शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २४९३ - अंश

भाग: २७ साल: २०४२ महिना: पौस अंक:

निर्णय नं. २४९३     ने.का.प. २०४२      अङ्क ९

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको दे.पु.नं. ४७८।४७९।४८०

मुद्दा : अंश ।

 

पुनरावेदक/प्रतिवादी: का.जि.का.नं.प.वार्ड नं. १८ नरदेवी नेटपाचो बस्ने रत्नदेवी मानन्धरनी ।

ऐ.ऐ बस्ने गणेश मान मानन्धर ।

विरुद्ध

पुनरावेदक/वादी:ऐ.ऐ. बस्ने प्रेममान मानन्धर ।

फैसला भएको मिति:२०४२।५।२०।५ मा

     सरकारी बाँकी तिर्नु पर्दछ भन्ने बित्तिकै यो ऋण हुन जान्छ यसरी सरकारी बाँकीलाई ऋण हैन भनी अति शाब्दिक (Hyper Literal Interpretation) व्याख्या गर्दा मुलुकी ऐन अंशबण्डाको महलको धन ऋणबण्डा गर्ने सिद्धान्तको विलकूल विपरीत हुन जान्छ । व्याख्या ऐन सम्मत (Legal) मात्र हैन, विवेक (Resonable) सम्म पनि हुनु पर्दछ, त्यसकारण यस किसिमको अति सिद्धान्तवादी शाब्दिक व्याख्यालाई मानी सरकारी बाँकी ऋण हैन भन्न मिल्दैन।

(प्रकरण नं. १३)

पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल र विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।२।३०।२ गतेको फैसलाउपर वादी तथा प्रतिवादी दुवैपक्षको चित्तनबुझी उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा छुट्टा छुट्टै पर्न आएको निवेदनमा अनुमति  प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत अंश मुद्दाको संक्षिप्त निम्न प्रकार छन् ।

२.    पिताजी रत्नमानको २ छोरा जेठा गणेशमान र कान्छो म प्रेममान मानन्धर हुँ । पिता र माताको स्वर्गे भएकोले रत्नदेवी सगोलमा छिन् । म २०२७ सालदेखि बेग्लै चुला गरी बसेको छु । रीतपूर्वकको बण्डा भएको छैन । सगोलको चल अचल धनमाल दाजु जिम्मा भएकोले र जम्मा ३ अंशियार भएकोले अंश छुट्याई दिनोस् भन्दा इन्कार गरेकोले २०२७।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी अंशबण्डाको २१, २२ र २३ नं.का ऐन अनुसार विपक्षीबाट तायदाती लिई विपक्ष रत्नदेवी र मेरो ३ बण्डा लगाई १ भाग मेरो दिलाई पाउँ भन्ने समेत व्यहोराको ०३५।२।१८।४ को प्रेममान मानन्धरको फिरादपत्र ।

३.    का.जि.टंकेश्वर पञ्चायतको घर १ पिताले मेरो स्ववासको लागि दिनुभएकोमा सो भोग गरी बसेको छु । पिताजी छँदै भएको जुद्ध बारुण यन्त्रको ठेक्का सम्बन्धी फाइदा भएको रुपैयाँ समेत प्रेममान संगै छ । सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० बमोजिम हामीहरूले ठेक्काबाट फूर्सद पाएको छैन । पिताजी र रत्नमान जीवित भएको बखत २०३० सालदेखि क्यान्सर भई उपचार गराउन भारत जाँदा भएको सम्पत्ति र नरदेवीको १३।१०० को घर विपक्षी प्रेममान र बहिनी रत्नदेवीलाई दिएको भोग गरी आएका छन् । मैले तायदाती दिनुपर्ने चल अचल मेरो जिम्मा छ ०२७।१।१ मा मानु छुट्टिएको छैन बहिनीको उमेर ३५ वर्ष पुगेको छैन । रत्नदेवीलाई प्रतिवादी बनाउन सकेको छैन । सरकारी ठेक्का बन्दोवस्त ऐन बमोजिम ठेक्काबाट अंशियारहरूले का.स्रे.अ.तहसीलमा भएको कारवाही नटुङ्ग हाम्रो अंशबण्डा हुनुपर्ने होइन । वादी फिराद अ.बं.१८० नं.बमोजिम खारेज गरिपाउँ भन्ने समेत व्यहोराको गणेशमान मानन्धरको प्रतिउत्तरपत्र ।

      ४.    मेरो उमेर ३८ वर्ष पुगिसकेकोले मैले पनि अंश पाउने हुँदा १ अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको ०३७।२।३१।६ को रत्नदेवी मानन्धरनीको बयान ।

      ५.    वादी प्रतिवादी दुवैले रत्नदेवीलाई बहिनी भनी स्वीकार गरेको र निजको उमेर ३५ वर्ष नाघेको हुँदा निजले समेत अंश पाउने हुँदा वादी प्रतिवादीबाट प्राप्त भएका तायदातीबाट बण्डा हुनु पर्ने देखिन आउने जति श्रीसम्पत्तिमा ३ अंशियार देखिँदा ३ खण्डको १ खण्ड वादीले अंश पाउने ठहर्छ, देखिएको ऋणको हकमा उजूर परेका बखत ठहरे बमोजिम हुने भन्ने समेत व्यहोराको शुरु का.जि.अ.को ०३८।८।३०।३ को फैसला ।

६.    सो आंशिक फैसलामा चित्त बुझेन, घर र ऋण बण्डा हुनु पर्नेमा नगरेको हदसम्म का.जि.अ.को फैसला बदर गरी उक्त धन ऋण बण्डा हुनुपर्छ भन्ने गणेशमानको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको । का.जि.अ.को फैसलामा ०३८।३।२८ मा दाखिल भएको तायदाती फाँटको कागजमा उल्लेख भएको घर मध्ये कृष्णदेवीका नामको सगोलको सम्पत्तिबाट ०२८ सालमा खरीद भएको घर १ उल्लेख नगरिएको हदसम्ममा चित्त नबुझेकोले रत्नदेवी मानन्धरको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको छ ।

७.    मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।१२।३० को डि.बे.को अ.बं.२०२ नं.बमोजिम विपक्षी झिकाउने आदेश भएको रहेछ ।

८.    प्रतिवादीको तायदाती वादीलाई सुनाउँदा उक्त ठेक्काको सरकारी बाँकी रकम तिर्नु पर्ने होइन भनी वादीले जिकिर लिई निवेदन दिएको समेत देखिएन । उक्त सरकारी बाँकी रकम साहु असामीको बीचको ऋण नभई सगोलको अवस्थामा ठेक्काको सन्दर्भमा सरकारी बाँकी लागेको देखिँदा सगोल परिवारको दायित्व पनि सबै अंशियारले बहन गर्नु पर्ने हुँदा उक्त सरकारी बाँकी रकम रु. ६१७८३।१८ को ३ खण्डको १ खण्ड वादीले तिर्नु पर्ने देखिन आयो । वादीले दिएको तायदातीमा मेरो श्रीमतीले खरीद गरेको का.नगर पंचायत वडा नं.१ अन्तर्गत नेटपाचो टोलको ब्लक नं. १३।१५ को घरबण्डा हुनु नपर्ने भन्ने उल्लेख गरेको र प्र.गणेशमानले बण्डा गर्नु पर्ने जिकिर लिएको हदमा कृष्णदेवी मानन्धरनी उपर अष्टमाया मानन्धरनीको घर बन्धकी लिएको लिखत पारित मुद्दामा भोगबन्धकी लिखत रजिष्ट्रेशन पारित हुने ठहरी ०३५।१०।१०।५ मा का.जि.अ.बाट फैसला भएको प्रतिलिपि वादीले बेञ्च समक्ष पेश गरेको देखिन आयो । अंशियार वादीको नाममा घर नभई निजको श्रीमती कृष्णदेवी मानन्धरनीको नाउँको उक्त घर सगोलको आर्जनबाट खरीद भएको हो अथवा कृष्णदेवी मानन्धरनीको निजी आर्जनबाट खरीद भएको हो, तथ्ययुक्त रुपमा सबूद प्रमाण खुलाई निरोपण गराउन पर्ने र का.जि.अ.को मिति ०३५।१०।१० को उक्त फैसला बमोजिम उक्त भोग बन्धकी लिखतरजिष्ट्रेशन पारित भयो भएन सो सन्दर्भमा घरको सम्बन्धमा हक दायित्व समेतको निराकरण प्रस्तुतमुद्दाबाट नहुने हुँदा कृष्णदेवी मानन्धरनी उपर उजूर गरी हक कायम गराउनु भनी पुनरावेदकहरूलाई सुनाई दिनु पर्ने समेत ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।२।३० को फैसला ।

९.    मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी दुवै पक्ष विपक्षहरूको यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी दिएको छुट्टा छुट्टै निवेदन ।

१०.    तायदातीमा आएको घर बारे केही नबोलेको र तिर्नु पर्ने ऋणको हकमा पछि उजूर परेको बखत ठहरे बमोजिम हुने भनी लेख्नु पर्नेमा सो बमोजिम नगरी उक्त ऋणको ३ खण्डको १ खण्ड वादीले तिर्नु पर्ने देखिन आयो भनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सबूद प्रमाणको सही मूल्याङ्कन नभई मुलुकी ऐन अ.बं.१८४(क) समेतको त्रुटि देखिएको र उक्त त्रुटि सार्वजनिक महत्वको विषयको हुँदा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भनी मिति ०४०।८।२२ मा यस अदालत डिभिजन बेञ्जको आदेश ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत अंश मुद्दामा निवेदक प्रतिवादी रुत्नदेवी मानन्धर, गणेशमान र वादीको तर्फबाट प्रेममान मानन्धरको वा.गजेन्द्रमानलाई रोहवरमा राखी वादी प्रेममानको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, कृष्णदेवीबाट विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी र प्रतिवादी रत्नदेवीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल र प्रतिवादी गणेशमानको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरको बहस समेत सुनियो ।

१२.   प्रस्तुत अंश मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ निर्णय दिनु परेको छ ।

१३.   यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतले सरकारी बाँकी रु.६१७८३।१८ को ३ खण्डको १ खण्ड रु.२०५६१।०६ वादीले व्यहोर्न पर्ने भनी गरेको निर्णयतर्फ सर्वप्रथम बिचार गर्दा, सरकारी बाँकी रकम अंशबण्डाका महलले व्यवस्था गरेको बमोजिमको ऋण होइन भन्ने पनि तर्क हुन आयो । सरकारी बाँकी ऋण नभए के हो त ? के यो रकम तीर्न पर्दैपर्दैन ? यदि तिर्नु पर्दछ भने के यो ऋण हुन जाँदैन ? यी सबै प्रश्नहरूको जवाफ खोजी रहनु पर्दैन, सरकारी बाँकी तिर्नु पर्दछ भन्ने वित्तिकै यो ऋण हुन जान्छ । यसरी सरकारी बाँकीलाई ऋण हैन भनी अति शाब्दिक (Hyper Literal Interpretation) व्याख्या गर्दा मुलुकी ऐन अंशबण्डाको महलको धन ऋणबण्डा गर्ने सिद्धान्तको बिलकूल विपरीत हुन जान्छ । व्याख्या ऐन सम्मत (Legal) मात्र हैन, विवेक (Reasonable) सम्म पनि हुनु पर्दछ । त्यसकारण यस किसिमको अति सिद्धान्तवादी शाब्दिक व्याख्यालाई मानी सरकारी बाँकी ऋण हैन भन्न मिल्दैन । विवादको ऋणमा गौरी शंकर मानन्धर भन्ने अर्को व्यक्ति  पनि समावेश छन् भन्ने तर्क समेत आएको र प्रस्तुत मुद्दाबाट त्यसतर्फ बिचार गरी निर्णय हुन नसक्ने हुँदा सरकारी बाँकीमा पक्राउ भएको बखत यस सम्बन्धमा मुलुकी ऐन दण्ड सजायँका महलको २६ नं.बमोजिम धन खाने सबैले व्यहोर्न पर्ने नै हुँदा यहाँ बिचार गरी रहनु परेन । यत्ति नै बाँकी यी अंशियारले बुझाउनु पर्ने हो भनी यकीन भइनसकेको प्रस्तुत मुद्दाको स्थिति देखिँदा र सरकारी बाँकीमा पक्राउ भएका बखत सो ऋण कानुन बमोजिम असूल उपर गरिने हुँदा वादीले यति बुझाउनु पर्ने भनी वादीबाट रु.२०५६१।०६ अहिले नै भराउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेन ।

१४.   अब दोश्रो पक्ष कृष्णदेवीले खरीद गरेको भनेको तायदातीमा आएको ब्लक नं. १३।१५ को घरको सम्बन्धमा बिचार गर्दा कृष्णदेवी मानन्धर्नीले सो घर मैले आमाबाट ऋण लिई राजेन्द्रकुमारबाट खरीद गरी पछि सोही घरमा आमालाई ऋण बापत भोगबन्धकी पास गरिदिएको छु भनी बयान गरेकी छन् । सो घर कृष्णदेवीको नभए निजले भोगबन्धकी पास गरी दिंदा त्यसमा यी अंशियारहरूले विरोध गर्नु पर्ने सो गरेको देखिँदैन, सो भोगबन्धकीको कागज ०३३।५।१५ मा भएको भन्ने भोगबन्धकी फैसलाबाट देखिन्छ । सो लिखत पास हुने गरी का.जि.अ.बाट ०३५।१०।१०।५ मा फैसला भएको कृष्णदेवीले बयानसाथ पेशगरेको फैसलाको फोटोकपि बाटै देखिन्छ । सोकुरा होइनभन्ने तर्क कतैबाट आएको छैन । १३।१५ को घरजग्गा सगोलको भए कृष्ण देवीले दिएको भोगबन्धकमा प्र.गणेशमान मानन्धरले कानुनी प्रक्रिया अपनाई आफ्नो भाग बदर गराउनु पर्नेमा त्यसतर्फ कारवाही गरेको देखिँदैन । उपरोक्त उल्लेख भएबमोजिम कृष्णदेवीले कर्जा लिई घर जग्गा खरीद गरी मर्मतकोलागि निजका नाउँमा नक्शापास गराई घरमर्मत गरेको र निजले नै उक्त कर्जाबापत घर भोगबन्धकी दिएकोबाट उक्त नं. १३।१५ को घर निजको निजीआर्जनको देखिनआयो । तसर्थ कृष्ण देवीको निजीआर्जनको घरजग्गा प्र.जिकिरबमोजिम बण्डा लगाउन मिलेन । त्यससम्बन्धमा कृष्णदेवीलाई अ. बं.१३९ नं.बमोजिम झिकाई बुझी जो गर्नु पर्ने निर्णय गर्नु पर्नेमा क्षे.अदालतले सो नगरी कृष्णदेवी मानन्धर्नी उपर उजूर गरी हक कायम गराउनु भनेको क्षेत्रीय अदालतको इन्साफ नमिलेको हुँदा उल्टी हुन्छ ।

१५.   तायदाती आएको घरहरूमा रोक्का रहेका घरहरू कानुनको रीत पुगी फुकुवा नभएसम्म बण्डा पाउनेहरूको भाग यस अंश मुद्दाबाट छुट्टिँदैमा सो रोक्का फुकुवा भएको मानिने र फुकुवा हुन जाने नहुँदा त्यसतर्फ कानुन बमोजिम नै हुने हुँदा वादी दावी बमोजिम वादीले ३ खण्डको १ खण्ड अंश पाउने ठहर्‍याएको शुरु का.जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले सरकारी बाँकी रु.६१,६८३।१८ मा ३ खण्डको १ खण्ड २०५६१।०६ वादी प्रेममान मानन्धरले व्यहोर्ने गरी लिएको क्षे.अ.को लगत कायम नरहेको हुँदा उक्त लगत कट्टा गरिदिनु भनी शुरु का.जि.अ.त.मा लगत दिनु....१

पुनरावेदक वादी प्रेममान मानन्धर के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले क्षे.अ.का मिति ०४०।२।३०।२ का फैसलाले वादीबाट प्रतिवादीलाई भराई दिने गरेको कोर्ट फी रु.१२०।४० भराउनु परेन र प्र.वा.ले यस अदालतमा पुनरावेदन गर्दा स.अ.ल.नं.शाखामा धरौटीमा आम्दानी बाँधिएको देखिँदा पुनरावेदक वादीले फिर्ता पाउँ भनी दर्खास्त दिएमा केही दस्तुर नलिई फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु...२

पुनरावेदक वादी प्रेममान मानन्धरके माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.१२०।४६ विपक्षी देहाय बमोजिमका प्रतिवादीबाट देहाय बमोजिम भरी पाउने हुँदा म्यादभित्र दर्खास्त दिएमा केही दस्तूर नलिई भराई दिनु..३

प्र.गणेशमान मानन्धर के रु.६०।२ प्र.रत्नदेवी मानन्धर्नीको रु.६०।२३..४

माथि इन्साफ खण्डमा लेखे बमोजिम ठहरेकोले वादी प्रतिवादी दुवै पक्षबाट दाखेल भएका तायदातीमा बण्डा गर्न पर्ने देखिएको बिगो र.५८७२८।को देहाय बमोजिमका घर जग्गाहरूमा रोक्का रहेका घरहरूको सम्बन्धमा कानुन बमोजिम गर्नु र अन्य घरजग्गाहरूका सम्बन्धमा सयकडा २।५० दस्तूर लिई बण्डा छुट्याई दिनु भनी शुरु का.जि.अ.त.मा लगत दिनु...........५

वादीबाट दाखिल भएको तायदाती

विपक्षी गणेशमान र मैले साल सालै पालो गरी मोहीहरूबाट बाली लिई खाने गरी आएको नाती महर्जन मोही भई कमाई आएको पिता रत्नमानको नाममा मालपोत कार्यालय काठमाडैंमा दर्ता भएको पूर्व कि.नं.५३ पश्चिम कि.नं.४४, उत्तर कि.नं.५१, दक्षिण कि.नं.४३ यति ४ किल्ला भित्रको टंकेश्वर ताहाचल गा.पं.वार्ड नं.५ को मालपोत कार्यालय काठमाडौंमा सालको तिरो रु.१।५५ बुझाउनु पर्ने मोल बिगो रु.५०१।पाँच सय एक रुपैयाँ भएको कि.नं.५२ को अवल जग्गा रो.(+ ६ + +) ६ आना जग्गा कित्ता             ५०१।

विपक्षी गणेशमान र मैले सालसालै आलोपालो गरी मोही हकबाट बाली लिई खाने गरी आएको भई खसिं महर्जन मोही भई कमाई पिता रत्नमानको नाममा मालपोत कार्यालयमा दर्ता भएको पूर्व कि.नं.५४ पश्चिम कि.नं. ५२ उत्तर कि.नं.५० दक्षिण कि.नं. ४३ यति ४ किल्लाभित्रको टंकेश्वर ताहाचल गा.पं.वार्ड नं.५ को मालपोत कार्यालय काठमाडौंमा सालको तिरो रु.।८५ बुझाउनु पर्ने मोल बिगो रु.३०१।तीनसय एक रुपैयाँ भएको कि.नं. ५३ को अचल जग्गा रोपनी (+ २) तीन आना दुई पैसा जग्गाको कित्ता एक          ३०१।– 

विपक्षी गणेशमान र मैले सालसालै आलोपालो गरी मोही हकबाट बाली लिई खाने गरी आएको बाबुनारायण महर्जन मोही भई कमाई आएको पिता रत्नमानको नाममा मालपोत कार्यालय काठमाडौंमा दर्ता भएको पूर्व कि.नं.५५ पश्चिम कि.नं.५३ उत्तर कि.नं.६५ दक्षिण कि.नं.४३ यति ४ किल्ला भित्रको टंकेश्वर ताहाचल गा.पं.वार्ड नं.५ को मालपोत कार्यालय काठमाडौंमा सालको तिरो रु.१।२१ बुझाउनु पर्ने मोल बिगो रु.चारसय पच्चीस भएको कि.नं. ५४ को जग्गा रोपनी अवल (+।५–+२) पाँच आना कित्ता चार सय पच्चीस विपक्षी गणेशमान र मैले सालसालै आलोपालो गरी मोहीहरूबाट बाली लिई खाने गरी आएको भरवसिं महर्जन मोही भई कमाई आएको पिता रत्नमानका नाममा मालपोत कार्यालय काठमाडौंमा दर्ता भएको पूर्व कुलो पश्चिम कि.नं. ४४ उत्तर कि.नं. ६५ दक्षिण कि.नं. ४३ यति चारकिल्ला भित्रको टंकेश्वर ताहाचल गा.पं. वार्ड नं. ५ को मालपोत कार्यालय काठमाडौंमा सालको बिगो रु. १।३३ बझाउनु पर्ने मोल बिगो पाँच सय एक रुपैयाँ भएको कि.नं. ५५ को अवल जग्गा रोपनी (+–+२) पाँच आना दुई पैसा जग्गाको जग्गा कित्ता एक         ५०१।

प्रतिवादी तर्फबाट दाखेल भएको तायदाती

आमा लक्ष्मीदेवीका नाउँबाट खरीद भएको का.नगर पंचायतवार्ड नं.२६ का.जि.नरदेवी नेटपाँचो टोलको पूर्व धर्मको घर, पश्चिम भैरवनाथको मन्दिर, उत्तर मुल सडक, दक्षिण साझा चोक यति ४ किल्ला भित्रको उत्तर मोहडा पूर्व पश्चिम लङको १।। नाले ७ कवले ५ तल्ले मोल रु.३०,००० हजार जाने पक्की झिंगटी घरको मोल रु.                  ३०,०००।

का.नगर पंचायतवार्ड नं.१४ का.जि.टंकेश्वर ताहाचलको पूर्व मूल सडक पश्चिम आफ्नै बगैंचा र नन्द सिद्धाको घर, उत्तर विष्णु गोपाल श्रेष्ठको घर दक्षिण विष्णु मानन्धरको घर यति ४ किल्ला भित्रको २ नाले ३ तले  पक्की घरको मोल रु.(आठहजार)                ८०००।

बाबु रत्नमानका नाउँमा दर्ता भएको

चारैतर्फ रैकर साँध भएको का.जि.का.नगर पंचायतस्वयंभू पञ्चायत वार्ड नं.३ (क) कि.नं.१०५ को क्षेत्रफल ०१३२ को मोल           रु.२०००।

ऐ. ऐ. वडा को का.नगर पंचायतस्वयंभू कि.नं.५४ को चारैतर्फ रैकर साँध भएको क्षेत्रफल ११३१ को मोल रु.               ४०००।– 

ऐ. ऐ. कि.नं.८८ के क्षेत्रफल ०० को मोल रु.   ५००।

का.जि.कालिमाटी नगर पञ्चायत वडा नं.९ (क) कि.नं.१५६ को चारै तिर रैकर साँध भएको क्षेत्रफल ०१४१ को मोल रु.            २०००।

आमा लक्ष्मीदेवीको नाउँको

चारैतर्फ रैकर साँध भएको का.जि.स्वयंभू पञ्चायत वडा नं.४ कि.नं.३३९ को क्षेत्रफल  २० को मोल रु.            ५०००।

बाबु रत्नमानका नाउँमा दर्ता भएको भगवान गुठी म गणेशमान र भाइ प्रेममानले मात्र आलापालो चलाई खाने चारैतर्फ रैकर साँध भएको का.जि.मनमैजू पञ्चायत वार्ड नं.७ (क) कि.नं.२८ को क्षेत्रफल १० को मोल रु.               १०००।

ऐ. ऐ. कि.नं.१४ को क्षेत्रफल ० को मोल रु.      ५००।

ऐ. ऐ. लेले पञ्चायत कि.नं.३३२ ऐ. ऐ. क्षेत्रफल १० को मोल रु.         १०००।

ऐ.ऐ. लेले पञ्चायत कि.नं. ३४१ ऐ. ऐ. क्षेत्रफल २० को मोल रु.          २०००।

माथि इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी भई निर्णय भएको हुँदा मध्यमाञ्चल क्षेत्रिय अ.का माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी र मा.न्या.श्री रुद्र बहादुर सिंहको केही उल्टीमा रेकर्ड राख्नु...६

मिसिल नियम बमोजिम गरी बुझाई दिनु....................................७

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४२ साल भाद्र २० गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु