निर्णय नं. २५०१ - डाँका

निर्णय नं. २५०१ ने.का.प. २०४२ अङ्क ९
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको फौ.पु.नं. ४९२
मुद्दा : डाँका ।
पुनरावेदक/वादी: झंकनाथ थपलियाको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी:नु.जि.मदानपुर गा.पं. वा.नं.५ बस्ने इश्वरीप्रसाद लोहनी समेत ।
फैसला भएको मिति:२०४२।८।१८।३ मा
अन्य स्वतन्त्र प्रमाणहरूबाट स्वतन्त्र रुपमा समर्थन नभएमा प्रहरीमा भएको सावितीलाई प्रमाणको रुपमा ग्रहण गर्नु कानुन तथा न्यायिक सिद्धान्त समेतले नमिल्ने ।
(प्रकरण नं. २२)
फैसला
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षिप्तमा यसप्रकार रहेछ ।
२. २०३७।४।१० का बेलुका बास बस्न आएका अपरिचित ३ जना र ९ बजे खाना खान लाग्दा अरु ४ जना समेत भित्र पसी आमा, जेठी, कान्छी, श्रीमती म र गोठालोलाई समेत पाता कसी कराइस भन्ने काट्छु भनी खुकुरी देखाई रु.१२,४७७।– को धनमाल डाँका गरी लगेकाले पक्राउ गरी कानुनी कारवाही गरिपाउँ भन्ने समेत झंकनाथ थपलियाको जाहेरी दर्खास्त ।
३. पक्राउ भई आएका पृथ्वीमान श्रेष्ठ र सुनदन्ते भन्ने इश्वरीप्रसादलाई अदालतमा म्याद थप ल्याउँदा चिने, ज्ञानप्रसाद मुनीलाई काठमाडौंमा चिनेको हुँ, अरु ४ जनालाई नदेखेका हुन् भन्ने समेत जाहेरवालाको सनाखत कागज ।
४. मिति २०३८।४।८ मस्र्याङदीलजमा झंकनाथको घरचोर्न जाने इश्वरीप्रसादले सल्लाह गरेकोले मिति २०३७।४।१० गते झंकनाथ समेतलाई पाता कसी कराउन नदिई म समेत ७ जना भई जाहेरी बमोजिम धनमाल जबरजस्ती चोरी गरेका हौं भन्ने समेत व्यहोराको पृथ्वीमान श्रेष्ठले प्रहरीमा गरेको कागज ।
५. मिति ०३७।४।८ गते मस्र्याङदी लजमा ज्ञानप्रसाद समेत ७ जनाले झंकनाथको घर चोरी गर्ने सल्लाह गरी ज्ञानप्रसाद कनैया, गोपाल र म गोठमा बस्यौं र पृथ्वीमान, साँइला पाण्डे र नाम नजानेको १ जना समेत ३ जनालाई बास माग्न पठाई राती ९ बजे हामी समेत भई परिवारलाई पाता कसी जाहेरीमा लेखे बमोजिम चोरी गरेका हौं, चोरीको माल मैले पाएको छैन, भन्ने समेत इश्वरीप्रसादले प्रहरीमा गरेको कागज ।
६. मिति २०३७।४।१० गते ७ जना आई हाल नाम थाहा हुन आएको ईश्वरीप्रसादले रु.१०।– तिरी खुकुरी किनी लगेका हुन् भन्ने केशरमान तामाङले प्रहरीमा गरेको कागज ।
७. उक्त दिन रातको ९ बजे झंकनाथको छोरीले मलाई बचाउन आमा बाबुलाई काटीसके भनेकोले सो सुनी चोरहरू भागेछन् । झंकनाथको घर भित्र गई हेर्दा सबै परिवारलाई बाँधी राखेको रहेछ हिरालालले डोरी फुकाई दिए जाहेरीका धनमाल चोरी गर्नेहरूमा ईश्वरीलाई चिन्दछु भन्ने समेत ठेडकुमारीको कागज ।
८. सुन्दन्तेले झंकनाथले घरमा चोरी गर्न जाउँ भनेकाले मिति २०३७।४।१० गते सुन्दन्ते, पृथ्वीमान, साँहिला पाण्डे, गोपाल, कन्हैयाकुमार, कमलध्वज राउत समेत ७ जना भई १०।११ बजे झंकनाथ समेतलाई बाँध छाँद गर्दा घरका मानिस र गाउँका मानिसले समात्न खोज्दाभागी आएका हौं भन्ने व्यहोराको कृष्ण कुमारअग्रवालको धनमाल चोरी मुद्दामा ज्ञानप्रसाद गुनीले २०३७।४।१० मा गरेको कागजको प्रतिलिपि ।
९. मिति २०३७।४।१० गते झंकनाथको घरमा सुनदन्ते समेत ७ जना भई चोरी गर्न गई भात खान लागेका बखत समाती पाता कस्न लाग्दा फुत्केरभागी चोर डाँका आयो भनी कराए पछि गाउँका मानिस आई समात्न लाग्दा भागेका हौं भन्ने समेत कृष्ण कुमारअग्रवालको धनमाल चोरी मुद्दामा प्रहरीमा कमलध्वज राउतले २०३७।४।२१ मा गरेको बयानको प्रतिलिपि ।
१०. पृथ्वीमानसमेत ७ जवान व्यक्तिले झंकनाथको घरका सबैलाई बाँध छाँद गरी रु.१२,४७७।– को धनमाल जबरजस्ती चोरी गरेकाले मुलुकी ऐन चोरीको ६ नं.बमोजिम अपराध गरेकाले प्र.पृथ्वीमान, ज्ञानप्रसाद, कमलध्वज, साँहिला पाण्डे, गोपाल, कन्हैयासमेतलाई सोही ऐनको १४ नं.को देहाय ४ बमोजिम सजायँ होस् पक्राउ भएका पृथ्वीमान श्रेष्ठ र ईश्वरीप्रसादलाई समेत पेश गरेको छु भन्ने समेत प्रहरी प्रतिवेदन ।
११. मिति २०३७।४।८ गते ससुराली चौधडा गई मिति २०३७।४।१० गतेसम्म बसी भोलिपल्ट घर फर्कंदा रानी पौवामा फेला पारी प्रहरीले कुटपीट गरी सहन नसकी सावित भएको कुरा झंकनाथको घरमा चोरी भए नभएको थाहा छैन भन्ने समेत अदालतमा भएको पृथ्वीमानको बयान ।
१२. मिति २०३७।४।६ गते काठमाडौं गई १० गते ४।३० बजे रानीपौवा फेदीमा आई बसेको हुँ प्रहरीले कुटपीट गरेकोले सहन नसकी चोरी गरेको भनेको हुँ जाहेरवालाको घरमा चोरी भए नभएको थाहा छैन भन्ने समेत अदालतमा ईश्वरीप्रसाद लोहनीले गरेको बयान ।
१३. कमलध्वज र ज्ञानप्रसादको बन्द सवालद्वारा बयान भएको ।
१४. पृथ्वीमान श्रेष्ठको साक्षीले निजलाई सफाई दिई बकेको ।
१५. चोरीको मालसामान बरामद भई नआएकोले प्र.हरूले नै डाँका गरेको हो भन्न नमिल्ने हुँदा डाँकामा सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदनको अभियोग पुग्न सक्दैन भन्ने समेत नुवाकोट जिल्ला अदालतको फैसला ।
१६. सो फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परेकोमा प्रहरीमा सावित भएको मात्र आधारमा प्रतिवादीहरूलाई दोषी ठहराउन मिल्ने नहुँदा शुरु जिल्ला अदालतको इन्साफ मनासिव छ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको रहेछ ।
१७. उक्त फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को अवस्था विद्यमान हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने श्री ५ को सरकारको निवेदन परेकोमा फरार रहेका प्रतिवादीहरू मध्ये साँहिला पाण्डे, गोपाल साही, कन्हैया ताम्राकारको हकमा अ.बं.१९० नं.बमोजिम मुलतवी राखी कारवाही किनारा गर्नु पर्नेमा सोतर्फ ध्यान नलिई गरेको फैसलामा अ.बं.१९० नं.को त्रुटि भएको देखिएकोले पुनरावेदन गर्न अनुमति दिइएको छ, भन्ने मिति २०४०।९।७ को आदेशानुसार पुनरावेदन लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।
१८. नियमानुसार पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएको विद्वान का.मु.उपन्यायाधीवक्ता श्री काशिनाथ पौडेलले प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।
१९. अब मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ सोको निर्णय दिन परेको छ ।
२०. निर्णयतर्फ बिचार गर्दा यसमा मौकामा प्रहरीमा बयान कागज गर्दा सावित भएको आधारमा प्रतिवादीहरूलाई दोषी ठहराउन नमिल्ने भनी सम्पूर्ण प्रतिवादीहरूलाई आरोपित अभियोगबाट सफाई पाउने ठहर्याई गरेको शुरु नुवाकोट जिल्ला अदालतको फैसलालाई मध्यमाञ्चल क्षेत्रिय अ.ले सदर गरेको देखिन्छ ।
२१. प्रस्तुत मुद्दा अध्ययन गरी हेर्दा प्रतिवादीहरू मध्ये साँहिला पाण्डे, गोपाल साही र कनैया ताम्राकार फरार रहेको देखिन्छन् । फरार रहेका यी प्रतिवादीहरूको हकमा मुलुकी ऐन अ.बं.१९० नं.बमोजिम मुलतवी राख्न पर्ने बाध्यात्मक व्यवस्थाको बेवास्ता गरी निजहरुलाई समेत अभियोगबाट सफाई दिने गरेको शुरु नुवाकोट जिल्ला अदालतको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उक्त ऐनको विपरीत भएको देखिँदा सो हदसम्म उक्त फैसला बदर भई केही उल्टी हुने ठहर्छ ।
२२. पक्राउ भई आएका अन्य प्रतिवादीहरूका हकमा बिचार गर्दा जाहेरवालाको घरमा डाँका गरेमा प्रहरीमा सावित भए पनि अदालतमा निजहरू आरोपित कसूरमा इन्कार रहेका र डाँका वा चोरी मुद्दामा डाँका गरिएका वा चोरी गरिएका माल सामान बरामद भएमा अकाट्य दसी प्रमाण मान्न सकिने हुन्छ, तर प्रस्तुत मुद्दामा सो भएको छैन । यी प्रतिवादीका साक्षीहरूले निजहरूलाई सफाई दिई बकपत्र गरेको पाइन्छ । प्रत्यक्षदर्शी भनिएकी मुख्य गवाह डेढकुमारी र वारदातका दिन खुकुरी बेच्ने भनिएका केशरमान तामाङलाई दाखिल गर्नु भन्ने अदालतको आदेश बमोजिम स.स.अ.कार्यालयले निजहरूलाई उपस्थित गराउन सकेको पनि देखिँदैन । तसर्थ अन्य स्वतन्त्र प्रमाणहरूबाट स्वतन्त्र रुपमा समर्थन नभएमा प्रहरीमा भएको सावितीलाई प्रमाणको रुपमा ग्रहण गर्नु कानुन तथा न्यायिक सिद्धान्त समेतले मिल्दैन । यस्तो अवस्थामा पक्राउ भएका ईश्वरीप्रसाद लोहीनी, पृथ्वीमान श्रेष्ठ, ज्ञानप्रसाद गुनी, कमलध्वज राउत समेतलाई आरोपित कसूरबाट सफाई दिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव देखिँदा सो हदसम्म सदर हुने ठहर्छ । केही उल्टीमा मा.न्या.ज्यू श्री हरिहरलाल राजभण्डारी र लिलाप्रसाद गिरीको रिकर्ड राख्न निमित्त प्रशासन शाखामा लेखी पठाउन मिसिल नियम बमोजिम बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४२ साल मंसीर १८ गते रोज ३ शुभम् ।