निर्णय नं. १३२१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १३२१ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३५ सालको रिट नम्बर ८३२
आदेश भएको मिति : २०३६।६।२६।३ मा
निवेदक : जि. वैतडी गा.पं.ढिक न्वाली वडा नं. ९ बस्ने रामदत्त भट्ट
विरूद्ध
विपक्षी : निर्वाचन विशेषअदालत, वैतडी जिल्ला अदालतका जि. न्या. श्री दिव्यनारायण श्रेष्ठ, जि. वैतडी ढीक न्वाली गा.पं. वडा नं. १ गोवडा बस्ने काशीचन्द
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) जुन पदको लागि जिकिर गर्दै रिट निवेदन पर्न आएको हो सोही पदमा पुनः निवेदक निर्विरोध निर्वाचित भइसकेको भन्ने कुरा देखिँदा निवेदकका माग बमोजिम आदेश जारी गर्न निरर्थक देखिने ।
(प्रकरण नं. ८)
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
आदेश
न्या. बासुदेव शर्मा : विपक्षी निर्वाचन विशेष अदालतको मिति ०३५।४।१९ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।६।३१ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछ ।
२. जिल्ला वैतडी गा.पं.को प्र.पं.र उप प्र.पं.पदको निर्वाचन ०३४।१२।१६ मा हुँदा निवेदक र विपक्षी काशीचन्द्र प्र.पं.को उम्मेद्वार भएकोमा निवेदकले २०। विपक्षी रामचन्द्रले १७ वैध मत प्राप्त गरी ६ मतपत्रहरू बदर भएका थिए बहुमत प्राप्त उम्मेद्वारलाई प्रधानपञ्च पदमा निर्वाचित भएको घोषित भएपछि निवेदकले ०३४।१२।१६ मा पदको शपथ ग्रहण गरेकोमा उक्त निर्वाचनको विरूद्ध विपक्षी काशीचन्दको उजूर परी कार्यवाही हुँदा विपक्षी विशेष अदालतबाट उक्त प्रधानपञ्च पदको निर्वाचनलाई बदर गरी फैसला भएको रहेछ सो बदरगराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ ।
३. उक्त निर्वाचन स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐन, २०२५ को दफा २२ को उपदफा (२) को खण्ड (ग) र गाउँ पञ्चायत तथा नगरपञ्चायत निर्देशिका, २०३४ मा निर्धारित रेखा चिन्ह लगाएको मतपत्रलाई बदर गर्ने कुनै कानूनी अधिकार विपक्षी विशेष अदालतलाई नभएकोमा उक्त निर्वाचनको सम्पूर्ण मतपत्रहरू बदर ठहराई गर्नुभएको निर्णय कानून विपरीत र अनधिकृत छ ।
४. विपक्षीद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चका ०३५।७।१२ का आदेशानुसार प्राप्त लिखितजवाफमा लिएका जिकिर यस प्रकारका रहेछन्:
५. उक्त फैसला भएपछि सम्बन्धित कार्यालयबाट सो न्वाली गा.पं.को प्र.पं.उ.प्र.प.पदको पुनः निर्वाचन भई प्रधानपञ्च पदमा निजै रामदत्त भट्ट उ.प्र.पं.पदमा राममान सिंह कार्की निर्वाचित हुनु भएको भई गाउँ फर्क राष्ट्रिय अभियान जिल्ला समितिको पत्रानुसार निज प्र.पं.रामदत्त भट्टले ०३५।९।७ मा र उ.प.प.र. राममानसिंह कार्कीले ०३५।९।११ मा यस अदालतमा शपथ ग्रहण गर्नुभएको समेत देखिन्छ । तसर्थ रिट निवेदन निरर्थक छ खारेज गरिपाउँ भन्ने समेत विपक्षी निर्वाचन विशेष अदालत मुकाम वैतडि जिल्ला अदालत ।
६. निर्वाचन विशेष अदालत वैतडीले ०३५।४।१९ मा फैसला गरी निर्वाचन बदर भएपछि फेरि दोहोरो निर्वाचन समेत भई विपक्षी रामदत्त भट्टले निर्विरोध प्र.पं. भइसक्नु भएको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत हु.द्वारा प्राप्त काशीचन्द्रको लिखितजवाफ रहेछ ।
७. तारेखमा रहेका निवेदक रामदत्त भट्टको वारेस मकरमान श्रेष्ठलाई रोहवरमा राखी पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्षी निर्वाचन विशेष अदालततर्फबाट बहस निमित्त खटिनु भएका विद्वान अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनी बुझ्दा प्रस्तुत रिट निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु परेको छ ।
८. यसमा विपक्षी निर्वाचन विशेष अदालत मुकाम वैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीशको लिखितजवाफको प्रकरण ३ पाना २ मा “निवेदक रामदत्त भट्ट पुनः प्रधानपञ्च पदमा निर्वाचित हुनु भएको भई ०३५।९।११ मा यस अदालतमा शपथ ग्रहण गर्नुभएको भन्ने समेत कुरा र विपक्षी काशीचन्द्रको रजिष्ट्रीद्वारा पठाएको लिखितजवाफमा पनि फैसला भएपछि फेरि दोहरो निर्वाचन समेत भई विपक्षी रामदत्त भट्ट नै निर्विरोध प्र.पं.भई सक्नु भएको” भन्ने कुरा समेत उल्लेख भएको देखिएकाले समेत जुन पदको लागि जिकिर गर्दै रिट निवेदन पर्न आएको हो सोही पदमा पुनः निवेदक निर्विरोध निर्वाचित भइसकेको भन्ने कुरा देखिँदा निवेदकका माग बमोजिमको आदेश जारी गर्न निरर्थक देखिन्छ, तसर्थ प्रस्तुत रिट निवेदनपत्र तामेलीमा राखी दिने ठहर्छ र नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३६ साल आषाढ २६ गते रोज ३ शुभम् ।