शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०४७ - अंश चलन

भाग: ४३ साल: २०५८ महिना: फागुन अंक: ११

निर्णय नं. ७०४७    ने.का.प २०५८              अङ्क ११/१२

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री टोपबहादुर सिंह

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी

सम्वत २०५४ सालको दे.पू.इ.नं....१३३

फैसला मितिः २०५८।१।२७।५

 

मुद्दाः अंश चलन ।

 

पुनरावेदक/वादी : का.जि.आलपोट गा.वि.स. वडा. नं. ५ वस्ने ललितवहादुर खड्का समेत

                                                विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. वस्ने वलराम खड्का समेत ।

 

§  सहोदर नातीले मेरो हेरविचार टहल चाकरी पालनपोषण गरेको हुनाले मेरो भागमा आउने चल अचल श्रीसम्पत्ति अष्टलोह ग्रैह शेषपछि खानु भनी मिति २०१४।१०।२७ मा वज्यै नरदेवाले प्रतिवादी वलराम खड्कालाई शेषपछिको वकसपत्र गरीएको मिसिल संलग्न कागजातबाट देखिन्छ । वज्यै नरदेवाले प्रतिवादी वलराम खड्कालाई मिति २०१४।१०।२८ मा अष्टलोह गैह्र सम्पत्ति वज्यै नरदेवाका हकमा २०९९।१०।१६ मा सानो छुट्टिएको मिति कायम भएपछि शेषपछिको वकसपत्र पारित गरी दिएको कुरामा कुनै विवाद देखिदैन । दाता वज्यै नरदेवाको २०१६।७।२८ मा मृत्यु भए प्रश्चात प्रतिवादी वलराम खड्काले आफ्ना पिता दलबहादुर खड्का उपर वज्यै नरदेवाको अंश भाग जति शेषपछिको वकसपत्र वमोजिम अशं भाग छुट्याई पाउँ भनी दिएको अंश मुद्दा का. इ.दे.अ. बाट मिति २०१९।३।३१ मा शेषपछिको वक्सपत्र वमोजिम वादीले अंश लिन पाउने ठहरी फैसला भएको संलग्न प्रमाण मिसिलबाट देखिन्छ । उक्त फैसला वमोजिम सोही मितिमा का.इ.दे.अ. बाट खडा गरीएको वण्डा मुचुल्कामा यी प्रतिवादी वलरामको हकमा १९९९।१०।१६ मा सानो छुट्टिएको मिति कायम भै त्यसको अघिल्लो दिन सम्मको तायदाती लिई वज्यै नरदेवाको वकसपत्र वमोजिमको सम्पत्ति वण्डा छुट्यार्इ लिएको मिसिल संलग्न वण्डा मुचुल्काको प्रतिलिपिबाट देखिन आयो । प्रतिवादी वलराम खड्काले शे.व. वमोजिमको सम्पत्ति अंश लिन पाउने ठहरी मिति २०१९।३।३१ मा का.इ.दे.अ. बाट भएको फैसला वदर गरी पाउँ भनी यी वादी ललितवहादुर र निजकी आमा सुन्तलीले काठमाण्डौं जिल्ला अदालतमा दिएको मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी मिति २०३२।८।१५ मा फैसला भएको र सो उपर परेको पुनरावेदन २०३३।८।२९ मा वागमती अंचल अदालतबाट सो फैसला वदर नहुने भनी फैसला भै उक्त फैसला अन्तिम भएर वसेको देखिन्छ । वादी वलराम खड्का प्रतिवादी दलवहादुर भएको साथै पेश भएको लगाउको अंश मुद्दामा शुरु काठमाडौ जिल्ला अदालतबाट फिराद परेको अघिल्लो दिनलाई  मानो छुट्टिएको मिति कायम गर्ने गरी मिति २०४२।४।१० मा भएको आदेश उपर यिनै प्रतिवादी वलरामको अ.व. १७ नं. अन्तर्गत मानो छुट्टिएको मिति कायम गर्ने गरी मिति २०४२।४।१० मा शुरुको आदेश वदर गरी वलराम खड्काको हकमा मिति १९९९।१०।१६ लाई मानो छुट्टिएको मिति कायम गर्ने गरी आदेश मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४२।९२६ मा र सर्वोच्च अदालतबाट २०४३।१।३१ मा कानून वमोजिम गर्ने आदेश भै अन्तिम भएर रहेको देखिन्छ । तसर्थ प्रतिवादी वलराम खड्काको हकमा मानो छुट्टिएको मिति १९९९।१०।१६ अदालतको फैसला तथा आदेशले तहतह हुँदै अन्तिम भएर रहेको देखिँदा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरीनुपर्छ भन्ने पुनरावेदन वादी तर्फबाट विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसँग सहमत हुन सकिएन ।

§  प्रतिवादी वलराम खड्काले वज्यै नरदोवाबाट मिति २०१४।१०।२८ मा शे.व. बाट पाएको सम्पत्तिमा वादीको समेत अंश भाग लाग्ने हो, होइन भन्ने तर्फ विचार गर्दा प्रतिवादी वलराम खड्कालाई वज्यै नरदेवाले निजको अंश भागको सम्पत्ति मिति २०१४।१०।२८ मा शे.व. पारित गरी दिएको देखियो । यहि शे.व. बाट प्राप्त गरेको सम्पत्ति वज्यै नरदेवाको मृत्यु पश्चात वलरामले पिता दलवहादुर उपर अंश मुद्दा दिई का.इ.दे.अ. को मिति २०१९।३।३१ को फैसलाबाट छुट्याई लिएको देखिन्छ । उक्त मिति २०१९।३।३१ को फैसलाले वकसपत्र वमोजिम प्रतिवादी वलरामले प्राप्त गरेको सम्पत्तिमा हाम्रो समेत अंश हक लाग्ने भनी यी वादी अलितबहादुर र निजकी आमा सुन्तलीले सो फैसला वदर गरी पाउन मुद्दा दायर गरेमा फैसला वदर हुन नसकी तहतह हुँदै अन्तिम भएर रहेको देखिन्छ । अदालतको फैसला तथा आदेशले वलराम खड्काको हकमा मानो छुट्टिएको मिति १९९९।१०।१६ कायम भै रहेको स्थितिमा यी वादी र प्रतिवादी माथि उल्लेखित आधार प्रमाणबाट उक्त सम्पत्तिका सम्बन्धमा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिन सम्म सगोलमा नै रहेवसेको भन्न मिल्ने देखिएन । प्रतिवादी वलरामको हकमा १९९९।१०।१६ मा मानो छुट्टिएको मिति कायम भै सो मितिबाट मानो छुट्टिई अलग भिन्न वसेको परिप्रेक्ष्यमा निज प्रतिवादीले वज्यै नरदेवाबाट मिति २०१४।१०।२८ को शे.व. वमोजिम प्राप्त गरेको सम्पत्तिमा अन्य अंशियारहरुको भाग वण्डा लाग्छ भन्न मिल्ने अवस्था देखिएन । तसर्थ अदालतबाट भएका फैसला तथा आदेशले वलराम खड्काको हकमा मिति १९९९।१०।१६ मा मानो छुट्टिएको मिति कायम भइरहेको अवस्थामा प्रतिवादी वलराम खड्काले शे.व. बाट प्राप्त गरेको सम्पत्तिमा पुनरावेदन वादीको समेत अंश भाग लाग्नु पर्छ भन्ने पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसँग सहमत हुन सकिएन ।

§  प्रतिवादी वलराम खड्काले वज्यै नरदेवाबाट पाएको वकसपत्र वमोजिमको जग्गा वाहेक गरी पेश भएको तायदातीबाट ८ भागको १ भाग वादीले अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०४९।५।९ को फैसलालाई सदर गरेको मा. न्या. श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुने ।

                    (प्र.नं. १९ देखि २१)

पुनरावेदक वादीका तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल तथा श्री सानुवावु पोखरेल

प्रत्यर्थी प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री उमेश खकुरेल तथा श्री रेवन्त कुवर

अवलम्वित नजिर :

 

फैसला

          न्या. टोपबहादुर सिंहः यस अदालत संयुक्त इजलासको मिति २०५३।११।१३ को फैसलामा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम २०४९ को ३ (१) (क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ ।

          २.   दलबहादुरका ३ श्रीमतीहरु जेठी छत्रकुमारी, माहिली सुन्तली र कान्छी खड्ग कुमारीका सन्तानहरुमा क्रमशः सुन्तलीबाट म ललितबहादुर, छत्रकुमारीबाट बलराम, खड्गकुमारीबाट राजन, रघु र विवाह नभएको छोरी राम कलाको जायजन्म भै मेरी आमालार्इ घरमा नसहेकोले वि. सं. २०१० साल देखि मामा घरमा बसि आएका थियौं । मैले जागिर खाएपछि कन्चनपुर व्यारेकमा गै बसेको थिएँ । २०२४ सालमा ८ भागको १ भाग अंश माग्दा नदिई २०२७।१२।१ मा घरबाट निकाला गरेकोले फिराद दर्ता भएको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी विवाह नभएका रामकला, रघु र राजनको विवाह खर्च पर सारी ८ भागको १ भाग अंश विपक्षीबाट दिलाई भराई पाउँ भन्ने ललितबहादुरको फिराद पत्र ।

          ३.   म १९९९।१०।१६ देखि मानो छुट्टिई वेग्लै बसेको हो । वाजेको मृत्यु पश्चात वज्यै नरदेवाको सेवासुसार गरेवापत वज्यैले मलाई २०१४।१०।२८ मा उहांको हकको सम्पत्ति शेष पछिको वकस पत्र गरीदिनु भएको हो । वकसपत्र बमोजिमको जग्गा छुट्टाई नदिएकोले बाबुसँग मुद्दा परी इलाका अदालतबाट २०१९।३।३ मा फैसाल भै वण्डा समेत पाईसकेको छु । १९९९।१०।१६ मा नै मानो छुट्टिई सकेको हुँदा दावी बमोजिम वण्डा गर्नु पर्ने सम्पत्ति केही छैन भन्ने समेत व्यहोराको बलराम खड्काको प्रतिउत्तर पत्र ।

          ४.   वादी मेरो छोरा होइन । मेरा २ श्रीमतीहरु जेठी छत्रकुमारी र कान्छी खड्गकुमारी हुन । जेठी श्रीमती तर्फबाट छारा बलराम १९९९ सालमै छुट्टिई भिन्न वसेका थिए । विपक्षी मेरो अंशियार नभएकोले मैले अंश दिनपर्ने होइन भन्ने दलबहादुरको प्रतिउत्तर पत्र ।

          ५.  दलबहादुरका २ श्रीमतीहरुमा जेठी म र कान्छी खड्गकुमारी हुन् । सुन्तली भन्नेलाई स्वास्नी तुल्याई वाहिर राखेको भए मलाई थाहा छैन भन्ने छत्रकुमारीको वयान ।

          ६.   सुन्तली भन्ने दलबहादुरको श्रीमती होइन वाहिर राखेको भए मलाई थाहा छैन भन्ने समेतको खड्गकुमारीको वयान ।

          ७.  दलबहादुरको श्रीमती सुन्तलीबाट २००३ सालमा म जन्मेको हुँ । अंश माग्दा नदिएकोले यो अंश मुद्दा दिएको हो भन्ने समेत व्यहोराको ललितबहादुरको वयान ।

          ८.   यिनै प्रतिवादी बलराम खड्का वादी र प्रतिवादी दलबहादुर खड्का प्रतिवादी भएको अंश मुद्दामा यिनै वादीलाई समेत अंशियार कायम गरी ७ भाग वण्डा लाग्नेगरी फैसला भएको हुँदा वादी अंशियार भएको कुरामा विवाद नभएकोले मानो छुट्टिएको मिति २०२७।१२।२८ कायमगरी मोहियानी वाहेकका अन्य तायदाती बमोजिम ८ भागको १ भाग र प्रतिवादी बलराम खड्काले वकस पाएको ८ कित्ता जग्गा पनि २०३४ साल अघिको देखिंदा वण्डा लाग्ने ठहर्छ भन्ने समेत काठमाण्डौं जिल्ला अदालतको २०४५।३।१५ को फैसला ।

          ९.   जिल्ला अदालतले ८ अंशियार कायम गरेको मिलेको छैन । प्रतिवादी वलरामकी आमा र वादी ललितबहादुरकी आमा स्वर्गीय भैसकेकोमा मृतकको हकमा पनि वण्डा लाग्ने ठहर गरेको काठमाण्डौं जिल्ला अदालतको फैसला वदर गरी ६ भाग वण्डा हुने ठहर गरी पाउँ भन्ने समेत व्यहोराको दलबहादुर खड्काको तत्कालीन वागमती अञ्चल अदालतमा परेको पुनरावेदन  पत्र ।

          १०.  फिराद गर्दा अंशियार देखिएको तर फैसला हुँदा मरिसकेकी बलरामकी आमा छत्रकुमारी र वादीकी आमा सुन्तली समेतलाई अंशियार कायम गरेको तथा बलरामले वकस पत्र बाट पाएको सम्पत्ति पनि वण्डा गर्ने गरेको का. जि. अ. को फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म वदर भै बलरामले वकसपत्र बाट पाएको ८ कित्ता जग्गा वाहेक अरु जग्गाबाट वादीले ६ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने वा. अं. अ. को २०४६।३।१४ को फैसला ।

          ११.  वागमती अञ्चल अदालतको फैसला प्रतिवादी वलरामको जिकिरलाई मात्र ध्यानमा राखी एका तर्फी किसिमबाट भएकोले वदर गरी काठमाण्डौं जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको वादी ललितबहादुरको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।

          १२.  छत्रकुमारीबाट वकसपत्र पाई मुद्दा सकार गर्ने मनिराम र सुन्तलीबाट वकसपत्र पाई मुद्दा सकार गर्ने टंककुमारी भएको देखिएको स्थितिमा अंश खाने व्यक्तिहरु हुँदाहुँदै ८ अंशियारबाट ६ अंशियार कायम गरेको सम्म मिलेको देखिन आएन । तसर्थ ८ भागको १ भाग वादीले अंश पाउनेमा ६ भागको १ भाग अंश पाउने ठहराएको वा. अं. अ. को फैसला हदसम्म उल्टी हुने र अरुमा का.जि.अ. को फैसला उल्टी गरेको बा.अं.अ. को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत २०४९।५।९ को पुनरावेदन अदालत पाटनको फैसला ।

          १३.  उक्त फैसलामा रजिष्ट्रेशनको १ नं. र तत्काल प्रचलित अंशवण्डाको १ नं. समेतको गम्भीर त्रुटी हुन गएको र सम्मानित अदालतबाट प्रतिपादित नजिरहरुको पालन गरेको समेत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को (क) र (ख) को आधारमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन ।

          १४.  यसमा फिराद दर्ता भएको अधिल्लो दिनलाई मानो छुट्टिएको मिति कार्यमा गरी ८ भागको १ भाग अंश पाउँ भन्ने वादी मिति १९९९।१०।१६ मा मानो छुट्टिई सकेको हुँदा दावी वमोजिम वण्डा छुट्टयाउनु पर्ने होइन भन्ने प्रतिवादी भएको यो मुद्दामा फिरादपत्र परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गर्नुपर्नेमा १९९९।१०।१६ लाई मानो छुट्टिएको मिति कायम गरेको तथा वादी ललितबहादुर प्रतिवादी वलराम भएको फैसला वदर मुद्दामा वा.अं. बाट मिति २०३३।८।२९ मा भएको फैसलाको प्रमाण मिसिलबाट विवादित सम्पत्तिमा वादी ललितवहादरको पनि हक नजाने भनी उल्लेख भएको देखिएको तथा कृष्णबहादुर, नरदेवा र वहादुर खड्का वीच मिति २००३।६।२८ मा अंश छोडपत्र पारित भएको एवं कृष्णबहादुरको मृत्यु पछि उनकी श्रीमती इन्द्रकुमारीले सासू ससुरा तथा जेठाजुबाट रु १५५०। अंश वापत लिई मिति २००६।५।१७ गते पारित भएको लिखतहरु समेतबाट २००६ सालसम्म सगोलमा रहे भएको देखिएको, सगोलमा रहे भएको अवस्थामा प्राप्त गरेको वकसपत्रको सम्पत्ति सवै अंशियार वीच अंश भाग लाग्ने समेत देखिँदा अंशवण्डाको १८ नं. को व्याख्यात्मक त्रुटि गरी एवं सर्वोच्व अदालत निर्णय संग्रह भाग ८, पृष्ठ ४६ मा प्रकाशित होमदेवी पाण्डे विरुद्ध उर्मिलादेवी पाण्डे भएको  सम्बत २०२९ सालको दे.पु.नं. १२९ को अंश मुद्दा र ने. का.प. २०२१, पृष्ठ ९३ नि.नं. १८९३ मा प्रकाशित देवकुमारी विरुद्ध काशिराम पाण्डे भएको अंश मुद्दामा प्रतिपादित सिद्धान्तहरु समेत उल्लघंन हुने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०४९।५।९ गतेको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा को उपदफा (१) को खण्ड (क) र (ख) वमोजिम दोहोर्‍याउने निस्सा दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५२।११।११ को आदेश ।

    १५. वकसपत्रको सम्पत्तिमा पनि ८ भागको १ भाग वादीले अंश पाई चलन पाउने ठहर्छ । पुनरावेदन अदालत पाटनको इन्साफ उल्टी हुन्छ । वकसपत्रको सम्पत्ति वादीले नपाउने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ सदर गर्ने माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसद उपाध्यायको रायसँग सहमत हुन नसकेबाट सर्वोच्व अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय ।

    १६.  वकसपत्रको जग्गा वाहेक पेश भएको तायदातीबाट ८ भागको १ भाग वादीले अंश पाउने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०४९।५।८ को फैसला सदर हुने ठहर्छ । वकसपत्रको ससम्पत्तिमा समेत ८ भागको १ भाग अंश चलन पाउने ठहराउने माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसँग नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय ।

    १७.  नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ताव्दय श्री हरिहर दाहाल तथा श्री सानुवावु पोखरेलले विपक्षी वलराम खड्का १९९९।१०।१६ मा मानो छुट्टि अलग वसेको होइनन् । विपक्षी त्यसवखत मानु छुट्टि वेगल वस्न सक्ने स्थितिको नभै निजको उमेर ६, ७ वर्षको मात्र हुँदा १९९९ सालमा मानु छुट्टिएको भन्ने पत्यारलायक छैन । वज्यै नरदेवी २०१६ सालमा मात्र परलोक हुनु भएको हो । नरदेवाले वलरामलाई २०१४ सालमा वकसपत्र गरी दिएपछि सगोलमा रहेका अवस्थामा सगोलको आर्जन मानिने हुँदा निजको एकलौटी हक हुन सक्ने होइन । विपक्षी वलरामले २०१६ सालमा शे.व. को सम्पत्ति छुट्याई पाउँ भनी दिएको फिरादमा १९९९ सालमा मानो छुट्टिएको मिति उल्लेख भएकोलाई प्रस्तुत मुद्दामा मानो छुट्टिएको मिति कायम गर्न मिल्दैन । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्छ । सगोलमा रहेका अंशियारले वकसपत्रबाट पाएको सम्पत्ति २०३४ भन्दा अगाडि सबै अंशियारहरुमा वण्डा लाग्ने हुँदा मा.न्या श्री कृष्णजंग रायमाझीको राय सदर हुनुपर्छ भनी वहस प्रस्तुत गर्नुभयो भने प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्तव्दय श्री उमेश खकुरेल तथा श्री रेवन्त कुँवरले २०१४ सालमा वज्यै नरदेवाबाट वलरामले पाएको वकसपत्र वमोजिमको सम्पत्ति छुट्याई पाउँ भनी वावु दलवहादुर उपर दिएको नालिस २०१९ सालमा फैसला हुँदा वलराम खड्काको मानो छुट्टिएको मिति १९९९।१०।१६ कायम भएको छ र उक्त मानो छुट्टिएको मिति अन्तिम भइरहेको अवस्था छ । ७ वर्षको उमेरमा मानो छुट्टिएको भन्न नमिल्ने भन्न मिल्दैन । जुनसुकै उमेरमा मानो छुट्टिई अलग वस्न सक्ने हुन्छ । फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरीनु पर्छ भन्न मिल्दैन । वलराम खड्काले शे.व. पाएको सम्पत्ति निजको एकलौटि हुने अवस्था हुँदा मा.न्या श्री हरिश्चन्द्रप्रसाद उपाध्याएको राय सदर हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनियो ।

    १८.  आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरुले गर्नु भएको उपयुक्त व्यहोराको वहस सुनी मिसिल संलग्न प्रमाण मिसिलहरु समेत अध्ययन गरी देहायका विषयहरुमा केन्द्रित रही निर्णय दिनु पर्ने देखियो ।

(१)  प्रतिवादी वलराम खड्काको हकमा मानो छुट्टिएको मिति १९९९।१०।१६ कायम हुने हो वा प्रस्तुत अंश मुद्दाको फिराद परेको अघिल्लो मिति कायम हुने हो ?

(२)  प्रतिवादी वलराम खड्काले वज्यै नरदेवाबाट मिति २०१४।१०।२८ मा शे.व. बाट पाएको सम्पत्तिमा वादीको समेत अंश भाग लाग्ने हो, होइन ?

          १९.  सर्वप्रथम पहिलो प्रश्नतर्फ विचार गर्दा तिमी सहोदर नातीले मेरो हेरविचार टहल चाकरी पालनपोषण गरेको हुनाले मेरो भागमा आउने चल अचल श्रीसम्पत्ति अष्टलोह गैह्र शेषपछि खानु भनी मिति २०१४।१०।२७ मा वज्यै नरदेवाले प्रतिवादी वलराम खड्कालाई मिति २०१४।१०।२८ मा अष्टलोह गैह्र सम्पत्ति वज्यै नरदेवाका हकमा १९९९।१०।१६ मा मानो छुट्टिएको मिति कायम भएपछि शेषपछिको वकसपत्र पारित गरी दिएको कुरामा कुनै विवाद देखिदैन । दाता वज्यै नरदेवाको २०१६।७।२८ मा मृत्यु भए प्रश्चात प्रतिवादी वलराम खड्का उपर वज्यै नरदेवाको अंश भाग जति शेषपछिको वकसपत्र वमोजिम अंश भाग छुट्यार्इ पाउँ भनी दएको अंश मुद्दा का.इ.दे.अ. बाट मिति २०१९।३।३१ मा शेषपछिको वकसपत्र वमोजिम वादीले अंश लिन पाउने ठहरी फैसला भएको संलगन प्रमाण मिसिलबाट देखिन्छ । उक्त फैसला वमोजिम सोही मितिमा का.इ.दे.अ बाट खडा गरीएको वण्डा मुचुल्कामा यी प्रतिवादी वलरामको हकमा १९९९।१९।१६ मा मानो छुट्टिएको मिति कायम भै त्यसको अघिल्लो दिन सम्मको तायदाती लिई वज्यै नरदेवाको वकसपत्र वमोजिमको सम्पत्ति वण्डा मुचुल्काको प्रतिलिपिबाट देखिन आयो । प्रतिवादी वलराम खड्काले शे.व. वमोजिमको सम्पत्ति अंश लिन पाउने ठहरी मिति २०१९।३।३१ मा का.इ.दे.अ बाट भएको फैसला बदर गरी पाउन भनी यी वादी ललितबहादुर र निजकी आमा सुन्तलीले काठमाडौँ जिल्ला अदालतमा दिएको मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी मिति २०३२।८।१५ मा फैसला भएको र सो उपर परेको पुनरावेदनमा २०३३।८।२९ मा वागमती अंचल अदालतबाट सो फैसला वदर नहुने भनी फैसला भै उक्त फैसला अन्तिम भएर वसेको देखिन्छ । वादी वलराम खड्का प्रतिवादी दलबहादुर भएको साथै पेश भएको लगाउको अंश मुद्दामा शुरु काठमाडौ जिल्ला अदालतबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको  मिति कायम गर्ने गरी मिति २०४२।४।१० मा भएको आदेश उपर यिनै प्रतिवादी वलरामको अ.वं. १७ नं. अन्तर्गत परेको निवेदनमा कैफियत तलब भै वागमती अंचल अदालतले मिति २०४२।५।२८ मा शुरुको आदेश वदर गरी वलराम खड्काको हकमा मिति १९९९।१०।१६ लार्इ मानो छुट्टिएको मिति कायम गर्ने गरी आदेश भै सो आदेश मध्यामांचल क्षेत्रीय अदालतबाट मिति २०४२।९।२६ मा र सर्वोच्व अदालतबाट २०४३।१।३१ मा कानून वमोजिम गर्ने आदेश भै अन्तिम भएर रहेको देखिन्छ । तसर्थ प्रतिवादी वलराम खड्काको हकमा मानो  छुट्टिएको मिति १९९९।१०।१६ अदालतको फैसला तथा आदेशले तहतह हुँदै अन्तिम भएर रहेको देखिँदा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरीनु पर्छ भन्ने पुनरावेदक वादी तर्फबाट विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसँग सहमत हुन सकिएन ।

          २०.  दोश्रो प्रश्नतर्फ विचार गर्दा प्रतिवादी वलराम खड्कालाई वज्यै नरदेवाले निजको अंश भागको सम्पत्ति मिति २०१४।१०।२८ मा शे.व. पारित गरी दिएको देखियो । यहि शे.व. बाट प्राप्त गरेको सम्पत्री वज्यै नरदेवाको मृत्यु प्रश्चात वलरामले पिता दलबहादुर उपर अंश मुद्दा दिई का.इ.दे.अ को मिति २०१९।३।३१ को फैसलाबाट छुट्टयाई लिएको देखिन्छ । उत्तः मिति २०१९।३।३१ को फैसलाले वकसपत्र वमोजिम प्रतिवादी वलरामले प्राप्त गरेको सम्पत्तिमा हाम्रो समेत अंश हक लाग्ने भनी यी वादी ललितबहादुर र निजकी आमा सुन्तलीले सो फैसला वदर गरी पाउन मुद्दा दायर गरेकोमा फैसला बदर हुन नसकी तह तह हुँदै अन्तिम भएर रहेको देखिन्छ । अदालतको फैसला तथा आदेशले वलराम खड्काको हकमा मानो छुट्टिएको मिति १९९९।१०।१६ कायम भैरहेको स्थितिमा यी वादी र प्रतिवादी माथि उल्लेखित आधार प्रमाणबाट उक्त सम्पत्तिका सम्बन्धमा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिन सम्म सगोलमा नै रहेवसेको भन्न मिल्ने देखिएन । प्रतिवादी वलरामको हकमा १९९९।१०।१६ मा मानो छुट्टिएको मिति कायम भै सो मितिबाट मानो छुट्टिइ अलग भिन्न वसेको परिप्रेक्ष्यमा निज प्रतिवादीले वज्यै नरदेवाबाट मिति २०१४।१०।२८ को शे.व. वमोजिम प्राप्त गरेको सम्पत्तिमा अन्य अंशियारहरुको भाग वण्डा लाग्छ भन्न मिल्ने अवस्था देखिएन । तसर्थ अदालतबाट भएका फैसला तथा आदेशले वलराम खड्काको हकमा मिति १९९९।१०।१६ मा मानो छुट्टिएको मिति कायम भइरहेको अवस्थामा प्रतिवादी वलराम खड्काले शे.व. बाट प्राप्त गरेको सम्पत्तिमा पुनरावेदक वादीको समेत अंश भाग लाग्नु पर्छ भन्ने पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसँग सहमत हुन सकिएन ।

          २१.  अतः प्रतिवादी वलराम खड्काले वज्यै नरदेवाबाट पाएको वकसपत्र वमोजिमको जग्गा वाहेक गरी पेश भएको तायदातीबाट ८ भागको १ भाग वादीले अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०४९।५।९ को फैसलालाई सदर गरेको मा.न्या.श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छौ ।

 

न्या.गोपालप्रसाद खत्री

न्या.केदारप्रसाद गिरी

 

इति सम्जत २०५८ साल वैशाख २७ गते रोज ५ शुभम् ............।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु