निर्णय नं. २४९२ - मिलापत्र बदर

निर्णय नं. २४९२ ने.का.प. २०४२ अङ्क ९
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको दे.फु.नं.६५८
मुद्दा : मिलापत्र बदर ।
पुनरावेदक/वादी:का.जि.का.नं.प.वार्ड नं. १४ बस्ने दिलमाया महर्जन।
ऐ.ऐ बस्ने अहिल्या महर्जन ।
अहिल्याका छोरा ऐ. को संरक्षणमा रहेको प्रतिभक्त महर्जन ।
ऐ. को छोरा ऐ. मा रहेको सूर्यभक्त महर्जन ।
ऐ.ऐ बस्ने दिल बहादुर महर्जन ।
विरुद्ध
विपक्षी/प्रतिवादी:का.जि.का.नगर पंचायतवार्ड नं.१४ बस्ने सिद्धि बहादुर महर्जन ।
ऐ.वार्ड नं. १३ बस्ने नारायण भक्त महर्जन ।
फैसला भएको मिति:२०४२।९।९।२८ मा
सगोलमा रहे बसेको जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्तिमा अन्यथा प्रमाणित नभएसम्म सगोलको सम्पत्ति मान्नु पर्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक, वादीतर्फबा : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री कमलनारायण दास
उल्लेखित मुद्दाःX
आदेश
न्या.पृथ्वी बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रिय क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।
२. विपक्षी सिद्धिबहादुरसँग २०२५।११।२६ मा अंशबण्डा भई बेग्लै बसेको र सगोलमै बसी आएका बखत नारायण भक्तका नाउँमा दर्ता भएको का.जि.कालिपाटी गा.पं. वार्ड नं. ७(ख) को कि.नं. ८ को जग्गा रोपनी ३–१२–० सगोलमा भोग गरी आएका थियांै, उक्त जग्गा मध्ये विपक्षी सिद्धिबहादुरले १२६० वर्ग फीट जग्गा मिची घर बनाउन लागेकोमा विपक्षी नारायणभक्तको नाउँबाट म दिलबहादुरले अधिकृत वारेशनामा लिई का.जि.अ.मा सिद्धिबहादुर उपर पर्खाल खिचोलामा मुद्दा दायर गरेकोमा का.जि.अ.बाट हराई फैसला भएकोमा मध्यमाञ्चल क्षेत्रिय अ..मा हाम्रो पुनरावेदन परी झ.झि.भई कारवाही चली रहेकोमा परिवार परिवार सदस्यलाई थाहा नदिई विपक्षी नारायण र सिद्धिबहादुरले ०३८।२।१८ मा मिलापत्र गरेछन् । मेरा नाउँको अधिकृत वारेशनामा खारेज पनि नगरेको र हाम्रो सगोलको सम्पत्तिमा आघात परेकोले उक्त मिलापत्र बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. अ.बं. ८२ ले वादीलाई नालेश गर्न हकदैया छैन । नारायणभक्तले निजी रुपमा पाएको भन्ने भएपछि निजले गरेको मिलापत्रबाट अरुको हक जाने हैन । फैसला बदरमा दावी छैन । अतः दावी खारेज गरिपाउँ भन्ने समेत सिद्धिबहादुरको प्रतिउत्तर ।
४. नारायण भक्तबाट प्रतिउत्तर नपरी म्याद गुजारी बसेको ।
५. सगोलमा भएको व्यक्तिले मिलापत्रमा जानकारी पाउनु पर्नेमा थाहा पाइन भन्न मिल्ने अवस्था नदेखिएबाट म्यादभित्र फिराद दायर भएको मान्न मिलेन । तसर्थ वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत का.जि. अ.को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन उल्टाई दावी बमोजिम गरिपाउँ भन्ने समेतको दिलमाया महर्जन समेतको बा.अं.अ.मा परेको पुनरावेदन ।
७. का.जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेतको बा.अं.अ.को फैसला ।
८. मलाई थाहा नै नदिई मिलापत्र गरेको र वादी दावीभन्दा बढी जग्गामा मिलापत्र गरेको हुँदा बा.अं.अ.को फैसला एकपटक मध्यमाञ्चल क्षेत्रिय अ..बाट दोहराई हेरी दिने प्रमांगी पाउँ भनी दिलबहादुरले दिएको बिन्ती पत्रमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भनी मध्यमाञ्चल क्षेत्रिय अ..का नाउँमा हु.प्र. भएको ।
९. शुरु का.जि.अ.को इन्साफ मनासिव ठहर्याएको बा.अं.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पुनरावेदक वादीले यस अदालतमा दिइएको निवेदन डिभिजन बेञ्ज समक्ष पेश हुँदा सगोलको सम्पत्तिमा अरु अंशियाराको हक मेट्ने गरी नारायणभक्तले मिलापत्र गरेकोमा बदर गरिपाउँ भन्ने वादीहरूको फिरादलाई हक नभएको भनी गरेको शुरु इन्साफ मनासिव ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा लेनदेन व्यवहारको १० नं.को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको भन्ने आदेश भई पुनरावेदनको लगतमा पेश भएको ।
११. नियम बमोजिम पेशी सूचीमा चढी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरूको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माले आफ्नो समेत हक मेट्ने गरी गरेको मिलापत्र बदर गराउन वादीलाई हक नपुग्ने भन्न मिल्दैन भन्ने समेत र विपक्षी सिद्धिबहादुरका तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शंभुप्रसाद ज्ञवाली एवं विपक्षी नारायणभक्तको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले नारायण भक्तलाई मिलापत्र गर्न अधिकार भएको देखिँदा नालेश गर्न वादीको हकदैया छैन भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
१२. अब यो मुद्दामा मध्यमाञ्चल क्षेत्रिय अ.बाट भएको इन्साफ मनासिव वा बेमनासिव के रहेछ भन्ने कुराको निर्णय दिनुपर्ने भएको छ ।
१३. निर्णयतर्फ बिचार गर्दा यसमा पुनरावेदक वादी दिलबहादुर महर्जन समेतले हामी सगोलको अंशियारको हक मार्ने नियतले नारायणभक्त र सिद्धिबहादुर बीच हाम्रो सगोलको हकको नारायणभक्तको जग्गाको सम्बन्धमा मध्यमाञ्चल क्षेत्रिय अ.मा सम्पूर्ण दावी छाडी मिलापत्र गरेकोले मिलापत्रबाट हाम्रो हक समेत हनन् भएको हुँदा मिलापत्र बदर गरिपाउँ भनी वादी दावी लिएको देखिन्छ । त्यसरी दावी लिई फिराद परेकोमा नारायणभक्तको निजी आर्जनको सम्पत्ति भएकोले मिलापत्रबाट अरुको हक जाने भन्ने प्रश्न उठ्न सक्तैन भन्ने समेतको सिद्धिबहादुरको प्रतिवादी परेको पाइन्छ । नारायणभक्तको निजी आर्जन भनी वादीले स्वीकार गरेको देखिँदैन । सगोलमा रहेबसेको जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्तिमा अन्यथा प्रमाणित नभएसम्म सगोलको सम्पत्ति मान्नुपर्ने स्थिति हुन्छ । निजी श्रम र शीपबाट आर्जेको भए नारायणभक्तले प्रतिउत्तर दिई सो कुरा उल्लेख गर्न सक्नु पर्ने थियो । प्रतिउत्तरसम्म पनि नारायणभक्तले दिन सकेको पाइँदैन । जहाँसम्म सिद्धिबहादुरले नारायणभक्तको निजी आर्जन भनी प्रतिउत्तर पेश गरेका छन् सो कुराको प्रमाणित गर्ने भार निजै सिद्धिबहादुरमा हुने हुन्छ । सो कुरा प्रमाणित गर्न प्रतिवादी सिद्धिबहादुरले सकेको देखिँदैन । यस्तो स्थितिमा सगोलका अंशियारको समेत हक लाग्ने सम्पत्तिको सम्बन्धमा प्र.नारायणभक्तले मिलापत्र बदर हुने नहुने के हो ? एकाघर सगोलका अन्य अंशियाराले नालेश गरेको भएपछि निर्णय गर्नुपर्नेमा वादीको हकदैया नै नपुग्ने भनी का.जि.अ.बाट भएको इन्साफ सदर गरी गरेको बा.अं.अ. को फैसला मनासिव ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुने ठहर्छ । अब पुनः कानुन बमोजिम जो बुझ्नुपर्छ सो बुझी निर्णय गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल मध्यमाञ्चल क्षेत्रिय अ..मा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४२ साल पौष २८ गते रोज शुभम् ।