फैसला त्रुटिपूर्ण हुँदा उल्टाई प्रहरी प्रतिवेदन दावी बमोजिम प्र.हरूलाई सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन ।

२१.   शुरुले सफाई दिएको मिलेको नदेखिँदा अ.बं. २०२ नं.तथा क्षे.अ.नि. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत म.पश्चिमान्चल क्षेत्रिय अदालतको आदेश ।

२२.   बुझिएको सबूद र परिस्थितिजन्य प्रमाण समेतबाट प्रतिवादीहरूकै कर्तव्यबाट दिपारामको मृत्यु भएको देखिएकोले प्र.हरूलाई जन्मकैद हुने ठहर्छ । रीसइवी नभएको र जात्रामा रक्सी खाएको आदेशबाट कुटपीट भई ज्यान मरेकोले जन्मकैद गर्दा सजायँ चर्को पर्ने हुँदा अ.बं.१८८ नं.बमोजिम घटी सजायँको लागि राय व्यक्त गरिएको छ भन्ने समेत म.पश्चिमान्चल क्षेत्रिय अदालतको २०४१।३।४।१ को फैसला ।

२३.   उक्त फैसला उपर साधक जाँचको लागि प्रस्तुत मुद्दा यस अदालतमा दायर हुन आएको रहेछ ।

२४.   अनुमान एवं शंकाको आधारमा प्रतिवादीहरूलाई दोषी ठहराउन नमिल्ने हुँदा प्र.हरूलाई जन्मकैद गरेको म.पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम छलफलको लागि महान्यायाधीवक्ताको कार्यालयलाई पत्र लेखी कानुन बमोजिम गर्नु भन्ने समेत यस अदालतको ०४२।२।१६ को आदेश ।

२५.   नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले यिनै प्रतिवादीहरूले आरोपित कसूर गरेको भनी शंका रहीत तवरबाट प्रमाणित हुने कुनै प्रमाण वादी पक्षबाट पेश हुन आएको छैन । अनुमान र शंकाको भरमा दोषी करार गर्न मिल्दैन शंकाको सुविधा अभियुक्तले नै पाउने हुँदा म.पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी भई प्रतिवादीहरूले सफाई पाउनु पर्दछ भन्ने समेत र वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित   का.मु.सहन्यायाधीवक्ता श्री प्रमोद विजयीले प्रत्यक्षदर्शी बुदे खड्का, जो घटनाबाट पीडित व्यक्ति हो र रेवती वलेनी क्षेत्रीनीले मृतक दिपारामलाई यिनै प्रतिवादीहरूले लखेट्दै जंगलतर्फ लगेको भनी बकपत्र गरेको र सो कुरा मृतलाल वली र होमबहादुर खड्काको बकपत्रले पुष्टी समेत गरेको हुँदा यिनै प्रतिवादीहरूको कर्तव्यबाट दिपारामको मृत्यु भएकोले मध्यमाञ्चल क्षेत्रियक्ष.अ.को इन्साफ सदर हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

२६.   प्रस्तुत मुद्दामा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव वा बेमनासिव के रहेछ सो कुरामा निर्णय दिनु परेको छ ।

२७.   निर्णयतर्फ बिचार गर्दा यसमा मृतक दिपाराम वलीको मृत्यु भएको भन्ने कुरामा विवाद छैन । निज मृतक दिपारामको मृत्यु यिनै प्रतिवादीहरूको कर्तव्यबाट भएको हो होइन भन्नेतर्फ हेर्दा सम्पूर्ण प्रतिवादीहरू आरोपित कसूर गरेमा अधिकारप्राप्त अधिकारी (प्रहरी) तथा अदालतमा समेत इन्कार रही बयान गरेका छन । सरजमीनका केही व्यक्तिहरूले प्रतिवादीहरू उपर शंकासम्म देखाएका छन् । अनुमान र शंकाको आधारमा प्रतिवादीहरूलाई दोषी ठहराउन मिल्दैन। शंकाको सुविधा अभियुक्तले नै पाउने हुन्छ । प्रस्तुत मुद्दामा मृतक दिपारामलाई यिनै प्रतिवादीहरूले यो यस किसिमबाट कर्तव्य गरी मारेको हो भनी प्रत्यक्ष रुपमा देख्ने चस्मदिद गवाहको सर्वथा अभाव रहेको पाइन्छ । प्रत्यक्षदर्शी भनेका बुदे खड्का र रेवती वलेनीको बकपत्र एकै मिलानको नभई आपसमा फरक परेको देखिएकोले निर्णयात्मक प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिँदैन । यिनै प्रतिवादीहरूले आरोपित कसूर गरेको हो भनी शंकारहित तवरबाट प्रमाणित हुनसक्ने किसिमको कुनै पनि तथ्ययुक्त एवं ठोस सबूद प्रमाण वादी पक्षबाट पेश दाखिल हुनसकेको देखिँदैन । फौज्दारीमुद्दामा कसूर प्रमाणित गर्ने भार वादी पक्षको हुन्छ । निश्चयात्मक सबूद प्रमाणको अभावमा केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न मिल्दैन । शंकाको सुविधा अभियुक्तले नै पाउँछ भन्ने फौज्दारी न्यायको सिद्धान्तको आधारमा समेत प्रतिवादीहरू पहलबहादुर विष्ट, हरिबहादुर विष्ट मगर, विष्णुकुमार पुन१ र भूपालसिं पुन१ समेतले आरोपित कसूरबाट सफाई पाउने ठहराएको रुकुम जि.अ.को इन्साफ मनासिव ठहर्छ । प्रतिवादीहरूलाई आरोपित कसूर गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रिय क्षेत्रीय अदालतको निर्णय त्रुटिपूर्ण हुँदा उल्टी भई बदर हुने ठहर्छ । प्रतिवादीहरूले पूर्पक्षको निमित्त जनही रु.२०००।धरौट राखेको देखिएकोले र हाल निजहरूले सफाई पाउने ठहरेकाले उक्त धरौटीको रकम फिर्ता पाउँ भनी कानुनका म्यादभित्र दर्खास्त परेमा कानुन बमोजिम निजहरू हरिबहादुर, पहलबहादुर १, भूपालसिं पुन१ र विष्णुकुमार पुन१ लाई उक्त रकम फिर्ता दिनु भनी रुकुम जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु । उल्टीमा मध्यमाञ्चल क्षेत्रियक्षे.अ.का तत्कालिन माननीय का.मु.मु.न्या.श्री रुद्रबहादुर सिंंह तथा मा.न्या श्री हरिप्रसाद शर्माको रेकर्ड राख्न स.अ.प्रशासन शाखामा लेखी पठाउन मिसिल नियमानुसार बुझाई दिनु । प्र.पहलबहादुर, हरिबहादुर, विष्णुकुमार र भूपालसिंहलाई कसूरदार ठहराई जन्मकैद गर्ने गरेको म.पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी भएकोले सो फैसलाको लगत बमोजिमको जन्मकैदको लगत कट्टा गर्नु भनी रु.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४२ साल मंसीर २६ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु