शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५१६ - उत्प्रेषण

भाग: २७ साल: २०४२ महिना: माघ अंक: १०

निर्णय नं. २५१६     ने.का.प. २०४२      अङ्क १०

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४२ सालको रिट नं. १४८७

विषय : उत्प्रेषण ।

 

निवेदक      :का.नगर पंचायतवडा नं.४ लोहसाल बस्ने कृष्ण बहादुर शाही ।

विरुद्ध

विपक्षी :का.नगर पंचायतवार्ड नं.२३ झोछें बस्ने सरराज मानन्धरनी ।

का.नगर पंचायत वार्ड नं.४ लोहसाल बस्ने हरि शरण सिंह ठकुरी ।

काठमाडौं मालपोत कार्यालय ।

आदेश भएको मिति:०४२।८।२० मा

     हक बेहकमा निर्णय दिनुपर्ने कुरा माल कार्यालयको क्षेत्राधिकारको नहुँदा सम्बन्धित निकायमा गई निर्णय गराउनु पर्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली

विपक्षी तर्फबाट      : विद्वान सरकारी सहन्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट

उल्लेखित मुद्दाःX

आदेश

न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा १६ तथा ७१ अन्तर्गत मिति २०४१।७।२।५ मा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ ।

२.    भू.सु.सर्भे नाप जाँच हुँदा कि.नं.२३ र कि.नं.५१ जग्गाको क्षेत्रफल ३० कायम भई मोहीया कृष्ण बहादुर शाही हाडीगाउँ लोसाल भनी जनिई जग्गाधनीमा भूलबाट अष्टलाल मानन्धरको विर्ता गुठी भनी जनिन गएकोले सो भूलसुधार गरी साविक रै.नं.१०७० काठमाडौं ८६ साल खेत ।१२। को धान ।२।४ कट्टा भई बाँकी धान २।१७।४।१०।३। ले तिरो तिश गर्नु पर्ने जग्गाबाट भिडाई दर्ता प्रमाणित गरी ज.ध.प्रमाण पूर्जा पाउँ भन्ने मेरो निवेदन र सोही जग्गा मौजा महाराजगंज हा.नं.४५७ हकमडोल २२ को जग्गाबाट भिड्न हो भनी जग्गाधनीमा मलाई देखाउनु पर्नेमा भूलबाट  अष्टलाल मानन्धरको बिर्ता गुठी भनी लेखाई दिएकोले सो समेत संशोधन गरी ज.ध.प्र.पूर्जा पाउँ भन्ने सरराज मानन्धरनीको निवेदन मालपोत कार्यालयमा परिरहेकोमा हामीहरूका बाबु कृष्णबहादुर सिं ठकुरीका नाउँमा यस कार्यालयमा रै.नं.१०७० को लगतमा दर्ता भएको मौजे हाडीगाउँको चौ.जंगप्रताप शाहको खान्गी पाखो रोपनि ४।।। भई दर्ता भएको नापीमा का.नगर पंचायतवडा नं.२३ कि.नं.८९ क्षेत्रफल ३१५० भई ज.ध.मा हामीहरूको बाबु कृष्णबहादुर सिंह भनी लेखाउन पर्नेमा भूलबाट ज.ध.लाल सिं ज्यापू भन्ने लेखिए तापनि निजको नभई हामीहरूको बाबुको नाउँमा भिड्ने जग्गा हो । बाबु ०१९ सालमा परलोक भई हामी निवेदक छोरा २ देखि बाहेक अरु नभएको र अद्यापि तक भोगी आएकोमा कुष्णबहादुर सिंह ठकुरीका नाउँको दर्ता मोठलाई कृष्णबहादुर शाहीले कृष्णबहादुर शाहीमा नाउँमा दर्ता नहोस् भन्ने हरिशरण सिं ठकुरी समेतको निवेदनपत्र परी मालपोत कार्यालय काठमाडौंबाट मिति ०४१।६।१ मा १०७० को रसिद भिडी कृष्णबहादुर शाहीको हुने वा पाहीबाट भिडी हरिशरण सिं ठकुरीको हुने हो वा ४५७ बाट सरराज मानन्धरनीको हुने हो भन्ने कुराको निर्णय दिने अधिकार यस कार्यालयलाई नभएको हुँदा सम्बन्धित निकायमा जान सम्बन्धित पक्षलाई सुनाई मिसिल तामेलीमा राख्ने भन्ने टिप्पणी आदेश भएको ।

३.    विपक्षी हरिशरणको निवेदनमा उल्लेख भएको जग्गा र मैले दावी गरेको जग्गा छुट्टैछुट्टै पाखा र खेतको छुट्टा छुट्टै नामको र माटो समेत छुट्टा छुट्टै हुँदा हरिशरणको दावी मिथ्या र झुठ्ठा भन्ने सरासर देखिएकोमा सो निवेदन तामेलीमा राख्नु पर्नेमा सो नगरेको अ.बं.१९ नं.को विपरीत भएको विपक्षी सरराज मान्धरनीले दावी लिएको र मैले दावी लिइएको जग्गा एउटै हुँदा विवादित हुन आएकोमा विपक्षी सरराज मानन्धरनीलाई हक बेहकमा जानु भनी सुनाइएको पनि छैन र सो को सूचना दिने कुरा पनि आदेशमा उल्लेख नभएकोले अ.बं.१८५ तथा १९३ नं.को उल्लंघन भएको छ । विपक्षी सरराज मानन्धरनीले उक्त विवादित जग्गा महाराजगंज मौजाबाट भिड्ने भनी दावी लिएको छ जबकी उक्त जग्गा हाडीगाँउ मौजे लोहसान स्थित छन् र सोको कबूलियत, बाली बुझेको दोहोरो भर्पाई जस्ता प्रमाणहरू पेश गर्न समेत सकेको छैन र साथै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को संशोधित उपदफा (७) अनुसार दुई वा दुई भन्दा बढी व्यक्तिहरूको बीच तेरो मेरो सम्बन्धी प्रश्न उठेकोमा तोकिएमा अधिकारीले दुबै पक्षको प्रमाण जाँची जुन पक्षको प्रमाण बलियो देखिन्छ । त्यसै पक्षका नाउँमा अदालतबाट अन्तिम निर्णय भई नआएसम्मका लागि अस्थायी दर्ता गर्ने निर्णय गरी सम्बन्धित पक्षलाई त्यस्को निस्सा दिइने छ र चित्त नबुझे पक्षले त्यस्तो निर्णय उपर ३५ दिनभित्र अदालतमा उजूर नगरेमा उक्त निर्णय अन्तिम हुनेछ र सोही अनुसार सम्बन्धित व्यक्तिका नाउँमा जग्गा दर्ता हुनेछ भन्ने व्यवस्था भएको र सो सम्बन्धमा निवेदिका त्रिभुवन लक्ष्मी श्रेष्ठ वि.ठूली माई भन्ने गंगा मगर्नी समेत भएको उत्प्रेषण मुद्दामा सम्मानीत अदालत डिभिजन बेञ्जबाट ०३८।७।३ मा सिद्धान्त प्रतिपादित समेत भइसेकेको छ । अतः अ.बं.१९, १८५।१९३ नं.र जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) एवं उक्त प्रतिपादित सिद्धान्त विपरीत मालपोत कार्यालय काठमाडौंले गरेको मिति ०४१।६।१ को टिप्पणी आदेशबाट संविधानको भाग ३ मा व्यवस्थित धारा ९(घ) धारा ११(१) र (२) को (ङ) बमोजिम मेरो दर्ता प्रमाण पूर्जा पाउने मौलिक हकमा आघात पुगेको हुँदा संविधानको धारा १६ तथा ७१ अन्तर्गतको रिट निवेदन गरेको छु मालपोत कार्यालय काठमाडौंको नाउँमा उत्प्रेषण लगायत जो चाहिँने आदेश वा पुर्जी गरी मेरो प्रदत्त हक प्रचलन गरिपाउँ भन्ने रिट निवेदन जिकिर ।

४.    यसमा के कसो भएको हो विपक्षीहरूबाट  लिखिन जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगल बेञ्जको मिति २०४१।७।७ को आदेश ।

५.    एउटै साविक मौजाबाट र विभिन्न कित्तामा रिट निवेदक कृष्णबहादुर शाही र हरिशरण सिंह ठकुरी समेतको र एउटै कित्तामा सरराज मानन्धरनी र निवेदक कृष्णबहादुर शाहीको उल्लिखित बमोजिम २ विभिन्न मौजाबाट भिडाई दर्ता गरिपाउँ भन्ने दावी भई ३ पक्षबाट दावी देखिएको हुँदा हक बेहकको विवाद उत्पन्न देखिँदा बिना न्यायिक निर्णयबाट कारवाही टुड्ड्याउन नसकी यस कार्यालयबाट निर्णय दिन दुविधा परेको र हक बेहक छुट्याउने अधिकार समेत यस कार्यालयलाई नभएकोले उपस्थित भएका सम्बन्धित पक्ष कृष्णबहादुर शाही हरिशरण सिं ठकुरीका रोहवरमा सम्बन्धित निकायमा उजूर गर्न जानु भनी मिसिल तामेलीमा राखेको २०४१।६।१ को निर्णय उपर सम्बन्धित निकायमा हक बेहकको लागि जानु पर्नेमा रिट निवेदक हचुवाका भरमा सम्मानीत अदालतको शरण पर्न आएको देखिन्छ । विपक्षीको निराधार रिट निवेदन खारेज गरिपाउँ भन्ने मालपोत कार्यालयको लिखिन जवाफ ।

६.    विपक्षीहरू मध्येका सरराज मानन्धरनीका नामको म्याद २०४२।२।६।१ मा र हरिशरण सिंह ठकुरीका नामको म्याद मिति २०४२।२।४ मा तामेल भएकोमा लिखिन जवाफ प्राप्त हुन नआएको ।

७.    नियमानुसार साप्ताहिक पेशी किताब तथा दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली र विपक्षी मालपोत कार्यालय काठमाडौंको तर्फबाट उपस्थित विद्वान सरकारी सहन्यायाधीवक्ता श्री प्रेमबहादुर विष्टले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

८.    प्रस्तुत विषयमा मुख्यतः रिट निवेदकले जिकिर लिए बमोजिमको आदेश जारी हुने वा नहुने के रहेछ सो तर्फ निर्णय दिनुपर्ने हुन आयो ।

९.    यसमा रिट निवेदक कृष्ण बहादुर शाहीको विपक्षी मालपोत कार्यालय काठमाडौंमा जग्गा नाप जाँच हुँदा भूलबाट अष्टलाल मानन्धरको विर्ता गुठी भनी जनिन गएकोले भूलसुधार गरी तिरो तिरान गर्नु पर्ने जग्गाबाट भिडाई दर्ता प्रमाणित गरी ज.ध.प्रमाण पूर्जा पाउँ भनी परेको निवेदनमा उक्त जग्गा हाम्रो हो भनी प्रत्यर्थी हरिशरण सरराजको निवेदन परेबाट हक बेहकको स्थिति उत्पन्न भएकोले त्यस्तो निर्णय दिने अधिकार कार्यालयलाई नभएको हुँदा सम्बन्धित निकायमा जान सुनाएको मिति २०४१।६।१ को निर्णय आदेशबाट संविधान प्रदत्त हक अधिकारमा आघात पुगेको हुँदा उपर्युक्त आदेश जारी गरी उक्त मिति २०४१।६।१ को उक्त मालपोत कार्यालय काठमाडौंको आदेश बदर गरिपाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ ।

१०.    यस सम्बन्धमा कानुनी व्यवस्था हेर्दा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(३) को प्रतिबन्धात्मक वाक्यांशमा यस उपदफा बमोजिम उजूरी छानबीन गर्दा दफा ६ को उपदफा (७) बमोजिम हक भोग वा तेरो मेरो सम्बन्धी प्रश्न उठेको कारणबाट दर्ता पूर्जा दिन वा सच्याउन नमिल्ने भएमा अदालतबाट सो कुराको निर्णय भई आएका बखत दर्ता पूर्जा दिन वा सच्याउन मिल्ने व्यहोरा प्रष्ट रुपमा खुलाई तोकिएको अधिकारीले तुरुन्त उजूरवालालाई निस्सा दिनुपर्छ भन्ने व्यवस्था भएको पाइन्छ । तसर्थ विवादको जग्गा नापी भई श्रेस्ता समेत तयार भइसकेपछि निवेदकले दर्ता सच्याई प्रमाण पूर्जा पाउँ भनी माल कार्यालयमा उजूरी दिई उक्त जग्गा हाम्रो हो भनी प्रत्यर्थी सरराज र हरिशरणको समेत निवेदन परेबाट हक बेहकमा निर्णय दिनु पर्ने कुरा माल कार्यालयको क्षेत्राधिकारको नहुँदा सम्बन्धित निकायमा गई निर्णय गराउनु भनी सुनाएको अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम निर्णय गरेको उक्त  ०४१।६।१ को निर्णयमा कुनै कानुनी त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४२ साल मंसीर २० गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु