निर्णय नं. २४९७ - उत्प्रेषणाको आदेश जारी गरिपाउँ

निर्णय नं. २४९७ ने.का.प. २०४२ अङ्क ९
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको रिट नं.२०५६
विषय : उत्प्रेषणाको आदेश जारी गरिपाउँ ।
निवेदक :जि.धनुषा जनकपुर नगर पंचायतवार्ड नं.४ बस्ने पुरुषोतम शर्मा ।
विरुद्ध
विपक्षी :जनकपुर नगर पञ्चायत कार्यालय, धनुषा।
धनुषा जिल्ला पंचायत कार्यालय ।
न्याय समिति धनुषा जि.पं.कार्यालय ।
न्याय समितिको अध्यक्ष दिनकर यादव जि.पं.का.धनुषा ।
जि.धनुषा जनकपुर नगर पंचायतवडा नं.वडा नं.४ बस्ने शिवनाथ शाह कलवार ।
ऐ.ऐ बस्ने रामकुमार कलवर ।
आदेश भएको मिति:२०४२।९।५।६ मा
जिल्ला पञ्चायत सचिवालय धनुषाले मुद्दामा किनारा नलागेसम्म कुनै कारवाई नगर्नु भनी लेखेको निवेदन पत्रबाट निवेदकको कुनै हक हनन् भएको नदेखिने ।
(प्रकरण नं. १२)
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०४०।१२।६ मा दर्ता भएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन्ः निवेदकले जनकपुर नगर पञ्चायत कार्यालयमा मिति २०४०।७।१० मा घर बनाउन भनी आवश्यक सबै व्यहोरा खुलाई दस्तुर समेत बुझाई निस्सा सहित रीत पूर्वकको निवेदनद्वारा नक्शा पास होस् भनी निवेदन दर्ता गराए पछि म्यादभित्र कसैको उजूरी नपरेकोले ०४०।७।११।६ मा सूचना समेत जारी भएको छ । त्यसरी म्यादभित्र कसैको उजूरी नपरेपछि नगर पञ्चायत ऐन, २०१९ को दफा ४८ बमोजिमको प्रकृया पुरा गरी निवेदकको नक्शा पास गरिदिनुपर्नेमा जि.पं.का. धनुषाबाट ०४०।८।२० मा नक्शा पास सम्बन्धी कुनै पनि कारवाही नचलाउनु भनी आदेश प्राप्त भएकोले सरजमीन गर्ने आदेश समेत रोक्का हुन्छ भनी निवेदकलाई जनकपुर नगर पंचायतबाट मौखिक जानकारी दिइयो । निवेदकलाई कुनै जानकारी नदिई नबुझी नझिकाई एकतर्फी सजायँ के कस्तो रुपमा निवेदकको हक हितमा आघात पर्ने गरी धनुषा जि.पं.बाट आदेश भएको रहेछ भनी उक्त कार्यालयमा बुझ्न जाँदा कुनै जानकारी दिन मिल्दैन भनी मौखिक जवाफ दिइयो । तत्पश्चात धनुषा नगर पंचायतसँग मेरो नक्शा पासको कारवाही गर्न नमिल्ने लिखित कारण दिनु होस् भनी माग गर्दा ०४०।।२० मा निवेदकको नक्शा पास सम्बन्धमा कार्यवाही नचलाउन भनी जि.पं.कार्यालय धनुषाबाट लेखी आएको पत्र देखाइयो ।
३. ०४०।८।२० को आदेशको नक्कल सारी हेर्दा विपक्ष विश्वनाथ साहकलवारले अघि म समेत ५ जनाको विरुद्धमा जनकपुर नगर पञ्चायतमा झ्याल खोलाई पाउँ भनी दिएको निवेदनमा ०४०।७।१० मा नगर पञ्चायतबाट भएको निर्णय उपर धनुषा जि.पं.मा पुनरावेदन दिएको र त्यसमा मिसिल झिकाउने आदेश भए तापनि मलाई झिकाउने वा बुझ्ने आदेश भएको छैन । यसै बीच ०४०।८।१९ मा उक्त पुनरावेदन मुद्दासित कुनै सरोकार नभएको रामकुमार शाह कलवारले मुद्दा चल्दा चल्दैमा निवेदकको नक्शा पास रोक्का गरिपाउँ भनी दिइएको निवेदनका आधारमा न्याय समितिका अध्यक्ष दिनकर यादवले यस सम्बन्धमा मुद्दाको किनारा नलागेसम्म कुनै किसिमको कारवाही नगर्न भनी ठाडो आदेश दिनु भएको कारणले निवेदकको नक्शा पास गर्ने काम रोकिएको व्यहोरा अवगत हुन आयो । प्रत्यर्थीहरूले उपरोक्त बमोजिम चलाएको सम्पूर्ण कार्यवाही तथा न्याय समितिको अध्यक्षको ०४०।८।२० को कारवाही नगर्नु भन्ने आदेश समेत गैरकानुनी एवं अनधिकार भएकोले बदरभागी छ भन्ने सम्बन्धमा मेरो निम्नलिखित जिकिर छ ।
४. विपक्षी शिवनाथ शाहको झ्याल खोलाई पाउँ भन्ने मुद्दा र मेरो नक्शा पास गरिपाउँ भन्ने निवेदकको बीच कुनै सम्बन्ध छैन । मैले घर बनाउने जग्गाको साँध संधियार समेत होइन भन्ने निजसंगको अरु कुनै मुद्दाको कारण मात्रले मेरो नक्शा पास सम्बन्धी कारवाई रोक्ने प्रत्यर्थीहरू मध्ये कसैलाई पनि प्राप्त छैन ।
५. विपक्षी शिवनाथको विरुद्धमा निवेदकले अघि नक्शा पास बेगर घर बनाई मेरो घरतर्फ झ्याल खोलाई बन्द गराई पाउँ भन्ने जनकपुर नगर पंचायतमा उजूरी दिएकोमा निजको म्याद गुजारी बसेपछि दावी बमोजिमको झ्याल बन्द गरिदिने गरी २०४०।७।१० मा एकतर्फी निर्णय भई अन्तिम भएर रहेको छ । त्यस उपर विपक्षीले कतै उजूर वा पुनरावेदन गर्नु सक्नु भएको छैन तर विपक्षीले म समेत ५ जनाको विरुद्ध मूलतः गुठीको जग्गा च्यापी मिचेको आरोप लगाई विषय मात्र झ्याल खुलाई पाउँ भनी उजूरी दिएकोमा सोही मितिमा गुठीको जग्गातर्फ नगर पञ्चायतलाई बोल्ने अधिकार नभएको र बेगर नक्साको झ्याल बनाएतर्फ छुट्टै निर्णय भइसकेको भनी निर्णय गरिएकोमा पनि कानुनले जि.पं.समक्ष पुनरावेदन लाग्ने व्यवस्था छैन ।
६. नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(३) अन्तर्गत नक्शा पास म्यादभित्र नगरी दिएमा वा बेहिसाबले नक्शा पास गरिदिएमा मात्र जि.पं.का समक्ष पुनरावेदन लाग्ने व्यवस्था भएकोमा गुठी जग्गा च्यापेको वा झ्याल खोलाई पाउँ भन्ने विषय उपर पुनरावेदन लिन र लाग्ने व्यवस्था कानुनमा छैन । यसरी गैरकानुनी पुनरावेदन लिई कारवाई चलाई गरेको अधिकार क्षेत्रविहीन आदेश स्वतः बदरभागी छ विपक्षी शिवनाथको निवेदन नक्शा पास सम्बन्धी निवेदन पनि होइन र बेहिसाबले नक्शा पास गरी दिने निर्णय भए गरेको छैन । त्यस अवस्थामा पुनरावेदन दर्ता गर्ने अधिकार प्रत्यर्थी जि.पं.का धनुषा अथवा सो को न्याय समितिको कसैलाई पनि छैन ।
७. विपक्षीहरूद्वारा लिखिन जवाफ मगाई पेश गर्नु भन्ने सिंगल बेञ्जका मिति २०४०।१२।७।३ को आदेशानुसार प्राप्त हुन आएको लिखिन जवाफ निम्न प्रकार छन्ः
८. सार्वजनिक गुठी जग्गालाई हत्याउने दृष्टिकोण लिएको अधिकार हनन् नभएकोले र विलम्बको सिद्धान्तको आधारमा समेत रिट निवेदनपत्र खारेज गरिपाउँ भन्ने शिवनाथ कलवार समेतको लिखिन जवाफ ।
९. जनकपुर नगर पञ्चायत कार्यालय समेतको लिखिन जवाफ प्राप्त हुन आएको रहेनछ।
१०. निवेदकतर्फका विद्वान अधिवक्ता श्री वलराम काफ्लेले विपक्षी जनकपुर नगर पञ्चायत समेतले गैरकानुनी रुपमा निर्णय गरेकोले रिट निवेदन जारी हुन पर्छ भन्ने र विपक्ष शिवनाथ शाह तर्फका विद्वान अधिवक्ता श्री जयकान्तलाल दासले जनकपुर नगर पञ्चायत समेतले कानुन बमोजिम निर्णय गरेको हुनाले रिट निवेदनपत्र खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
११. प्रस्तुत केशमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।
१२. यसमा नक्शा पास गरिदिने सम्बन्धमा नगर पञ्चायतले गरेको निर्णय उपर नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(३) ले जिल्ला पञ्चायतमा उजूर लाग्ने व्यवस्था भई रहेको देखिन्छ । विवादको नक्शा पास सम्बन्धी जग्गालाई लिई जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयले जनकपुर नगर पञ्चायतलाई राम मन्दिरको बगंैचा जग्गा नछुटिएसम्म नक्शा पास नगरिदिनु भनी कारवाई भएको भन्ने र निवेदक र विपक्षी शिवनाथ शाह कलवारका बीचमा झ्याल खोलाई पाउँ भन्ने बारे विवाद उठी त्यसमा नगर पञ्चायतबाट भएको ०४०।७।१० को निर्णयमा जिल्ला पञ्चायत धनुषामा पुनरावेदन गरी राखेको भन्ने समेत कुरामा दुवै पक्षको मुख मिलेकै देखिएकोले यस स्थितिमा जिल्ला पञ्चायत सचिवालय धनुषाले ०४०।८।२० को उक्त मुद्दामा किनारा नलागेसम्म कुनै कारवाई नगर्नु भनी लेखेको निवेदन पत्रबाट निवेदकको कुनै हक हनन् भएको नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ ।
नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल पौष ५ गते रोज ६ शुभम् ।